११ चैत्र २०७९, शनिबार १७:३८ – Nagarikabhiyan : National News

हरिनगरमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको गोष्ठी र वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

देवानगंज ।   सुनसरीको हरिनगर–४ गाउँपालिकामा जीवन विकास लघुवित्त वित्तीय संस्थाको आयोजनामा केन्द्र प्रमुखहरूको लागि गोष्ठी सम्पन्न भएको छ ।  बिहिबार केन्द्र प्रमुखहरूको लागि गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत संजय मण्डल, प्रमुख अथिति हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीलगायत संस्थामा आवद्ध समुह केन्द्रका प्रमुख महिलाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोलदै प्रमुख अथिति गफार अंसारीले लघुवित्त संस्था माथिकेहि समुहले निरन्तर रूपमा रिन मिनाहाको नाममा प्रदर्शन नगर्न महिलाहरूलाई आग्रह गरे । उनले कसैलाई लघुवित्त संस्थाहरूले दुःख दिएमा सिधै गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरे ।

२०६३ सालमा स्थापना भएको हरिनगर शाखामा १४३ केन्द्र संख्या रहेका छन् । यस शाखामा ४ हजार ६९९ सदस्य संख्या रहेका छन् । यस्तै जम्मा ऋणी संख्या २ हजार ८७६ जना रहेका छन् । कार्यक्रममा १७ वटा केन्द्रहरूलाई पुरस्कृत गरिएको थियो ।

सपोर्ट लघुवित्तद्वारा हरिनगरमा वित्तिय साक्षरता कार्यक्रम समपन्न

हरनिगर । ग्लोबल मनी सप्ताहको अवसरमा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड हरिनगर शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम २०७९ सम्पन्न भएको छ ।

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड हरिनगर शाखाको आयोजना र केन्द्रीय कार्यालय इटहरीको सहकार्यमा शुक्रबार हरिनगर गाउँपालिका वडा नं. ४ स्थित रहेको वडा कार्यालयको सभाहलमा वडा अध्यक्ष देवनारायण मेहताको प्रमुख आतिथ्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सपोर्ट लघुवित्त वित्तीय संस्था हरिनगर शाखामा आबद्ध ८८ जना बचत कर्ताहरु सहभागी भएका थिए। वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग कसरी गर्न सकिन्छ , स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने कुराको जानकारी गराउन महिलाहरुलाई लक्षित गरी पारिवारिक अवस्था देखीनै वित्तिय रुपमा शिक्षित बनाई उत्तम निणर्य गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यका साथै आधारभुत बैकिङ, बैकिङ उपकरण, डिजिटल बैकिङ र ब्याज सम्बन्धी साक्षरता कार्यक्रम संचालन गरिएको सपोर्ट लघुवित्त वित्तीय संस्था हरिनगर शाखाका शाखा प्रमुख बिनोद मेहताले जानकारी दिनुभयो ।

साक्षरता कार्यक्रममा आधारभुत बैकिङ, बैकिङ उपकरण, डिजिटल बैकिङ र ब्याज सम्बन्धी प्रशिक्षण केन्द्रीय कार्यालय इटहरीका प्लानिङ्ग एण्ड मोनेटेरिङ्ग प्रमुख संजय कुमार चौधरी र आ. ले. प. बिभागमा कार्यरत सोकेन्द्र कुमार रायले दिनु भएको थियो।

महिलाहरुमा वित्तिय शिक्षाको महत्वको बारेमा जागरण ल्याउने उदेश्यले वार्षिक रुपमा साप्ताहिक अभियानको रुपमा मनाउने ग्लोबल मनी सप्ताहको सन्दर्भमा सो कार्यक्रम गरिएको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड हरिनगर शाखाले जनाएको छ।

हरिनगर गाउँपालिका वडा नं. ७ को नव निर्मित प्रसाशनिक भवनको उद्धघाटन सम्पन्न

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ७ को वडा कार्यालयको नव निर्मित भवनको उद्धघाटन सम्पन्न भएको छ ।

हरिनगर गाउँपालिकाको लागतमा निर्माण सम्पन्न भएको उत्त भवनको बिहीबार प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य हाजि ईसराईल मन्सुरी एवं बिशिष्ठ अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफर अंसारीले संयुक्त रुपमा उद्धघाटन गर्नु भएको हो ।

भवन उद्धघाटन गर्दै प्रदेश सभा सदस्य मन्सुरीले वडाले अब आफ्नै भवनबाट जनताको सेवामा खट्न अझ सहज हुने बताउनुभयो । सो अवसरमा मन्सुरीले यस क्षेत्रको जनताको लागि र यस क्षेत्रको विकासको लागि आफु सदैव तत्पर रहेको समेत जिकिर गर्नु भयो । हरिनगर गाउँपालिका संग सहकार्य गरि बिभिन्न प्रदेशको योजनाहरु समेत यस क्षेत्रमा लागु गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो

भवन उद्धघाटन कार्यक्रममा बोल्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले नयाँ भवन बाट थप छिटो छरितो रुपमा सेवा प्रदान गर्न सजिलो हुने बताउनुभयो। वडा कार्यालयको प्रसासनिक भवन निर्माणको लागि गाउँपालिकाले धेरै कसरतको गरेको उल्लेख गर्दै भवन निर्माणको लागि जग्गा दान गर्नुभएकोमा जग्गा दातालाई धन्यवाद दिनुभयो। अब वडाले आफ्नै भवन बाट सेवा दिदा खेर गई रहेको भाडा वापतको रकम पनि विकास निर्माणको काममा खर्च हुने हुँदा झन विकास निर्माणको कामले तिब्रता लिने कुरामा जोड दिनुभयो।

वडा अध्यक्ष मुज्जमिल खाँनले आफ्नै प्रसासनिक भवन बाट सेवा दिन पाउने कुराले आफु निकै खुसी भएको बताउनु भयो। आफु जितेर आए देखि सदैव वडा बासीको निमित्त सोच्दै आएको बताउदै आगामी दिनमा पनि वडाको विकासको निम्ति आफु लागि रहने, पालिका, प्रदेश र संघिय सरकार संग समन्वय गरि बिभिन्न बिकास निर्माणको काम गर्ने प्रतिबद्धता गर्नु भयो। भवन निर्माणमा सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा यस वडाको विकासका लागि सबैलाई हात्तेमालो गरी अगाडि बढ्न समेत आग्रह गर्नुभयो।

भवन उद्धघाटन कार्यक्रममा प्रदेश सभा सदस्य माननीय हाजी इसराईल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर, वडा नं. १ को वडा अध्यक्ष प्रविण गुप्ता, वडा नं. ५ का वडाध्यक्ष सिकमलाल यादव लगायत वडा सदस्यहरु, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरूको उपस्थिति रहेको थियो।

बर्जुको सार्वजनिक सुनुवाइ एकलौटी, स्थानियलाई थाहै दिइएन, गाउँपालिका अध्यक्षको हावा कुरा मात्र बढी !

देवानगंज । सार्वजनिक सुनुवाइ भनेको भनेको सार्वजनिक पद र अधिकार धारण गरेका कर्तव्यपालक र सेवाग्राहीबीच सार्वजनिक रूपमा हुने प्रत्यक्ष अन्तक्र्रिया हो ।

यस अन्तरक्रियामा सम्बन्धित पक्ष र सेवाग्राहीबीच सेवा प्रवाहका समस्या तथा जनअसन्तुष्टि स्थितिबारे समिक्षा गर्ने गरिन्छ । साथै मूल्याङ्कन, सुझाव र पृष्ठपोषण प्रदान गर्ने काम गरिन्छ ।

तर सुनसरीको बर्जु गाउँपालिकाले हालसालै सम्पन्न गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानियलाई जानकारी समेत नगराएको पाइएको छ । स्थानियका अनुसार गाउँपालिकाले जानकारी नदिइ एकलौटी सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।

बर्जुका देवनारायण चौधरीले भने, ‘गाउँपालिकाले औपचारीकता मात्रै पुरा गर्याे । हामीलाई खबरै गरेन । यो गाउँपालिकाको कमजोरी हो । यसमा सहभागि हुन पाउनु हाम्रो पनि अधिकार हो । गाउँपालिकाको यो कार्यबाट हामी असन्तुष्ट छौँ ।’

चैत ४ गते शनिबार सम्पन भएको सार्वजनिक सुनुवाइ कार्यक्रमा स्थानिय भन्दा कर्मचारीको उपस्थिति मात्रै थियो । आफुहरूले खबर नपाएको भन्दै स्थानिय गाउँपालिकासँग असन्तुष्ट छन् ।

गाउँपालिकाले अनियमितता लुकाउन एकलौटी ढङ्गले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको स्थानिय संजय चौधरीले बताए । गाउँपालिका भने यस विषयलाई स्वीकार गर्दैन ।

बर्जु गाउँपालिका अध्यक्षले धेरै जसो कार्यक्रम र योजनाहरू आफू र कार्यकर्तालाई अनुकुल हुने गरी दिँदै आएको श्रोत बताउँछ ।

चुनावका बेला प्रचारप्रसार गरे जस्तो गाउँपालिकाले कुनै पनि काम ठोस रूपमा गर्न नसकेको स्थानियको गुनासो छ । चुनावका बेला गाउँपालिका अध्यक्ष जिबछ कुमार राय प्रत्येक जनताको खातामा लाखौँ रकम हुने बताएका थिए । तर सो कुरा अहिले हावामै समित भएको छ ।

समाचार स्रोतका अनुसार गाउँपालिका अध्यक्षले वडा नम्बर १ का वडाध्यक्ष दिलबाहदुर गुरूङको कुरा मात्र सुन्ने गरेको स्रोतको दावी छ । वडाध्यक्ष गुरूङले पालिका भित्र सबै किसिमको कमिसन मिलाउने गरेको पालिका स्रोतको दाबी रहेको छ ।

गाउँपालिकामा आफू अनुकुल काम नगर्दा केही जनप्रतिनिधिहरूले नै कर्मचारीहरू माथि पटकपटक आक्रमणको प्रयास गराएको स्थानियहरू बताउँछन् । पटक पटक विवाद हुनुले पनि गाउँपालिका भित्र भष्ट्राचार कसरी मौलाएको छ भनेर प्रष्ट बुभिन्छ ।

यता प्रशासकीय अधिकृत माथी दुव्र्यवहार हुँदा समेत हालसम्म केही कदम नचालेको पाइएको छ । पालिका भित्र जनप्रतिनिधि अनुकुल काम नगर्दा केही स्थानियहरूलाई उचाले कार्यलाय भित्र हुलहुज्त गराएको बताइन्छ ।

एकातिर जनता उचाल्ने अर्काे तिर विभिन्न बहना बनाउने कुराले पनि सहजै बुझ्न सकिन्छ, कि जनप्रतिनिधिहरूले कुन तरिकाको विकास गर्न खोजेका छन् ।

गाउँपालिका अध्यक्ष जिवछ कुमार राय सर्वजनिक सुनवाइमा स्थानियहरूलाई जनाकारी गराएको नगराएको विषयमा आफुलाई जानकारी नभएको बताउँछन् ।

कर्मचारीमाथि बारम्वार भइरहेका हुलहुज्तको विषयमा उनले आफ्नै नजिकका ब्यक्तिहरूबाट यस्तो भइरहेको बताए ।

नि:शुल्क उपचार शिविर तथा अभिमुखि कार्यक्रम घुस्कीमा सम्पन्न

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ६ र ७ घुस्कीमा संयुत्त रुपमा सुरक्षित सीमा सुरक्षित जीवन भन्ने नाराको संग जेष्ठ नागरिक लक्षित आधारभूत स्वास्थ्य सेवा निशुल्क उपचार शिविर तथा अभिमुखि कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश बिराटनगरको आयोजना तथा हरिनगर गाउँपालिका, कोशि प्रदेश प्रहरी कार्यालय बिराटनगर, सशस्त्र प्रहरि बल नेपाल १ नं। बराह बहिनी मुख्यालय, नोबेल शिक्षण अस्पताल बिराटनगर र माईति नेपालको संयुत्त सहकार्यमा निशुल्क उपचार शिविर तथा अभिमुखि कार्यक्रम बुधबार सम्पन्न भएका हो ।

खुल्ला सीमा नाकाको कारण हुने गरेको चोरी तस्करी, पैठारी एवं लागु औंषध ओसार पोसारले समाजमा पर्ने गरेको असर र यस्बाट उत्तपन्न हुने सुरक्ष चुनौतिको बिषयमा आम जनसमुदायमा जानकारी गराउनको लागि अभिमुखिकरण कार्यक्रम सँगै निशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश बिराटनगरका शाखा अधिकृत (सुचना अधिकारी) चुडामनि गुँरागाईले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेको हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अंसारीले आफना कुराहरु राख्दै खुल्ला सीमा नाकाको कारण यस क्षेत्रमा उत्पन्न हुने समस्याहरुको बारेमा जिकिर गर्नु भएको थियो । खुल्ला सीमा नाकाको कारण चोरी, तस्करी र लागुऔँषधी तस्करीको समस्या झनझनै बढ्दै गएको र यस्ले सुरक्षामा निकै चुनौति थपिएको बताउनु भएको थियो । खुलेआम लागुऔँषध ओसार पोसारको कारण युवाहरु कुलतमा फस्ने गरेको हेर्दा आफुलाई निकै दुख लाग्ने गरेको बताउदै हरिनगर गाउँपालिकाको सीमा सँग जोडिएको घुस्की र बस्मतिया नाकामा भन्सार कार्यलयको स्थापना गरी समस्याहरुको सामाधान गर्न सरोकारवालाहरु सँग आग्रह समेत गरेको थियो । फरक बिषयमा कुरा राख्दै उहाँले गाउँपालिका भित्र भएको कालो पत्रे सडकहरुमा मानिसहरुले जथाभावी गाई भैँसी बाँधने, पाराल राख्ने, निर्माण समाग्री राख्ने काठ दाउरा राख्ने कार्यहरुले गर्दा निकै समस्या हुने गरेकोले त्यस्तो नगर्न समेत आग्रह गर्नु भएको थियो ।

त्यस्तै वडा नं. ७ का वडा अध्यक्ष मुज्जमिल खानले आलागु औँषधीको शेवन बाट धेरै युवाहरुको भविष्य बिग्रिदै गएकोले अभिभावक स्वयंले पनि आफना छोराछोरीहरुको ख्याल गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । खुल्ला सीमा नाकाको कारण बिभिन्न समस्याहरु उत्तपन्न हुने गरेकोले त्यस्ता समस्याहरुको समाधानको लागि आफु प्रदेश सरकार सँग समन्नवय गरी अगाडी बढ्न तयार रहेको बताउनु भयो । आफु सदैव वडा नं. ७ को जनताहरुको भलोको पक्षमा रहेकोले हामि सबै मिलि खुल्ला सीमा नाकाका कारण उत्पन्न हुने समस्या समाधान गर्ने बताउनु भयो ।

सभाअध्यक्षको रुपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश सचिव उमेश बस्नेत रहेको उत्त कार्यक्रममा प्रमुख अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अंसारी, बिशिष्ट अतिथि सुनसरी जिल्लाका साहयक सिडियो माधब प्रसाद ढुंगाना, जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख प्रभु प्रसाद ढकाल, सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख, हरिनगर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर, वडा नं. ६ का वडा अध्यक्ष हाजी तैयव अंसारी, वडा नं. ७ का अध्यक्ष मुज्जमिल खान, दुवै वडाका वडा सदस्यहरुको उपस्थीति रहेको थियो ।

श्री राम कथा प्रवचन तथा महायज्ञको तयारी पुरा

भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमामा सङ्गितमय प्रभु श्री राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोहको सम्पुर्ण तयारी पुरा भएको छ।

पालिका वडा नम्बर १ स्थित रहेको प्रभु रामजानकी मन्दिरको प्राङ्गणमा तयारी पुरा भएको हो।

नौं दिवशिय कार्यक्रम अन्तर्गत चैत ८ गते कलश यात्रा यज्ञ मण्डपबाट प्रारम्भ गरि भव्य रूपमा बाजा  गाजा सहित सप्तकोसीको जल भरेर ल्याउनुका साथै अखण्ड हवन यज्ञ १७ गतेसम्म हुने कार्यक्रम तयारी तिब्र रूपमा भइरहेको आयोजक समितिका अध्यक्ष रामकुमार मेहताले जानकारी दिएका हुन।

प्रत्येक दिन विहान ८ बजे देखि ११ बजे सम्म दिपकिशोर गुरु बाट रामायण पाठ तथा प्रवचनका साथै प्रत्येक दिन २ बजे देखि ८ बजे राती सम्म पुन कथा प्रवचन ,अतिथी सम्मान साथै झाकी प्रदर्शन कार्यक्रमको सम्पुर्ण तयारी भइ रहेको अध्यक्ष मेहताले बताउनु भयो।

कार्यक्रमा आउने समपुर्ण भक्तजनहरुको लागि बस्नका लागि टेन्ड हाउस पण्डाल ,खाना ,पिउने शुद्ध पानी ,दिसापिसाब गर्नका लागि आवश्यक सोचालय र रमाइलो मेलाको इत्यादिको व्यवस्थापनको तिब्र रूपमा भइरहेको आयोजक समितिका सचिव दीपेन्द्र मेहताले बताउनु भएको छ ।

श्री एकता पशुपालन सहकारी संस्था लि. को १६ औं बार्षिक साधारण सभा समपन्न

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका २ देवानगञ्ज स्थित रहेको श्री एकता पशुपालन सहकारी संस्था लि. को १६ औं बार्षिक साधारण सभा सोमबार एक भब्य कार्यक्रमको बिच समपन्न भएको छ ।

प्रत्येक वर्ष जस्तै यो वर्ष पनि बिधिबत रुपमा कार्यक्रमको आयोजना गरि देवानगञ्ज गाउँपालिकाको उपाअध्यक्ष कुमारी बिभा यादवको प्रमुख आतिथ्यमा सहकारीले १६ औं बार्षिक सधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि देवानगञ्ज गाउँपालिका उपाअध्यक्ष यादवले सहकारीले गरेको प्रगतिको बारेमा प्रशंसा गर्नु भएको थियो । १६ औं वार्षिक साधारण सभा सम्म आइपुग्दा सहकारी व्यवस्थापक सदस्यहरु सबैको उत्तिकै मेहेनत र सहयो रहेको बताउदै सहकारीका सदस्य तथा शेयर सदस्यहरु कै कारणले गर्दा आज यो दिन सम्म आई पुग्दा पूर्ण सफलता हासिल गरेको बताए। एक थुकी सुकी सय थुकी नदी भनेजस्तै सबै सदस्य मिलेर सहकारी निरन्तर यसरी नै अगाडी बढि रहने कामना गरिन । देवानगञ्ज गाउँपालिकाको नमुना सहकारीको रुपमा रहेको एकता सहकारीले आफना शेयर सदस्यहरुको बचत कहिले डुब्न नदिने कुरामा आफु बिश्वस्त रहेको बताएकी थिईन । आफुले पालिका बाट गर्न सकिने सहयोग सदैव गरी रहने भन्दै यस सहकारी लाई प्रविधि मैत्रि बनाउन पालिकाबाट अनुदानको लागी पहल गर्ने प्रतिबद्दता समेत व्यत्त गरिन ।

कार्यक्रममा विशिष्ठ अतिथि रहेको नेपालि कांग्रेसको क्षेत्रिय सभापति श्यामलाल मेहताले ४३ लाख रुपैया नेपाल सरकार बाट अनुदान पाएका देवानगञ्जकै एक सहकारी अहिले ६ लाख घाटामा रहेको उदाहरण दिदै यस एकता सहकारीले एक रुपैया पनि अनुदान नलिइ ५ लाख बाराबरको नाफामा १६ औं बर्ष पार गर्दा समेत रहेको कुराले खुसी हुँदै संचालक समितिका पदाधीकारी लाई धन्यवाद दिएको थियो । निरण तरको प्रयासले मात्रै सम्भव भएकोले यसलाई थप पारदर्शी बानाउन थप प्रविधिको जडान गरी नमुना सहकारी बनाई अगाडी लैजानु पर्ने कुरामा जोड दिनु भएको थियो ।

सधारण सभा एकता पशुपालन सहकारीका अध्यक्ष सुर्यनारायण मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । जस्मा सहकारीका सदस्य, कर्मचारी, शेयर सदस्य लगाउत बचत कर्ता हरुको उपस्थिति रहेको थियो ।

सधारण सभामा प्रस्तुत गरिएको बार्षिक प्रतिवेदन barsik partibedan याहाँ हेर्न सक्नु हुने छ ।

 

ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्रीको गाडी तोडफोडको प्रयास

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । सोमबार ओखलढुंगाको सिद्धचरण नगरपालिका ११ मिलन चोकमा मुख्यमन्त्री कार्की सवार सवारीमाथि तोडफोड प्रयास भएको हो ।

मुख्यमन्त्री कार्की सोही नगरपालिकाको वडा नम्बर २ मा आयोजित कार्यक्रमम सहभागि हुन जाने क्रममा पहिचान पक्षधरले सवारी रोकेर प्रदर्शनमा उत्रेका थिए ।

जिल्ला प्रहरी कार्यालय ओखढुंगाका डिएसपी दीपकबहादुर केसीका अनुसार मुख्यमन्त्रीको सवारीमा कुनै किसिमको क्षति भने पुगेको छैन् । भूगोलको आधारमा प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् ।

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधी घरेलु टोलीलाई

विराटनगर । विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) ले जितेको छ ।

तीन खेलको टी–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएनलाई सोमबार ४९ रनले पराजित गर्दै घरेलु टोली विराटनगरले उपाधी जितेको हो । विराटनगरले २–१ ले श्रृङ्खला जितेको हो । पहिलो खेलमा भारतलाई  ९ विकेटले पराजित गरेको विसिसिए टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको थियो । अव मंगलबार ३० ओभरको एक खेल खेल्न बाँकी रहेको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ रनको विशाल स्कोर बनाएको थियो ।

घरेलु टोलीका लागि सम्झना खड्काले नटआउट ५५ रन बनाउँदा कविता जोशी पनि ११ रनमा नटआउट भइन् । त्यस्तै नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री ५१ रन बनाएर आउट भइन् । भारतकी कप्तान रितु भोस्लले, रिना रानी र निधि भाग्यसियाले १–१ विकेट लिए ।

जवाफमा १ सय ३८ रनकोे लक्ष्य पछ्याएको भारतीय महिला टोलीले पुरै ओभर खेल्दै ७ विकेट गुमाई ८८ रनमा सिमित भयो । भारतकी अरपिताले नटआउट ३७ बनाउँदा निधि भाग्यसियाले नटआउट १७ रन बनाइन्  । विसिसिएकी कप्तान रुविना क्षेत्री,सवनव राइ, कविता जोशी र अस्मीता कर्मचार्र्यले समान १–१ विकेट लिइन् ।

क्रिकेटर ललित र दिपेशलाई महानगरले नगदसहित सम्मान गर्ने

विराटनगर । क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कंडेल दुवै विराटनगर निवासी हुन् ।

नेपाललाई विश्वकप छनौटमा पुर्याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य राजवंशी र कंडेललाई महानगरले नगद १ लाख १ हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो । त्यस्तै कंडेलले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा प्रवेश गर्न सफल भएको छ ।

राजवंशी र कंडेलले क्रिकेटलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । चाँडै नै विशेष समारोह आयोजना गरेर सम्मान गरिने कोइरालाले जानकारी दिए ।

इन्डो–नेपाल महिला क्रिकेटमा भारतसँग नेपाल पराजित

विराटनगर । विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) पराजित भएको छ । आइतबार भएको खेलमा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एसोसिएनसँग नेपाल  ६ विकेटले पराजित भएको हो । जितसँगै भारतले ४ खेलको श्रृखला १–१ को बराबरीमा ल्याएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८.२ बलमा  सवै विकेट गुमाई ९७ रनको सामान्य स्कोर बनाएको थियो ।

घरेलु टोलीका लागि सम्झना खडकाले २१ रन बनाउँदा कविता जोशीले १८ रन र काजल श्रेष्ठले १२ रनको योगदान दिए । भारतकी वैदथिया विनोदाले ४ ओभरमा १ मेडन राख्दै ४ विकेट लिइन् ।  उनी खेलको प्लेयर्स अफ द म्याच समेत घोषित भइन् । त्यस्तै कप्तान रुतु भोस्ले ३ विकेठ लिँदा भड्ला ममथाले २ विकेट लिइन् ।

जवाफमा ९८ रनकोे लक्ष्य पछ्याएको भारतिय महिला टोलीले १९ दशमलव १ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो ।

भारतकी रिया दर्वालले अविजित २१ बनाउँदा रिना रानीले पनि २१ रन बनाइन्  । नेपालकी सरस्वती चौधरीले २ विकेट लिँदा सवनव राईले १ विकेट लिइन् । पहिलो खेलमा भारतलाई नेपालले ९ विकेटले पराजित गरेको थियो ।

१० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सकियो

विराटनगर । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिक रूपमा सम्पन्न भएको हो ।

नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक–अर्को देशमा प्रवद्र्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ । त्यस्तै महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारहरूसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टाहरूलाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षैभरि दुवै देशमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्ने र एक–अर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारहरूलाई प्रोत्साहित गर्नेलगायत घोषणपत्रमा उल्लेख छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्य महोत्सवको समापन गर्दै भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए । उनले आफू महानगरको नेतृत्वमा आएदेखि नै साहित्य महोत्सव गर्ने योजना बनाएको सुनाए ।

आगामी दिनमा थप व्यवस्थित र वृहत कार्यक्रम गर्ने उनको भनाइ थियो । ‘भौतिक विकासलाई मात्रै हामीले विकासका रुपमा लिने गरेका छौं’, मेयर कोइरालाले भने, ‘भौतिकसँगै भाषा, साहित्य, कला र संस्कृतिको पनि विकास हुनुपर्छ । त्यसो भयो भने मात्रै समृद्धि र संस्कारयुक्त समाज निर्माण हुन्छ ।’

विराटनगर राजनैतिक र आर्थिक नगरी मात्रै नभएर भाषा, साहित्य, कला र संस्कृतिको धनी नगरी भएको उनले दाबी गरे । मेयर कोइरालाले महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न लागिपर्ने सबैलाई धन्यवादसमेत दिए । मेयर कोइरालाले महानगरले भाषा, साहित्य, कला र संस्कृतिलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट पारे । उनले भौतिक विकासले मात्रै समग्र विकासको मापन नहुने मेयर कोइरालाले बताए ।

नेपालका ७ वटै प्रदेशसहित भारतका सबै राज्यबाट प्रतिनिधिमूलक ३५० भन्दा बढी साहित्यकारहरूको सहभागिता रहेको थियो । तीनदिने महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा, कविगोष्ठीसमेत वाचन गरिएको थियो ।

एमबीबीएस टपर भएकी अदितीलाई शिक्षादीप कलेजद्वारा सम्मान

विराटनगर  । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा टपर भएकी शिक्षादीपक केलजकी  अदिती कुमारी जैनलाई कलेजले सम्मान गरेको छ ।

आयोगले फागुन २४ गते प्रवेश परीक्षा लिएको थियो । बुधबार निकालिएको नतिजामा शिक्षादीप कलेजमा अध्ययन गरेकी सुनसरीे हरीनगर गाउँपालिका–४ की २० वर्षीया जैन प्रवेश परीक्षामा टपर भएकी हुन् ।

उनी २ सय पूर्णाङ्कमा १७१।५ अङ्क प्राप्त गरेर सर्वाेत्कृष्ट भएकी हुन् । एमबीबीएसको प्रवेश परीक्षामा सर्वाेत्कृष्ट भएपछि अदिती र उनका बावु अजयलाई आज कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो ।

अदितीलाई कलेज व्यस्थापन सिमितका अध्यक्ष तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले सम्मान गरे ।

कार्यक्रममा अदितीका बुवा अजयले छोरीको मेहनतको कारणले आज सफलता मिलेको बताए । शिक्षादीपक कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले वातावरण, शिक्षकहरूको डिभोसनलगायतका कारण शिक्षादीपले हरेक वर्ष उत्कृष्ट नतिजा हाँसिल गर्ने गरेको बताए ।

कलेजका अध्यक्ष तथा कोशी प्रदेश सांसद भीम पराजुलीले अनुशासित, मेहनतको कारणले अदीतीले सफलता लिएको बताए । कलेजले गुणस्तरीय शिक्षा प्रदानमा कुनै सम्झौता नगरी अगाडी बढेको बताए ।

यसअघि पनि शिक्षादीप कलेजबाट अध्ययन गरेका थुप्रै विद्यार्थीहरुले एमबीबीएसको प्रवेश परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याएको कलेजका संचालक रामचन्द्र अधिकारीले बताए ।

झापाबाट नक्कली नोट र लागूऔषधसहित दुई जना पक्राउ

विराटनगर । झापाको विर्तामोड नगरपालिका–४ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र नक्कली नोट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २४ बर्षीय सुवास ताजपुरिया र उनको भाई १९ बर्षीय प्रविण ताजपुरीयालाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बेलुका बिशेष सुचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले विर्तामोड–४ का ताजपुरियाको कोठा खानतलासी गर्दा ब्राउन सुगर र नक्कली नोट बरामद गरेको हो ।

प्रहरीले ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपान २८ ट्यावलेट र नक्कली नेपाली नोट हजार रुपैयाको ८८ थान, पाँच सयको २ थान, अष्ट्रेलियन नोट एक सयको ३ थान, अन्य देशको नोट ११ थान, सक्कली नेपाली रुपैया ३ हजार र मे ५ प ९७९७ नम्वरको मोटरसाइकल बरामद गरेको हो ।

लागूऔषध ब्राउन सुगर र नक्कली नोट सहित पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सहकारीमा देखिएका समस्याप्रति विराटनगर महानगरको चासो

विराटनगर । विराटनगर महानगरपालिकाले पछिल्लो समय सहकारीमा देखिएका समस्याका विषयमा चासो देखाएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मर्जरमा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए । केही सहकारीका कारण राम्रो काम गर्ने सहकारीको बदनाम भइरहेको उनको भनाइ थियो ।

‘यहाँ सहकारीको उद्देश्य अनुरुप राम्रो गर्ने सहकारीहरू पनि छन्’, उनले भने, ‘केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ । मर्जरमा गएर सहकारी बलियो हुनुपर्छ ।’ सरकारीको मर्म र भावनाअनुसार सहकारी सञ्चालन नभएकै कारण समस्या देखिएको मेयर कोइरालाले बताए ।

कोइरालाले अब कोरोना र आर्थिकमन्दीको समस्या देखाएर सहकारीहरू उम्किन नपाउने चेतावनी दिए । उनले भने, ‘जनताले बचत गरेको पैसा अन्य क्षेत्रमा लगाएर कोरोना र आर्थिकमन्दी छ भन्न पाइँदैन ।’

महानगरकी उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने  गरेको जानकारी दिइन् । स्थापना भएको ३ महिनासम्म ऋण प्रवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि सहकारीहरूले त्यसलाई कार्यान्वयन नगरेको नगरेको उनको भनाइ थियो । उनले सहकारीको पैसा घरजग्गासहित अन्य क्षेत्रमा लगानी गर्दा समस्या निम्तिएको दाबी गरिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारी सञ्चालकमा पारदर्शिता र इमान्दारिता जरुरी रहेको औंल्याए । अहिले सञ्चालित अधिकांश सहकारीमा पारदर्शिता नभएको उनको भनाइ थियो ।

अन्तरिक्रयामा सहकारीकर्मी उमेश गुरुङ, मुकुन्द थापा, गोविन्द निरौला, जुनु पोखरेल, हरि भट्टराईलगायतले आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई प्राथमिकता राख्न सुझाव दिए । उनीहरूले सहकारीले रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यले बेवास्ता गरेको गुनासो पोखेका थिए । महानगरले सञ्चालन गर्ने रोजगारमूलक र सीपमूलक तालिम सहकारीमार्फत गर्नुपर्नेमा उनीहरूले जोड दिए ।

करेन्ट लागेर देवानगञ्जमा एक महिलाको मृत्यु

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्ज स्थित पाँचौ सिम्मरमा एज जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

आफ्नै घरमा रहेको टुवेल (कल) मा बिहिबार साँझ ५ : ३० बजेको समयमा पानि भर्न गएको बेला पानी तान्ने मोटरमा लगाईएको बिधुतिय तार बाट बिधुत चुहावट भई करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानिय राजु शर्माको ३० बर्षीय श्रीमती सपना शर्मालाई करेन्ट लागे पछि उपचारको लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय देवानगञ्जको प्रमुख इन्स्पेक्टर बद्री दाहालले जानकारी दिनुभयो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।