१५ कार्तिक २०७७, शनिबार १८:४० – Nagarikabhiyan : National News

बुन्डेसलिगामा आज पाँच खेल हुँदै

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न पाँच खेलहरु हुँदैछ। बायर्नले उसैको मैदानमा एफसी कोल्नसँग खेल्नेछ । बायर्न ५ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । २ अंक जोडेको कोल्न १८ औं स्थानमा रहेको छ ।

यस्तै शीर्ष स्थानको लाइपजिगले बोरुसिया मुन्छेनग्लाडबाखसँग,डर्टमण्डले अर्मिनियासँग, माइन्ज र आउग्सबर्गबीच प्रतिस्पर्धा हुँदा आइनट्राख्ट फ्रान्कफुर्टले भेरडाआ ब्रेमेनसँग खेल्ने छ ।

राजतन्त्र फर्काउन देशव्यापी महाअभियानको शुरुवात

जनकपुरधाम । ‘राजा आउ देश बचाउ’ को नारा लगाउँदै राष्ट्रवादी नागरिक समाजले आज (शनिबार) देखि देशव्यापी महाअभियानको शुरुवात गरेको छ ।

राष्ट्रवादी नागरिक समाजले राजधानी काठमाडौँबाट सुरु गरेको महाअभियान अन्तर्गत राजतन्त्र फर्काउनुपर्ने माग गर्दै आज जनकपुरधाममा समेत र्याली निकालेको छ ।

नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौँ व्यक्तिहरुको सहभागितामा समाजले जनकपुरधाममा निकालेको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । पूर्व राजाको पक्षमा नारा लगाउँदै उनीहरु र्यालीमा सहभागी भएका थिए ।

र्यालीमा सहभागीहरुले राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका नाराहरु लगाएका थिए ।

राष्ट्रवादी नागरिक समाजका संयोजक चन्द्र बहादुरले देशमा भ्रष्टाचार मौलाईरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिन दिनप्रतिदिन बढ्दै गरहेकोले यसको न्युनीकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको बताए ।

त्यस्तै उपसंयोजक लक्ष्मी मल्लले देशमा राजतन्त्रको पुनर्वहाली नभएसम्म देशभरी यो महाअभियान जारी राख्ने जानकारी दिइन् । उनले देशमा चाँडै नै राजतन्त्र फर्किने दावी समेत गरिन् । उनले समावेशी राज्यसत्ता सहितको शासनले नै देशमा समृद्धि ल्याउन सक्ने दावी समेत गरिन् ।

आकाशदीप दान शुरु

काठमाडौं । प्रत्येक वर्ष झैँ आश्विन शुक्ल पूर्णिमाका दिन आजदेखि कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना शुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजाराधना र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान विष्णुलाई समर्पण गरी बालिन्छ ।

कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा तुलसी पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त होइने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुग, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिएको छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइएको थियो ।

मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान शुरु, आकाशदीपदान र तुलसीको विशेष पूजाराधना शुरु गर्नुपर्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले जानकारी दिए ।रासस

अवैध सामान बरामद

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न नाकाबाट अवैध सामान बरामद गरि भन्सार पठाएको छ ।
जिल्लाका विभिन्न युनिटवाट खटिएका प्रहरी गस्ती टोलीले भारतीय सिमावर्ती नाकाबाट नेपाल तर्फ अवैध तवरले ल्याईएका सामान बरामद गरेको हो ।

प्रहरीले एक लाख छ हजार २५५ रुपियाँ मुल्य बराबरका खाधन्न, लताकपडा र सुर्तीजन्य पदार्थहरु, साईकलका स्पेयर पार्टस लगायतका समानहरु बरामद गरेको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
बरामद गरेको सामान आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशीव्यारेज पठाईएको कार्कीले बताउनुभयो ।

 

गढी गाउँपालिका वडा नम्बर १ मधेलीका वडा अध्यक्ष शंकरप्रसाद चौधरीले के के गर्नुभएको छ ? वहाँले आफ्नो कार्यकालमा के कसरी विकास गर्नुभएको छ ? यसैविषयमा वहाँसंग कुराकानी

नेपालको नयाँ संघीय संरचना अनुसारको ७५३ स्थानीय तह मध्येको एक गाउँपालिका सुनसरीको गढी गाउँपालिकामा पनि हो । सुनसरीको मध्य भागमा पर्ने गढी गाउँपालिका स्थानीय नागरिकहरुको मन जित्न सफल उन्मुख भएको छ । यहाँका जनप्रतिनिधिहरु सकारात्मक सोचसँगै पूर्वमै स्थापित र सम्भावना बोकेको गाउँपालिकाको रुपमा चिनाउन थालेको छ । यहाँको पािलकासगैं वडाहरुले सामाजिक जिम्मेवारी निर्वाहको पाटोमा समेत स्थापित हुनु पर्ने कुरामा दुई मत नै छैन । सोही सन्दर्भलाई अंगिकार गरी निर्वाचन जितेपछि हालको चालु आर्थिक वर्ष २०७७।०७८ को पहिलो चौमासिकसम्ममा गढी गाउँपालिका वडा नम्बर १ मधेलीका वडा अध्यक्ष शंकरप्रसाद चौधरीले के के गर्नुभएको छ ? वहाँले आफ्नो कार्यकालमा के कसरी विकास गर्नुभएको छ ? यसैविषयमा वहाँसंग कुराकानी गरिएको छ । चौधरी निर्वाचित भएपछि जनताको काममा दिनरात नभनी अनि रोग महामारी, प्रकोप र विपतका बीचमा पनि विकासको काममा लाग्नुभएको छ । वहाँले जनताको मतबाट जितर आएपछि करिव साढे तीन वर्षे कार्यकाल जनताको हित र दिगो विकासमा समर्पित भएर लागीपरेको बताउनुहुन्छ । विकासप्रेमी वडा अध्यक्ष शंकरप्रसाद चौधरी गढी १ मा नेकपाको तर्फबाट निर्वाचित भएपनि सबैलाई समान व्यवहार गरेर सेवा दिईरहनुभएको छ । वहाँसंग गरिएको समयसामिक कुराकारी यस अकंको अन्तरवार्ता स्तम्भमा ।
१, तपाईलाई नागरिक अभियानको अन्तरवार्ता स्तम्भमा स्वागत वडा अध्यक्ष जि छ ?
ल धन्यवाद छ सर, तपाई र यस सत्य संसार पत्रिकाको सपरिवारलाई अनि नमस्कार सबै वडाबासी तथा गढी गाउँपालिका १ मधेली सहित पालिकाका नागरिक र पाठक वर्गमा ।
२, तपाई सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ मधेलीको वडा अध्यक्ष भएर काम गरेको झण्डै साढे तीन वर्ष वितेको छ, के कस्तो विकास गर्नुभयो यो बीचमा ?
ल म नयाँ संविधान २०७२ अनुसारको पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा जनताबाट निर्वाचित भएपछि जनतामा नै पूर्ण रुपमा समर्पित भएर काम गरेको छु । म २०७४ साल अघिसम्म सामाजिक सेवा र कृषि क्षेत्रमा जनताको सेवा र काम गर्दै जनतालाई दुखसुखमा साथ दिदै आएको व्यक्ति हो । गाउँमा गरेको सेवा र योगदानको करद गरेर होला जनताको मतबाट निर्वाचित भएको छु । म निर्वाचित भएको साढे तीन वर्षे कार्यकालमा सिमित स्रोत सधानका बीचमा धेरै नै जनमैत्री काम गरेको छु । स्वभावले नै साविक मधेली, औरावनी, छिटाहा र सतैरझोरा गाविस मिलाएर गढी गाउँपालिका बनेको हो । यहाँको साविक मधेली गाविसको १ देखी ९ नम्बर वडाको एउटै गढीको १ नम्बर वडामा खुम्चाएकाले साविकको भन्दा पृथक भएको छ । यो वडामा म आएपछि अपवादमा बाहेक करिब ७ किलोमिटर बाटो सबैमा ग्राभेल, उच्चस्तरीय ग्राभेल गरेको छु । नागरिकलाई विकासको अनुभुती दिलाउन अझैपनि लागिपरेको छु । म वडा अध्यक्ष भएर काम गर्न सुरु गरेको यो अवधिमा सडक विस्तार सहित सानो बाटो विस्तार, स्तोरउन्नती, विद्यालय, मदर्शा र स्वास्थ्य चौकीको घेराबेला निर्माण, मर्मत सम्भार स्तरउन्नतीको काम गरेको छु । वडाको सरसफाई, खानेपानी, सुरक्षा, शिक्षा, संचार, रोजगार, शिपमुलक कार्यक्रम, स्वास्थ्य सेवा लगायतमा सुधार भएको छ । विद्यालयमा निर्माणको काम र स्वास्थ्य चौकीमा समेत वाल निर्माणको काम भएको छ ।
३, अनि वडा अध्यक्ष ज्यू यतीको धेरै राम्रो काम गर्नुभएको छ, जनताको साथ र सहयोग कतिको पाउनुभएको छ ?
ल मेरो वडामा सबै काम गाउँटोलकै उपभोक्ता समितिबाट अनि पूर्ण पारदर्शिताका साथ भएको छ । अनि मेरो काम गर्ने शैली नै जनताको माग र आवश्यकतामा आधारित रहेकाले सबैको साथ र सहयोग पनि मिलेको छ ।
४, विगतको गाविस र अहिले तपाई वडा अध्यक्ष भएर आएपछि थप के काम गर्नुभएको छ वडामा ?
ल यो वडामा पहलिा गाविस हुदाँ निकै कम विकास र काम भएको थियो भने उहिले बजेट पनि कम थियो भने म निर्वाचित भएर आएपछि अनुदान र बजेट समेत बढेर आएकाले विकासको काम बढी भएको छ । यहाँ विकास निर्माणको कामले जनता पनि निकै खुसी भएका छन् । तर कालोपत्रेको माग बढेको छ बजेट र वडाको श्रोतले त्यो तत्काल सम्भव नभएको अवस्था भन्नुपर्छ । फेरी यसका लागि पहल र प्रयास भने जारी रहेको छ ।
५, शिक्षा र स्वास्थ्यका लागि के के काम गर्नुभएको छ ?
ल साच्चै भन्नुहुन्छ भने यो वडामा एउटामा मजदुर किसान माध्यमिक विद्यालयको निर्माणमा योगदान सहित शैक्षिक सुधारका लागि शिक्षक, प्रअ, अभिभावक र विधार्थीहरुको हितका सर्वपक्षिय छलफल। अन्तरकृया लगायतको काम भएको छ । विद्यालयमा आफ्नो बलबुत्ताले सकेसम्म काममा सहयोग गरेको छु । यहाँ चार कोठे भवनको मात्थिलो तल्ला थपिएको छ । आफ्नो कार्यकालमा मजदुर किसान माविमा ३५ लाख बढीको सहयोग गरेर काम भएको छ । निर्वाचित भएपछि जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिन लागि परेको छु । यहाँ दैनिक ४० भन्दा बढी नागरिकले सेवा लिईरहेको छ । यहाँ स्वास्थ्य चौकीमा ल्यावको व्यवस्था गरिएको छ । मैले यस वडाका गरीब,विपन्न र सुबुम्बासीका लागि गाउँमै प्रसुती सेवा सुचारु गर्ने प्रयासमा स्वास्थ्य चौकीको स्तरउन्नती गर्न लागिपरेको छु । प्रसुती सेवा सुचारु गर्नमा मेरो पहल र प्रयास जारी छ ।
६, किसान र कृषिका लागि के गर्नुभएको छ ?
लयो वडाको किसानका लागि सिचाई गर्न नहर रहेको र केही किसनलाई गएको वर्ष मल र विउमा अनुदान बाहेकको काम गर्न नसकेको भन्नुपर्छ । किसानहरुलाई समय समयमा विभिन्न बाली लगाउन प्रोत्साहन गरिएको र कृषि भ्रमण समेत गराईएको छ ।
७, आर्थिक वर्ष २०७६।०७७ मा छुट्टै केही गर्नुभएको कुरा छ नयाँ ?
ल यो वडामा गाउँ सभाबाट प्राप्त भएको बजेटले सबै काम गर्न सम्भव भएन तर पनि वडमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नाला, सिचाई, लक्षित वर्ग, विद्युत, निर्माण सहितका विभिन्न ६४ वटा शिर्षकमा काम भएको छ । यहाँ कार्यालय सञ्चालन खर्च बाहेक सबै काम उपभोक्ता समिति र सम्बन्धित विज्ञयता भएकोसंस्थाहरुको सहकार्यमा भएको छ । यो वडाको साविक १ देखी ९ नम्बर वडासम्म नै सानो ठूलो योजनाका काम भएको छ । वडाले आफ्नो शिक्षा, स्वास्थ्य र नियमित वडाको सेवा दिदै आएको छ ।
८, कोरोनाको बारेमा तपाई के भन्नुहुन्छ ?
ल यो महामारी विश्वव्यपी फैलिएको छ । यसबारेमा म वडाबासीलाई के भन्छु भने कोरोना भाईरसले वृद्धवृद्धा, बालबालिका, दिर्घ रोगीहरुलाई असर पार्ने भएकाले सावधानी अप्नाउन जरुरी छ । तर पनि यसबाट नडराउन र आफ्नो नियमित काम तथा सेवा प्रवाह गर्न आग्रह गर्दछु । जिल्लामा कोरोना संक्रमणलाई धेरैले जितेको अवस्था भएकाले कोरोनाको औषधी र ठोस निकास पाउन नसकेको अवस्थासम्म सचेत र सजग रहन आग्रह गर्दछु ।
९, अनि वडा अध्यक्ष जि यो वर्षको योजना तथा कार्यक्रमहरु के छ यो वडामा ?
ल हेर्नुस सर यो वडामा यस वर्षको गाउँ सभाबाट प्राप्त भएको वार्षिक बजेट, नीति तथा कार्यक्रमले पारित भएको कार्यक्रममा ६१ शिर्षक रहेको छ । यो वडाका विपन्नका लागि ट्यूवेल खरिद गर्ने, झरना खोलामा बाध निर्माण, विभिन्न बाटो निर्माण तथा मर्मत, मधेली र इटहरी १३ जोड्ने बाटोको सीमाकंन तथा नक्सांकन गर्ने कार्य, कृष्ण मनिदर मधेली १, हनुमान मन्दिर र लक्ष्मिनिया ग्रामथान मर्मत मधेली ४, मजदुर किसान मावि देखी उत्तर मधेली स्वास्थ्य चौकी जानेबाटोमा दुवै तिर पक्की नाला निर्माण, वडा कार्यालयमा पार्किग स्थल निर्माण, मदर्साको बाउन्ड्री वाल निर्माण, टेग्रा खोलामा कल्र्भट निर्माण सहित यहाँको शिक्षा, स्वास्थ्य, धार्मिक तथा सांस्कृतिक स्थल, खानेपानी, सडक, नाला, सिचाई, लक्षित वर्गका सहित गरेर विभिन्न ६१ वटा शिर्षकमा काम हुनेभएको छ । यहाँ कार्यालय सञ्चालन खर्चका लागि ९ वटा शिर्षकमा करिब १० लाख रुपियाँ र त्यस बाहेकको ८० लाखको हाराहारीमा बजेट आएको छ । यो सबै काम उपभोक्ता समिति र सम्बन्धित विज्ञता भएको संघसंस्थाहरुको सहकार्यमा गर्ने योजनामा छु । वडाको नियमित सरसफाई, महिला स्वयम सेविका, छठ, माघी, जितिया, बालमैत्री सुशासन, कृषकलाई भर्मि कम्पोष्ट मल बनाउने तालिम सहितको कार्यक्रम समेत रहेको छ यो वडामा यसपाली ।
१०, अन्त्यमा के भन्नुहुन्छ तपाईले वडाबासीहरुलाई ?
ल म जनप्रतिनिधि भएकाले सबै वडाबासीलाई प्राथमिकतामा राखेर सरल, सहज र समान व्यवहारका साथ काम गरेको छु । यसरी काम गर्दै आएको र बाँकी काम पनि सोही अनुसार गर्नेछु । यसमा सबैको साथ र सहयोग मिलेको र फेरी थप सहयोग मिल्ने अपेक्षा गरेको छु । हालसम्म साढे तीन वर्षे वडा अध्यक्ष कार्यकाल सफल रहेको अनुभुती गरिरहेको छु । यसमा अव बाँकी रहेको कार्यकालमा सबैको साथ, सहयोग, सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गरेको छु । म त अरु के भन्छु भने राम्रो कामको समर्थन र नराम्रो काम भएको छ भने आलोचनात्मक विरोध गरेर पनि सचेत गराई दिन अनुरोध गर्छु । अनि सकिएको दशै र आउदै गरेको तिहार तथा छठ पर्वको अवसरमा वडाबासी, सम्पूर्ण गाउँपालिकाका जनसमुदाय, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि सहित सबैमा सुख, शान्ती, समृद्धि एवम उतरउतर प्रगतीको हार्दिक मंगलमय शुभमकामना व्यक्त गर्दर्छु ।

 

टर्की र ग्रिसमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु

इस्तानबुल । टर्की र ग्रिसमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । साथै भूकम्पमा परी करिब ८ सय जना घाइते भएका छन् । शुक्रबार गएको भूकम्पमा परी टर्कीमा २४ जना र ग्रिसमा २ जनाको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ग्रिसको सामोस टापुमा भवनले च्यापिएर एक किशोर र एक किशोरीको मृत्यु भएको छ ।

एजियन सागरलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले टर्कीको समुद्री किनारमा रहेको इज्मिर सहरमा धेरै क्षति पु-याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इज्मिरमा मात्रै २० भन्दा बढी भवन भत्किएको मेयर तंक सोयरले जानकारी दिएका छन् ।

भत्किएका भवनभित्र अझै कति मानिस फसिरहेका छन् भन्ने यकिन जानकारी प्राप्त नभएको अधिकारीले बताएका छन् । केहीलाई भने उद्धार गरिएको छ ।

भूकम्पपछि टर्कीको पश्चिमी किनारमा सानो सुनामी पनि आएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । सुनामीका कारण सहरमा पानी पसेको छ भने घरभित्र भएका सामानहरु पानीले बगाएको तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा सेयर गरिएको छ ।

भूकम्पपछि १९६ वटा परकम्प गएको पनि टर्किस अधिकारीले बताएका छन् । तीमध्ये २३ वटा परकम्प ४ म्याग्निच्युडभन्दा माथिका थिए ।

राससका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महाप्रबन्धक शर्मा होम आइसोलेशनमा रहेका छन् ।

स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै उनी नियमित कार्यालयमा उपस्थित रहेका थिए ।

महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै सङ्क्रमण पुष्टि भएको छ र उनी पनि होम आइसोलेशनमा रहेका छन् । उनीहरु दुवैलाई शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोरानाका सामान्य लक्षण देखिएका छन् । रासस

मोहमदको शव कब्रस्तानमै व्यवस्थापन गर्ने सहमति, दुई दिनपछि उठ्यो शव

कैलाली । दुई दिनदेखि घरमै रहेको मोहमद जमसेदको शव कब्रस्तानमै व्यवस्थापन गर्ने सहमति भएको छ ।

धनगढी उपमहानगरपालिका–१ पशुपतिटोलस्थित सिल गरिएको कब्रस्तानमा शुक्रबार मृत्यु भएका जमसेदको शव व्यवस्थापना गर्न समस्या भएको थियो ।

यद्यपी शनिबार जिल्ला प्रशासन कार्यालय कैलालीमा संघर्ष समिति र मुस्लिम समुदायबीच धनगढी उपमहानगरपालिका–१ का ५० वर्षीय जमसेदको शव कब्रस्तानमै व्यवस्थापन गर्ने सहमति भएको प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनले प्रशासनमा दुवै पक्ष बसेर छलफलपछि शव व्यवस्थापनका लागि गइसकेको बताए ।

लक्ष्मी माताको आराधना गर्दै जाग्राम बसेर मनाईयो कोजग्रात पुर्णिमा

काठमाँडौ । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् ।

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ ।

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि शुक्रबार नै समाप्त भएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ ।

शुक्रबार राति नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइएको छ ।   आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।

आश्विन शुक्ल पूर्णिमाको  सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आश्विन शुक्ल पूर्णिमाको राति जुवा खेल्ने विधान समेत शास्त्रीय आधारमा रहेको धर्मशास्त्रविद् गौतमले बताए । महालक्ष्मीसँगै शुक्रबार राति हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिएको छ ।

कोजाग्रत पूर्णिमा शुक्रबार परेपनि पूर्णिमा व्रत भने आज रहेको समितिले जनाएको छ । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । शुक्रबार २७ घडी ५८ पला अर्थात् बेलुकी ५ः२५ बजेसम्म चतुर्दशी तिथि थियो भने त्यसपछि पूर्णिमा तिथि लागेको छ । मध्यरातमा पूर्णिमा शुक्रबार परेकाले कोजाग्रत पूर्णिमा हिजै मनाउने निर्णय समितिले गरेको हो ।

आज पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७ः३३ बजेसम्म छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायङ्कालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो । कार्तिक स्नान र आकाशदीपदान पनि आजदेखि नै शुरु हुने जनाइएको छ । वैदिक सनातन धर्ममा कार्तिक मासमा गरिने स्नान र दानको ठूलो महत्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । रासस

पुलवामा आक्रमण पाकिस्तानकै योजनामा भएको पाकिस्तानी मन्त्री फवादको स्वीकारोक्ति, सरकारको सफलता भन्दै संसदमा भाषण

काठमाडौं। पाकिस्तानको केन्द्रीय सरकारका मन्त्री फवाद चौधरीले पुलवामा आक्रमण पाकिस्तानकै योजनामा भएको भनी स्वीकार गरेका छन् ।

बिहीवार मन्त्री चौधरीले संसदमा बोल्ने क्रममा पुलवामा आक्रमण प्रधानमन्त्री इमरान खानको नेतृत्वमा हासिल भएको राम्रो उपलब्धि भनी व्याख्या गरेका थिए । ‘हामीले भारतभित्र पसेर आक्रमण ग-यौं उनले भने ।

भारतमा आमनिर्वाचन आउनुभन्दा ठीक अघि जम्मु कश्मीरको पुलवामामा गरिएको आक्रमण चु​नाव जित्नका लागि भाजपाले गराएको भनी विपक्षी दलहरूले प्रोपागान्डा गरेका थिए ।  तर चौधरीको स्वीकारोक्तिले कांग्रेस तथा यसका नेताहरूलाई नंग्यानदिएको छ ।

भाजपाका राष्ट्रिय प्रवक्ता सम्बित पात्राले भने, ‘संसारभरिको आतंकवादको जरो पाकिस्तानमा छ । तर राहुल गान्धी र कांग्रेस पार्टीमा उनका सहयोगीहरूले पुलवामा आक्रमण नरेन्द्र मोदी र इमरान खानबीचको म्याच फिक्सिङ भएको बताउँदै आएका थिए ।’

चिनियाँ फोन शाओमीले एप्पललाई पछि पार्यो, यी हुन् सर्वाधिक लोकप्रिय स्मार्टफोन

काठमाडौं । इन्टरनेशनल डाटा कर्पोरेसनले चालु वर्ष सन् २०२० को तेश्रो त्रैमासिक अवधिमा विश्व बजारमा बिक्री भएका स्मार्टफोनसँग सम्बन्धित रिपोर्ट सार्वजनिक गरेको छ ।

जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको पहिलो स्थानमा सामसुङले पहिलो स्थान कायमै राखेको छ ।

 

विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीको रुपमा सामसुङले आफ्नो स्थान सुरक्षित गरिरहँदा चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले पनि आफ्नो दोश्रो स्थान कायमै राख्न सफल भएको छ ।

आईडीसीको रिपोर्ट अनुसार गत त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा १।३ प्रतिशतले घटेको छ । कोभिड–१९ महामारीका कारण विश्वका विभिन्न देशमा लकडाउनका कारण बजार बन्द भएका कारण स्मार्टफोनको बिक्रीमा समेत नकारात्मक असर परेको हो ।

तर महामारीका कारण स्मार्टफोन बजारमा जुन स्तरमा नकारात्मक असर पर्ने अनुमान गरिएको थियो, त्यो भन्दा स्मार्टफोनको बिक्री राम्रो देखिएको छ । तेश्रो त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको बिक्रीमा ९ प्रतिशतको गिरावटको आशंका गरिएको थियो ।

तथ्यांक अनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा विश्व बजारमा ३५ करोड ३६ लाख वटा स्मार्टफोन बिक्री भएका छन् ।

एप्पलको स्थान खस्कियो

रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा २२।७ प्रतिशत हिस्साका साथमा दक्षिण कोरियाली कम्पनी सामसुङ पहिलो स्थानमा छ । यस अवधिमा सामसुङले ८ करोड ४ लाख गोटा स्मार्टफोन बिक्री गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामसुङले २।९ प्रतिशत धेरै स्मार्टफोन बजारमा पठाउन सफल भएको छ ।

त्यस्तै १४।७ प्रतिशत बजार हिस्साका साथ हुवावे दोश्रो स्थानमा छ । उसले यस अवधिमा ५ करोड १९ लाख गोटा स्मार्टफोन बेचेको छ । यद्यपि अघिल्लो वर्षको सोही अवधिको तुलनामा हुवावेका स्मार्टफोनको शिपमेन्टमा २२ प्रतिशतको गिरावट आएको छ ।

उता विश्वको सर्वाधिक मूल्यवान कम्पनी एप्पलले भने विश्वको सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको रुपमा आफ्नो तेश्रो स्थान गुमाउन पुगेको छ । एप्पललाई चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले पछाडि पारेको छ । शाओमीले आफ्नो बजार हिस्सा १३।१ प्रतिशत पुगेको छ । तेश्रो त्रैमासिकमा शाओमीले ४ करोड ६५ लाख ओटा स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।

खासगरी विकासशील विकासोन्मुख देशहरुमा सुपथ तथा मध्यम मूल्यका स्मार्टफोनको मागमा भएको उच्च वृद्धिका कारण शाओमीका स्मार्टफोनको बिक्रीमा उल्लेख्य बढोत्तरी गरेको छ । गत वर्षको तेश्रो त्रैमासिकको तुलनामा यो वर्षको तेश्रो त्रैमासिकमा शाओमीले ४२ प्रतिशत धेरै स्मार्टफोन बेच्न सफल भएको हो ।

चौथो स्थानमा झरेको एप्पलको बजार हिस्सा ११।८ प्रतिशतमा खुम्चिएको छ । तेश्रो त्रैमासिकमा एप्पलले ४ करोड १६ लाख थान आइफोन बेचेको छ ।

अर्को चिनियाँ स्मार्टफोन ब्राण्ड भिभो चौथो स्थानमा छ, जसको बजार हिस्सा ८।९ प्रतिशत रहेको छ । यस अवधिमा भिभोले ३ करोड १५ लाख वटा स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।

 

 

 

मुस्ताङमा बाहिरी जिल्लाबाट प्रवेश रोक्ने निर्णय

मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले घरपझोङ गाउँपालिका–४ मा कोरोना पोजेटिभ देखिएको परिवार र उनको सम्पकमा रहेकाको कन्ट्रयाक ट्रेसिङ गरेर स्वाव संकलन गरेर पठाउने निर्णय गरेको जिल्ला प्रशासान कार्यालय मुस्ताङले जनाएको छ ।

आवश्यकता अनुसार क्वारेन्टाइन अनिवार्य गर्ने समेत निर्णय भएको छ । मुस्ताङका पाँच वटा विशेष अवस्था रहेकोले अन्य जिल्लाबाट आवतजावत नगर्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जिल्लामा भ्यान्टिलेटर नभएको, कच्ची सडकबाट उद्धारमा समस्या हुन सक्ने, जाडो बढी सकेकाले संक्रमण थप बढ्न सक्ने, कागबेनी तथा मुक्तिनाथ जस्ता धार्मिक क्षेत्र बन्द रहेको र हवाइ उद्धार मात्रै गर्न गाह्रो भएकाले अन्य जिल्लाबाट अत्यावश्यक बाहेक प्रवेश नगर्न अनुरोध गर्ने निर्णय गरिएको हो ।

१५ दिनभित्र विदेशी च्यानलमा क्लिन फिड पूर्ण कार्यान्वयनमा आउने

काठमाडौं । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा विज्ञापनरहित क्लिन फिड कार्यान्वयन आउने भएको छ ।

क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा अबको १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालका टेलिभिजन वितरकहरूले बताएका छन् ।

गत कात्तिक ७ गतेदेखि क्लिन फिड लागू गरेकोमा त्यसको कार्यान्वयन गर्न नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द छ । ऐनले नै तयारीका लागि एक वर्षको समय उपलब्ध गराउँदा पनि तयारी नगरेपछि कात्तिक ७ गते यता विज्ञापनसहितका विदेशी च्यानलको प्रसारण वितरकहरूले नै बन्द गरेका थिए ।

सरकारले क्लिन फिड कार्यान्वयन गर्न पर्याप्त समय दिए पनि उपकरण आयातको अनुमति र त्यसको जडानमा भएको ढिलाइले कतिपय च्यानलमा पूर्ण रूपमा क्लिन फिड लागू हुन नसकेको नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष धुब्र शर्माले जानकारी दिए ।

क्लिन फिड कार्यान्वयन गर्दा ग्राहकलाई थप मूल्य बढाउन नपाइने सरकारले स्पष्ट पारिसकेको छ ।

इंग्लिस प्रिमियर लिग फूटबलमा वुल्भ्स विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फूटबल वुल्भ्स विजयी भएको छ । प्रिमियर लिगमा गएराति वुल्भ्सले क्रिष्टल प्यालेसलाई २–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा वुल्भ्सको जितमा १९ वर्षका रायन एइत–नूरी र ड्यानिएल पोडेन्सीले एक–एक गोल गरे ।

आफ्नो डेब्यू खेलमा नूरीले १८ औं र पोडेन्सीले २७ औं मिनेटमा गोल थपेका थिए । त्यसपछि ८६ औं मिनेटमा लुका मिलिभोजेभिकले रातो कार्ड पाएपछि क्रिष्टल १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि तेस्रो स्थानमा उक्लिएको वुल्भ्सले ७ खेलबाट १३ अंक जोडेको छ । उता समान ७ खेलबाट १० अंक रहेको क्रिष्टल नवौं स्थानमा छ ।

विश्वमा ५ लाख ७३ हजार बढी मानिस संक्रमित

काठमाडौं । कोरोना संक्रमणबाट विश्वभर हालसम्मकै धेरै मानिस संक्रमित भएका छन् । केही दिनयता विश्वभर नै दैनिक कोरोना संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा हालसम्मकै धेरै ५ लाख ७३ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको हो ।

यसअघि बिहीबार मात्रै अहिलेसम्मकै धेरै ५ लाख ४८ हजारभन्दा बढी संक्रमित थपिएका थिए । पछिल्लो पटक सबैभन्दा धेरै अमेरिकामा १ लाख १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकैदिन संक्रमित हुने यो संख्या पनि हालसम्मकै उच्च हो ।

यसअघि त्यहाँ यही अक्टोबर २९ तारिखमा ९१ हजार ८ सयभन्दा बढीमा संक्रमण भएको थियो । त्यस्तै भारतमा ४८ हजार तथा ब्राजिलमा २३ हजारभन्दा बढी संक्रमित थपिए ।

अमेरिकामा संक्रमित संख्या ९३ लाख नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमित हुने ८१ लाख तथा ब्राजिलमा ५५ लाखभन्दा बढी पुगेका छन् । विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ५८ लाखभन्दा धेरै रहेका छन् ।

यस्तै शुक्रबार विश्वभर झण्डै ७ हजार ५ सय जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा ९ सय ८८, भारतमा ५ सय ५० तथा ब्राजिलमा ५ सय २९ जनाले ज्यान गुमाए ।

कोरोनाका कारण विश्वमा मृत्यु हुने मानिसको संख्या ११ लाख ९३ हजार भन्दा बढी रहेको छ ।

सवालाख स्वदेश फर्किए

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका एक लाख २३ हजार ८४८ जना नेपाली स्वदेश फर्किएका छन् ।
विभिन्न ३३ मुलुकबाट नियमित र चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले जनाएको छ । मुुलुकमा चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएयता अहिलेसम्म सो सङ्ख्यामा नेपाली स्वदेश फर्केका हुन् । कोभिड–१९ को सङ्क्रमणबाट असहज अवस्थामा रहेका नेपाली स्वदेश फर्कने क्रम जारी नै  छ । केन्द्रका अनुसार, अहिलेसम्म प्रदेश १ का पन्ध्र हजार ८६९ जना, प्रदेश २ का १३ हजार ५९८ जना, बागमती प्रदेशका १८ हजार ८९२ जना, गण्डकी प्रदेशका नौ हजार ९४२ जना, लुम्बिनी प्रदेशका १२ हजार ८८३ जना, कर्णाली प्रदेशका एक हजार ६३५ जना र सुदूरपश्चिम प्रदेशका एक हजार ८६० नेपाली स्वदेश फर्किएका छन् । प्रदेशगत विवरण प्राप्त नभएका ४९ हजार १६९ जना नेपाली अहिलेसम्म स्वदेश फर्केका छन् ।
अहिलेसम्म मलेसियाबाट १७ हजार ९२४ जना, यूएईबाट ३५ हजार ९९२ जना, साउदी अरबबाट १७ हजार ३२२ जना, कतारबाट २३ हजार १३५ जना, कुवेतबाट नौ हजार ९२३ जना, ओमानबाट दुई हजार १२६ जना, बहराइनबाट एक हजार ३३९ जना नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले जनाएको छ ।