१४ कार्तिक २०८०, मंगलवार २२:०४ – Nagarikabhiyan : National News

चर्चित कलाकार चक्र बमसहित ९ जना जुवाखालबाटै प्रहरीद्वारा पक्राउ

जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ गरेको छ ।

शनिबार राति मैतीदेवीको एक डान्सबारमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीको सिंहदरबार वृत्तले अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर इकु, शंकर आचार्य गायक चक्र बमलगायत ९ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ ।

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको आज मङ्गलवार बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रियसभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधिसभामा जानेछ ।राष्ट्रियसभाको अर्को बैठक पर्सि बिहीवार दिउँसो १ बजे बस्नेछ ।

नेपाली सेनाप्रति घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल फ़ेरि पक्राउ

सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

विगत केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक लगायतका माध्यमबाट नेपाली सेनाबारे जथाभाबी सामग्री लेखेर घृणा फैलाएको आरोपमा झापाको दमक घर भई अहिले काठमाण्डौ बस्दै आएका डिल्लीराम खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

सेनाको आग्रहमा खनाललाई पक्राउ गरेर अदालतमा पेस गरिएको र सात दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

लगातार ४ खेलको हारपछि पाकिस्तानको पहिलो जित बङ्गलादेश ७ विकेटले पराजित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बङ्गलादेशलाई हराएको छ । आज मङ्गलवार भएको खेलमा पाकिस्तानले बङ्गलादेशलाई ७ विकेटले हरायो ।

बङ्गलादेशले दिएको २ सय ५ रनको मध्यम लक्ष्य पाकिस्तानले ३२ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लागि फखर जमानले सर्वाधिक ८१ रन बनाए । यस्तै अब्दुल्लाह शफिक ६८ रन बनाएर आउट भए । बलिङतर्फ बङ्गलादेशका मेहिदी हसन मिराजले ३ विकेट लिए ।

यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भयो । बङ्गलादेशका महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए । यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए । बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।

प्रतियोगितामा लगातार ४ खेलको हारपछि पाकिस्तानको यो पहिलो जित हो । एकै संस्करणको विश्वकपमा पाकिस्तानले लगातार ४ खेलमा हार बेहोरेको पहिलो पटक हो । पहिलो खेलमा नेदरल्यान्ड्सलाई र दोस्रो खेलमा श्रीलङ्कालाई हराएको पाकिस्तान त्यसपछि भने लगातार ४ खेलमा पराजित भएको थियो । पाकिस्तान तेस्रो खेलमा भारतसँग, चौथो खेलमा अस्ट्रेलियासँग, पाँचौँ खेलमा अफगानिस्तानसँग र छैटौँ खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

आजको जितसँगै पाकिस्तान ७ खेलमा ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवौँ स्थानमा छ ।

प्रहरी हुँ भन्दै बाटो छेकेर सर्वसाधारणलाई दुःख दिने व्यक्ति पुर्पक्षका लागि कारागार चलान

काठमाण्डाै –प्रहरी हुँ भन्दै सर्वसाधारणलाई दुःख दिने एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
ललितपुरको गोदावरी नगरपालिका(६ टीकाभैरव घर भई अहिले टोखा नगरपालिका(११ भण्डारीटोल बस्ने २२ वर्षीय विश्व मल्‍ललाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो ।

मल्लले असोज ११ गते बिहान साढे ४ बजेको समयमा बाटोमा हिँडिरहेका सर्वसाधारणलाई रोकेर आफू सिभिल घुमुवा प्रहरी हुँ तलासी लिनुपर्छ भनेर प्रहरीको नक्कली परिचयपत्र देखाएका थिए । तलासी लिन खोजी सर्वसाधारणलाई दुस्ख दिइरहेको अवस्थामा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले मल्ललाई पक्राउ गरेको थियो । प्रहरीको उनको साथबाट प्रहरीको नक्कली परिचयपत्र, स्कुटर र स्कुटरको डिकीभित्र खुकुरी बरामद गरेको थियो ।

जुवातास खेल्ने ४६ जना पक्राउ ३ लाख ३१ हजार रुपैयाँ बरामद

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले विभिन्न ठाउँबाट ४६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट तीन लाख ३१ हजार आठ सय रुपैयाँ बरामद गरेको छ ।

काठमाण्डौ महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई अहिले काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुनसमेत आठ जनालाई सोमवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई एक लाख ९९ हजार रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाण्डौ तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–२ घर भएका ३९ वर्षीय पूर्णबहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा रानासमेत आठ जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई १९ हजार पाँच सय रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाँके कोहलपुर नगरपालिका–३ मदनचोक बस्ने विष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा त्यही नगरपालिका–४ बस्ने ४१ वर्षीय दीपककुमार ढकालसमेत पाँच जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ३५ हजार नौ सय ५५ रुपैयाँ र २५ गड्डी ताससहित पक्राउ गरेको हो ।

धादिङ नीलकण्ठ नगरपालिका–३ एमाले चोक नजिक बस्ने आशीष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा त्यही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खतिवडा समेत छ जनालाई सोमवार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ४२ हजार आठ सय २५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

तेह्रथुम लालीगुँरास नगरपालिका–२ प्रगति टोल बस्ने ३८ वर्षीय वीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङसमेत १२ जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ९५ हजार रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर बेलौरी नगरपालिका–७ फगतपुरमा रहेको राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरीसमेत सात जनालाई मङ्गलवार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ११ हजार पाँच सय ८० रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।

चार महिनामा १५९ सवारी दुर्घटना, १२ जनाको ज्यान गयो

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले चालू आर्थिक वर्षको ४ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ६५८ जनालाई कारबाही गरेको छ।

चालू आर्थिक वर्षको साउनयता गरिएको उक्त कारबाहीबाट ४७ लाख ४२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ।

जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रमुख सुशील आचार्यका अनुसार गत साउनमा ३८२, भदौमा २ हजार ५८८, असोजमा ९३९ र कात्तिक १२ गतेसम्म ४४० गरी कुल ६४९ सवारीसाधन कारबाहीमा परेका छन्।

यसैगरी दशैंको अवधिमा मात्र ६०९ वटा सवारी कारवाहीमा गरेको छ भने ५० लाख ५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ।

सोही अवधिमा २२ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका हुन्।

४ महिनामा सवारी दुर्घटनामा कुल १२ जनाले ज्यान गुमाइसकेका छन् भने २४८ जना घाइते भएका छन्। ट्राफिक प्रहरीको तथ्यांकअनुसार सो चालू आर्थिक वर्षको ४ महिनामा १५९ वटा सवारी दुर्घटना भएको छ।

दुई कुशलको विष्फोटक ब्याटिङले नेपालको सानदार जित

आईसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा ब्याट्सम्यान कुशल मल्ल र कुशल भुर्तेलको विष्फोटक ब्याटिङका कारण नेपालले सानदार जीत हात पारेको छ।
नेपालले मलेसियाविरुद्ध ६ विकेटको जित हात पारेको हो। मलेसियाले नेपालसामू जितका लागि १ सय ६६ रनको चुनौती पछ्याउने क्रममा ३४ बलमा मल्लले सात वटा छक्का र दुई चौकाको मद्धतमा ६५ रन बनाए भने भुर्तेलले ४३ रन बनाएका थिए।

सोमबार सिंगापुरविरुद्ध उनले एक बलमा छक्का हान्दै खेल सकेका थिए। भुर्तेलले २५ बलमा चार चौका र चार छक्का प्रहार गरे। भुर्तेलले सोमबार सर्वाधिक ७४ रन बनाएका थिए। सिंगापुरविरुद्ध उनले ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए।

यस्तै आशिफ सेख ३२ रन बनाएर आएट भए। उनले २३ बलमा ३२ रन आउट भएका हुन्। उनले एक चौका र दुई छक्का हाने। कप्तान रोहित पौडेल ८ बलमा दुई रन बनाएर आउट भए। सन्दीप जोरा १६ बलमा १८ र विवेक यादवले दुई बलमा २ रन अविजित रहे।

त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिला ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको हो।

आक्रामक सुरुवात गरेको मलेसियाले पाँच ओभरमा बिना क्षति ५४ रन बनाएको थियो। छैटौं ओभरमा मलेसियाको पहिलो विकेट खसेको थियो। त्यसपछि मलेसियाको आक्रामक ब्याटिङमा नेपालले नियन्त्रण गरेको थियो।

नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एकरएक विकेट लिए ।

पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा काभ्रेमा २ जनाको ज्यान गयो

काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आज मङ्गलवार पनौतीको कुशादेवीबाट नयाँ गाउँतर्फ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको ट्रक सिला भञ्ज्याङमा पल्टिएको हो ।

दुर्घटनामा मिनी ट्रक चालक पनौती नगरपालिका–२ कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवविक्रम केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा बेथानचोक–२ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते हुनुभएको छ । उहाँको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

एक व्यक्तिले श्रीमतीको हत्या गरीे आत्महत्या गरे

स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए ।

श्रीमानले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए ।
साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेको प्रहरी निरीक्षक यादवको भनाइ थियो ।

यसअघि पनि बेलाबखत श्रीमतीलाई कुट्ने र झैझगडा हुने गरेको जानकारी पाइएको र हिजो साँझ खाना खाएपछि राति कुन समयमा सो घटना भयो भन्नेबारे यकिन नभएको उनले बताए । कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेपछि दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल ल्याउने तयारी भईरहेको र घटनाबारे थप अनुसन्धान सुरु भएको निरीक्षक यादवले बताए।

इजरायल–हमास द्वन्द्वमा कम्तीमा ३१ जना पत्रकारको ज्यान गयो

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमास द्वन्द्वमा अहिलेसम्म कम्तीमा ३१ जना पत्रकारको ज्यान गएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट सीपीजे ले अहिलेसम्म २६ जना प्यालेस्टीनी, चार जना इजरायली र एक जना लेबनानी पत्रकारको ज्यान गएको जनाएको छ ।

सीपीजेले एक विज्ञप्ति निकालेर गाजामा पत्रकारले असाधारण जोखिमको सामना गरिरहेको बताएको छ । यस्तै गाजामा इजरायलको अन्धाधुन्ध आक्रमणका कारण पत्रकारले बस्ने ठाउँ पनि नपाएको उल्लेख छ ।

पत्रकारले भूमिगत सेल्टर लिएकोमा त्यहाँ पनि इजरायली आक्रमण हुने गरेको सीपीजेले जनाएको छ । इजरायल–हमास युद्धमा ज्यान गुमाउनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाहसमेत रहेका छन् ।

यही अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण थालेपछि भएको युद्धमा १४ सय जना इजरायली र नौ हजार जना प्यालेस्टिनीको ज्यान गइसकेको छ ।

कैलालीको बनबेहडामा महिलालाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

कैलालीमा एक महिलालाई ठक्कर दिएर फरार भएका कार चालक पक्राउ परेका छन्।
पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका–६ को बनबेहडामा दशैंको भोलिपल्ट नम्बर नखुलेको कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका–९ की ६० वर्षीय मनादेवी रावतको मृत्यु भएको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। तर ठक्कर दिएर भागेको कारको पहिचान हुन सकेको थिएन।

इलाका प्रहरी कार्यालय मालाखेतीले सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने कार पत्ता लगाएर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी गणेश बरालले रूपन्देहीको तिलोतमा नगरपालिका–११ महुबारीका ५० वर्षीय ज्ञानराज पाण्डेले चलाएको बा १५ च ८४७० नम्बरको कारले ठक्कर दिएको खुलेको हो।

भारतको नैनीताल घुम्न गएका उनी महिलालाई ठक्कर दिएर भागेका थिए। पाण्डेलाई बुटवल प्रहरीको सहयोगमा आइतबार पक्राउ गरिएको डीएसपी बरालले बताए। अहिले कार र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको उनले बताए। चालकले समेत गल्ती भएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

लुम्बिनी पुगे राष्ट्रसंघका महासचिव गुटेरेस

नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेस आज लुम्बिनी आएका छन्।

अन्नपूर्ण बेस क्याम्पको भ्रमण गरेर गुटेरेस पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पर्यटन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका छन् ।

गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

कैलारी गाउँपालिकाको ९ नम्बर वडा कार्यालयमा तालाबन्दी

धनगढीः कैलारी गाउँपालिकाको(९ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ।
वडा कार्यालयको हरेक काममा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले नाराबाजीसहित वडा नम्बर ९ को कार्यालयमा तालाबन्दी गरेका हुन्।

स्थानीय कमल सिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको बताए। वडाध्यक्ष खेमराज चौधरी हाल सम्पर्क विहीन रहेका छन्।

गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूले पनि तालाबन्दी भएको खबर सुनेको बताए। वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने उनको भनाइ छ।

मुटुको उपचारमा उपयोगी बिच्छीको विष

मुटुको समस्या समाधान गर्नमा बिच्छीलाई उपयोग गर्न सकिेन वैज्ञानिकले पत्ता लगाएका छन्।
माकुरा सरह बिच्छी देख्दा पनि आङ सिरिङ्ग हुन्छ तर यसले समेत हाम्रा उपचारमा सहयोग पुग्ने देखिएको छ। बिच्छीको विषले मुटुमा समस्या ल्याउँछ तर यसले नै मुटुको उपचारमा सहयोग पुग्न सक्छ।

सबै बिच्छीमा विष हुन्छ र लगभग ३० प्रजातिका बिच्छीमा मात्र मानिसलाई बिरामी पार्न सक्ने खालको विष पाइन्छ। ती बिच्छीले डसेमा सास लिन कठिनाइ हुने मांसपेशीमा ऐँठन, रक्तचाप बढ्ने धड्कन घट्ने र ज्यान जान सक्ने जोखिम हुन्छ। तर बिच्छीको विषले नै मुटुको उपचार गर्न मिल्ने भनाइ वैज्ञानिकको छ।

सन् २०११ मा अमेरिकाका विस्कोन्सिन मेडिसन स्कुल अफ मेडिसिन एन्ड पब्लिक हेल्थका वैज्ञानिकले अफ्रिकी इम्पेरियर बिच्छीको विषमा हुने यौगिक मुटु असफल भएको उपचारमा प्रभावकारी हुने पाइएको थियो।

बिच्छीको क्याल्सिन यौगिकले मानिसको मुटुका कोषबाट क्याल्सियमलाई बाहिर निकालेर मुटुका मांसपेशीलाई खुम्चन सहयोग गर्ने वैज्ञानिकको भनाइ छ।

 

रिगलको रिटमाथिको सुनुवाइ पूर्ण इजलासमा

चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाई हुने भएको छ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल र डाक्टर कुमार चुडालको इजलासमा सुनवाइ तोकिएको छ।

यसअघि सोही रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू डाक्टर आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेका थिए।
असोज २५ गते प्रधानन्यायाधीश श्रेष्ठसहितको पूर्ण इजलासले रिगलविरुद्धको रिट आफूरहितको पूर्ण इजलासमा पठाउन आदेश दिएपछि सर्वोच्चले नयाँ इजलास गठन गरेको हो।

संविधान दिवसको अवसरमा सकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन मानन्धरका हत्यारा रिगललाई आममाफी दिएका थिए।
राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै सर्वोच्चमा रिट दिएकी थिइन्।