१८ बैशाख २०७७, बिहीबार २०:३२ – Nagarikabhiyan : National News

रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं । बिहीबार साँझ ६ बजे रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा ४ जना बालबालिकाहरुको ज्यान गएको छ ।

त्रिवेणी गाउँपालिका-४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले बताए ।

साँझ ६ बजेतिर भएको उक्त घटनामा मृत्यु हुनेमध्ये दुई बालबालिका एकै परिवारका रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम छन् ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।

 

 

 

देवानगञ्ज र गढीमा राहत वितरण प्रति नेकपाको विरोध

इनरुवा । सुनसरीको देवनागञ्ज र गढी गाउँपालिकाको राहत वितरणमा भेदभाव गरेको, कमसला सामग्री वितरण गरेको प्रति नेपाल कम्यूनिष्ट पार्टीको दुवै गाउँलकमिटीले असन्तुष्टी व्यक्त गरेको छ । कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारले जारी गरेको लकडाउनमा गाउँपालिकाले गरेका गतिविधीहरु पारदर्शी नभएको साथै राहत वितरणमा राजनितीक प्रतिसोध लिएको भन्दै देवानगञ्ज र गढीमा राहत वितरण प्रति नेकपाले विरोध जनाएको हो ।

नेकपा गढी गाउँ कमिटीले विहीबार प्रेस विज्ञप्ती जारी गरेर गढी वासीहरुको जनजिवन निकै कष्टकर हुँदै गइरहेको समयमा स्थानीय सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप समेत लगाएको छ । वडा पिच्छे फरक फरक राहत सामाग्री वितरण गरेको साथै राहत वितरण गर्दा राजनितीक प्रतिसोध लिएको जनाईएको छ ।

राहत सामाग्री गुनस्तरहीन तथा कम तौल भएको, कोरोना भाइरस सम्वन्धी जनचेतना प्रभावकारी रुपमा नगरिएको, स्वास्थ्य सामाग्रीहरु हालसम्म वितरण नगरेको, क्वारेन्टाइनको व्यवस्थापन राम्रो ढंगले नगरिएको, गाउँपालिका बाहिर भएका गाउँबासीहरुलाई व्यवस्थित रुपमा घर नल्याईएको, जेष्ठ नागरीकका लागी हालसम्म कुनै राहत प्याकेजको ब्यवस्था नगरिएको, विद्यार्थी

किसानहरुका लागी उचित व्यवस्था नगरिएको, सरकारले जारी गरेको कोरोना भाइरस सम्वन्धि निर्दे्शिका विपरीत प्रहरीले स्थानिय साना खुद्रा ब्यापारी तथा कृषि उपज सामाग्रीहरु विक्रि वितरकलाई त्रसिद वनाउदा पनि स्थानिय सरकार मौन बसेको भन्दै नेकपा गाउँसमितीले प्रेश विज्ञप्ती जारी गर्दे स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।

उता देवानगञ्ज नेकपाका नेता भिमनन्दन शर्मा सहितकाले विज्ञप्ती जारी गरेर कमसल, गुणस्तरहित सामग्री वितरण गरेको आरोप लगाउनुभएको छ ।

लकडाउनमा कोही पनि भोको रहनेछैन: कुसियैत

इनरुवा ।  प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले लकडाउनमा कोही पनि नागरिकले भोको बस्नु नपर्ने बताउनुभएको छ ।

देशमा तीन तहको सरकार रहेको र सबै भन्दा नजिकको स्थानीय सरकार रहेकाले कोही पनि नागरिक भोको बस्न नपर्ने बताउनुभयो । सुनसरीको इनरुना नगरपालिका ३ मा राहत हस्तान्तरण कार्यक्रममा वहाँले सो कुरा बताउनुभएको हो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुसियैतले आफ्नो ११ महिनाको सम्पूर्ण सेवा सुबिधालाई सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को चारै वटा स्थानीय हतलाई भोही भोको नहरोस भन्ने उदेश्यले राहत समेत हस्तान्तरण गरेको बताउनुभयो । वहाँले ईनरुवा नगरपालिकाको ३ वटा वडाहरुमा प्रत्येक वडामा एक हजार ५०० केजीको दरले चामल राहत हस्तान्तरण गरेको र स्थानीय तहहरुलाई

समेत राहतलाई पारदर्शी र प्रभावकारी बताउनुन आग्रह गर्नुभयो ।
मन्त्री कुसियैतले कोरोना भाईरस विश्व भरिमा फैलिरहेको हुदाँ रोकथाम तथा सर्न नदिनका थप सावधानीको लागि नेपाल सरकारले लगाऐको लगडनलाई प्रभावकारी वनाउन तथा अति विपन्न भऐका व्यक्तिहरुलाई खाद्यान्न संकटको मध्य नजर गरि अति विपन्न भऐका व्यक्तिहरुलाई खाद्यान्न तथा राहत वितरण गरेको बताउनुभयो । कुसियैतले आफ्नो गाउँ समेत रहेको कोशी गाउँपालिकाको ८ वटै वडामा पन्ध्र सय केजीका दारले चामल हस्तान्तरण गरेको बताउनुभयो ।

कोरोना महामारीले हाम्रो मेहनत नै खेर गयो : गोलकिपर एञ्जिला

काठमाडौं । एञ्जिला तुम्बापो सुब्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो रोजाइको गोलकिपर हुन् । विपक्षी टिमको बललाई पोस्टमा रोक्ने उनको काम हो ।

तर लकडाउनका कारण फुटबल प्रतियोगिता नभएकाले उनको दैनिकी फेरिएको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी उनी हलचोकस्थित कार्यालय भने दैनिक जाने गरेकी छन् ।

‘आजकल अफिस जाने, ड्युटी परेको बेला ड्युटी गर्ने’ एञ्जिलाले दैनिकी सुनाइन् ‘सेल्फ ट्रेनिङ गरिरहेको छु । तर मैदानमा खेलेजस्तो हुँदैन ।’

कोरोना भाइरसको महामारी रोक्न सरकारले लकडाउन गरेको पनि एक महिना एक हप्ता बितिसकेको छ । सधैँ खेल खेलिरहने र अभ्यास गरिरहने खेलाडी अहिले दिक्क छन् । ‘खेल्न नपाउँदा ब्याड फिल हुन्छ’ एञ्जिला भन्छिन्, ‘जहिल्यै साथीहरुसंग ट्रेनिङ भइरहन्थ्यो । अहिले कोरोनाले गर्दा सबै टाढा टाढा बस्नुपरेको छ ।’

महिला फुटबल खेलाडीहरु चैत ३ गतेदेखि धरानमा हुने महिला राष्ट्रिय लिग फुटबलको तयारीमा थिए । तर कोरोनाकै कारण एन्फाले लिग स्थगित गर्‍यो । यस पटकदेखि महिला फुटबलको पनि दोहोरो लिग गर्ने तयारी थियो । पुरस्कार रकम पनि बढाइएको थियो ।

‘हामी सबै उत्साहित थियौं,’ एञ्जिलाले भनिन्, ‘अहिले रोकिँदा हाम्रो मेहनत खेर गयो दुख लाग्छ । बल्ल बल्ल हुन लागेको गेम पनि कोरोनाले रोकियो ।’

खेल्न नपाए पनि एञ्जिला हिजोआज विभिन्न माध्यमबाट खेलसम्बन्धी नै जानकारी लिन्छिन् । अहिले रुममा बस्दा युट्युबमा आफ्नो फिल्डको भिडियोहरु हेर्छ, गोलकिपरको ट्रेनिङ हेर्छु । त्यसबाट केही सिक्न सकिन्छ’ एञ्जिलाले भनिन् ।

फुर्सदमा उनी आफ्नै पुराना खेलको भिडियो पनि हेर्छिन् । ‘त्यो बेला भएको मिस्टेकहरु के थियो एनालाइसिस गर्छु’ एञ्जिला भन्छिन् ।

फुटबल त छँदैछ फेरि समय सामान्य भएपछि खेल्न पाइन्छ । तर अहिलेको समयमा परिवारबाट टाढा रहँदा उनलाई नरमाइलो लागेको छ । ‘मैले यो बेला परिवारलाई धेरै मिस गरिरहेको छु । संगै हुन पाए पनि हुन्थ्यो जस्तो लागेको छ’ उनी भन्छिन् । उनको घरमा आमाबुबा र बहिनी छन् । दाइ विदेशमा छन् । घर जान नपाए पनि टेलिफोनबाट हालखबर बुझिरहेको एञ्जिला बताउँछिन् । स्रोत:अनलाइनखबर

बामदेवले ओलीबाट पाएको ६ वटा धोका

काठमाडौं  ।  नेपाल कम्युनिस्ट पार्टीभित्रको संघर्ष चुलिदै जाँदा हिजोको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गजबकै अस्त्र हाने । पार्टीमा शक्तिका दृष्टिले चौंथो नम्बरमा रहेका गौतमलाई प्रधानमन्त्री बनाउने उनको प्रस्तावले तरंग नै ल्याएको छ ।

गौतमकै साथले ओली तत्कालिन नेकपा एमालेको अध्यक्ष बनेका थिए । उनको साथले यसअघिको सचिवालय बैठकमा दुई विवादास्पद अध्यादेशकै कारण ओलीको पद धरापमा परेन । यस्ता सहयोगका बाबजुद गौतमले भने आफूलाई ओलीले पटक पटक धोका दिइरहेको बताउने गरेका छन् । उनले कहाँ कहाँ कहिले कसरी धोका पाए ?

धोका १
०६४ मा गठित प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री हुनुहुन्थ्यो वामदेव गौतम । यो सरकारले ०६४ चैतमा नेपाली सेनाका तीनतारे जर्नेल कूलबहादुर खड्कालाई प्रधानसेनापति नियुक्तिका लागि निर्णय गर्यो । त्यो निर्णय हुनुअघि पार्टी अध्यक्ष झलनाथ खनाल चीन जानुभएको थियो । यता, वामदेवलाई यस्तो निर्णयमा अडिग हुन निर्देशन दिएर निर्णय भयो । त्यसमा व्यापक विवाद आयो । र, झलनाथ खनालसहितका राजनीतिक दलहरुको सुझावमा टेकेर राष्ट्रपतिबाट उक्त निर्णय खारेज भयो । प्रचण्डले सरकारबाट राजीनामा दिनुभयो । वामदेवमाथि धोका भयो ।

धोका २
दोस्रो संविधानसभा निर्वाचनलगत्तै झलनाथ खनाल पार्टी अध्यक्ष भएको नाताले स्वतः संसदीय दलको नेता हुनुपर्ने माधव नेपालसहितका नेताहरुको मान्यता थियो । विकल्पमा माधव नेपालको नाम अगाडि सारियो । तर, वामदेव गौतमको तर्क फरक रह्यो । उहाँले भन्नुभएको थियो, पार्टी अध्यक्षलाई संसदीय दलको नेतृत्व पनि दिँदा काम विकेन्द्रित हुँदैन । त्यसैले पार्टी नेतृत्वदेखि संसदीय नेतृत्वसम्म नपाएको व्यक्ति दलको नेता हुनुपर्छ भन्ने तर्कका साथ केपी ओलीलाई संसदीय दलको नेताका रुपमा अगाडि सारियो । झलनाथ र केपीबीच चुनाव भयो । केपीले जित्नुभयो । यसमा वामदेवसँग रहेका ३० प्रतिशत सांसदहरुको भूमिका महत्वपूर्ण थियो ।

त्यसलगत्तै सुशील कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा एमालेका तर्फबाट वामदेव गौतमले तेस्रोपटक उपप्रधान तथा गृहमन्त्रीका रुपमा जिम्मेवारी पाउनुभयो । त्यसपछि केपीको तर्फबाट शर्त थपियो, महाधिवेशनबाट पार्टी अध्यक्ष बन्ने कुरामा भूमिका खेल्नुपर्ने । त्यसबापत बचन दिइएको थियो, अध्यक्ष भएपछि पुनर्गठन हुने सरकारको प्रधानमन्त्री बनाउने । संविधान जारी भएपछि वामदेवकै पहलमा माओवादी केन्द्रसँग सत्तासमीकरणको सहमति बन्यो । आफूलाई प्रधानमन्त्री बनाउलान् भनेर गरेको यो मेहेनत खेर गयो, केपी ओली आफैँ प्रधानमन्त्री बनेपछि । यो स्थितिमा वामदेवकै कारण प्रधानमन्त्री बन्नमै समस्या आउला भन्ने बुझेपछि केपीले आश्वासन दिनुभयो, ‘प्रधानमन्त्री भएको एक हप्ताभित्र संसदीय दलको नेता तपाईं ।’ तर, न प्रधानमन्त्री, न संसदीय दलको नेता । वामदेवलाई हात लाग्यो शून्य ।

धोका ३
०७४ को स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा (०७३ फागुनदेखि) अर्को तुरुप फ्याँकियो, माओवादीसँग गठबन्धन गराउनका लागि । त्यो थियो, माधव, झलनाथ र केपी गरी एमालेबाट तीनजना प्रधानमन्त्री भइसकेका कारण अब पार्टीबाट प्रधानमन्त्री बनाइनुपर्ने व्यक्ति वामदेव हो भन्ने ।
होला त भन्ने भएर वामदेव रातदिन प्रचण्ड फकाउन व्यस्त हुनुभयो । तर, कांग्रेससँगको गठबन्धन सरकार,त्यो गठबन्धन तोड्दा हुनै लागेको चुनाव पनि नहोला भन्ने प्रचण्डको मनशाय आएपछि त्यसपछिका चुनावमा गठबन्धन गर्ने बचन आयो ।

र, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा मुख्यतः वामदेवकै पहलमा माओवादीसँग चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्मका कुरा आए । यतिबेलासम्म यो प्रक्रियामा अरु पनि जोडिए, जस्तै विष्णु पौडेल, घनश्याम भूषाल हुँदै स्वयं अध्यक्ष केपी ओली । तर, पहिला ‘प्रधानमन्त्री बन्ने पालो वामदेवको’ भन्ने कुरा यतिबेलासम्म के भयो ? यसबारे न वामदेवले जान्ने प्रयास गर्नुभयो, न अन्य नेताले नै भन्ने आँट गरे । फलतः बर्दियामा भावी प्रधानमन्त्रीका रुपमा उहाँले भोट माग्नुभयो । काठमाडौंबाट सूर्य थापाहरुको कमाण्ड खडा गरेर उहाँलाई चुनाव हराउने योजना बन्यो । काठमाडौंले हराउने योजना बनाउँदै जाने, बर्दियामा कार्यान्वयन हुँदै जाने क्रमले उहाँले चुनाव हार्नुभयो ।

धोका ४
चुनाव हारेर फर्किएपछि बालुवाटारबाट वामदेवलाई थम्थम्याइयो, पुनःनिर्माण प्राधिकरणको स्तरोन्नती गरी उपप्रधानमन्त्री तहको व्यक्तिलाई सबैखाले भौतिक निर्माणको कामको अगुवाई दिने भनी ।

यसमा वामदेव निक्कै उत्साहित भएर लाग्नुभयो । प्राधिकरण ऐनको संशोधनका लागि मस्यौदा बन्यो । चित्त नबुझेका कुरा वा आफ्नो चाहनाका बुँदा उहाँद्वारा नै संशोधन भयो । संसदमा पेश गर्नका लागि मन्त्रिपरिषद्ले स्वीकृत दिने तहसम्म पुग्यो । तर, मन्त्रिपरिषद्को फाइलबाट त्यो मस्यौदा कहाँ हरायो ? अहिलेसम्म पत्तो छैन ।

धोका ५

वामदेवले हारेपछि चुनाव जितेका थुप्रै सांसद उहाँसँग भेट्न गए । सबैले भने, हामी सबैले जित्नु र तपाईं एउटाले हार्नुमा तपाईंको हारको नरमाइलो बढी छ । यसो भन्नेमध्येका एक हुन्, डोल्पाबाट जितेर आएका धनबहादुर बूढा ।

उनलाई राप्रपाबाट एमाले प्रवेश गर्नासाथ पहिलो र दोस्रो संविधानसभामा सांसद बनाएकै वामदेवले । उनले ०७४ को चुनावपछि भने, ‘मलाई तीन महिनाका लागिमात्रै भए पनि मन्त्री बनाइदिनुपर्यो । म हजुरका लागि मेरो क्षेत्र छोडिदिन्छु ।’

‘होला त’ भनेर वामदेवकै पहलमा उनी पर्यटन राज्यमन्त्री बने । तीन महिना बित्यो, तर डोल्पाको सांसदबाट राजीनामा दिएनन् । बरु, वामदेवका लागि धनबहादुरले राजीनामा दिने कुरा बजारमा जति–जति हल्ला हुँदै गयो, उति–उति धनबहादुर बालुवाटारबाट खोजिने, माया गरिने पात्रका रुपमा रुपान्तरित हुन थाले । पछि वामदेवबाट सोधनी भयो, ‘खै त राजीनामा दिएको ?’ उनको जवाफ थियो, ‘बा (केपी) ले नदेऊ भन्नुभयो ।’

धोका ६

फेरि ०७५ सालको असोज लागेपछि रामवीर मानन्धर आए, काठमाडौं क्षेत्र नं. ७ बाट राजीनामा दिन्छु भन्दै । एक हप्ताअघिसम्म ‘वामदेव प्रबृत्ति’ भन्दै जोडदार गाली बर्साउने मान्छे एकाएक त्यसरी वामदेवका लागि क्षेत्र नै छोडिदिन्छु भन्दै पुग्नु आश्चर्यको विषय त थियो । तर, वामदेवले पत्याउनुभयो । रामवीरले प्रचण्डकहाँ लगेर राजीनामा बुझाए । सामाजिक सञ्जालदेखि अनलाइन मिडियाहरु अनेक क्रिया र प्रतिक्रियामा उत्रिए । वामदेवको बदनाम गर्नेहरु यसबेला निक्कै सल्बलाए पनि । अन्ततः राजीनामाको निर्णयबाट रामवीर फिर्ता भए ।
भनिन्छ, वामदेवलाई संसदमा लैजान हैन, उनको बेइज्जत गर्न रामवीर परिचालित भएका थिए । नभन्दै,वामदेवको संसद यात्रा भएन,बरु बद्नाम गरियो र डामेर छाडियो ।

जम्माजम्मीमा रास्टृय सभाको एक थान सदस्य दिने पार्टीको बिधिवत निर्णय कार्यान्वयन हुन नदिने र अहिले सम्बिधान सम्शोधन गरिवरी प्रधानमन्त्री बनाउने वचनको वीच अर्को कुन धोका  लुकेको छ ? जिज्ञासाको बिषय बनेको छ !-जनआस्थाको सहयोगमा

कालोबजारी आरोप लागेका व्यवसायी अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग

काठमाडौं । कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवालसँग काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो ।

व्यवसायी अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेच्न खोजेको भन्दै प्रहरीले काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो ।

विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने बताएका हुन् ।
उनले भने, हामीले आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर यो भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ र बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने छ ।

महानिर्देशक टेड्रोसले यो जानकारी ‘भर्चुअल ब्रिफिङ’बाट दिएका हुन् । यस आकस्मिक बैठक पनि भर्चुअल स्वरुपमा नै हुने भएको छ ।
यस बीचमा कोविडको केही औषधिका बारेमा पनि कुराकानी हुने बताइएको छ । विश्व स्वास्थ्य संगठनका विज्ञहरुले पनि कोविडको औषधि पत्ता लगाउने विषयमा अनुसन्धान गरिरहेको भनिएको भए पनि कुनै ठोस प्रगति भने हुन सकेको छैन ।

गत मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोविडलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो । त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको संकटका बारेमा रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए ।

यस महामारीको पछिल्लो तथ्यांकअनुसार हाल यस महामारीबाट विश्वभरमा ३२ लाख भन्दा बढी संक्रमित रहेका छन् भने २ लाख २८ हजार भन्दा बढीको ज्यान गएको छ ।

सांसद यादवले दिए मानव अधिकार आयोगमा अपहरणको उजुरी

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

बुधबार आयोग कार्यालय पुगेका डा। यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए ।

‘अपहरण भएको भए मानव अधिकारको उल्लङ्घन हुन्छ, मानव अधिकार पुनर्स्थापना गर्न हामी बोल्छौँ’ उनले भने । महोत्तरीस्थित घरमै रहेका डा। यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।

त्यसपछि साँझ मेरियट होटलमा बास बसेका डा‍। यादवले भोलिपल्टदेखि आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताउँदै आएका छन् ।

उनीसहित जनता समाजवादी पार्टीका नेताहरू ‘अपहरण’ को उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगे । तर दुवै निकायले डा। यादवको उजुरी लिन अस्वीकार गरेका थिए । स्रोत:अनलाइनखबर

पाकिस्तानमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिए

काठमाडौं ।  पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा आठ सय ७४ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै पाकिस्तानमा समग्र संक्रमितको संख्या १५ हजार सात सय ५९ पुगेको छ ।

त्यस्तै अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन सय ४६ पुगेको छ । पाकिस्तानमा मे ९ सम्म कोरोना भाइरस नियन्त्रणका लागि मुलुकभर लकडाउनको घोषणा गरिएको छ । अहिलेसम्म पाकिस्तानमा चार हजार ५२ जना कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यसैबीच पाकिस्तानले विभिन्न मुलुकमा फसेका सात हजारभन्दा धेरै नागरिकलाई मुलुकमा फिर्ता ल्याउने बताएको छ । उनीहरुलाई मे महिनाको पहिलो सातामा पाकिस्तानमा फिर्ता ल्याइने बताइएको छ ।

स्रोत : सीएनएन

संक्रमितको संख्या बढेपछि पीसीआर परीक्षणमा तीब्रता

वीरगञ्ज । मध्य तराईको बारा, पर्सा र रौतहटमा कोरोना संक्रमित भेटिने क्रमले निरन्तरता पाएपछि थ्रोट स्वाबको नमुना संकलनमा तीब्रता दिइएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको यसअघि आरडीटी गर्ने गरिएकोमा पछिल्ला दिनमा पीसीआर परीक्षणलाई प्राथमिकता दिइएको हो । आरडीटी परीक्षण खासै विश्वसनीय पनि नदेखिएको र किट समेत कम रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

वीरगञ्ज–३ छपकैयाका सफाइकर्मी र वीरगञ्ज–१६ इनर्वाका दुई पुरुषमा संक्रमण पुष्टि भइसकेपछि १ सय ९५ जनाको थ्रोट स्वाब संकलन भइसकेको छ । जसमध्ये ९४ जनाको थ्रोट स्वाबको रिपोर्ट आइसकेको छ । उनीहरु मध्ये बाराका २ र पर्साका १ जनामा संक्रमणको पुष्टि भइसकेको छ । बाँकीको रिपोर्ट नेगेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार आइतबार थप दुई जनामा संक्रमण पुष्टि भएपछि पीसीआर परीक्षणलाई प्राथमिकता दिइएको छ । आइतबार ३३ जना, सोमबार ६१ जना, मंगलबार १७ जना र बुधबार ८४ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ । मंगलबार रौतहटबाट संकलन गरिएका थ्रोट स्वाबको नमुना पनि वीरगञ्जबाटै काठमाडौं पठाइएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका समेत १ सय १४ जनाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षणलाई नै प्राथमिकतामा राखेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।
‘आरडीटी किट पनि कम छ, अत्यन्त जरुरी पर्दाका लागि केही जोगाएर राखेका छौं,’ उनले भने, ‘पीसीआर परीक्षणलाई नै प्राथमिकता दिएका छौं । कन्ट्याक्ट ट्रेसिङको आधारमा शंकास्पद व्यक्तिहरुको दिनहुँ थ्रोट स्वाब संकलन गरिरहेका छौं ।’

वैशाख १७ गतेसम्म जम्मा ५ सय ३७ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । वीरगञ्ज लगायत जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ७ जना महिलासहित २ सय ४९ जना क्वारेन्टाइनमा र ३ हजार ४ सय ५७ जना होम क्वारेन्टाइनमा छन् । ठाकुरराम बहुमखी क्याम्पसमा १ सय ३३ जना भारतीयलाई राखिएको छ । स्रोत: अनलाइनखबर

जापान सरकारद्वारा नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान

काठमाडौं । जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ। जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको हो ।

जापान सरकारले बिहीबार यो निर्णय गरेको हो । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलले सभामुख भएको बेलामा जापान(नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उनलाई सो अवार्ड अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ।

के हो न्युरेएन्डोक्राइन ट्युमर, जो सँग लड्दै थिए इरफान खान ?

अभिनेता इरफान खान लामो समय दुर्लभ किसिमको रोगसँग लडे । आखिरमा उनले रोगलाई जित्न सकेनन् । कस्तो रोग हो त्यो, जसको अगाडि चिकित्सा विज्ञानको पनि कुनै जोर चल्दैन रु

इरफान खानलाई लागेको रोग थियो, न्युरोएन्डोक्राइन ट्युमर ।

दुई बर्षअघि उनलाई यो रोग लागेको थियो । रोगको पहिचान र उपचार उनले लन्डनमा गरे । उपचारपछि पूर्णत ठीक नभएपनि उनी सामान्य लयमा फर्कने जोड गरिरहेका थिए । त्यसबीचमा एउटा फिल्ममा समेत अभिनय गर्न भ्याए ।

के हो न्युरोएन्डोक्राइन ट्युमर ?

न्यूरोएन्डोक्राइन ट्युमुमर त्यस अवस्थालाई भनिन्छ, जुन अवस्थामा शरीरमा हर्मोन पैदा गर्ने न्युरोएन्डोक्राइन सेल्स सामान्य भन्दा बढी हर्मोन उत्पादन गर्न थाल्छ । एक हिसाबले यो शरीरमा अधिक हर्मोन बनाउने रोग पनि हो । त्यसैले यस ट्युमरलाई कारसिनौयड्स पनि भनिन्छ ।

अहिलेसम्म जतिलाई यो रोग लागेको छ, उनीहरुको पेनक्रियाजमा यो ट्युमर पलाएको देखिन्छ । तर, पेनक्रियाज शरीरको एक्लो ठाउँ होइन, जहाँ यो ट्युमर पलाउन सक्छ । यो ट्युमर शरीरको अन्य भगमा पनि फैलन सक्छ । जस्तो कि, फोक्सो, थाइराइड वा एड्रिनल ग्ल्यान्ड ।

सुरुवाती चरणमा यसको कुनै लक्षण देखिदैन । अन्तिम चरणमा पुगेपछि मात्र उक्त रोगबारे पहिचान गर्न सकिन्छ ।

ट्युमर तीन प्रकारको हुन्छ

गेस्ट्रोइन्टेस्टाइल न्यूरोएन्डोक्राइन ट्युमर

यो गेस्ट्रोइन्टेस्टाइनल टै््क्टकको कुनैपनि भागमा हुनसक्छ, जसमा ठूलो आन्द्रा र एपेन्डिक्स पनि सामेल छ ।

लंग न्यूरोजएन्डोक्राइन ट्युमर –यो फोक्सामो हुने ट्युमर हो, जसले खोकेको बेला रगत आउने वा सास लिन समस्या हुन्छ ।

पेन्क्रियाटिक न्यूरोजएन्डोक्राइन ट्युमर –यो पेनक्रियाजमा हुने ट्युमर हो । हर्मोनसँग जोडिएको कारण यस ट्युमरले ब्लड शुगरलाई एकदमै प्रभावित बनाउँछ ।

अब अर्को प्रश्न, यो ट्युमर कसरी हुन्छ ?

यसको कुनै निश्चित कारण छैन । अहिलेसम्मको स्थिती हेर्दा यो वंशानुगत रुपमा सर्दै आएको पाइन्छ । आमाबुवामा यस्तो समस्या भएमा बच्चामा पनि त्यो सर्ने संभावना हुन्छ ।

यसको अर्को कारण भनेको धुमपान र ढल्कदो उमेर पनि हो । साथसाथै कमजोर प्रतिरक्षातन्त्र पनि ।

यसका साथै अल्ट्राभायोलेट किरणले पनि न्यूरोएन्डोक्राइन ट्युमर हुने खतरा बढाउँछ ।

कसरी थाहा हुन्छ ?

कसरी थाहा हुन्छ कि हामीलाई यस किसिमको समस्या छ भनेर रु यसको सामान्य लक्षण भनेको उच्च रक्तचाप, थकान वा कमजोरी हो । पेटमा समस्या भइरहनु पनि हो ।

यस रोगको कारण शरीरमा ग्लुकोजको मात्र एकदमै तिब्र बढ्ने वा घट्ने गर्छ ।

के हुनसक्छ उपचार ?

उपचारको कुरा ट्युमर शरीरको कुन भागमा छ भन्ने कुुराले निर्धारण गर्छ । साथै त्यो कुन चरणमा पुगिसकेको छ ।

उपचारको केही तरिका छन् । जस्तो कि, शल्यक्रियाबाट ट्युमर निकाल्ने । कहिले काहीँ दुई पटक पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ । ड्रग थेरापी पनि दिइन्छ । यसमा किमोथेरापी, टारगेटेड थेरापी र औषधि दिइन्छ ।

साथै रेडिएसन र लिभर डायरेक्टेड थेरापी पनि दिइन्छ । यो रोगबारे विश्व यति जानकार हुने थिएनन्, यदि स्टिभ जब्सलाई यो रोग नलागेको भए । अमेरिकी बहुराष्ट्रिय कम्पनीका मास्टर माइन्ड मनिने स्टिभको मृत्युको कारण पेनक्रियाटिक न्युरोजएन्डोक्राइन ट्युमर थियो । स्रोत:अनलाइनखबर

केपी ओली राजीनामा दिन तयार : वामदेव गौतम प्रधानमन्त्री, प्रचण्ड-नेपाल ट्वा !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका बहुमत सदस्यले बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई र्‍याखर्‍याख्ती पार्ने धेरैको आकलन थियो ।

तर प्रधानमन्त्री केपी ओलीले उल्टै उनीहरुलाई अप्ठ्यारोमा पारिदिए – नयाँ राजनीतिक जाल फालेर ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले लामो भूमिका बाँध्दै ओलीलाई भने, ‘तपाईंले पार्टी र सरकार दुबै स्वेच्छाचारी ढंगले चलाउनुभयो । अब दुवै पदबाट राजीनामा दिनुहोस् ।’

‘ल ठीकै छ,’ प्रधानमन्त्रीको जवाफ थियो, ‘म कोरोना संकट टरेपछि प्रधानमन्त्री छाड्छु । संविधान संशोधन गरेरै बरु उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं । अनि पार्टीको विधान संशोधन गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाऔं ।’

त्यसपछि गृहमन्त्री रामबहादुर थापा आवेशमा आए । ‘तपाईंहरु दुवै अध्यक्षका कुरा असान्दर्भिक र निरर्थक छन् । पार्टी फुटाउन देशभित्र र बाहिर विभिन्न शक्तिको चलखेल बढिरहेका बेला तपाईंहरु अनावश्यक लफडामा फसिरहनुभएको छ,’ उनले भने ।

नेकपा सचिवालय बैठक बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ४ घण्टा बसेको थियो । राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरणपछि पार्टीभित्र ओलीले पार्टी र सरकार दुवै मोर्चामा नेतृत्व दिन असफल भएको आवाज उठेको थियो । त्यसलाई बैठकमा अध्यक्ष दाहालले व्यक्त गरेका थिए । अध्यक्ष दाहालले गरेको प्रधानमन्त्रीको राजीनामा मागमा वरिष्ठ नेता नेपालले पनि थपेका थिए ।

सचिवालयका एक सदस्यका अनुसार प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘कोरोनाको संकटसँग जुधिरहेका बेला सरकारको नेतृत्व गरिरहेको व्यक्तिले राजीनामा दिन सक्दैन । राजीनामा दिनैपर्ने अवस्था आए कोरोनापछि दिउँला ।’
प्रधानमन्त्रीको भनाइ थियो, ‘अहिले तपाईहरुले मागेजस्तो म न प्रधानमन्त्रीबाट राजीनामा दिन्छु, न अध्यक्षबाट नै । बरु अध्यक्ष दिएरै समस्या समाधान खोज्ने हो भने पार्टीमा तीन अध्यक्ष बनाऔं, माधवजीलाई तेस्रो अध्यक्ष बनाऔं ।’

प्रधानमन्त्रीमा वामदेवको प्रस्ताव राख्दै प्रधानमन्त्रीले भने, ‘वामदेवजीले प्रधानमन्त्री हुन गरिरहेको रहर पनि पूरा हुने गरी कोरोनापछि बरु उहाँलाई प्रधानमन्त्री बनाएर जान म तयार छु । मैले प्रधानमन्त्री पद छाड्नै पर्ने भए नयाँलाई अवसर दिऔं । त्यो उपयुक्त व्यक्ति वामदेव हुनुहुन्छ । साथीहरू प्रधानमन्त्री भइसक्नुभएको छ । कोही एकपटक, हामी २ जना त २ पटकसम्म पनि भइसकेका छौं । नयाँलाई नै किन अवसर नदिने ? दिऔं, म तयार छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘वामदेवजीलाई अवसर दिऔं । कुनै क्षेत्र खाली गरौं । उहाँलाई उठाऔं । जिताएर ल्याऔं र प्रधानमन्त्री बनाऔं ।’

प्रचण्ड र नेपालले भने अध्यादेश प्रकरण, त्यसपछि सांसद अपहरणसम्मका काण्डले पार्टी र सरकारलाई बदनाम गरिरहेकाले यसबाट पार्टी, सरकार र नेतृत्वलाई जोगाउन प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्ने जिकिर गरेका थिए । वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि विवाद आएपछि नेतृत्वले गम्भीर भएर विकल्प दिन सक्नुपर्ने र पार्टीको जनमत जोगाउनुपर्ने धारणा राखेका थिए ।

महासचिव विष्णु पौडेल र उपाध्यक्ष गौतमले भने प्रधानमन्त्री इमान्दार बन्न प्रयास गर्नुपर्ने धारणा राखेका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकता सुढृढ गर्ने, सरकारलाई बलियो बनाएर लैजाने गरी जानुपर्ने र अहिले विवाद गर्ने बेला नभएको भन्दै ओलीको बचाउ गरेका थिए । गृहमन्त्री थापाले पार्टीभित्र एकअर्कालाई निषेध गरेर जाने कुराले राम्रो नगर्ने भन्दै कमजोरीलाई सच्याएर एकताबद्ध भई जानुपर्ने बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

थापाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले एकताबद्ध भएर जानुको विकल्प छैन । कमजोरी कोट्याउनेभन्दा पनि त्यसलाई सच्याएर नयाँ तरिकाबाट जाऔं । पार्टी र सरकारलाई बलियो बनाएर जाऔं । निषेधको राजनीतिले कसैलाई माथि उठाउँदैन । कहाँ के गर्नुपर्ने हो होमवर्क गरौं । बदलाव र निषेधको राजनीतिले ठीक ठाउँमा पुर्‍याउँदैन ।’

बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तावले नयाँ मोड लिएपछि नेताहरुले यस विषयमा थप गृहकार्यको आवश्यकता महसूस गरेका थिए । बुधवारको सचिवालयमा नेताहरुले खुलेरै आफ्ना भनाइ राखेको वरिष्ठ नेता झलनाथ खनालले बताए । ‘पार्टीभित्र र बाहिर देखापरेका सबै समस्याका विषयमा पार्टी बैठकमा गम्भीरतापूर्वक छलफल भएको छ । अब अर्काे बैठक बसेर स्थायी समिति बैठक टुंगो लगाउने समझदारी बनेको छ,’ वरिष्ठ नेता खनालले भने ।

अब सचिवालय बैठक २० बैशाखमा पुनः बस्नेछ । २० स्थायी समिति सदस्यले पार्टी बैठक माग गरेका विषयमा पनि सोही बैठकमा मात्र निर्णयमा पुगिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । श्रेष्ठले पार्टी्भित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र पार्टी स्थायी समिति सदस्यहरुले माग गरेअनुसारको स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेर छलफल भएको बताए ।

‘पार्टीको नेतृत्व टीमले अहिले गरिरहेको अनौपचारिक गृहकार्यको प्रक्रिया अगाडि बढाउँदै २० गते पुनः सचिवालय बैठक बस्ने कुरा भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेको आवश्यकतासँग मेल खाने र जनताले दिएको जनादेशसहितका सामाजिक रुपान्तरणका विषयमा पनि उपयुक्त निर्णयसहितको आवश्यक प्रस्ताव तयार पार्ने र आउने बैठकबाट स्थायी समिति बैठकको मिति तय गर्ने कुरा भएको छ ।’ २ दिन नेताहरूले आन्तरिक गृहकार्य गर्ने र त्यसपछि २० बैशाखमा सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ ।

भारतमा संक्रमितको संख्या ३३ हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा ३३ हजार ५० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । साथै यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ७४ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने एक हजार सात सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा अहिलेसम्म करिब १० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४३२ जना मानिसको मृत्यु भइसकेको छ ।

त्यस्तै गुजरातमा चार हजार ८२ जना मानिसमा यो भाइरसको संक्रमण देखिँदा १९७ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा पनि दुई हजार ५०० भन्दा बढीमा यसको संक्रमण देखिँदा एक सय २९ जनाको मृत्यु भइसकेको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार १३४ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने ३९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि ७५८ जनामा भाइरसको संक्रमण देखिँदा २२ जनाको मृत्यु भएको छ । बिहारमा ३९२ जनामा भाइरसको संक्रमण देखिएको छ भने दुईजनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा आठ हजार ३२५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

स्रोत:अनलाइनखबर

चर्चित अभिनेता ऋषि कपुरको निधन

काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

बुधबारमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो ।

स्रोत:अनलाइनखबर

अमेरिकाको अर्थतन्त्रमा ठूलो गिरावट

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को महामारीको कारण अमेरिकाको अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासमा ठूलो गिरावट आएको छ ।

अमेरिकाको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा अमेरिकाको अर्थतन्त्रमा चार दशमलव ८ प्रतिशतको गिरावट देखिएको हो ।

सन् २०१९ को अन्तिम तीन महिनामा अमेरिकाको अर्थतन्त्र दुई दशमलव १ प्रतिशत बढेको थियो ।

अमेरिकाको लागि पहिलो त्रैमासमा देखिएको अर्थतन्त्रको गिरावट सन् २००९ को पहिलो त्रैमासयताकै ठूलो हो । मार्चको अन्तिम दुई सातामा अमेरिकाको आर्थिक गतिविधिमा देखिएको कमीसँगै अमेरिकाको अर्थतन्त्रमा त्यसको असर देखिएको हो । उक्त अवधिमा अमेरिकामा लाखौं मानिसले बेरोजगारी सुविधाको लागि आवेदन दिएका थिए ।

गत मार्चमा अमेरिकाको विभिन्न राज्यमा दिइएको घरमा नै बस्ने निर्देशनको असर अमेरिकाको अर्थतन्त्रमा देखिएको हो । आगामी त्रैमासमा यसको अझ ठूलो असर अर्थतन्त्रमा देखिन सक्ने जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

चीनको वुहानबाट शुरु भएको यो महामारीबाट अमेरिका सबैभन्दा धेरै प्रभावित बनेको छ ।

स्रोत: अल जजिरा