१४ कार्तिक २०७८, आईतवार १९:१२ – Nagarikabhiyan : National News

कोशी नेकपा एमालेको अध्यक्षमा साह

नेकपा एमालेको सुनसरी कोशी गाउँ कमिटिको प्रथम गाउँ अधिवेसन सम्पन्न भएको छ । सम्पन्न गाउँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । नयाँ संरचना अनुसार नेकपा एमालेको प्रथम कोशी गाउँ कमिटिको अधिवेशनबाट रामखेलाव साहको अध्यक्षतामा सर्वसहमती समिति चयन गरेको हो । निर्वाचन समितिका सदस्य अजय कुसियैतका अनुसार गाउँ कमिटि उपाध्यक्षमा उमर अंसारी, सचिवमा सुरेन्द्र पाठक र उपसचिवदोयमा अमोद चौधरी र सम्साद मंसुरी सहित ७५ सदस्य कमिटि चयन भएको छ । निर्वाचितहरुलाई नेकपा एमाले केन्द्रिय परिषद सदस्य खेमराज पोखरेल, सरोज पोखरेल, नेकपा प्रदेश सदस्य तथा कोशी इन्चार्ज अजय कुसियैत, नेकाप एमालेका सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी, नेता तारानन्द मरियैत, नेता चनरदेव यादव, सरोज सिंह, अनिता उराँव, जितेन्द्र खेडवार, कमलेश्वरी खेडवार, रामचन्द्र यादव, धनबहादुर उराँव, पावर्ती उराँव लगायतकाले बधाई तथा शुभकामना दिनुभयो । यस अघि नै कोशी गाउँपालिकाको सबै वडामा नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम वडा कमिटिको अधिवेशन सम्पन्न भएको थियो ।
कुसियैतका अनुसार कोशी गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा रामचन्द्र यादव, २ मा रामचरण यादव, ३ मा योगेन्द्र दास उराँव, ४ मा इसराईल मंसुरी, ५ मा सूर्यनारायण यादव, ६ मा जयशंकर खड्का, ७ मा रामानन्द सदा र ८ मा मजोन सिपलिया प्रथम वडा कमिटि अधिवेशनबाट नेकपा एमालेको वडा अध्यक्षमा चयन भएका छन् । कोशीको ८ वटै वडामा सर्वसहमतीमा वडा कार्यसमिति गठन भएको र आईतबार गाउँ कमिटिको अधिवेस सहित सबै कमिटि सर्वसहमतिबाट चयन भएका हुन ।

 

प्रदेश १ सरकार एमालेकै रहने ः कुसियैत

 

 

नेकपा एमाले विभाजनसँगै प्रदेश १ का दोस्रो मुख्यमन्त्री भिमप्रसाद आचार्यको पद धरापमा परेको बेला एमालेका केन्द्रिय सदस्य तथा प्रदेश संसद जगदिशप्रसाद कुसियैतले एमालेकै सरकारले निरन्तरता पाउने दावी गर्नुभएको छ । प्रदेश १ मा शेरधन राई नेतृत्वको सरकार फेरिर एमालेकै आर्यायको नेतृत्वको सरकार गठन भएको र नेपाली कागेंस सहित नेकपा एकिकृत समाजवादी र संघीय समाजवादी सहितको गठबन्धनले असहयोग गर्ने दावी गरेको बेला कुसियैथले एमालेकै सरकारले निरन्तरता पाउने दावी गर्नुभएको छ । आईतबार नेकपा एमालेको कोशी गाउँ कमितिको प्रथम गाउँ अधिवेसनलाई सम्बोधन गर्दै गणित्य हिसावबाट अहिले एमालेसंग ४१ सासद रहेको र मात्र छ जना सांसद अपुग रहेकाले त्यसमा केही साथीहरुले सहयोग गर्ने भएकाले एमालेकै सरकारले निरन्तरता पाउने दावी गर्नुभयो । वहाँले नयाँ सरकार गठनको प्रयासमा रहेको गठबन्धन र विश्वासको मत लिने घोषणा गरेको एमालेले निरन्तरता पाउने सम्भावना उच्च रहेको दावी गर्नुभएको छ । काग्रेंस र नेकपा एसको बीचमा कसको नेतृत्वमा बनाउने भन्ने विषयमा अलमल भएको र उनीहरु भित्रै अन्यौल रहेकाले एमालेकै सरकारले निरन्तरता पाउने अवस्था आएको जिकिर गर्नुभयो ।
प्रदेशमा ९२ सदस्यीय प्रदेशसभा रहेकोमा एमालेका ५१ जना मध्ये नेकपा एस विभाजित भएको अवस्थामा १० जना उता गरेका छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, राप्रपा, नेकपा एसको १० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ सांसद छन । यसरी गठबन्धनसंग स्पष्ट बहुमत हुने देखिएको छ तर पूर्व मन्त्री समेत रहेका कुसियैगले एमालेकै सरकारले निरन्तरता पाउने अवस्था आएको जिकिर गरेकाले राजनीतिक तरगं पैदा गर्ने देखिएको छ ।

एमालेका ५१ सांसदमध्ये एक जना गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन । प्रदेश सरकार गठनका लागि ४६ सांसद आवश्यक हुन्छ ।
यसैबीच नेकपा एमालेको प्रथम कोशी गाउँ कमिटिको अधिवेशनबाट रामखेलाव साहको अध्यक्षतामा सर्वसहमती समिति चयन भएको छ । निर्वाचन समितिका संयोजक पर्शुराम यादवका अनुसार उपाध्यक्ष उमर अंसारी, सचिव सुरेन्द्र पाठक, उपसचिवदोयमा अमोद चौधरी सम्साद मंसुरी सहित ७५ सदस्य कमिटि चयन भएको छ । निर्वाचितहरुलाई नेकपा एमाले केन्द्रिय परिषद सदस्य खेमराज पोखरेल, सरोज पोखरेल, नेकपा प्रदेश सदस्य तथा कोशी इन्चार्ज अजय कुसियैत, नेकाप एमालेका सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी, नेता तारानन्द मरियैत, नेता चनरदेव यादव, अनिता उराँव, जितेन्द्र खेडवार, कमलेश्वरी खेडवार, रामचन्द्र यादव, धनबहादुर उराँव, पावर्ती उराँव लगायतकाले बधाई तथा शुभकामना दिनुभयो ।

 

नेपालमा आज थप ४०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ७३१ र एन्टिजेन विधिबाट २ हजार १६८ जनामा परिक्षण गर्दा ४०८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १२ हजार ५७० र एन्टिजेनबाट ९४ हजार ५३५ जना पुगेको छ ।

यस्तै, आज थप ५१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९१ हजार ७८७ जना पुगेको छ । निको हुने दर ९७.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४०७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ रहेको छ ।

मुलुकको ऊर्जा सुरक्षाको प्रमुख आधारः जलाशयुक्त आयोजना

काठमाडौँ । मुलुकको ऊर्जा सुरक्षाका लागि अर्धजलाशयुक्त र जलाशयुक्त आयोजना जरुरी भए पनि त्यसका लागि हालसम्म सार्थक प्रयास हुन सकेको छैन ।

सरकारले बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने भनेर प्रक्रिया बढाएको पनि लामै समय भयो तर त्यसमा हालसम्म कुनै ठोस् काम हुनसकेको छैन । कूल जडित क्षमता दुई हजार मेगावाट पुगेपनि हिँउदका समयमा अझै पनि भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता छ । वर्षाको समयमा बिजुली खेर जाने र हिउँदमा अभाव हुने अवस्थामा ऊर्जा क्षेत्रका जानकारले भने ऊर्जा सुरक्षाका लागि योजनाबद्ध रुपमा पहल र प्रयत्न गर्नुपर्नेमा जोड दिएका हुन् । ऊर्जा सुरक्षाको विषय संसारभर नै प्रधान रुपमा उठिरहेको बेला नेपालमा पनि त्यसबारेमा बेलाबेलामा बहस भए पनि नीतिगतरुपमा भएका प्रयास कार्यान्वयनमा जान सकेको छैन । यसले विज्ञलाई चिन्तित तुल्याएको हुनसक्छ ।

यस्तै हरेक क्षेत्रमा बढ्दो परनिर्भरता अन्त्यका लागि पनि सरकारी तथा निजी क्षेत्रको सकारात्मक पहल जरुरी देखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धक केन्द्र स्थापनाको २५ वर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रमका वक्ताहरूले ऊर्जा सुरक्षाको विषय असाध्यै ठूलो महत्वको रहेको भन्दै आफैमा भरपर्ने गर्ने नीति निर्माण र त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार ९० प्रतिशत जनसङ्ख्यामा प्रणालीको बिजुली पुगेपनि प्रतिव्यक्ति खपतको हिस्सा असाध्यै कमजोर रहेको छ । दक्षिण एशियामा नेपालको प्रतिव्यक्ति विद्युत् खपतदर असाध्यै कम छ । यस्तै सहज तथा निरन्तर बिजुलीको उपलब्धतामा पनि उत्तिकै समस्या छ । वर्षामा छेलोखेलो हुने बिजुली हिउँद लागेपछि एक तिहाइमा झर्ने अवस्था अन्त्यका लागि पनि जलाशय र अर्धजलाशयुक्त आयोजना नै नेपालको खास आवश्यकता रहेको जानकारको भनाइ छ ।

नेपालको जलविद्युत् आयोजना निर्माणको क्रम बढ्दै जाँदा शून्य कार्बन उत्सर्जनमा पु¥याएको भूमिकाको संसारभर नै प्रशंसा हुने गरेको छ तर ऊर्जा सुरक्षाका हिसाबले भने हाम्रो अवस्था कमजोर रहेको भन्दै एकाध वर्षमै त्यसमा गुणात्मक सुधार हुनुपर्ने उनीहरुको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले ऊर्जा सुरक्षाको कोणबाट सरकारले ऊर्जा मिश्रणको अवधारणामा काम गरिरहेको बताए । सरकारको प्राथमिकतामा जलाशयुक्त आयोजना भए पनि तोकिएअनुसार काम भने अगाडि बढ्न नसकेको उहाँले स्वीकार गरे।

तनहुँमा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना अर्धजलाशयुक्त मोडलमा अगाडि बढाइएको जानकारी दिँदै सहजसचिव भेटवालले जलाशयुक्त आयोजनाको रुपमा ५३५ मेगावाट क्षमताको दूधकोशी छिट्टै निर्माणमा लैजाने बताए। नदी प्रवाही आयोजना धमाधम अगाडि बढे पनि ऊर्जा सुरक्षाको कोणबाट महत्वपूर्ण मानिएका जलाशयुक्त आयोजना निर्माणमा अनेकन कठिनाइ रहेको उनको भनाइ थियो ।

सरकारले विसं २०८५ भित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकामा त्यो पूरा हुने भए पनि जलाशयुक्त आयोजना निर्माणमा भने लक्ष्यअनुसार काम नहुने हो कि भन्ने अवस्थामा रहेको सहजसवि भेटवालकोे भनाइ थियो । त्यसका लागि सरकार, निजी क्षेत्र र लगानीकर्ताका बीचमा साझा प्रयास र सहकार्य जरुरी रहेको भन्दै उनले ऊर्जा सुरक्षाको कोणबाट सबैले मनन गर्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले ऊर्जा मिश्रणको अवधारणालाई मिहिन तरिकाले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उनले देशभित्र प्रसारण प्रणाली निर्माणमा देखिएको समस्या समाधानका लागि पनि उत्तिकै ध्यान दिनुपर्ने र राजनीतिक दल तथा कर्मचारीतन्त्रले पनि त्यसलाई आत्मसात् गर्नुुपर्ने बताए ।

वातावरणीय दृष्टिले शून्य कार्बन उत्सर्जनमा नेपालले निर्वाह गरेको भूमिका आफैमा प्रशंसनीय रहेको भन्दै उनले  त्यसबाट प्राप्त हुने लाभको समेत समन्यायिक वितरण हुनेपर्ने स्पष्ट पारे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा सुरक्षाका हिसाबले पनि आफूहरुले जलाशयुक्त आयोजना निर्माणमा नै ध्यान दिनुपर्छ भनेर लागिपरेको बताए ।

प्राधिकरणले सोही लक्ष्यका आधारमा दूधकोशी, माथिल्लो अरुणजस्ता आयोजना अगाडि बढाउन लागेको उनको भनाइ थियो । वर्षामा छेलोखेलो बिजुली हुने र हिउँदमा कम हुने अवस्थालाई मध्यनजर गर्दै नेपालभित्रै पनि क्षेत्रीय सन्तुलन हुने गरी जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङले आवश्यकता औँल्याए ।

ऊर्जा उत्पादक र उपभोक्ताले विद्युत् खरिददर बढाउन माग गरेको अवस्थामा त्यसलाई सन्तुलन कायम गरेर अगाडि बढ्नुपर्ने अवस्थामा प्राधिकरण रहेको भन्दै उनले सकेसम्म विद्युतीय चुलोेको प्रयोग बढाउने तवरले काम भइरहेको उल्लेख गरे ।
खान पकाउने एलपी ग्यास विस्थापनका लागि भरपर्दो विद्युत् उपलब्ध गराउन प्राधिकरण तयार रहेको र त्यसका लागि योजनावद्ध प्रयास भइरहेको उनको भनाइ थियो ।

ऊर्जा, जलस्रोत क्षेत्रका जानकार एवं वैकल्पिक ऊर्जाको क्षेत्रमा काम गरिरहेका सङ्घ संस्थाका प्रतिनिधिले ऊर्जा सुरक्षाकालागि साझा सहकार्य हुनुपर्ने बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले वैकल्पिक ऊर्जाको क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने रणनीतिक कार्यका बारेमा जानकारी दिए।

६ लघुवित्तले आईपीओ निष्कासन गर्दै, कुनको कति कित्ता ?

 काठमाडौं । सर्वसाधारण लगानीकर्ताको लागि ६ लघुवित्त कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् ।

आर्दश लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, उपकार लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र जाल्पा लघुवित्तले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् । नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएपश्चात यी ६ लघुवित्तले आईपीओ निष्कासन गर्नेछन् ।

आर्दश लघुवित्तले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गरेको छ ।

सीवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख रुपैयाँ बराबरको ३ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

उपकार लघुवित्तले २ करोड ६६ लाख २ लाख ६६ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई क्यापीटललाई नियुक्त गरेको छ ।

राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ नियकासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा नेपाल एनआईबीएल एस क्यापीटललाई नियुक्त गरेको छ ।

जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापीटल रहेको छ नियुक्त गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

आइतबार सरकारले पटक–पटक पे्रट्रोलिएम पदार्थको मुल्य विद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो । सरकारले जनताको ढाढ सेक्ने गरि पेट्रोल, डिजेज,मट्टीतेल र एलपी ग्यासको मुल्य वृद्धि गरेकाले आफ्नो संगठनले विरोध गरेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए । उनले सरकारले जनताको मतलव नगरेर मुल्यवृद्धि गरेको आरोप लगाउदै सरकारको दिनगन्ती सुरु भएको चेतावनी दिए ।

अध्यक्ष गुरेलले अहिलेको राज्यव्यवस्था जनताको पक्षमा नभएकाले आफूहरु आन्दोलनमा उत्रिएको बताए । हालै भएको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै उनले जनताको सेवा गर्न नसक्ने भए राजीनमा दिन शासक दलहरुलाई आग्रह गरे ।

बारको बहिष्कारपछि प्रधानन्यायाधीश जबराले पनि हेरेनन् मुद्दा

काठमाडौं । नेपाल बार एसोसिएसनको बहिष्कारका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समेत आइतबार मुद्दा सुनुवाइ गर्न सकेनन् ।

न्यायाधीश र नेपाल बारको विरोधका बाबजुद बुधबार इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका जबराको इजलासमा कुनै पनि कानुन व्यवसायी बहसका लागि उपस्थित नभएपछि उनको इजलासमा पनि मुद्दा सुनुवाइ हुन नसकेको हो ।

‘उहाँले आफ्नो एकल इजलास र अर्को एउटा संयुक्त इजलास तोक्नुभएको थियो, संयुक्त इजलासमा न्यायाधीश अनुपस्थित भएर सुनुवाइ भएन, एकल इजलासमा बहस गर्न कानुन व्यवसायीहरू जानुभएन,’ नेपाल बारका महासचिव लीलामणि पौडेलले भने ।

जबराले आफ्नो इजलासमा दुईवटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका थिए । बार र न्यायाधीशको आन्दोलनका कारण बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत अलपत्र परेका छन् ।
आन्दोलनरत न्यायाधीशहरूले आइतबारबाट बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने बताए पनि बन्दीका रिट सुनुवाइ गर्न न्यायाधीशहरू इजलास गएनन् ।

प्रधानन्यायाधीश जबराले उपस्थित सबै न्यायाधीशका लागि कललिस्ट (मुद्दा सुनुवाइको सूची) सार्वजनिक गरेका थिए ।

न्यायाधीश कुमार रेग्मीको इजलासमा एउटा र न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा बैंकिङ कसुर अभियोगमा कारागारमा रहेका कमल ज्ञवालीको बन्दीप्रत्यक्षीकरण रिटको पेसी तोकिएको थियो ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र सपना प्रधान मल्लको इजलासमा समेत एउटा बन्दीका रिट सुनुवाइका लागि तोकिएको थियो । तर न्यायाधीशहरू यी सबैै निवेदनमा सुनुवाइका लागि इजलास गएनन् ।

लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँ : राष्ट्रपति भण्डारी

सिद्धार्थनगर  । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । जनताको खुसी नै हाम्रो खुसी हो ।”

आज लुम्बिनी पुग्नुभएको राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गर्दै भन्नुभयो, “गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको छ, यो विश्वप्रसिद्ध स्थल हो, नेपालमा गौतमबुद्धको जन्म भएको हो, बुद्धले लामो तपस्यापछि जुन ज्ञान प्राप्त गर्नुभयो त्यसको मर्म र भावनाअनुसार चल्नसक्दा नै मानवकल्याण हुनेछ ।”

उहाँले राष्ट्रिय विकास क्षेत्रीय चिन्तनबाट प्रभावित हुनुहुँदैन भन्दै लुम्बिनीजस्तो पवित्रस्थल सबैको प्राथमिकतामा रहनुुपर्ने र यसको विकासमा सबैको साझा मत हुनुपर्ने धारणा पनि राख्नुभयो ।

त्यस समारोहको मञ्चमा रहेका सांसदहरु, पूर्वमन्त्रीहरु, नगरप्रमुखहरु लगायतलाई सम्बोधन गर्दै उहाँले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न निर्देशन पनि दिनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “धेरै समयपछि यहाँहरुलाई भेट्न पाउँदा खुसी लाग्यो । खास गरीकन यति धेरै जनप्रतिनिधिलाई भेट्ने अवसर प्राप्त भएको छ ।”

त्यस अवसरमा राष्ट्रपति भण्डारीले काठमाडौं महानगरकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई सम्मान प्रदान गर्नुभएको थियो ।

उहाँ आज बिहान ११ बजे हेलिकोप्टरमार्फत लुम्बिनी आइपुग्नुभएको हो । उहाँलाई लुम्बिनीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, सांसदरु डा सूर्य पाठक, खिमलाल भट्टराई लगायतले स्वागत गर्नुभएको थियो ।

बज्रयान महाविहारमा आयोजित कार्यक्रममा स्वागत गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा नरेशमान बज्राचार्यले लुम्बिनीमा नेपालको विहार नभएको हुँदा आफूहरको अग्रसरतामा बज्रायान महाविहार निर्माण गरेको बताउनुभयो । उहाँले यसका लागि काठमाडौं महानगरपालिकाले रु चार करोड २९ लाख सहयोग गरेकोसमेत बताउनुभयो ।रासस

तालिबानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक रुपमा देखा परे

एजेन्सी । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतबार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए ।

अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहदै आएका थिए । तर अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सवार्वजनिक रुपमा देखा परेका थिएन ।

तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपी उनको मृत्युको अफवाह पनि फैलिएको थियो । तालिबान अधिकारीहरुका अनुसार शनिबार उनले दारुल उलूम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकू चेलाहरुसँग कुरा गरेका तालिबान अधिकारीहरूले बताएका थिए ।

सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा परी तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत संक्रमणकालमा तालिबानको नेता नियुक्त गरिएको थियो ।

४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

महेन्द्रनगर । ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ परखेडी घर भएका ५० वर्षीय करन सिंह छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सिंहले शनिबार राति ४ वर्षीया बालिकामाथि आफ्नै घरमा बलात्कार गरेका थिए। मदिरा सेवन गरी बालिकामाथि बलात्कार गरेको सूचनाका आधारमा अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको छ।

फूल खेती गर्ने किसानको दुखेसो : श्रमको मुल्य पनि उठ्दैन

भक्तपुर । तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याइनभ्याई छ । उनी हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगि हाल्छिन् । ९ बजेसम्म फूल टिपेर दिउँसो धान काट्न मेला भ्याउँछिन् ।

उनका अनुसार तिहारभित्रै सबै फूल नटिपे पछि खेर जान्छ । विहानभर लगाएर टिपेको फूलको उनको श्रीमान्ले दिउँसो माला उन्छन् । उनले घरसँगैको करिब एक रोपनी बारीमा फूल रोपेको सुनाइन् । यस वर्ष करिब दुई हजार माला तयार हुने उनको भनाइ छ । ‘पहिलेको वर्षको तुलनामा यस वर्ष फूल कम रोपेका छौँ । फूल पनि राम्रो भएन,’ उनले भनिन् । उनीहरूले एउटा मालालाई २५ देखि ३० रुपैँयामा बेच्ने गरेका छन् ।

फूल खेतीमा धेरै मिहिनेत परे पनि श्रमको मूल्य नआउने कृषकहरूको गुनासो छ  । सिन्धुली घर भई गुण्डु बस्दै आएका सुबास ब्लोले पनि फूललाई मिहिनेत धेरै गर्नु परे पनि उचित मूल्य नआउने बताए ।  बैशाखमा बेर्ना राखी फूल रोप्न तयार हुन्छ । ‘फूल रोपेदेखि नै दैनिक पानी हाल्नु पर्छ । समयसमयमा किटनाशक औषधि, बढ्ने औषधि हाल्नुपर्छ । साउनको पहिलोको हप्ताबाट फूल टिप्न तयार हुन्छ,’ उनले भने, ‘यो वर्ष तीन हजार माला तयार भएको छ । फूल किन्न दैनिक ठेकदार आउँछ । तर हाम्रो मिहिनेतको मूल्यनै आउँदैन ।’

चार जनाको परिवार रहेको उनको छोराछोरी स्कुलमा पढ्न जान्छन् । मालाबाट बार्षिक ५० देखि ६० हजार रुपैयाँ आम्दानी हुने उनले सुनाए । सो रकम केटाकेटी पढाउन, खुवाउन खर्च हुने उनको भनाइ छ । उनले जग्गा भाडामा लिएर फूल खेती गरेका बताए ।

नगरपालिकाबाट फूल खेतीमा बिऊ अनुदान 
सूर्यविनायक नगरपालिकाले व्यवसायिक फूलखेती गर्नको लागि फूलको बीऊ अनुदान दिँदै आएको छ । सूर्यविनायक नगरपालिकाका नगर उपप्रमुख जुना बस्नेतले नगरभित्रका स्थानीयलाई ८० प्रतिशत नगरपालिका र २० प्रतिशत स्थानीयको लागतमा फूलका बिऊ वितरण गरेको बताए ।

तर नगरपालिकाले दिएको फूलका बिऊले राम्रो उत्पादन नदिएको गुनासो कृषकको छ । गुण्डुका सीता थापाले नगरपालिकाले दिएको बिरुवा राम्रो नभएपछि अर्कै बिऊ रोपेको बताए । फार्म बनाएर रोप्नेको फूल राम्रो भए पनि बाहिर रोप्नेको राम्रो नभएको उनले सुनाइन् । भक्तपुरमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा व्यवसायिक रुपमा मखमली र सयपत्री फूल खेती हुँदै आएको छ ।

तिहारमा भक्तपुरमा वार्षिक चारदेखि पाँच करोडसम्मको फूल बिक्री हुने नगरपालिकाले जनाएको छ । तर स्थानीय तहले व्यवसायिक फूल खेती गर्नेलाई सहयोग नगरेको फूल व्यवसायीहरू बताउँछन् । ताथलीका राम बनमालाले अन्य सामग्रीको भाउ निर्धारण भए पनि फूल र मालाको भाउ निर्धारण गरि नदिएकोमा दुखेसो पोखे । फूलको मूल्य निर्धारण नभएसम्म कृषकहरू बिचौलियाको मारमा पर्ने उनले बताए ।

भक्तपुरमा उत्पादित फूल भक्तपुरभित्रैका बजार, काठमाडौं, ललितपुरलगायत स्थानमा बिक्री हुने उनीहरू बताउँछन् ।

शिक्षा क्षेत्रको समस्या हल गरिन्छ : मन्त्री पौडेल

बागलुङ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिकाले चाडबाडका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलानलगायत अल्झेर बसेका शिक्षा क्षेत्रका कामलाई अगाडि बढाइने बताएका हुन् । “शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ, ४०औँ वर्षदेखि समस्याहरु गाँजिएर रहेका छन्, तिनलाई क्रमशः हल गरिनेछ”, उनले भने, “अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि यस विषयमा छलफल भएको छ, अब लगत्तै काम सुरु हुन्छ ।”

मन्त्री पाडैलले अस्थायी शिक्षकका जायज मागलाई नीति र विधिगत प्रबन्धमार्फत सम्बोधन गरिने भन्दै शिक्षक दरबन्दी मिलानको काम सुरु भइसकेको बताए । कार्यभार सम्हालेपछिको पहिलो फाइल दरबन्दी मिलानकै सदर गरेको उनले जानकारी दिए । “एकातिर शिक्षकको दरबन्दी अभाव र अर्कोतिर अस्थायी शिक्षकको समस्या यो अवस्थाको अन्त्य गर्न मन्त्रालयले काम अगाडि बढाएको छ”, मन्त्री पौडेलले भने । विशिष्ट परिस्थितिमा आफू मन्त्रालयको नेतृत्वमा आइपुगेको भन्दै उहाँले आफ्नो कार्यकाल शिक्षा क्षेत्रको सुधारमा खर्चने धारणा राखे ।

मन्त्री पौडेलले शैक्षिक पूर्वाधार विकास र विद्यालय भवन पुनर्निर्माणको कामलाई पनि निरन्तरता दिइने बताए । उनले अन्तरमन्त्रालय समन्वय गरेर जिल्लाको विकास, निर्माणमा पनि यथाशक्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।रासस

लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको छ । कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उहाँले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताउनुभएको हो ।

“देशमा लोकतन्त्र जोगाउन पार्टीमा विधि पद्दति जोगाउन जरुरी छ”, उहाँले भन्नुभयो, “पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउन आफू पार्टी सभापति बन्नुपर्ने हुन्छ ।“ नेता सिंहले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउन आफूलाई सबै कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिनुभयो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले अघिल्लो सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा न्यायलयमा अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै अदालतलगायत निकायमा राजनीतिक नियुक्ति संविधानको भावना विपरीत गर्दा अहिलेको अवस्था उत्पन्न भएको जिकिर गर्नुभयो ।

प्रधानन्याधीशलाई थापाको प्रश्न ‘बारले राजीनामा माग्दा नदिने तपाइँ को हाे ?

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भू थापाले व्यक्तिको लागी बिरोध नभएर प्रवृत्तिमाथको बिरोध भएको बताएका छन् । न्यायपालिका भित्र प्रधानन्यायाधीशको भूमिका ठीक नभएको भन्दै राजीनामा नदिएसम्म नेपाल बार एशोसिएशनले चरणवद्ध आन्दोलन गर्ने उनको भनाई छ । उनले कोर्ट बारभन्दा ठूलो नभएको भन्दै बारले नै राजीनामा माग्दा राजीनामा दिन्न भन्ने कुरा लज्जास्पद भएको बताए । उनले कसैलाई पनि लोभ लालच दिएर उचालेको थाहा पाए सह्य नहुने चेतावनी पनि दिए ।

वरिष्ठ अधिवक्ता थापाले भने ‘कसैलाई नेता ल्याउन मन छ भने ल्याए हुन्छ, कसैलाई राज सिंहासनमा बसाउन मन छ भने बसाए हुन्छ, हामीले व्यक्तिको कुरा होइन, न्यायालयलाई पूजा गरिहरेका छौँ, न्यायालय भित्र तपाइँको भूमिका ठीक भएन, तपाइँ एक वर्षसम्म आफ्नो पदमा बस्नुभयो भने कार्यकालभर नेपाल बारले कार्यक्रम गर्छ, न्यायालयमा दुषित प्रक्रिया छ, त्यो प्रक्रियालाई बन्द नगर्ने, टार्ने हिसावबाट भएको छ, आफ्नो इजलासमा राखेको मुद्दा समेत हेर्न सक्दैनन् भने प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको हैसियतमा हामीले मानिरहनु पर्ने कुरा छैन, बार कोर्ट भन्दा पनि ठूलो हो, बारले नै राजीनामा मागिसक्यो भने तपार्इँ राजीनामा नदिने को हो ? यदि लोभलालच दिएर कसैलाई फसाएको थाहा भयो भने हामी छोड्दैनौँ ।’

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचार बिरुद्धको नेपाल बार एशोसिएशनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले कार्तिक १४, १५, १६ र १७ गते कालोपट्टीसहितको बिरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।

उनीहरुले ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देउ’ भन्ने ब्यानरसहित बिरोध गरेका छन् । बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणवद्धरुपमा बिरोध कार्यक्रम शुरु गरेको हो ।

जनप्रतिनिधिले नै नगर प्रमुखको घर अगाडि थुपारे फोहोर

जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका छन् । दिपावली छठका बेला पनि फोहोरले उपमहानगर भरिएपछि वडाध्यक्षहरूले नगरप्रमुख साहको घर अगाडि फोहोर थुपारेका हुन् ।

दीपावली नजिकिए पनि नगरप्रमुख साहले उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै आइतबार बिहान वडाध्यक्षहरुले नगरप्रमुख साहको घर अगाडि फोहोर थुपारेका हुन् । फेहोर व्यवस्थापन नभए साहलाई कालोमोसो दल्ने चेतावनी पनि वडाध्यक्षहरूले दिएका छन् ।

वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहलगायकाहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना समेत दिएका छन् ।

नगर प्रमुख साहले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति कुनै वास्ता नगरेको उनीहरुको आरोप छ ।

सुजिता बस्नेत बनिन् मिस युनिभर्स नेपाल

काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छिन् । १५ प्रतियोगीलाई पछि पर्दै उनी ताज पहिरिन सफल भएकी हुन् ।

उपाधिसहित २ सवटाइटलसमेत जितेकी बस्नेतले ताजसँगै १० लाख नगद पनि जितेकी छन् । गत वर्षकी ‘मिस युनिभर्स नेपाल’ अंशिका शर्माले उनलाई ताज पहिर्‍याएकी थिइन् ।

उत्कृष्ट १६ बाट १० र ५ हुँदै सुजिताले उपाधि आफ्नो बनाउन सफल भएकी थिइन् । उमंग क्रियसन आयोजक र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनरअप, डा.केशु खड्का फोर्थ रनरअप घोषित भएका छन् ।

विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावलीलगायत थिए ।

गत वर्ष ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् । प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन् । सन् २०१७ मा उनी पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ सहभागी भएकी थिइन् । सोही प्रतियोगितामा नेपालको प्रतिनिधि पठाउने उद्देश्यले उनले गत वर्षबाट ‘मिस युनिभर्स’ नेपाल आयोजना थालेकी हुन् ।