१४ कार्तिक २०७८, आईतवार १३:१९ – Page 2 – Nagarikabhiyan : National News

यमनको अन्तर्राष्ट्रिय विमानस्थल नजिक विस्फोट, ६ जनाको मृत्यु

एजेन्सी । यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी ६ जनाको ज्यान गएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् ।सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । उक्त बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका छन् ।

घाइते भएकाहरुलाई अस्पताल पु¥याइएको छ । त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यहाँ हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्न भइआएकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशंका गरेका छन् ।

उता साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ त्यहाँको सेनाले जनाएको छ । सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।
मारिब शहर यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो । त्यहाँका अधिकारीहरुले उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको छ ।

तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयमा त्यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।

सुदूरपश्चिममा कोरोना सङ्क्रमण जोखिम बढ्दै, ६०४ जनाको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही साता यता यहाँ कोरोना सङ्क्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ ।

गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दशैं तिहारकाबेला घरबाहिर रहेका गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा भिडभाड बढेको छ, परीक्षण हुन पाएको छैन, यसले जोखिम बढाएको छ ।” यसका साथै कात्तिक पहिलो साताको अविरल वर्षापछि विस्थापितहरु एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा अवस्थीको भनार्इ छ ।

बेमौसमी वर्षाले गर्दा गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन् । उनीहरुको परीक्षण गरिएको छैन । परीक्षण गर्यो भने सङ्क्रमणको अवस्था अझै बढ्ने आँकलन गरिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण नगर्ने गरेकाले पनि झनै जोखिम बढेको डा अवस्थीले बताउनुभयो । “लक्षण देखिएको तथा बिरामी भएको धेरै समयपछि उपचारका लागि आउने गर्दा सङ्क्रमण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “समयमै उपचारका लागि नआउँदा अकालमै ज्यान समेत गुमाउने गरेका छन् । ”

पछिल्लो केही साता यता दिनहुँजसो सङ्क्रमणका कारण मृत्यु हुनेगरेको छ । समयमै उपचारका लागि नआउँदा मृत्यु हुने दर बढेको जनाइएको छ । उहाँले कोरोना सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षण देखिनासाथ हेलचेक््याई नगरी समयमै उपचार गर्न आग्रह गर्नुभयो ।

हालसम्म ६०४ को मृत्यु, चार लाख जनाको परीक्षण

सुदूरपश्चिम प्रदेशमा हालसम्म करिब चार लाख व्यक्तिको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालयकाअनुसार तीन लाख ८४ हजार चार जनाको परीक्षण गरिएको छ । त्यसमध्ये ४७ हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल यस प्रदेशमा १९८ सक्रिय सङ्क्रमित रहेका छन् । सोमध्ये ३७ जना सङ्क्रमित संस्थागत आइसोलेशनमा बसिरहेका निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । अन्य सबै होम आइसोलेशनमा बसिरहेका छन् । कोरोनाकै कारण यस प्रदेशमा ६०४ जनाको मृत्यु भइसेकेको छ ।

प्रदेशभर सङ्क्रमितका लागि भन्दै एक हजार ७७२ आइसोलेशन बेड तयारी अवस्थामा रहेको छ । यसका साथै प्रदेशका विभिन्न अस्पतालमा ९७७ बेड, भेन्टिलेटर ३५, आइसोलेशन बेड ४२१, एचडियू १३९, आइसियु ६९, कोभडि एचडियु बेड १२६, कोभिड सघन उपचार कक्ष ५४ र कोभिड भेन्टिलेटर २१ रहेका छन् ।

यस प्रदेशको भारतसँग सीमा जोडिएका पाँच नाकामा पनि परीक्षणको काम भइरहेको छ । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट र जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा परीक्षणको काम भइरहेको छ । भारतबाट भित्रिनेको अनिवार्य रुपमा नाकामा परीक्षण भइरहेको छ ।रासस

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो: प्रधानमन्त्री देउवा

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गरेका छन्।

नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले  शनिबार साँझ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले ब्रिटिश गोर्खाहरूको लामो समयदेखिकोे योगदानले सम्बन्धको अर्को महत्वपूर्ण कडीको रूपमा काम गरेको उल्लेख गरे। यी सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका संसदहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले सर्वदलीय समूहले निर्वाह गरेकोे भूमिकाप्रति आभार व्यक्त गरे।

प्रधानमन्त्री देउवाले दुई देशका संसद्बीचको विद्यमान सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय प्रतिनिधिमण्डलको भ्रमणलाई निरन्तर र नियमित गर्न आग्रहसमेत गरे। उनले भने,’संसदीय लोकतन्त्रमा साझा विश्वास नेपाल र बेलायतबीचको घनिष्ठ सम्बन्धको आधारभूत पक्ष हो, नेपालप्रति समर्पित संसदीय निकायका रूपमा, समूहले यी सम्बन्धलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। बेलायती संसद्लाई बेलायती लोकतन्त्रको संस्थाको रूपमा मात्र नभई बहुदलीय प्रजातन्त्र र मौलिक स्वतन्त्रताको प्रतीकको रूपमा पनि प्रशंसा गरिन्छ।’

नेपालको  प्रजातन्त्रले आफ्नो लोकतान्त्रिक संस्थाको जग बलियो बनाउन इमान्दार प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र र स्वतन्त्रताका लागि लामो सङ्घर्ष गर्नुपरेको बताए। प्रजातन्त्र र स्वतन्त्रताका लागि आफूले दशकौंदेखि कडा सङ्घर्ष गरेकाले प्रजातन्त्र र स्वतन्त्रता आफूलाई प्यारो भएको उनको भनाइ थियो। ‘संसदीय लोकतन्त्र, आवधिक निर्वाचन, समावेशी प्रतिनिधित्व, विधिको शासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा राजनीतिक शक्तिको शान्तिपूर्ण हस्तान्तरणका प्रमुख विशेषतालाई सुदृढ गर्ने संविधान हो’ प्रधानमन्त्री देउवाले उल्लेख गरे।

नेपालको संविधानले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको प्रत्याभूति गरेको जानकारी गराउँदै उनले अहिले सबै निर्वाचित निकायमा ४१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताए। लोकतन्त्रले जनताको सामाजिक र आर्थिक विकासको आकांक्षा पूरा गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउँदै प्रधानमन्त्री देउवाले नेपालजस्तो मुलुकका लागि आर्थिक विकास गर्न स्रोतसाधनको कमी ठूलो चुनौती भएको र त्यसमाथि कोभिड–१९को महामारीले विकास गर्ने आफूहरुको क्षमतालाई थप बाधा पुर्‍याएको धारणा व्यक्त गरे।

बेलायतको संसद्मा विभिन्न अवसरमा नेपालप्रति व्यक्त गरिएको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै उनले कोभिड सङ्कटको समयमा बेलायती सांसदहरुले नेपालको सहयोगका लागि गरेका कार्यहरू र ऐक्यबद्धताका लागि धन्यवाद दिए। समारोहमा समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष तथा मञ्चका अध्यक्ष लर्ड शेख, लर्ड ल्यान्कास्टर, सांसद क्याथरिनलगायतले सम्बोधन गर्दै द्विपक्षीय सम्बन्धबारे चर्चा गरेका थिए। प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति यहाँ आइपुगेका छन्।

आइतबार बिहान  भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्री देउवासँग भेट्ने  र लण्डनस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ। आइतबार साँझ उनी स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो प्रस्थान गर्नेछन्। कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ। रासस

१० बुँदे समझदारी कार्यान्वयन कार्यदलबाट भीम रावलकाे राजीनामा (पत्रसहित)

काठमाडौं  । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन् ।

सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएको नेता रावलले बताएका छन् ।

पार्टीका अध्यक्ष ओलीलाई सम्बोधन गर्दै गएको कात्तिक १० मा पेस गरेको लिखित राजीनामामा पार्टी एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनमा स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिने गरी सार्वजनिक रुपमा र स्थायी कमिटीको बैठकमा अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नरहेको उल्लेख छ ।

राष्ट्रिय वाणिज्य बैंकले ८०० भन्दा बढी कर्मचारी माग्यो

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले विभिन्न १२ पदमा ८३६ जनाका लागि आवेदन माग गरेको छ । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन माग गरिएको हो । आज सार्वजनिक विज्ञापन अनुसार बैंकले दुई जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक जना उपप्रबन्धक (लेखा) समेत माग गरेको छ ।

८३६ जनाका लागि आवेदन माग गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २०० जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १७८ जना माग गरिएको छ । आवेदन दिने अन्तिम म्याद मंसिर पाँच गतेसम्म तोकिएको छ ।

एएफसी यु–२३ एशिया कप : नेपालले लेबनानको सामना गर्ने

काठमाडौँ । एएफसी यु–२३ एशिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छ । नेपाल र लेबनानवीचको खेल आज अपराह्न ४ः४५ बजे ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ ।

नेपाल र लेबनानका लागि यो खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । दुवै टोली अघिल्ला दुई खेलमा पराजित भइसकेका छन् भने प्रतियोगिताबाट पनि बाहिरिसकेका छन् । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली ताजकिस्तानसँग ६–० गोअन्तरले पराजित भएको थियो ।

ताजकिस्तान र इरान समान दुई खेलमा समान शीर्ष छ अङकसहित पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानका लेबनान र चौथो स्थानको नेपाल अङ्कविहीन छन् । त्यस्तै ताजकिस्तान र इरानविरुद्धको खेलले समूह ‘बी’ को विजेताको टुङगो लाग्ने छ । यस समूहको शीर्ष टोलीले एएफसी यु २३ एशियन कप खेल्नेछन् ।

यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एशियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका छ ।

सुनको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार २४० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६३ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

राष्ट्रीय जनगणनामा खटिने गणकका चार दिने तालिम सुरु

इनरुवा । राष्ट्रीय जनगणना २०७८ मा खटिने गणकका चार दिने तालिम सुनसरीको सदरमुकाम इनरुवामा सुरु भएको छ । आईतबारबाट १२ औं राष्ट्रीय जनगणना २०७८ को लागी चार दिने गणक तालिम इनरुवामा सुरु भएको हो । स्थानीय जनगणना अधिकारी मनोज कुमार मेहताको अध्यक्षता तथा जिल्ला जनगणना कार्यालयका प्रमुख सुवास अधिकारीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन सत्र सम्पान्न भई तालिम प्रशिक्षण सुरु भएको छ । तालीममा रामधुनी नगरपालिका र इनरुवा नागरपालिकाका १४६ जना गणकहरुको सहभागिता रहेको छ । तालिम १७ गतेसम्म संचालन हुने जनगणना अधिकारी मनोज कुमार मेहताले जानकारी दिनुभयो । कार्तिक २५ देखि मंसिर ९ गतेसम्म गणकहरु मूख्य प्रश्नावली गणनाको लागि घरदैलोमा जाने कार्यतालिका रहेको छ । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश बहादुर दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पछिको यो जनगणना पहिलो भएको र यो राष्ट्रव्यापी महा अभियानबाट महत्वपूर्ण तथ्यांक प्राप्त हुने भएकाले तालिमलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । वहाँले जनगणनाबाट समृद्ध नेपाल निर्माणको लागि दीर्घकालीन योजना र नीति निर्माणका लागि भरपर्दो र विश्वसनीय तथ्यांक प्राप्त हुनेमा आफ्नो आशा र विश्वास रहेको बताउनुभयो । वहाँले जनगणनामा गणकका रुपमा छनौट भएहरुलाई बधाई दिदै इमान्दारी पूर्वक दायित्व र जिम्मेबारी पुरा गर्न आग्रह गर्नुभयो । प्रमुख दाहालले जनगणनाको क्रममा आवश्यक प्राविधिक सहयोग र समन्वयको लागि आफ्नो सहयोग रहने बताउनुभयोे । तालिम उद्घाटन कार्यक्रममा शिक्षा तालिम केन्द्रका प्रमुख सूर्यराज घिमिरे, मूख्य प्रशिक्षक वेनु सिग्देल, श्यामप्रसाद साह, गणेश पोखरेल, सत्य नारायण मेहता, पत्रकार कृष्ण भट्टराई, जयकृष्ण यादव, गणेश यादव लगायतको उपस्थिति रहेको थियो ।

 

प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन सुरु

काठमाडौँ । नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरु कालोपट्टी बाँधेर प्रदर्शन सुरु गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै उनीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्।

उनीहरुले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

बार एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम आयोजना गरेको हो। विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने एशोसिएसनले जनाएको छ।

प्रधानन्यायाधीश जबराले भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको थियो।

बाढीपीडित भन्छन्– ‘चामल नदेऊ, धानखेत बनाइदेऊ’

कर्णाली । सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको छ ।

विगतका वर्षहभन्दा यस वर्ष किसानको धान निकै राम्रोसँग फलेको थियो । उनीहरु कात्तिक २ गते काट्ने तयारी गर्दै थिए । यद्यपि दसैँका कारण उनीहरुले धानबाली भण्डारण गर्न पाएका थिएनन् । दुर्भाग्यः एक दिनको पर्खाइले उनीहरुको जीउने आधार बगर बन्न पुग्यो । पसिना बगाएर फलाएको अन्नबाली बाढीले बगाउँदा अहिले त्यहाँका किसान भोकमरीको चिन्ताले पिरोलिन थालेका छन् ।

तिला–४ जुम्ला साँपुल्लीगाउँका पशुपति शाहीलाई दसैँको खुशी प्राकृतिक विपत्तिले राम्रैसँग लुटेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “दसैं मनाएलगत्तै धान भण्डारण गर्ने योजनामा थियौँ । तर विपत्तिले हाम्रो श्रम, मेहेनत र पसिना सबै बगायो । एक दिनको पर्खाइले पुर्पुरोमा हात लगाउनुपर्ला भन्ने कुनै कल्पना गरेका थिएनौँ । अहिले त हामी सुकुम्बासीजस्तै भएका छौँ ।”

बाढीले अन्न उत्पादन गर्ने धानखेत बगर बनेको दुःख पोख्दै उहाँले सरकारले दुई कट्टा चामल दिनुभन्दा धानखेत बनाउन सहयोग पु¥याए दीर्घकालीन समस्या समाधान हुने बताउनुभयो । सोही वडाका बाढीपीडित पद्मकौंरा शाहीले यति भयानक विपत्तिमा पनि सङ्घ र प्रदेश सरकार बेवास्ताग्रही रहेको दुखेसो पोख्नुभयो ।

“जनताको दुःखको बेला दुःख बुझ्न नआउने जनप्रतिनिधि र सरकार चुनावताका खेत–खेतमा धान रोप्न सहयोग गरेजस्तो गर्दै भोट माग्न आउँछन्”, शाहीले भन्नुभयो, “यो त उनीहरु सबैको झुठको खेती रहेछ । कहिले घर त कहिले खेतमा आउनेको अनुहार र व्यवहार राम्रैसँग चिनियो ।”

बाढीपीडित हाँसु सुनारले आफ्नो धानखेतको कुनै अवशेष नरहेको जनाउनुभयो । धानखेतमा बाढीले ल्याएको दाउरा सङ्कलन गर्नेबाहेक अरु सबै गुमेको सुनारले दुखेसो पोख्नुभयो । बाढीले दलित तथा गरिबहरुलाई ठूलो समस्या परेको छ । प्राकृतिक विपत्तिले रु एक अर्ब बराबरको क्षति भएको विषयमा गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति हुँदै प्रदेश तथा सङ्घ सरकारसँग तत्काल राहत र दीर्घकालीन जीविकोपार्जनका कार्यक्रमका लागि अनुरोध गरिएको वडाध्यक्ष सन्तबहादुर शाहीले जानकारी दिनुभयो ।

बाढीले झोलुङ्गे तथा काठे पुलहरु बगाइदिएपछि तिला गाउँपालिका–४ जुम्लास्थित नुवाकोट, रावतवाडा र साँपुल्ली गाउँका स्थानीयवासीलाई आवागमनमा ठूलो समस्या भएको छ । रावतवाडा गाउँका नागरिक पुल नहुँदा पाँच मिनेटमा पुग्न ठाउँ अहिले करिब दुई घण्टा पैदल हिँड्नुपरेको छ । बाढीपश्चात आजभोलि त्यहाँका बासिन्दा धमिलो नदीको पानी खान बाध्य छन् ।

विद्युत् नहुँदा तिला तथा तातोपानी गाउँपालिका–४ जुम्लाका स्थानीय समुदाय अन्धकारमा रात बिताउँदै आएका छन् । कात्तिक २ गते रातिको बाढीले यहाँ चारवटा विद्युत्गृह ध्वस्त बनाएको थियो । सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाढीले तातोपानी गाउँपालिका–४ गिरीखोला जुम्लाको सिँचाइ क्षेत्रमा मात्र रु १५ करोड क्षति पु¥याएको छ ।

बाढीले यहाँका घर, विद्यालय, विद्युत्, स्याउ बगैँचा, दर्जनौँ काठका पुल, खानेपानी परियोजना, स्थानीय घट्ट र विशेषगरी चार हजार रोपनीभन्दा बढी धान खेतीयोग्य भूमि बगर बनाएको छ । धेरै किसान सुकुम्बासी हुनुपर्ने समस्या आइलागेको छ । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले घरसहित करेसाबारी क्षति भएकालाई रु आठ लाख ५० हजार र घर क्षति मात्र भएकालाई रु पाँच लाख दिने सरकारले निर्णय गरेको जनाउनुभयो । धानखेती क्षतिको यकिन विवरणलाई आधार मानी बाढीले ढाकेको र बगर बनाएको अवस्थाअनुसार किसानलाई राहत वितरण तथा क्षतिपूर्ति न्यायायिक ढङ्गले गरिने उहाँले बताउनुभयो । रासस

डडेल्धुरामा बस दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था गम्भीर

डडेल्धुरा । डडेल्धुरामा बस दुर्घटनामा १० जना घाइते भएका छन् । आलिताल गाउँपालिका–१ स्थित घण्टेश्वर मन्दिर नजिक ना ८ ख ६१३२ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको डडेल्धुरा प्रहरीले जनाएको छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको हो। बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

डीएसपी नेपालका अनुसार घाइतेलाई उपचारका लागि धनगढी लगिएको छ । दुई जनाको अवस्था गम्भीर छ ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीया बिर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ ।

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजबाट सुरु

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि स्कटल्याण्डको ग्लास्गोमा सुरु हुँदै छ । सम्मेलन नोभेम्बर १२ सम्म चल्ने छ ।

सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू, विषय विज्ञ, नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसहरू भेला हुँदै छन् । कोप २६ अन्तर्गत विश्व नेताहरूको शीर्ष सम्मेलन भोलि र पर्सी हुने छ ।

सम्मेलनमा जलवायु सम्बन्धी विभिन्न समस्या र समाधानका प्रयासबारे छलफल हुने छ । विश्व नेताहरूले पृथ्वीलाई भविष्यमा पनि जीवनयोग्य बनाउन के कस्ता कदमहरू उठाउने छन् भन्ने आम चासोको विषय बनेको छ ।

कोपका लक्ष्यहरू सफलतापूर्व प्राप्त गर्न र जलवायु परिवर्तनसँग जुध्न शीर्ष नेताहरूले ठोस योजना र विश्वसनीय योजनाहरू बनाउने अपेक्षा गरिएको छ । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलनले तय गरेका लक्ष्यहरु यो सम्मेलनले केही परिमार्जन गर्ने अनुमान गरिएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुँदै छन् । त्यसका लागि उनी २१ सदस्यीय टोलीको प्रतिनिधित्व गर्दै १२ गते नै बेलायत गएका हुन् । प्रधानमन्त्री देउवाले त्यहाँ वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कात्तिकमा मात्रै बाढीपहिरोमा परी १२१ को मृत्यु, २८ बेपत्ता

काठमाडौँ । यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ ।

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो । मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो । वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको थियो । ठूला–ठूला पहिराले मानवीय क्षति बढी गराएको हो ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए । कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । हराइरहेका खोजी जारी रहेको र राहत तथा अस्थायी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल वैश्य युवा संघ प्रदेश १ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सुनसरी सदरमुकाम इनरुवामा वैश्य समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल वैश्य युवा संघ प्रदेश १ को आयोजनामा सुनसरी सदरमुकाम इनरुवामा आयोजित जनगणना २०७८ मा वैश्य समुदायको अवस्था विषयक विचार गोष्ठी र शुभकामना आदान प्रदान कार्यक्रममा भब्य उपस्थितीका बिच कार्यक्रमका प्रमुख अतिथि संघीय सासद प्रमोद साहले वैश्य समुदायको एकतामा जोड दिनुभयो । छिमेकी मुलुक भारतमा प्रधानमन्त्री, गृहमन्त्री सवै वैश्य समुदायकै रहेकोबाट पाठ सिकेर नेपाली वैश्यहरुलाई एक ढिक्का हुन आग्रह गर्नुभयो । संघीय सांसद साहले वैश्य समुदाय लगानी र दान मात्र गरेर अव नहुने भन्दै अधिकार प्राप्तीका लागि निडर भएर अगाडि बढनु पर्ने र अधिकार खोसेर लिनुपर्ने बताउनुभयो । केन्द्र र प्रदेश अनि स्थानीय तहमा पनि विभिन्न जातीमा विभाजती नभई अग्रपंक्तीमा रहने वैश्यका जुनसुकै प्रत्यासीलाई जहाँ पनि निर्धक्क भएर सहयोग गरे मात्र सम्मानजनक उपस्थिती हुने बताउनुभयो । साहले वैश्य समुदायले सुडी, तेली, कलवार, रौनियार, गुप्ता , बनिया भनेर विभाजीत हुँदा वैश्य समुदाय अगाडी बढन नसकेकाले सबैमा एकता र सहकार्यका लागि अपिल गर्नुभयो ।
यहाँ अन्य वक्ताहरुले वैश्य समुदायममा जातजाती बिच आ आफनैमा खुट्टा तानातान हुने गरेकाले पछाडि परिरहेको बताएका छन् । नेपाल वैश्य युवा संघका राष्ट्रिय अध्यक्ष दिलिपचन साहुले नाम र थरले मात्र वैश्यको अगुवा नहुने भन्दै वैश्यका लागि अगाडि रहेर काम गर्नेलाई मात्र वैश्य भन्नु पर्ने बताउनुभयो । वैश्य भित्रको ३६ जातजातीका कुल ४५ लाख जनसंख्याले अगामि जनगणनामा नाम, थर र जात पछि अनिवार्य रुपमा वैश्य लेख्नुपर्ने बताउदै उहाँले बैश्य कलष्टर निर्माण वैश्य आयोग गठनमा सहयोग गर्न सवै दलका नेतासंग आग्रह गर्नुभयो ।
नेपालमा चार वर्णहरु बाहुन, क्षेत्री, वैश्य र सुद्र छ । पहाडमा थर जे भएपनी बाहुन र क्षेत्रीलाई जाती बनाइएकाले जनगणनामा जनसंख्या र उपस्थिती विशाल देखाएर सुविधा र सत्तामा हालीमुहाली जमाइएको छ । तर अर्को वर्ण वैश्य समुदायमा पर्ने जात जातीहरुलाई ३६ वटा जातमा विभाजन गरि पहिचान मिटाउने काम गरिएकाले वैश्यलाई समेत जातीको कोड दिनुपर्ने मांग कार्यक्रमबाट उठेको छ ।
संघका प्रदेश १ अध्यक्ष उमेश साह हलुवाईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संचालन सन्तोश रौनीयारले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरु, पत्रकार तथा वुद्धिजिविहरुले आ आफनो धारणा राखेका थिए ।
सुनसरीका वत्ताहरुले वैश्य समुदायले सुरु गर्न लागेको जनगणनामा वैश्यलाई एउटा कलष्टरको रुपमा राख्नुपर्ने माग गरेको छ । वैश्यहरुले नेपाल सरकारले जसरी राष्ट्रिय जनगणनामा ब्राह्मण, क्षेत्रीलाई एउटा कलष्टरको रुपमा देखाएको छ त्यसरी नै वैश्यलाई पनि जनगणनामा एउटा कलष्टरको रुपमा मान्नु पर्ने माग गरेका छन् । संघका सुनसरी जिल्ला इन्चार्ज त्रिलोकनाथ गुप्ताका अनुसार यस कार्यक्रममा पाँच हजार भन्दा बढिको सहभागि ब्यक्तिहरुलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा आमन्त्रण गरिएको अथितिमा संघीय सांसदहरु, प्रदेश सांसदहरु, मेयरहरु, उप–मेयरहरु, राजनितिदलका नेताहरु, जातिय संघसंगठनका अध्यक्ष प्रतिनिधिहरु रहने जनाएको छ ।
गुप्ताका अनुसार जनगणनामा ब्राह्मण,क्षेत्रीलाई एउटा कलष्टरको रुपमा देखाएको छ र यदि ब्राह्मण क्षेत्रीलाई जात मानेको हो भने वैश्यलाई पनि जात मान्न पर्दछ ।

 

हरिनगर १ र २ मा एमालेको वडा अधिवेशन सम्पन्न

नेकपा एमालेको सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर –१ र २ को प्रथम वडा अधिवेसन रामनगरभुटाहामा समपन्न भएको छ । रामनगर भुटाहामा नेपाल कम्युनिष्ट पार्टी एमालेको दुई वटा वडाको प्रथम वडा कमिटि अधिवेशन सम्पन्न भएको छ । सनिबार प्रथम वडा कमिटि अधिवेशनबाट नेकपा एमाले हरिनगर गाउँपालिका वडा नम्बर –१ के अध्यक्षमा अजिम अंसारी र २ नम्बर वडाको अध्यक्षमा सदरुल अंसारीलाई चयन गर्दै प्रथम वडा अधिवेसन समपन्न भएको हो । दुवै वडामा ३१ । ३१ सदस्यको वडा कार्यसमिति गठन भएको जनाएको छ । वडा अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय परिषद सदस्य खेमराज पोखेल,सरोज पोखरेल, प्रदेश सदस्य रामप्रसाद मेहता, ताहिर अंसारी, लसकरी अांसरी लगायतको उपस्थिती रहेको थियो ।

कोशीमा नेकपा एमालेको ८ वटै वडामा प्रथम अधिवेशन सम्पन्न , भोली गाउँ अधिवेशन हुने

वडा सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–२ पश्चिम कुशाहामा नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम वडा कमिटिको अधिवेशन सम्पन्न भएको छ ।
सम्पन्न भएको वडा अधिवेशनले रामचरण यादवको अध्यक्षतामा ३१ सदस्य वडा कमिति गठन भएको छ । निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा प्रदेश सदस्य सरोज सिंहले पद तथा गोपनियताको सपत ग्रहण गराउनुभएको छ । कोशी २ को वडा उपाध्यक्षमा महेन्द्र यादव, सचिवमा विन्देश्वर मेहता, उप सचिवमा सुशिला मेहता, सहसचिवमा विधान्दन साह चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रामकिसुन साह, हरिलाल साह, जगदिश उराँव, केशव उराँव, रधियादेवी उराँव, विद्या उराँव, विहारी उराँव, पुनम राम, उमेश यादव, रामकुमारी उराँव, सरिता उराँव, बद्री उराँव, जगदम्बा यादव, फुलकुमारी यादव, लक्ष्मी उराँव, श्यामलाल उराँव, राजकिसोर यादव, लिलादेवी सरदार, फुलोदेवी राम, शिसन सरदार, मानववती उराँव, उर्मिला उराँव, राधा कुमारी याद, राधिका उरााव, रेखा कुमारी उराँव अविन उराँव लगायत ३१ जना सर्वसहमतिबाट चयन भएका छन ।
कार्यक्रममा विशिष्ट अतिथिहरु नेकपा प्रदेश सदस्य तथा कोशी इन्चार्ज अजय कुसियैत, तारानन्द मरियैत, रामखेलावन साह, चनरदेव यादव, अनिता उराँव, जितेन्द्र खेडवार, कमलेश्वरी खेडवार, सुरेन्द्र पाठक, रामचन्द्र यादव, धनबहादुर उराँव, बाबुराम साह, पावर्ती उराँव लगायतको उपस्थिती रहेको थियो । उद्घाटन सत्र मौधरी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । उता सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १–८ सम्मको सबै वडामा नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रथम वडा कमिटिको अधिवेशन सम्पन्न भएको इन्चार्ज अजय कुसियैतले जानकारी दिनुभयो । कुसियैतका अनुसार कोशी गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा रामचन्द्र यादव, २ मा रामचरण यादव, ३ मा योगेन्द्र दास उराँव, ४ मा इसराईल मंसुरी, ५ मा सूर्यनारायण यादव, ६ मा जयशंकर खड्का, ७ मा रामानन्द सदा र ८ मा मजोन सिपलिया प्रथम वडा कमिटि अधिवेशनबाट नेकपा एमालेको वडा अध्यक्षमा चयन भएका छन् । कोशीको ८ वटै वडामा सर्वसहमतीमा वडा कार्यसमिति गठन भएको छ । कोशी ८ को पार्टी उपाध्यक्षमा कौशल्यादेवी मगर, सचिव संजय कापैर रहेका छन् । त्यसैगरी सदस्यहरुमा सविता ठकुरी, विजय सिपलिया, अम्बिका बस्नेत, रेनुदेवी सदा, रुपेश यादव लगायत ३१ जना सर्वसहमतिबाट चयन भएका हुन । उता गाउँ कमिटिको पहिलो अधिवेसन आईतबार कोशी गाउँपालिकामा गर्ने तयारी भएको जनाएको छ ।