अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने डाक्टर रोशन कुमार झा काठमाण्डौ बानेश्वरको सडकमा हुनुहुन्छ । त्रिवि शिक्षण अस्पतालका डाक्टर झा जस्तै अरु थुप्रै डाक्टर बिरामीको उपचार छोडेर सडकमा छन् । डाक्टरमाथि बढ्दो कुटपिटको घटनाको विरोध स्वरुप डाक्टरहरु सडकमा आएका हुन् ।
लामो समयदेखि डाक्टरलगायत अरु स्वास्थ्यकर्मीहरुले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्छ भन्ने माग रहँदै आएकोमा त्यो सम्बोधन नभएपछि बाध्यतावश सडकमा आउनु परेको बताउनुहुन्छ डा झा ।
सरकारले दश वर्षपछि अहिले नियम ल्याएको भए पनि त्यसको कार्यान्वयन गर्न सकेको छैन त्यसकारण जोडदारपूर्वक यो नियम कार्यान्वय होस् भनेर आन्दोलन गर्नु परेको हो,’ डा झा भन्नुहुन्छ ।
अहिले डाक्टरहरुको काम बिरामी जाँच्ने नभएर बिहान ११ बजेसम्म माइतीघर मण्डलामा आइपुगिसक्ने र त्यसपछि नारा जुलुश गर्दै बानेश्वरमा गएर धर्ना गर्ने बनेको छ । करिब तीन बजेसम्म बानेश्वरमा धर्ना दिएपछि त्यस दिनको कार्यक्रम सकिन्छ । अनि भोलिको कार्यक्रमको तयारीको छलफलमा बित्ने गरेको छ डाक्टरहरुको समय अहिले ।
बिरामीको जिन्दगी बचाउनुपर्ने डाक्टर यसरी सडकमा आएर हुन्छ त भन्दा डा झाको उत्तर छ, ‘पहिले त आफ्नो जिन्दगी नै सुरक्षित हुनुपर्यो । सुरक्षित वातावरणमा काम गर्न पाउनु पर्यो । काम गर्ने वातावरण नै सुरक्षित छैन भने कसरी काम गर्न सकिन्छ ।’
विभिन्न अस्पतालमा उपचारमा डाक्टरहरुको लापरबाहीका कारण ज्यान गएको आरोपमा डाक्टरमाथि कुटपिट हुन थालेपछि डाक्टरहरुले माइतीघरमा आएर आन्दोलन शुरु गरेको पाँच दिन भयो ।
असोज ३ गतेदेखि नेपाल शिक्षक सङ्घको नेतृत्वमा शिक्षकहरु काठमाण्डौको माइतीघरमा आएर आन्दोलन थालेका थिए । असोज ५ गते उनीहरुसँग सहमति भए पनि राहत तथा बालविकास शिक्षहरुले आफ्नो माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका थिए । हिजो उनीहरुसँग पनि सहमति भएको छ ।

अहिले पनि माइतीघरमा जनकपुरको आरती शाहको कुटपिटपछि हत्या भएको भन्दै न्यायको लागि शाहको बुबाआमा धर्नामा हुनुहुन्छ । गोरखाका तेलबहादुर घले सडक बनाउने क्रममा सेनाले आफ्नो गेष्ट हाउस क्षति पुर्याएकोले त्यसको क्षतिपूर्तिको लागि भनेर धर्नामा हुनुहुन्छ ।
२०४७ को संविधान कार्यान्वयन गर्नुपर्यो भनेर बसेको अर्को समूह छ ।
यी सबै अवस्था हेर्दा डाक्टर झा देश नै एउटा आन्दोलनतर्फ अगाडि बढिरहेको हो कि भन्ने लाग्छ भन्नुहुन्छ । हरेक क्षेत्रमा अव्यस्था र विकृति बढ्दै गएपछि काम गरी खाने वातावरण नभएका कारण सबै सडकमा आउन बाध्य भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेको देशको अवस्था हेर्दा मलाई लाग्छ सम्पूर्ण नागरिकले नै आन्दोलन गर्ने अवस्था आइसकेको छ ।’
अरु थुप्रै विकृति र अव्यवस्था भए पनि अहिले आफूहरुको माग काम गर्ने सुरक्षित वातावरण बनाउ भन्ने मात्र रहेको डा झा बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘हामीलाई कुटपिट हुनुभएन । कुटपिट भएबापत त्यसलाई कडाभन्दा कडा सजाय कारबाही हुनुपर्यो । स्वास्थ्य मन्त्रालयले आफ्नो काम गर्न सकेको छैन । गृहले सुरक्षा दिन सकेको छैन । प्रहरीको अगाडि हामीले कुटाइ खाइरहेका छौँ ।’
अन्य ठाउँका डाक्टरले पिटाइ खाएको देख्दा भोलि मेरो पालो हो कि भन्ने भयको वातावरण रहेको डा। झा को भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘प्रहरी हुँदाहुँदै प्रहरीकै अगाडि हामीले कुटाइ खाइरहेका छौँ । देशका विभिन्न ठाउँको डाक्टरको अवस्था हेर्दा भोलि कुटाइ खाने मेरो पालो हो कि भने झैँ लाग्छ । यस्तो अवस्थामा हामीले कसरी काम गर्ने । यसकारण यस्तो अवस्थामा काम गर्न नसकेर हामी सबै डाक्टर आन्दोलनमा आएका हौँ ।’