१६ फाल्गुन २०७९, मंगलवार १७:१९ – Nagarikabhiyan : National News

रुखले किचेर इलाममा एक जनाको मृत्यु

विराटनगर । इलाममा रुखले किचेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएक छन् । जिल्लाको माई नगरपालिका–१० लुम्बाकमा रुख काट्ने क्रममा ढलेको रुखले किचेर महोत्तरीको बर्दिबासका २८ वर्षीय हेमराज भुजेलको मृत्यु भएको हो ।

उनको उपचारको लागि बिएण्डसि अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मोरङ पथरी शनिश्चरेका २२ बर्षीय विज्ञान मगरको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विराटनगरबाट स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ

विराटनगर । विराटनगराट श्रोत नखुलेको रकमसहित तीन जना पक्राउ परेका छन् ।  सोमबार विराटनगर–९ चुलाचुली मार्गबाट स्रोत नखुलेको भारतीय रकम सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) समुहबाट खटिएको प्रहरी टोलीले मोरङको जहदा गाउँपालिका–७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका– ३ का ३० बर्षीय नबि हुसेनलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा उनिहरूको साथबाट १ लाख ८३ हजार ७ सय ५० रुपैँया भारतीय नोट फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि कोसी अस्पताल प्रयोग गरिने

विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोसी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोसी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो ।

मन्त्रीपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोसी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता गरिएको प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले जानकारी दिए ।

‘कोशी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि प्रयोग गरेर पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउँने गरी सम्झौता भएको छ’, डा.शर्माले भने, ‘अब चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रकृया पुरा गरेर मेडिकल कलेज सञ्चालन गर्छाै ।’

सम्झौता पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।

यसअघि ०७८ माघ २४ गते विराटनगरस्थित कोसी अस्पतालले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति जनाएको थियो । सहमतिको एक वर्षपछि ०७९ माघ २३ गते मन्त्रिपरिषद बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलेको हो ।

मन्त्रीपरिषद्को स्वीकृतिपछि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता गरेर थप प्रकृया अघि बढाइएको हो । मेडिकल कलेज सञ्चालनका लागि ३ सय बेडको अस्पताल चाहिने प्रावधान छ । तर पूर्वाञ्चल विश्वविद्यालयसँग हाल सो क्षमताको अस्पताल छैन ।

सोही कारण चिकित्सा शिक्षा अध्ययनका क्रममा विद्यार्थीले विराटनगरस्थित कोसी अस्पतालमा अभ्यास गर्ने गरी सम्झौता गरिएको हो । विद्यार्थीको पढाई भने गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमै हुनेछ । यता, पूर्वाञ्चल विश्वविद्यालयमै रहेको अस्पतालको क्षमता विकास गर्ने गरी काम पनि भइरहेको छ ।

सुनसरीको हरिनगरबाट २ सय ५८ किलो गाँजा बरामद

देवानगंज । सुनसरीबाट सशस्त्र प्रहरीले २५८ किलो गाँजा बरामद गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका– ५ नरकटियाबाट सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

वसन्तपुर बीओपीबाट खटिएको सशस्त्रको गस्ती टोलीले सोमबार राति करिब १० बजेतिर हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट १२ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो ।

सहायक प्रहरी निरीक्षक सुमन रानाभाटको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआइजी कमल गिरीले बताए ।

भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको बिआर १ ए के ७१०० नम्बरको भारतीय स्कारपियोलाई चेकजाँच गर्दा गाँजा बरामद भएको उनले बताए  ।

बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको छ । स्कारपियो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । गाडी रोकेर चेकजाँच गर्न खोज्दा चालकले भाग्ने प्रयास गर्दै खेतछेउमा गाडी छोडेर भागेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सम्हालेका मन्त्रालयको सङ्ख्या १६ वटा पुग्यो

काठमाडौँ । प्रमुख सत्ता साझेदार नेकपा एमालेले सोमबार सरकारबाट बाहिरिने निर्णय लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने मन्त्रालयको संख्या १६ पुगेको छ। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी आफैँसँग राख्नुभएका प्रधानमन्त्री प्रचण्डले एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि आफैँसँग राख्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार थप आठ वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोक्नुभएको हो । एमालेले छाडेपछि अर्थ, कृषि, उद्योग, भूमि व्यवस्था, स्वास्थ्य, रक्षा, परराष्ट्र र महिला तथा बालबालिका मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई आएको हो । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राप्रपाले छाडेका ऊर्जा, सहरी विकास र कानुन मन्त्रालय पनि प्रचण्डकै जिम्मामा छन् ।

अहिले सरकारमा माओवादी केन्द्र र जनमत पार्टीका मन्त्रीमात्रै बाँकी रहेका छन् ।

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली र वेब मनिटरिङ प्रणालीको शुभारम्भ गर्नुभएको छ । मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रालयमा एक औपचारिक कार्यक्रमका बीच सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ गरेकी हुन्।

यस प्रणालीअन्तर्गत सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइटहरू सञ्चालनमा आउने भएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री शर्माले सबै सरकारी निकायका आ-आफ्नै वेबसाइट हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरू पाउन सकिने अवस्था आएको बताइन् । उनले यसबाट धेरै खर्च कटौती हुने तथा साइबर सुरक्षाको दृष्टिले पनि सुरक्षित हुने बताएकी छन् ।

यो प्रणालीबाट विभागले निकायगत वेबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक (Admin User)  उपलब्ध गराउने र सोही प्रयोग कर्ता मार्फत सम्बन्धित निकायले आफ्नो वेबसाइटमा  मेनु र उप मेनुहरू थपघट गर्न, नारा तथा लोगो राख्न, फाइलहरू व्यवस्थापन गर्न, कर्मचारी र कार्यालयको कार्य विवरण राख्ने लगायतका  कार्यहरू गर्न सकिने छ ।

त्यस्तै कर्मचारीको विवरण, सङ्गठन संरचनालगायतका कामहरू पनि गर्न सकिने बताइएको छ । त्यस्तै सबै सरकारी निकायहरूको निगरानी गरी ह्याक हुनसक्ने जोखिम कम गर्न वेब मोनिटरिङ प्रणालीसमेत सञ्चालनमा ल्याइएको जानकारी गराइएको छ ।

नेपाल सन् २०२६ सम्म जलविद्युतमा आत्मनिर्भर बन्छ: कुलमान घिसिङ

काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल जलविद्युतमा सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ ।

मङ्गलवार काठमाण्डाैमा भएको नेपालमा जलविद्युत् क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत् उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खायाममा समेत नेपाल जलविद्युतमा आत्मनिर्भर बन्ने अवस्था आउने बताउनुभयो । उहाँले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट बिजुली बढी हुने उल्लेख गर्नुभयो ।

उनले जलविद्युतमा आत्मनिर्भर भएर पनि त्यो समयमा २५ सय मेगावट विद्युत बढी हुने उल्लेख गरे। उनले सन् २०३५ सम्ममा नेपालमा ८ हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान प्राधिकरणको रहेको बताए। नेपालको जलविद्युत उत्पादन क्षमता २५ सय ४४ मेगावट रहेको भन्दै पछिल्लो समय प्रत्येक वर्ष ८ सय मेगावट विद्युत उत्पादन बढ्दै गएको उनको भनाइ छ।

निर्देशक घिसिङले सन् २०४२/४३ सम्ममा २० हजार मेगावट विद्युत उत्पादन क्षमता पुग्ने अनुमान रहेको पनि बताए। उनले पछिल्लो समय उद्योगहरुमा जलविद्युतको माग राम्रो रहेको बताए। उनले ११ हजार मेगावट जलविद्युत उत्पादनको लागि पीपीएको लागि पाइपलाइनमा रहेका भन्दै करिव ७ हजार मेगावटको पीपीए भइसकेको बताए।

त्यस्तै निर्देशक घिसिङले जलविद्युत उत्पादनको लागि १.२ मिलियन डलर लगानी प्रतिवद्धता भइसकेको बताए। उनले एजीम बैंकबाट ७ सय मिलियन,जाइकाले १४० मिलियन,विश्व बैंक र एडिबीले २ मिलियन लगानी प्रविद्धता आएको उल्लेख गरे। जलविद्युत उत्पादनको लागि नयाँनयाँ प्रोजेक्टहरु बनाउनको लागि अहिले प्राप्त भएको लगानी प्रतिवद्धताले मात्रै अपुग हुने उनले बताए।

काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नुपर्‍याे : निवर्तमान स्वास्थ्य मन्त्री

काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेको बताएका छन् । ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनु परेको उनको गुनासो थियो।

स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निवर्तमान मन्त्री गिरीले मन्त्रीका रूपमा आफूले बेथित गरेको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको पनि स्पष्ट पारे । उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्या छन् भन्ने कुरा मन्त्री भएपछि मात्रै आफूले थाहा पाएको समेत बताए ।

निवर्तमान मन्त्री गिरीले आफूले स्वास्थ्य क्षेत्रको सुधारमा योगदान पुर्‍याएका पत्रकारहरूलाई पनि सरकारले पुरस्कारसहित सम्मान गर्नुपर्ने कुरालाई अघि बढाउन पहल गरेको बताउनुभयो । त्यस अवसरमा उहाँले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि आफूले सांसदको रूपमा सरकारको ध्यानाकर्षण गराउने भन्दै त्यसका लागि सुझाव दिन पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

नेपालकाे उत्कृष्ट बलिङ, मलेसिया ७२ रनमै समेटियो

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालका स्पिनर दिपेश कंडेलको उत्कृष्ट बलिङमा मलेसिया ७२ रनमा अल आउट भएको छ । मलेक क्रिकेट मैदान, अज्मानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको हो । मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन बनाए । ओपनर हैरिल हरिसनले १२ रन जोडे ।

पहिलो ओपनर कप्तान सिदार्थ कात्र्तिक राजारत्नम ओपनिङ ओभरको तेस्रो बलमा आकाश चन्दको हातबाट बोल्ड भए । दोस्रो विकेटको लागि हरिसन र मलिकले २८ रनको साझेदारी गरे । यहि नै मलेसियाका लागि बलियो साझेदारी बन्यो । छैटौं ब्याटर मा्हम्ममद स्याहिर स्यामिलले १२ रन बनाए । अन्य कुनै ब्याटर दोहोरो अंक बनाउन क्रिजमा टिक्न पाएनन् ।

नेपालका लागि स्पिनर दिपेश कंडेलले १० ओभर बलिङ गर्दै ४ मेडन सहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आकाश चन्दले ४।३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिए । मिलन बोहराले ९ ओभर बलिङ गर्दै ५ मेडन सहित ८ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले समान१ विकेट लिए ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको खर्च सीमा : उम्मेदवारले अधिकतम ४ लाखसम्म खर्च गर्न पाउने

काठमाण्डौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू हुँदै छ । साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार (१७ फागुन)देखि ५ चैतसम्म आचारसंहिता लागू हुने छ । फागुन २५ मा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ ।

राष्ट्रपतिमा दुई जना उम्मेदवार छन्– रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ । दुवै विरुद्ध कुनै उजुरी परेको छैन । राष्ट्रपति निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपतिको निर्वाचन हुन्छ । त्यसैले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ता हुन बाँकी छ ।

यस्तो छ खर्चको व्यवस्था:
निर्वाचन आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउँछन् । तर, उनीहरूलाई चुनावी खर्चको सीमा तोकिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयन पत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा उम्मेदवारले गर्ने खर्चको सीमा सम्बन्धी व्यवस्था छ । त्यस व्यवस्था अनुसार उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउँछन् ।

तोकिएको सीमा अनुसार सवारी साधनमा र गोष्ठी तथा अन्तरक्रियामा १/१ लाख खर्च गर्न पाइने छ । कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०/२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइनेछ ।

राष्ट्रपति निर्वाचन : आज उम्मेदवारको नाम सार्वजनिक हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको नाम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने कार्यतालिका सँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको हो ।

गत १३ फागुनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ उम्मेदवारी दर्ता गराएका थिए । उनीहरू विरुद्ध उजुरी आव्हान गरिए पनि कुनै उजुरी नपरेको जनाएको आयोगले आज उम्मेदवारको नाम औपचारिक रूपमा सार्वजनिक गर्न लागेको हो । आगामी २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन् । नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ ।’प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न पनि अपिल गरेका छन् ।

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’

काठमाडौं । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।

मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो ।

स्वदेशी तथा विदेशी पर्यटकहरू चन्द्रागिरि डाँडाबाट देखिने हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यमा रमाउन, आफ्नो दैनिकीबाट विश्राम लिई आराम गर्न, सभा–समारोह र बैठक आयोजना गर्न, विदेश तथा उपत्यका बाहिरबाट आएका पाहुनालाई भ्रमण गराउन त्यहाँ जाने गरेका छन् । साथै धार्मिक तथा ऐतिहासिक चासो राख्ने व्यक्तिहरू पनि दर्शन तथा अध्ययनका लागि चन्द्रागिरि पुग्ने गरेका छन् ।

शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानमा यही चन्द्रागिरि डाँडाबाट अवलोकन गरी काठमाडौँ उपत्यका (तत्कालीन नेपाल खाल्डो) को एकीकरणको सोच बनाएका थिए भन्ने ऐतिहासिक तथ्य नेपाल राज्य निर्माणको इतिहासमा भेटिन्छ । त्यसैले यही डाँडामा पृथ्वीनारायण शाहको सालिक पनि निर्माण गरिएको छ । उक्त इतिहाससँग जोडिएको सो सालिक त्यहाँ पुग्ने जो–कोहीको पनि मुख्य आकर्षण बन्ने गरेको छ र उनीहरू यो सालिकसँगै तस्बिर लिने गरेका छन् ।

त्यसैगरी उक्त स्थानमा भालेश्वर महादेवको मन्दिर रहेको छ । यहाँ साक्षात् महादेव उत्पत्ति भएको किंवदन्ती रहेकाले पनि यसको धार्मिक महत्वका कारण धेरै नेपाली तथा भारतीय नागरिक यहाँ पुग्ने गरेका छन् । यसरी आन्तरिक तथा बाह्य पर्यटकका अतिरिक्त यहाँको ऐतिहासिक र धार्मिक अध्ययन गर्नेहरूको पनि यो डाँडा आकर्षक गन्तव्य बन्न पुगेको देखिएको छ ।

विसं २०७३ पुस १ देखि चन्द्रागिरि हिल्स लिमिटेडले व्यावसायिकरूपमा केबलकार सञ्चालनमा ल्याएसँगै केबलकारमार्फत चन्द्रागिरि डाँडामा उक्लिने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै पर्यटकहरू पैदलमार्गबाट समेत चन्द्रागिरि डाँडा जाने गरेका छन् । यो विगत लामो समयदेखिको ‘ट्रेकिङ रुट’ हो र अहिले पनि यसको महत्व घटेको छैन ।

चन्द्रागिरि हिल्स लिमिटेडका फाइनान्स प्रमुख विनायक पोखरेल बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने केबलकारमार्फत गएको पुस महिनामा मात्र ७१ हजार एक सय ४५ जनाले केबलकारमार्फत चन्द्रागिरिको भ्रमण गरेको बताउनुहुन्छ । केबलकारमार्फत चन्द्रागिरि डाँडामा जान नेपाली नागरिकका लागि रु सात सय ९९, नेपाली विद्यार्थीका लागि रु छ सय र विदेशी नागरिकका लागि २२ अमेरिकी डलर शुल्क लाग्ने गरेको छ ।

चन्द्रागिरि डाँडामा अहिले दैनिक दुई हजार व्यक्ति केबलकारबाट जाने गरेका छन् । बिदाका दिन चार हजार पाँच सयदेखि पाँच हजार व्यक्ति चन्द्रागिरि डाँडा पुग्ने गरेका छन् । चन्द्रागिरि डाँडामा भालेश्वर मन्दिर, पृथ्वीनारायण शाहको सालिक, जिपलाइन, बालउद्यान, घोडाचढी, चन्द्रागिरि हिल्स रिसोर्टलगायत हेर्नलायक र घुम्नलायक ठाउँहरू छन् ।

चन्द्रागिरि हिल्समा आर्थिक वर्ष २०७८÷७९ मा पाँच लाख सात हजार चार सय ११ नेपाली र ६३ हजार तीन सय ४४ सार्कसहित विदेशी मुलुकका पर्यटकले भ्रमण गरेको हिल्सका फाइनान्स प्रमुख पोखरेल बताउँछन् ।

चन्द्रागिरि डाँडामा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेका छन् । चन्द्रागिरि हिल्स प्रालिले गत वर्षदेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो । जिपलाइन सञ्चालनमा ल्याएसँगै चन्द्रागिरीमा जिपलाइनको मज्जा लिने पर्यटकसमेत बढेका हुन् ।

रु ७० लाख लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाइ एक सय मिटर छ भने अर्को दुई सय मिटर लम्बाइ भएको जिपलाइन समेत सञ्चालनमा आइसकेको छ । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक सञ्जीव थापा स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलका रूपमा चन्द्रागिरिलाई विकास गर्नका लागि जिपलाइन सञ्चालनमा ल्याएको बताउँछन् ।

भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म एक सय मिटर लामो निर्माण गरिएको उक्त जिपलाइनको मज्जा लिनका लागि रु चार सय लाग्नेछ भने दुई सय मिटर लामो जिपलाईनको मज्जा लिन रु आठ सय लाग्नेछ । “आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने नीतिअनुसार चन्द्रागिरिमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरेका हौँ”, महाप्रबन्धक थापा भन्छन् ।

अष्ट्रियाली ‘डोब्बलमेयर’ कम्पनीले निर्माण गरेको चन्द्रागिरि केबलकारको लम्बाइ कुल दुई किलोमिटर चार सय ६० मिटर छ । यसका मार्गमा ११ टावर छन् र यात्रु बोक्ने ३८ र सामान बोक्ने तीन गरी कुल ४१ गोण्डला छन् । चन्द्रागिरि डाँडामा पुग्न थानकोट स्टेशनबाट नौदेखि १४ मिनेट लाग्ने गर्दछ ।

केबलकारको एक डिब्बामा आठ व्यक्ति ओहोरदोहोर गर्न मिल्छ । गत वर्षहरूमा कोरोनाका कारण आन्तरिक तथा बाह्य पर्यटक घटे पनि यस वर्ष भने पर्यटक आवागमनको सङ्ख्यामा वृद्धि भएको चन्द्रागिरि हिल्सले जनाएको छ ।

चन्द्रागिरि हिल्स प्रालिले चन्द्रागिरिमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौँको व्यस्त दैनिकबाट केही समय आराम लिन र हप्ताभरको थकान मेट्न शुक्रबार या शनिबार आन्तरिक तथा बाह्य पर्यटक रिसोर्ट पुग्ने गरेका छन् । कुनै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरूका सभा, सम्मेलन या सेमिनार आयोजनाका लागि पनि यहाँ हलको व्यवस्था छ । नेपाल सरकार एवं गैरसरकारी सङ्घसंस्था एवं कम्पनीहरूले यहाँ कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।

राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको पर्यटकीय यस गन्तव्य नेपाल सरकारको आमन्त्रणमा एवं आफैँ नेपाल आउने विभिन्न विदेशी विशिष्ठ पाहुनाहरूको पनि आकर्षण बन्ने गरेको छ । प्रालिले यहाँ एकीकृत पर्यटकीय संरचना निर्माण गरी पर्यटन गन्तव्यको विकास गरेकाले यसको अध्ययनका लागि पर्यटन क्षेत्रका व्यक्तिहरू पुग्ने गरेका छन् ।रासस

नवजात शिशुको मुटुको जटिल शल्यक्रिया

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका-१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डी-टीजीए (डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज) को शल्यक्रिया सफल भएको हो ।

सीएमसी शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो । डीटीजीए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा.डा आचार्यले बताएका छन् । उनले भने मलाई थाहा भएसम्म नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो हो । यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ ।

उनका अनुसार मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने रक्तनली हुने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा रगत जाने रक्तनली हुन्छन् । दाहिनेतर्फ फोक्सोमा गएको रगत शुद्ध भएपछि देब्रे कोठामा आएर देब्रे कोठाले शुद्ध रगत शरीरमा पठाउनुपर्नेमा महिलाको रक्तनली ठीक उल्टो भएको उनले बताए ।

यस्तो प्रकृतिको शल्यक्रियामा कोरोनरी आर्टरिजका नलीहरूको समेत ठाउँ बदल्नुपर्ने जनाउँदै प्रा डा आचार्यले भने त्यो पनि हामीले ठाउँ बदल्यौँ । महिमामा अब कुनै समस्या नरहेको उनको भनाइ छ ।

नवजात शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्न निकै जटिल हुने भन्दै उनले त्यसमाथि मुटुजस्तो संवेदनशील अङ्गको शल्यक्रिया झनै जटिल हुने बताएका छन् । गएको माघ २३ अस्पताल भर्ना भएकी महिमाको २५ गते शल्यक्रिया गरिएको हो । शल्यक्रियामा प्रा डा आचार्यसहित डा अल्का सिंह, एनेस्थेसियोलोजिष्ट डा प्रवेश ज्ञवाली, परफूजनिस्ट ९शल्यक्रिया गर्दा मुटु र फोक्सो चलाउने मेसिन सञ्चालन गर्ने० गोविन्द बधनगरिया, बालरोग विशेषज्ञ डा विराज पराजुली नर्सहरूको टोली संलग्न थिए।

भरतपुर अस्पतालका चिकित्सकले निमोनियाको शङ्का गरेर महिमालाई सिफारिस गरेका थिए । बीस दिन एनआईसीयूमा राखेर उपचारपछि महिलामा अहिले पूर्णरूपमा निको भएकी छिन् । उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । काठमाण्डौका शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १५ वर्ष

नयाँ वर्षदेखि नयाँ नियम : इन्टरनेट नचले ग्राहकले क्षतिपूर्ती पाउने

बुटवल । आगामी नयाँ वर्ष वैशाख १ गतेबाट फोनकल अवरुद्ध वा इन्टरनेट निश्चित अवधिभन्दा बढी असुविधा भए क्षतिपूर्ति माग गर्न सकिने भएको छ। दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली २०७९ जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेबाट नयाँ नियम लागू गर्ने भएको हो।

फोन नलाग्ने, आफैँ काटिने, इन्टरनेट डाउनलोड र स्पिड तोकिएभन्दा कम भए टेलिकम कम्पनी वा इन्टरनेट सेवाप्रदायकले क्षतिपूर्ति दिनुपर्नेछ। विनियमावलीअनुसार इन्टरनेट डाउनलोड वा अपलोड हुने दर ८० प्रतिशत बढी हुनुपर्नेछ। फोरजीको प्रयोगकर्ताको डाउनलोड १५ प्रतिशत एमबीपीएस, अपलोड ७.५ प्रतिशत छ। थ्रिजी प्रयोगकर्ता डाउनलोड ३ एमबीपीएस र अपलोड १.५ प्रतिशत हुनुपर्छ।

विनियमावलीअनुसार सेवाप्रदायकले दूरसञ्चार सेवाको गुणस्तर कायम गर्न नसक्ने भएमा त्यसको आधार, कारण तथा गुणस्तर कायम गर्नको लागि गरेका विवरण अवधि खुलाई प्राधिकरणमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ।

सेवाप्रदायकले दूरसञ्चार सेवाको गुणस्तर मापन गर्नुपर्नेछ। प्रत्येक ३ महिनामा गुणस्तर मापन प्रतिवेदन सरकारलाई बुझाउनुपर्छ। दूरसञ्चार सेवाको गुणस्तर मापन गर्न आवश्यक पर्ने उपकरणसहितको अन्य स्रोतहरुको व्यवस्था सेवाप्रदायकले गर्नुपर्ने हुन्छ।

मापदण्डमा तोकिएभन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा ग्राहकले आफूलाई परेको असुविधाबापत सेवा प्रदायकबाट क्षतिपूर्ति मागदाबी गर्न पाइन्छ।

ग्राहकले इन्टरनेट कम्पनीसँग दूरसञ्चार सेवा शुल्कबापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ। तर सेवाप्रदायकको काबुबाहिरको परिस्थितिमा क्षतिपूर्ति भने नपाइने व्यवस्था गरेको छ।

‘ग्राहकले मोबाइल डाटा/भ्वाइस प्याकेज सेवा खरिद गरेको तर उक्त प्याकेजको अवधिमा सेवाप्रदायकको नेटवर्क डाउन भई ग्राहकले सेवा प्राप्त गर्न नसकेको बखत सेवा प्रदायकबाट क्षतिपूर्ति दाबी गरे सेवा शुल्कबापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ’, विनियमावलीमा व्यवस्था छ।

फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको हकमा तोकिएभन्दा बढी समय नेटवर्क नभएर सेवा प्रदान गर्न नसकेको अवस्थामा ग्राहकलाई परेको असुविधाबापत अवरुद्ध अवधिको निःशुल्क थप सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था छ। सेवाप्रदायकले प्रवाह गरेको सेवाको गुणस्तरसम्बन्धी वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र प्राधिकरणमा पेश गर्नुपर्नेछ।

सप्तरीमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।कञ्चनरुप नगरपालिकामा दुई जनाको र हनुमानगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको हो।

कञ्चनरुप वडा नम्बर ९ विष्णुमन्दिर नजिक आज बिहान सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षका हरेराम साह हलुवाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बा १८ च ६६१७ नम्बरको कार र घोडा बोकेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको पिकअप भ्यान ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

यसैगरी गएराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिंदा ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। ती पुरुषको परिचय खुल्न सकेको छैन ।