देवानगञ्ज । देवानगञ्ज गाउँपालिकाले पालिकावासीलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले देशका प्रमुख शिक्षण अस्पतालहरूसँग सम्झौता गरेको छ। स्थानीय सरकारको यस विशेष पहलसँगै अब गाउँपालिकाका बासिन्दाहरूले तोकिएका शिक्षण अस्पतालहरूमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन्।
गाउँपालिका र शिक्षण अस्पतालहरूबीच भएको द्विपक्षीय सम्झौता अनुसार नागरिकहरूले निम्नानुसारको छुट सुविधा प्राप्त गर्नेछन्:
केएमसी अस्पताल, दुवाकोट (भक्तपुर): ५०% सम्म छुट
काठमाडौँ मेडिकल कलेज, सिनामंगल (काठमाडौँ): २५% सम्म छुट नोबेल मेडिकल कलेज, विराटनगर: २०% सम्म छुट
सुविधा पाउने लक्षित वर्ग यो सुविधा नेपाल सरकारको स्वास्थ्य बीमा वा अन्य सरकारी कोषको सुविधा उपभोग गरिसकेका नागरिकहरूका लागि लागू हुनेछ। साथै, स्वास्थ्य बीमा नभएका वा बीमा सक्रिय नरहेका गाउँपालिकाका सम्पूर्ण बासिन्दाहरूले पनि सम्झौता अनुसारको छुट उपभोग गर्न पाउनेछन्।
छुट प्राप्त गर्ने प्रक्रिया र आवश्यक कागजात
गाउँपालिका अस्पताल वा पालिकाको तर्फबाट सिफारिस र पहिचान खुलाउने प्रक्रिया पूरा गरी अस्पताल जाँदा बिरामीहरूले यो छुट प्राप्त गर्न सक्नेछन्। यसका लागि निम्न कागजातहरू अनिवार्य गरिएको छ ।
देवानगञ्ज गाउँपालिका वा सञ्चालनमा आएपछि गाउँपालिका अस्पतालबाट जारी गरिएको सिफारिस पत्र
बिरामीको परिचयपत्र वा नागरिकताको प्रतिलिपि
१६ वर्ष मुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि
गाउँपालिकाको यो सम्झौताले विशेष गरी विपन्न, दूरदराजका तथा जटिल रोगको उपचारका लागि काठमाडौँ र विराटनगर धाउनुपर्ने नागरिकहरूलाई ठूलो आर्थिक राहत पुग्ने विश्वास लिइएको छ।
Month: २ भाद्र २०८३, मंगलवार १५:५०
कप्तानगञ्ज बजार क्षेत्रमा युवाहरूको सक्रियतामा सरसफाई: घटना पश्चात् जनजीवन सामान्य बनाउने प्रयास
देवानगञ्ज । गत साउन १० गते कप्तानगञ्ज बजार क्षेत्रमा भएको दुःखद घटना पश्चात् आज स्थानीय युवाहरूको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
उक्त दिन भएको अप्रिय घटनामा गोली लागेर १० जना घाइते भएका थिए जस मध्ये ३ जनाको दुःखद निधन भएको थियो । मृतकहरूको सोही घटनास्थलमै दाहसंस्कार गरिएको थियो। घटनापछि केही समय अशान्त र प्रभावित बनेको बजार क्षेत्रलाई पुनः सामान्य स्थितिमा फर्काउन स्थानीय युवाहरू स्वतःस्फूर्त रूपमा जुटेका हुन्।
युवाहरूले बजार क्षेत्रको फोहर व्यवस्थापन गरी सरसफाई गरेका छन्। शोक र त्रासको वातावरणलाई चिर्दै समुदायमा सद्भाव, सरसफाई र सकारात्मक सन्देश प्रवाह गर्न युवाहरूको यो अग्रसरताले महत्त्वपूर्ण भूमिका खेलेको स्थानीय बताउँछन्।
आँसुले भिजेको देवानगञ्ज: पञ्चतत्वमा विलीन भए रवीन्द्र , देवानगञ्ज पुरै शोकमा
देवानगञ्ज । आकाशमा गुञ्जिएको नेपाली सेनाको हेलिकप्टरको भारी आवाजसँगै देवानगञ्ज गाउँपालिकाको धड्कन एकाएक थामिएझैँ भयो। देवानगञ्ज घटनामा गोली लागेर सदाका लागि अस्ताएका युवा रविन्द्र मेहताको पार्थिव शरीर काठमाडौंबाट जब हेलिकप्टरमार्फत गृहस्थान आइपुग्यो, सिङ्गो देवानगञ्ज गाउँपालिका छाँगाबाट खसे जस्तै भयो ।
सेतो कपडामा बेरिएको निष्प्राण शरीर हेलिकप्टरबाट बाहिर निकालिँदा त्यहाँ उपस्थित हजारौँ मानिसका आँखाबाट आँसुका धारा थामिन सकेनन्। आमाले छाती पिट्दै गरेको चित्कार र परिवारका सदस्यहरूको कहालीलाग्दो रुवाबासीले वरपरको वातावरणलाई थप मर्माहत बनायो। बुढेसकालको सहारा बन्ने र घरमा खुसी भित्र्याउने सपना बोकेका होनहार युवाको यो अकल्पनीय र दर्दनाक अन्त्यले सबैको मुटु छायो। रविन्द्रको विवाहसमेत भएको थिएन; जीवनका रङ्गीन सपनाहरू बुन्ने र भविष्यको बाटो तय गर्ने उमेरमा उनले यसरी संसार छाड्नुपर्दा सिङ्गो समाज स्तब्ध छ।
गाउँपालिकाका बाटो र चोकहरूमा हजारौँ स्थानीयवासी, आफन्त र शुभेच्छुकहरूको विशाल जनसागर उपस्थित थियो। कसैका हातमा श्रद्धाञ्जलीका फूल थिए भने कसैका आँखामा साउनको झरीजस्तै आँसु। सडकका दायाँ-बायाँ पंक्तिबद्ध भएर उभिएका गाउँलेहरू भक्कानिँदै उनको योगदान र बलिदानको स्मरण गरिरहेका थिए। आफ्नै आँखाअगाडि हुर्किएको एउटा उज्यालो मुहारलाई यसरी सधैँका लागि बिदाइ गर्नुपर्दा कसैको पनि ओठ खुलेन, केवल आँसुले नै सबै कुरा बोल्यो।
अन्ततः शोकाकुल वातावरण र हजारौँ रसाएका आँखाहरूको साक्षी राख्दै राजकीय तथा सामाजिक सम्मानका बीच रविन्द्र मेहताको पार्थिव शरीरलाई पञ्चतत्वमा विलीन गरियो। चिताबाट उठ्ने धूवाँसँगै देवानगञ्ज गाउँपालिका र आसपासको क्षेत्र गहिरो शोकमा डुबेको छ। आज देवानगञ्जको प्रत्येक घरको चुल्हो निभेको छ, र हरेक आँगनमा एउटै मात्र पीडा गुञ्जिरहेको छ— हाम्रो आफ्नै रङ्गीन सपना बोकेको एउटा उज्यालो नक्षत्र सदाका लागि अस्तायो।
देवानगञ्ज घटना: गृहमन्त्रालय र पीडित रविन्द्र मेहताको परिवारबीच सम्झौता
देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रविन्द्र मेहताको परिवार र गृहमन्त्रालयबीच आज सम्झौता सम्पन्न भएको छ। यसअघि सोही घटनाका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारसँग गरिएको सम्झौताको नजिरलाई नै आधार मानेर गृहमन्त्रालयमा यो सहमति गरिएको हो।
सहमतिअनुसार भोलि बिहान मृतकको शवलाई पोस्टमार्टमका लागि लगिने तयारी गरिएको छ। पोस्टमार्टमको प्रक्रिया अघि बढे पनि शव बुझ्ने विषयमा भने परिवार र पक्षधरहरूले सख्त सर्त राखेका छन्।
भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मृतकलाई औपचारिक रूपमा सहिद घोषणा नगरेसम्म शव नबुझ्ने मौखिक सहमति भएको जानकारी प्राप्त भएको छ। मन्त्रिपरिषद्को निर्णय र सरकारको आगामी कदमलाई हेरेर मात्रै अन्त्येष्टिको बाँकी प्रक्रिया अघि बढाउने अडानमा पीडित पक्ष रहेको छ।
देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न र सम्झौता कार्यान्वयन गर्न माग
देवानगञ्ज । सुनसरीको देवानगञ्ज घटनापछि सरकारले पीडित परिवारसँग गरेको लिखित सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको भन्दै विभिन्न राजनीतिक दल तथा स्थानीय प्रतिनिधिहरूले गम्भीर आपत्ति जनाएका छन्। साेमबार (साउन २५ गते) एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले सम्झौता बमोजिम मृतकहरूलाई तत्काल शहीद घोषणा गर्न र अन्य सहमतिहरू अविलम्ब लागू गर्न सरकारसँग जोडदार माग गरेका हुन्।
सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई शहीद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने र सात दिनभित्र घटनाको निष्पक्ष छानबिन गर्ने स्पष्ट लिखित प्रतिबद्धता जनाएको थियो। तर, लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्बाट शहीद घोषणा गर्ने लगायतका निर्णय नहुनु सरकारको चरम गैरजिम्मेवारीपन र संवेदनहीनता भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्ति अनुसार, काठमाडौँमा उपचारका क्रममा निधन भएका देवानगञ्जका रविन्द्र मेहताको शव एक हप्ता बितिसक्दा समेत अन्त्येष्टि हुन नसकेको अवस्था प्रति गम्भीर दुःख र आपत्ति व्यक्त गरिएको छ। मृत्युपश्चात् सम्मानपूर्वक अन्त्येष्टि गर्न पाउने अधिकारबाट समेत परिवार वञ्चित हुनु गम्भीर विषय भएको र यस्ता ढिलाइले जनआक्रोश बढाएर अप्रिय दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
पीडितको धैर्यको थप परीक्षा नलिन र परिस्थितिलाई थप जटिल बन्न नदिन सरकारलाई आग्रह गर्दै, माग सम्बोधन नभए गैरजिम्मेवार रवैयाविरुद्ध शान्तिपूर्ण तथा सशक्त लोकतान्त्रिक संघर्षमा उत्रिन बाध्य हुने चेतावनी विज्ञप्ति मार्फत दिइएको छ।
उक्त संयुक्त विज्ञप्तिमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम मिया अन्सारी, देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र देवानगञ्ज गाउँपालिका वडा नं. ६ का अध्यक्ष हरिनन्दन मेहताले हस्ताक्षर गर्नुभएको छ।
देवानगञ्ज घटनाका घाइते अमित यादवको स्वास्थ्यमा सुधार, अध्यक्ष मेहताद्वारा काठमाडौँ पुगेर अवस्था बुझियो
काठमाडौँ/देवानगञ्ज । देवानगञ्ज घटनामा परी घाइते हुनुभएका अमित यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता आज काठमाडौँ पुग्नुभएको छ।
काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचाररत यादवलाई भेट्न पुग्नुभएका अध्यक्ष मेहताले उहाँको उपचारमा खटिएका चिकित्सकहरूसँग स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे प्रत्यक्ष कुराकानी गर्नुभएको छ।
अध्यक्ष मेहताका अनुसार चिकित्सकहरूले घाइते यादवको स्वास्थ्यमा सोचेअनुरूप क्रमिक सुधार भइरहेको जानकारी दिएका छन्। भेटका क्रममा अध्यक्ष मेहताले यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग र अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गृहमन्त्रीको सचिवालयद्वारा देवानगञ्ज घटनामा भ्रम फैलाउने प्रयास: मृतक रविन्द्र मेहताको शव बुझ्न सहमति नभएको स्पष्ट
देवानगञ्ज । सुनसरीको देवानगञ्ज घटनाका मृतक रविन्द्र मेहताको शव बुझ्ने विषयमा सरकारसँग कुनै पनि सहमति नभएको अवस्थामा गृहमन्त्रीको सचिवालयले सञ्चारमाध्यमलाई गलत सूचना दिएर भ्रम फैलाएको खुलासा भएको छ।
मृतकका दाजु रोशन मेहताका अनुसार सरकार र गृहमन्त्री स्वयंले अघिल्ला वार्ताहरूमा सहिद घोषणा,दाेशिहरू लाई कार्वाही, उचित क्षतिपूर्ति तथा अन्य माग पूरा गर्ने आश्वासन दिए पनि पछि ठोस सम्झौता नगरी पछाडि हटेका छन्। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले समेत मुख्य मागका रूपमा रहेको ‘सहिद घोषणा’दाेषिहरू लाई कार्वाही को विषयलाई पूर्ण रूपमा पन्छाउँदै केवल क्षतिपूर्ति मात्रै तोकेर विषयलाई सामसुम पार्न खोजेको पीडित पक्षको आरोप छ।
सहमति नै नभई शव बुझ्न लागिएको भन्दै नेपाल प्रेस अनलाइनलगायतका समाचार माध्यममा समाचार प्रकाशित भएपछि पीडित पक्षले उक्त सञ्चारमाध्यमसँग सोधपुछ गरेका थिए।
त्यसक्रममा गृहमन्त्रीको सचिवालयबाट आएको जानकारीका आधारमा नै समाचार तयार पारिएको जवाफ सञ्चारमाध्यमबाट प्राप्त भएको पीडित परिवारले जनाएको छ।
मृतकका दाजु रोशन मेहताले सरकारसँग कुनै पनि किसिमको सहमति नभएको प्रस्ट पार्दै भन्नुभयो, गृहमन्त्रीज्यूको सचिवालयबाटै गलत र भ्रमपूर्ण सूचना दिएर समाचार लेख्न लगाइनु अत्यन्तै गैरजिम्मेवार र संवेदनाहीन हर्कत हो। राज्यले न्याय दिनुको सट्टा सञ्चारमाध्यमको दुरुपयोग गरेर हामीलाई थप पीडा दिने काम गरिरहेको छ।
मृतकहरू लाई सहिद घोषणा नगरिएसम्म, दाेशिहरू लाई कार्वाही नभएसम्म र पूर्वसम्झौता अनुसारका सम्पूर्ण मागहरू ठोस रूपमा पूरा नभएसम्म शव नबुझ्ने र आन्दोलन जारी राख्ने पीडित परिवारले स्पष्ट पारेका छन्। नेपाल प्रेस तथा पीडित परिवारसँग भएको कुराकानीको अडियो रेकर्डिङ यस मिडियासँग सुरक्षित छ।
कप्तानगञ्ज घटनाका दाेषीलाई कारबाही र हतकडी नलागेसम्म शव नबुझ्ने परिवारको अडान !
देवानगञ्ज । गत साउन १० गते सुनसरीको देवानगन्ज गाउँपालिका वडा नम्बर ३, कप्तानगन्जमा भएको घटनाका घाइते रबिन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ। काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयू शिक्षण अस्पताल) मा उपचाररत मेहताको आज निधन भएको हो।
मेहताको निधनपछि आक्रोशित परिवारजनले दोषीहरूलाई पक्राउ गरी हतकडी नलगाएसम्म र कडा कारबाहीको ग्यारेन्टी नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।
नागरिक अभियान संग कुरा गर्दै मृतकका दाजु रोशन मेहताका अनुसार घटनामा संलग्न दोषीहरूमाथि प्रशासनले अहिलेसम्म ठोस कारबाही नगरेको भन्दै परिवारले शव उठाउन अस्वीकार गरेको हो। “मेरो भाइको टीयू शिक्षण अस्पतालमा उपचारका क्रममा आज निधन भएको छ,” रोशन मेहताले भने, “जबसम्म सरकार र स्थानीय प्रशासनले दोषीलाई हतकडी लगाएर कानुनी दायरामा ल्याउँदैन, तबसम्म हामीले शव नबुझ्ने निर्णय गरेका छौँ।”
साउन १० गते घटेको उक्त घटनाका दोषीहरू अझै खुला रूपमा हिँडिरहेको र पीडित पक्षलाई न्याय दिन ढिलाइ भइरहेको भन्दै आफन्त तथा स्थानीयबासीहरू समेत आक्रोशित बनेका छन्। पीडित परिवारले अविलम्ब दोषीहरूलाई नियन्त्रणमा लिई कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।
कप्तानगञ्ज घट्नामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा काठमाडौंमा निधन
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज घट्नामा गोली लागेर गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ।
घटनापछि गम्भीर घाइते भएका मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो। तर, विराटनगरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) रेफर गरिएको थियो। शिक्षण अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
मेहताको निधनको खबरले देवानगञ्ज र कप्तानगञ्ज क्षेत्र शोकमा डूबको छ। स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।
