तिहारको चौथो दिन आज गाई तिहार, गौमाताको पूजाआराधना गरी मीठा परिकार ख्वाइँदै
२४ कार्तिक २०८३, सोमबार ०७:४९
देवानगञ्ज । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज कागेश्वरी मनोहरा, गाई तिहारको पर्व श्रद्धा र उल्लासपूर्वक मनाइँदैछ। हिन्दू धर्ममा गाईलाई अत्यन्त पवित्र जनावर तथा ‘गौमाता’का रूपमा पुज्ने प्राचीन परम्परा रहिआएको छ । आजको दिन बिहानैदेखि विभिन्न स्थानमा गाईलाई पूजाआजा गरी मीठा परिकार खान दिने प्रचलन छ ।
गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो र गुणकारी हुने भएकाले यसलाई विशेष सम्मान गरिन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घिउका साथै गोबर र गहुँतसमेत धार्मिक, सांस्कृतिक तथा औषधीय दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छन् । धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा ठूलो पुण्य प्राप्त हुने जनविश्वास छ। नेपालका केही स्थानमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गरिए पनि शास्त्रीय विधानअनुसार औँसीको समाप्ति र प्रतिपदाको सुरुवातमा गाईपूजा गर्ने गरिन्छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले विभिन्न धार्मिक अनुष्ठान तथा पुण्य कार्यमा ‘गाईदान’ गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन् । धर्मशास्त्रका जानकार प्रा डा रामचन्द्र गौतमका अनुसार पछिल्लो समय गाईको अभाव हुँदै गएका कारण कतिपय ठाउँमा गाईको सङ्कल्प गरेर त्यसको बदलामा उचित रकम राख्ने चलन पनि बढ्दै गएको छ ।
राष्ट्रिय जनावरका रूपमा समेत सम्मानित गाईसँग जोडिएका थुप्रै धार्मिक विश्वासहरू प्रचलित छन्। जनविश्वास अनुसार जनैपूर्णिमा (साउन शुक्ल पूर्णिमा) का दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन आजको दिन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् परलोक जाँदा वैतरणी नदी पार गर्न गौमाताले सहयोग गर्ने र स्वर्गको बाटो खुल्ने धार्मिक मान्यता रहिआएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया