रोशनी प्रकरणमा जेलबसेका महराले पाए ठुलो जिम्मेवारी,ओली पक्षमा खैलाबैला !
२७ माघ २०७७, मंगलवार १५:०९

काठमाडौं । रोशनी शाही प्रकरणमा परेर काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले ठूलो जिम्मेवारी पाएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंमा गर्न लागेको सरकार विरोधी प्रदर्शनमा उनलाई ठूलो जिम्मेवारी सुम्पिएको हो ।
प्रचण्ड–माधव समूहले महरालाई बुधबार हुन लागेको विरोध प्रदर्शनमा ललितपुरको पुल्चोकबाट शुरु हुने विरोध जुलुसको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ ।
महराले बुधबार बिहान ११ बजे पुल्चोकबाट कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धाराको मूल जुलुसमा सहभागिता जनाउने श्रोतको दाबी छ ।
दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका महरा रोशनी शाही काण्डपछि सार्वजनिक कार्यक्रमहरूमा बिरलै देखिने गरेका छन् ।
ओलीविरुद्धको आन्दोलनमा महराले मोर्चा सम्हाल्ने प्रयास गरेका छन् । महराले आफूलाई राजनीतिको लयमा ल्याउने प्रयासहरू गरेका छन् ।
रोशनी शाही काण्डमा बद्नाम भएका महराले कमाण्ड गर्ने बुधबारको जुलुसमा कति मान्छे देखिने हुन् चासोको विषय बनेको छ । महराले प्रचण्ड–माधव समूहको नेकपामा ठूलो भूमिका खोज्न थालेको उनको गतिविधिले प्रष्ट देखिदै छ । उनले भूमिका पनि क्रमशः पाउने नेताहरूले बताउन थालेका छन् ।
महरालाई पम्फा भुसाल, रघुजी पन्त, प्रमेश हमाल, ललितपुरका सबै केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेशका कमिटी सदस्य, प्रतिनिधि सभाका पूर्वसांसद र प्रदेशका सांसदहरूले साथ दिने पक्कापक्की भएको छ ।
रोशनी शाहीसँगको यौन दुर्व्यवहार काण्डमा महराले लामो समय कारागारमा बस्नु परेको थियो ।
रोशनी शाहीले बयान फेरेपछि महराले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका थिए ।
महराको रोशनी शाहीसँगको यौनदुरव्यवहार सम्बन्धी मुद्धा ललितपुर उच्च न्यायलयमा विचाराधीन छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया