प्रचण्डको सुरक्षामा खटिएका पूर्व लडाकुलाई पाता कस्नु भन्दै ओलीले दिए यस्तो आदेश
६ फाल्गुन २०७७, बिहीबार १४:५४
काठमाडौं । सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षामा खटिएका अगुवा सुरक्षाकर्मी र गाडी फिर्ता गरेपछि पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वलडाकू खटिन थालेका छन् ।
प्रचण्डको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती भएपछि अगुवा सुरक्षा पूर्वजनमुक्ति सेना (पूर्वलडाकू) ले दिन थालेको हो । उनीहरुको कारगेड निजी नम्बर प्लेटको स्कार्पियो गाडीमा रहन थालेको छ । शान्ति प्रक्रियामा आउनासाथ प्रचण्डको पहिलो सुरक्षा घेरामा रहेका तालिमप्राप्त पूर्वलडाकू सुरक्षामा खटिन थालेका हुन् । बा ९ प ६३९९ नम्बरको रातो नम्बर प्लेटको गाडीमा पूर्वलडाकूको कारगेड एक सातादेखि नै हिड्न थालेको हो ।
प्रचण्डको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्वलडाकूको विशेष टोली खटिएको छ । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकू हुन् । सशस्त्र द्वन्द्वकालमा उनी बटालियन कमान्डरसम्म भएका थिए ।
उनीहरुका साथमा हतियार भने छैन । तर, सबै लडाकू तालिमप्राप्त र पोख्त रहेको बताइएको छ ।
स्नाइपरजस्ता देखिने एकै पोशाकका करिब आधा दर्जन तालिमप्राप्त पूर्वलडाकूलेसुरक्षा दिन थालेको पूर्वप्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए । उनले भने, ‘सरकारले सुरक्षा व्यवस्थापनमा बेवास्ता गरेपछि पूर्वलडाकूबाट सुरक्षा सहयोग लिनुपरेको हो ।’
यसरी खटिएका पूर्वलडाकू प्रचण्ड निवास, आवागमन र कार्यक्रममा प्रहरी र सशस्त्र प्रहरीको सहयोगीका रूपमा सूचना आदानप्रदान, थ्रेट एनलाइसिस र अन्य भूमिकामा रहेर खटिनेछन् ।
‘सरकारले नियतबस सुरक्षाकर्मी खोसेपछि सुरक्षाका निम्ति पूर्वलडाकू खटिएका हुन् । जसलाई पार्टी र प्रचण्ड परिवारले नै तलबमा राखेका हुन्,’ खुमलटार स्रोतले भन्यो । यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी प्रचण्डको सुरक्षामा खटिएका थिए ।
हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगै प्रचण्डको अगुवा गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका थिए ।
गृह मन्त्रालयको चासो
प्रचण्डको सुरक्षामा पूर्वलडाकू खटिएको जानकारी सरकारलाई दिइएको छैन । गृह मन्त्रालयले सरकारलाई जानकारी नदिई त्यसरी सुरक्षाकर्मी राखिएको विषयमा खोजीनीति थालेको अधिकारीहरूले बताएका छन् ।
पूर्वपदाधिकारीको सुरक्षामा तोकिएबमोजिम प्रहरी र सशस्त्र प्रहरी जनशक्ति खटाइएकोमा सुरक्षा प्रत्याभूति हुन नसकेको लागेमा सरकारलाई जानकारी गराउन सकिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । श्रोतका अनुसार प्रचण्डको सुरक्षामा खटिएका पूर्व लडाकुलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रधानमन्त्रीले आदेश दिईसकेका छन् ।खबर सेन्टरमा समाचार छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया