राष्ट्रसंघ महासभामा शान्तिप्रक्रिया टुंग्याउन विश्व समुदायको सहयोग माग्नु छ प्रचण्ड
३० भाद्र २०८०, शनिबार १४:१७
काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक आफ्नो अमेरिका भ्रमण विशिष्ट रहेको बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टीका दिवंगत नेता पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै महत्वपूर्ण एजेण्डाका कारण भ्रमण विशिष्ट बनेको बताए।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्।
महासभामा सम्बोधन गर्दै शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन सहयोग माग्नेदेखि जलवायु परिवर्तनले पारेको नकारात्मक असरबारे अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने तयारी रहेको उनको भनाइ छ।
यसपटक राष्ट्रसंघको महासभामा हाम्रा कुरा अलि बढी नै अपिल गर्नुपर्ने छ। एउटा त शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग चाहियो। हामीले नेपाल एउटा यस्तो सफल उदाहरण बन्न चाहन्छ भन्ने कुराको अपिल गर्नुछ। प्रचण्डले भने।
जलवायु परिवतर्नको नकारात्मक असरबारे पनि विश्व समुदायको ध्यानाकर्षण गराउनु जरूरी रहेको उनले बताए। जलवायु परिवर्तनले नेपालमा परेको नकारात्मक असरबारे यदि विश्वसमुदायले ध्यान नदिने हो भने नेपालका लागि मात्र होइन मानव जातिकै निम्ति दुर्भाग्यपूर्ण हुन्छ भनेर अपिल गरिने प्रचण्डको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया