छठ पर्वको आज मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै
३० कार्तिक २०८३, आईतवार ०६:१७
देवानगञ्ज । महान आस्था, कठोर व्रत र निष्ठाको पर्व ‘छठ’ आज यस वर्षको मुख्य दिन हर्षोल्लासका साथ मनाइँदैछ। चार दिनसम्म विभिन्न विधि–विधानसहित मनाइने यस पवित्र पर्वको तेस्रो दिन आज आइतबार साँझ व्रतालुहरूले नदी, पोखरी तथा विभिन्न जलाशय किनारमा पुगी अस्ताउँदो सूर्यलाई पहिलो अर्घ अर्पण गर्दैछन्।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वको पहिलो दिन ‘नहाय–खाय’ र दोस्रो दिन ‘खरना’ विधि यसअघि नै सम्पन्न भइसकेको छ। आज षष्ठी तिथिको व्रत पश्चात् साँझको समयमा जनकपुरधाम, विराटनगर लगायत तराई–मधेसका प्रमुख सहरदेखि ग्रामीण भेगसम्मै विशेष चहलपहल बढेको छ।
सुनसरीको देवानगञ्ज, हरिनगर, बर्जु, गढी, दुहबि,भाेक्राहा नसरिह,इनरवा, विराटनगर लगायत तराई-मधेसका विभिन्न जिल्लाहरूमा छठ पर्वको रौनकले पूरै वातावरण भक्तिमय बनेको छ। बर्जुताल, देवागञ्जका विभिन्न ठाउँहरू, विराटनगरका सिंघिया र केसलिया नदी किनारलगायत मधेसका ऐतिहासिक पोखरी, तलाउ तथा जलाशयहरूमा हजारौँको सङ्ख्यामा व्रतालु तथा श्रद्धालुहरूको भीड लागेको छ। स्थानीय तह र युवा क्लवहरूको सहयोगमा यी सबै जलाशयहरूको सरसफाइ गरी आकर्षक रूपमा झकिझकाउ पारिएको छ।
छठ पर्वलाई प्रकृति, सूर्य देव र छठी माताको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। परिवारको सुख, शान्ति, आरोग्य, सन्तानको दीर्घायु तथा मनोकांक्षा पूरा हुने जनविश्वासका साथ यो कठिन व्रत लिइन्छ। आज साँझ बाँसको टोकरी, सूप र दउरामा ठेकुवा, भुसवा, उखु, कागती, अदुवा, केरा तथा विभिन्न प्रकारका मौसमी फलफूलसहितका विशेष पूजासामग्री राखेर जलाशयको पानीमा
उभिएर अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्य भइरहेको छ।
भोलि कार्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिन लामो यो कठिन र पवित्र छठ पर्वको औपचारिक समापन हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया