काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् । सकारात्मक र नकारात्मक रुपले भए पनि आफ्नो प्रतिवेदनको चर्चा भएको भन्दै प्रचण्डले विचारको विकासलाई प्रमुख स्थानमा राखेको स्पष्ट पारे । प्रचण्डले प्रतिवेदनमाथि टिप्पणी गर्ने पूर्वमाओवादी नेता बाबुराम भट्टराई र एमाले नेता सुरेन्द्र पाण्डेलाई पनि जवाफ दिएका छन् ।
’कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो । कसैले २१औँ शताब्दी फड्को हान्न खोजे पनि भने, कतिले २०औँ शताब्दीमा फर्किन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने,’ प्रचण्ड भने, ‘तर यो महाधिवेशन अरुभन्दा फरक रह्यो । यो के कारणले भयो भने यसले सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रुपान्तरणमा केन्द्रित बन्यो । यही रुपमा कम्युनिस्ट आन्दोलनको इतिहासमा दर्ज भयो ।’
महाधिवेशनमा विचारको विकास, आत्मसमीक्षाको रुपमा, जनतासँग जोडिने सवालमा यो महाधिवेशन फरक रुपमा प्रस्तुत भएको सबैले आत्मसात गरेको उनको भनाइ छ । पार्टीको जारी महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिएका हुन् ।
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताएका छन् । शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको भन्दै कटाक्ष गरे ।
‘अलिकति राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइने रहेछ । जस्तै, प्रचण्डहरू हिजो म प्रधानमन्त्री हुँदा पनि सरकारमै थिए, अहिले कांग्रेस नेतृत्वमा सरकारमा छन्,’ ओलीले भने ।
उनले विदेशबाट फर्केका नेपालीले अब आफैं नेपाल बनाउनुपर्ने संकल्प गर्न आग्रह गरे । हिजो जर्मनी बनाउन बिस्मार्कले जे जस्तो नीति र रणनीति अख्तियार गरे, अब आफूले नेपाल बनाउने दाबी पनि गरे । उनले आफ्नो पार्टीले नेपाल बनाउने पनि उल्लेख गरे । ‘नेकपा एमालेको नीति सही छन्, एमालेले नै देश बनाउँछ भन्नेमा तपाईहरू विश्वस्त हुनु भएको छ, यो राम्रो हो,’ उनले भने ।
काठमाडौं । पार्टीको जारी आठौँ महाधिवेशनमा आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन् ।
महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि २५ वटा समूहमा मंगलबार छलफल भएर बुधबार र बिहीबार समूहका नेताहरूले सुझावसहित निष्कर्ष प्रस्तुत गरेका थिए । त्यसक्रम उठाइएका प्रश्नको शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएका हुन् ।
प्रचण्डको जवाफ :
देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त हुनेगरि उद्घाटन सत्र सुरु भयो । प्रतिवेदनपछि हलमा र बाहिर तरंग, उत्साह जिज्ञासा व्यक्त भयो । महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रह्यो ।
हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकोले यो महाधिवेशनप्रति देश र र दुनियाँको ध्यान छ ।
कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो। कसैले २१शताब्दी फड्को हान्न खोजे पनि भने । कतिले २०औँ शताब्दिमा फर्कन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने ।
तर, यो महाधिवेशन अरुभन्दा फरक रह्यो । यो के कारणले भयो भने यसले सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रुपान्तरणमा केन्द्रित बन्यो । यही रुपमा कम्युनिष्ट आन्दोलनको इतिहासमा दर्ज भयो ।
दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास, आत्मसमीक्षाको रुपमा, जनतासँग जोडिने सवालमा यो महाधिवेशन फरक रुपमा प्रस्तुत भएको सबैले आत्मसात ग¥यो । यो नयाँ बहसको सृष्टि गर्ने महाधिवेशन भयो । यही रुपमा इतिहासमा दर्ज भयो।
प्रतिवेदन गोपनीयता राख्ने कुरा पनि छ । यहि भएर हामीले प्रस्तुत नहुँदै प्रतिवेदन बाहिर नलैजाउँ भनेको हो र कमरेडहरूलाई पनि प्रस्तुत भएपछि मात्र दिइएको हो । आगामी दिनमा गोपनीयता पनि कायम गर्ने र यहाँहरूले भने जस्तै समयमै दिने वातावरण बनाउनेमा पनि ध्यान जान्छ ।
हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ र महाधिवेशन उद्घाटनमै पनि यहाँहरूले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नु भयो ।
मैले यसो बाहिर पनि नियाल्दा माओवादी पछाडि फर्किन्छकी भन्ने चिन्ता गरे जस्तो गरेर आलोचना भयो । त्यो भनेको माओवादी फेरि अर्को के के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दै छ भनेर ठानेका छन् । यो सकारात्मक नै हो ।
यहाँ टोली नेताहरूले लिखित नै राख्नुभएको छ । सबैले यो प्रतिवेदनको मुल स्प्रिट सही छ भनुभयो । तर केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो । तर, त्यो पनि सुझाव नै हो । म तपाइँहरूलाई विश्वास के दिलाउन चाहन्छु, यो सिँगैै हलको साझा प्रतिवेदन भयो । सबै सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरूले पाउनुहुन्छ । सबै सुझाव समेटिन्छ ।
भैरहवा । काँचो ईट्टाको बिमा नहुदा जिल्लाका ४७ बढी ईट्टा ब्यवसायी मर्कामा परेका छन् । बिमाकै कारण ब्यवसायीहरु बर्षेनी करोडौको नोक्सान ब्यहोरि रहेका छन भने उपभोक्ता समेत चर्को मूल्य वृद्धिमा परि रहेका छन । रुपन्देहीमा बुधबार भएको वर्षाका कारण यस बर्ष पनि रुपन्देही जिल्लामा मात्रै करिब सवा ३ करोड काँचो इट्टा गलेर नष्ट भएको छ ।
रुपन्देही जिल्लामा चिसो मौषममा उत्पादन हुने ईट्टा बनाएर तयार भएकोमा पोल्न नपाउदै करिब ३ करोड २५ लाख बढी काँचो ईट्टा गलेर नष्ट भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीको भनाई छ । संघका महासचिव अजय कुमार गुप्ताले जिल्ला भरिमा प्राप्त तथ्यांक अनुसार करिब सवा ३ करोड गोटा काँचो ईट्टा नष्ट भएको बताए । जिल्लमा रहेको कुल ५० वटा उद्योग मध्ये सञ्चालनमा रहेका ४७ उद्योगमा कुल ३ करोड २५ लाख गोटा काँचो इट्टा गलेर नष्ट हुदाँ व्यवसायीले ८ करोड १२ लाख बढी रुपैयाँको नोक्सानी भएको दावी गरेका छन् ।
रुपन्देहीमा उत्पादन हुने इट्टा पाल्पा, गुल्मी, पोखरा, काठमाण्डौँ लगायत विभिन्न स्थानमा जाने गर्दछ । बेमौसमीका कारण काँचो इट्टा गलेर नष्ट हुदाँ उत्पादनमा कमी आउने र बजारमा पनि इट्टाको अभाव हुने देखिएको छ । चिसो मौषमको लागी प्रत्येक वर्ष मंसिर देखि र माघ देखी जेठ महिना सम्म गर्मी यामको लागी उद्योग संचालन हुने गर्दछ भने बाँकी महिना वर्षाका कारण इट्टा उद्योगहरु बन्द रहने गर्दछन् । यस वर्षको पहिलो लगानी मंसिरमा नै वर्षाले करोडौँ रुपैयाँ नोक्सानी हुदाँ व्यवसायीहरु मारमा परेका हुन ।
प्रत्येक वस्तुको विमा हुने गरेपनि सरकारको नीतिका कारण काँचो इट्टाको विमा नहुने हुदाँ वर्षेनी करोडौँ रुपैयाँको नोक्सानी बेहोरदै आएको नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका सदस्य रमेश खनालको भनाई छ । वर्षाका कारण करोडौँ इट्टा नष्ट भएकोले नयाँ इट्टा उत्पादनमा पनि करिब एक महिना थप समय लाग्ने ब्यवसायीको भनाई छ । ब्यवसायीहरुले आफ्नो तरिका अनुसार काँचो ईट्टा जोगाउन खोजे पनि त्यो लगानी जोगाउनको लागी प्रयाप्त हुन नसकेको उनिहरुको गुनासो रहेको छ ।
रुपन्देही ईट्टा उद्योग ब्यवसायी संघका सल्लाहकार समेत रहेको न्यू कामना ईट्टा उद्योगका सञ्चालक टंक अधिकारीले मौषमबारे पूर्वानुमान हुदा पनि ईट्टा जोगाउन नसक्ने बताए । उनले चिसो मौषममा ईट्टा सुक्न नै १२ दिन भन्दा बढी लाग्ने र त्यो राम्ररी नसुकेको ईट्टा भण्डारण गर्दा थप लागतको भारमा पर्ने अधिकारीको भनाई छ । ब्यवसायीहरुले काँचो ईट्टाको बिमा बारे प्रदेश सरकार र संघिय सरकारलाई पटक पटक आग्रह गरे पनि यस बारे कुनै ठोस निर्णय नभएकोले ब्यवसायी मारमा परिरहेको गुनासो गरेका छन् ।
काठमाडौं । बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्रीसेल्सियस थियो तर शुक्रबार विहानको तापक्रम ४.५ डिग्रीसेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क छ ।
देशभर भएको बाक्लो हिमपातसँगै न्यूनतम तापक्रममा एकै दिन दुई डिग्रीसेल्सियससम्म कमी आएपछि अत्यधिक चिसो भएको छ । चिसोका कारण बाक्लो हुस्सु लाक्दा देशभर आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बिहान केहीबेर प्रभावित बनेको थियो । शुक्रबार बिहानसम्ममा देशकै सबैभन्दा धेरै चिसो जुम्लामा माइनस ५ डिग्रीसेल्सियस पुगेको छ भने सबैभन्दा धेरै अधिकतम तापक्रम विराटनगरमा २४.७ डिग्रीसेल्सियस पुगेको महाशाखाको तथ्याङ्क छ ।
मङ्गलबारदेखि मौसममा बदली हुँदा हिमाली र उच्चपहाडी क्षेत्रको एक हजार सात सय मिटरसम्म हिमपात भएको थियो भने देशैभर वर्षा भएको थियो । यता मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले अरब सागरबाट नेपाल प्रवेश गरेको जलवाष्पसहितको वायु रोकिए पनि स्थानीय वायुका कारण चिसो कायमै रहदाँ बाक्लो हुस्सु लागेकाले चिसो अझै कायमै रहने बताए। अझै एक साता स्थानीय वायुको प्रभाव रहने उनले जानकारी दिए ।
काठमाडौँ । आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य असर रहेको छ । विभागले गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशभर आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने जनाइएको छ । ती स्थानका उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम २४ दशमलव सात डिग्री सेल्सियस रहेको छ । -रासस
कञ्चनपुर । बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान स्थानीय जातको ‘घरैया’ आलु(थारु आलु)को व्यावसायिक खेतीमा लागेका छन् । स्थानीय किसान प्रतापसिंह राना र असारे वडाकले छ बिघा जग्गामा घरैया आलुको व्यावसायिक खेती गरे। कृषि ज्ञानकेन्द्रको थारु आलु विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत बीउ अनुदानमा स्थानीय जातको आलु खेतीलाई ती दुवै किसानले अगाडि बढाउनुभएको हो । “खानमा स्वादिलो र थोरै मेहनतमै धेरै फल्ने वर्षौंदेखि लगाउँदै आएको घरैया आलुको बढ्दो बजार मागलाई मध्यनजर गर्दै व्यावसायिकरुपमा खेतीमा लागेका छौँ”, असारे वडाकले भने, “डेढ बिघा खेतमा उखुबालीसँगै अन्तरबालीका रुपमा लगाएको छु ।
बाँकी डेढ बिघामा आलु मात्रै रोपेको छु । तीन बिघा जग्गामा ३० क्विन्टल आलुको बीउ खरिद गरी लगाएको उहाँको भनाइ छ । प्रताप सिंहले भने एक बिघा उखुबालीसँगै अन्तरबालीका रुपमा र बाँकी दुई बिघा खेतमा आलुमात्रै रोपेका छन् । आलुको बीउ खरिददेखि खेतमा रोप्दासम्मको मात्रै दुवै जना किसानले रु सात लाख बढी खर्च गरे । बर्णशङ्कर(हाइब्रेड) जातका आलुको तुलनामा स्थानीय जातको घरैया आलुको उत्पादन बढ्ने अनुमान दुवै किसानले गरेका छन् ।
“आलुको उत्पादनका लागि मेहनत साथ काम गरेका छौँ । कोशिस राम्रो छ । बाली सपिँदो छ”, प्रतापसिंह रानाले भने, “उत्पादन चाहेअनुरुपकै हुनेमा ढुक्क छौँ ।” आलु उत्पादनमा लागेका किसानका अनुसार खेतमा रोपिएको आलुको उत्पादन प्रतिबिघा १५० बढी हुने अनुमान गरेका छन् । हाइब्रिड आलुको तुलनामा कम फल्ने भएकाले धेरै किसानले घरैया आलु लगाउन छाड्दै जान थालेका थिए । पछिल्लो समय घरैया आलुको माग बढेपछि दुवै किसान आलुखेती गर्न उत्साहित भएका हुन् । “हाइब्रिड आलुको तुलनामा मूल्यसमेत राम्रो छ”, असारले भने, “बजारमा लग्नै पर्दैन । आलु खेतमा फल्न सुरु हुन लागेका बेला नै व्यापारीले आलुका लागि माग गर्न थालि सकेका छन् ।”
उन्नत जातका टिपिएस, कार्डिनललगायतका आलुको बजारमा रु २० देखि रु ३० प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ । थारु समुदायका व्यक्तिले पुर्खौंदेखि रोप्दै आएको घरैया आलु प्रतिकिलो रु ५५ देखि रु ६० मा सहजै बिक्री हुने गरेको छ । थारु समुदायले लगाउने भएकाले यस आलुलाई थारु आलुका नामले पनि चिनिने गरिन्छ ।
परम्परागतरुपमा जैविक विधिको प्रयोग गरी लगाइने भएकाले स्वास्थ्यवद्र्धक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहिने र डढुवा लगायतको रोग सहनसक्ने क्षमता भएकाले भएकाले यस आलुको माग बढ्दो रुपमा रहेको छ ।
विकासे आलुको तुलनामा स्थानीय जातको आलुको दाना सानो अर्थात् पाँच ग्रामदेखि १० ग्राम तौलको हुने गरेको छ । हाल आलु लगाउने आधुनिक प्रविधिको प्रयोग हुन थालेपछि दाना विगतको तुलनामा ठूलोसमेत हुने गरेको छ । आलु लगाउने परम्परागत तरिकालाई परिमार्जित गर्दै दुवै जना किसानले आधुनिक तौरतरिका अपनाई आलुखेती गरेका छन् । जसका कारण आलु खेतीमा सिँचाइ गर्नसमेत सहज भएको छ ।
आलुखेतीका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले प्राविधिक सहयोग गरेको दुवै जना किसानको भनाइ रहेको छ । नगरपालिकाको कृषि शाखाका प्राविधिक हरिस सेठी परम्परागतरुपमा लगाइँदै आएको आलुखेती गर्ने तरिकालाई वैज्ञानिक बनाइएकाले उत्पादन विगतको तुलनामा दोब्बरले बढी हुने बताउँछन् ।“घरैया आलु रोग प्रतिरोधी भएकालेसमेत किसानले डढुवाका कारण क्षति व्यहोर्नु नपर्ने हुन्छ”, उनले भने, “नगरपालिका क्षेत्रका अन्य किसानलाई समेत यस जातको आलुखेती गर्नका लागि अर्को वर्षदेखि उत्प्रेरित गर्न कार्यक्रम सञ्चालन गर्छौं ।” -रासस
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रस्तावमाथि नेता हरिबोल गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका छन् ।
महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । दुवै प्रस्तावमाथि २५ वटा समूहमा छलफल भएर समूहका नेताले आ–आफ्नो सुझाव र निष्कर्ष प्रस्तुत गरिसकेका छन् । सोही क्रममा नेता गजुरेलले आफ्नो व्यक्तितर्फबाट १९ बुँदे लिखित सुझाव पेस गरेका हुन् ।
आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिने कार्यक्रम छ । गत सोमबारबाट सुरु भएको महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।
जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणको गति तीव्र देखिएको छ । जटिल भूबनोट तथा सडक सञ्जालसँग नजोडिएको आयोजना भए पनि कामको गति बढेको स्थानीयले बताएका छन् ।
आयोजनाको सार्वजनिक सुनुवाइको क्रममा स्थानीयवासीले काम गर्ने तरिका राम्रो भएको भन्दै डोल्पा मात्र नभई कर्णालीकै भविष्यसँग जोडिएको आयोजना भएकाले राज्यले बढी ध्यान दिनुपर्ने बताएका थिए । सञ्चारदेखि अन्य कुनै पनि माध्यमबाट सहज नभएको ठाउँका आयोजनाको निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाको कुशल नेतृत्वकै कारण सबै काम गर्न सहज भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए ।
‘सर्वसाधारण , स्थानीय सरकारदेखि आयोजना प्रमुख सापकोटाको कुशल नेतृत्व भएकै कारण जगदुल्ला जलविद्युत आयोजना (१०६ मेगावाट) कामले गति लिएको छ,’ उनले भने ।
मुड्केचुला गाउँपालिका-४ इलमा विद्युत उत्पादनगृह निर्माण हुने छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य ड्याम रहने छ । यही आयोजनासँग निर्माण गर्ने भनिएको नलगाड जलविद्युत आयोजना (४१७ मेगावाट) को डिपिआरसमेत सम्पन्न हुन सकेको छैन ।
३१ महिनाभित्र डिपिआर सकिने सहमति भए पनि झन्डै ६७ महिनासम्म नबन्दा समस्या देखिएको छ । डिपिआर सम्पन्न गर्न चारपटकसम्म म्याद नै थपिएको छ, तर अहिलेसम्म प्रगति शून्य छ । २० अर्ब लगानीमा निर्माण हुन लागेको यो आयोजना दैनिक एक करोड २० लाख आम्दानी गर्ने अपेक्षा लिइएको छ ।
उज्यालो नेपाल अभियानमार्फत राज्यलाई आत्मनिर्भर समुन्नत र समृद्ध बनाउन तथा मुलुकको ऊर्जा विकासमा टेवा पु¥याउन विधिवत रूपमा कम्पनी ऐनअनुसार १६ जेठ ०७४ मा कम्पनीको स्थापना गरिएको थियो । कम्पनीले छोटो समयमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन प्राप्त गरी वातावरणीय प्रभाव मूल्यांकन कार्यअन्तर्गत सार्वजनिक सुनुवाइसमेत गरिसकेको छ।
आयोजनाको विद्युतगृह स्थल इलमा थप भौगर्भिक अध्ययन कार्यका लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको समेत प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको बताएको छ । कुल चार सय मिटर लम्वाइ रहेको नमुना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएको छ । अस्थायी कार्यालय तथा आवास भवनको निर्माण कमसमेत सम्पन्न गरिसकेको छ ।
जटिल भूगोल र हेलिकोप्टरबाट लिइएका सामग्रीबाट त्यहाँको नमुना परीक्षण हुने गरेको छ । आयोजनाका लागि आवश्यक पर्ने २६० रोपनी जग्गा अधिग्रहण र मुआव्जाको काम अघिल्लो वर्ष नै भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदनको कामसमेत सम्पन्न अघिल्लो वर्ष सम्पन्न भइसकेको छ ।
आयोजनाको पहुँचमार्ग जाजरकोट–डोल्पा सडक त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गरी आयोजना स्थल मुड्केचुला र जगदुल्ला सडक खण्ड निर्माण गर्नुपर्ने बाध्यता छ । डोल्पास्थित प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार कार्यालय तथा स्थानीय पालिकासँग कम्पनीले सहकार्य गरि करिब ३० किलोमिटर ट्रयाक खोल्ने कार्य सम्पन्न गरिसकेको छ ।
प्रदेशसभा सदस्य वीरबहादुर शाहीले आयोजनाको काम सन्तोषजनक भएको भन्दै थप प्रगतिका लागि अहिले टिमलाई पूर्ण जिम्मेवारी दिई कामलाई गति दिनुपर्ने बताउनुभयो । यो आयोजनाबाट उत्पादन गरिएको विद्युत रुकुम पश्चिमको बाँफिकोटमा विद्युत प्राधिकरणको निर्माणाधीन सवस्टेसनमा ल्याएर जोडिने छ ।
आयोजना निर्माणको लागत घट्यो
आयोजनाको विस्तृत परियोजना प्रतिवेदनअनुसार आयोजना निर्माणको कुल लागत २० अर्ब लाग्ने अनुमान गरिएको हो । तर, यसअघि २३ अर्ब लागत अनुमान गरिएको आयोजना निर्मित कार्यकारी प्रमुख सापकोटाले जानकारी दिए । करिब ६ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित तीन सय मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
कुल तीन सय सात मेगावाट विद्युत् उत्पादनगर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण एक सय ६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ ।
जगदुल्ला गाउँपालिका-१, हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ । ६ घन्टा पानी थुनेर आयोजना सञ्चालन गरिने छ । आयोजना निर्माणका लागि १० प्रतिशत सेयर स्थानीयवासीले पाउनेछन् ।
आयोजना निर्माणका लागि आवश्यक विद्युतका निम्ति इलस्थित फेदीखोलाबाट दुई मेगावाट र काइगाउँस्थित स्थानीयखोलाबाट दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनको काम सुरु गर्न लागिएको छ । आयोजना निर्माणस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सञ्जय सापकोटाले जानकारी दिए।
तीन करोड लागतमा जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम सुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तोकिएको समयमा सम्पन्न हुन मुस्किल देखिएको छ । काइगाउँबाट मुड्केचुलासम्म जोड्ने सडकको काम पाँच करोड रुपैयाँमा सुरु गरिएको प्रदेश सभा सदस्य शाहीले जानकारी दिए।
काठमाडौं । नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ । प्रेस संयोजक आचार्यका अनुसार साँझ ५ बजेमात्र मिडिया सेन्टरमा प्रवेश दिने आचार्यको भनाइ ।
महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट पनि खोलिएको छ ।
काठमाडौ । नेपाल पत्रकार महासंघले सन् २०२० मा भन्दा २०२१ मा प्रेस स्वतन्त्रतामाथि बढी आक्रमण भएको रिपोर्ट सार्वजनिक गरेको छ । सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको निष्कर्ष सार्वजनिक गर्दै महासंघले तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको अभिलेखीकरण सार्वजनिक गरेको छ ।
‘अभिलेखअनुसार सन २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएका छन्,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त ६२ वटा घटनामा १९० जना पत्रकार पीडित भएका र चारवटा सञ्चारमाध्यम प्रभावित हुन पुगेको महासंघले जनाएको छ ।
यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुव्र्यवहारका घटना घटेको, पेसागत असुरक्षाका १० वटा घटना भएको, कब्जा र अवरोधका १० वटा घटना भएको अझिलेख सार्वजनिक गर्दै महासंघले पत्रकारमाथि पाँचवटा आक्रमणका भएको जनाएको छ ।
पत्रकार गिरफ्तारीका चारवटा घटना भएको यो वर्ष नीतिगत बन्देजको घटना भने एक मात्र रहेको महासंघले अभिलेख सार्वजनिक गरेको छ । साथै, यस वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुव्र्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेको जनाएको छ ।
मुख्यतः भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले समस्या बेहोरिरहनुपरेको छ । विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा प्रहरीको लाठी प्रहारबाट पत्रकारहरू घाइते हुन पुगेका उल्लेख गर्दै महासंघले यस वर्ष पनि सार्वजनिक कार्यक्रमका समाचार संकलनमा पत्रकारलाई रोक लगाउने कामले उत्तिकै निरन्तरता पाएको जनाएको छ ।
संसद्, संसदीय समितिका बैठक, मन्त्रीहरूको सपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशनलगायतमा पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने कार्य नरोकिएको उल्लेख गर्दै महासंघले संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भइरहेको जनाएको छ ।
संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको पनि महासंघको निष्कर्ष छ ।
कोरोना भाइरसको संक्रमणबाट महामारी सुरु भएसँगै अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् भने जो सन २०२१ मा नै २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको छ ।
यसैगरी, कोरोना महामारीको बहाना पत्रकारको पेसागत सुरक्षा प्रभावित हुन पुगेको छ । एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट तीन सय ५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलवी बिदामा राख्ने र जागिरबाट निष्कासन गर्ने काम भएको छ ।
तर, जसमध्ये झन्डै तीन सयजना पत्रकारको समस्या सम्बोधन भएको छ भने ५० जना पत्रकारको समस्या समाधानका लागि महासंघले कानुनी तथा दबाबमूलक पहल गरिरहेको महासचिव रोशन पुरीले सार्वजनिक गरेको अभिलेखमा उल्लेख छ ।
काठमाण्डाैं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको मकैका बीउ आयात भएका हुन् । एक हजार किलोग्राम बराबर एक टन हुन्छ । केही वर्षदेखि मकैको बीउको आयात बढ्दै गएको तथ्याङ्क छ ।
मकैका बीउमा परनिर्भरता बढ्दै जान थालेपछि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बालीविज्ञ एवं सूचना अधिकारी प्रकाश आचार्यले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा बीउको आयात बढेकोमा चिन्ता व्यक्त गरे । मकैको मूल बीउ अर्थात् प्रजनन बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र उन्नत बीउको उत्पादन निजी तथा सामुदायिक क्षेत्रमा हुने गरेका थिए । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै तीन तहका सरकारबीच समन्वय र सहकार्य हुन नसकेकाले सामुदायिक क्षेत्रमा उन्नत जात (हाइब्रिड) मकैका बीउ उत्पादन हुन लगभग बन्द भएकाले बीउमा परनिर्भरता ह्वात्तै बढेको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्जेनटिन, ब्राजिल, भारत, क्यानडा दक्षिण अफ्रिका, टर्की, र अमेरिकाबाट रु छ अर्ब ९१ करोड ९८ लाख ६६ हजार मूल्य बराबरका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । तीमध्ये सबैभन्दा बढी भारतबाट रु छ अर्ब २५ करोड ५७ लाख चार हजार मूल्य बराबरका १८ करोड ५५ लाख ८५ हजार ९५० किलोग्राम मकैको बीउ आयात भएको छ । त्यसपछि सबैभन्दा बढी मकैको बीउ आयात हुने मुलुकमा अर्जेनटिना हो । सोही अवधिमा सो मुलुकबाट रु ६५ करोड ४१ लाख ३४ हजार मूल्य बराबरका ७७ लाख ३२ हजार ५० केजी मकैका बीउ आयात भएको छ । तेस्रो मकैको बीउ आयात हुने मुलुकमा दक्षिण अफ्रिका पर्दछ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सो मुलुकबाट रु १० करोड ९७ लाख ७० हजार मूल्य बराबरका १२ लाख ७४ हजार केजी मकैको बीउ आयात भएको छ ।
यसैगरी सो अवधिमा ब्राजिलबाट सात लाख ९२ हजार २४० केजी, टर्कीबाट तीन लाख ४५ हजार केजी, अमेरिकाबाट तीन लाख आठ हजार ४२० केजी र क्यानडाबाट सात हजार ८०० केजी मकैको बीउ आयात भएको भन्सार विभागले जनाएको छ । आयात भएको मकैको बीउ खरिद गर्दा नेपालले ब्राजिललाई रु छ करोड ४३ लाख ७० हजार, टर्की र अमेरिकालाई रु दुइ करोड ९६ लाख ९७ हजार र क्यानडालाई रु ६६ लाख २४ हजार भुक्तानी दिनुपरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मकैको बीउ आयातबाट राज्यले रु ३७ करोड चार लाख ४२ हजार भन्सार असुली गरेको छ । नेपालीका प्रमुख आहार धान पछि मकै हो ।
पहाडी क्षेत्रमा बसोबास गर्ने अधिकांश ग्रामीण जनताको दैनिक खाद्यान्न बाली मकै हो । मकैको बीउ आयातले स्थानीय जातको लोकल बीउलाई बहुर्राष्ट्रिय कम्पनीका बहुजातीय बीउले विस्थापित गर्ने सम्भावना बढेर गएको छ । मकैबाट पिठो बनाएर ढिडो, रोटी, पुवा एवं अन्य परिकार खाने चलन छ । मकै पोलेर, उसिनेर र कलिलो मकै तरकारी बनाएर खाने चलन छ तर, पछिल्लो समय पशुपन्छीको दाना बनाउन मकै धेरै प्रयोग हुन थालेको छ । नेपालले वार्षिक झण्डै पशुपन्छीको दानाको लागि चार लाख मेट्रिक टन मकै आयात गर्दै आएको छ । किसानले सहजरुपमा अझैसम्म गुणस्तरीय बीउ पाउन सकेका छैनन् । उनीहरुले उन्नत जातका बीउ सरलरुपमा प्राप्त गर्ने हो भने उत्पादन बढाउन सकिने विभिन्न अनुसन्धानले देखाएको छ ।
पछिल्लोपटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मकै उत्पादनलाई प्राथमिकता दिएको छ । यो परियोजना आर्थिक वर्ष २०७४/०७५ बाट सुरु भएको हो । नेपालमा झण्डै नौ लाख हेक्टर जमीनमा मकै खेती गरिन्छ । उच्च पहाडमा ११, मध्य पहाडमा ७१ र तराईमा १८ प्रतिशत जमिनमा मकै खेती गरिन्छ । नेपालमा मकैको उत्पादन झण्डै २२ लाख मेट्रिक टन छ ।
काठमाडौं । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण नेपालको अन्य देशको तुलनामा कम रहेको विज्ञहरू बताउँछन् । पश्चिममा देशसहित छिमेकी भारतमा समेत यसको संक्रमण बढिरहेका बेला नेपालमा अहिलेसम्म ओमिक्रोनको संक्रमण निकै कम देखिएको जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले बताए ।
उनका अनुसार अन्य देशको तुलनामा नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको परीक्षण गर्दा संक्रमण निकै कम देखिइको छ ।नेपालमा हालसम्म ओमिक्रोनको संक्रमण देखिएका तीन जनामध्ये दुई जना संक्रमणमुक्त भइसकेका र एक जनामा अझै संक्रमण देखिरहेको उनले बताए । ओमिक्रोन जोखिमयुक्त रहेको संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी बताउँछन् । डा मरासिनी र डा सुवेदीका अनुसार कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्ति पनि ओमिक्रोनको जोखिममा छन् ।
अन्य भेरियन्टको तुलनामा ओमिक्रोन निकै संक्रामक रहेको जानकारी दिएका डा सुवेदीले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना र अस्पतालमा उपचारका लागि पूर्वतयारी गरेर बस्नुपर्ने बताए । ओमिक्रोनको संक्रमण नियन्त्रणका लागि पीसीआर र एन्टिजेनको परीक्षणको दायरा बढाउनेदेखि जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने जनस्वास्थ्यविद् मरासिनीले बताए ।
भारतसहितका देशमा ओमिक्रोनको संक्रमण बढिरहेकाले नेपालमा पनि यसको संक्रमण दर बढ्न सक्ने डा सुवेदी बताउँछन् । संक्रमण हुनुअघि नै सुरक्षित हुनका लागि सभा समारोह, सामाजिक भिडभाड नगरी दूरी कायम गरेर आफ्नो काम गर्न उनले सुझाव दिए ।
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन ।
संघीय संसदका दलहरुलाई प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे पनि नेताहरूले उचित निकास ननिकाल्दा बारको आन्दोलन अझै निष्कर्षविहीन अवस्थामा छ ।
बारको मागबमोजिम गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भइसक्दा पनि बार भने आन्दोलनमै छ । प्रधानन्यायाधीश राणाको राजीनामा उसको बटलमलाइन देखिएको छ ।
गलेश्वर । गत बुधबार भएको हिमपात होटल तथा पर्यटन व्यवसायी र किसानका लागि वरदान सावित भएको छ ।म्याग्दीका प्रायः सबै पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँमा रमाउनका लागि ती स्थानमा आन्तरिक पर्यटकको भीड लागेको छ । लामो समयपछि चिसो मौसममा हिउँसँग रमाउन आएका पर्यटक देख्दा होटल व्यवसायी दङ्ग छन् । जिल्लाका पर्यटकीय क्षेत्र टोड्के, घोडेपानी, गाजने, मालिकाको धुरी, मुनालगायतका ठाउँमा भएको हिमपातमा रमाउन आन्तरिक पर्यटक ती ठाउँमा पुगेका हुन् । पर्यटक पुगेपछि ती क्षेत्रको व्यापार व्यवसाय बढेको छ । व्यवसायी हर्षित भएका छन् ।
अहिले टोड्के, घोडेपानी, राम्चे, करवाकेलीलगायतका क्षेत्र हिउँले सेताम्मै भएका छन् । अझै दुई÷तीन दिनसम्म ती क्षेत्रमा हिउँ रहिरहने र पर्यटक आउने भएकाले स्थानीय व्यापारी खुसी भएका हुन् । गत मङ्सिर १० गते पनि ती क्षेत्रमा हल्का हिमपात भएको थियो । हिमपातले केही दिन त पर्यटक आएका थिए तर हिउँ निख्रदै गएपछि पर्यटक आगमन पनि घटेको स्थानीय व्यापारी तीर्थ पाइजाले बताए ।
“हिमपातसँगै जाडो भए पनि हिमपातको दृश्य हेर्न पर्यटक आएका छन्, अब भने व्यवसायले लय लिन्छ कि जस्तो छ”, होटल व्यवसायी जानुका गुरुङले भने, “हिउँ पर्दा हिउँमा रमाउन आउने युवायुवतीबाट राम्रो व्यापार हुन्छ, त्यसैले हामीलाई त कहिले हिउँ पर्लाजस्तो लाग्छ ।” उत्तरी र पश्चिमी म्याग्दीका विभिन्न ठाउँमा बुधबार र बिहीबार हिउँ खेल्दै रमाउनेको बाक्लो भीड लागेको स्थानीयवासीले बताएका छन् । त्यसैगरी टोड्केमा बिहीबार एकैदिन १०० भन्दा बढी आन्तरिक पर्यटक हिउँ खेलेर रमाउन पुगेका थिए ।
हिमपातका कारण होटल व्यवसायीसँगै किसान पनि खुसी भएका छन् । हिउँ परेपछि अन्न उत्पादनमा वृद्धि हुनुका साथै घाँस उत्पादनमा पनि वृद्धि हुने भएपछि पशुपालन व्यवसाय पनि फष्टाउने किसान बताउँछन् । उच्च क्षेत्रमा कम पानी पर्ने र परेको पानी तत्काल बगेर जाने भएकाले सिँचाइ राम्रो नहुने उनीहरु भनाइ छ ।
हिउँ पग्लन धेरै समय लाग्ने भएकाले बोट बिरुवाको गहिराइसम्म सिँचाइ हुँदा अन्नबालीको उत्पादनमा वृद्धि हुने रुमका किसान इन्द्रबहादुर विकले बताए । हिउँ परेपछि फुस्रा डाँडामा घाँस उम्रिने गर्छ र चौपायलाई सहज हुने गर्छ त्यसैले पनि किसान हिउँ परेपछि खुसी भएको उनको भनाइ छ । पश्चिम बङ्गालको खाडी, अरब सागर र स्थानीय जलवाष्पसहित वायु नेपाल प्रवेश गरेपछि लामो समयसम्म रहँदा न्यूनतम तापक्रममा वृद्धि भई हिउँ पर्ने गर्दछ । लामो समयसम्म चिसो कायमै रहनु र यी जलवाष्पसहितको वायु निरन्तर नेपाल प्रवेश गर्दा तल्लो क्षेत्रसम्म हिउँ पर्ने गरेको मौसम पुर्वनुमान महाशाखाले जनाएको छ । -रासस