३० कार्तिक २०८३, आईतवार ०६:१७ – Nagarikabhiyan : National News

छठ पर्वको आज मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै

देवानगञ्ज । महान आस्था, कठोर व्रत र निष्ठाको पर्व ‘छठ’ आज यस वर्षको मुख्य दिन हर्षोल्लासका साथ मनाइँदैछ। चार दिनसम्म विभिन्न विधि–विधानसहित मनाइने यस पवित्र पर्वको तेस्रो दिन आज आइतबार साँझ व्रतालुहरूले नदी, पोखरी तथा विभिन्न जलाशय किनारमा पुगी अस्ताउँदो सूर्यलाई पहिलो अर्घ अर्पण गर्दैछन्।
​कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वको पहिलो दिन ‘नहाय–खाय’ र दोस्रो दिन ‘खरना’ विधि यसअघि नै सम्पन्न भइसकेको छ। आज षष्ठी तिथिको व्रत पश्चात् साँझको समयमा जनकपुरधाम, विराटनगर लगायत तराई–मधेसका प्रमुख सहरदेखि ग्रामीण भेगसम्मै विशेष चहलपहल बढेको छ।
​
​सुनसरीको देवानगञ्ज, हरिनगर, बर्जु, गढी, दुहबि,भाेक्राहा नसरिह,इनरवा, विराटनगर लगायत तराई-मधेसका विभिन्न जिल्लाहरूमा छठ पर्वको रौनकले पूरै वातावरण भक्तिमय बनेको छ। बर्जुताल, देवागञ्जका विभिन्न ठाउँहरू, विराटनगरका सिंघिया र केसलिया नदी किनारलगायत मधेसका ऐतिहासिक पोखरी, तलाउ तथा जलाशयहरूमा हजारौँको सङ्ख्यामा व्रतालु तथा श्रद्धालुहरूको भीड लागेको छ। स्थानीय तह र युवा क्लवहरूको सहयोगमा यी सबै जलाशयहरूको सरसफाइ गरी आकर्षक रूपमा झकिझकाउ पारिएको छ।
​
​छठ पर्वलाई प्रकृति, सूर्य देव र छठी माताको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। परिवारको सुख, शान्ति, आरोग्य, सन्तानको दीर्घायु तथा मनोकांक्षा पूरा हुने जनविश्वासका साथ यो कठिन व्रत लिइन्छ। आज साँझ बाँसको टोकरी, सूप र दउरामा ठेकुवा, भुसवा, उखु, कागती, अदुवा, केरा तथा विभिन्न प्रकारका मौसमी फलफूलसहितका विशेष पूजासामग्री राखेर जलाशयको पानीमा
उभिएर अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्य भइरहेको छ।
​
भोलि कार्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिन लामो यो कठिन र पवित्र छठ पर्वको औपचारिक समापन हुनेछ।

तिहारको चौथो दिन आज गाई तिहार, गौमाताको पूजाआराधना गरी मीठा परिकार ख्वाइँदै

देवानगञ्ज । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज कागेश्वरी मनोहरा, गाई तिहारको पर्व श्रद्धा र उल्लासपूर्वक मनाइँदैछ। हिन्दू धर्ममा गाईलाई अत्यन्त पवित्र जनावर तथा ‘गौमाता’का रूपमा पुज्ने प्राचीन परम्परा रहिआएको छ । आजको दिन बिहानैदेखि विभिन्न स्थानमा गाईलाई पूजाआजा गरी मीठा परिकार खान दिने प्रचलन छ ।

गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो र गुणकारी हुने भएकाले यसलाई विशेष सम्मान गरिन्छ। गाईबाट प्राप्त हुने दूध, दही, घिउका साथै गोबर र गहुँतसमेत धार्मिक, सांस्कृतिक तथा औषधीय दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छन् । धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा ठूलो पुण्य प्राप्त हुने जनविश्वास छ। नेपालका केही स्थानमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गरिए पनि शास्त्रीय विधानअनुसार औँसीको समाप्ति र प्रतिपदाको सुरुवातमा गाईपूजा गर्ने गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले विभिन्न धार्मिक अनुष्ठान तथा पुण्य कार्यमा ‘गाईदान’ गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन् । धर्मशास्त्रका जानकार प्रा डा रामचन्द्र गौतमका अनुसार पछिल्लो समय गाईको अभाव हुँदै गएका कारण कतिपय ठाउँमा गाईको सङ्कल्प गरेर त्यसको बदलामा उचित रकम राख्ने चलन पनि बढ्दै गएको छ ।

राष्ट्रिय जनावरका रूपमा समेत सम्मानित गाईसँग जोडिएका थुप्रै धार्मिक विश्वासहरू प्रचलित छन्। जनविश्वास अनुसार जनैपूर्णिमा (साउन शुक्ल पूर्णिमा) का दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन आजको दिन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् परलोक जाँदा वैतरणी नदी पार गर्न गौमाताले सहयोग गर्ने र स्वर्गको बाटो खुल्ने धार्मिक मान्यता रहिआएको छ ।

तिहार र छठमा हराउँदै गाउँघरको मौलिकता: आधुनिकताको प्रभावले परम्परागत संस्कृति सङ्कटमा

देवानगञ्ज । हिन्दू धर्मावलम्बीहरूको महान् पर्वहरू तिहार र छठ पर्व र यसको रमझम गाउँदेखि सहरसम्मै छाउन थालेको छ । तर, समयको परिवर्तनसँगै सुनसरीको देवानगञ्ज गाउँपालिका लगायत मधेस क्षेत्रका विभिन्न गाउँहरूमा यी पर्वहरूले मनाउने परम्परागत मौलिकता भने क्रमशः हराउँदै गएको छ।
​
केही दशकअघिसम्म गाउँघरमा तिहार र छठ पर्वको बेला देखिने सामाजिक सद्भाव, आपसी सहयोग र माटोको सुगन्ध बोकेका रीतिरिवाजहरू अहिले आधुनिकताको दौडमा ओझेल पर्दै गएका छन्।
​
​केही समयअघिसम्म तिहारको समयमा गाउँघरमा खेलिने देउसी–भैलोमा स्थानीय बाजागाजा (मादल, झ्याली, ढोलक) को प्रयोग र मौलिक गीतहरूको महिमा हुन्थ्यो। घरका गृहिणीहरूले आँगनमा आफ्नै हातले चामलको पिठो र विभिन्न रङ मिसाएर बनाएका कलात्मक राङ्गोली तथा घर लिपपोत गर्ने चलन थियो।
​
तर, अहिले देवानगञ्ज र आसपासका क्षेत्रहरूमा यी मौलिक परम्पराहरू फेरिँदै गएका छन्। स्थानीय संस्कृतिभन्दा पनि चर्को स्वरका डीजे (DJ) बाजा बजाउने, प्लाष्टिकका तयार गरिएका कृत्रिम फूलका माला र झिलीमिली बिजुलीका बत्तीहरूले माटोको सुगन्ध बोकेका परम्परालाई विस्थापित गर्दै लगेका छन्। पुराना र स्थानीय लोकभाकाका साटो आधुनिक पप तथा फिल्मी गीतहरूले तिहारको सांस्कृतिक महत्वलाई कमजोर बनाउँदै लगेको स्थानीय ज्येष्ठ नागरिकहरूको गुनासो छ।
​
​मधेश क्षेत्रको महान् लोकपर्व छठमा पनि यही किसिमको परिवर्तन देखिन थालेको छ। छठ पर्वलाई प्रकृतिको पूजा र शुद्धताको प्रतीक मानिन्छ, जहाँ बाँसका कोनिया (टोकरी), नाङ्लो, माटोका भाडाकुँडा र स्थानीय रूपमा उत्पादित कृषि उपजहरूको विशेष महत्व हुन्छ।
​
तर, अहिले बजारमा पाइने प्लाष्टिकका सामग्रीको प्रयोग बढ्दै गएको छ भने पूजाको व्यवस्थापनमा देखासिकी र तामझाम हाबी हुन थालेको छ। छठ घाटहरूमा पहिला जस्तो सामूहिक अपनत्व, आपसी मेलमिलाप र सादगीपन देखिन छोडेको छ। महँगा स्पिकर र आधुनिक सङ्गीतले छठको शान्त र पवित्र वातावरणलाई समेत असर पार्न थालेको स्थानीयहरूको अनुभव छ।

देवानगञ्ज गाउँपालिका वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३० औं वार्षिकोत्सवमा देशकै उत्कृष्ट पालिकाकाे रूपमा सम्मानित

देवानगञ्ज। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ३० औं वार्षिकोत्सवको विशेष अवसरमा सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका देशकै उत्कृष्ट पालिकाको रूपमा सम्मानित भएको छ।
​स्वच्छ एवं वातावरणमैत्री ऊर्जा प्रविधिको विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणको क्षेत्रमा देशभर सञ्चालित १५६ वटा पालिकामध्ये उत्कृष्ट योगदान पुर्‍याएको भन्दै देवानगञ्ज गाउँपालिकालाई यो गौरवशाली सम्मान प्रदान गरिएको हो। गाउँपालिकालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका माननीय मन्त्री बिराज श्रेष्ठ ज्यूले कदर-पत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो।
​यस महत्त्वपूर्ण उपलब्धिले स्थानीय स्तरमा हरित ऊर्जाको प्रवर्द्धन, नवीकरणीय ऊर्जाको प्रयोग र वातावरण संरक्षणका लागि पालिकाले गरेका प्रयासहरूको राष्ट्रिय स्तरमा कदर भएको प्रष्ट पारेको छ।
​सम्मान प्राप्त भएपश्चात गाउँपालिका परिवारले यस सफलतालाई सम्पूर्ण देवानगञ्जवासीको साझा उपलब्धिको रूपमा लिँदै खुसी व्यक्त गरेको छ। यस ऐतिहासिक अवसरमा सम्पूर्ण देवानगञ्जवासी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, गाउँपालिकाका जनप्रतिनिधिहरू, कर्मचारीहरू र यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूमा हार्दिक बधाई एवं आभार व्यक्त गरिएको छ।
​यस सम्मानले आगामी दिनमा पालिकामा थप ऊर्जावान् भएर पर्यावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न ठूलो प्रेरणा मिलको गाउँपालिकाले विश्वास व्यक्त गरेको छ।