१५ मंसिर २०८१, शनिबार १०:२९ – Nagarikabhiyan : National News

एनपीएल आजदेखि सुरु हुदै, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स भिड्ने

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता शनिबार शुरु हुँदैछ।

उद्घाटन खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले विराटनगर किङ्सको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः १५ बजे शुरु हुनेछ।

जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन्। त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्त्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन्। उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन्।

जनकपुरले एनपीएलको उपाधि जित्ने लक्ष्यका साथ न्युजिल्याण्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याएको छ। जसमा न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन्।

जनकपुर टोलीको मुख्य प्रशिक्षकमा भने राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन्। दासानायकेले शुरुआतमा सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए। त्यस दौरान उहाँकै प्रशिक्षणमा नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा तय गरेको थियो। त्यस्तै नेपालले विभिन्न समयमा क्रिकेटको छनोट चरण पार गर्दै सन् २०१४ मा बंगलोदशमा भएको विश्वकपमा सहभागिता जनाएको थियो। उनकै प्रशिक्षणमा उपाधि जित्नेमा जनकपुर बोटल्स विश्वस्त छ।

जनकपुरका कप्तान अनिल शाहले आफनो टोलीको तयारीसँगै अभ्यास खेल पनि खेलेको र टोली सन्तुलित रहेको भन्दै टिम जित्नकै लागि मैदानमा उत्रिने बताए।

विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन्। विश्वभरका फ्रेन्चाइज लिगकोे अनुभव बटुलेका कप्तान लामिछानेले विभिन्न देशमा फ्रेन्चाइज खेल्दा आफ्नो देशमा पनि विश्वका स्टारसहित राम्रो फ्रेन्चाइज लिग होस् भन्ने चाहना पूरा हुन लाग्दा खुशी लागेको बताउँदै जनकपुरविरुद्धको पहिलो खेलबाटै जित निकाल्ने गरी मैदानमा उत्रिने बताए।

विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन्। विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन्। टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन्। उक्त खेलको प्रत्यक्ष प्रशारण विश्वका ठूला प्रतियोगिता र लिग प्रसारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ।

स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले एनपीएलले बजारमा निकै चर्चा पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ।

भारतको महाराष्ट्रमा बस दुर्घटना, १२ जनाको मृत्यु

भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। साथै कम्तीमा २० जना घाइते भएका छन्।

राज्य सरकारद्वारा सञ्चालित बस गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको हो। बसमा करिब ३५ यात्रु सवार रहेको स्थानीय प्रहरील जानकारी दिएका छन्।

घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको सञ्चारमाध्यमले जनाएका छन्।

गाजामा विनाशको स्तर बढ्दै गइरहेको छ : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले गाजामा युद्धसँगै सार्वजनिक अराजकता बढेको भन्दै चिन्ता व्यक्त गरेको छ। राष्ट्रसंघले गाजापट्टीमा अराजकता छाएको, खाद्यान्न अभाव बढ्दै गएको, व्यापक लुटपाट भइरहेको, आश्रयस्थलमा बलात्कारका घटना बढिरहेको बताएको हो।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालय प्रमुख अजित सुङ्घेले विनाशकारी प्यालेष्टाइन क्षेत्रको आफ्नो पछिल्लो भ्रमणको समापन गरेपछि शुक्रबार प्यालेष्टिनीहरूले ‘वास्तवमा बुझ्नुपर्ने मात्रामा’ कष्ट भोगिरहेको बताए।

‘भोकमरीको व्यापकता देखेर म विशेष गरी चिन्तित भएँ’, सुङ्घेले अम्मानबाट भिडियो-लिङ्कमार्फत जेनेभामा मिडिया ब्रिफिङमा भने, ‘सार्वजनिक व्यवस्था र सुरक्षाको विच्छेदले सीमित स्रोतहरूका लागि लुटपाट र संघर्षको परिस्थिति झनै विकराल बनाएको छ।’

धेरै पटक विस्थापित भएका महिलाहरूले आफ्नो अस्थायी टेन्टहरूमा कुनै सुरक्षित ठाउँ वा गोपनीयताको कमी रहेको कुरामा जोड दिएको सुङ्घेले बताए।

‘अन्यले लैङ्गिक हिंसा र बलात्कार, बालबालिकाको दुर्व्यवहार र समुदायभित्रका अन्य हिंसाका घटनाहरू युद्ध र कानून प्रवर्तन र सार्वजनिक व्यवस्थाको विच्छेदको परिणाम स्वरूप आश्रयस्थलमा बढेका छन् भनेका छन्’, उनले भने।

सुङ्घेले गाजा सहरको अवस्थालाई ‘भयानक’ भनेर वर्णन गरेका छन्। उनका अनुसार त्यहाँ हजारौँ विस्थापितले ‘गम्भीर खाद्यान्न अभाव र भयानक सरसफाइ अवस्थाका साथ अमानवीय अवस्थामा’ आश्रय लिएका छन्। उनले पहिलोपटक दर्जनौँ महिला र बालबालिकालाई घेराबन्दी गरिएको क्षेत्रमा विशाल ल्याण्डफिलमा खाना खोज्दै देखेको बताए।

गाजामा विनाशको स्तर बढ्दै गइरहेको उनले बताए। ‘मैले भेटेका सबैको साझा अनुरोध थियो कि यसलाई रोक्नुहोस् । यसलाई अन्त्य गर्नुहोस् । पुग्यो !’, उनले भने।

आजदेखि जापानमा दुईदिने ‘नेपाल फेस्टिभल’

काठमाडौं  ।  ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्धन’ नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ शुरु भएको छ ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा आइतबारसम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने महोत्सवबाट नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीको अपनत्वको अनुभूति गराउन सहयोग पुग्ने बताइएको छ।

जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसाँस्कृतिक केन्द्रको निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिभलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ। फेस्टिभलमा विभिन्न वेशभूषा, मौलिक कला संस्कृति, र प्रतिभा देखाउने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिभल मूल आयोजक समितिका संयोजक नवीन निउरेले जानकारी दिए।

धार्मिक र सामाजिक सद्भावसहितको नेपाल हाउस निर्माण गराउने मुख्य योजनासहित यो वर्षको ‘नेपाल फेस्टिभल’ गरिन लागेको एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले बताए । महोत्सवमा नेपाली खानाको र अन्य व्यापारिक प्रयोजनका गरी ४० वटा स्टल राखिएका छन्।

एनआरएन जापानले सन् २०१२ देखि जापानमा महोत्सव गर्दै आएको छ ।

 

अलेप्पोका कयौँ इलाका सिरियाली विद्रोहीको नियन्त्रणमा

सिरियाको विद्रोही समूहले देशको दोस्रो ठूलो शहर अलेप्पोका कयौँ इलाका नियन्त्रणमा लिएको छ।

बेलायतमा कार्यालय रहेको मानवअधिकार निगरानी संस्था सीरियन अब्जरभेटरी फर ह्युमन राइट्सले विद्रोही जिहादी समूहले अलेप्पो सहरको आधाभन्दा बढी क्षेत्र कब्जा गरेको जनाएको छ।

यो राष्ट्रपति बशर अल असादको सरकारविरुद्धको सबैभन्दा ठूलो आक्रमण हो। सन् २०१६ पछि विद्रोही समूहले पहिलोपटक अलेप्पो शहरमा यति ठूलो कब्जा जमाएको समाचारहरुमा जनाइएको छ । विद्रोही समूह हयात तहरीर अल–शामले आफ्ना लडाकू अलेप्पोको विभिन्न भागमा परिचालन भएको तस्विर सार्वजनिक गरेको छ ।

सिरियाका सरकारी अधिकारीहरुका अनुसार विद्रोही समूह सहर प्रवेश गर्दा भएका लडाइँमा कम्तीमा २५५ जनाको मृत्यु भएको छ । अलेप्पोमा सीरियाली सेनाले रुसको सहयोगमा २३ वटा हवाई आक्रमण गरेको छ भने अलेप्पोको विमानस्थल बन्द गरिएको छ । झण्डै डेढ दशकदेखि जारी सीरिया गृहयुद्धमा ५० लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

इजरायल र लेबनानबीच युद्धविराम!

इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ। मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्ताव स्वीकार गरेको हो।

सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ। यसैगरी हिजबुल्लाहले पनि लितानी नदीको दक्षिणी सीमाबाट सशस्त्र समूह फिर्ता गर्नेछ ।

इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ। महासचिव एन्टोनियो गुटेरेसले युद्धविरामको सहमति कडाइका साथ पालना गर्न दुवै पक्षलाई आग्रह गरेका छन्।

इजरायलले हिजबुल्लाहलाई लक्ष्य गरी लेबनानमा आक्रमण शुरु गरेपछि दुई देशबीच युद्ध चर्किएको थियो।

झापामा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

झापा । झापामा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

पूर्व– पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको हो।

प्रहरीका अनुसार घाइते भएका थापालाई विपरीत दिशाबाट आएको जीपले ठक्कर दिएको थियो। जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अहिलेको सरकार जनताको : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली अहिलेको सरकार जनताको सरकार भएको दाबी गरेका छन्।

सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै एमाले अध्यक्षसमेत रहेका ओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको बताएका हुन्।

‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ। अब कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दुःखको कुरा हो। तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन। मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन। मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन। त्यसका निम्ति राज्य छ र सरकार छ।’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ, ‘अहिलेको सरकार जनताको सरकार हो। सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिंडेको सरकार हो।’

उनले सरकार सुशासन र विकासको अभियानमा लम्किरहेको बताए। ‘सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार हो। देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको सरकार हो। सरकारले कसैलाई पनि एक्लो र असहाय हुन दिँदैन। यस दिनको अवसरमा कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्दछु।’

उनले  सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको दाबी गरे। ‘हामीले विधिवत् रुपमा सामाजिक सुरक्षा अभियानलाई भिन्नै र उन्नतस्तरबाट सुरु गरेका थियौं। सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास हो।’ शुभकामना सन्देशमा भनिएको छ, ‘त्यसैले यसभित्र हाम्रा अभिभाराहरु हामीले उपयुक्त ढंगले बुझ्न जरुरी छ। सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितताको हो। मानव जाति सचेत प्राणी भएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रह्यो। तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन। यसका लामा इतिहास छन्। पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार लिन थाल्यो।’

एमालेले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य सञ्चालन र समाज सञ्चालनको एउटा अभिन्न अंगका रुपमा बुझेर व्यवहार गरिरहेको बताए। अहिले लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप लिन थालेको ओलीको भनाइ छ।

विसं २०५१ सालमा नेकपा एमालेको सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिकहरु, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लियो र लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप लिन थाल्यो। त्यसले सामाजिक सुरक्षाको बहसलाई अगाडि बढायो। आज आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य सञ्चालन र समाज सञ्चालनको एउटा अभिन्न अंगका रुपमा बुझिरहेका छौं र तद्अनुसारको व्यवहार गरिरहेका छौं।’ उनले भने, ‘हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर हामीले योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको पनि सुरुवात गरेका छौं। हामीले यस चेतनाको स्तरोन्नतिलाई नयाँ युगको प्रारम्भ पनि भन्यौं। जहाँ कोही पनि व्यक्ति, समाजको कोही पनि सदस्य त्यही उन्नत, विकसित र आधुनिक मानव समाजमा सुरक्षा नपाई असुरक्षित र त्रसित भएर जीवनयापन गर्नु नपरोस्, कसैले पीडा भोग्न र जीवन गुमाउन नपरोस्। तसर्थः हामीले सामाजिक सुरक्षाको सुनिश्चिताको व्यवस्थाका प्रयासहरुलाई अगाडि बढायौं र हामीले यस सम्बन्धमा थुप्रै प्रयासहरु अगाडि बढाइरहेका छौं।’

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षासम्बन्धी हाम्रो अवधारणालाई व्यापक बनाउँदै लगेको दाबी गरे।

 

मकालु हस्पिटलमा AIIMS हस्पिटल भारतका फिजिसियन डाक्टरको सेवा सुरु

विराटनगर ।  बिराटनगर अवस्थित मकालु एभरेष्ट हस्पिटलमा भारत बाट आएका फिजिसियन डाक्टरको सेवा अब उपलब्ध हुने भएको छ।
AIIMS (भारत ) बाट INTERNAL MEDICINE मा MD गर्नुभएका वरिष्ठ फिजिसियन डाक्टर बिमलेश यादवको दिनभर OPD सेवा उपलब्ध हुने भएको हो।

वरिष्ठ फिजिसियन डाक्टर यादवको विशेषत : OPD , IPD , ICU , लगयात मुटु, फोक्सो , मृगौला, कलेजो, स्नायु ,बाथ ,सुगर/ मधुमेह , थाइराइड , रक्तचाप, संक्रामक रोग लगायत का उपचारका साथ् २४ सै घण्टा अब सेवा उपलब्ध रहने प्रमुख कार्यकारी अधिकृत सन्तोष मेहताले जानकारी दिए।

वरिष्ठ फिजिसियन डाक्टर यादव बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा MBBS तथा AIIMS (भारत ) बाट पुर्ण छात्रवृत्तिमा INTERNAL MEDICINE मा MD गरी हाल मकालु एभरेष्ट हस्पिटलमा आफ्नो सेवा विस्तार गर्ने डाक्टर यादवले बताए।