१६ फाल्गुन २०७७, आईतवार १९:१८ – Nagarikabhiyan : National News

गृहजिल्लाबाट प्रधानमन्त्री ओलीले दिए यस्ताे चुनौती, प्रचण्ड समुहमा उथलपुथल !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड(नेपाल समूहलाई अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिएका छन् ।

आइतबार झापा (प्रधानमन्त्री ओलीको गृहजिल्ला) मा औद्योगिक पार्कको शिलान्यास गर्दै प्रम ओलीले अविश्वास प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड(नेपाल समूहलाई यस्तो चुनौती दिएका हुन् ।

कार्यक्रममा बोल्दै उनले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताएका छन्। यसबाहेक उनले साथै नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताए ।

नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्लेख गर्दै प्रम ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

घुस लिएको अभियोगमा वाणिज्य विभागका तीन कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाणपत्र लिनका लागि लेखपढी काम गर्ने रामबाबु दाहाललाई भेट्नु भन्दै रु आठ हजार घुस दिन लगाएको पाइएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले अर्जुन सुवेदी, नरेन्द्रबहादुर चन्द र रामबाबु दाहालविरुद्ध नै समान बिगो कायम गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले सप्तरी, कञ्चनरुप नगरपालिका–४ नापी कार्यालयका निमित्त कार्यालय प्रमुख हरिचन्दर ठाकुर र लेखनदास अरुणकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको जग्गा कित्ताकाट गर्ने कामका लागि रु १५ हजार घुस लिएको आरोप लागेको छ ।

महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

काठमाडौँ  । पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा बन्द गरिएको थियो ।

पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकामात्र खुला गरी दुई वटा लाइनबाट भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन गराउने व्यवस्था मिलाइएको छ । महाशिवरात्रिदेखि पशुपतिका चारै ढोका खोल्ने व्यवस्था गरिने भएको छ ।

गत वर्ष चैत ११ गते अघिसम्म मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला गरिन्थ्यो । दिउँसो पशुपतिनाथलाई भोग लगाएपछि भने बेलुकी ५ बजेसम्म मूल मन्दिर बन्द गर्ने परम्परा छ । महाशिवरात्रिदेखि यही परम्परा अनुसार गर्ने गरी तयारी शुरु भएको कोषले जनाएको छ ।

कोरोना महामारी जारी नै रहे पनि यस वर्ष पशुपतिनाथ मन्दिरमा आउनेजति भक्तजनलाई दर्शन गराउने गरी पशुपति क्षेत्र विकास कोषले तयारी शुरु गरेको छ । तयारीका लागि आज कोषका महाशाखा एवम् शाखा प्रमुखबीच छलफल गरिएको निर्देशक भोलाप्रसाद सिटौलाले राससलाई जानकारी दिनुभयो । गत बुधबार पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनिको पीठिकामा सुनको जलहरी राखिएकाले पनि यस वर्ष महाशिवरात्रिमा धेरै भक्तजन आउने अनुमान कोषले गरेको छ ।

महाशिवरात्रिको तयारीका लागि सुरक्षा निकायसँग कोषले छलफल गरिरहेको जनाएको छ । यस वर्ष कोरोनाको जोखिम कायमै रहेकाले महाशिवरात्रिमा पशुपति क्षेत्र आउने भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ । भौतिक दूरी कायम गराउन असहज हुने देखिएपनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले भक्तजनसँग आह्वान गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । महाशिवरात्रिका दिन भक्तजनलाई विगत वर्षहरूमा जस्तै चार स्थानबाट लाइन लगाएर सहज रुपमा दर्शनको व्यवस्था गराइने छ । मूल मन्दिरभित्र भने भौतिक दूरी कायम गराइने उहाँले बताउनुभयो ।

विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा पशुपति क्षेत्रका विभिन्न स्थानमा स्वास्थ्य शिविर स्थापनाको तयारी भएको छ । गुठी संस्थानसँगको सहकार्यमा महाशिवरात्रिमा पुशपति आउने साधुसन्तलाई खाने, बस्ने, धुनी जगाउनेलगायत व्यवस्थापन पनि गरिँदैछ । दर्शनार्थीलाई सहज रुपमा चन्दन बाँड्ने व्यवस्था गरिनेछ ।

महाशिवरात्रिदेखि रसिद काटेर गरिने विशेष पूजा पनि शुरु गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । कोरोना महामारीका कारण विशेष पूजा गत वर्ष चैतदेखि नै बन्द भएको थियो । कोषको नेतृत्वमा तामझाम नगरी आएका भक्तजनलाई स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराउने तयारी गरिएको पनि उहाँले बताउनुभयो ।रासस

प्रचण्ड र नेपालबीच साढे तीन घण्टा बैठक : ‘ओली तह लगाउने’ रणनीति बनाउँदै !

काठमाडौं । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच आइतबार चार घण्टा बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडामा साढे ३ बजेदेखि बसेको बैठक साढे ७ बजेसम्म चलेको थियो ।

प्रतिनिधिसभा पुनःस्थापनापछि विकसित राजनीतिक परिस्थितिका बारेमा दुई अध्यक्षबीच बसेर छलफल भइरहेको छ । करिब एक घण्टा बैठकमा बसेर प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकबाट बाहिरिएका थिए ।

सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव र सत्ता साझेदारीबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सित प्रचण्ड–नेपाल पक्षले छलफल गरिसकेका छन् ।

सो छलफलबाट पूर्ण आशावादी नभएका प्रचण्ड–नेपाल प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरिसकेको छ । तर, प्रधानमन्त्रीले राजीनामा नदिने र संसद फेस गर्ने बताएपछि प्रचण्ड–नेपाल अर्को रणनीति बनाउनमा व्यस्त छन् ।

‘प्रधानमन्त्री ओलीलाई कसरी तह लगाउने भनेर रणनीति त बनाउनै पर्यो नि’ प्रचण्ड–नेपाल पक्षका एक नेताले भने, ‘अध्यक्षद्वयको बैठक त्यसमै केन्द्रीत हो भनेर बुझ्नुस न ।’

प्रधानमन्त्री ओलीविरुद्ध यसअघि दर्ता गरेको अविश्वासको प्रस्तावमा जनमत बनाएर अघि बढ्ने वा अरु दलको पनि सहमतिमा नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्ने विषयमा पनि दुई अध्यक्षबीच छलफल भइरहेको छ ।

नेपाली कांग्रेसले नेकपाको आन्तरिक विवाद नमिलेसम्म सरकारमा नजाने स्पष्ट अडान लिएपछि प्रचण्ड–नेपाल पक्ष नयाँ रणनीतिमा लागेका छन् । त्यस्तै, जसपाको पनि दुई धार देखिएपछि अविश्वासको प्रस्ताव सहज रुपमा अघि बढाउन सक्ने अवस्थामा नदेखेका प्रचण्ड–नेपाल पक्षले अबको नयाँ रणनीति बनाउन आवश्यक देखेको एक नेताले बताए ।

संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले दुई दिनअघि मात्र प्रचण्ड–नेपाल पक्षका देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएपछि थप विवाद उत्पन्न भएको छ ।नागरिक खबरबाट

संसदीय दलमा बहुमत देखाउन ओलीलाई भीम रावलको चुनौति

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन् । उनले सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दाबी गरे ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको पनि बताए ।

उनले आफूहरको मुख्य लडाई भनेको लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि भएको प्रतिक्रिया दिए । उनले भने,‘लोकतान्त्रिक मान्यताको रक्षा हुने कि नहुने भन्ने नै हाम्रो मुख्य प्रश्न हो । देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यत्ति अनैतिक बन्न मिल्छ ? उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो ।’

रावलले केपी ओलीको त गणपुरक संख्या नै नपुग्ने जिकिर गरे । उनले भने,‘बहुमतले गरेको निर्णयमात्रै आधिकारिक हुन्छ । केन्द्रीय कमिटीले निर्देशन दिएअनुसार हुन्छ । पार्टीको विधान र संसदीय दलको विधानबाहेक उहाँहरुको कुरा स्थापित हुँदैन् ।’

ओलीले जनताले सरकार चलाउन दिएको पाँच वर्षको जनमतलाई अपमान गरेको रावलको भनाई छ । उनले अहिले ओलीले नेतृत्व गरेको पार्टी नै नभएको भन्दै गुटको संज्ञा दिए ।

प्रधानमन्त्री ओलीलाई यसअघि नै कारबाही गरिसकेको सुनाउँदै अब एकता नहुने रावलको भनाई छ । त्यस्तै, आफ्नो पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले पनि प्रधानमन्त्री हुन्छौं भनेर नभनेको सुनाउँदै रावलले भने,‘प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री हुन्छौं भनेर दाबी गर्नुभएको छैन् । सहमतिबाट जो पनि बन्ने भयो । संविधानको मर्यादा, लोकन्त्रको रक्षा, राष्ट्रिय हितको रक्षा, नेपाली जनताको भावना परिपूर्ति गर्नुपर्छ ।’

उनले ओली पक्षसँग संसदीय दलमा बहुमत भए त्यो देखाउन ओलीलाई चुनौति पनि दिए । उनले भने,‘ल लाईन लगाएर देखाउनुहोस् । को–को रैछन् ? हामीसँग स्पष्ट बहुमत भएको कारणले प्रतिनिधिसभा विघटन गर्नुभयो । अविश्वासको प्रस्ताव ल्याएर हटाउन लागेको भनेर प्रतिनिधिसभा विघटन गरेको कुरा उहाँले गर्नुभएको होईन र ?’

ओली समुहमा फेरी ठूलो झट्का,ओली क्याम्पका शिर्ष नेताहरु प्रचण्ड क्याम्पतिर फर्किदै

काठमाण्डाै । दुई चिरा भएको नेकपालाई औपचारिक रूपमा फुटाउने वा एकै ठाउँ ल्याउनेबारे मन्त्रीहरू विभाजित देखिएका छन् । केही मन्त्रीले पार्टी फुटाउन र केहीले पुनर्मिलनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिन थालेका छन् ।

अस्ति शुक्रबारकाे मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूसित प्रधानमन्त्री ओलीले पार्टीबारे राय मागेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद् पुर्स्थापना र विभाजित पार्टीबारे बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरूसँग सुझाव मागेकाे पुष्टि गरे ।

स्राेतका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह र खानेपानीमन्त्री माणि थापाले एमाले ब्युँताउन ओलीलाई सुझाए । ‘प्रचण्ड र माधव नेपालजीहरू एकताकाे घेराभन्दा धेरै पर पुगिसकेकाले अब उहाँहरूसँग मिल्नुभन्दा अर्को पार्टी खोलेर अघि बढ्नुपर्छ भन्नेमा केही साथीबीच एकमत देखियाे’, छलफलमा सहभागी एक मन्त्रीले भने ।

तर, पार्टी महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भाैतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, सञ्चारमन्त्री पार्वत गुरुङ र कृषिमन्त्री पद्मा अर्यालले भने पुनर्मिलनका लागि छलफल अघि बढाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

पार्टी फुटाउने पक्षमा देखिएका मन्त्रीहरूले भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई तत्काल निर्णय लिन दबाब दिइरहेका स्राेतकाे दाबी छ । ‘मन्त्रिपरिषद् बैठकमा मात्र हाेइन, ओलीलाई व्यक्तिगत रूपमा भेटेरसमेत पूर्वमाओवादीका मन्त्रीहरू रायमाझी, थापा र साहले पार्टी फुटाउन आग्रह गरिरहेका छन्’, स्राेत भन्छ, ‘ईश्वर पोखरेललगायत पूर्वएमालेका केही मन्त्री त पहिल्यैदेखि प्रचण्ड-माधव समूहसँग मिल्न नहुने पक्षमै थिए ।’

सर्वाेच्चकाे फैसलासँगै संसद् पुनर्स्थापना भएपछि तत्कालै राजीनामा दिने वा नदिने विषयमा समेत प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग राय मागेका थिए । बैठकमा सहभागी एक मन्त्रीका अनुसार रायमाझीले तत्काल राजीनामा नदिन सुझाव दिए । ती मन्त्रीका अनुसार राय दिँदै रायमाझीले भनेका थिए, ‘पहिला संसद् खुलाउनुपर्छ । केही महत्त्वपूर्ण विषयमा छलफल पनि गराैँ । उनीहरू (प्रचण्ड-माधव) ले अविश्वासको प्रस्ताव ल्याउने भए भने अर्को पार्टी खोलाैँ ।’

रायमाझीले प्रचण्ड-नेपालसँग एकता गर्नुभन्दा एमाले ब्युँताएर अघि बढनुपर्नेमा जाेड दिएका थिए ।

काठमाडौंमा अस्ति शुक्रबार नै अनेरास्ववियुको कार्यकर्ता भेलामा ऊर्जामन्त्री रायमाझीले संसद् पुनर्स्थापना भए पनि प्रधानमन्त्री ओली कमजोर नभएको दाबी गरेका थिए । त्याे कार्यक्रममा उनले भनेका थिए, अर्काे कुनै पार्टीसँग मिलेर ओलीकै नेतृत्वमा नयाँ सरकार बन्न सक्छ ।

त्यसै दिनकाे मन्त्रिपरिषद् बैठकमा रायमाझीसँगै मन्त्रीद्वय मणि थापा र प्रभु साहले पनि अब अर्को पार्टी खोल्नुको विकल्प नरहेकाे बताए । थापाले प्रचण्ड-माधवसँग पुनर्मिलन गरिए अपमानित भइने बताए ।

उपप्रधानमन्त्री पोखरेलले पनि एमाले ब्युँताउन सुझाए । तर, गृहमन्त्री रामबहादुर थापा भने यसबारे माैन बसेका थिए । उनले सुरक्षा निकायबारे कुरा गरेका थिए । स्राेतका अनुसार प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपट सुरु भएकाे छ ।

पार्टी फुटाउन सल्लाह दिएका मन्त्री रायमाझी र थापालाई प्रधानमन्त्री ओलीले ‘तपाईंहरूसँग कति जना सांसद छन्’ भनेर प्रश्न गरेका थिए । रायमाझी, साह र थापाले तत्काल यति नै छन् भन्न सक्ने अवस्था नरहेकाे जवाफ दिए । तर, पार्टी फुटाए प्रचण्ड–नेपाल समूहबाट विद्रोह गरी केही सांसद आउने दाबी उनीहरूकाे थियाे ।

मन्त्रीहरू विष्णु पाैडेल, पद्मा अर्याल, पार्वत गुरुङ, वसन्त नेम्बाङ र प्रदीप ज्ञवालीले भने तत्काल कुनै अलाेकप्रिय निर्णय नगर्न ओलीलाई सुझाएका थिए । विगतमा भएको विवाद, राजनीतिक गल्ती र समस्याका मुख्य विषयलाई समाएर प्रचण्ड–नेपाल समूहसँग छलफल गर्नुपर्ने उनीहरूकाे सुझाव थियाे ।

पाैडेल र पाेखरेलबीच टकराव

उपप्रधानमन्त्री ईश्वर पाेखरेल र अर्थमन्त्री विष्णु पाैडेलबीच मन्त्रिपरिषद् बैठकमा बारम्बार टकरावकाे स्थिति देखिने गरेकाे ती मन्त्री बताउँछन् । शुक्रबार पनि यस्तै भएकाे थियाे । पाेखरेल पार्टी फुटाउने पक्षमा देखिए भने पाैडेल बचाउने पक्षमा उभिए । यस क्रममा उनीहरूबीच केही भनाभनसमेत भएकाे थियाे ।

मन्त्रीहरूकाे राय सुनेपछि प्रधानमन्त्री ओलीले ढुक्कसित संसद्को सामना गर्नतिर लाग्न मन्त्रीहरूलाई आग्रह गरे । अहिलेसम्म केही नभएकाे र अबचाहिँ धेरै हुन सक्ने बताए । ‘अब हुने राजनीतिक घटनाकाे सामना गर्न तयार भएर बस्नुहोस्’ भनी उनले मन्त्रीहरूको ध्यानाकर्षण गराएका ती मन्त्रीको भनाइ छ । बैठकमा ओलीले अन्य राजनीति दलसँग छलफल गर्ने योजना पनि सुनाएका थिए ।राजनीतिबाट

बाजुराको कोल्टी ठाउँमा पहिलो पटक बस आएपछि स्थानीय खुशी हुँदै फूलमालाले स्वागत गरे

काठमाडौं ।  आज आइतवार बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीमा पहिलो पटक बस आएपछि स्थानीय खुशी हुँदै फूलमालाले स्वागत गरेका छन् । बाजुराको कोल्टी–मार्तडी सडक निमार्ण भएको झण्डै २० वर्षपछि बस पुगेको रहेछ ।  चारवटा स्थानीय तह र कर्णाली प्रदेशको हुम्ला, कालीकोट र मुगुलगायतका बासिन्दालाई सेवा दिने उद्देश्यले आइतबारबाट नियमित वस सेवा सञ्चालन भएको व्यवसायी गणेश शाहीले जनाएको छ । स्थानीय खुशी हुँदै फूलमालाले स्वागत गरेका छन् । कर्णाली प्रदेशको चंखेली गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुरादेखि कोलीकोटसम्म बस सेवा सञ्चालन हुने बताए ।

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएका छन् ।

 

 

मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकताप्राप्त समूहमा प्रवेश गर्नु विशेष उपलब्धि भएको बताए ।

उनले खोप अभियानका लागि अनुमानितभन्दा कम लागतमा सो अभियान सञ्चालन भइरहेको तथा प्रक्रियामा कुनै पनि अनियमितता र अराजकता हुन नदिइने सङ्कल्प गरे । सरकारले महामारीविरुद्ध अग्रपङ्गतिमा खटिएका स्वास्थ्यकर्मीलगायतलाई पहिलो प्राथमिकताप्राप्त समूहको पहिलो चरण गत माघ १४ देखि २४ सम्म सञ्चालन गरेको थियो । पचपन्न वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिका लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान शुरु हुनेछ । पहिलो र दोस्रो प्राथमिकताप्रप्त समूह गरी कूल जनसङ्ख्यामा २० प्रतिशतलाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।

उनले भने, “राजनीतिक र कूटनीतिक प्रयासबाट हामी चाँडै खोप ल्याउन सफल भएका छौं । यसका लागि सार्वजनिक खरीद ऐनको बाधा अड्काउ फुकाउ गराएर यसको उपलब्धता गराएका छौं । सीमित देशका सीमित कम्पनीले उत्पादन गरेकाले अझै केही खेपको खरीदमा प्रतिस्पर्धा गराउन सक्ने स्थिति छैन । यस पक्षमा सञ्चारकर्मीहरुले कुनै भ्रम र नकारात्मक टिप्पणी नगरिदिनुहोला । कानूनविपरीतका कुनै पनि काम हामी गर्ने छैनौं ।’

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोपको उपलब्धताको जिम्मा सङ्घीय सरकार तथा वितरण र व्यवस्थापनको जिम्मा स्थानीय तहको भएकाले यसमा सबै तहका सरकार र नागरिक समाजको सक्रियता आवश्यक रहेको बताए ।

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौं । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएका थिए ।

पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । विसं २०५१ असार २७ गते तत्कालीन राजाबाट सो सिफारिस सदर गरिएको थियो ।

आर्थिक वर्ष २०५१/०५२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफलपश्चात् पारित गर्न विसं २०५१ असार २६ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । सो बैठकमा नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव हुँदा पक्षमा ७४ र विपक्षमा ८६ मत परी अस्वीकृत भएको सङ्घीय संसद् सचिवालयद्वारा प्रकाशित ‘संसद् दर्पण’मा उल्लेख छ ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले पदबाट राजीनामा दिनाका साथै नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम प्रतिनिधिसभा विघटन गरी विसं २०५१ कात्तिक २७ गते आमनिर्वाचनका लागि मिति तोक्न सिफारिस भएबमोजिम प्रतिनिधिसभा विघटन भएको थियो ।

विसं २०५१ मङ्सिर १३ गते तत्कालीन नेकपा(एमाले) संसदीय दलका नेता मनमोहन अधिकारी सबैभन्दा बढी सदस्य भएको दलको नेताको हैसियतले प्रधानमन्त्रीमा नियुक्त भएका थिए। विकसित राजनीतिक घटनाक्रमसँगै विसं २०५२ जेठ २६ गते तत्कालीन प्रधानमन्त्री अधिकारीले प्रतिनिधिसभा विघटन गर्न तत्कालीन राजासमक्ष सिफारिस गरेपछि जेठ ३० गते प्रतिनिधिसभा विघटन भएको थियो । सर्वोच्च अदालतबाट विसं २०५२ भदौ १२ गते विघटनलाई बदर गरी प्रतिनिधिसभा पुनःस्थापना गरिएको थियो ।

नेपालमा तेस्रोपटक प्रतिनिधिसभाको बैठक चालू रहेको १५औँ अधिवेशनको बीचमै विसं २०५५ माघ १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम प्रतिनिधिसभा पुनःविघटन गरी विसं २०५६ वैशाख २० गते निर्वाचनको मिति तोक्ने सिफारिस गरेका थिए । सो सिफारिसअनुसार राजाबाट सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो ।

विसं २०५४ पुसमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले प्रतिनिधिसभा विघटनका लागि तत्कालीन राजा विरेन्द्रलाई सिफारिस गरेका थिए । राजाले सो सिफारिसलाई कार्यान्वयन नगरी सर्वोच्च अदालतसँग राय मागेका थिए । सर्वोच्चले विघटन नगर्ने राय दिएको थियो ।

चौथौपटक विसं २०५९ जेठ ९ गते प्रतिनिधिसभाको बैठक बस्ने गरी संसद्को २२औँ अधिवेशन आह्वान भएकामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेका थिए । निर्वाचनको लागि मिति तोक्न सिफारिस गरेबमोजिम सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो ।

विघटन भएको प्रतिनिधिसभा जनान्दोलनको बलबाट तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट विसं २०६३ वैशाख ११ गते राति ११ बजे पुनःस्थापना गरी २०६३ साल १५ गते बैठक बस्ने गरी मितिसमेत तोकिएको थियो । पाँचौँपटक विसं २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिससहित नेपालको संविधानबमोजिम र संसदीय प्रणालीको आधारभूत मर्म एवं अभ्यासबमोजिम गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरियोस् भनी सिफारिस गरेका थिए।

सो सिफारिसबमोजिम राष्ट्रपतिबाट वर्तमान प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी मिति तोकिएको थियो । सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइपछि पुनःस्थापना गर्ने फैसला गरेको थियो ।

फैसला सुनाउँदै अदालतले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेशसमेत जारी गरेको छ । अदालतको फैसलापछि सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभामा ३२ विधेयक प्रक्रियामा

नेपालको संविधान जारी भएपश्चात् विसं २०७४ को आमनिर्वाचन सम्पन्न भई विसं २०७४ फागुन २१ गतेदेखि सङ्घीय संसद्को पहिलो अधिवेशन शुरुआत भएको थियो । सो समयदेखि हालसम्म विधेयक शाखा (प्रतिनिधिसभा) मा दर्ता भएका विधेयक ८७ रहेका छन् । तीमध्ये प्रमाणीकरण भएका विधेयक जम्मा ५३ रहेका छन् भने दर्ता भएपश्चात् तीन विधेयक सरकारले फिर्ता लिएको थियो ।

हाल प्रतिनिधिसभामा प्रक्रियामा ३२ विधेयक रहेका छन् । तीमध्ये दर्ता भएर वितरण गरिएका आठ, समितिमा विचाराधीन १०, सभामा विचाराधीन १२ र राष्ट्रियसभाबाट प्राप्त सन्देश पेश हुन बाँकी दुई विधेयक रहेको सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

सङ्घीय संसद्को पहिलो अधिवेशन विसं २०७४ फागुन २१ गतेदेखि चैत २० गतेसम्म भएको थियो । संसद्को दोस्रो अधिवेशन विसं २०७५ वैशाख २३ गतेदेखि असोज ११ गतेसम्म, तेस्रो अधिवेशन विसं २०७५ पुस ११ गतेदेखि चैत १० गतेसम्म, चौथो अधिवेशन विसं २०७६ वैशाख १६ गतेदेखि असोज २ गतेसम्म भएको थियो ।

त्यस्तै संसद्को पाँचौं अधिवेशन विसं २०७६ पुस ४ गतेदेखि चैत २४ गतेसम्म र छैटौँ अधिवेशन विसं २०७७ वैशाख २६ गतेदेखि असार १८ गतेसम्म चलेको थियो । सङ्घीय संसद्मा दुवै सभातर्फ दर्ता भएका सन्धी/सम्झौताको सङ्ख्या १४ छ । उक्त छ सन्धी/सम्झौता दुवै सभाबाट अनुमोदन भएका छन् भने आठ सन्धी/सम्झौता सदस्यलाई वितरण मात्र भएका छन् । भीष्मराज ओझा/ रासस

विप्लवसँग छिट्टै वार्ता गर्छौँ : प्रधानमन्त्री ओली

काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले छिटै वार्ता गर्ने बताउनुभएको छ ।

आइतबार झापामा  नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहका कारण देशमा भइरहेको समस्या छिटै समाधान हुने र वार्ताको तयारी भइरहेको बताउनुभयो । ‘छिटै वार्ता हुँदैछ, तपाईँहरूले घरघरमा बसेर त्यो वार्ता हेर्न पाउनुहुनेछ’, ओलीले भन्नुभयो ।

उहाँले संयुक्त राष्ट्र सङ्घले आइतवार मात्रै सार्वजनिक गरेको विश्व शान्तिको सूचकमा नेपालले स्थान सुधार गरेको र दक्षिण एसियामै पहिलो देश बनेको पनि बताउनुभयो ।

देशमा विकासको अभूतपूर्व लहर चलिरहेको ओलीको भनाइ छ । उहाँले औद्योगिक पार्कले नेपालको व्यापार घाटा घटाउन सहयोग पुग्ने बताउनुभयो । नेपालले विदेशबाट किनेर मात्रै ल्याउने नभइ बेच्ने हिसाबले पनि काम गर्नुपर्ने उहाँकाे भनाइ छ ।

म्यानमारको यांगुनमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु

काठमाडौं ।  म्यानमारको यांगुनको मुख्य शहर र दावेईको दक्षिणी बस्तीमा आज आइतबार प्रहरीको  गोली लागेर २ आन्दोलनकारीको मृत्यु  भएको छ । घटनालाई प्रत्यक्ष नियालेका एक व्यक्तिले फ्रन्टियर म्यागेजिनलाई दिएको जानकारी अनुसार प्रहरीले बस स्टेशनमा लुकेका आन्दोलनकारी माथि गोली हानेको थियो । आइतबारको आन्दोलनअघि संयुक्त राष्ट्रसंघका लागि म्यानमारका दूत काउ मोई तुनले राष्ट्रघाती काम गरेको भन्दै सरकारी टेलिभिजनबाट उनको बर्खास्तीको घोषणा गरिएको थियो । तुनले फेब्रअरी १ को सैन्य कु उल्टाउनका लागि राष्ट्रसंघले आवश्यक कदम उठाउनुपर्ने तर्क गरेका थिए । म्यान्मार नाउ मिडिया ग्रुपले पोस्ट गरेको भिडियोमा एक व्यक्ति यांगुनको ह्लेदान सेन्टर नजिकैको सडकमा घाइते अवस्थामा भेटिएका छन् । दक्षिणी दावेईमा प्रहरीले गोली चलाउँदा अर्का एक आन्दोलनकारीको मृत्यु भएको र दर्जनौं घाइते भएको दावेई वाच मिडियाले जनाएको छ । https://twitter.com/i/status/1365858318837641219

मानिस बन्धक बनाई फिरौती रकम माग गर्ने पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाई परिवारसंग १० लाख फिरौति रकम माग गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-२० का २० बर्षीय रोहित मण्डल, बिराटनगर-१६ का अजय यादव र बिराटनगर-६ की २८ बर्षीया सन्ध्या शर्मा रहेका छन् ।

निजहरुले शनिवार दिउँसो देखि कामतलाई बन्धक बनाएको र फिरौति बापत परिवारसंग १० लाख रकम माग गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सूचना पाएको २ घण्टा भित्रै कामतलाई बिराटनगर-६ बाट सकुशल उद्धार गरेको हो ।

मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रधानमन्त्री ओलीले ३ करोड नेपालीको भाग्य र भविष्य माथि खेलबाड गरे – योगेश भट्टराई

काठमाडौं ।   आज आइतबार जनकपुरमा प्रेस संगठन प्रदेश २ को भेला बीच नेकपा (प्रचण्ड–नेपाल) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले सम्बोधन गर्दै भने, “केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिएर टसल गर्न आए उनका लागि वियोगान्त हुने”  बताए ।  राजीनामा नदिए प्रतिनिधि सभाले विकल्प खोज्ने उनको भनाइ रहेको छ ।

 

भट्टराईले भने, तीन करोड नेपालीको भाग्य र भविष्यमाथि खेलबाड गर्ने प्रधानमन्त्रीलाई कारवाही नगरेर प्रतिनिधि सभाले आफ्नो मृत्यु पत्रमा सही गर्ने छैन । आफ्नो मलामी आफैँ जाने घातक निर्णय गर्ने छैन । सर्वोच्च अदालतले फैसला गरिसक्दा पनि प्रधानमन्त्री पदमा बसिराख्नु अनैतिक भन्दै  पद त्याग गर्नु आजका लागि उत्तम विकल्प र ओलीमाथि कारवाहीको  दाबी  गर्ने बताए ।

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौंः निगम

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

 

 

निगमले आज विज्ञप्तिमार्फत जहाज निर्माता कम्पनी फ्रान्सको एयरबससँग सुरक्षा परीक्षण भई उडान अनुमतिका आधारमा जहाज उडाइएको जनाएको छ ।

सन् २०२१  जनवरी ८ मा कतार, दोहाबाट काठमाडौं आएको आरए २४० नंको उडान काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा ‘हार्ड ल्याण्डिङ’ भएको विषय नियमित ‘फ्लाइट डेटा’ विश्लेषण कार्यक्रममार्फत यही फेब्रुअरी ९ मा पत्ता लगाइएको निगमले जनाएको छ ।

उडानमा संलग्न पाइलटले भर्नुपर्ने ‘म्याण्डेटोरी अकुरेन्सी रिपोर्ट’ (एमओआर) मार्फत जानकारी गराउनुपर्नेमा नगराइएको पाइएपछि सम्बन्धित पाइलटलाई तत्काल जानकारी माग गरी निजलाई यही फागुन १२ देखि उडान बन्देज लगाइएको निगमले जनाएको छ । सो घटनाका कारण जहाज उडान गर्न मिल्ने नमिल्ने यकिन गर्न जहाज निर्माता कम्पनी एयरबससँग पत्राचार गरी राय माग गर्दा १०० उडान चक्र अवतरण तथा २ महिनासम्म उडान गर्न समस्या नहुने तर सो अवधिमा निश्चित जाँच गर्नुपर्ने भन्ने जानकारी प्राप्त भएको र सोहीअनुरुप जहाज नियमित उडानमा रहेको निगमले उल्लेख गरेको छ ।

अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणालीबमोजिम आन्तरिक सुरक्षा जाँचबुझ गर्न वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईका संयोजकत्वमा क्याप्टेन विजय लामा, मनिषकुमार साह तथा डम्बर रावतसमेतको छानविन समिति फागुन ११ मै गठन भई कार्यारम्भ भइसकेको निगमले जनाएको छ ।

हवाई सुरक्षालाई दृष्टिगत गरी  छानबिन समितिको प्रतिवेदनका आधारमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डअनुरुप थप कारवाही अगाडि बढाइने निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् । उनले भनिन्,“आरए.२४० हार्ड ल्याण्डिङ सम्बन्धमा सम्बन्धित विभागले गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ भने निगमको छानविन समितिले यसको प्राविधिक पक्ष र औचित्वका बारेमा गहन अध्ययन गरी निष्कर्षमा पुग्ने र आगामी निर्णयका लागि मार्गप्रशस्त हुनेछ ।”  निगमको अन्तर्राष्ट्रिय उडानका लागि २ थान वाइड बडी ए ३३० र २ थान न्यारो बडी ए ३२० जहाज छन् । भारतका ३ सहित ७ देशका ७ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु

काठमाडौं । मध्य शहरको असनमा अवस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्निर्माणको काम प्रारम्भ भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज संयुक्तरूपमा भूमिपूजा गरेर पुनर्निर्माण एवं पुनःस्थापनाको शुभारम्भ गरेका छन् ।

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको पाँच अर्ब ८० करोड आर्थिक सहयोगअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो । सन् २०१७ मा ती सम्पदाको पुनर्निर्माण गर्न नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरूप पुनःस्थापना गरिने छ ।

कार्यक्रममा दिइएको जानकारीअनुसार सबै सम्पदाको पुनर्निर्माण गर्ने क्रममा तिनको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामग्री प्रयोग गरिने छ, भने मन्दिरको साजसज्जा तथा काष्ठकलासम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान दिइनेछ ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त उक्त मन्दिर १० औँ शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । सेतो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्घ धर्मावलम्बीले समान आस्थाका साथ पूजार्चना गर्दै आएका छन् ।

कार्यक्रममा काठमाडौं महानगपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक श्यामकिशोर सिंह, हनुमानढोका सङ्ग्रहालयका प्रमुख सन्दीप खनाल, सेतो मच्छिन्द्रनाथ मन्दिरको उपभोक्ता समितिका सदस्य एवं स्थानीय बासिन्दाको सहभागिता थियो ।

बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौ घाइते

एजेन्सी । बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई रबरको गोली, अश्रुग्यास लगायत प्रहार गरेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु भएपछि बङ्लादेशमा अधिकारवादी तथा विपक्षीहरु आन्दोलित भएका छन् । स्थानीय टेलिभिजनहरुले प्रदर्शन र झडपको प्रत्यक्ष प्रसारण गरेका थिए । झडपपछि आन्दोलनकारीहरु थप आक्रोसित भएको र घटनाको धेरैले विरोध गरेको देखाइएको छ ।

प्रहरीले भने प्रदर्शन निषेध गरिएको ठाउँमा प्रदर्शन गरिएकाले रोक्न खोज्दा झडप भएको बताएको छ । “उनीहरुलाई त्यहाँ प्रदर्शनका लागि अनुमति थिएन, अनुमति नहुँदा नहुँदै पनि प्रदर्शन गरेर नियमको उल्लङ्घन गरेकाले हामीले उनीहरुलाई रोकेका हौँ,” एक प्रहरी अधिकारीले भने ।

विपक्षी दल बिएनपीका प्रवक्ता रिज्भी अहमदले आफ्नो पार्टीका मात्रै ३० जना घाइते भएको जानकारी दिनुभयो । घाइते हुनेमा बरिष्ठ नेताहरु समेत रहेको उहाँले बताउनुभयो । प्रदर्शनमा ५०० भन्दा बढी सहभागी भएको अहमदले दावी गर्नुभयो । प्रदर्शनकारीहरुले प्रेस क्लबमा मानवसाङ्लो बनाएका थिए ।

प्रदर्शन ऐतिहासिक भएको दावी गर्दै प्रवक्ता अहमदले प्रदर्शनकारीमाथि भएको हस्तक्षेपले घटनामा सरकारी पक्ष नै संलग्न भएको हो की भन्ने आशंका उब्जाएको टिप्पणी गर्नुभयो ।