१६ फाल्गुन २०७७, आईतवार १५:०९ – Page 2 – Nagarikabhiyan : National News

दुनियाँका कुनै पनि शक्तिले अब थारुलाई गुलाम बनाउन सक्दैन: वरिष्ठ नेता महतो

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुनियाँका कुनै पनि शक्तिले अब थारुलाई गुलाम बनाउन नसक्ने बताएका छन् । थरुहट थारुवान राष्ट्रिय मोर्चाको दुई दिने राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अत्याचार भएका कारण थारु समुदाय आगो नभइ ज्वाला बनिसकेको उल्लेख गर्दै त्यही ज्वालाले टीकापुर विद्रोह निम्त्याएको बताए ।

अधिकारका लागि यो देशमा अन्तिम लडाई लड्न बाँकी रहेको बताउँदै थारु समुदायले अधिकार माग्दा अपराधको बिल्ला भिराईन्छ भने अन्तिम विकल्प विद्रोह नै रहेको महतोको तर्क थियो ।

अधिकार र पहिचानका लागि आन्दोलन गर्ने रेशमलाल चौधरी र लक्ष्मण थारुलाई कारागार बसाउनु अन्याय हो भन्दै उनले प्रतिप्रश्न गरेका छन्, ‘अरे, थारु समुदायले पहिचान र अधिकार माग्नु अपराध हो भने १७ हजार मान्छे मारेका प्रचण्डले किन जेल बस्नु पर्दैन ? १७ हजार मान्छे मारेका प्रचण्ड प्रधानमन्त्री बन्ने, यो कस्तो व्यवस्था हो, कस्तो संविधान हो ?’

 

सम्मेलनमा लक्ष्मण थारुको अडियो सम्बोधन
सम्मेलन उद्घाटन समारोहमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अडियो रेकर्ड मार्फत सम्बोधन गरेका छन् । संयोजक थारुलाई उच्चअदालत दिपायलले आजिवन कैदको फैसला सुनाएपछि उनी अहिले भुमिगत रहेका छन् ।

उनको अडियो रेकर्ड मार्फत गरिएको सम्बोधनमा थारुहरु अब अधिकारका लागि बिद्रोहको तयारीमा रहेको उल्लेख गरेका छन् । अडियोमा उनले भनेका छन्, ‘थारुहरु अपराधी होइनन्, जति पटकभन्दा पनि यो राज्य मान्दैन, अब अधिकार प्राप्तीको लागि बिद्रोहको विकल्प छैन, यो सम्मेलन त्यसैको सुरुवात हो ।’

उनले थपेका छन्, ‘यो सम्मेलनमा भौतिकरुपमा उपस्थित हुने परिस्थिती छैन, भौतिकरुपमा उपस्थित हुन नसकेपनि सम्मेलन सफलताको कामना, सम्मेलनले महत्वपुर्ण निर्णय गर्नेछ ।’ उनले अडियो सम्बोधन मै सबैलाई टीकापुर घटनाका झुटा मुद्धा खारेज गर, राजबन्दी रिहा गर भन्दै नारा लगाउन सबैलाई आग्रह समेत गरे । उनको सम्बोधन संगै सम्मेलनमा सहभागि सबैले नारा लगाएका थिए ।

यस्तै थरुहट मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले उच्च अदालत दिपायलले नश्लीयपूर्ण, पूर्वाग्राही, गद फैसला सुनाएर जन्मकैदको फैलाला सुनाएको बताए । उनले अडियो रेकर्डमा भनेका छन्, ‘हामी थारुहरुले लेख्दा, बोल्दा, संगठित भेला हुँदा र सम्मेलन गर्दा यो देशका शासकहरुले आतंककारी, ज्यानमारा भन्छन्, हामीलाई लुटेरा डाँकाको व्यवहार गर्छन् । बोल्नबाट वञ्चित गर्छन् । तर अब कुनैपनि हालतमा रोकिँदैन । यो हाम्रो भेला संगठन, हाम्रो एकता, हाम्रो अभियान र हाम्रो आन्दोलन दासता विरुद्धको विद्रोह कसैले रोकेर पनि रोकिने छैन । प्रशासनको धाक धम्की त्रास हामीमाथिको झुठा मुद्धा, सांसद रेशम चौधरीमाथिको जन्मकैदको फैसला हामी मान्न तयार छैनौँ ।’

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितले टीकापुर घटना राजनीतिक घटना भएपनि थारुमाथि दमन गरी राज्यले निर्दोष थारुलाई पक्राउ गरी मुद्दा लगाएको टिप्पणी गरे । तत्कालिन सरकारले टीकापुर घटना राजनीतिक आन्दोलन हो भन्दै मुद्दा खारेज गर्ने निर्णय गरेपनि कार्यान्वयनमा नआएको बताए । यस्तै मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज थारुले वर्तमान संविधानले थारुमाथि विभेद कायमै राखेकाले संशोधन नगरेसम्म चुप नबस्ने बताए । उनले सदियौंदेखि राज्यबाट विभेदमा परेका थारु समुदायले अब विभेदको पर्खाल भत्काएरै छाड्ने चेतावनी दिए ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, नेपाल आदिवासी जनजातिका पूर्व महासचिव आङकाजी शेर्पा, मगरात संघर्ष समितिका संयोजक राम मगर लगायतले सम्बोधन गरेका थिएका थिए ।

समाजवादी क्रान्तिले दलितलाई शिक्षा र रोजगारीको ग्यारेन्टी गर्छ : उपेन्द्र यादव

काठमाडौँ ।  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालका दलित समुदायलाई शिक्षा र रोजगारीको ग्यारेन्टी गर्ने गरी समाजवादी क्रान्ति अघि बढेको बताएका छन् । ‘मान्छेको कुनै जात हुँदैन । तर, मनुस्मृतिमा आधारित भएर भारतखण्डमा खडा गरिएको जाति प्रथा यहाँ भित्र्याएर शोषण गर्ने षड्यन्त्र भयो,’ उनले भने, ‘यसको अन्त्यका लागि दलित समुदायले हरेक आन्दोलन र परिवर्तनका लागि योगदान पु¥याएको छ, तर समस्या अझै उस्तै छ । यसको निराकरण समाजवादी क्रान्तिबाट मात्रै सम्भव छ ।’

काठमाडौंमा समाजवादी दलित मुक्ति महासंघले गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा यादवले संविधानले दलितका केही अधिकारहरू सुनिश्चित गरे पनि कार्यान्वयन गर्ने शासकको सोचका कारण दलित मुक्ति हुन नसकेको बताए । उनले नेपाली दलित समुदायको सशक्तीकरणका लागि समाजवादी क्रान्ति अघि बढिसकेको बताए ।

‘यो समुदायले इतिहासमा धेरै पटक बलिदानी ग¥यो, तर दलितले मुक्ति पाउन सकेनन्, अब हुने समाजवादी क्रान्तिमा भएको योगदानलाई हामी खेर जान दिदैनौँ,’ यादवले भने ।

कार्यक्रममा काठमाडौं उपत्यकाका करिब ६ सयजना विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष यादवले सबैलाई खादा ओढाएर स्वागत गरेका थिए ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य गंगानारायण श्रेष्ठ र समाजवादी दलित मुक्ति महासंघका इन्चार्ज तथा केन्द्रीय सदस्य डिबी नेपालीलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।नयाँ पत्रिका

नेकपा का अध्यक्ष दाहालले बुझाए सर्वोच्च अदालतमा लिखित जवाफ

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ ।   दाहालले आफूले अदालतको अवहेलना हुने गरी कुनै कसूर नगरेको भन्दै आफूविरुद्धको मुद्दा खारेजी गर्न माग गर्नुभएको छ ।  दाहालले आफूले अदालतको अवहेलना हुने गरी कुनै कसूर नगरेको भन्दै आफूविरुद्धको मुद्दा खारेजी गर्न माग गर्नुभएको छ ।

केरुङ नाका सोमबारदेखि पुनःसञ्चालन हुँदै

काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो ।

सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो । “सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले राससलाई भन्नुभयो ।
रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निक्कै मेहनत गर्नुपरेको थियो ।

यसअघि रसुवा भन्सार कार्यालयको एकल प्रयास पहलबाट नाका खोल्न नसकिने जानकारी उसले माथिल्लो निकायलाई दिइसकेको थियो । परराष्ट्र मन्त्रालयले यहाँस्थित चिनियाँ दूतावास एवं बेइजिङ र ल्हासामा रहेका आफ्ना कूटनीतिक संयन्त्रहरूमार्फत नाका खोल्न अथक प्रयास गरेको थियो ।

केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ भने राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटामात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजी–रोटीको चिन्ता बढेको थियो ।

रसुवागढी भन्सारका कोरोना पोजिटिभ देखिएका मजदूर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोपसमेत लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पु¥याउन नसकिएको दुखेसो गर्नुहुन्छ कार्यालयका प्रमुख रामप्रसाद रेग्मी । “माघ २९ गतेदेखि बन्द नाका खुलेको छैन, त्यसअघि उताबाट आएका पाँचवटा मालवाहक गाडी पास हुन्थे, हाम्रा उत्पादनको निर्यात ठप्प भएको छ”, गत भदौदेखि १६ घण्टा काम गर्ने सहमति भए पनि त्यसो नभएको सुनाउँदै उहाँले राससलाई टेलिफोनमा भन्नुभयो । पन्ध्र श्रमिक र ३५ जना ट्रक चालकमात्र होइन भन्सार कार्यालयसँग सम्बद्ध सुरक्षा निकायसहित सबै कर्मचारी कोरोनामुक्त रहेका उहाँको कथन छ ।

उक्त नाकाबाट निकासी–पैठारी गर्ने व्यवसायीहरू केरुङमा चीनले अघोषित नाकाबन्दीको जस्तो अवस्था सृजना गरेको आरोप लगाउँदै त्यसलाई अनिश्चितकालसम्म लम्ब्याउन नहुनेमा जोड दिएका छन् । अविलम्ब नाका खुलाएर व्यापारिक एवम् अत्यावश्यकीय सामग्रीहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भने दैनिक ५–७ वटा ‘कण्टेनर’ आउन थालेका तर नेपाली सामान निकासी हुन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर क्षेत्री बताउनुहुन्छ । नेपाली उद्यमी–व्यवसायीले हस्तकलाका सामग्री निर्यात गर्न नपाएको गुनासो आफूसमक्ष गरेका जानकारी राससलाई टेलीफोनमा दिँदै उहाँले त्यसनिम्ति सरकारीस्तरबाट हरसम्भव प्रयत्न भइरहेको बताउनुभयो ।

केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडीबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गरेको थियो ।रासस

प्रधानमन्त्री ओलीद्वारा धरमपुर मंगलबारे जोड्ने पुल उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार झापामा कमल गाँउपालिका वडा नं. २ मा क्याम्पाबाट धरमपुर मंगलवारे जोड्ने कमल खोलाको पुलको उद्घाटन गर्नु भएको छ ।

भद्रपुर बिमानस्थल हुँदै उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ मा पर्ने कमल गाँउपालिका आउनु भएको हो । ओलीले निर्वाचनको समयमा आफ्ना भाषणहरुमा आफ्नो निर्वाचन क्षेत्र तथा झापामा कहि पनि बाँस तथा काठको पुल नहुने दाबी गर्नु भएको थियो ।

ओलीले कुनै भाषण नगरी पुलको रिविन काटेर उद्घाटनको घोषणा गरेर अर्को कार्यक्रममा जानु भएको छ । यहाँ पुल नभएका कारण शिवसताक्षी र कमलका बासिन्दालाई एकआपसमा जोडिन समस्या भएकोमा यो समस्या हल भएको स्थानीयले बताएकाछन् ।

आज कमल गाँउपालिका र दमक नगरपालिकामा ओलीका आधा दर्जन कार्यक्रमहरु रहेकाछन् । पुल उद्घाटन र शिलन्यासका कार्यक्रमहरु साँझसम्म रहेको प्रधानमन्त्रीको स्वकीय सचिवालयकासदस्य होमबहादुर थापाले बताउनुभयो ।

भूमिहीनलाई जग्गाधनी पूर्जा दिन प्रक्रिया सुरु

चितवन । चितवनका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । ३७ हजारभन्दा बढी भूमिहीनलाई जग्गाधनी पूर्जा दिने गरी काम अघि बढाइएको हो ।

चितवनका सातवटै पालिकाले आफ्नो क्षेत्रभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत संकलन गर्ने काम सुरु गरेका छन् । वडा तहबाटै काम सुरु भएको बताइएको छ ।
भरतपुर महानगरपालिकाले अहिले भूमिहीनको लगत लिने काम गरिरहेको छ । महानगरपालिकामा १५ हजार ७ सय भूमिहीन तथा सुकुम्बासी छन् ।

भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया सुरु भइसकेको महानगर प्रमुख रेणू दाहालले बताइन् । प्रमुख राजनीतिक दलसँग समन्वय गरेर नगरस्तरीय र वडास्तरीय सहजीकरण समिति बनाएर महानगरपालिकाले काम अघि बढाएको उनको भनाइ छ । महानगरले १५ कर्मचारी नियुक्त गरेर काम अघि बढाएको हो ।

यस्तै रत्ननगर नगरपालिकामा ६ महिनाभित्रै भूमिहीनलाई जग्गाधनी पूर्जा दिने गरी काम सुरु भएको भूमिहीन तथा सुकुम्बासी लगत संकलन समितिका संयोजक अर्जुन पङ्गेनीले बताए । उनले वडावाट प्रमाणित गराएर नापनक्सा निकाल्ने काम गरिरहेको बताए । रत्ननगरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका परिवारको संख्या दुई हजार ४५० रहेको नगरपालिकाले जनाएको छ ।

यसैगरी चितवनका माडी, कालिका र खैरहनी नगरपालिकामा पनि भूमिहीनको तथ्यांक संकलन गरी जग्गाधनी पूर्जाको प्रक्रिया अगाडि बढाइएको छ । इच्छाकामना गाउँपालिकामा पनि भूमिहीन तथा सुकुम्बासीको लगत संकलन गरी भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगमा सिफारिस गर्ने तयारीमा रहेको अध्यक्ष गीता गुरुङले जानकारी दिइन् ।रासस

एक कुखुराले आफ्नै मालिकलाई मारे

काठमाडौं ।  कुखुराको आक्रमणबाट मानिसको मृत्यु भयो घटना दक्षिण भारतको हो । खबर सुन्दा पत्याउन गाह्रै हुन्छ तर सत्य नै त्यही भएपछि नपत्याएर पनि भएन । दक्षिण भारतको तेलगंना राज्यमा यो घटना भएको हो । जहाँ आफैले पालेको कुखुराले उसको मालिकको ज्यान लिएको छ ।

दक्षिण भारतको तेलंगना राज्यको लोथुनरमा ककफाइट (भाले जुधाईं) का क्रममा यो घटना भएको बीबीसीले जनाएको छ । मालिकको हत्या नै गर्नसमेत सक्ने कुखुरा भने सामान्यचाहिँ होइन । यो फाइटर (लडाकू) कुखुरा हो । गैरकानूनी करार गरिएको ककफाइटमा संलग्न एउटा कुखुराको खुट्टामा लुकाएर राखिएको धारिलो ब्लेड (पत्ती) ले काट्दा कुखुरा मालिकको मृत्यु भएको खबरमा उल्लेख छ । कुखुराको खुट्टामा लुकाएर राखेको ब्लेडको आक्रमणबाट अर्काको कुखुरा घाइते भएर आफ्नोले खेल जितोस् भन्ने उद्देश्य राखेको भएपनि पछि उक्त भालेले मालिकलाई नै प्रहार गर्दा उनको मृत्युभएको हो । कुखुराको आक्रमणबाट सख्त घाइते भएका व्यक्तिलाई अस्पताल लैजाँदा गर्दा अत्यधिक रक्तश्रावका कारण बाटोमै मृत्यु भएको थियो । उक्त कुखुरालाई फार्ममा लैजानुअघि प्रहरी कार्यालयमा पनि लगिएको थियो । प्रतिष्पर्धाबाट भाग्न खाजेको भालेलाई जबरजस्ती जुधाउन लाग्दा रिसाएको कुखुराले आफ्नो खुट्टामा लुकाएर राखेको सात ईन्च लामो ब्लेडले प्रहार गर्दा मालिक सख्त घाइते भएको जनाइएको छ । गैरकानूनी मानिएको भाले जुधाईमा संलग्न हुने अरु १५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि हत्या, अवैध सट्टबाजी र गैरकानूनी भाले जुधाईंको आयोजना गरेको आरोप लगाइएको छ ।

 

काठमाडौंको तीनकुने जेब्रा क्रसमा क्याम्पस हिँडेका विद्यार्थीलाई कारले दिए ठक्कर

काठमाडौं । आज आइतबार बिहानै तीनकुनेमा क्याम्पस हिँडेका विद्यार्थीलाई एक कारले ठक्कर दिएपछि घाइते भएको छ ।

भिएस निकेतनमा कक्षा ११ मा पढ्ने एक विद्यार्थीलाई कारले तीनकुनेस्थित जेब्रा क्रसिङमा ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रहरीको बानेश्वर वृत्तका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले ठक्कर दिएपछि विद्यार्थीलाई उक्त कार चालकले नै ट्रमा सेन्टर पुर्‍याएको बताए। विद्यार्थी र कार चालकको नाम र नम्बर खुलेको छैन।

‘बाहिरी चोट देखिएको छैन। भित्री चोट छ कि भनेर कार चालकले नै विद्यार्थीलाई ट्रमा सेन्टर लगेका रहेछन्, थप खोजि गर्दैछौं,’ उनले भने।

लिखित जवाफ लिएर प्रचण्ड सर्वाेच्च अदालतमा उपस्थित

काठमाडौं ।  नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । उनी केहीबेरअघि सर्वोच्च अदालत पुगेका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध मुद्दा दायर भएको थियो । सो मुद्दामा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्ड लिखित जवाफसहित सर्वोच्चमा उपस्थित भएका हुन् । काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्‍याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । उनले प्रचण्डको अभिव्यक्तिले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि गम्भीर असर पार्ने जिकिर गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने अदालतको अवहेलना गर्ने गरी अभिव्यक्ति नदिएको बताएका छन् । आफू सधै स्वतन्त्र र स्वच्छ न्यायपालिकाको पक्षमा उभिएको भन्दै प्रचण्डले आफ्नो अभिव्यक्तिले अदालतको अवहेलना नहुने जवाफ दिएका छन् ।

रोनाल्डोले गोल गरेपनि बराबरी टारेन

काठमाडौं । हेल्लास भरोनाले युभेन्ट्सलाई बराबरीमा रोकेको छ । इटाली सिरी ए अन्तगर्त गए राति सम्पन्न खेलमा हेल्लास भरोनाले युभेन्ट्सलाई १–१ को बराबरीमा रोकेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको दोस्रो हाफको सुरुवातमै क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाउनुभयो । उहाँले फेडेरिको सिसाको पासलाई गोलमा परिणत गर्नुभयो । जारी सिजनमा रोनाल्डोले आफ्नो १९ औं गोल पुरा गर्नुभयो ।

एन्टोनिन बराकले डार्को लाजोभिकको क्रसलाई हेडरमार्फत् गोल गर्दै हेल्लास भरोनाका लागि बराबरी गोल फर्काउनुभयो । बराकले ७७ औं मिनेटमा गोल गर्नुभयो । युभेन्ट्स बराबरीमा रोकिएसँगै दोस्रो स्थानको एसी मिलानसँग अङ्कतालिकामा बराबरी गर्ने अबसरबाट चुक्यो । युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलानभन्दा सात अङ्कले पछाडि रहेको छ । इन्टर मिलानको ५३ अङ्क छ । एसी मिलानको ४९ अङ्क छ ।
आइतबार हुने इन्टर मिलान र जिनोआको खेलमा मिलानले जित हात पारे ऊ युभेन्ट्सभन्दा दश अङ्कको स्पष्ट अग्रता लिनेछ ।गोरखापत्र अनलाइनबाट

धनुषाको कुम्हरौरा गाउँ हाईवेको छेउमा एक युवकको शव फेला

काठमाडौ । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका ७ स्थित कुम्हरौरा गाउँ हाईवेको छेउमा आज एक जनाको शव फेला परेको छ ।

स्थानीयले आज बिहान ती मृतक लाई हेरिएको बित्तिकै तुरुन्तै प्रहरीलाई खबर गरिएको छ । घर भन्दा २० मिटर अगाडी रहेको खोलामा मृतक युवाको शव फेला परेको छ । ती मृतक लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने अन्दाजी २५ वर्षीय ललन महरा नाम गरेको व्यक्त रहेकोे इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । प्रहरीका अनुसार ति मृतक युवा अत्याधिक मदिरा सेवन गरेको र साझ बाटो नदेखिएको हुदाँ खोलामा खसेको हुनसक्ने अनुसन्धानले बताएका छन । मृतकको शव पोस्टमार्टम का लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । ती युवाको मृत्यु कसरी भएको भन्नेबारे थप रिपोर्ट आउन अझै बाकी ।

अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश भयौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले मुलुकमा अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश भएको बताएकी छन् ।

आइतवार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नागरिकहरू अनैतिक शासक र अनैतिक व्यक्तिबाट शासित हुन विवश भएको बताएकी हुन् । उनले लेखेकी छन्, ‘हामी त्यस्तो देशको नागरिक हौं। जुन देशमा अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश छौं।’ हामी त्यस्तो देशको नागरीक हौं। जुन देशमा अनैतिक शासक र ब्यक्तिबाट शासित हुन विवश छौं।

‘पिडुँला देखाएर सांसद भएको’ भन्ने रघुजी पन्तको अभिव्यक्तिप्रति कोमल वलीको आपत्ति

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले दिएको अभिव्यत्तिप्रति राष्ट्रियसभा सदस्य एवं ओली समूहकी नेतृ कोमल वलीले आपत्ति जनाएकी छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत वलीले पन्तले दिएको अभिव्यत्तिप्रति आपत्ति जनाउदै वलीले लेखेकी छन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ’ भन्ने बल्ल आएर खुलेको छ ।’

वलीले पन्तलाई प्रश्नसमेत गरेकी छन् । ‘तपाईंको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरू को कसलाई पिडुंला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ?’ सांसद वलीको प्रश्न छ, ‘के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’

अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रियो

एजेन्सी । भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्था बिग्रिएको छ ।

भारतीय सञ्चार माध्यमहरुले अभिनेता अमिताभ बच्चन बिग बीको स्वास्थ्य अवस्था खराब भएको बताएका छन ।

बच्चन स्वयंले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको सामाजिक सञ्चाल मार्फत पुष्टि गरेका छन ।

शनिबार बच्चनले ब्लगमार्फत आफ्नो स्वास्थ्य अवस्था खराब भएको र सर्जरीको तयारी भैरहेको बताएका थिए ।

उनले लेखेका छन “मेडिकल कण्डिसन……सर्जरी…….धेरै केही लेख्न सक्दिन ।”

बच्चनले आफ्नो स्वास्थ्यमा कस्तो खराबी आएको भन्ने बारे केही खुलाएका छैनन ।

एमाले ब्युँतिए ओली नै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेकपा एमाले ब्युँताउने चाहना विगतमा नै देखिएको हो । नेकपाभित्र विवाद चर्कँदै जाँदा ओली निकटस्थले नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

एमाले आयोगमा दर्ता गर्न पुगेकाहरु सांसद महेश बस्नेतसँग नजिक रहेकाहरु नै थिए । यो देखेर ओलीमाथि प्रचण्डले एमाले ब्युँताउन खोजेको आरोप लगाएका थिए ।

अहिले ऋषि कट्टेलले नेकपा नाम जुधेकोबारे निर्वाचन आयोगविरुद्ध दायर मुद्दामा फैसला आउँदैछ । २० फागुनमा यसउपर फैसला आउन लागेको छ । कट्टेलको पक्षमा फैसला आएमा नेकपा एमाले र माओवादी केन्द्र ब्युँतन सक्छ । यस्तो अवस्थाको चाहना स्वयं ओलीले पनि राखेको संकेतहरु मिल्न थालेको छ ।

कानुनी रुपमा नेकपा एक रहेको अवस्थामा संसदीय दलमा अल्पमतमा परेर ओली हटाइनसक्छन् । अहिलेको अंकगणित हेर्दा ओलीको पक्षमा ८३ र प्रचण्ड माधव नेपालको पक्षमा सभामुखसहित ९१ जना रहेका छन् । तर, दुवै पक्षको दाबी फरक छ । अवस्था यस्तै रहेमा ओली अल्पमतमा परेर संसदीय दलबाट हट्ने र प्रधानमन्त्री पदबाट स्वतः हट्छन् । तर, उनी आफूबाट सत्ता प्रचण्ड या माधवकुमार नेपालको हातमा जाओस् भन्ने चाहँदैनन् ।

ओलीले प्रचण्ड र नेपालले लड्डु खाएकोमा के पाउन खाएका हुन् ? भनी व्यङ्ग्य गरिसकेका छन् । उनी बरु नेकपा एमाले ब्युँताएर सत्ता जोगाउने र अन्य दललाई समिकरणमा ल्याउन खोजिरहेका छन् ।

नेकपा एमाले ब्युँतिएमा ओलीको पक्षमा एक सयभन्दा बढी सांसद संख्या हुनसक्छ । पूर्व एमालेहरु सुर्य चिन्हबाट चुनाव लडेकाले वाध्यात्मक अवस्थाबीच उनीसँग आउनुपर्ने हुनसक्छ । स्वयं माधवकुमार नेपाल र झलनाथ खनाल पनि अप्ठ्यारोमा पर्न सक्छन् । ओली यही चाहिरहेको बुझ्न सकिन्छ ।

नेकपा एमाले ब्युँतिएमा ओली संसदीय दलमा भारी बहुमतमा रहन सक्छन् । त्यतिबेला उनको सत्ता समिकरण जनता समाजवादी पार्टीसँग पनि हुनसक्छ । काँग्रेससँग पनि हुने सम्भावना छ । तर, काँग्रेसलाई सत्तामा जान दलभित्र रोकटोक हुनसक्छ ।

एमाले र माओवादी रहँदाको सांसद संख्याको अंकगणित हेर्दा एमाले जसपासँग समिकरण गरेर सरकारको नेतृत्वमा जानसक्छ । या अल्पमतको पहिलो पार्टी भएकाले एमालेले नै सरकारको नेतृत्व गर्न सक्छ । काँग्रेस प्रमुख प्रतिपक्षी दलमै रहन पुग्छ ।

एमालेबाहेकको दलहरुले सरकार बनाउने हो भने काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी तीनैवटा मिल्नुपर्ने हुन्छ । यसले राजनीति झन् जटिल बनाउनसक्छ ।।रिपोर्टस नेपालबाट

सर्वोच्चको फैसलापछि फेरि आन्दोलनको तयारीमा प्रचण्ड-माधव समूह, नारायणकाजीले सीमा नाघे

काठमाडौं । सर्वोच्च अदालतको संसद पुनर्स्थापना फैसलापछि थामिएको नेकपा प्रचण्ड-माधव समूहको आन्दोलन फेरि हुने भएको छ । यसअघि सरकारविरुद्ध आन्दोलन गरेको यो समूहले अब निर्वाचन आयोगविरुद्ध आन्दोलन गर्ने भएको छ ।

आफूसँग बहुमत भएकाले निर्वाचन आयोगले खुरुक्क आफ्नो पक्ष निर्णय गर्नुपर्ने अन्यथा आन्दोलन गर्ने चेतावनी यो समूहको छ । सर्वोच्चको फैसलापछि हौसिएको यो समूह सबै निर्णय आफ्नै पक्षमा हुनुपर्ने जिद्धी कसेर अगाडि बढेको छ । साथै अराजक बन्ने प्रयत्न गरिरहेको छ ।

समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यूनतम राजनीतिक सीमा समेत नाघेर निर्वाचन आयोगलाई धम्की नै दिएका छन् । कानुनअनुसार नेकपा विवादको निरुपण जटिल भएकाले आयोगले आगामी ९ महिनासम्म सबैलाई सहमतिमा लिएर टुंग्याउने समय पाउँछ । तर प्रवक्ता श्रेष्ठ भने आजको भोलि हातो हात निर्णय गर्नुपर्ने अन्यथा संघर्ष गर्ने भनेर स्वतन्त्र संवैधानिक आयोगलाई धम्क्याउँदै हिँडिरहेका छन् ।

श्रेष्ठले आयोगले संगठनात्मक निर्णय अध्यावधिक गर्न अनुरोध गर्दा विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको र त्यसअनुसार आधिकारिता विवाद निरुपण गर्न आग्रह गर्दा निर्णय नदिएको आरोप लगाएका छन् । सर्वोच्च अदालतले दबाब, धम्की र प्रतिगामी षड्यन्त्रलाई चिर्दै संविधान र लोकतन्त्रको पक्षमा ऐतिहासिक फैसला गरेको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचन आयोग के गर्दैछ ? सर्वोच्च अदालतमार्फत पूरा हुन नसकेको प्रतिगामी योजनाको सेवामा के निर्वाचन आयोग प्रयोग होला त ?’

‘अदालतले दिएको सकारात्मक निकासलाई कार्यान्वयन हुनबाट रोक्ने हतियार निर्वाचन आयोग बन्ला त ? संविधानलाई बचाउने अदालतको फैसलालाई निष्प्राण बनाउँदै संविधान र कानूनलाई नाङ्गै लत्याउने काम निर्वाचन आयोगबाट होला त ? अहिलेको सर्वाधिक सार्वजनिक सरोकारका प्रश्न हुन् ।’

निर्वाचन आयोगले संविधान र कानूनसम्मत ढङ्गले सहज निर्णय नगर्दा यस्तो प्रश्न उठेको तर आफूहरुले अहिले नै त्यसरी नसोच्ने भन्दै श्रेष्ठले भनेका छन्, ‘निर्वाचन आयोगले संविधान र कानूनका आधारमा स्वतः स्पष्ट यस विषयमा छिट्टै निर्णय दिनेछ भन्नेमा हामी विश्वास गर्दछौं ।’

प्रतिनिधिसभा बैठकको मितिसमेत तय भइसकेकाले आयोगले तत्काल निर्णय गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए । ‘अन्यथा निर्वाचन आयोगसमेत शंकाको घेरामा पर्न जानेछ र अदालतले दिएको फैसलाको निकासलाई असफल बनाइ राजनीतिक संकट चर्काउने कार्यको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्नेछ’ श्रेष्ठले चेतावनी दिँदै भनेका छन् ।