१६ फाल्गुन २०७७, आईतवार १०:५४ – Page 3 – Nagarikabhiyan : National News

नेपालमा २ वर्ष भित्रै हाइड्रोजन इन्धनले सवारी साधन चलाइने

काठमाडौ । नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजन इन्धनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडौँ  विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् ।

यसका लागि कार्यक्रम सञ्चालन गर्ने गरी निगम र विश्वविद्यालयबीच सम्झौतासमेत भएको छ । केयूका उपकुलपति प्राध्यापक डा. भोला थापाका अनुसार हाइड्रोजन उत्पादन तथा व्यावसायीकरणका लागि यो कार्यक्रमले नयाँ आयाम थप्नेछ । कार्यक्रम नीतिगत, पूर्वाधार र प्रदर्शनात्मक कार्यक्रम गरी तीन क्षेत्रमा केन्द्रित गर्न खोजिएको छ । विश्वविद्यालयले हाइड्रोजन उत्पादन तथा व्यापारका लागि सरकार तथा निगमले गर्नुपर्ने नीतिगत परिमार्जन तथा स्वीकार्यताका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

हाइड्रोजन उत्पादनमा प्रयुक्त प्रविधिलाई नेपाल भित्र्याउने र त्यो प्रविधिलाई नेपालको अवस्थाअनुसार स्वीकार्यता सिर्जना गर्न रूपान्तरण गर्नेसम्मको योजना यसमा बनाइएको छ । नेपालमा हालसम्म हाइड्रोजनको व्यावसायिक उपयोगिता सुरु भइसकेको छैनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

गुल्मीको मालिकामा पहिलो पटक प्याराग्लाइडिङ महोत्सव

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्नको लागि प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको हो ।

यस क्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधिमा समेत टेवा पु¥याउने उद्देश्य गाउँपाrलिकाले लिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यले प्याराग्लाइडिङ महोत्सव गरिएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा अर्खबाङ बजार व्यवस्थापन समितिको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो । महोत्सव फागुन २७ गतेसम्म चल्नेछ ।

मालिका गाउँपालिकाको वडानम्बर–४ को देउराली डाँडाबाट हुने उडानबाट मालिका गाउँपालिकासँगै मदाने लेक र अन्य यस क्षेत्रका पर्यटिकय संगै धार्मिकस्थलको अवलोकन गर्न सकिन्छ ।

गाउँपालिकाले प्याराग्लाइडिङ्गलाई निरन्तर संचालन गर्ने मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापाले बताए । यहाँका युवाहरुलाई अब गाउँपालिकाले प्याराग्लाइडिङ्गको माध्यमबाट रोजगारको व्यवस्था गर्न सहयोग पुग्ने अध्यक्ष थापाको भनाइ छ ।

दलितले छोएको खाएको निहुँमा बहिष्कार गरिएकालाई न्याय दिन आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन तथा स्थानीय सरकारलाई आग्रह गरेको छ ।

छुवाछुतमुक्त समाज निर्माणका लागि प्रदेश नं १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले विसं २०७६ जेठ १८ गते आयोजना गरेको सहभोजमा सहभागी हुने क्रममा दलित युवतीको हातबाट दही खाएको निहुँमा सामाजिक बहिष्करणमा परेका आचार्यलाई मानसिक पीडाबाट मुक्ति दिन र आवश्यक सुरक्षाको प्रत्याभूति गराउन आयोगको प्रदेश शाखा कार्यालय खोटाङले जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई पत्राचार गरेको हो ।

दलितले छोएको खाएको निहुँमा आफन्तबाटै अघोषितरूपमा बहिस्कार गरिएको घटनाका विषयमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन प्रशासन र नगरपालिकालाई भनिएको आयोगको प्रदेश शाखा कार्यालयका प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बताए ।

आयोगका सचिव वेद भट्टराई तथा अधिकृत संलग्न उच्चस्तरीय टोलीले घरैमा पुगेर अनुगमन गरेलगत्तै आयोगको प्रदेश शाखा कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै पीडित आचार्य परिवारले न्याय पाउनुपर्ने पक्षमा धारणा सार्वजनिक गरेको हो ।

जातीय भेदभावविरुद्धको सहभोजमा सहभागी भएको अवस्थामा दलितले छोएको दही खाएको आरोपमा आचार्यलाई आफन्त तथा छिमेकीबाट निरन्तर सामाजिक बहिष्करण हुँदै आएको प्रारम्भिक अनुगमनबाट देखिएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

गलेश्वर मन्दिर पित्तलले छाइने

म्याग्दी । बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो ।

मन्दिरको छाना हाल सिमेन्टको छ । कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले बाँकी कोषको आन्तिरक स्रोतबाट मन्दिरको छाना परिवर्तन गरिने बताउनुभयो । शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गर्नुभएको थियो । पित्तलको छाना राख्न रु २५ लाख लागत अनुमान गरिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । सभामा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले पुस मसान्तसम्म गत वर्षको समेत गरी रु दुई करोड ८६ लाख २० हजार ७२८ आम्दानी र रु १९ लाख ६७ हजार ८१४ खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषको कूल बचत रु दुई करोड ६६ लाख ५२ हजार ९१३ बचत रहेको उहाँले बताउनुभयो ।

वनभोजस्थल निर्माण

वनको जैविक विविधतालाई पर्यटनसँग जोड्न बेनी नगरपालिका–१ सारेमारेमा वनभोजस्थल निर्माण गरिएको छ । डिभिजन वन कार्यालय, कमेरे झ्याउरे सामुदायिक वन उपभोक्ता समूहको साझेदारी तथा स्थानीयवासीको श्रमदानमा वनभोजस्थल निर्माण गरिएको हो ।

वन कार्यालयको रु तीन लाख ८४ हजार र समूहको रु एक लाख ५० हजार लगानीमा वनभोजस्थल बनाइएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एकेन्द्रबहादुर थापामगरले बताउनुभयो । अध्यक्ष थापाका अनुसार वनभोजस्थल निर्माण गर्न सारेमारेका ३० जनाले एक हप्ताका दरले श्रमदान गरेका छन् । सामुदायिक वनमा पर्यापर्यटन विकास गर्ने उद्देश्यले वनभोजस्थल निर्माण गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो ।रासस 

एक डोज मात्र लगाए हुने जोन्सनको कोरोना खोपलाई अमेरिकाले दियो अनुमति

न्युयोर्क । संयुक्त राज्य अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरस विरूद्धको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले १८ वर्षमाथिका व्यक्तिका लागि उक्त खोप प्रयोग गर्न शनिबार अनुमति दिएको हो ।

जोन्सनको खोप एक डोजमात्र लगाए पुग्छ । यसअघि अनुमति पाएका खोपहरू दुई डोज लगाउनु पर्ने थिए । जोन्सनले विश्वभरि ४४ हजार मानिसमा खोपको परीक्षण गरेको थियो । त्यसबाट खोप ६६ प्रतिशत प्रभावकारी देखिएको थियो ।

यो खोप लगाएपछि संक्रमण भए पनि अस्पतालमा भर्ना हुनु पर्ने र मृत्यु हुनेको संख्या शून्य थियो । एक डोजमात्रै लगाउँदा हुने र सामान्य फ्रिजको तापक्रममै राख्न सकिने भएकाले संसारभरिका देशमा जोन्सनको खोपप्रति आकर्षण हुने बताइएको छ ।

अमेरिकाले जोन्सनको १० करोड डोज भ्याक्सिन किनेको छ । यही साताभित्रै ३० देखि ४० लाख खोप वितरण गर्ने उसको योजना छ । युरोपियन युनियनले पनि जोन्सनको खोपका डाटाहरू अध्ययन गरिरहेको छ । –एजेन्सी

मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु, एक घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक युवती घाइते छन् ।

मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते भएकी छन् ।

दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो । विवेकको दमौली अस्पतालमा उपचारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री ओली आज गृहजिल्ला झापा जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।

सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । सो कार्यक्रमअनुसार फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भइसकेका छन् ।

हाल नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् ।

कविता : ” हाम्रो यथार्थ “

” हाम्रो यथार्थ “

बुद्धको जन्मभुमिमा शान्ति छैनन् ।
सर्वोच्च शिखरमा पर्यटक छैनन् ।
मन्दिरै मन्दिरको देशमा असल भक्तजन छैनन् ।
लडाकुको देश छ तर सिमा सुरक्षित छैनन् ।
जलस्रोतको धानी तर स्वच्छ पानी छैनन् ।
कृषिप्रधान देश तर अभाव छ अन्नको ,
प्रत्येक घरमा नेता भएको देश छ तर केही छैनन् ।
सबै छ तर केही छैन ।
गर्ने के र भन्ने कसलाई ?
हामी भेडाको मगज छैन ।
कुरा गरेरै अघाउछौ हामी त ,
काम गर्ने बानी छैन ।
त्यसले दिन्छ कि उसले दिन्छ ,
कुनै दिन न एउटाले पक्कै दिन्छ ।
नलिई पनि भएन
त्यसको बदलामा नदिई पनि भएन ।
दिने के भन्दा त्यही पानी हो ।
त्यही युवाको जवानी हो ।
अनी नदेखिने भुमी हो ।
उनीहरुले दिए पछि आफुले नि दिने पर्यो ।
वास्तवमा भन्नु पर्दा कुरोको चुरो यहि पर्यो ।

रचनाकार : अभिनाष मिश्रा ( धिरज )
ठेगाना : भराख – ०३ , धनुषा
हाल : जनकपुरधाम – ०१

प्रधानमन्त्री ओलीको दावी आफूले राजीनामा दिए भने देशमा अस्थिरता आउने

काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको फैसलापछि राजीनामा माग भइरहँदा उहाँले कुनै पनि हालतमा राजीनामा नदिने जनाए ।

प्रचण्ड–नेपाल पक्षलाई सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समर्थन नगर्ने उहाँको दावी छ । प्रधानमन्त्री ओलीले भने, “आफूले राजीनामा दिए देशमा अस्थिरता आउने” त्यसलाई ठाडै अश्विकार गरेको बताए । प्रधानमन्त्रीका हरेक निर्णयमा राष्ट्रपतिले साथ दिएको भन्दै राष्ट्रपतिको आलोचना गर्नेहरु गणतन्त्र विरोधी रहेको ओलीको आरोप छ । प्रधानमन्त्री ओलीले भने हाम्रो नेकपा समुहलाई बाहिर राखेर सरकार गठनको प्रयास गर्ने त्यस्तो संभावना नरहेको बताए ।

आज २०७७ फागुन १६ गते आइतबारकाे राशिफल

मेष
धार्मिक क्षेत्रमा मन जानेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । रोकिएको काम बन्न सक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।

बृष
लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नुहुनेछ ।

मिथुन
धनआर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । सही समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्यमा सफलता मिल्ला । शेयरको कारोवारमा सफलता मिल्ला । अधुरा कामले पूर्णता पाउन सक्छ । प्रेम सम्बन्धमा खटपट आउन सक्छ । अनावश्यक दबाब झेल्नु पर्ला ।

कर्कट
रमणीय यात्राको योग छ । पूरानो मित्रसँगको भेटले मन प्रसन्न हुनेछ । खानपानले स्वास्थ्य गढबढ हुन सक्छ । खर्च बढे पनि आम्दानी घट्ने छैन । वित्तीय क्षेत्रबाट सहयोग प्राप्त होला ।

सिंह
अनावश्यक झमेलामा फसिएला । सरकारी निकायको भय होला । नजिकका ब्यक्ति नै काम विगार्न लागि पर्लान् । आर्थिक कारोबार गर्दा बिचार पुर्‍याउनुहोला । निर्णय लिनमा दुविधा होला । दिनको उत्तरार्धमा आफू अनुकुलको समय बन्ला ।

कन्या
नयाँ कामको प्रस्ताव आउनेछ । मनमा उमंग छाउनेछ । आर्थिक पक्ष सबल रहने छ । पारिवारिक सद्भाव बढ्नेछ । माता पितासँगको सम्बन्धमा सुधार हुँदै जानेछ । विशिष्ठ व्यक्तिको साथ सहयोग रहनेछ ।

तुला
आर्थिक पक्ष कमजोर बन्नेछ । यात्राअघि साबधानी अपनाउनु होला । नयाँ कामलाई गोप्य राखेरै योजना अघि बढाउनु होला । धार्मिक काममा मन जानेछ । शैक्षिक क्षेत्रमा सुधार आउनेछ । सन्तानको प्रगतीले मन प्रफुल्लित बनाउँछ ।

बृश्चिक
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ । विशेष काममा जग बसाउने अवसर जुट्नेछ। प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग मिल्नेछ । आर्थिक कारोबारमा मन्दी आउन सक्छ ।

धनु
मानसम्मानको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

मकर
सुधारोन्मुख हुँदै गरेको स्वास्थ्य तामसी बिगार्न सक्छ । खानपिनमा ध्यान दिनुहोला । खर्च अनुरूपको आम्दानी नहुँदा मानसिक चिन्ता बढ्न सक्छ । प्रेम सम्बन्ध ठीकै हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।

कुम्भ
साथीभाईसँग रमाइलो यात्रा हुन सक्छ । परिवारका सदस्यसँगको समय व्यतित हुँदा मन प्रफुल्लित हुनेछ । आम्दानीका नयाँ नयाँ बाटा पहिल्याइनेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । अध्ययन अध्यापन मध्यम रहनेछ । विपरित वर्गप्रतिको आकर्षण बढ्ला ।

मीन
आकस्मिक धन लाभ हुन सक्नेछ । बैदशिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तसँग पुनर्मिलनको योग छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला ।

टिकटिकबाट सम्बन्ध बढाएर शारीरिक शोषण गर्ने पक्राउ

सुनसरी । कास्की जिल्ला कास्कीकोट गाउँपालिका-४ का ३९ वर्षीय राजीभ गुरुङले टिकटक मार्फत धनकुटाकी एक युवतीलाई साथी बनाए ।

टिकटक, म्यासेन्जरमा गत पुसदेखि उनीहरूबीच कुराकानी सुरू गरेका उनिहरुको कुराकानी बाक्लिँदै जाँदा राजीभले ती युवतीलाई प्रेम प्रस्ताव राखे। दुबै जनाबीच सम्बन्ध झ्यांगिँदै गयो ।

त्यसपछि राजीभ र युवतीबीच भेटघाटको मिति तय भएको भेटपछि बिहेको मिति पनि टुंगो लगाउने कुराकानी भएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।

सर्त बमोजिम राजीभ कास्कीबाट इटहरी आए अनि युवती धनकुटाबाट । उनीहरू गत माघ २५ गते इटहरी-९ को आरआर होटलमा दुई दिन बसेका थिए । जहाँ दोस्रो दिन उनीहरूबीच शारीरिक सम्बन्ध पनि रहेको थियो ।

सम्बन्धपछि राजीभले युवतीलाई चोखिनुपर्छ भन्दै नुहाउन बाथरुम पठाएर युवतीको चार आनाको सुनको सिक्री, चार आनाको झुम्का, ब्रास्लेट र नगद २७ हजार पाँच सय समेत लिएर फरार भएका छन् ।

‘नुहाएर निस्किँदा गुरुङलाई नदेखेपछि युवतीले सिधै आएर हामीकहाँ जाहेरी दिइन्,’ डिएसपी केसीले भने, ‘त्यसपछि हामी गुरुङको खोजीमा थियौं ।’

बिहीबार तिनै गुरुङको मोबाइल लोकेसन खनारमा देखियो। उनी झापाकी अर्की युवतीलाई त्यसैगरी टिकटकमा साथी बनाएर भेट्न जाने क्रममा थिए। त्यस्तो अवस्थामा हामीले पक्राउ गरी उनीमाथि अनुसन्धान थालेका छौं ।

गुरुङलाई शुक्रबार जरबजस्ती करणी मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिइएको छ । गुरुङको साथबाट युवतीको एटिएम कार्ड बरामद भएको जानकारी पनि केसीले दिए ।

‘गुरुङले होटलमा बस्दा देखाएको लाइसेन्स पनि नक्कली रहेको खुलेको छ,’ केसीले भने, ‘टिकटिकको माध्यमबाट सम्बन्ध बढाएर शारीरिक शोषणसँगै ठगी गर्ने नियत देखिन्छ ।’

विद्या भण्डारीको तदारुकता- विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै

काठमाडौँ । सरकारबाट प्रतिनिधिसभा विघटनको सिफारिस आउनासाथ छिनभरमा नै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन बोलाउने सिफारिसलाई भने त्यस प्रकारको प्राथमिकता दिनुभएको छैन । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन यही फागुन २३ गते बस्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि शनिबार साँझसम्म उहाँ मौन हुनुहुन्छ ।

हिजो शनिबार भएर अधिवेशनको आह्वान नभएको हो कि भन्ने हो भने पनि राष्ट्रपतिले नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना भने गर्नुभएको छ । सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरे ‘ढिलाइ गर्दा जनतालाई शंका हुने भएका कारण शुक्रबार नै नभए शनिबार भए पनि अधिवेशनको आह्वान गरिदिँदा उपयुक्त हुने थियो’ भन्नुहुन्छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नका लागि सिफारिस गर्दा राष्ट्रपति भण्डारीले केही मिनेटमा नै सिफारिसबमोजिमको कार्य गर्नुभएको थियो ।सर्वोच्च अदालतको आदेशबमोजिम सरकारले दुवै सदनको नभई प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउनुपर्नेछ । दुई सदनसहितको एक संघीय व्यवस्थापिका भए पनि सरकारले सर्वोच्चको आदेशबमोजिम प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउनुपर्ने देखिएको हो । आदेशमा दुवै सदन वा संघीय संसद् भनिएको छैन । केबल प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउन भनिएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

धनुषामा पीडित महिला माथी नै पञ्चायतले तोके जरिवाना, तिर्न नसक्दा महिलाले गरिन “आत्महत्या”

काठमाडौ । धनुषा जिल्लाको औरही गाउँपालिका–२ देउरीकी रामजिवन यादवकी श्रीमती ३६ वर्षीया बिनिता देवी यादव माथि पञ्चायतले जरिवाना तोकेपछी तिर्न नसक्दा ती पीडित महिलाले आत्महत्या गरेकी छन् ।

स्थानीयका अनुसार खेतमा घाँस काट्दै गरेका उनीहरुलाई खेतधनी महिलाले साग चोरेको आरोप लगाएर गएको बिहीबार दिउँसो गाउँकै ओसराबलाको खेतमा साग टिपेको विषयमा भएको विवादपछि पञ्चायतले बिनिता लगायत तीनजना महिला सुमित्रा, बबिता र बिनिता माथि कुटपिट गरी जनही पाँचहजार रुपैयाँ जरिवाना तोकेको थियो ।शुक्रबार भएको पञ्चायतले तत्कालै जरिवाना बुझाउनु तिर्न दबाब दिएपछि बिनिताले आफ्नो घरमा पुगेर पासो लगाइ आत्य हत्या गरेकी स्थानीयले बताएका छन् । सोही वडाका वडाध्यक्ष अमित यादवको अगुवाइमा भएको पञ्चायतमा उल्टै तीनै महिलाले गल्ती गरेको भन्दै जनही ५ हजार रुपैयाँ जरिवाना गरेको थियो । न्याय पाउनुपर्नेमा आफुहरुमाथि झन् अन्यास भएको, समाजमा अपमान भएको र पैसा समेत नभएका कारण बबिताले तत्कालै घरमा झुण्डिएर आत्महत्या गरेको एक स्थानीयले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्र का अनुसार आत्महत्या गरेको विषयमा अनुसन्धान जारी रहेको बताए ।

सांसदको किनबेच हुने खतरा बढ्यो : प्रदीप ज्ञवाली

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनस्स्थापनापछि संसद्‌मा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१औं वार्षिक साधारणसभामा उनले दलहरुको नीतिविहीन गठबन्धन हुँदा सांसदहरुको खरिद-बिक्री हुने थलो बन्ने खतरा बढेको बताए।

उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं।’ उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको साशनमा विश्वास गर्ने शक्तिहरु हौं। हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं। न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ। हामी त्यसलाई कार्यान्वयन गर्छौं। तर कतै फेरी संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन रु कतै सांसद फेरी दलहरुको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’

सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको बताए। गतवर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भए पनि ऋणात्मक नहुनु सकारात्मक भएको उनको धारणा छ। तीन वर्षसम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थानमाथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्ने पुष्टि भएको उनको दावी छ। लोकपाटीबाट

केपी ओलीलाई खुब मन पर्ने पात्रबारे प्रचण्डको खुलासा

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेका आरोप लगाएका छन् ।

काठमाडौंमा शनिवार पार्टीसम्बद्ध शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई ।’

महाभारतमा सकुनी नकारात्मक भूमिकाका चर्चित पात्र रहेका छन्, सकुनीले ५ भाइ पाण्डवलाई वनबास पठाउन चाल चलेका थिए । सकुनीलाई छलकपट, अन्याय र अत्याचारका प्रतीकका रूपमा चिन्ने गरिएको छ ।

विचार, सिद्धान्त र इमान्दारितामा कुनै मतलब नभएको तथा जालझेल मात्र जानेको भन्दै प्रचण्डले ओलीलाई सकुनीसँग तुलना गरेका छन् ।

प्रचण्डले आफ्नो पक्ष नै आधिकारिक पार्टी भएको भन्दै जनतालाई प्रस्ट पार्न पार्टीनिकट शिक्षकलाई आग्रह गरेका छन् । ‘तपाईंहरूलाई पनि डर लाग्छ होला, माओवादी नै भइयो कि क्या हो ? प्रचण्डको कार्यकर्ता भइसकियो त ? एमाले त केपी ओली भन्छन् भनेर तपाईं धरमराउनुभयो भने यता माओवादीमा बल्ल माधवको फेला पर्‍यो, थाहा पाउँछन् नि केही दिनपछि यस्तो पारिदिन सिपालु छन् केपी,’ प्रचण्डले भने ।  मिडिया डबलीबाट

प्रचण्डलाई गोकुल बाँस्कोटाको व्यंग्य : नेकपा = नेपाल कम्फर्टेबल पार्टी

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार एक अन्तर्वार्तामा भारतलाई कम्फर्टेबल हुने सरकार गठन गर्ने बताएपछि पूर्व मन्त्री गोकुल बाँस्कोटाले व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता समेत रहेका बाँस्कोटाले प्रचण्ड पक्षीय नेकपाको अर्थ नेपाल कम्फर्टेबल पार्टी लगाएका छन् ।

‘नेपाल कम्फर्टेबल पार्टी = नेकपाका २४ घण्टे राष्ट्रवादीहरू र नागरिक अभियन्ताहरू अब कुन झण्डा साथ सडकमा आउलान् ? भव्य बैठक आयोजित हुँदै होला कसरी विषय मोडिदिने भनेर ? चाइँचुइँ छैन त ? कि लावण्य प्रान्तको मुख्यमन्त्री खोज्न लाग्या छन् ?’ उनले देखेका छन्, ‘कसैले देखभेटेमा म पनि थाहा पाउँ है, मान्यवर हो ।’

शुक्रबारको अन्तर्वार्तामा प्रचण्डले नेकपा प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) मिलेर बनेको सरकार भारतका लागि कम्फर्टेबल हुने अभिव्यक्ति दिएका थिए । मिडिया डबलीबाट