१५ असार २०८०, शुक्रबार १८:३० – Nagarikabhiyan : National News

बलात्कारको आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान

असार १५,करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान गरिएको छ।
जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

अदालतको आदेश अनुसार बुधवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडा अध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो। उनिमाथी गाउँकै एक महिला माथी गत माघ २० गते राति घरमै गएर जबरजस्तीकरणी गरेको आरोप लागेको थियो।

प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो। सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामीमाथी अभियोग लगाई अदालत पेश गरेपछि जिल्ला अदालत दार्चुलाले अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

धामी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो

काठमाण्डाै –कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । आज शुक्रवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।
२०७९ साल मङ्सिरमा भएको प्रदेश सभा चुनावपछि पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कार्कीले हिजो बिहीवार प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राख्नुभएको थियो । त्यसमाथि आज मत विभाजन भएको हो । उहाँको प्रस्ताव अस्वीकृत भएको सभामुख बाबुराम गौतमले प्रदेश सभामा घोषणा गर्नुभयो ।

विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत परेको छ । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । कार्कीलाई नेकपा एमाले का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का छ जना सांसदले मत दिए । मतदानमा ८९ सांसद सहभागी भएकामा प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० ले विपक्षमा मतदान गरे । प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १२ सभामुखबाहेक, एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।

केन्द्रमा गठबन्धन फेरबदल भएसँग त्यसको असर प्रदेशमा पनि परेको हो । यसअघि पाँच वटा प्रदेश सरकार फेरबदल भएका थिए । कोशीमा पनि माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले विश्वासको मतको प्रस्ताव राख्नुभएको हो । उहाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकारले ढलेको छ । मुख्यमन्त्री कार्की पदमुक्त भएसँगै कोशी प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ ।

भिजिट भिसामा वैदेशिक रोजगारीमा हिँडेका चार हजारभन्दा धेरैलाई विमानस्थलबाटै फर्काइयो

काठमाण्डौ –भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजारभन्दा धेरैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।
२०७९ वैशाख यता अहिलेसम्म भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजार एक सय ७३ जनालाई विमानस्थलबाटै फर्काइएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ ।
भिजिट भिसा लगाएर रोजगारीका लागि विदेश हिँडेको र मानव बेचबिखन तथा मानव तस्करीको जोखिममा पर्न सक्ने उच्च जोखिम भएकाहरूलाई प्रहरीले परामर्श गरी विमानस्थलबाटै फर्काउने गरेको छ ।

गएको वैशाखदेखि अहिलेसम्म साढे दुई महिनाको अवधिमै १७ सय ११ जनालाई प्रहरीले विमानस्थलबाट परामर्श गरी फर्काएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कोशी प्रदेशको मुख्‍यमन्त्री कार्कीले विश्वासको मत लिने

असार १५ देवानगञ्ज-कोशी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ। ११ बजेका लागि बोलाइएको बैठक करिब १ घण्टा ढिला गरी सुरु भएको हो।
बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने कार्यसूची छ। त्यसका लागि बैठकमा मुख्यमन्त्रीले जवाफ दिँदै छन् उनको जवाफलगत्तै प्रदेश सभामा मतदान प्रक्रिया सुरु हुनेछ।

बिहीबार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथिको छलफलपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो। आधा घण्टामा बैठक बस्न नसकेपछि साँझ ८ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरिएको थियो। तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि सूचना निकालेर शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको थियो।

नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्। ९३ सदस्यीय कोशी प्रदेश कार्कीलाई आफ्नो सरकार जोगाइ राख्न ४७ सांसदको समर्थन आवश्यक पर्छ। उनलाई नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसदको समर्थन छ।

कार्कीको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका ४ सांसद गरी ४६ सांसदमा छन् भने प्रदेशको नामकरणलाई लिएर असन्तुष्ट जनाउँदै जसपाका १ सांसदले तटस्थ बस्ने बताएको छ।

फ्रान्समा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा किशोरलाई गोली हानेका प्रहरीले माफी मागे

फ्रान्समा एक किशोरलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेर हत्या गरेका प्रहरीले परिवारसँग माफी मागेका छन् ।
हत्याको आरोपमा हिरासतमा रहेका प्रहरी अधिकारीले मृतक किशोरको परिवारसँग माफी मागेका बीबीसीले जनाएको छ । गएको मङ्गलवार घटनाभएपछि फ्रान्समा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा ४ सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् ।

प्रदर्शनले उग्र रुप लिएपछि पेरिस उपनगरमा गएरातिदेखि लागू हुने गरी सोमवार बिहानसम्मका लागि कर्फ्यु लगाइएको छ । मङ्गलवार बिहान पहेँलो मर्सिडिज कार चलाउँदा ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै १७ वर्षीय किशोरलाई प्रहरीले हत्या गरेको आरोप छ ।
राष्ट्रपति इम्यानुयल म्याक्रोले गोली प्रहारको घटना अक्षम्य भएको बताउनुभएको छ । फ्रान्समा गएको वर्ष ट्राफिक नियम नमान्दा प्रहरीले चलाएको गोली लागेर १३ जनाको ज्यान गएको थियो ।

सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य संकटमा ओली

असार १५ काठमाण्डाै –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य व्यवसायीहरु संकटमा परेको बताएका छन्।
असार १५ को राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका अध्यक्ष ओलीले जिल्लाको युवा उद्यमी मञ्चले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै करका दरहरु हेरफेर गराउन सफल व्यवसायीहरु बाहेक अरु आर्थिक मन्दीको चपेटामा पर्न थालेको बताए।

अहिलेको आर्थिक संकटपूर्ण अवस्था कहिलेसम्म कायम रहला भनेर युवा उद्यमीहरुले राखेको जिज्ञासामा अध्यक्ष ओलीले अहिलेको सरकारको आर्थिक अनुशासन नभएकाले सरकार रहेसम्म संकट रहिरहने बताए।

उद्योगी व्यवसायीहरु संकटमा पर्दै जाने तर एमाले टुलुटुलु हेरेर मात्रै बसिरहन नसक्ने भन्दै ओलीले त्यसका लागि पार्टीले जिम्मेवार भूमिका खेल्ने बताए। उनले भने ‘किन आर्थिक संकटपूर्ण अवस्था आउन खोज्यो भन्दा सरकारको गलत नीति छ, अनुशासन भएन। अहिलेको सरकारको तस्वीर देखेपछि पुग्छ, यो समस्या कहिले टुंगिएला भनेर।’

बैंकहरूको गलत नीति र रवैयाले पनि उद्योगीहरुलाई संकटमा परेको भन्दै ओलीले त्यसलाई सच्चाउन जरुरी रहेको बताए।
ऋण लिएर कुनै काम गर्न पाएको छैन, ब्याज र किस्ता माग्न सुरु गर्छ, जसले बैंक चलाइदिएको छ, तोकेको ब्याज दिएको छ, उसैलाई दुःख दिएको छ, जुन प्रयोजनका लागि ऋण दिएको हो, त्यसको रिटर्न नभइञ्जेलसम्म त कसरी उसले ब्याज किस्ता तिर्न सक्छ।’ ओलीले भने।

रोजगारी दिने ठाउँ भनेको सरकारी जागिर जस्तो मात्रै भएको भन्दै ओलीले लाखौंलाई देश भित्र नै रोजगारी सिर्जना गर्नका लागि उद्योगहरु खोल्नुपर्ने र राज्यले त्यसमा सहजीकरण गर्नेपर्ने धारणा राखे।
युवाहरुको पलायन खतरनाक कुरा भएकाले ब्रेन ड्रेन र मसल ड्रेनलाई रोक्नुपर्ने उनको धारणा छ। उब्जनी हुने खेतबारी बाँझै राखेर युवाहरू खाडी लगायतका देशमा पलायन हुनुमा केही न केही कमजोरी भएको उनको भनाइ छ।

धान दिवस तथा दही चिउरा खाने दिन दहीको माग र कारोबार उच्च हुने भएकाले व्यवसायीलाई चटारो

असार १५ काठमाण्डाै धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा आज दही व्यवसायीलाई भ्याइनभ्याइ भएको छ । आज दहीको माग र कारोबार उच्च हुने भएकाले व्यवसायीलाई चटारो छ ।

मुख्यगरी भक्तपुरमा उत्पादन हुने दहीको माग काठमाण्डौ उपत्यकामा मात्र नभएर उपत्यका बाहिर पनि हुने गरेको छ । भक्तपुरमा उत्पादन हुने मौलिक र परम्परागत जुजु धौ प्रख्यात छ । जुजु धौको मौलिकता यसको स्वाद र माटोको भ्यगः अर्थात् कटौरा हो । स्वाद र गुणस्तरका कारण जुजु धौ लोकप्रिय बनेको छ । असार १५ कै लागि अरु बेलाभन्दा चार गुणा धेरै जुजु धौ उत्पादन गर्नु परेको व्यवसायीहरु बताउँछन् ।

भक्तपुर नगरपालिका–२ व्यासीका व्यवसायी रिना सुवालका अनुसार आजका लागि एक हप्ता अघिदेखि नै माग आउने गरेको छ । भक्तपुरमा जुजु धौ व्यवसायी झण्डै डेढ सयको सङ्ख्यामा छन् । ती व्यवसायीले औसतमा दैनिक २५र३० हजार लिटर दूधको जुजु धौ उत्पादन गर्दै आएका छन् ।

आजको दिन जुजु धौको माग धान्न कम्तीमा एक लाख लिटर दूध आवश्यक पर्ने भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्ण गोपाल सैँजुले बताउनुभयो । बढ्दो सहरीकरणले भैँसी पालन व्यवसाय घट्दै गएपछि अहिले धुलिखेल, चितवन, नारायणघाट, झापा, बुटवल र नेपालगञ्जसम्म पुगेर दूध सङ्कलन गरी ल्याउने गरेको सैँजुले जानकारी दिनुभयो ।

जुजु धौ बनाउन डेरीको सामान्य दही बनाउनेभन्दा धेरै समय, परिश्रम र लगानी आवश्यक पर्छ । जुजु धौ बनाउन दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदै कराईमा उमाल्नु पर्छ । दूध उमाल्दा एक क्यान बराबर चार किलो चिनी हालेर नडढ्ने गरी चलाउँदै राम्रोसँग उमाल्नुपर्छ ।

भुसमाथि राखेको माटोको कटौरामा पहिले कटौराको आधा भाग मात्र दूध राख्नु पर्छ । त्यसपछि दूध सेलाएर ४० डिग्री तापक्रममा पुगेपछि बाँकी आधा भागमा दूधभरी हालेर धौ पुसा ९दहीको बीउरजोरन० राखिन्छ । त्यसपछि दही जमाएको कटौरामाथि अर्को कटौराले छोपेर त्यसको माथि न्यानो हुनेगरी सिरक र जुटको बोराले छोपेर राख्नु पर्छ । यसरी छोपेर राखेको ५ घण्टामा जुजु धौ तयार हुन्छ । त्यसपछि चिसो पार्न फ्रिजमा राखिन्छ ।

परम्परागत शैलीमा दही उत्पादन गर्दा माग धान्न निकै गाह्रो भएकाले छिटो जमाउनका लागि व्यवसायीले पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गर्न थालेका छन् ।

पाल्पा अर्घाखाँची, रुपन्देही र प्युठानका नदी तथा खोलामा बाढीको जोखिम

असार १५ काठमाण्डाै –पाल्पा, अर्घाखाँची, रुपन्देही र प्युठानका नदी तथा खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी जिल्लामा मध्यमदेखि ठूलो वर्षा भएकाले बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाले यी जिल्लाका तिनाउ र माडीसहित साना नदी तथा खोलामा बाढीको खतरा रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । अहिले यी जिल्लासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ।

आज कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो र केही ठाउँमा अति ठूलो वर्षाको अनुमान छ । लगातारजसो झरी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम छ । भिरालो जमिन र नदी, खोला आसपास बस्नेहरुलाई सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

लगातार पहिरो खसिरहेकाले नारायणगढ–मुग्लिन सडक खुलाउन कठिनाइ,

असार १५ देवानगञ्ज- लगातार पहिरो खसिरहेकाले नारायणगढ–मुग्लिन सडक खुलाउन कठिनाइ भएको छ । हिजो दिउँसो साढे १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा लगातार पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो हटाउन पाँच वटा डोजर तयारी अवस्थामा राखिएको छ । तर, वर्षासँगै पहिरो नरोकिएकाले सडक खुलाउन सकिएको छैन ।

पानी परिरहे आज दिनभरि नै यो सडकमा समस्या हुन सक्ने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । हिजो दिउँसोदेखि नै अवरुद्ध भएकाले यो सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु अलपत्र परेका छन् । काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् ।

यस्तै, नारायणगढबाट काठमाण्डौ, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ ।

बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना

देवानगञ्ज-आज बिहानै बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना भएको छ। जिल्लाको चरोडामा बिहानै ना।६।ख १३३९ नम्बरको बस दुर्घटना भएको हो।
बझाङदेखि काठमाडौंका लागि छुटेको बस रोड भन्दा करिब ५ मिटर तल पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा सवार २५ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन्। बाँकी समान्य घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरु लाई उद्वारगरि उपचारको लागि अस्पताल लगिएको छ।

उक्त बसमा शनिवार १६ गते हुने सिभिल सब–असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिक र काठमाडौं जानका लागि आएका यात्रु सवार रहेका थिए। बिहानै पानी धेरै परेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको छ।

आज राष्ट्रिय धान दिवस, मनसुनले किसान उत्साहित

१५ असार काठमाण्डाै – , आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यसवर्षको धान दिवसको नारा ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने रहेको छ ।
जलवायु परिवर्तनको कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्ने, जलवायु अनुकूलका प्रविधि प्रयोगमा जोड दिने यसवर्षको नाराको मुख्य उद्देश्य छ । आज धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद् नार्कको परिसर ललितपुरको खुमलटारमा हुँदैछ ।

२०६१ साल मङ्सिर २९ गते सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा झण्डै १५ लाख हेक्टर जमिनमा धान उत्पादन हुँदै आएको छ यसवर्ष १४ लाख ९६ हजार हेक्टर जमिनमा रोपाइँ हुने प्रक्षेपण छ ।

अस्ति बुधवारसम्म १ लाख ६६ हजार ६ सय हेक्टरमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ । अहिले किसानलाई प्रमुख बाली धान रोपाइँको चटारो छ । उत्पादन बढाउने सरकारको उद्देश्य भए पनि मनसुन फेरबदल, समयमै बीउ, मलखाद नपाउने, सिँचाइको अभावलगायतका समस्या यथावत् छन् ।

सिँचाइको भरपर्दो सुविधा नभएको क्षेत्रमा आकाशेको पानीको भरमा धान रोपाइँ गर्नुपर्ने बाध्यता छ । जनशक्तिको अभाव र लागत महँगो हुँदा पनि किसान समस्यामा छन् । यहीबेला पहाडी क्षेत्रमा लम्पी स्कीन रोगले गोरु सङ्क्रमित भएका छन् ।

जोत्ने गोरु नै बिरामी हुने र मर्ने भएपछि रोपाइँमा असर परेको छ । असार महिनालाई मानो रोपेर मुरी उब्जाउने महिनाका रुपमा पनि लिने गरिन्छ । धानको उत्पादन घटेमा किसानलाई मात्र होइन, समग्र अर्थतन्त्रमा पनि असर पुग्नेछ । पोहोर ५४ लाख ८६ हजार मेट्रिक टन धान फलेको थियो।

 

मलेशियामा सल्यानी युवाको मृत्यु

 देवानगञ्ज ।सल्यान वनगाड कुपिण्डे नगरपालिका–११ रैकरका ३१ वर्षका प्रकाश वलीको मलेशियामा मृत्यु भएको छ। डिउटीबाट फर्कदै गर्दा बुधबार साँझ भएको दुर्घटनामा परी वली गम्भीर घाइते भएका थिए।

दुर्घटनामा घाइते भएका वलीको उपचारका क्रममा बिहीवार बिहान २ बजेतिर मृत्यु भएको थियो। मलेशियाको काजाङमा साइकलबाट लडेर मृत्यु भएका उनका काका हीरालाल वलीले जानकारी दिए। एक वर्षअघि मात्र मलेशिया गएका वलीका ३ छोरा र श्रीमती छन्।

मलेशियाबाट शव तत्काल नेपाल ल्याउन पहल गरिदिन मृतक वलीको परिवारले सबैमा अनुरोध गरेको छ।

माइत घर जान्छु भनी गएकी बुहारी लगेर ससुरा फरार

असार १४ देवानगञ्ज- दार्चुलाको मार्मामा अचम्म भएको छ । एक जना पुरुष आफ्नै बुहारी लगेर फरार भएका छन् । भतिजाकी श्रीमती लगेर मार्मा गाउँपालिका ४ घोडेधारका गोबिन्द विष्ट फरार भएका पारिवारिक स्रोतले जनाएको छ । सोही ठाउँकी आफ्नै बुहारी नाता पर्ने जयन्ती विष्ट लगेर गोबिन्द दुई हप्ता देखि सम्पर्क विहिन भएका बताइएको छ ।

जेठ २८ गते माइत जान्छु भनेर गएकी श्रीमतीलाई काका लगेर फरार भएका जयन्तीका श्रीमान शंकर विष्टले बताए । ३ वर्ष सम्म विदेशमा कमाएको धनमाल लगेर श्रीमती काका संग भागेर गएकी उनले बताए । घरमा जयन्तीका दुई छोरा छन । श्रीमती भागेर गएपछि छोराहरुको बिच्चली भएको पीडित विष्टले दुखेसो पोखेका छन् । श्रीमती काका संग भागेपछि उनले विलौना पोखेका छन् ।

जेठ २८ गते घरबाट माइत घर जान्छु भनी गएकी र माईती घर बाट घर आउदा खेरि सोही ठाउँ मार्मा गाँउपालीका वडा नं ४ घोडेधार बस्ने काका गोबिन्द बिष्टले श्रीमती जयन्ती बिष्टलाई बिचबाटोबाट भगाएर लगेको र मैले विदेशमा ३ बर्ष बिताएर नखाई नलाई घामपानि नभनि दुख कष्ट झेलेर कमाएको आधा रकम पनि पहिलै देखिनै खाईदिएको र करिब एक तोला सुनका गरगहना सहिद लगेर दुईटै जना फरार भएका छन् । बाल बच्चाहरुको बेहाल बनाई दियो,सार्है दुख्ख दिएर गई ,उनले भने ।’

श्रीमतीको खोजिका लागि दार्चुला प्रहरीमा निवदेन दिएको समेत विष्टले बताए ।

विचारबिनाका पार्टीहरूको लहर चलेको छ ओली

काठमाडौं :नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचारबिनाका पार्टीहरूको लहर चलेको बताएका छन्।

बिहीबार मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरूको लहर चलेको उनको भनाइ छ।

विचारबिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरूको लहर चलेको भन्दै ओलीले राजनीतिक दल र नेताहरूले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताए। उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको बताए।

राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन्। अहिले एउटा लहर चलेको छ। विचार नचाहिने, बिना विचारको विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ। योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलव छ र ? कसलाई फुर्सद छ योगदानका कुरा गर्ने?’ ओलीले भने, ‘कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, कसलाई फुर्सद छ आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन्।

तर हामी बिना इतिहास समाज यहाँ आएको छैन। धेरै उतारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो। आज पनि समाज अनेक प्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ। यस रस्साकस्सीको बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानपर्ने छ।’

अध्यक्ष ओलीले मौलिकताबिनाको आन्दोलनहरू सफल हुन नसक्ने उनले बताए।

हरिनगर गाउँपालिकामा बाल संजाल गठन

 देवानगञ्ज । सुनसरीको हरिनगर गाउँपालिकामा पालिका स्तरीय बाल क्लब संजाल गठन गरिएको छ ।

हरिनगरका ७ वटा वडामा वडा स्तरीय बाल क्लब गठन पश्चात गाउँपालिका स्तरीय बाल संजाल गठन गरिएको हो ।

हरिनगर गाउँपालिकाको सहकार्यमा पालिका स्तरीय बाल क्लब संजाल गठन गरिएको छ ।

गाउँपालिका महिला विकास शाखा प्रमुख डिम्पल देवा र वाड अध्यक्षहरुको र स्थानयिहरुको उपस्थितीमा टोलका बालबालिकाको एक भेलाले टोल स्तरीय बाल क्लब गठन गरेको छ ।

वडा स्तरीय बाल क्लबको गठन पश्चात पालिका अध्यक्ष गफार अंसारी प्रमुख आतिथ्यतामा गाउँपालिका स्तरीय बाल क्लब संजाल गठन गरेका हुन ।

बाल क्लव संजाल गठन प्रश्चात दुई दिने क्षमता अभिवृद्धि तालिम संचान गरेको छ । तालिममा सहभागि बाल बालिकाहरु लाई प्रशिक्षक दयाल चौधरी डिम्पल देव लगायतले परिशिक्षण दिएको थियो । सम्पन्न कार्यक्रमा हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीले तालिममा सहभागि बालबालिकाहरु लाई प्रमाण पत्र प्रदान गरको थियो ।

 

 

 

अत्तरियाकी अस्मीमाथि दिलेन्द्र शाहीले गरे बलात्कार अस्मीको मृत्यु लक्ष्मी खड्का र दिलेन्द्र पक्राउ

असार १४ देवानगञ्ज- कैलालीको गोदावरी नगरपालिका(४ अत्तरियामा बस्दै आएको बोहरा परिवार अहिले भावह्विल बनेको छ। परिवारले छोरी गुमाएको ६ दिन पुगेको छ। तर, उनीहरुका आँसु थामिएको छैन।

कलिलै उमेरकी एक मात्रै छोरी गुमाएपछि क्यान्सर पीडितसमेत रहेका उनका बुवा भक्तबहादुरलाई के गरौं कसो गरौं भइरहेको छ। एसईई पास गरेपछि उनले छोरी अस्मीलाई अध्ययनका लागि नेपालगन्ज पठाएका थिए। उमेरले १७ मात्रै पुगेकी अस्मी त्यहाँ होस्टेलमा बस्दै आएकी थिइन्।

६ महिनादेखि अलाईट टेक्निकल कलेजमा नेत्र विज्ञान विषयमा अध्ययनरत अस्मी अहिले बितेको ६ दिन भएको छ। परिक्षा सकेर घर आएकी उनी असार ९ गते आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनले लिएको त्यो निर्णयले बोहरा परिवार अचम्मित परेको थियो।

पढन पठाएकी छोरी घर आएर किन आत्महत्या गर्न बाध्य भइन् भन्ने राज बिस्तारै खुल्दै छ। अस्मीकी दिदी फुपुकी छोरी राधाका अनुसार नेपालगन्जमा पढ्दा उनको भेट लक्ष्मी खड्कासँग भएको थियो। सँगै पढ्ने लक्ष्मी भाडाको कोठामा बस्दै आएकी थिइन्। गत जेठमा आफुलाई पढाईमा सहयोग गर्न भन्दै लक्ष्मीले कोठामा बोलाएको अस्मीले दिदी राधालाई बताएकी थिइन्।

आत्महत्या गर्नुभन्दा अगाडि बहिनीले मलाई आफुसँग त्यो दिन भएको घटनाबारे बताएकी थिइन्। लक्ष्मीले पढ्न आउन भनि झुक्याएर कोठामा बोलाएको र त्यही घरमा बस्ने दिलेन्द्र शाहीले कोठामै आएर बलात्कार गरेको उनले बताएकी थिइन्’ राधाले भनिन्।

राधालाई अस्मीले घटनाको वृतान्त सुनाएकी थिइन्। त्यो दिन राति सँगै सुतेकी साथी बिहान उठ्दा थिइनन्। तर बिहान उठ्दा दिलेन्द्र भने सँगै थिए। राति सुत्नुअघि लक्ष्मीले चिउरा खान दिएको र त्यसले आफुलाई उल्टी भएको अस्मीले दिदीलाई बताएकी थिइन्। सामान्य चिनजान भएको केटाले उक्त दिन आफुलाई बलात्कार गरेको भेउ पाएपछि अस्मीको मनोविज्ञान खलबल भएको थियो।

त्यसैले परिक्षा सकिएपनि उनी घर आउन मानिरहेकी थिइनन्। तर, आफन्तको जिद्दीले उनी घर आइन्। उनले घटनाबारे दिदी राधालाई बताएपनि अरु कसैलाई नभन्न आग्रह गरेकी थिइन्। दिलेन्द्रले कसैलाई घटनाबारे बताएमा क्याम्पसमा बदनाम गरिदिने धम्की दिएपछि धेरै पटक आमालाई बताउने प्रयास गरेतापनि भन्न नसकेको राधा बताउँछिन्। त्यही घटनाले मानसिक तनावमा रहेकी अस्मीको स्वास्थ्यसमेत बिग्रेकाले उनलाई चिकित्सककहाँ लगिएको थियो। चिकित्सकले एक्लै भेटेर घटनाबारे बताउन आग्रह गरेपनि उनी मौन बसेकी थिइन्।

आफुसँग गरिएको दुष्कर्मबारे मनमा कुरा खेलाउँदा खेलाउँदै अन्तमा उनी देहत्याग गर्ने निर्णयमा पुगिन्।

प्रहरीले अस्मी आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ बर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ। अस्मीका आफन्तले मंगलबार शाही र अस्मीकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताए। दिलेन्द्रलाई कैलालीमा झिकाइएको छ।

अस्मीको न्यायका लागि आफन्तले अत्तरियामा प्रदर्शन नै गरेका थिए। अस्मीलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारवाहीको माग गर्दै अत्तरियामा हिजो प्रदर्शन गरिएको थियो। लक्ष्मी भने अहिले फरार छिन्। तर, उनले राधालाई फोन सम्पर्क गरेर आफ्नो केही गल्ती नभएको र कैलाली आउने जानकारी दिएकी छिन्।