कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो – Nagarikabhiyan : National News

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो

काठमाण्डाै –कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । आज शुक्रवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।
२०७९ साल मङ्सिरमा भएको प्रदेश सभा चुनावपछि पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कार्कीले हिजो बिहीवार प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राख्नुभएको थियो । त्यसमाथि आज मत विभाजन भएको हो । उहाँको प्रस्ताव अस्वीकृत भएको सभामुख बाबुराम गौतमले प्रदेश सभामा घोषणा गर्नुभयो ।

विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत परेको छ । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । कार्कीलाई नेकपा एमाले का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का छ जना सांसदले मत दिए । मतदानमा ८९ सांसद सहभागी भएकामा प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० ले विपक्षमा मतदान गरे । प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १२ सभामुखबाहेक, एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।

केन्द्रमा गठबन्धन फेरबदल भएसँग त्यसको असर प्रदेशमा पनि परेको हो । यसअघि पाँच वटा प्रदेश सरकार फेरबदल भएका थिए । कोशीमा पनि माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले विश्वासको मतको प्रस्ताव राख्नुभएको हो । उहाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकारले ढलेको छ । मुख्यमन्त्री कार्की पदमुक्त भएसँगै कोशी प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ ।