१७ जेष्ठ २०७९, मंगलवार १८:४९ – Nagarikabhiyan : National News

परिवार नियोजनको साधन प्रयोग गर्ने आझै कम

जन्मान्तर र जनसंख्या निन्यन्त्रणका लागि प्रयोग गरिने अस्थायी र स्थायी परिवार नियोजनाका साधन सुनसरी जिल्लामा आफै न्यून रहेको छ । परिवार नियोजनका साधन प्रयोगकर्ता ५० प्रतिशतभन्दा कम रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । जिल्ला सदरमुकाम इनरुवामा स्वास्थ्य कार्यालय सुनसरी र बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टर राजविराजको आयोजनामा सम्पन्न भएको परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजान शिशु विषयक अन्तरकृया कार्यक्रममा दिएको जानकारी दिनुभयो पछिल्ला वर्ष परिवार नियोजन र यसका साधनबारे प्रचारप्रसार धेरै भए पनि ५३ प्रतिशतले परिवार नियोजन साधनको प्रयोग नगरेको पाइएको छ । जिल्लामा दुई वर्षदेखीको कोरोना कहर सहित विभिन्न कारण र केही समुदायमा धार्मिक अन्धविश्वाशका कारणले परिवार नियोजनका साधन प्रयोगकर्ता ५० प्रतिशतभन्दा कम रहेको जनस्वास्थ्य अधिकृत दिक्षा श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले जिल्लाको तथ्यांक प्रस्ुतत गर्नुहुदै परिवार नियोजन साधन प्रयोग कर्ता ४७ प्रतिशत रहेको, सुरक्षित मातृत्व तथा नवजान शिशुको हकका पहिलो पटक गर्भवती भएकी मध्ये ११४ दशमलव १ प्रतिशतले गर्भ जाँच गराएको भएको पनि चार पटक गर्भ जाचँ गराउने संख्या ६५ प्रतिशत मात्रै रहेको जानकारी दिनुभयो वहाँले गर्भ बसेदेखी प्रसुती भएको ४५ दिनपछिसम्म नियमित जाचँ गर्नुपर्नेमा कुल ३२ प्रतिशतले मात्रै जाच गराउने रहेको तथ्य सुनाउनुभयो । गर्भवती मध्ये ४१ प्रतिशतले मात्रै अझैसम्म स्वास्थ्य संस्थामा प्रसुति गराउने गरेको तथ्यांक रहेको छ । पछिल्ला वर्ष परिवार नियोजन र यसका साधनबारे प्रचारप्रसार धेरै भए पनि जिल्लामा अझै पनि यी साधनको प्रयोग न्यून पाइएको छ । सुनसरी जिल्ला अरुको तुलानमा बढी भएपछि विशेषगरी गाउँका गरिब समुदाय, दुर्गम क्षेत्र, दलित र मुस्लिम समुदायमा यसको प्रयोग न्यून देखिएको स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईले बताउनुभयो । ती समुदायमा प्रचारप्रसार गरिएको भएप िपरिवार नियोजनका साधनको उपयोगिताबारे सचेतना अझैपुगेको छैन, यसलाई सचेतना, जनचेतना र शिक्षाद्वारा मात्रै परिवर्तन गर्न सकिने प्रसाईको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व प्रदेश सदस्य जयकृष्ण यादवले परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजान शिशुको सवालमा जिल्लाका संचारकर्मीहरुले स्वहस्फूत रुपमा काम गर्दै आएको र थप योगदान गर्न तयार रहेको बताउनुभयो ।
आयोजक संस्थाका इन्द्रबहादुर बानियाँका अनुसार परिवार नियोजनका साधन प्रयोगले शरीरलाई कमजोर पार्ने, रोग लाग्ने, देवता, भगवान, अल्लाह रिसाउने, बाँझोपन हुनेजस्ता गलत बुझाइका कारण यसको प्रयोग बढ्न नसकेको हो । स्वास्थ्य सर्वेक्षण– २०१६ अनुसार नेपालमा ४३ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ । भने अहिले आएर ४७ प्रतिशतले परिवार नियोजनाको साधन प्रयोग गरेको विश्वकै तथ्यांक हेर्ने हो भने यसको प्रयोग ६४ प्रतिशत रहेको बानियाँको कथन छ ।
बानियाँले भन्नुभयो, “परिवार नियोजनका साधनलाई पहिले बच्चा नजन्माउने उपायको रूपमा मात्रै लिइन्थ्यो । आजभोलि यसलाई किशोरकिशोरी स्वास्थ्य सुधार, नवजात तथा बालस्वास्थ्यसँग पनि जोडेर हेरिन्छ ।” ‘यो महिला सशक्तीकरण र आर्थिक उत्थानसँग पनि जोडिएको छ, यसको प्रयोग बढाउन अभियान नै आवश्यक छ ।’
‘परिवार नियोजन कार्यक्रम स्वास्थ्यसँग मात्रै जोडिएको छैन, यो शिक्षा, वातावरण लगायत बहुविषयगत कुरा हो, यसको विस्तार हुन आवश्यक छ ।’ वैदेशिक रोजगारका कारण पनि यस्ता साधनको प्रयोग घटेको बानियाँले भन्नुभयो । ‘दम्पती लामो समयसम्म छुट्टिएर बस्छन् । उनीहरूबीच यौनसम्पर्क नै हुँदैन, अनि कसरी प्रयोग बढोस् ?’ उहाँले भन्नुभयो ।
यस्ता साधनले अनिच्छित गर्भ हुन नदिई गर्भपतन रोक्ने हुनाले मातृ मृत्युदर घटाउनसमेत मद्दत गर्ने बानियाँ बताउँनुहुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार अनिच्छित गर्भ रहेका सबै महिलाले परिवार नियोजनका साधन प्रभावकारी रूपमा प्रयोग गरे मातृ मृत्युदर ३० प्रतिशत घट्छ । किशोरी अवस्थामा गर्भको कारण हुने मातृ मृत्युदर २० वर्षमाथिका महिलामा दोब्बर भइरहेको संगठनको तथ्यांक छ । नियोजनका साधन प्रयोग गरी जन्मान्तर घटाउनुपर्ने चिकित्सकहरूको सुझाव छ । ‘दुई वर्षभन्दा कम अन्तरमा बच्चा जन्माए बच्चाको मृत्यु हुने जोखिम धेरै हुन्छ,’ स्वास्थ्य प्रमस प्रसाईले भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्काले परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजान शिशुको सवालमा संचारकर्मीहरुले आफ्नो तहबाट सहयोग गर्दै आएको र थप गर्न तयार रहेको बताउनुभयो । यी विषयहरुमा पत्रकारहरुलाई समेत खोज र अनुशंधानमुलन समाचार र स्टोरीका लागि समन्वय गर्न समेत सरोकारबालाहरुलाई आग्रह गर्नुभयो । अन्तरकृया कार्यक्रममा स्वास्थ्य र संचार क्षेत्रका सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।
१, सुनसरी सदरमुकाम इनरुवामा आयोजित परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजान शिशु विषयक अन्तरकृया कार्यक्रममा सहभागि सरोकाबरालाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

 

जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइयो

काठमाडौं । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शब हिजो सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शब अहिले नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

उहाँका अनुसार काठमाडौँ ल्याएका शबहरु त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शबहरुलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सोमबार नै विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग समेत गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा अझैपनि कुहिरो लागेको बताइएको छ । आइतबार मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो । पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।

जहाजमा चालक दलका तीनजना क्याप्टेन प्रभाकर घिमिरे सहचालक उत्सब पोख्रेल, परिचालिका किस्मि थापासहित नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुसोत्म गोले, राजनकुमार गोले, बसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तमाङ, राममाया तमाङ, सुकमाया तमाङ, तुलसादेबी तमाङ रहेका थिए। यस्तै जहाजमा भारतीय नागरिकमा भाइ भाइ बन्देकर, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, रितिका त्रिपाठी रहेका थिए ।

यसैगरी जर्मन नागरिकमा मेकग्रीफ्ट ग्राफ तथा वइ वइल्नर सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

आइजिपी बढुवाविरुद्धको सुनुवाइ आज

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरूद्धको सुनुवाइ आजदेखि हुने भएको छ ।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियो । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार आजदेखि उक्त विवादमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर स

अभिनेत्री मिरुनाविरूद्ध चाबहिलमा प्रदर्शन, भिक्षुलाई रिहा गर्न माग

काठमाडौँ । कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलमा प्रदर्शन भएको छ । आफूमाथि दुव्र्यवहार गरेको भन्दै एक भिक्षुमाथि आरोप लगाएर थप्पड समेत हानेकी मगरविरुद्ध चाबहिलको केएल टावरअघि प्रदर्शन भएको हो ।

आज (मंगलबार) बिहान १० बजेदेखि त्यहाँ प्रदर्शन भइरहेको छ । उनीहरुले अभिनेत्री मगर विरुद्ध नाराबाजी गर्दै सो घटनामा पक्राउ परेका भिक्षु २४ वर्षीय फुर्वा तामाङ (लामा) लाई रिहा गर्न समेत माग गरेका छन् ।

कबड्डी ४ फिल्मको प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै आइतबार मुगु घर भएका लामालाई प्रहरीले पक्राउ गरेको थियो । अभिनेत्री मगरले लामामाथि थप्पड समेत हानेकी थिइन् । लामाले भने आफूले अभद्र व्यवहार नगरेको भन्दै विरोध गरेका छन् । उनको समर्थनमा प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले  कबड्डी ४ फिल्मकाे पोष्टर समेत जलाएका छन् ।

एक घण्टासम्म उडान रोकियो, पोखरा विमानस्थलमा अहिले सामान्य

पोखरा । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि करिब एक घण्टासम्म उडान–अवतरण रोकिएको छ । बिहान नौ बजेपछि भने उडान–अवतरण जारी रहेको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।

हवाई जहाजमा तेल भर्न जाँदै गर्दा एउटा ट्यांकर रनवेको नजिकै पल्टिएर तेल पोखिएको थियो । ‘संवेदनशील क्षेत्रमा भएकाले आठ बजेदेखि नौ बजेसम्म उडान–अवतरण रोकियो, नौ बजेपछि भने अहिले नर्मल छ,’ पोखरा विमानस्थलका प्रवक्ता सुवेदीले भने ।

विमानस्थलमा तेल पोखिए पनि ठूलो क्षति भने हुन पाएन । पल्टिएको ट्यांकर क्रेनको सहायताले उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम गरिएको थियो ।

 

तारा एयरको हवाईजहाज दुर्घटना : भेटियो ब्ल्याक बक्स

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ ।

दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए ।

ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले हवाई जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।

यसैबीच हवाई जहाज दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव पनि भेटिएको मल्लले जानकारी दिए । ‘सबै २२ वटा शव र ब्ल्याक बक्स भेटियो र हामी मिसन कम्प्लिट गरेर त्यहाँबाट फर्किसक्यौं,’ मल्लले अनलाइनखबरसँग भने ।

सोमबारसम्म भिरमा अड्किएको शव निकाल्न बाँकी थियो भने हराइरहेको अर्को एउटा शवको खोजी जारी थियो । आज बिहान भने सबै शव संकलनको काम सकिएको छ ।

दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीका सदस्यहरू
घटनास्थलबाट संकलन गरिएका शव आज बिहान कोवाङ ल्याइएको र ती शवलाई काठमाडौं पठाउने तयारी भइरहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए । मानापाथी हिमालको फेदीमा संकलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको थियो ।

सोमबार नेपाली सेनाको हेलिकोप्टरबाट १० शव काठमाडौं ल्याइएको थियो । ती शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाइँदै छ ।

३ जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट भएकाले शव र यात्रुका सामान संकलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको छ । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थलसम्म पुग्न चार घण्टा उकालो हिंड्नुपर्छ ।

पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा उडान रोकिए

पोखरा । पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बिहान हवाईजहाजमा तेल हाल्न जाने क्रममा ट्याङकर पल्टिएपछि विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेको जानकारी दिनुभयो ।

आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्याङ्कर पल्टिएको हो । अहिले क्रेनको सहायताले उठाउने काम भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रिफ्युलर’ ट्याङ्कर पल्टिएकाले अहिले यहाँबाट हुने सम्पूर्ण उडान रोकिएको छ । क्रेनको मद्दतमा त्यसलाई हटाउन सुरु गरेका छौँ, आधा घण्टापछि सञ्चालन होला ।” ट्याङ्कर उठाएर विमानस्थलमा पोखिएको तेल सफा गरेपछि उडान सञ्चालन हुने बताइएको छ ।

बलात्कारसम्बन्धी उजुरीमा हदम्याद हटाउन सङ्कल्प प्रस्ताव दर्ता

काठमाडाैँ । सङ्घीय संसद् सचिवालयमा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।नेपाली कांग्रेस सांसद डा डिला सङ्ग्रौला पन्त, प्रमिला राई, रङ्गमती शाही र सुजाता परियारले बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सोमबार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८४ बमोजिम सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो ।

विसं २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा बलात्कारसम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद एक वर्ष तोकिएको तर समाजको आवश्यकता बदलिँदो परिवेशलाई हेरेर हदम्यादको विषय परिवर्तन गर्न र बलात्कार हदम्याद नराखी कानुन संशोधन गर्नुपर्ने बताइएको छ ।

यस्तै बलात्कार पीडितलाई राज्यले निःशुल्क स्वास्थ्य क्षतिपूर्ति तथा मानसिक उपचार एवं परामर्शको व्यवस्था गर्नसमेत माग गरिएको छ । बलात्कारसम्बन्धी कानुनलाई थप कडा बनाई बलात्कार पीडितको सुरक्षा तथा पुनःस्थापना जिम्मा राज्यले लिन, बलात्कारसम्बन्धी भइरहेको कानुनको पूर्ण कार्यान्वयन गराउँदै आफूमाथि भएको यौन हिंसाविरुद्ध बोल्न महिलाहरूलाई साहस थप्न पनि सङ्कल्प प्रस्ताव सदनमा दर्ता गर्न आवश्यक छ भनिएको छ ।

बजेटमाथि सैद्धान्तिक छलफल आजबाट

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज (मंगलबार) बजेटमाथि सैद्धान्तिक छलफल शुरु हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल शुरु हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।

जहाज दुर्घटनामा मृत्यु भएका थप १० जनाको शव कोवाङ ल्याइयो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ । मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो ।

मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी जारी रहेको जानकारी दिए ।

‘सोमबार नेपाली सेनाको हेलिकोप्टरले १० शव काठमाडौँ लगिसकेको छ”, उनले भने, “आज घटनास्थलबाट कोवाङ ल्याइएका शवलाई पनि काठमाडौँ पठाउने तयारीमा छौँ ।”

तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।

करिब १०० नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेका थिए । अरु फर्किए पनि सेना र प्रहरीको १४ जनाको उद्धारको तालिमप्राप्त सुरक्षाकर्मी सानोसरेमा पाल टाँगेर बसेका थिए ।

घटनास्थल पुगेर फर्किएका स्थानीयवासी इन्द्रसिंह शेरचनले विमानको पखेटा पहाडमा ठोक्किएर तल झरेको देखिने बताए । “विमान भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको देखिन्छ”, उनले भने, “शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए । केही तल्लो डिलमुनि पुगेका थिए ।”

सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो । उनीले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाएका थिए ।

बागमती प्रदेश सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा आज प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज सो बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । यही जेठ १३ गतेदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।

बैठकमा उहाँले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनाउने, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, एक वडा एक पशु कार्यालय खोल्ने रहेको छ ।

त्यस्तै विद्युतीय सार्वजनिक सवारीसाधनको व्यवस्थापन गर्ने, स्मार्ट लाइसेन्सको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधनको विद्युतीय सेवाका माध्यमबाट भाडाको व्यवस्थापन गर्ने, सडक निर्माण तथा विस्तारको कामलाई निरन्तरता दिने र यातायात क्षेत्रको व्यवस्थापनका लागि ट्राफिकसँग समन्वय गर्ने, प्रदेशस्तरीय खेलकूदको आयोजना गरिने नीति तथा कार्यक्रममा छ ।

साथै श्रम तथा रोजगारीको व्यवस्था, कृषिको विकास, कृषिको क्षतिपूर्तिलगायत मलखाद्यको व्यस्थापन, उद्योग कलकारखानाको विकास, संरक्षण र लगानीका विषयलाई कार्यक्रममा समेटिएको छ ।

प्रधानसेनापति शर्माको अमेरिका भ्रमण स्वीकृत

काठमाडाैँ । सरकारले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युएनआइएफआइएलएल, लेबनान र युएनडिओएफ, सिरिया तथा मित्रराष्ट्र संयुक्तराज्य अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले बेल्जियमको राजधानी ब्रसेल्समा यही जेठ १८ देखि १९ गतेसम्म आयोजना हुने ‘ग्लोबल समिट २०२२ टर्निङ द टाइड अन चाइल्ड सेक्सुअल अबुउज अनलाइन’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेतमा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृति दिने, गणतन्त्र दिवस, २०७९ का अवसरमा उपमाकान्त पराजुलीसमेत १६ व्यक्तिको सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने, सुरक्षण मुद्रण विकास समिति गठन (तेस्रो संशोधन) आदेश, २०७९ को दफा ६ को उपदफा ९३० बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकका लागि थप गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा पदाधिकारी रहेका जनसङ्ख्या प्रमुख कन्सलटेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट डा जागेश्वर शर्मा गौतमले दिनुभएको राजीनामा स्वीकृत गर्नुका साथै लोक सेवा आयोगको सिफारिसबमोजिम निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापन गर्ने गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले बजेट तथा अर्थसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेश गर्ने, मूल्य अभिवृद्धि कर (चौबिसौँ संशोधन) नियमावली, २०७९ अन्तःशुल्क (तेइसौँ संशोधन) नियमावली, २०७९ः भन्सार (तेह्राैँ संशोधन) नियमावली, २०७९ र आयकर (तेहौँ संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने अभियान

जीबछ यादव

लहान, जेठ १६ गते । स्थानीय चुनावका कारण पछि परेको विद्यालय भर्ना अभियानलाई सामुदायिक विद्यालयहरुले प्राथकितामा राखेर ‘सबै बालबालिकालाई विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरौं’ मूल नाराका साथ विद्यार्थीलाई भर्ना गराउने अभियानलाई तीव्रता दिएका छन् ।

विगतको तुलनामा सामुदायिक विद्यालयतर्फ आकर्षण बढिरहेकाले भर्ना अभियानलाई सरोकारवालाको अगुवाइमा तीव्रता दिएको लाहान नगरपालिका शिक्षा शाखाका प्रमुख अमिरी यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १७ वटै पालिकाले अभियानलाई अघि बढाइरहेका छन् । लाहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयमा सो अभियान सन्तोषजनक रहेको विद्यालयका प्रतिनिधिहरुको भनाइ छ ।

लहान–१० स्थित श्री जनता आधारभूत विद्यालय बैरिया गुँदीगाउँका प्रधानाध्यापक रङ्गलाल साहले भन्नुभयो, ‘सामुदायिक विद्यालयप्रति समुदायको ध्यान केन्द्रित भएको छ । विगत वर्षको तुलनामा विधार्थी भर्ना रफ्तारमा गति लिएको छ ।’

‘हामी निर्वाचित भएर आएका छौं । मतदातासँग सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयजस्तै गुणस्तरीय पढाइ गराउने प्रतिबद्धता गरेका छौं’, भगवानपुर गाउँपालिकाको अध्यक्ष उग्रनारायण यादवले बताउनुभयो ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन समाजका अगुवाहरु, राजनीति दलका प्रमुखहरु र निर्वाचित जनप्रतिनिधिले समेत प्राथमिकतामा राखेर सकारात्मक सहयोग गर्न थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको चाप बढिरहेको लहान–१४ मा रहेको शैक्षिक इतिहास कायम गरेको श्री बस्तीपुर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम गिरीको भनाइ छ ।

शिक्षा विकास समन्वय एकाइ सिरहाका प्रमुख महेन्द्र महतोका अनुसार सामुदायिक विद्यालय सुधारका लागि सबैको चासो बढ्न थालेपछि यसको सकारात्मक असर देखा पर्न थालेको बताइएको छ । अझै सरोकारवालाहरु सबैले साझा धारणा बनाएर अघि बढ्नुपर्ने र अनुगमन गर्ने निकायहरु सक्रिय हुनुपर्ने गिरीले तर्क गर्नुभयो ।

तारा एयरको विमान दुर्घटना : चालक दलसहित सबै यात्रुको शव भेटियो

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका सबै यात्रुको शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सिरानमा रहेको चट्टानी पहरामा विमानका अवशेषहरु सँगै लासहरु यत्रतत्र छरिएर रहेको अवस्थामा भेटिएका हुन् ।

भेटिएका मध्ये आधा जति लासहरु पहराबाट उठाएर बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ भने अन्य लासहरु पनि झार्ने क्रम जारी छ । मौसमी तथा भौगोलिक प्रतिकुलताका कारण उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ ।

अहिले पनि सुरक्षाकर्मीहरुको टोलीले उद्धारको प्रयास जारी राखेको छ । संकलित शवहरुको पोष्टमार्टम तथा मुचुल्का बनाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहानदेखि बेपत्ता रहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सो दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । आर्थिक वर्ष २०७९र८० को बजेटबारे छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । सोमबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए । उक्त बजेटमाथि पार्टीको धारणा बनाउन बैठक बस्न लागेको भट्टराईले बताए ।

एमालेका नेताहरुले प्रारम्भिक प्रतिक्रियामा आगामी आम निर्वाचन प्रभावित पार्ने गरी स्रोतको ख्यालै नगरी बजेट ल्याएको भन्दै आलोचना गरेका थिए ।

सगरमाथा आधार शिविरमा जलवायु परिवर्तन सम्मेलन

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन’ सम्पन्न भएको छ । विश्व कीर्तिमानी समाजको आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा (मे २९) आइतबार सगरमाथा आधार शिविरमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

वर्तमान परिस्थितिमा जलवायु परिर्वतन र त्यसको असर न्यूनीकरणका सवालमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले अमेरिकी वातावरण वैज्ञानिकको सहभागितामा उक्त सम्मेलन सम्पन्न गरिएको विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्च राईले जानकारी दिनुभयो ।

सम्मेलनमा युनिभर्सिटी कोलोराडो अमेरिकाका वातावरण वैज्ञानिक जोन्ना लेम्बर्ट र कोलोराडो स्टेट युनिभर्सिटीका वैज्ञानिक जोयल बर्गरको सहभागिता रहेको थियो । उहाँहरुले विश्वमा जलवायु परिर्वतनको वर्तमान अवस्था, प्रभाव र न्यूनीकरण विषयमा प्रतिवेदन पेश गर्नुभएको थियो ।

वातावरण वैज्ञानिकको सहभागितामा सगरमाथा आधार शिविरमा जलवायु परिवर्तनको सवालमा विश्वको ध्यानाकर्षण गराउन सम्मेलन भएको संयोजक पूर्ण राईले जानकारी दिनुभयो ।