१६ जेष्ठ २०७९, सोमबार १४:५७ – Page 2 – Nagarikabhiyan : National News

सम्बन्ध विच्छेद अघि नेपाल घुम्न छोरा-छोरीसहित आएका भारतीय जोडी, जाे विमान दुर्घटनामा परे !

काठमाडौं । तारा एयरको विमान दुर्घटना सँगै एक भारतीय जोडिसहित परीवारकै दुख:द तथा रोचक अन्त्य भएको छ ।

आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज मुस्ताङकै थासाङ – २ मा दुर्घटनाग्रस्त भएको पाइएको छ । उक्त जहाजमा एक भारतीय परिवारको पनि दुख:द अन्त्य भएको छ ।

जो परीवारका श्रीमान र श्रीमति नेपालको भ्रमण गरेर सम्बन्ध विच्छेदको तयारीमा थिए । तर उनीहरुको नेपाल भ्रमणकै क्रममा दुर्घटनामा परि निधन भयो । त्यहाँ सम्बन्ध विच्छेदको तयारीमा रहेका श्रीमान श्रीमति मात्रै परेनन् उनीहरुको एक छोरा र एक छोरीको पनि सँगै ज्यान गयो ।

चालक दलका ३ सदस्यसहित २२ जनाको मृत्यु भएको उक्त जहाजमा भारत महाराष्ट्रको ठाणेका पनि थिएछन् । तारा एयरका अनुसार उनीहरु एकै परिवारका चार जना थिएछन् । उनीहरु थिए, ‘अशोक त्रिपाठी (श्रीमान), वैभवी बाँडेकर–त्रिपाठी (श्रीमति) धनुष त्रिपाठी (छोरा) र छोरी ऋतिक त्रिपाठी (छोरी)।’

उनीहरु पनि दुर्घटनामा परेको जहाजमा सवार रहेको नेपालस्थित भारतीय दूतावासले पुष्टि गरेको छ । अशोक र उनीकी श्रीमती वैभवीसँग यही साताभित्र सम्बन्ध विच्छेद हुन लागेको थियाे । उनीहरु अलग्गैसमेत बस्दै आएका थिए ।

उनीहरुको सम्बन्ध विच्चेदको मुद्धा अदालतमा थियो । अदालतले भनेको थियो, ‘अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै रहन सक्नुहुन्छ।’

अदालतले दिएको उक्त समयमा उनीहरु आफ्नो चारैजना परीवार नेपाल घुम्ने योजनाकासाथ नेपाल आएका थिए । सो क्रममा उनीहरु मुस्ताङ घुम्न आएका थिए । तर उनीहरुको दुर्घटनामा परि ज्यान गएको छ ।

सम्बन्ध विच्छेदको तयारीमा रहेका उनीहरुका छोरा छोरी दुवै आमा वैभवीसँग बस्ने गरेको र अशोक भने एक्लै बस्ने गरेको बताइएको छ । वैभवीको माइतीतर्फ आमामात्रै रहेकोले आफ्ना छोराछोरीलाई आमासँगै राख्ने गरेको बताइएको छ।

वैभवी मुम्बईको बान्द्रा (कुर्ला) कम्प्लेक्सस्थित एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्थिन् भने छोरा धनुष इन्जिनियरिङमा उत्तीर्ण छन् भइसकेका थिए । त्यस्तै छोरी ऋतिका स्कुलमा पढ्ने गरेकी थिइन् ।

अशोक पनि एक धनाढ्या परीवारका सन्तान थिए । उनका बुबा पूर्वजिल्ला न्यायाधीश रहेको बुझिएको छ । यद्यपि उनका बुबा भने दिवांगत भइसकेका थिए ।

मेयर बालेन साहको पहिलो निर्णय : नगरसभाको बैठक ‘लाइभ’ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे कार्यपालिका बैठक बोलाउने र बैठक लाइभ गर्ने निर्णय गरेका हुन् ।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन् ।

उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।’

त्यस्तै, नगर उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छिन्।

काठमाडौं महानगरका मेयर बालेन साहले लिए शपथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सोमबार शपथ लिएका छन् ।

स्वतन्न्र तर्फ लौरो चुनाव चिन्ह लिएर धरानको मेयरमा निर्वाचित भएका नगर प्रमुख बालेनलाई मुख्य निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका हुन् ।

तारा एयरको विमान दुर्घटना : १४ जनाको शव भेटियो

काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी छ ।

अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।

बजेटमा बक्तव्यमा चितवन : सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल प्राथमिकतामा

काठमाडौं । आर्थिक वर्ष २०७९\०८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रङ्गशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो । बजेटमा काठमाडौँबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी द्रुत मार्ग निर्माण गरिने उल्लेख छ ।

चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गरिने उल्लेख छ ।

यस्तै चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निधि क्षेत्रको लगानीमा निर्माण गर्न लगानीबोर्डमार्फत प्रक्रिया अघि बढाईने उल्लेख छ ।

यस्तै पथलैया–हेटौँडा–नारायणगढ सडक विस्तार गरिने बजेटमा उल्लेख गरिएको छ । नागढुङ्गा–नौबीसे–मुग्लिन र मुग्लिन–पोखरासम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । यो दुई सडक खण्डको चितवन हुँदै जाने सडक हुन् ।

बजेटमा नारायणगढस्थित नारायणी नदीमा बहुउद्देश्यीय सिग्नेचर पुल निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ । चितवनको रामपुरमा निर्माणा रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पूरा गरिने भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको उक्त रङ्गशाला बजेट अभाव भएपछि निर्माण कार्य रोकिएको थियो । बजेटमा प्रदेश र स्थानीय तहको साझेदारीमा रङ्गशालाको काम अघि बढाउने उल्लेख छ ।

नारायणी नदीमा सहरी करिडोरका रुपमा तटबन्ध निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ । नदीको वहाव नियन्त्रणको कार्ययोजना बनाइ कटान र डुबान नियन्त्रण गर्ने उल्लेख छ ।

चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।

अर्थमन्त्री शर्माले चितवनको शक्तिखोरलगायतका सम्भावित क्षेत्रमा निजी–साझेदारी अवधारणाअन्तर्गत औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्ने बताउनुभएको हो ।

चितवनमा निर्माण गरिने शिक्षक अस्पतालका लागि पनि बजेट विनियोजन भएको छ । भरतपुर महानगरपालिका वडा नं १५ भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने यसअघि नै सरकारले निर्णय गरिसकेको थियो ।

बजेटमा अमलेखगञ्जदेखि चितवनको भण्डारासम्म पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण गर्ने उल्लेख छ । सरकारले भण्डारामा यसअघि नै जग्गा अधिग्रहण गरिसकेको छ ।
पूर्वी चितवनको कठारमा रिक्रियसन सेन्टर निर्माण गर्ने बजेट वक्तव्यमार्फत उल्लेख छ । भरतपुरको शारदानगर खानेपानी आयोजनालाई एक वर्षभित्र सम्पन्न गर्ने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको उल्लेख गर्नुभएको छ । साथै उहाँले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशीतालाई सुनिश्चित भएको समेत बताउनुभएको छ । आज जेठ १६ गते महिलाको सम्मान सभ्य समाजको पहिचान’ भन्ने राष्ट्रिय नाराका साथ चौथो राष्ट्रिय महिला अधिकार दिवस देशभर मनाइँदैछ ।

प्रधानमन्त्री देउवाले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्ण व्यक्ति तथा सङ्घसंस्थामा शुभकामना व्यक्त गर्नुभएको छ । लैङ्गिक समानता, न्याय र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप अहिले राजनैतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीयरूपमा वृद्धि भएको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट राज्यले महिला हकअधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमबाट राम्रो प्रतिफल प्राप्तः भएको मान्न सकिने बताउनुभएको छ । नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ ।

महिला सशक्तीकरण हामी सबैको सरोकारको साझा विषय भएकाले यस विषयमा सबैले समन्वयात्मक तवरले पहलकदमी लिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विभिन्न कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न तथा विकासका समग्र पक्षमा महिलालाई मूलप्रवाहीकरण गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

दिगो विकासका लागि पुरुष र महिलाको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य हुने उल्लेख गर्दै उहाँले यस तथ्यलाई मध्यनजर गरी सरकारले राज्यको सबै तह र संरचनामा महिलालाई अधिकाधिक प्रतिनिधित्व गराउने नीति लिँदै आएको बताउनुभएको छ । नेपाल सरकारले लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति लिई कार्य गर्दै आएको बताउँदै प्रधानमन्त्री देउवाले आगामी दिनमा यस नीतिलाई अझ प्रभावकारी इङ्गले कार्यान्वयन गरिने दृढता व्यक्त गर्नुभएको छ ।

दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी लैङ्गिक समानता र महिला सशक्तीकरणको लक्ष्य हासिल गर्ने सरकारको अभियानमा सबै एकजुट भएर लाग्न सम्पूर्ण देशवासीमा आह्वान गर्दै उहाँले दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

कक्षा १२ को परीक्षा सुरु

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब चार लाख १५ हजार परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले सबै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाएको जानकारी दिए ।

परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था गरिएको छ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।

बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न गर्न बोर्डलेसबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेको छ ।

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं । आइतवार देखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

सुनसरीको देवानगंज गाउँपालिका सहित देशै भर हर्षोल्लासका साथ बटसावित्री अर्थात बरसाईत पर्व मनाउँदै

देवानगंज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगंज गाउँपालिका सहित देशैभर आज विवाहित महिलाहरुले हर्षोल्लासका साथ बटसावित्री अर्थात बरसाईत पर्व मनाउँदै छन् ।

जेठ महिनाको अमावश्याका दिन मनाइने यस पर्वमा विवाहित महिलाहरु आफनो पतिको दिर्घायुको कामना गर्दै श्रद्धापूर्वक पूजा पाठ गर्ने गरिन्छ ।

घर नजिकैको धार्मिक स्थलको बरको रुख मुनी बसेर पतिको दिर्घायुको कामना गर्दै सुनसरीको सिमावर्ती क्षेत्र देवानगंज गाउँपालिका सहित विभिन्न पालिकाका महिलाहरुले बटसावित्री पर्व धुमधामसँग मनाउँदै छन् ।

पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुखको फेदमा बसेर कठोर ब्रत गरी आजैको दिन आफना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले पनि आफ्ना पतिको दिर्घायुका लागि बटसावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको छ ।

त्यसैगरी यस अवसरमा महिलाहरु पोखरीको डिलमा रहेको बरको रुखमा पूजाआजा गर्ने गर्दछन् । बटसावित्री पर्वको अवसरमा पूजा अर्चना गर्न गाउँघरमा रहेको बरको रुख नजिक बिहानैदेखि महिलाहरुको भिड लागेको छ । नव विवाहिताहरु एकदिन अगाडीनै चोखो भएर अरबा अरबाइइन शुद्ध खानेकुरा खाने गर्दछन् भने बटसावित्री पर्व गर्ने सबै महिलाहरु नयाँ बस्त्र लगाई बटसावित्रीको गीत गाउँदै समुहमा पूजा गर्न बरको रुख नजिक पुग्ने गर्दछन् ।

बटसावित्रीको पूजा सामग्रीमा आँप, लिच्ची, मकैको लावा र दुध रहने गरेको छ । पौराणिक मान्यता अनुसार आजकै दिन मृत्यु देवले सावित्रीको पतिको प्राण लिने प्रयास गरेको तर सावित्रीले देखाएको मायाका कारण यमदूतले समेत उनको पतिको ज्यान लिन सकेका थिएनन् । यसैकारण मिथिलाञ्चलका नारीहरु बटसावित्री पूजा गर्ने गर्दछन् ।

२२ सार्वजनिक संस्थान नाफामा र १९ वटा घाटामा

सरकारी स्वामित्वमा सञ्चालन भएका २२ सार्वजनिक संस्थान नाफामा र १९ वटा घाटामा छन् । आव २०७७/७८ मा सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २२ वटा नाफामा र १९ वटा घाटामा रहेको अर्थ मन्त्रालयले जनाएको छ । कोभिड महामारीका कारण संस्थानको नाफा घट्दै गएको हो ।

नाफामा सञ्चालन भएका संस्थानहरूबाट आव २०७७/७८ मा सरकारले छ अर्ब ७२ करोड १४ लाख रुपियाँ लाभांश प्राप्त गरेको छ । आव २०७६/७७ मा यस्तो नाफा १४ अर्ब नौ करोड ९५ लाख रुपियाँ थियो, जुन ५२.३३ प्रतिशतले कमी हो ।

आव २०७७/७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा १.५१ प्रतिशतले वृद्धि भई चार खर्ब ३५ अर्ब १७ करोड ३९ लाख रुपियाँ पुगेको छ । आव २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादन र कुल सञ्चालन आयको अनुपात १०.१७ प्रतिशत छ । सो आर्थिक वर्ष सार्वजनिक संस्थानबाट प्राप्त भएको १४ अर्ब ८२ करोड नौ लाख रुपियाँ आयकर प्राप्त भएको छ ।

आव २०७७/७८ मा नाफामा सञ्चालित २२ संस्थानको खुद नाफा ४०.३० प्रतिशतले घटेको छ भने नोक्सानीमा सञ्चालित १९ संस्थानको खुद नोक्सानी ३.६१ प्रतिशतले बढेको छ ।

आव २०७७/७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३.३५ प्रतिशतले वृद्धि भई एक खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको छ । सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा ३६.३६ प्रतिशतले कमी आई २१ अर्ब ७८ करोड ६६ लाख रुपियाँ कायम भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा संस्थानको कुल सञ्चालन आय चार खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रहेकामा आर्थिक वर्ष २०७७/७८ मा १.५१ प्रतिशतले वद्धि भएर चार खर्ब ३५ अर्ब १७ करोड ३९ लाख पुगेको छ ।

गत आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ४५.४२ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ३५ करोड ८८ लाख पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा जम्मा छ अर्ब ७२ करोड १४ लाख लाभांश प्राप्त भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ५२.३३ प्रतिशतले कम हो ।

सबै संस्थानको सञ्चित नाफा (सञ्चित नोक्सान कटाएर) २१.५४ प्रतिशतले वृद्धि भई ९१ अर्ब ७७ करोड ९३ लाख पुगेको छ । गत वर्ष २४ वटा संस्थानले नाफा गरेका थिए । दुई संस्थानको कारोबार शून्य थियो भने १८ संस्थानले घाटा बेहोरेका थिए ।

यसपालि घाटामा जाने संस्थान एउटा थपिएको छ । जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा नै  छ । नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरियन्ड म्याग्नासाइट प्रालि, बुटवल धागो कारखानाको व्यावसायिक कारोबार छैन ।

नेपाल रेलवे कम्पनीको व्यवसाय सञ्चालनको प्रक्रियामा रहेको भए पनि यी तीन कम्पनीको प्रशासनिक खर्च हुने नै भएकाले नोक्सानी बेहोरिरहेका छन ।

पाँच लाखलाई जग्गाधनी प्रमाण पूर्जा दिइने, अनुमति लिएकाले मात्रै घर–जग्गाको कारोबर गर्न पाउने

काठमाडौं । सरकारले थप ३०० स्थानीय तहका पाँच लाख घर परिवारलाई जग्गाधनी प्रमाण पूर्जा दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै थप तीन सय स्थानीय तहका पाँच लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिने जानकारी दिएका हुन् ।

त्यस्तै अब अनुमति लिएका संस्था र ब्यक्तिले मात्र घर–जग्गाको कारोबर गर्न पाउने भएको छ । साथै, एकीकृत घरजग्गा मूल्याङ्कन प्रणालीको विकास पनि गरिने भएको छ ।

आन्तरिक क्षेत्रमा सुधार

आर्थिक गतिविधि विस्तार भएसँगै आन्तरिक रूपमा बढेको मागले आयात बढ्दा बाह्य क्षेत्रमा दबाब देखिएको छ । कोभिड–१९ को असर न्यून भएसँगै आयात बढ्दा मुलुकको शोधनान्तर र चालू खाता उच्च रूपले घाटामा रहेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधि सभामा पेस गर्नुभएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनले पछिल्लो समय विकसित यी सबै परिस्थितिका कारण विदेशी विनिमय सञ्चिति घट्दा बाह्य क्षेत्रमा दबाब बढेको देखाएको हो ।

रुस र युक्रेनबीचको युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा मुद्रास्फीतिमा पनि थप चाप परिरहेको प्रतिवेदनमा उल्लेख छ । बाह्य क्षेत्रबाहेकका परिसूचक भने सन्तोषजनक नै रहेको सरकारको निष्कर्ष छ । प्रतिवेदनअनुसार कोभिड–१९ को प्रभाव घट्दै जाँदा अर्थतन्त्रका आन्तरिक क्षेत्र भने सुधार हुँदै गएको देखिएको छ ।

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत

फागुनसम्मका तथ्याङ्कलाई आधार मानेर तयार गरिएको प्रतिवेदनमा आव २०७८/७९ मा नेपालले ५.८४ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण छ । बेमौसमी वर्षाले धानबालीमा पुगेको क्षति र गत वर्ष कोरोना भाइरसको प्रभावले लक्ष्यअनुसार वृद्धिदर हासिल हुन नसकेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । खासगरी चालू आर्थिक वर्ष ऊर्जा क्षेत्रको विस्तारलाई सरकारले उत्साहप्रद मानेको छ, जुन अर्थतन्त्रको वृद्धिदरको आधारका रूपमा लिइएको छ ।

अर्थतन्त्रका मुख्य क्षेत्रहरू कृषि, उद्योग र सेवाको मूल्य अभिवृद्धि क्रमशः २.३ प्रतिशत, ८.१ प्रतिशत र ६.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यी क्षेत्रहरूको अर्थतन्त्रमा योगदान क्रमशः २३.९ प्रतिशत, १४.३ प्रतिशत र ६१.८ प्रतिशत हुने प्रक्षेपण छ ।

समग्रमा अर्थतन्त्रको आकार चालू आर्थिक वर्षमा ४८ खर्ब ५१ अर्ब रुपियाँ (उपभोक्ता मूल्यमा) पुग्ने अनुमान छ । यसमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.१ प्रतिशत रहने अनुमान छ।

मुद्रास्फीति ७.१ प्रतिशत

चालू आर्थिक वर्षको फागुनसम्म उपभोक्ता मुद्रास्फीति ७.१ प्रतिशतसम्म पुगेको छ, जुन सरकारले लिएको ६.५ प्रतिशतको सीमाभन्दा बढी हो । आर्थिक सर्वेक्षणले पछिल्लो समय उच्च मूल्य वृद्धि रहेको स्वीकार गर्दै अन्तर्राष्ट्रिय परिस्थितिका कारण यस्तो अवस्था सिर्जना भएको जनाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि, ढुवानी खर्चमा भएको वृद्धि, खाद्य पदार्थ तथा आयातित कच्चा पदार्थलगायत अन्य वस्तु तथा सेवामा भएको मूल्य वृद्धिका कारण समग्र मुद्रास्फीतिमा चाप परेको उल्लेख छ ।

प्रतिव्यक्ति आय बढ्यो 

चालू आर्थिक वर्ष प्रतिव्यक्ति आय बढ्ने देखिएको छ । गत आर्थिक वर्षको एक हजार २४६ डलरबाट चालू आर्थिक वर्ष यस्तो आय १०.८ प्रतिशतले बढेर एक हजार ३८१ डलर पुग्ने अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा नेपालीको बचतको बानीमा पनि सुधार आउने अनुमान छ । गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९२.३ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा घटेर ९०.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । उपभोग घट्दा बचत गर्ने बानी बढेको देखिन्छ ।

खर्चमा मितव्ययिता आवश्यक

अर्थतन्त्रमा पछिल्ला समय देखिएको चापलाई सुधार गर्न सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता आवश्यक रहेको प्रतिवेदनको ठहर छ । कोभिड–१९ पश्चात् अर्थतन्त्रलाई पूर्वरूपमा पुनरुत्थान गर्न लगानीयोग्य, पुँजीको सहज उपलब्धता, मुद्रास्फीति नियन्त्रण, चालू खाता नियन्त्रण गर्दै शोधनान्तर स्थितिमा सुधार गर्नुपर्ने विषय प्रतिवेदनले उल्लेख गरेको छ ।

त्यस्तै वित्तीय क्षेत्रको सबलीकरण र सुदृढीकरणमार्फत वित्तीय स्थायित्व र अर्थतन्त्रको आन्तरिक तथा बाह्य स्थायित्व कायम गर्नेतर्फ आर्थिक नीति निर्देशित हुनुपर्ने सर्वेक्षण प्रतिवेदनको निष्कर्ष छ ।

वर्खा सुरुभएसँगै त्रसित हुँदै बाढीपहिरो जोखिम बस्तीका स्थानीय

वर्खा सुरुभएसँगै बाजुराका अधिकांश स्थानीय तहमा बाढीपहिरो जोखिमका बस्तीका स्थानीय निकै त्रसित बन्दै गएका छन् ।

विसं. २०७८ सालको जेठ, असार, साउन र भदौमा पटक–पटक आएको बाढीपहिरोले बाजुराको नौ वटा स्थानीय तहमा मानवीय तथा जनजनको क्षति भएको थियो ।

बाढीपहिरो बस्तीका स्थानीयहरुलाई अहिलेसम्म कुनै निकायले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सकेको छैन ।

उनीहरुले स्थानीय, प्रदेश, सङ्घीय सरकारसँग सुरक्षित ठाउँमा बस्नका लागि स्थानान्तरणको माग गर्दै आएको भएपनि अहिलेसम्म कुनै ठाउँबाट उनीहरुको माग पूरा हुन सकेको छैन ।

बाजुराको बूढीनन्दा, त्रिवेणी गौमुल, बडिमालिका, बूढीगङ्गा खप्तड छेडेदह गाउँपालिकाका अधिकाङ्श घरपरिवार बाढीपहिरोले भत्काएको घरमा नै बास गरिहरेका छन् ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकाको वडा नं ५ को पारतोला बस्ती त यो वर्ष सुक्खा पहिरोको समेत उच्च जोखिममा परेको थियो ।

२०७८ सालको माघ महिनाको पहिलो सातादेखि बस्तीमाथिबाट लगातार सुक्खा पहिरो गएपछि सो बस्ती जोखिममा परेको थियो ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिकाको गुइबन बस्ती पनि लामो समयसम्म पहिरोको निकै जोखिममा रहँदै आएको छ ।

२०५६ सालदेखि सो बस्तीको झण्डै सयौं भन्दाबढी परिवार पहिरोको जोखिममा बस्दै आएका छन् ।

‘‘यहाँ पहिले झण्डै दुई सय घरपरिवार थिए । जब गुइबनबाट पहिरो लाग्न सुरु भयो, त्यो पहिरोले कती घर बगायो, कतीको जमिन बगायो, अनी बिस्तारै ती घरपरिवार यहाँबाट विस्थापित भए ।’’ भुले गुइकनका स्थानी सुन्तला रावतले बताउनुभयो ।

‘‘हामी भने अहिलेसम्म कतै गएका छैनौ । कही कतै ठाउँमा हाम्रो पहुँच छैन । अन्य ठाउँमा जग्गा लिएर बसोबास गरौं भने पैसा छैन । कुनै विकल्प नभएपछि त्रासमय जीवन जीउन बाध्य हुनु परेको छ ।’’ रावतले बताउनुभयो ।

यती बेला पनि गाउँ पछाडीबाट फेरि पहिरो बग्न सुरु भएपछि गत वर्खा झै घर छोडेर अन्य सुरक्षित स्थानमा जान बाध्यता भएको गुइबनका स्थानीय पदम रावतले बताउनुभयो ।

यस्तै, खप्तड छेडेदहको ५ को पारतोला, डोगडी, गुइबन, टम्टानालगायतका दर्जनौ बस्तीका स्थानीय वर्खाको समयमा बाढीपहिरोको निकै जोखिममा रहेको स्थानीय बताउछन् ।

यस्तै, बूढीगङ्गा नगरपालिका बजेडी, निमनी, ताँप्रीसेरा र अम्कोट बस्ती पनि पहिरोको जोखिममा छन् ।

त्यहाँका स्थानीयहरु गत वर्षको वर्खामा गाउँमाथिको बनमा त्रिपाल टाँगेर बास गर्दै आएका थिए ।

वर्षात् सुरु भएसँगै फेरि पहिले जस्तै गाउँमा पहिरो जाने डर भएको बूढीगङ्गा नगरपालिका –१ अम्कोटका दरिभाने नेपालीले बताउनुभयोे ।

तट्बन्धन गरेर पनि पहिरो नरोकिएपछि अहिले त्यो बस्तीलाई अन्य ठाउँमा स्तान्तरण गर्नु बाहेक अन्य केहि  बिकल्प नरहेको नेपालीको भनाइ छ ।

उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने

अर्थमन्त्री जर्नादन शर्माले उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने बताउनुभएको छ ।

आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुहुँदै हिमाली जिल्लालाई स्याउ उत्पादनको केन्द्रको रुपमा विकास गरिने बताउनुभएको हो ।

कपास खेती उत्पादन गर्न बजेटको व्यवस्थापन गरिएको छ, एक सय पाँच औद्योगिक ग्राम निर्माण गरिने, सुदूरपश्चिमको अत्तरियामा र कर्णलीको सुर्खेतमा जटिबुटी प्रशोधन केन्द्र स्थापन गर्ने गरिने छ ।

उन्नत जातको कपास खेतीलाई प्रोत्साहन गर्न स्थानीय तहबाट मेसिन उपलब्ध गराइने प्रबन्ध मिलाइएको छ, उन्नत जातको कपास खेतीलाई प्रोत्साहन गर्न स्थानीय तहबाट मेसिन उपलब्ध गराइने प्रबन्ध मिलाइएको छ ।

निजी क्षेत्रको साझेदारीमा ज्ञानमा आधारित व्यवसाय उत्पादन गर्न सातै प्रदेशमा विजनेश इनोभेटर सेन्टरका लागि २६ करोड बजेट विनियोजन गरिने छ ।

अति विपन्न र अति सीमान्तकृत वर्गका लागि निजी क्षेत्रको सहभागितामा रोजगारी सिर्जना गरिने छ, उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिइने छ ।

यसैगरी, सर्जकको बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारको संरक्षणका लागि उपयुक्त कारबाही अघि बढाइनेछ, भैरहवा एकीकृत जाँचचौकी निर्माण कार्य प्रारम्भ हुने छ, सुदूरपश्चिम प्रदेशको हलैया र प्रदेश १ को सुनसरीमा विशेष आर्थिक क्षेत्रको निर्माण कार्यको सुरुवात गरिनेछ ।

औद्योगिक प्रशोधन शृङ्खलामा एकीकृत कार्ययोजना अगाडि बढाइने छ, स्वदेशी कच्चा पदार्थमा आधारित ब्राण्डिङ तथा पहुँच वृद्धिको व्यवस्था मिलाइने छ ।

धौवादी फलाम खानीबाट फलाम उत्पादनको पूर्वतयारीका कार्य सम्पन्न गरिने छ, निजी क्षेत्रलाई आर्थिक इन्जिनको रुपमा प्रयोग गरिने, विद्युत् मासिक १० करोडभन्दा बढी खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशत छुट दिने छ ।

यस्तै, वैदेशिक लगानी आर्कषित गर्न दुई पक्षीय सम्झौता गरिने, प्रदेश र स्थानीय तहमा कृषि उपजको शाखा विस्तार गरिनेछ, वर्खा सुरुभएसँगै त्रसित हुँदै बाढीपहिरो जोखिम बस्तीका स्थानीय, भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलिय पाइप लाइन विस्तार गरिने छ ।

धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

अर्थमन्त्री जर्नादन शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरिने बताउनुभएको छ । आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री शर्माले स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरेर मानव विकासको सुचाङक ०.६५ पुर्‍याउने लक्ष्य राखिएको बताउनुभएको हो ।

कृषि क्षेत्रका उत्पादकत्व वृद्धिका लागि यान्त्रिकीकरण र आधुनिकीकरणका लागि उच्चस्तरको संयन्त्र बनाइने छ । कृषि बीमा, उत्पादन सङ्कलन केन्द्र र वितरणका लागि बजारको व्यवस्था गरिने, राजश्व बाँडफाँडबाट प्रदेश र स्थानीय तहमा एक खर्ब ६३ अर्ब तीन करोड रकम हस्तान्तरण हुने अनुमान गरिएको छ ।

कृषिमा तालिम तथा गरिबी निवारणसम्बन्धी प्रशिक्षणलाई समावेश गरिनेछ । प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोनाका लागि पाँच अर्ब ९० करोड रुपियाँ विनियोजन गरिएको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्त संस्थाको पुर्नसंरचना गरेर पुँजी संरचना र क्षमता अभिवृद्धि गरिने छ । ग्रीन हाइड्रोजन र ग्रीन एमोनिया प्रविधि प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्डमार्फत् कार्य अगाडि बढाइने छ ।

त्यस्तै, चिनी उत्पादनलाई मुलुकमा आत्मनिर्भर गराउन उखु किसानलाई अनुदान उपलब्ध गराउन ४१ करोड विनियोजन, नगदेबाली लगाउन किशानलाई प्रेरित गरिने छ । उखु खेतीमा किसानलाई आकर्षित गर्न ८१ करोड रुपियाँ विनियोजन भएका छ ।

कर्णाली प्रदेशमा रैथाने बाली लगाउन प्रेरित गरिने, आफ्नै उत्पादन आफ्नै लगानी कार्यक्रम सञ्चालन गरिनेछ ।

यसैगरी, धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने छ । २०७९ लाई कृषि जैविक विविधता वर्षका रुपमा मनाइनेछ, नेपाली उत्पादनको वृद्धि गर्नका लागि प्रधानमन्त्री उपभोग उत्पादन कार्यक्रमअन्तर्गत मेक इन नेपाल, मेड इन नेपाल कार्यक्रम लागू गरिने आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख गरिएको छ ।

सरकारले ३ वर्षभित्र सबै भूमिहीन दलितलाई आवास उपलब्ध गराउने

काठमाडौं । सरकारले तीन वर्षभित्र सबै भूमिहीन दलितलाई आवास उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेका सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिवद्धता जनाइएको हो ।

त्यसैगरी बजेटमा आगामी वर्ष निर्यात दोब्बर गर्ने महत्वकांक्षी लक्ष्य पनि बजेटमा समावेश गरिएको छ । अर्थमन्त्री शर्माले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने लक्ष्य पनि बजेटमा निर्धारण गरिएको बताए । उनले धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्ष भित्र ३० प्रतिशत कम गर्ने बताएका छन् ।

अर्थमन्त्री शर्माले भनेका छन्, ‘आधारभूत कृषि उत्पादन धान, मकै, गहँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने । आगामी वर्ष निर्यात दोब्बर गर्ने । आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी पाँच वर्ष भित्र व्यापार सन्तुलन कायम गर्ने । मर्यादित रोजगारी वार्षिक ३० प्रतिशतका दरले वृद्धि गर्ने ।’

उनले फेरि भने, ‘भूमिहीन दलितलाई आगामी ३ वर्षभित्र आवास उपलब्ध गराउने, वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखाबाट माथि ल्याउने । स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव विकास सूचकांक ०.६५ पुयाउने ।’