१४ जेष्ठ २०८३, बिहीबार १६:२४ – Nagarikabhiyan : National News

कोशी गाउँपालिकामा शिक्षक पदकै ४ लाख मूल्य ! सेटिङ धन्दामा अध्यक्षकै मौन समर्थन रहेको खुलासा !

देवानगञ्ज । पवित्र मन्दिर मानिने विद्यालयलाई कमाउने भाँडो र दलालीको अखडा बनाइएको एउटा निकै लाजमर्दो र गम्भीर घटना सुनसरीमा सार्वजनिक भएको छ। सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ८ स्थित सप्तकोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) कैलाश कुमार झाले शिक्षक नियुक्तिको नाममा लाखौँ रुपैयाँको नाङ्गो व्यापार गरिरहेको प्रमाण फेला परेको छ।

​प्रअ झाले माध्यमिक विद्यालय (मावि) तहको अस्थायी करार शिक्षक नियुक्तिका लागि एक आकांक्षीसँग खुलेआम ४ लाख रुपैयाँ घुस माग गरेको ‘अडियो क्लिप’ सार्वजनिक भएपछि स्थानीय क्षेत्र तरङ्गित बनेको छ।

सार्वजनिक भएको उक्त अचम्मको अडियो रेकर्डमा प्रअ कैलाश कुमार झाले मैथिली भाषामा बार्गेनिङ गर्दै स्पष्ट शब्दमा भनेका छन्— “४ लाख रुपैयाँ देऊ, अब त्यो समय रहेन।” योग्यता, क्षमता र निष्पक्षतालाई कुल्चिँदै मोटो रकमको आडमा शिक्षक पद लिलामीमा राख्ने प्रअ झाको यो रवैयाले शिक्षा क्षेत्रमा कतिसम्म विकृति मौलाएको छ भन्ने कुराको उदाङ्गो पारेको छ। यो अडियो बाहिरिएसँगै आफ्नो छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको भन्दै अभिभावक र विद्यार्थीहरू गम्भीर चिन्तामा परेका छन्।

​गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको ‘दह्रो संरक्षण’ र ‘नजराना’ मोह!

स्थानीय स्रोत र आक्रोशित अभिभावकहरूका अनुसार प्रअ झा यो खेलका एक्ला खेलाडी होइनन्। उनलाई कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको प्रत्यक्ष संरक्षण रहेको र झा अध्यक्षका निकै ‘निकट पात्र’ मानिन्छन्। शिक्षा क्षेत्रमा हुने विभिन्न नियुक्तिहरूमा मोटो रकम असुली गरेर अध्यक्ष अन्सारीलाई बुझाउने र आफ्नो कुर्सी जोगाउने खेल भइरहेको गम्भीर आरोप स्थानीयले लगाएका छन्।

​स्मरणरहोस्, महिना दिन पनि नबित्दै सोही विद्यालयको लेखापाल नियुक्ति प्रक्रियामा पनि पालिका अध्यक्ष अन्सारीकै प्रत्यक्ष निर्देशनमा मोटो ‘नजराना’ (घूस) लेनदेन भएको तथ्य विभिन्न सञ्चार माध्यमहरूले सार्वजनिक गरेका थिए। उक्त बदनामीको मसी सुक्न नपाउँदै फेरि लाखौँको अर्को भ्रष्टाचार काण्ड बाहिरिनुले पालिका नेतृत्व र विद्यालय प्रशासनको मिलेमतोमा लुटतन्त्र चलिरहेको पुष्टि गर्छ।

भ्रष्टाचारको शृङ्खला यतिमा मात्रै रोकिँदैन। गरिब र विपन्न विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) माग्दा समेत प्रअ झाले नियमविपरीत बिना कुनै रसिद २५०० देखि ३००० रुपैयाँसम्म अवैध रूपमा असुल्ने गरेको गुनासो विद्यार्थीहरूले नै गरेका छन्। रसिद बिना उठाइने यो रकम सोझै प्रअको गोजीमा जाने गरेको र यसरी विद्यार्थीमाथि आर्थिक शोषण भइरहेको बेला यो अडियो बम विस्फोट भएको हो।

यस विषयमा वास्तविकता बुझ्न कोशी गाउँपालिकाका अध्यक्ष र सम्बन्धित विद्यालयका प्रधानाध्यापक (प्रअ) सँग पटक-पटक सम्पर्क प्रयास गर्दा दुवै जनासँग सम्पर्क हुन सकेन । अडियोले प्रष्ट पारेको यो भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धित निकायले तत्काल छापा मारी दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग स्थानीयको छ।

देवानगञ्जमा ग्लोबल आईएमई लघुवित्तद्वारा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

देवानगञ्ज । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय देवानगञ्जले संस्थाको १४औँ वार्षिक उत्सवको अवसरमा एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ।
​मंगलबार (आज) सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं. ५ मा अवस्थित श्री गणेश आधारभूत विद्यालयमा एक समारोहका बीच शैक्षिक सामग्री वितरण गरिएको हो। संस्थाले विद्यालयका कक्षा १ देखि ३ सम्मका छात्र–छात्राहरूलाई विद्यालय उपयोगी झोला, कापी तथा पेन्सिल भव्य र सभ्य रूपमा वितरण गरेको छ।
​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री प्रवीण कुमार शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अनुगमन अधिकृत श्री बालकृष्ण बस्याल विशिष्ट अतिथि रहनुभएको थियो। त्यस्तै, कार्यक्रमका प्रमुख अतिथिमा का.वा. वडा अध्यक्ष श्री दीनानाथ शाह रहनुभएको थियो भने कार्यक्रम सञ्चालन यसै संस्थाका शाखा प्रमुख श्री सुबोध कुमार मेहताले गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री पिन्टु पाल, शिक्षिका, अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
​सो अवसरमा बोल्दै विद्यालय परिवारले संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरे। यस्ता सामाजिक तथा शैक्षिक सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउने र शिक्षाप्रति सकारात्मक वातावरण सिर्जना गर्न ठूलो मद्दत पुग्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।