देवानगञ्जमा ग्लोबल आईएमई लघुवित्तद्वारा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण
५ जेष्ठ २०८३, मंगलवार २१:४६
देवानगञ्ज । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय देवानगञ्जले संस्थाको १४औँ वार्षिक उत्सवको अवसरमा एक विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ।
मंगलबार (आज) सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा नं. ५ मा अवस्थित श्री गणेश आधारभूत विद्यालयमा एक समारोहका बीच शैक्षिक सामग्री वितरण गरिएको हो। संस्थाले विद्यालयका कक्षा १ देखि ३ सम्मका छात्र–छात्राहरूलाई विद्यालय उपयोगी झोला, कापी तथा पेन्सिल भव्य र सभ्य रूपमा वितरण गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री प्रवीण कुमार शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अनुगमन अधिकृत श्री बालकृष्ण बस्याल विशिष्ट अतिथि रहनुभएको थियो। त्यस्तै, कार्यक्रमका प्रमुख अतिथिमा का.वा. वडा अध्यक्ष श्री दीनानाथ शाह रहनुभएको थियो भने कार्यक्रम सञ्चालन यसै संस्थाका शाखा प्रमुख श्री सुबोध कुमार मेहताले गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री पिन्टु पाल, शिक्षिका, अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै विद्यालय परिवारले संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरे। यस्ता सामाजिक तथा शैक्षिक सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउने र शिक्षाप्रति सकारात्मक वातावरण सिर्जना गर्न ठूलो मद्दत पुग्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया