देवानगञ्जमा समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

देवानगञ्जमा समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा ‘समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । जिल्ला सरकारी वकील कार्यालय, इनरुवा, सुनसरीको आयोजनामा सो सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
​
सर्वसाधारण नागरिकलाई कानूनी व्यवस्था, सरकारी वकीलको भूमिका र आफ्ना अधिकार तथा कर्तव्यका बारेमा सुसूचित गराउने उद्देश्यले गाउँपालिकाको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
​
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले स्थानीय तहमा कानूनी साक्षरताको निकै आवश्यकता रहेको औंल्याउनुभयो । मन्तव्यका क्रममा अध्यक्ष मेहताले भन्नुभयो गाउँघरमा अझै पनि धेरै नागरिकहरू कानूनी ज्ञानको अभावमा अन्याय सहनुपर्ने वा सानातिना विवादमा ठूलो समस्यामा फस्ने गरेका छन् । यस्ता सचेतना कार्यक्रमले आम नागरिकलाई आफ्ना हक-अधिकार बुझ्न र अपराध नियन्त्रणमा सहयोग पुर्‍याउँछ । समाजलाई न्यायपूर्ण र भयरहित बनाउन कानूनी ज्ञान अनिवार्य छ । आगामी दिनमा पनि गाउँपालिकाले यस्ता जनचेतनामूलक अभियानहरूलाई वडा तहसम्मै पुर्‍याउन पूर्ण सहयोग र समन्वय गर्नेछ ।
​
कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका प्रतिनिधिहरूले सरकारी वकीलले गर्ने काम, कानूनी उपचार पाउने प्रक्रिया र समाजमा घट्ने विभिन्न प्रकृतिका अपराध एवं सजायका व्यवस्थाहरूबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।