१४ आश्विन २०७७, बुधबार १७:५३ – Nagarikabhiyan : National News

भारतमा बेच्न लादै गरेको युवतीको उद्धार, बेच्न लाने दुई गिरफतार

सुनसरी
असोज १४ गते । सुनसरीको सीमावर्ती क्षेत्र हुदै भारतमा विक्रिका लागि लादै गरेको युवतीको सीमा सुरक्षा सशस्त्र प्रहरी बलले असोज १४ गते उद्धार गरेको छ । नेपालको सप्तरीबाट फकाएर भारततर्फ विक्रि गर्ने उद्देश्यले लादै गरेको युवतीको असोज १४ गते उद्धार गरिएको हो ।
नेपाल भारतबीच रहेको खुल्ला सीमा सिल रहेको अवस्थामा असोज १३ गते घरबाट फकाएर चोर बाटो हुँदै भारततर्फ लैजादै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा सशस्त्र प्रहरी बल बिओपी नेपाल भण्टाबारी सुनसरीले युवतीको उद्धार गरेको हो । सप्तरीको दौलतपुर नगरपालिका ३ का झरु चौधरीकी १८ वर्षिया छोरी बिपना चौधरी र सोही जिल्लाको शम्भुनाथ नगरपालिका ७ का २२ वर्षिय सुचिनकला चौधरीलाई भारतको भीमनगरमा पुजा छ भन्दै विक्रि गर्ने वा बलि दिने उद्देश्यले लैजादै गरेका आरोपीतहरुलाई असोज १४ गते गिरफतार समेत गरिएको छ । विक्री गर्न लादै गरेका सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका ४ का २९ वर्षिय साहिल मन्सुरी र सिरहाको लहान नगरपालिका १९ का ३२ वर्षिय जिवछ साहलाई गिरफतार गरेको सशस्त्र प्रहरीले जनाएको छ । आरोपीतहरुले विक्रि गर्ने विक्रि भएको युवतीको बिल दिने उद्देश्यले लादै गरेको अवस्थामा सुनसरीको कोशी गाउँपालीका ८ स्थित भाण्टाबारी सीमा क्षेत्रबाट उद्धार गरी आवश्यक कानुनी कारबाहीको लागि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको बिओपी भण्टाबारीका सशस्त्र प्रहरी निरीक्षक(इन्स्पेक्टर) भुवन खड्काले जानकारी दिनुभयो । उनीहरु माथि नेपाल प्रहरीले अनुशंधान थालेको र मानव बेचविखन तथा ओसारपसारमा मुद्धा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुहवी र इटहरीका एक-एक पुरुषको कोरोनाका कारण मृत्यु

दुहवी । सुनसरीको दुहवी नगरपालिका र इटहरी उपमहानगरपालिकाका एक- एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । असोज १४ गते मृत्यु हुनेमा दुहवीका ७० वर्षिय पुरुष र इटहरी उपमहानगरपालिका–५ का कोरोना संक्रमित ७३ वर्षीय पुरूष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

इटहरीका मृतकलाई कोरोना संक्रमण पुष्टिएसंगै श्वासप्रश्वासमा समस्या देदिएपछि विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा लगिएकोमा उपचारको क्रममा बुधबार मध्यानमा मृत्यु भएको उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसिन डा. दीपक सिग्देलले जानकारी दिनुभयो । यसैगरी दुहवीका एक पुरुषको पनि विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । यस अघि पनि दुहवीमा एक जनाको मृत्यु कोरोनाबाटै भएको थियो । दुहवीमा मृतकको संख्या दुई पुगेको छ ।

अध्यक्षद्वय आ-आफ्नै अडानमा, आज पनि जुटेन सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे आज पनि सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्रीसमेत रहेका ओली र अध्यक्ष दाहाल आ-आफ्नै अडानमा अडिग रहेकाले मन्त्रिपरिषद् पुनगर्ठनको विषय पेचिलो बन्दै गएको हो ।

दुई अध्यक्षबीच दैनिक जसो छलफल हुने गरे पनि सहमति जुट्न सकेको छैन । ६ असोजको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेपछि उनीहरूबीच छलफल हुँदै आएको छ ।

उनीहरूबीच, बिहीबार, शुक्रबार, आइतबार र सोमबार पनि लगातार छलफल भयो । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा ३ घण्टा लामो छलफल भएपनि बिना निश्कर्ष सकिएको छ ।

“आजको छलफलमा पनि कुनै सहमित भएन, दुवैजना आ–आफ्नै अडानमा हुनुहुन्छ”, दाहालनिकट स्रोतले भन्यो, “छलफललाई निरन्तरता दिने भन्ने भएको छ ।” केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा ओली-दाहालबीच सहमति हुन नसकेको बताइएको छ ।

प्रधानमन्त्री ओली बढीमा ६ जना मन्त्री फेर्ने मनस्थितिमा छन् भने दाहाल पुनर्गठनकै सन्देश दिने गरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाईसमेत मन्त्रीमण्डमा समेट्नुपर्ने अडानमा छन् ।

पुराना कोही राख्नैपर्ने बाहेक सबै मन्त्री फेर्नुपर्ने दाहालको भनाइ छ । प्रधानमन्त्री ओली भने कार्यक्षमताका आधारमा केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने पक्षमा रहेका छन् ।

चोरीको रागा सहित एक पक्राउ

इनरुवा ।  सुनसरी सदरमुकाम इनरुवा नगरपालिका ६ मधेशाको यज्ञ बहादुर श्रेष्ठको रागां चोर्ने चोर पक्राउ परेका छन् । श्रेष्ठले चराउनको लागि किला ठोकी लामो डोरीले बाधि राखेको रागा मोरंङको बुढिगंगा गाउपालिका ४ का २६ वर्षिय राजेश रामले चोरीगरी लादैगरेको अवस्थामा पक्राउ परेको हो । रामलाई सुनसरीको गढी गाउपालिका कालिमंन्दीर टोल भित्री सडकमा गस्तिमा रहेको प्रहरी चौकी औरावनीको टोलिले फेला पारेको हो ।

राँगा सहित रामलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेकोमा मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चौपाय चोरी कसुरमा रामलाई सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

उता फरक प्रसंगमा अवैध राँगा बरामद गरी भन्सार बुझाईएको छ । सुनसरी इनरुवा नगरपालिका ४ राजमार्गमा मंगलबार बिहानीपख भन्सार छलि चोरी पैठारी गरी राँगा (भैसीको पाडा) हिडाउदै गरेको अवस्थामा बरामद गरेको हो । सात थान राँगा सहित सुनसरीको भोक्राहानरसिंह गाउपालिका ५ का मो. रिया अन्सारी र सोहि स्थानका बसरुद्धिन खाँलाई पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि सुनसरी भन्सर कार्यालय सेतुबन्ध कोशीब्यारेज पठाईएको छ ।

दुहवीका एक पुरुषको कोरोनाका कारण मृत्यु

इनरुवा । सुनसरीको दुहवी नगरपालिका ५ का एक जनाको कोरोनाको कारणले मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारणले मृत्यु हुनेमा दुहवी नगरपालिका ५ का ६० वर्षिय पुरुष एक रहेको कोशी अस्पतालका डा लक्ष्मि नारायण यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार विरामी भई उपचारका लागि आएकोमा ती पुरुषको आईसोलेनमा उपचारको क्रममा स्वाव परीक्षण गर्दा कोरोना पुष्टी भएको र मगंलबार विहान मृत्यु भएको हो ।

बलान बिहुल नदीमा बाँध निर्माणका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण

जनकपुरधाम  ।  प्रत्येक वर्ष बाढीपहिरोको चपेटामा पर्दै आएका सप्तरीको बलान बिहुल नदीको नियन्त्रण तथा रोकथामका लागि प्रदेश २ सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

आज (मंगलवार) भौतिक पुर्वधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रतिनिधि सभा सदस्य रेणु यादवको उपस्थितिमा प्रदेशसभा सदस्य अभिषेक यादव र सो गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले नदीमा बांध निर्माणको माग गर्दै छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

गत दुई वर्षअघि पुर्वमा बिहुल र पश्चिममा बलान नदीको बाँध फुटेर जिर्ण भएको कारण बलान विहुल गाउँपालिकाका स्थानीयहरु वर्षायाममा बाढीको त्रासमा बाँच्नुपर्ने बाध्यता रहेकोले तत्काल बाँध निर्माण गर्न माग गरिएको छ ।

बाँध जिर्ण भएका कारण बाढीले बगाएपछि गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ समेत बग्ने सम्भावना रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । नदीको बाँध अत्यन्त जिर्ण रहेकोले जुनसुकै बेला पनि सो बाँध भत्केपछि वस्ती भित्र पानी पस्दा धनजनको ठुलो क्षति हुन जाने भएकोले तत्काल प्रदेश सरकारलाई ध्यान पुर्याउन भनिएको छ ।

स्थानीयको जिउज्यान र खेतीबालीको सुरक्षाका लागि नदी नियन्त्रणका लागि गाउँपालिकाले विस्तृत परियोजना समेत तयार पारिसकेकोले नदीको निरिक्षणका लागि आग्रह गर्दै बलियो र आधुनिक बाँध निर्माणका लागि नदी नियन्त्रण योजना अन्तर्गत उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न गाउँपालिकाले माग गरेको छ ।

ध्यानाकर्षण बुझ्दै मन्त्री सोनलले बाढी प्रभावित क्षेत्रलाई नदी नियन्त्रण योजना अन्तर्गत प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै तत्कालै कार्य अघि बढाउने प्रतिबद्धता जनाए ।

मालपोतमा बढ्यो भिड, छैन स्वास्थ्य सुरक्षा मापदण्डको वास्ता

इनरुवा ।  सुनसरी सदरमुकाम इनरुवामा रहेको भुमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयमा सेवाग्राहीको भिड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि थप बढेको छ ।

कार्यालय परिसरमा दैनिक सयौँको संख्यामा सेवाग्राही सेवा लिन आउने गरेको र सामान्य स्वास्थ्यको मापदण्ड समेत पुरा नगरेकाले जोखिम बढेको हो ।

सामान्य रुपमा ज्वरो नाप्ने थरमल गन समेत नभएको र सामाजिक दुरीको समेत ख्याल नगरेकाले संक्रमणको जोखिम बढेको छ । सुरक्षाका मापदण्ड पालना गर्दै विभिन्न सेवा क्षेत्र खुला गर्ने सरकारी नीति भएपछि असवाधानिका कारण कार्यालयका कर्मचारीहरुमा संक्रमण देखिन थालेको छ । मालपोतमा पनि कोही कर्मचारी संक्रमित नभएपनि सेवाग्राहीका कारणले कर्मचारीदेखी अन्य सेवाग्राही समेत जोखिममा छन ।

मालपोत कार्यालय सुनसरीमा सेवा लिन दैनिक सयौँको संख्यामा सेवाग्राही आउने गरेको भएपनि सुरक्षा र स्वास्थ्यको मापदण्ड पुरा नगरेको लेखापढी व्यवसायीहरुले बताएका छन । असोज १ गतेबाट मालपोत कार्यालयको काम शुरु सँगै कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड हुन थालेको हो । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय सञ्चालन गर्न भनेपनि सुनसरी मालपोत त्यसको पालना हुन नसकेको सेवाग्रहीहरुको गुनासो छ ।

धरान, इटहरी र इनरुवाको बलाहामा कोरोना संक्रमण समुदाय स्तरमै फैलिसकेको आंकलन भइरहेपनि मालपोत कार्यालयको भिडले गिज्याइरहेको छ । सेवाग्राहीहरु संक्रमण भन्दा काम समयमा सम्पन्न नहुँला समस्या हुने गरेको बताउँछन ।
मालपोत कार्यालय सुनसरीले न त गेटमा ज्वरो नाप्ने गरेको छ, नत स्यानिटाइजर कै व्यवस्था गरेको छ । सेवाग्राही पनि मास्क समेत नलगाई लाइनमा ठेलमठेल गरेर उभिएका छन् ।

कार्यालयका अधिकारीहरुले भिडभाड व्यवस्थापन र भौतिक दूरी कायम गराउन खोजे पनि सम्भव नभएको बताउँछन् । कार्यालयमा सेवाग्राहीको चाप भने बन्दाबन्दीपछि ह्वातै बढेको छ । भिडभाड नियन्त्रणका लागि न टोकन प्रणालीको वास्ता छ न त सेवाग्राहीको स्वास्थ्यमा ध्यान दिएको छ ।

अहिले मालपोत कार्यालयमा जग्गा किनबेच, रोक्का, फुकुवा जस्ता कामको लागी सेवाग्राही आउने गरेका छन । आम नागरिकमा कोरोनाको डरभन्दा कामको चिन्ता बढी देखिएको छ ।

कोरोना महामारीको संक्रमण बढीहेका बेला यसरी सरकारी कार्यालयहरुमा हुने भिडभाडले भयावह अवस्था आउने निश्चित छ । संक्रमण जोखिम कम गर्न सेवादिने कार्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सेवाग्राहीलाई समेत त्यसको पालना गर्न सचेत बनाउनुपर्ने देखिन्छ ।

 

नेपाली काङ्ग्रेस त्यागेर नेकपामा प्रवेश

इनरुवा / सुनसरी सदरमुकाम इनरुवा १० जल्पापुरमा सयौ नेता कार्यकर्ताहरु नेपाली काग्रेंस, राप्रपा र समाजवादी पार्टी त्यागेर सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा नेकपा प्रवेश गर्ने लहर चलेको बेला इनरुवा १० जल्पापुरमा सयौ नेता कार्यकर्ताहरु नेपाली काग्रेंस, राप्रपा र समाजवादी पार्टी त्यागेर नेकपामा प्रवेश गरेका हुन् । काग्रेंसबाट आजित भएर र नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर नेकपामा पार्टी प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् । नेपाली काग्रेंसका स्थानीय नेता जल्लाउदीन मंसुरी सहितका नवप्रवेशीहरुलाई नेकपाका स्थायी कमिटी सदस्य भिमप्रसाद आर्चायले सोमबार विहान टीका लगाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपाका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल (पप्पु) , नेता पोष्टकुमार नेपाल, मिरा आर्चाय, रामप्रसाद मेहता र पर्शुराम यादव लगायतकाले स्वागत गर्नुभयो । कार्यक्रममा इनरुवा १० नम्बर वडा अध्यक्ष सुल्तान मियाँ, इलियास मियाँ , मोक्तार आलम, पार्टीका मेघराज न्यौपाने, रमेश भट्टराई, वडा सदस्य सतियादेवी खत्वे लगायतकाले पनि जल्पापुरमा सयौ नेता कार्यकर्ताहरु नेपाली काग्रेंस, राप्रपा र समाजवादी पार्टीबाट असन्तुष्ट भएर नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेकोमा बधाई तथा शुभकामना दिएका थिए ।

Continue reading “नेपाली काङ्ग्रेस त्यागेर नेकपामा प्रवेश”

कैलालीमा सशस्त्र प्रहरी जवान मृत फेला

धनगढी । कैलालीमा सशस्त्र प्रहरीका एक जवान मृत फेला परेका छन् ।

सुर्खेत घर भएका २२ वर्षीय प्रहरी जवान कुमार तारुमगर मृत फेला परेको प्रहरीले जनाएको छ । उनी बिओपी सशस्त्र प्रहरी गण धनगढीको जुगेडामा कार्यरत रहेका थिए ।

हिजो बेलुका कार्यालयबाट निस्केका उनी नफर्किएपछि खोजी कार्य गर्दा शनिबार बिहान ११ बजे धनगढी उपमहानगरपालिका-१४ को खुटिया खोलामा मृत फेला परेका थिए । शव सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । शरीरमा चोटपटक नदेखिए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

३२ क्लबको सहभागितामा फुटबल प्रतियोगिता सम्पन्न, प्रशासन बेखबर

धनगढी । विश्वमा कोरोना महामारी कायम रहेको बेला कैलालीका ग्रामिण क्षेत्रमा क्लब स्तरीय फुटबल प्रतियोगिता भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका १० उदाशिपुरमा असोज २ गतेदेखि खुल्ला फुटबल प्रतियोगिता भएको थियो । कैलाली प्रशासन भने बेखबर रहेको स्थानियको आरोप छ । फुटबल प्रतियोगिता रोक्नुपर्ने ठाउँमा गाउँपालिकाले नै सघाएको उनीहरुको भनाइ छ । ३२ वटा क्लबको सहभागितामा प्रतियोगिता भएको हो ।

भिडभाड गर्न र फुटबल प्रतियोगिता गर्नु हुँदैन भनेर सम्झाउनु पर्ने ठाउँमा वडा कार्यालयले प्रतियोगिता गर्न सहयोग गरेकोे बताइएको छ । आज (शनिबार) सम्पन्न प्रतियोगितामा वडा अध्यक्ष पदम बहादुर ऐर सहभागि थिए । उनले कोरोनालाई बेवास्त गरेको देखियो । एक स्थानियले भने-‘प्रतियोगितामा कोरोनासम्बन्धि सुरक्षा सजगता केही अपनाईएको छैन, आयोजक, दर्शक र खेलाडी सामान्य अवस्थामा जस्तै गरि प्रतियोगितामा सहभागी छन् ।’

प्रतियोगितामा पुर्णागिरी युवा क्लब, कैलारी २ बसौटीले १-० गोल गरी प्रथम भएको छ । जनजागरण वहुउदेशीय युवा क्लब, गौरीगंगा ११ उदाशीपुर दोस्रो भएको छ । प्रथम र दोस्रो हुनेले क्रमशः ८ र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

दशैँ–तिहारमा फेरि लकडाउन हुनसक्ने चिन्ता !

काठमाडौं । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न नसक्ने भएकाले त्यस्तो अवस्थामा विभिन्न ठाउँमा पुनः लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेको छ । यसको संकेत मन्त्रालयले तीन दिनअघि गरेको नियमित प्रेस ब्रीफिङमा दिइसकेको छ ।

दशैँ, तिहार तथा छठ मुखमै आएको बेला महामारीका कारण फेरि लकडाउन भएर फेरि असजिलो हुने हो कि हो कि भन्ने आशंका धेरैमा छ । “धेरैको चासो यतिखेर दशैँ–तिहारमा फेरि लकडाउन गरिन्छ कि भन्नेमा छ । तर त्यसको जबाफ त्यही २५ हजारको सीमासँग जोडिन्छ,” मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने ।

यसअघि लगाइएको लकडाउन र निषेधाज्ञा हटाइएपछि केही जिल्लामा संक्रमणको दर नरोकिएको तथ्यांकले देखाउँछ । संक्रमणबाट निको दर पनि केही सातायता ७० प्रतिशतभन्दा माथि कायम छ ।

शुक्रवार नेपालमा संक्रमितको कुल संख्या ङ्ख्या ७०,००० नाघेको थियो । रोगमुक्तहुने संक्रमितको सं्रख्या ५१,८०० पुग्दा सक्रिय संक्रमितको संख्या १८ हजार नाघेको थियो । भदौ २४ गतेदेखि दैनिक एक हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् ।

दैनिक थपिने संक्रमितमध्ये आधाजसो काठमाडौं उपत्यकामा हुने गरेका छन् । उपत्यकामा बाहेक अहिले मोरङ, सिराहा, चितवन र रूपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै छ ।

पछिल्ला दिनमा दैनिक १० हजारको हाराहारी पीसीआर परिक्षण हुने गरेको बीबीसीले जनाएको छ । विगतमा परीक्षण गरिएका नमुनाको संख्यासँग ‍तुलनामा गर्दा अहिले संक्रमित भेटिने संख्या बढेको देखिन्छ । तर, यतिखेरको खास समस्या परीक्षणभन्दा पनि स्वास्थ्य मापदण्ड पालना नहुनु भएको सरकारी पक्षको दाबी छ ।

बीबीसीसँग सहप्रवक्ता अधिकारी भन्छन्– “मानिसहरूको आउजाउ निकै बढेको छ । तर, उनीहरूले १४ दिन क्वारन्टीनमा बस्ने मापदण्ड पालना गरेका छैनन् । अबको समस्याको जड त्यो हुने देखिन्छ ।” तर परीक्षणलाई जटिल बनाइएका कारण क्वारन्टीन नबस्नुलाई समस्या देखिएको मान्यता पनि केही विज्ञहरूको छ ।

जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनी परीक्षणको रकम अझै महँगो हुनुको बाँकी समस्यासँग सम्बन्ध भएको तर्क गर्छन् । त्यसकै कारण नेपालमा दैनिक २३ हजार वटाभन्दा धेरै परीक्षण गर्ने सरकारी क्षमता रहेको बताइँदा पनि त्यसको आधाजित सङ्ख्यामा मात्र पीसीआर हुने गरेको छ ।
“सस्तोमै र सहजै परीक्षण गर्न सक्ने व्यवस्था हुन्थ्यो भने हरेक यात्रा वा सार्वजनिक कार्यक्रमका अगाडि तिनलाई अनिवार्य बनाउन सकिन्थ्यो । अझै त्यो नेपालीको हैसियतभन्दा महँगो छ,” डा. मरासिनीको भनाइ छ ।

“सरकारले चाहने हो भने अहिलेको अधिकतम २ हजार रुपैयाँ लाग्ने परीक्षणको मूल्यलाई आधाभन्दा बढीले कम गर्न सकिन्छ ।”

बीबीसीको सम्पर्कमा आएका केही संक्रमित व्यक्तिले अझै आफूसँग संसर्ग भएका मानिसको खोजी नभएको बताएका छन् । लक्षणहरू देखिएपछि एउटा निजी प्रयोगशालामा परीक्षण गराएकी एक संक्रमितले भनिन्, “सम्पर्क व्यक्ति पहिचान त परै जाओस् मेरो अवस्थाबारे समेत सोधपुछ भएको छैन ।”

जनस्वास्थ्यविज्ञ मरासिनी भन्छन्– “महामारी व्यवस्थापनको स्पष्ट रणनीति नहुँदा अहिले अवस्था धेरै बिग्रिएको र सरकारले जोडबल गरेर सम्पर्क व्यक्ति पहिचानको काम गर्न छाडेको बताउँछन् । कम्तीमा परिवारका अन्य सदस्यको मात्रै परीक्षण सुनिश्चित गर्न सके पनि राम्रै हुन्थ्यो ।” सक्रमित व्यक्तिलाई समेत कमजोर परामर्श र जाँच नतिजाकै जानकारी ढिलो हुने गरेकाले त्यसको प्रभावकारिता कम देखिएको उनी ठान्छन् ।

मन्त्रालयका सहप्रवक्ता अधिकारीले देशभरि जहाँसुकै हुने परीक्षणको विवरण सरकारलाई बुझाउनै पर्ने नियम बनाइएको र त्यसकै आधारमा सम्पर्क व्यक्ति पहिचानको काम नटुटेको दाबी गर्छन् ।

बिहीवार अहिलेसम्मकै उच्च एकै दिन १७ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको सरकारले पुष्टि गर्‍यो ।

गत साता दैनिक सङ्क्रमितको सङ्ख्याले समेत २ हजार नाघिसकेकोले त्यस्ता अवस्थामा २५ हजार संक्रमित पुग्न एक साता नै काफी हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका थिए । तर, सङ्क्रमितहरू थपघट हुने क्रम चलिरहेको छ ।

जनस्वास्थ्यविज्ञ मरासिनी भन्छन्– “न त अन्यत्र झैँ नेपालमा तत्काल हर्ड इम्यूनिटी हुने सम्भावना छ, न भाइरस निष्क्रिय हुनसक्ने देखिएको छ । नेपालको अवस्था अझै संक्रमणको दोसाँधमा छ ।”

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भने अहिलेसम्म नेपालमा जोखिम वर्गमा पर्ने जेष्ठ नागरिकहरू अन्यत्र जसरी धेरै प्रभावित नभएकाले त्यो कायम राख्नुपर्ने चुनौती रहेको बताउँछन् । उनी भन्छन्– “दशैँ–तिहारमा त्यो कायम राख्ने सबैभन्दा ठूलो चुनौती यतिखेर हामीसँग छ ।”

सरकार बलात्कारीलाई फाँसी दे !

काठमाडौं । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंको माइतीघर मण्डलामा दुई समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले सम्झाना विकको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरुले बलात्कारीलाई फाँसी दे, मलाई माया गर, बलात्कार होइन् भन्ने नारन लेखिएको प्ले कार्ड बोकेका थिए ।

बझाङको मास्टा गाउँपालिकाकी सम्झनाको बुधबार साँझ बलात्कारपछि हत्या गरेको प्रहरीको आशंका छ ।

कोरोनाबाट बबई बहुमुखी क्याम्पस प्रमुखको निधन

बर्दिया । बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पस प्रमुख ५२ वर्षीय विनोद अग्रवालको कोरोनाका कारण निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा अग्रवालको बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए ।

दिल्लीको मेदान्त अस्पतालमा उपचार गराएर फर्केका अग्रवाललाई केही दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य समस्या नदेखिएपछि होम आइसोलेसनमा बसेका थिए । शनिबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै बर्दियाका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले क्याम्पस प्रमुख अग्रवालको कोरोनाका कारण निधन भएको जानकारी दिए ।

उनले भने,‘कोभिड आइसोलेसन जाने क्रममा अस्पताल गेट छिर्नै लाग्दा बबई क्याम्पस बर्दियाका चिफ, मेरो आदरणीय गुरूको कोरोनाका कारण दुःखद निधन भएको खबर थाहा पाए ।

प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण

काठमाडौं  । प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा.दिव्या सिंह शाहलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले पीसीआर टेष्टका लागि स्वाब दिएकी थिइन् । शनिबार पोजेटिभ रिपोर्ट आएको र होम आइसोलेसनमा बसेको उनले बताइन् ।

शाहका अनुसार उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छैनन् । ३ दिन अघि डा.गोविन्द केसीलाई भेटेको तर सामाजिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गरेको उनले जानकारी दिइन् ।

कोरोनाः विश्वभर ३ करोड २७ लाख संक्रमित, ९ लाख ९३ हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९३ हजार ७७० पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या विश्वभर ३ करोड २७ लाख ८३ हजार पुगेका छ । कूल संक्रमितमध्ये २ करोड ४१ लाख ८४ हजार निको भएका छन् भने करिब ७६ लाख मानिस सक्रिय संक्रमित छन् ।

विश्वभर अझै पनि ६३ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यावसय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

संक्रमितको संख्या पनि ७२ लाख ४४ हजार नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म २ लाख ८ हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५९ लाख संक्रमित भएका छन् भने यहाँ ९३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै ब्राजिलमा करिब ४७ लाख व्यक्ति संक्रमित भएकामा एक लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार भन्दा बढीको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरु खास गरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

कारागारमा कैदीबन्दीलाई सङ्क्रमण पुष्टि भएपछि त्रास

विर्तामोड । झापा कारागारमा ७ जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि अन्य कैदिबन्दीमा त्रास फैलिएको छ ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौं जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको छ ।

गत साता काठमाडौं लैजान लागिएका एक कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार थप ७ जनामा कोरोना पुष्टि भएपछि अन्य कैदिबन्दी त्रसित छन् । संक्रमितको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ ।

कारागारका ७ कैदीबन्दी, एक भान्से र दुई प्रहरी कर्मचारीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मेची अस्पतालमा गरिएको स्वाब परीक्षणमा ३४, ३६, २८, ७५, २२, ६०, ३२, ३९, २५ र ६० वर्षका कैदी बन्दी र प्रहरी रहेको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिनुभयो ।

कोभिडको जस्तै लक्षण भएका बिरामीको संख्या दिनहुँ बढिरहेको झापा कारागारका चौकिदार मोहन धितालले जानकारी दिनुभयो । ३५० जनाको क्षमता भएको कारागारमा हाल ८२ महिला र १ हजार ६१ पुरुष गरी कैद भुक्तान गरिरहेका छन् ।

कारागारमा कैदिबन्दीको चाप रहेकोले पाले गरेर सुत्नुपर्ने र कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको छ । कारागारमा सामाजिक दूरी कायम हुन असम्भव रहेको, उपचारको नाममा एक जना अहेवले जाँचेर सिटामोल मात्र दिने गरेको चौकीदार धितालको गुनसो छ । कारागारभित्र साबुनपानी तथा स्यानिटाइजरको उपलब्धता पनि नभएको कैदिबन्दीको भनाइ छ ।

झापा कारागारमा हाल कोभिडले धेरै सताउने ठानिएको स्वासप्रस्वास (दम)का १००, टिबीका २०, किड्नीका ८, मुटुका १२ , मानसिक बिरामी ३५, एचआइभीका ४, मधुमेहका ३० र ज्येष्ठ नागरिक ९० जना कैदीबन्दी छन् ।

कैदीबन्दीमा कोरोनासँगै मौसमी ज्वरो फैलिएको झापा कारागारका प्रमुख राजेन्द्र गौतमले जानकार िदिनुभयो । सङ्क्रमितको संख्या बढ्दै गएकाले कारागारभित्रकै एउटा ब्लकलाई आइसोलेसनको रुपमा सञ्चालन गर्ने तयारी भइरहेकोे उहाँको भनाइ छ ।