मालपोतमा बढ्यो भिड, छैन स्वास्थ्य सुरक्षा मापदण्डको वास्ता – Nagarikabhiyan : National News

मालपोतमा बढ्यो भिड, छैन स्वास्थ्य सुरक्षा मापदण्डको वास्ता

इनरुवा ।  सुनसरी सदरमुकाम इनरुवामा रहेको भुमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयमा सेवाग्राहीको भिड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि थप बढेको छ ।

कार्यालय परिसरमा दैनिक सयौँको संख्यामा सेवाग्राही सेवा लिन आउने गरेको र सामान्य स्वास्थ्यको मापदण्ड समेत पुरा नगरेकाले जोखिम बढेको हो ।

सामान्य रुपमा ज्वरो नाप्ने थरमल गन समेत नभएको र सामाजिक दुरीको समेत ख्याल नगरेकाले संक्रमणको जोखिम बढेको छ । सुरक्षाका मापदण्ड पालना गर्दै विभिन्न सेवा क्षेत्र खुला गर्ने सरकारी नीति भएपछि असवाधानिका कारण कार्यालयका कर्मचारीहरुमा संक्रमण देखिन थालेको छ । मालपोतमा पनि कोही कर्मचारी संक्रमित नभएपनि सेवाग्राहीका कारणले कर्मचारीदेखी अन्य सेवाग्राही समेत जोखिममा छन ।

मालपोत कार्यालय सुनसरीमा सेवा लिन दैनिक सयौँको संख्यामा सेवाग्राही आउने गरेको भएपनि सुरक्षा र स्वास्थ्यको मापदण्ड पुरा नगरेको लेखापढी व्यवसायीहरुले बताएका छन । असोज १ गतेबाट मालपोत कार्यालयको काम शुरु सँगै कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड हुन थालेको हो । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय सञ्चालन गर्न भनेपनि सुनसरी मालपोत त्यसको पालना हुन नसकेको सेवाग्रहीहरुको गुनासो छ ।

धरान, इटहरी र इनरुवाको बलाहामा कोरोना संक्रमण समुदाय स्तरमै फैलिसकेको आंकलन भइरहेपनि मालपोत कार्यालयको भिडले गिज्याइरहेको छ । सेवाग्राहीहरु संक्रमण भन्दा काम समयमा सम्पन्न नहुँला समस्या हुने गरेको बताउँछन ।
मालपोत कार्यालय सुनसरीले न त गेटमा ज्वरो नाप्ने गरेको छ, नत स्यानिटाइजर कै व्यवस्था गरेको छ । सेवाग्राही पनि मास्क समेत नलगाई लाइनमा ठेलमठेल गरेर उभिएका छन् ।

कार्यालयका अधिकारीहरुले भिडभाड व्यवस्थापन र भौतिक दूरी कायम गराउन खोजे पनि सम्भव नभएको बताउँछन् । कार्यालयमा सेवाग्राहीको चाप भने बन्दाबन्दीपछि ह्वातै बढेको छ । भिडभाड नियन्त्रणका लागि न टोकन प्रणालीको वास्ता छ न त सेवाग्राहीको स्वास्थ्यमा ध्यान दिएको छ ।

अहिले मालपोत कार्यालयमा जग्गा किनबेच, रोक्का, फुकुवा जस्ता कामको लागी सेवाग्राही आउने गरेका छन । आम नागरिकमा कोरोनाको डरभन्दा कामको चिन्ता बढी देखिएको छ ।

कोरोना महामारीको संक्रमण बढीहेका बेला यसरी सरकारी कार्यालयहरुमा हुने भिडभाडले भयावह अवस्था आउने निश्चित छ । संक्रमण जोखिम कम गर्न सेवादिने कार्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सेवाग्राहीलाई समेत त्यसको पालना गर्न सचेत बनाउनुपर्ने देखिन्छ ।