देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित कप्तानगञ्जमा भएको दुखद् गोलीकाण्डमा ज्यान गुमाएका स्थानीय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आज सोही घटनास्थल परिसरमा भावविह्वल वातावरणका बीच अब अन्त्येष्टि गरिँदैछ। जुन ठाउँमा गोलीकाण्ड भएको थियो, स्थानीयवासी र आफन्तहरूले सोही स्थानमै दुवैजनाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै शवदाह प्रक्रिया अघि बढाएका हुन्।
अन्त्येष्टिस्थलमा हजारौँको संख्यामा विशाल जनसागर ओर्लिएको छ। देवानगञ्ज गाउँपालिका र आसपासका क्षेत्रबाट आफ्ना प्रिय छिमेकी तथा आफन्तलाई अन्तिम बिदाई दिन सर्वसाधारणको ठूलो उपस्थिति रहेको छ। मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उपस्थित सम्पूर्ण जनसमुदाय अत्यन्तै भावुक र स्तब्ध बनेका छन्।
घटनापछि सम्पूर्ण देवानगञ्ज र कप्तानगञ्ज क्षेत्र शोकमा डूबको छ। स्थानीय प्रशासनले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। उपस्थित नागरिकहरूले घटनाको सत्यतथ्य निष्पक्ष छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाही र पीडित परिवारलाई अविलम्ब न्याय तथा उचित क्षतिपूर्तिको माग गरेका छन्।
“यस दुखद् घडीमा नागरिक अभियान डटकम परिवार मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।” 😭
Month: १५ श्रावण २०८३, शुक्रबार २१:५३
समाचार संकलन गर्न पुगेका दर्शन एफ.एम.का पत्रकार धर्मेन्द्र मेहताको सवारी साधन तोडफोड
देवानगञ्ज । देवानगञ्जमा घटेको घटनाको विषयलाई लिएर समाचार संकलनका लागि कोशी गाउँपालिकाको कोशी कटान पुगेका दर्शन एफ.एम.का पत्रकार धर्मेन्द्र मेहताको सवारी साधनमा तोडफोड भएको छ।
हिजो देवानगञ्जको घटनाबारे सत्यतथ्य जानकारी तथा समाचार संकलन गर्ने क्रममा कोशी कटान पुग्नुभएका दर्शन एफ.एम.का पत्रकार मेहताको सवारी साधनमा अज्ञात समूहद्वारा तोडफोड गरिएको हो।
पत्रकारमाथि भएको यस आक्रमण र सवारी साधन तोडफोडको घटनाप्रति दर्शन एफ.एम.का अध्यक्ष विवेक मेहताले कडा शब्दमा विरोध तथा भर्त्सना गर्नुभएको छ। अध्यक्ष मेहताले कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीमाथि यस्ता गतिविधि हुनु प्रेस स्वतन्त्रता र सूचनाको हकमाथिको प्रत्यक्ष हमला भएको बताउनुभएको छ।
देवानगञ्जको घटनाबारे सत्यतथ्य समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई लक्षित गरी भौतिक क्षति पुर्याउने कार्य पूर्णतः निन्दनीय छ, अध्यक्ष मेहताले भन्नुभयो, घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन र पत्रकारको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन हामी स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौँ ।
यस घटनाप्रति स्थानीय सञ्चारकर्मी, दर्शन एफ.एम. मिडिया परिवार तथा विभिन्न सञ्चार सम्बद्ध संस्थाहरूले पनि गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
देवानगञ्जको स्थिति झनै भयावह: छानबिन समिति देवानगञ्ज आउन नमानेपछि आन्दोलन चर्कियो, चारैतिर बाटो ठप्प
देवानगञ्ज । दुई समुदायबीच भएको सामान्य विवादका क्रममा प्रहरीले चलाएको अन्धाधुन्ध गोली लागेर एक जनाको ज्यान जानुका साथै ९ जना घाइते भएपछि सुनसरीको देवानगञ्ज गाउँपालिकाको अवस्था झनै भयावह र तनावग्रस्त बनेको छ।
घटनापछि सिर्जित समस्याको सत्यतथ्य छानबिन गरी निकास निकाल्न सरकारले छानबिन समिति गठन गरे पनि उक्त समिति नै देवानगञ्ज आउन नमानेपछि स्थिति झनै विस्फोटक बनेको हो। छानबिन समिति कार्यस्थलमा आउन आनकानी गरेपछि आक्रोशित बनेका स्थानीयले हिजोभन्दा आज आन्दोलनलाई अझ चम्काएका छन्।
प्रदर्शनकारीहरूले देवानगञ्ज जोड्ने चारैतिरका मुख्य तथा भित्री सडकहरूमा अवरोध पुर्याएर यातायात पूर्ण रूपमा ठप्प पारेका छन्। बाटोघाटो बन्द हुँदा र प्रदर्शन उग्र बन्दै जाँदा सिङ्गो देवानगञ्ज क्षेत्रमा त्रास र अन्योलको वातावरण सिर्जना भएको छ।
”प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट नागरिकको ज्यान जाँदासमेत सरकारले पठाएको छानबिन समिति घटनास्थलमा आउन डराउनु वा नमान्नु चरम गैरजिम्मेवारीपन हो,” स्थानीयहरूले आक्रोश पोख्दै भने, “जबसम्म छानबिन समिति प्रत्यक्ष उपस्थित भएर निष्पक्ष अनुसन्धान सुरु गर्दैन, दोषीमाथि कारबाही हुँदैन र घाइते तथा मृतकका परिवारले न्याय पाउँदैनन्, तबसम्म आन्दोलन रोकिँदैन।”
प्रशासनिक बेवास्ता र छानबिन समितिको पन्छिने प्रवृत्तिका कारण देवानगञ्जको स्थिति नियन्त्रणबाहिर जाने खतरा झनै बढेर गएको छ।
देवानगञ्ज घटनाको निष्पक्ष छानबिनका लागि सुनसरीमा नयाँ प्रहरी प्रमुख: स्वच्छ छविका पुष्पराज मल्ल आउँदै
देवानगञ्ज । देवानगञ्जमा हिजो घटेको अप्रिय घटनापछि जिल्लाको शान्ति-सुरक्षा र जनविश्वासलाई पुनः कायम गर्न प्रहरी नेतृत्वमा ठूलो हेरफेर गरिएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सुनसरीका साविक प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ भने उनको ठाउँमा नेपाल प्रहरीभित्र निर्भीक, निष्पक्ष र उच्च छवि बनाएका पुष्पराज मल्ललाई नयाँ प्रहरी प्रमुखका रूपमा कमान्ड सम्हाल्न पठाइँदै छ ।
तत्कालीन प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएर स्वच्छ छविका अधिकारीलाई ल्याउने निर्णयलाई स्थानीय नागरिक तथा बुद्धिजीवीहरूले सकारात्मक रूपमा लिएका छन्।
नयाँ आउने प्रहरी प्रमुख मल्लले जिम्मेवारी सम्हालेलगत्तै देवानगञ्ज घटनाको स्थलगत अवलोकन र गहिरो अनुसन्धान सुरु गर्ने तयारी छ। कानुनभन्दा माथि कोही नहुने भएकाले दोषीलाई कडा कारबाही गरिनेछ।
सुनसरीको कमान्ड सम्हाल्न लागेका पुष्पराज मल्लले क्षेत्रको शान्ति-सुरक्षा चुस्त बनाउनुका साथै देवानगञ्ज घटनाका हरेक पाटालाई सूक्ष्म रूपमा अध्ययन गरी तथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएका छन्।
भण्टावारीमा मानव बेचबिखन तथा लागुऔषध नियन्त्रणका लागि ‘हेल्प डेस्क’ स्थापना
भण्टावारी । नेपाल–भारत सीमावर्ती क्षेत्रमा बढ्दो मानव बेचबिखन तथा लागुऔषधको अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीस्थित सीमा नाकामा ‘हेल्प डेस्क’ स्थापना गरिएको छ। भारतको सुपोल–भीमनगर सीमा क्षेत्रसँग जोडिएको उक्त नाकामा गैरसरकारी संस्था नव अभियान नेपाल को पहल तथा सहयोगमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।
खुला सीमा क्षेत्रका कारण मानव बेचबिखन, महिला तथा बालबालिकामाथि हुने हिंसा, लागुऔषधको ओसारपसार तथा अन्य आपराधिक गतिविधि बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै स्थापना गरिएको हेल्प डेस्कले सीमा सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्थानीय स्तरमा सचेतना अभिवृद्धि गर्नुका साथै जोखिममा परेका नागरिकलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको जनाइएको छ।
औपचारिक कार्यक्रमबीच उद्घाटन
नवनिर्मित हेल्प डेस्कको उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कोशी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष बलराम कुमार क्षेत्री रहनुभएको थियो। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा कोशी गाउँपालिका कार्यसमिति सदस्य सरजुग सरदार तथा इलाका प्रहरी कार्यालय भण्टावारीका इन्चार्ज सुरेश यादव सहभागी हुनुभएको थियो।
कार्यक्रममा नव अभियान नेपालका जिल्ला संयोजक समीर न्योपाने , संस्थाका कर्मचारी प्रमुख सुधा कुमारी देव, संस्थाकी प्रतिनिधि आसमा खातुन, स्थानीय सञ्चारकर्मी तथा बुद्धिजीवीहरूको समेत सहभागिता रहेको थियो।
सीमा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बलराम कुमार क्षेत्रीले खुला सीमाका कारण भण्टावारी क्षेत्रमा विभिन्न किसिमका संवेदनशील अपराध हुने गरेको उल्लेख गर्दै हेल्प डेस्कको स्थापना सीमा सुरक्षाका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामाजिक उत्तरदायित्व बहन गर्दै नव अभियान नेपालले चालेको पहलको प्रशंसा गर्दै स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय भण्टावारीका इन्चार्ज सुरेश यादवले प्रहरी प्रशासन र सम्बन्धित निकायबीचको सहकार्यबाट हेल्प डेस्क प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सीमाबाट हुने शङ्कास्पद गतिविधिमाथि निगरानी बढाउँदै मानव बेचबिखन तथा लागुऔषध कारोबार नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो।
नव अभियान नेपालका प्रतिनिधिहरूका अनुसार हेल्प डेस्कमार्फत सीमा नाका भएर आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई मानव बेचबिखन, बाल अधिकार, महिला हिंसा तथा लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतना प्रदान गरिनेछ। साथै, जोखिममा परेका महिला, बालबालिका तथा अन्य नागरिकहरूको उद्धार, परामर्श तथा कानुनी सहायता उपलब्ध गराइने जनाइएको छ।
संस्थाले स्थानीय तह, प्रहरी प्रशासन र समुदायसँग समन्वय गर्दै सीमा क्षेत्रमा सुरक्षित वातावरण निर्माण गर्न तथा मानव बेचबिखन र लागुऔषधको अवैध कारोबार न्यूनीकरण गर्न निरन्तर काम गर्ने जनाएको छ।
सीमावर्ती क्षेत्रमा स्थापना गरिएको यो हेल्प डेस्कले स्थानीय नागरिकको सुरक्षा, सचेतना अभिवृद्धि तथा सीमा अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
