देवानगञ्जको स्थिति झनै भयावह: छानबिन समिति देवानगञ्ज आउन नमानेपछि आन्दोलन चर्कियो, चारैतिर बाटो ठप्प
१२ श्रावण २०८३, मंगलवार १६:१२
देवानगञ्ज । दुई समुदायबीच भएको सामान्य विवादका क्रममा प्रहरीले चलाएको अन्धाधुन्ध गोली लागेर एक जनाको ज्यान जानुका साथै ९ जना घाइते भएपछि सुनसरीको देवानगञ्ज गाउँपालिकाको अवस्था झनै भयावह र तनावग्रस्त बनेको छ।
घटनापछि सिर्जित समस्याको सत्यतथ्य छानबिन गरी निकास निकाल्न सरकारले छानबिन समिति गठन गरे पनि उक्त समिति नै देवानगञ्ज आउन नमानेपछि स्थिति झनै विस्फोटक बनेको हो। छानबिन समिति कार्यस्थलमा आउन आनकानी गरेपछि आक्रोशित बनेका स्थानीयले हिजोभन्दा आज आन्दोलनलाई अझ चम्काएका छन्।
प्रदर्शनकारीहरूले देवानगञ्ज जोड्ने चारैतिरका मुख्य तथा भित्री सडकहरूमा अवरोध पुर्याएर यातायात पूर्ण रूपमा ठप्प पारेका छन्। बाटोघाटो बन्द हुँदा र प्रदर्शन उग्र बन्दै जाँदा सिङ्गो देवानगञ्ज क्षेत्रमा त्रास र अन्योलको वातावरण सिर्जना भएको छ।
”प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट नागरिकको ज्यान जाँदासमेत सरकारले पठाएको छानबिन समिति घटनास्थलमा आउन डराउनु वा नमान्नु चरम गैरजिम्मेवारीपन हो,” स्थानीयहरूले आक्रोश पोख्दै भने, “जबसम्म छानबिन समिति प्रत्यक्ष उपस्थित भएर निष्पक्ष अनुसन्धान सुरु गर्दैन, दोषीमाथि कारबाही हुँदैन र घाइते तथा मृतकका परिवारले न्याय पाउँदैनन्, तबसम्म आन्दोलन रोकिँदैन।”
प्रशासनिक बेवास्ता र छानबिन समितिको पन्छिने प्रवृत्तिका कारण देवानगञ्जको स्थिति नियन्त्रणबाहिर जाने खतरा झनै बढेर गएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया