१५ भाद्र २०७८, मंगलवार १७:२९ – Nagarikabhiyan : National News

थप १,६६४ जनामा कोरोना संक्रमण, १७८६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घणमा १७८६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७५० पुगेको छ भने ७ लाख १६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेका छन् । जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१३, झापामा १३६, कास्कीमा १२६, सुनसरीमा ९५, ललितपुरमा ८७ र चितवनमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मोरङमा ७८, भक्तपुरमा ६४, काभ्रेपलाञ्चोकमा ५३, मकवानपुरमा ४०, पर्वतमा ३७, गोर्खामा ३५ र रुपन्‍देहीमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

सिन्धुपाल्चोकमा २७, सुर्खेतमा २२, नवलपरासी पुर्व र बागलुङमा १८/१८ जना, जुम्लामा १४ , कैलालीमा १३ र इलाममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्नै शरीरमा आगो लगाएर महिलाद्वारा आत्महत्या

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एकजना महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् । सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् ।

घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायीक बनपाखोमा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

ती महिलाले डिजेल शरीरमा खन्याएर आगो लगाएर आत्महत्या गरेको खुलेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । महिलाले आत्महत्या गरेको स्थान छेवैमा डिजेल प्रयोग गरिएको बोटल तथा सानो झोला समेत फेला परेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

घटनापछि प्रहरीले शवको मुचुल्का उठाई शवलाई सोमबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उक्त महिला केही समयअघि कोभिड संक्रमित समेत थिइन् । मृतकका दुई छोरी रहेका छन् ।

साऊदी अरेबियाको विमानस्थलमा ड्रोन आक्रमण

काठमाडौं। बमले भरिएको एक ड्रोनले साऊदी अरेबियाको विमानस्थलमा आक्रमण गरिएको छ । गएको चौबीस घण्टामा साऊदी अरेबियाको विमानस्थलमा आक्रमण भएको यो दोस्रो घटना हो ।
साऊदी अरेबियाको दक्षिण पश्चिमस्थित अबहा विमानस्थलमा गरिएको आक्रमणमा आठ जना यात्रु घाइते भएको द हिन्दूले उल्लेख गरेको छ । आक्रमणको जिम्मेवारीको कुनै समूहले हालसम्म दाबी गरेको छैन् ।
छिमेकी राष्ट्र यमनमा हिंसात्मक गतिबिधि तीब्र बन्द त्यसको असर सऊदी अरबमा समेत देखिन थालेको छ । आक्रमणमा यमनमा संघर्षरत हुथी बिद्रोहीको संलग्नताको अनुमान गरिएको छ ।

लगातार देउवालाई एकपछि अर्को धक्का

काठमाडौं । नेपाली कांग्रसको आसन्न १४औं महाधिवेशनमा सभापतिमा पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि उम्मेद्धवारी दिने भएका छन् ।

श्रेष्ठ सभापति शेरबहादुर देउवाको विश्वासिलो पात्र हुन । तर, उनले यसपटक भने सभापतिमा उम्मेद्धवारी दिनेगरि तयारी थालेका छन् । कतिसम्म भने उनले आफूलाई सभापतिमा देउवाको पनि साथ र सहयोग रहने दाबी गरिरहेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूलाई सभापतिमा देउवाले पनि सघाउने सनसनीपूर्ण खुलासा गरेका थिए । उनले अब सरकार देउवाले चलाउने र पार्टी आफूले चलाउने सहमति भएको पनि बताएका थिए ।

यसअघि देउवाको निकट नेता विमलेन्द्र निधिले पनि तामझामका साथ सभापतिमा उम्मेद्धवारी दिनेगरि काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालयको स्थापना गरिसकेका छन् ।

उनले यसपटक आफू कुनैपनि हालतमा ब्याक नहुने सार्वजनिक अभिव्यक्ति दिईरहेका छन् । कतिसम्म भने १३औं महाधिवेशनमा देउवाले आफूलाई १४औं महाधिवेशनमा सघाउने वचन दिएको निधिको भनाई छ । यसअघि देउवाले निधिलाई बोलाएर आफूलाई सहयोग गर्न आग्रहसमेत गरेका थिए । तर, निधिले भने आफू सभापतिको उम्मेद्धवारी दिने कुरामा अब ब्याक नहुने अडान लिएका थिए । १४औं महाधिवेशनमा यसपटक देउवालाई निधि र श्रेष्ठले उम्मेद्धवारी दिए भने नराम्रो धक्का लाग्ने विश्लेषण कांग्रेसभित्रै भैरहेको छ ।

उता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि सभापतिमा उम्मेद्धवारी दिनेगरि छलफललाई अघि बढाएको छ । अहिले पौडेल पक्षको आन्तरिक बैठक पौडेल निवासमा जारी छ । पौडेल पक्षले भने सहमतिमै सर्वसम्मतीको सभापतिको उम्मेद्धवार तय गर्ने भनेको छ । पौडेल समूहबाट पौडेल स्वयमपनि सभापतिको आकांक्षी हुन । त्यस्तै, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला सभापतिको आकांक्षी हुन् ।

५० लाख खर्च गर्दापनि मोडल घिमिरेको स्वास्थ्य सुधार भएन : नर्भिक अस्पताल

काठमाडौँ । उद्धार गरेको झण्डै तीन महिना बित्न लाग्दा समेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको नर्भिक अस्पतालले जनाएको छ।

अस्पतालले मंगलबार पत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेको जानकारी दिएको हो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा सिसियूमा राखेर उपचार जारी गरिएको छ। आफैं खाना खाने अवस्था अझै पनि छैन। शरीरमा केही मासु लागे पनि घाउहरु पनि लामो समयसम्म निको हुन सकेका छैनन्।

‘उद्धार गरेको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखापरेका थिए। उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन। तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ।’

नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्धार गरेकी थिइन्। हालसम्म नर्भिकमा घिमिरेको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध संचालक मेघा चौधरी र अस्पतालले प्रायोजन गर्दै आएको छ। अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

पत्रकार सम्मेलनको अवसरमा नर्भिकले निशाको उपचारका क्रममा अरु कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको र लिन आवश्यक समेत नरहेको प्रष्ट पारेको छ।

‘निशा घिमिरेको उपचारका नाममा कोहीकसैले सहयोग रकम संकलन गरिरहेको भन्ने यदाकदा सुनिन्छ, तर यो विषयमा नर्भिक अस्पताल अनभिज्ञ रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

बागमतीकी मुख्यमन्त्री शाक्य अल्पमतमा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् ।

२ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गरेकी उनी अन्ततः १४ दिनमै अल्पमतमा परेकी हुन् ।

एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । हाल प्रदेश मन्त्री रहेका कृष्ण खनालले पनि समाजवादीमा सनाखत गर्ने भएका छन् ।

लामो समय माधवकुमार नेपाल समूहमा रहेकी शाक्य मुख्यमन्त्री बन्ने भएसँगै केपी ओली समूहमा गएकी थिइन् । एमालेभित्रको शक्ति संघर्षमा माधव नेपाललाई साथ दिँदै आएकी उनी २ भदाैमा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन हुँदै मुख्यमन्त्री बनेकी हुन् ।

६९.५ अंकले घट्यो नेप्से, १३ अर्ब २५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.५ अंकले घटेर दुई हजार ९ सय ७५ दशमलब ८४ विन्दुमा थामिएको छ । त्यस्तै, आज १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ७.५८ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.९९ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज एक अर्ब भन्दा बढीको कारोबार भएको छ ।

खुल्न थाले विद्यालय

बागलुङ । कोरोना सङ्क्रमण दर न्यून भएसँगै यहाँका विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् ।

कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताए । ‘बालबालिकालाई कहिलेसम्म पढाइबाट वञ्चित गर्ने ?’ उनले भने ।

‘महामारीको जोखिम कम भएका ठाउँमा विद्यालय खुलेका छन् नेपाल माविमा पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म आइतबार, मङ्गलबार, बिहीबार ६ देखि ९ सम्मको कक्षा सोमबार, बुधबार, शुक्रबार र कक्षा १० आइतबारदेखि शुक्रबारसम्म सञ्चालन भइरहेको छ ।

सानो उमेरका बालबालिकाका लागि अनलाइन कक्षा प्रभावकारी नभइरहेका बेला गाउँका विद्यालयले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्रत्यक्ष सिकाइविधि अपनाएका हुन् । दुर्गममा इन्टेरनेटको सहज पहुँच नहुँदा अनलाइन कक्षा सञ्चालनमा चुनौती छ ।

केही समय विद्यार्थीका घरघरमा पुगेर टोल शिक्षामार्फत सिकाइ सहजीकरण गरिए पनि त्यसलाई निरन्तरता दिन व्यवस्थापकीय कठिनाइ भएको प्रअ अधिकारीको भनाइ छ ।

कक्षाकोठाभित्र भौतिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने कुरामा भने कडाइ गरिएको उनले भने । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कोरोना सङ्क्रमणको अवस्था हेरेर जोखिम नभएका ठाउँमा विद्यालय खोल्ने निर्णय गरिएको बताए ।

बागमती प्रदेशसभाका १२ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौँ । बागमती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले माधवकुमार नेपालको नेतृत्वमा केही दिनअघि दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।

हेटौँडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरुले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका हुन्।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सांसदहरुमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, बसन्त मानन्धर, लक्ष्मण लम्साल,  पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल,  रमा आले मगर, कृष्ण खनाल र कुसुमकुमार कार्की रहेका छन्।

अरु सांसदहरु पनि थपिने उनीहरुको दावी छ। निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई यही भदौ २२ गतेसम्म पार्टी रोज्न पाउने समय दिएको छ।

वागमतीका सामाजिक विकासमन्त्री खनाल पनि एकीकृत समाजवादीमा

काठमाडौं । वागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् । तर, उनले आज निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

योसँगै एकीकृत समाजवादीको पक्षमा सनाखन गर्ने एमाले सांसदहरूको संख्या १२ पुगेको छ।

आजबाट मौसममा सुधार

काठमाडौँ । विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मौसममा सुधार भएको छ । नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही कमजोर भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन मनसुन कमजोर रहने भएकाले निरन्तरको भारी वर्षाको सम्भावना छैन । “बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका बिहानपख मौसम सफा हुने तथा मध्याह्नतिर बदली भई हल्कादेखि मध्यम वर्षा हुनेछ,” उनले भने ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

बुधवार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औँल्याएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

भारतमा पहिलो पटक सर्वोच्चका नौ न्यायधीशले लिए एकै पटक सपथ

नयाँ दिल्लाी । भरतमा सर्वोच्च अदालतका नौ जना नयाँ न्यायधीशले पद तथा गोपनियताको सपथ लिएका छन् । तीन महिलासहित नौ न्यायधीशलाइ मंगलबार बिहान प्रधान न्यायधीश एन भी रमनाले सपथ खुवाएका हुन् ।

भारतको सर्वोच्च अदालतको इतिहासमा नै पहिलो पटक नौ जना न्यायधीशले एकै पटक सपथ खाएका हुन् । सामाजिक दूरी कायम राख्दै सर्वोच्च अदलतको अडिटरियम भवनमा सपथ कार्यक्रम आयोजना गरिएको थियो । यसअघि प्रधानन्यायधीशको  कक्षामा सपथ खुवाइने गरेकोमा कोभिडका कारण सामाजिक दूरी राख्न छुट्टै हलको व्यवस्था गरिएको थियो ।

मंगलबार सपथ लिनेमा न्यायधीश अभय ओका, बिक्रम नाथ, जितेन्द्र कुमार महेश्वरी, हिमा कोली र बीभी नगरथना छन् । नगरथना पूर्व प्रधान न्यायधीश इएस भेनकाटरमिहको छोरी हुन् । त्यस्तै, सपथ लिने अन्य न्यायधीशमा सीटी रभि कुमार, एम एम सनद्रेस, बेला एम त्रिवेदी र न्यायधीश पीएस नरसिंह छन् ।

काठमाडौंको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग गरिने

काठमाडौं । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलवारको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।

‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौं,’ मेयर शाक्यले भने, ‘हामीले गर्नसक्ने समस्या भए हामी समाधान गर्छौं । हामीले नसक्ने भए सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौं । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’

उनले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए । ‘सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको छ । त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको हो । काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो,’ शाक्यले भने, ‘अहिले पनि हामीले प्रधानमन्त्री र विभिन्न निकायसँग फाहोर व्यवस्थापनका लागि सहयोगको अपील गर्दै आएका छौं ।’

शाक्यले स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको बताए । ‘महानगरपालिकाले विगतका दिनमा पनि सिसडोलबासीका विभिन्न माग सम्बोधन गर्दै आएको छ,’ शाक्यले भने, ‘अहिले पनि उहाँहरुका जायज र महानगरपालिकाले सम्बोधन गर्न सक्ने माग पूरा गर्न हामी सकारात्मक छौं ।’

उनले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको मात्रै नभई सम्पूर्णको समस्या हो भन्दै सबैतिरबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले फोहोर उठाउने निर्णय भएको र सडक विभागले महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने निर्णय भएको बताए । ‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने भएको छ,’ उनले भने, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौँबीच समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने भएको छ ।’

पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने बताए । ‘फोहोर नगरपालिकाले उठाउँछ । स्थानीयका स–साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भने, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु । उहाँहरुको स्थानीय समस्या भए लेखेर दिनुहोला । कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौँ । तर, अवरोध गर्ने भन्ने हुन्न । हामी सकेम्म सम्झाइ–बुझाई गरेर शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौ । भएन भने बल प्रयोगको नियम प्रयोग गरेर भए पनि व्यवस्थापन गर्छौ ।’

काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने बताए । ‘स्थानीय व्यक्तिका समस्या छन् भने त्यसको सुनुवाई गर्ने प्रयास हुन्छ,’ सिंहले भने, ‘त्यति गर्दा पनि अवरोध कायम भए कारवाहीको दायरामा ल्याएर भए पनि फोहोर व्यवस्थापन गर्छौं ।’

बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले महानगरपालिकासँग समन्वय गरेर अघि बढ्ने बताए । मेयर शाक्यले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी फोहोर व्यवस्थापनमा सहयोग गर्न अपील गरेका थिए ।

रोनाल्डोले युनाइटेडसँग गरे दुई वर्षको सम्झौता

म्यानचेस्टर ।  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेको छ । मंगलबार युनाइटेडले युभेन्ट्सका ३६ बर्षीय फरवार्ड रोनाल्डोलाई अनुबन्ध गरेको हो । सम्झौता दुई बर्षको रहेको युनाइटेडले जनाएको छ ।

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका छन् । यसअघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाइटेडबाट खेलेका थिए ।

युनाइटेडबाट रियल म्याड्रिड पुगेका रोनाल्डो त्यहाँ ९ बर्ष खेल्दै इटाली पुगेका थिए । सिरी ए मा युभेन्ट्ससँग एक बर्षको सम्झौता बाँकी रहँदै रोनाल्डो पूर्वक्लब युनाइटेड फर्किएका हुन् ।

मनाङमा बाढी : विद्यालयबाट खोला बग्यो, पठनपाठनमा अन्योल

मनाङ । बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते ममर्स्याङदी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये चार विद्यालयमा क्षति पुगेको छ ।

जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार तीन माध्यमिक र एक आधारभूत विद्यालयमा धेरै क्षति पुगेको छ । यी विद्यालयहरुमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

 

जिल्लाका नमूना विद्यालयका रुपमा रहेको लोकप्रिय मावि र प्रकाश ज्योति माविको आधा भाग बाढीले बगाएको छ भने पठनपाठन गर्न सकिने अवस्था नरहेको रेग्मीले बताए । नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माविमा हालसम्म पनि ममर्स्याङदी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा छ ।

चारवटा मात्रै मावि रहेको मनाङका विद्यालयमा खोला पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको शिक्षाप्रमुख रेग्मीले बताए । ‘कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ सुनिश्चित गर्न सम्बन्धित निकायसँग बारम्बार समन्वय गरिरहका छौँ, बस्ती नै जोखिम रहेको र स्थानान्तरण गर्नुपर्ने भएकाले विद्यालयको भौतिक संरचना कहाँ बनाउने यो विषयमा छलफलकै प्रक्रियामा रहेको छ,’ रेग्मीले भने ।

विद्यालयमा अझै पनि नदी बगिरहेको छ, अब बस्ती जता स्थानान्तरण हुन्छ त्यतै बालबालिकाको पठनपाठन गर्ने स्थान पनि निश्चित हुने अपेक्षा गरिएको भानु माविका प्रधानाध्यापक श्यामकृष्ण पन्तले जानकारी दिए ।

‘विद्यालयको भवन हुँदा पठनपाठन रोकियो, कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम भएर पढाइ हुने बेला विद्यालय भवन नै बाढीले बगायो, अहिले विद्यालयको भवनमा खोला बगिरहेको छ, बालबालिकाको भविष्य र पठनपाठन के होला भन्न सक्ने अवस्था नै छैन,’ पन्तले भने ।

त्यस्तै नासों गाउँपालिका-६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माविलाई एकतर्फ मस्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पुर्‍याएको छ । १२ कक्षासम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि ममर्स्याङदी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकस भएको विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले बताए ।

‘छात्रावासमा बालबालिका राख्न सक्ने अवस्था नै छैन, पहिराको जोखिममा कति बेला परिन्छ विद्यालय ढुक्क हुनसक्ने समय छैन, यस्तो अवस्थामा बालबालिकाको भविष्य निर्धारणका लागि सम्बन्धित निकायले समयमै सचेत हुनुपर्छ,’ प्रधानाध्यापक पन्थीले भने, ‘शिक्षक र विद्यार्थी बस्ने स्थान नै सुरक्षित छैन, कहाँ राखेर पठनपाठन गराउने भन्ने हामी पनि चिन्तित छौँ, विद्यार्थी र शिक्षक नै विद्यालयसम्म पुग्न सक्ने बाटो छैन, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घसँग समन्वय गरी समाधान गर्ने प्रयत्नमा छौँ ।’

सदरमुकामस्थित चामे गाउँपालिका–४ स्थित नमूना विद्यालय लोकप्रिय माविको ममर्स्याङदी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुगेको छ । छात्रावास सहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहेको छ । कम भाग मात्रै बाँकी रहेको विद्यालयमा राखेर विद्यार्थीको पठनपाठन अगाडि बढाउन सक्ने अवस्था छैन ।

‘बाढीको कटानले विद्यालय भवनको एक चौथाइ बाँकी छ, शैक्षिकसत्रको अन्तिम अन्तिमतिर आइसकेका छौँ, कोरोना कहरले शिक्षा क्षेत्रमा धेरै नोक्सान पुर्‍याएकामा अहिले बाढीपहिराले पनि जोखिम थपिदियो, विद्यार्थीहरुलाई कोरोनाको खोप दिएर पठनपाठन थाल्न सरकारबाट नै आदेश भएमा कहाँ राखेर कक्षा सञ्चालन गर्ने भन्ने चिन्ताको विषय बनेको छ,’ लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाले भने।

कोरोनाले थलिएको मनाङको शैक्षिक क्षेत्रमा बाढीले झन् थिलथिलो बनाएको उनले बताए । बाढीपहिराका साथै कोरोना कहर न्यूनीकरण हुँदै जाँदा बालबालिकाको भविष्य निर्माणका लागि पठनपाठन सञ्चालन गर्नुपर्ने हुन्छ तर विद्यालयका भवन नै बाढीपहिराले बगाएपछि मनाङका धेरै विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनेछन् ।

वैकल्पिक अध्ययन केन्द्रको खोजी

मनाङको शैक्षिकसत्र सकिने बेलामा सरकारले पठनपाठन गराउन आदेश दिने सम्भावना बढेको छ । यस्तो अवस्थामा मनाङका बालबालिकाले भने पठनपाठनका लागि नै वैकल्पिक शिक्षालयको खोजी गर्न बाध्य भएका छन् ।

यहाँका विद्यालयको भौतिक संरचना बाढीपहिराले बगाएपछि विद्यार्थीहरुले छिमेकी जिल्लाका साथै राजधानी काठमाडौँ र प्रदेश राजधानी पोखरा छनौट गर्नुपर्ने भएको छ । मध्यम वर्गका विद्यार्थीहरुलाई जिल्लाबाहिर पठनपाठनका लागि केही सहज हुने भए पनि विपन्न वर्गका विद्यार्थीलाई सकस भएको स्थानीय अभिभावकहरु बताउँछन् ।

‘बालबालिकालाई बाहिरी जिल्लामा राखेर पढाउन धेरै समस्या झेल्नुपर्छ । विद्यालय खोज्नुपर्ने अवस्था हुन्छ । महङ्गा विद्यालयमा भर्ना लिने सम्भावना पनि कम छ । छात्रावासमा राखेर पढाउन सकिँदैन । भाडामा राखेर पढाउँदा बालबालिकालाई खाना, खाजा खुवाउने भन्ने चिन्ता बढेको छ । खोई कसरी बालबालिकाको भविष्य बनाउने भन्ने चिन्ताले सताउँछ । बाढीपहिराले धेरै समस्या थपिएको छ मनाङवासीलाई,’ अभिभावक जालमाया गुरुङले भनिन्।

भेँडाच्याङ्ग्रा पाल्दै घरमै बनेको खाना खुवाएर छोराछोरीको पठनपाठन अगाडि बढाउन सजिलो भएको थियो । अब कता पढाउने ? कहाँ राख्ने भन्ने मनमा खेलिरहने गरेको उनले बताइन् । वैकल्पिक अध्ययन केन्द्रका लागि सरकरसँगै सम्बन्धित निकायले समयमा नै योजना निर्धारण गर्न सके मनाङवासीलाई सहज हुने थियो ।

स्थानीय सरकारको लगानी खोलामा

मनाङका स्थानीय तहले शैक्षिक क्षेत्रको विकासका लागि चार वर्षदेखि गरेको लगानी खोलामा बगेको छ । देशमा सङ्घीयता आएपछि मनाङको स्थानीय सरकारले शैक्षिक गुणस्तर सुधार र वृद्धिका लागि गरेको लगानी एकै दिनको बाढीले सकिएको छ ।

मनाङको शैक्षिक गुणस्तर खस्किँदै गएको अवस्थामा सङ्घीयता आएपछि स्थानीय सरकारले प्राथमिकताका साथ शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा विकासका योजना ल्याएका थिए । केही प्रगति पनि भएको थियो । पछिल्लो प्रकोपले गर्दा भौतिक संरचनामा क्षति पुर्‍याएको र स्थानीय तहको लगानी खेर गएको छ ।

विद्यार्थी सङ्ख्या कम हुँदा विद्यालयहरुलाई एकापसमा गाभेर शैक्षिकस्तर वृद्धि गरिएको थियो । स्थानीय तहले शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेकामा अहिले बाढीपहिराले सबै नाश गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।

‘प्राथमिकतामा राखेर विद्यालयहरुलाई गाभेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गरिएको लगानी पानीमा बग्यो । अब विद्यालय निर्माण गर्नका लागि मात्रै पनि चार वर्षदेखि गरिएको लगानीभन्दा बढी लाग्छ । स्थानीय तहलाई शैक्षिक क्षेत्रको भौतिक संरचना निर्माणमा लगानी जुटाउनै मुस्किल भयो,’ अध्यक्ष घलेले भने ।

स्थानीय सरकारले वर्षैपिच्छे विद्यालयको आवासीय विद्यालय निर्माण गरी मनाङका विद्यार्थीलाई सहज शिक्षा प्राप्त गर्ने वातावरण निर्धारण गरेको थियो तर गत असार १ गते आएको बाढीपहिराले अहिले केही पूर्ण क्षति भएर पठनपाठन गराउन सकिने अवस्थामा छैनन् भने केही विद्यालयमा भौतिक संरचनाको अभाव छ ।

त्यस्तै जिल्लाकै सबैभन्दा बढी क्षति भएको नासों गाउँपालिकाभित्रका तीनवटा विद्यालय पूर्ण क्षति भएका छन् । ती विद्यालय मर्मत र पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गर्न सक्ने अवस्था गाउँपालिकाको मात्र छैन ।

शैक्षिक गुणस्तरीयता कायम भएका विद्यालय ममर्स्याङदीमा आएको बाढीले क्षति पुर्‍याएपछि विद्यालय सञ्चालन गर्नै मुस्किल भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँका अनुसार टाढा–टाढाबाट आउने विद्यार्थीलाई सहज बनाउने उद्देश्यले आवासीय विद्यालय बनाइएको थियो ।

६ सय ८१ विद्यार्थी, शिक्षक एक सय ५२

विकट हिमाली जिल्ला मनाङमा जनसङ्ख्याकै आधारमा विद्यार्थी रहेका छन् । जिल्लाका २८ विद्यालयमा अध्ययनरत ६ सय ८१ विद्यार्थी छन् । मनाङमा छात्रको तुलनामा छात्राको सङ्ख्या बढी रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार २८ विद्यालयमध्ये चार माध्यमिक तह सञ्चालित छन् भने २४ आधारभूत विद्यालय रहेका छन् । मनाङका दुईवटा विद्यालयमा छात्रवाससहित आवासीय व्यवस्था गरिएको छ । जिल्लामा शिक्षकको सङ्ख्या भने एक सय ५२ रहेको छ।

१० घण्टाको यात्रा अब आधा घण्टामा सरर…

गण्डकी । पोखराबाट सिमरासम्मको यात्रा गर्न लगभग १० घण्टा गाडीमा कुद्नुपर्छ । सडक बिग्रेभत्केका अवस्थामा त त्यो पनि सम्भव छैन ।

पर्यटकीय नगरी पोखरा भारतीय पर्यटकले राम्रै रुचाइएको गन्तव्य हो । नेपाल भित्रने अधिकांश भारतीय पर्यटकहरू रक्सौल नाकाबाट आउने गर्दछन् । नजिकै सिमारा विमानस्थल रहेर पनि पोखरा-सिमरा सिधा उडान नहुँदा सामान्य अवस्थामा पनि झन्डै १० घण्टाको गाडीको यात्रा बाध्यता जस्तै बनेको थियो ।

भारतीय पर्यटक भित्रने मुख्य नाका रक्सौल नजिकै रहेको सिमरा विमानस्थलबाट पोखरा सिधा हवाई उडान आवश्यक भएको आवाज समय-समयमा उठ्ने गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन।

भारतीय पर्यटकलाई अधिकतम भित्र्याउनुका साथै आन्तरिक पर्यटनमा समेत टेवा पुगोस् भन्ने उद्देश्यका साथ पोखरा-सिमरा सिधा उडान हुन लागेको र बुद्ध एयरले उक्त उडान भर्ने भएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

‘पोखरा–सिमरा सिधा हवाई सम्पर्क गण्डकी प्रदेश र प्रदेश नं २ लाई जोड्ने महत्वपूर्ण माध्यम पनि हो,’ उनले भने, ‘कोरोना प्रभावित पर्यटनलाई आन्तरिक रुपमा पनि सबल बनाउनका लागि यो उडान महत्वपूर्ण बन्ने अपेक्षा गरेका छौँ ।’

वीरगञ्ज देशको प्रमुख व्यापारिक नाका हुनाका साथै नजिकै रहेको पर्सा राष्ट्रिय निकुञ्जसमेतका कारण यी क्षेत्रसँग पर्यटकीय नगरी पोखरासँगको पर्यटकीय साइनोलाई समेत सिधा उडानले महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

बुद्ध एयरले पोखरा-सिमरा उडान हप्ताको तीन दिन गर्न लागेको पोखरास्थित बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । उनका अनुसार प्रत्येक हप्ता आइतबार, बुधबार र शुक्रबार उडान तालिका राखिएको छ । उडान हुने दिन दिनको १२:२० बजे पोखराबाट सिमरातर्फ उडान हुने छ भने सो जहाजले १:१५ बजे सिमराबाट यात्रुहरू पोखरा ल्याउनेछ ।

उडानले पोखरा आउन चाहने भारतीय पर्यटकका साथै पोखराबाट वीरगञ्ज र रक्सौल नाका हुँदै भारतका विभिन्न सहर जान चाहने व्यक्ति तथा पर्यटक सबैलाई लाभ पुग्ने विश्वास लिइएको उनले बताए ।

कास्की जिल्लासहित स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दीलगायत स्थानबाट बीरगञ्ज लगायतका स्थानमा मानिस बसाइ जाने गरेका कारण पनि ती व्यक्तिसमेत लाभान्वित हुने भएका छन् ।

बुधबारदेखि उडान थाल्ने बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने तयारी गरेको छ । यस रुटमा आवतजावत गर्न चाहनेका लागि बुद्ध एयरले तीन किसिमको भाडादर तोकेको छ । यसमा सबैभन्दा महँगो टिकटको भाडादर रु सात हजार एक सय ७० छ ।

त्यस्तै मध्यमस्तरको टिकटको भाडादर रु पाँच हजार दुई सय ७० छ भने सस्तो चार हजार सात सय ७० भाडादर रहेको स्टेशन म्यानेजर बरालले जानकारी दिए ।

यसैबीच आन्तरिक पर्यटन पुनरुत्थान कार्यक्रमअन्तर्गत भोलिदेखि हुने पोखरा–सिमरा पहिलो उडानमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी हुने भएको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए ।

पहिलो उडानमार्फत सिमरा पुगेपछि नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा त्यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा जनप्रतिनिधिसँग आन्तरिक पर्यटन पुनरुत्थान लगायतका विषयमा छलफल एवम् अन्तरक्रिया गरिने कार्यक्रम तय भएको उनले बताए ।