१५ भाद्र २०७८, मंगलवार १५:२२ – Page 2 – Nagarikabhiyan : National News

एक्यूरेटको ‘एएचपी–०१ स्टेरियो ब्लुटुथ स्पिकर’ नेपालमा

एक्यूरेट ब्रान्डले नेपाली बजारमा आफ्नो नयाँ हेडफोन ‘एएचपी–०१ स्टेरियो ब्लुटुथ स्पिकर’ सार्वजनिक गरेको छ।

वायर–फ्रि डिजाइन भएको ‘एएचपी–०१ स्टेरियो ब्लुटुथ स्पिकर’मा उच्च गुणस्तर अडियो छ। यसको डिजाइनकै कारण उपभोक्तालाई सहजरुपमा फिट हुने कम्पनीले जनाएको छ।
यसमा बिल्ट–इन माइक्रोफोन भएकोले स्पिकरको रुपमा पनि काम गर्नेछ। ब्लुटुथ ४.२ संस्करणले बनेको यो हेडफोनमा तीन सय एमएएच ब्याट्री क्षमता छ। यसलाई पूरा चार्ज गर्न दुईघण्टा मात्र लाग्ने छ।

साथै ‘एएचपी–०१ स्टेरियो ब्लुटुथ स्पिकर’मा भोल्यूम कन्ट्रोल, स्विच सङ्स, फोन उठाउने वा राख्ने र रिडायल गर्न मिल्ने एक्यूरेट ब्रान्डले बताएको छ।

बजारमा यो हेडफोनको मूल्य एक हजार नौ सय ९९ रुपैँया तोकिएको छ।

अफगानिस्तान स्वतन्त्र र सार्वभौम भएको तालिबानको घोषणा

काठमाडौं । तालिबानले अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा गरेको छ । दुई दशकपछि अमेरिकी सेनाको बर्हिगमनसँगै तालिबानले अफगानिस्तानलाई स्वतन्त्र र सार्वभौम घोषणा गरेको हो ।
अमेरिकी सेना तथा अफगानको अन्तिम टुकडी काबुल विमानस्थलबाट बाहिरिएसँगै तालिबानले विमानस्थल कब्जामा लिँदा हवाई फायरिङ गरेर उत्सव मनाएको थियो । काबुल विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भन्नुभयो, “अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम भएकोमा हामीलाई कुनै शङ्का रहेन ।” “अमेरिका हारेको छ र अफगानको तर्फबाट हामीले बाँकी विश्वसँग राम्रो सम्बन्ध चाहेका छौं ।” उहाँले थप्नुभयो ।
उहाँले अफगानको स्वतन्त्रता र इस्लामिक मूल्य मान्यताको रक्षा गरिने प्रतिबद्धता जनाउनुभयो ।

भारतमा ३० हजार सङ्क्रमित थपिए

काठमाडौं । भारतमा गएको चौबीस घण्टामा कोरोनाभाइरसका ३० हजार ९४१ जना सङ्क्रमित पुष्टि भएको छ । थपिएका सङ्क्रमितमध्ये केरला राज्यका मात्रै १९ हजार ६२२ जना छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ३५० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । चौबीस घण्टामा थपिएका मृतकसँगै भारतमा कोरोना सङ्क्रमणबाट हालसम्म ज्यान गुमाउनेको सङ्ख्या चार लाख ३८ हजार ५६० पुगेको छ ।
गएको चौबीस घण्टामा ३६ हजार २७५ सङ्क्रमणमुक्त भएका छन् । हालसम्म तीन करोड १९ लाख ५९ हजार ६८० जना कोरोनामुक्त भएका छन् । भारतमा हाल तीन लाख ७० हजार ६४० जना सक्रिय सङ्क्रमित छन् ।

लगातार सकरात्मक सर्किट लागेको जीवन विकास लघुवित्तको शेयरमुल्य झर्‍यो

काठमाडौं । लगातार सकरात्मक सर्किट लागेको जीवन विकास लघुुवित्तको शेयरमुल्य ओरालो लाग्न थालेको छ ।

रोबारको साढे २ घण्टा सम्म कम्पनीको शेयरमुल्य ४.८८ प्रतिशत अर्थात २४८ अंकले ओरालो लागेर प्रतिकित्ताको मुल्य रु ४ हजार ८३१ पुगेको छ । यस अघि कम्पनीको शेयरमुल्य ५२ सय माथि पुगेको थियो । मार्केट डेपमा कम्पनीको १५ हजार ९८८ कित्ता शेयर खरिद माग भएको छ  भने १० हजार ८२० कित्ता बिक्री माग भएको छ ।

कोरोनाविरुद्ध लड्न थप एक करोड खोप ल्याउँदै सरकार

काठमाडौं । सरकारले थप १ करोड डोज कोरोना खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसविरुद्धको लडाइँ सरकारको प्राथमिकतामा रहेकाले थप एक करोड खोप ल्याउन पहल भइरहेको बताउनुभएको हो । उहाँका अनुसार त्यसमा ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप रहेको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२औँ वार्षिक कार्यक्रममा सोमबार सम्बोधन गर्दै उहाँले प्रसूतिसम्बन्धी एकमात्र सरकारी अस्पताल भएकाले यो अस्पतालको सेवा अझै विस्तार गर्दै लैजानुपर्ने पनि बताउनुभयो ।

प्रसूति भएका कुनै पनि उमेर समूहका महिलालाई तुरुन्तै खोप लगाउने व्यवस्था गरिने बताउँदै राज्यमन्त्री श्रेष्ठले प्रसूति अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । अस्पताललाई सुविधासम्पन्न बनाउन मन्त्रालय लागिपरेको पनि उहाँले जानकारी गराउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका अस्पतालहरूको विकासका लागि महानगरले सहयोग गर्ने बताउनुभयो । अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको जानकारी उहाँले दिनुभयो ।

उक्त कार्यक्रममा स्वास्थ्यसचिव डा। रोशन पोखरेलले प्रसूति अस्पतालमा सात सय शैया थप गरिने बताउनुभयो । अस्पतालका निर्देशक डा। सङ्गीताकौशल मिश्राले ‘ह्युमन मिल्क बैङ्क’ र ‘टेस्ट ट्युब’बाट बच्चा जन्माउन प्रक्रिया सुरु गरिने बताउनुभयो ।

 

सकियो सत्तारूढ गठबन्धनको बैठक ,भागबण्डा मिल्न सकेन

काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीचको बैठक सकिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनका नेताहरूको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ ।

बालुवाटार स्रोतका अनुसार अर्को बैठकको समय भने तोकिसकिएको छैन । शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डा मिल्न सकेको छैन ।

एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषय विवादित बनेको छ । त्यसैले अर्को बैठक गठबन्धन दलका सभापति तथा अध्यक्षहरू मात्रको बस्ने समझदारी भएको छ ।

आज बिहान ९ बजेको बैठकमा सबै दलले दोस्रो तहका नेताहरू समेत राखेका थिए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठक अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा मकवानपुरको दामनमा यही भदौ ९ गते सम्पन्न भएको हो ।

बैठकले पत्रकार महासंघको तीन वर्षे कार्ययोजना तयार गरेको छ । तीन वर्षे कार्ययोजना अन्र्तगत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संगठन पुनर्संरचना, श्रमजीवी पत्रकारको हित, कोरोनाले मिडियामा पारेको असर लगायतका विषयमा छलफल गरी निर्णय गरेको छ ।

बैठकका निणर्यहरूको सारांश यस प्रकार रहेको छ ?

१. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थामा उल्लेख्य सुधार नआएकाले विभिन्न तहमा बनिरहेका कानूनका विषयमा सरोकारवाला निकायसँग छलफल गरेर दबाबमूलक कार्यक्रम ल्याउने निर्णय बैठकले गरेको छ । त्यस्तै लोकतन्त्र, मानवअधिकार, विधिको शासन, स्वतन्त्रत न्यायपालिका, सामाजिक न्याय, आवधिक निर्वाचन तथा स्वस्थ राजनीतिक प्रतिस्पर्धाका पक्षमा महासंघ अग्रणी भएर उभिने निर्णय गरिएको छ ।

२. बैठकले पत्रकारको हत्या, बेपत्ता एवम् आक्रमणमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन माग गर्दै, प्रेस स्वतन्त्रताको हनन्का घटना रोक्ने र दोषीलाई कारवाही गराउने, पत्रकारविरुद्धको हिंसा अन्त्यका लागि कानूनी बाटो अवलम्वन गर्ने निर्णय गरेको छ ।

३. संघ, प्रदेश तथा स्थानीय तहले बनाइसकेका तथा बनाउँदै गरेका सञ्चारसम्बन्धी विभिन्न कानुनहरुलाई बैठकले गम्भीररूपमा लिएको छ । कानुन निर्माण गर्दा महासंघको सहमतिसहित मिडियामैत्री कानुन निर्माण गर्न माग गर्दै बैठकले सहमतिबिना ल्याइएका कानुनको अवज्ञासमेत गर्ने निणर्य गरेको छ ।

४. श्रमजीवी पत्रकारका समस्या समाधानका लागि दबाब, छलफल, कानूनी प्रक्रिया र प्रदर्शनलगायतका संघर्षका कार्यक्रमलाई निरन्तरता दिइने निष्कर्ष निकालेको बैठकले ट्रेड यूनियन अभ्यास गर्दै सञ्चार प्रतिष्ठान, व्यवस्थापन सम्बद्ध संस्था र सरकारलाई दबाब दिने निर्णय गरेको छ । श्रमजीवी पत्रकारले हाल पाउँदै आएको न्यूनतम पारिश्रमिकको कार्यान्वयन तथा समयसापेक्ष बढाउनका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय गरिएको छ ।

५. सदस्यता शुद्धीकरणका लागि विशेष अभियान चलाउने निर्णय बैठकले गरेको छ । त्यसका लागि केन्द्रीय साधारणसभासम्मको रोडम्याप पारित भएको छ । महासंघको हरेक सदस्य कुन मिडियामा कार्यरत छ भन्ने कुराको विवरणसहित वेभसाइटबाट जानकारी दिने र केन्द्रीय साधारणसभासम्मका सदस्यलेमात्रै मताधिकार पाउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

६. महासंघका शाखाहरुको पुनर्संरचना आवश्यक भएका प्रदेशभित्रको संरचना परिवर्तनका लागि साधारणसभामा प्रस्ताव लगिने निर्णय गरिएको छ । प्रदेशका अध्यक्ष र महासचिवको भेला तत्काल गर्ने निर्णय बैठकले गरेको छ ।

७. बैठकले वरिष्ठ पत्रकार सम्मान तथा जीवन वृत्तिका लागि ६० वर्ष उमेर पुगेका वा निरन्तर ३० वर्ष पत्रकारिता गरेका, अपांगता भएका पत्रकारका लागि मासिक भत्ताको व्यवस्था गर्न महासंघको पहलमा संचार मन्त्रालयमातहत स्थापना भएको करिव ६ करोड राशीको कोषबाट यसै आर्थिक वर्षदेखि जीवन निर्वाह भत्ता वितरणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

८. कोरोना संक्रमणका कारण पत्रकार तथा स्वरोजगारमूलक मिडियाहरु बढी प्रभावित हुन पुगेको सन्दर्भलाई गम्भीररूपमा लिई पत्रकार र स्वरोजगारमूलक मिडियाहरुको उत्थानका लागि विशेष बजेट प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

९. साना लगानी तथा स्वरोजगारमूलक मिडियाहरुलाई लोककल्याणकारी विज्ञापन वापत प्रदान गरिँदै आएको रकममा थप ५० प्रतिशत वृद्धि गर्न महासंघले माग गरेको छ । विज्ञापनको समानुपातिक वितरण प्रणालीको विकासका लागि पहल गर्ने तथा मातृ भाषामा सञ्चालित मिडियालाई विशेष राहत दिन सरकारसँग माग गरिएको छ ।

१०. सूचना विभागबाट जारी हुने प्रेस पासको विवरण अनलाइनमार्फत हेर्नमिल्ने व्यवस्था मिलाउन, पत्रकारिताबाहेकको क्षेत्रका व्यक्तिले कार्ड पाउने व्यवस्थालाई निरुत्साहन गर्न र पत्रकारले सरल तरिकाले प्रेस पास पाउने व्यवस्था गर्न माग गर्दै बैठकले अनलाइनबाट फर्म भर्ने अहिलेको व्यवस्थालाई प्रभावकारी बनाएर जुनसुकै ठाउँबाट अनलाइनमै कार्ड हेर्न र प्रिन्ट गर्ने व्यवस्था गर्न पहल गर्ने निर्णय गरेको छ ।

११. भारतले एउटै फ्रिक्वेन्सीमा र ठूलो क्षमतामा एफएम सञ्चालन गरेर नेपाली एफएम रेडियोको प्रसारण रोक्ने उद्देश्य राखेकाले यसबारेमा तत्काल सरकारसँग समन्वय गरिनेछ । नेपाली एफएम रेडियोको फ्रिक्वेन्सीलाई अन्तर्राष्ट्रिय मान्यताका लागि तत्काल आइटियूमा समावेश गर्न पहल गरिनेछ ।

१२. युट्युबरलाई पत्रकारिताको मूलबाटोमा ल्याउनका लागि पत्रकार आचार संहिताअनुसारका सामग्री पस्किन प्रोत्साहन गर्ने र त्यसका लागि युट्युबरको राष्ट्रिय भेला आयोजना गर्नेदेखि उनीहरुलाई आचारसंहिताको तालिम प्रदान गर्ने निर्णय गरिएको छ ।

१३. वैदेशिक शाखाका समस्याको पहिचान गरेर समाधान गर्नका लागि वरिष्ठ उपाध्यक्षको नेतृत्वमा एक समिति गठन गरिएको छ । कार्यविभाजनलाई पूर्णता दिन अध्यक्ष, महासचिवसहितका पदाधिकारीलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।

कोरोना भाइरसको खतरनाक नयाँ भेरियन्ट भेटियो

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि फेला परेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाए अनुसार कोरोना महामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको हो ।

यो भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको बताइएको छ । अहिले यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा समेत फैलिएको पाइएको छ । यो भेरियन्ट थप सङ्क्रामक र खोपले समेत कुनै असर नगर्ने बताइएको हो ।

दक्षिण अफ्रिकाको वैज्ञानिकका अनुसार यो वर्षको मे महिनामा पहिलोपटक सी।१।२ भेरियन्टको बारेमा पत्ता लागेको थियो । १३ अगस्तसम्म यो भेरियन्ट चीन, रिपब्लिक अफ कंगो, मरिसियस, बेलायत, न्यूजिल्याण्ड, पोर्चुगल र स्वीटजरल्याण्डसम्म फैलिसकेको पाइएको थियो ।

वैज्ञानिकहरुले भाइरसको यो भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्ट हुनसक्ने बताएका छन् । डब्लूएचओका अनुसार भाइरसको ट्रान्समिसन, गम्भीर लक्षण, इम्युनिटीलाई झुक्याउन सक्ने र डायग्नोसिसबाट बच्ने क्षमता देखाउने भाइरसको भेरियन्टलाई भेरियन्ट अफ इन्ट्रेस्ट श्रेणीमा राखिन्छ ।

‘लाइफ इन एलए’को ‘पागल प्रेमी’मा ब्यास, अकेशा र शिल्पा

अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’को गीत सार्वजनिक भएको छ । चलचित्रको ‘पागल प्रेमी’ बोलको गीत काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । सुर्य एन श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको गीतमा त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा ब्यास विस्सु, अकेशा बिष्ट, शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर छ । यो चलचित्रमा गौरव पहारी, वुद्दि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको साथमा जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ ।

ब्यास इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अञ्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको यो चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ । चलचित्रलाई दशैंको छेकोमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । अनलाइनखबरबाट

जूमको त्रैमासिक आम्दानी १ अर्ब डलर, प्रयोगकर्ताको संख्या घट्दो

भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूमले चालू वर्ष सन् २०२१ को तेश्रो त्रैमासिकमा १ अर्ब डलर भन्दा धेरै आम्दानी गर्ने प्रक्षेपण गरिएको छ ।

जूम भिडियो कम्युनिकेसन इंकद्वारा जारी जुलाईदेखि सेप्टेम्बर महिनासम्मको वित्तीय प्रतिवेदन अनुसार यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ५० लाख देखि १ अर्ब २ करोडसम्म हुने प्रक्षेपण गरिएको छ । विश्लेषकहरुले भने यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ३० लाख हुने प्रक्षेपण गरेका छन् ।

यो आम्दानी गत वर्षको सोही त्रैमासिकको तुलनामा ३१।२ प्रतिशतले बढी हो । कोभिड १९ महामारीसँगै रिमोट वर्किङ तथा रिमोट स्कुलिङमा वृद्धि हुँदा जूम विश्वका करोडौं मानिसहरुको दैनिकी बनेको थियो र गत वर्ष सन् २०२० मा जूमका प्रयोगकर्ता तथा आम्दानीमा एक्कासी कैयन् गुणा वृद्धि भएको थियो ।

यद्यपि महामारीका कारण गत वर्षदेखि चुलिएको जूम प्लाटफर्मको प्रयोग तथा नयाँ प्रयागकर्ता थपिने क्रममा भने अपेक्षा भन्दा तीव्र गतिमा गिरावट आइरहेको कम्पनीले जनाएको छ । उक्त रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्यमा सोमबार ११ प्रतिशतको गिरावट आएको थियो ।

जूमका प्रमुख वित्तिय अधिकारी केल्ली स्टेकेलबर्गका अनुसार यो वर्षको अन्त्यसम्ममा कम्पनीका प्रयोगकर्ता तथा आम्दानीको दरमा सुस्तता आउने अपेक्षा गरिएको भएपनि त्यस्तो गिरावट केही छिटो नै हुन थालेको हो ।

विश्वका धेरै भागमा कोरोना भ्याक्सिन लगाएसँगै स्कुलहरु पुनः भौतिक रुपमै सञ्चालन हुन थालेका र धेरै कम्पनीहरुले कर्मचारी तथा कामदारको भौतिक उपस्थितिमै कार्यसञ्चालन गर्न थालेसँगै जूमको प्रयोगमा गिरावट आउन थालेको छ । साथै प्रतिस्पर्धी कम्पनीहरु सिस्को, वेबेक्स तथा माइक्रोसफ्ट टिम्सका कारण विभिन्न व्यवसायिक कम्पनीहरुबाट जूमले ठूला सम्झौता हात पार्न पनि मुस्किल भैरहेको छ ।

जूमका अनुसार १० वा त्यसभन्दा कम कर्मचारीहरु भएका कम्पनीहरुबाट प्राप्त भैरहेको आम्दानीमा अब गिरावट आउने छ ।

भिडियो प्लाटफर्मको प्रयोगमा गिरावट आउन थालेसँगै कम्पनीले क्लाउड कलिङ सर्भिसको रुपमा जूम फोनलाई विस्तार गर्ने सोच बनाएको छ । जूमले हालैमात्र १४ अर्ब ७० करोड डलरमा कल सेन्टर सफ्टवेयर मेकर कम्पनी फाइभ नाइन खरीद गर्ने घोषणा गरेको छ, जुन उसको अहिलेसम्मकै ठूलो व्यवसायिक सम्झौता हो । साथै जूमले रियल टाइम भाषा अनुवादक प्रविधि कम्पनी काइट्स जिएमबिएच पनि खरीद गर्ने भएको छ ।

–रोयटर्सबाट

वाईसीएल नेतृत्व टुंग्याउने जिम्मा प्रचन्डलाई, अध्यक्षमा सुबोधको संभावना बलियो

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल)को नेतृत्व टुंग्याउने जिम्मेवारी स्थायी कमिटीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको वाईसीएलको भेला अगाडी प्रचण्डले वाईसीएल पदाधिकारीसंग छलफल गरेर नेतृत्व टुंग्याउने गरेर स्थायी कमिटी बैठकले प्रचण्डलाई जिम्मा दिएको हो । गण्डकी र कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यको नाम आउन बाँकी रहेकाले भोलिसम्मका लागि वाईसीएलको बन्द सत्र स्थगित गरिएको भनिएपनि नेतृत्व विवादका कारण नै भेला तोकिएको समयभन्दा दुई दिन लम्बिने भएको हो ।

तर, आज माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा चलेको स्थायी कमिटी बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले सुबोधराज सेर्पालीलाई नै वाईसीएल अध्यक्ष बनाउने विषयमा आवाज उठेको एक सदस्यले भने ।

अध्यक्षका लागि वाईसीएल महासचिव रहेका सुबोधराज सेर्पाली र उपाध्यक्ष सुमन देवकोटा ‘अब्दुल’ बीच तीब्र प्रतिष्पर्धा चलिरहेको छ । ‘संगठनको प्राविधिक पक्षलाई मिलाउनै पर्ने अवस्थामा बाहेक अहिलेका महासचिव सुवोधको विकल्प खोज्ने विषय स्थायी कमिटी बैठकमा छलफलको विषय बनेन् ।

तर, यो भेला भएकाले छिट्टै सम्मेलन गर्नुपर्ने गरेर जानुपर्छ की भन्ने झिनो छलफल भने भयो । यद्यपी संगठनलाई चलायमान बनाएर माओवादी केन्द्रलाई स्पात बनाउन पनि नेतृत्व कसलाई दिने भन्ने विषयमा गहन छलफल पश्चात अध्यक्षले बैठकको मर्म अनुसार नै नेतृत्वको टुंगो लगाउनु होला’, एक स्थायी कमिटी सदस्यले भने ।

पदाधिकारीदेखि केन्द्रीय कमिटीसमम बलियो पकड बनाएका सेर्पाली पक्षधरहरु नेतृत्वमा सहमति जुट्न नसक्दा निर्वाचनबाट नेतृत्व चुन्नुपर्ने आवाज उठाउन थालेका छन् ।

अपरम्पार छ श्रीकृष्ण लिला

कृष्णको प्रसँग आउने बित्तिकै उनले गरेका लिलाहरुको पनि चर्चा हुन्छ । धर्मशास्त्रहरुका अनुसार श्रीकृष्ण लिलाको वर्णन गरेर साध्यै छैन ।

धर्मशास्त्रका अनुसार भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयौं बाल लिला रचाएका थिए । कहिले कसैका घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए । कहिले राधादी गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए । कहिल्यै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गरेका थिए त कहिल्यै गोबर्धन पर्वत धारण जस्ता अनेकौं बाल लिला देखाएका थिए।

एकदिन यशोदाले दही मथ्दै गरेको बेलामा बालगोपाल श्रीकृष्णले माता यशोदालाई स्तनपानको ढिपी गर्न थाले तर यशोदा आफ्नो काममा व्यस्त भएका कारण कृष्णको माग प्रती वास्ता गरिनन् । भगवान श्रीकृष्णले रिसाएर त्यसैबेला लातीले हानेर दही मथ्ने भाँडो फुटाए । तब यशोदाले रिसाएर कृष्णलाई चेताउनका निमित्त ओखलमा बाँधेर राख्न खोजिन् तर यशोदाको घरमा भएका सबै डोरीहरू कृष्णलाई बाँध्नको लागी छोटा पर्न गए। यसरी सबै डोरीहरू छोटा पर्न गए पछि यशोदा दुस्खी भएर अब के गरुँ भनेर बिचार गर्न लागिन् । त्यो देखेर आमालाई दुःख भयो भन्ने ठानी कृष्णले सानो डोरीलाई पनि बाँध्न पुग्ने बनाए । तब योशोदा कृष्णलाई ओखलमा बाँधेर आफूले दही मथ्ने काम गर्न थालिन् । त्यसपछि भगवान श्रीकृष्णले ओखललाई घिसार्दै जंगल तिर लगे जंगलमा दुईवटा ठूला जमुलार्जुनका रुखहरू विचमा ओखल अड्किएर रुखहरू भाँचिए । रुख भाँचिएको आवाज पुरै गाउँमा फैलियो सबैजना आवाज आएको दिशा तर्फ दौडे । रुखहरू भाँचिएको ठाउँबाट दुईजना सुन्दर पुरुषहरू निस्केर भगवान श्रीकृष्णको प्रार्थना गर्न थाले । तब कृष्णले उनीहरू पूर्व जन्ममा नल र कुबेर दुई भाइ रहेका र देवराज इन्द्रको श्रापले गर्दा यहाँ रुख भएर जन्मिएका आज उदार गर्न निमित्त आफूले यो सबै काम गरेको बताए । त्यसपछि ती दुवै जना दिव्य विमानमा बसेर स्वर्गतिर प्रस्थान गरे भने कृष्णलाई गाउँले तथा यशोदाले घरमा ल्याए ।

भगवान श्रीकृष्णले बाल्यकालमा अन्य गोप बालकहरूसँग मिलेर गोपीनीहरूका घरमा गएर मखन ९नौनी० चोरेर खान्थे । यसैले भगवान श्रीकृष्णलाई मखन चोर पनि भनेको सुनिन्छ । यसरी दिन दिनै मखन चोरेर सताएकाले एकदिन गोपिनीहरू सबै यशोदाको घरम जम्मा भएर यशोदासँग कृष्णको चुकली गरे। तब यशोदाले कृष्णलाई सोधिन् । भगवान श्रीकृष्ण रुँदै भनेकी गोपिनीहरू मलाई चोरीको झुठो आरोप लगाउदै छन् । यो सुनेर यशोदाले गोपीहरूलाई गाली दिएर त्यहाँबाट भगाइन् । तब गोपीहरू कृष्णलाई नौनीसँगै समात्ने योजना बनाए । भोलिपल्ट सबै गोपीहरू आफ्नो आफ्नो घरमा चियो बसेर मखन चोरको बाटो हेर्न लागे । यत्तिकैमा मखन चोर केही साथीहरूलाई लिएर एक घरमा गए। सबै गोपीहरू मखन चोरलाई पक्राउ गर्न त्यसै घरमा गए जहाँ मखनको चोरी हुँदै थियो ।

मखन चोरको समुह त्यो घरमा भएको मखन चोरेर अर्को घरमा जाने तयारीमा बाहिर निस्कने बित्तिकै मखन चोर पक्राउ परे । त्यसपछि सबै गोपीहरू श्रीकृष्णलाई यशोदाको घरमा लिएर गए । तर कृष्णलाई जुन गोपीले समातेर ल्याएकी थिईन् कृष्ण उनैको छोराको रूपमा थिए । यशोदाको घरमा गएर गोपीहरूले भगवान श्रीकृष्णले मखन चोरे सबुत सहित पक्रेर ल्याएको कुरा बताए । यशोदाले बालकको मुखमा हेरेर हाँस्दै भनिन् ‘तिमीहरू सबै पागल त भएनौ बालकलाई हेर कसको छोरा होरु मेरो कान्हैया त आज बिहानै देखि घर मै छ ।’ यो सुनेर सबै गोपीहरूले पक्रेर ल्याएको मखन चोरलाई हेरे यो त आफ्नै पुत्र पो हो । सबै गोपीहरू लाजले केही पनि भन्न नसकेर आफ्नो आफ्नो घर गए ।
कृष्णको मुरलीको धुन सुन्ने बित्तीकै राधाजी घरका सबै कामहरू छोडेर त्यतै जाने गर्थिन् । राधा कृष्णमा मोहित थिईन् भने कृष्ण राधामा मोहित थिए । राधा जी सँधै गोठमा गाई दुहुन जाँदा कृष्णलाई बोलाउने गर्थिन् । एक दिन श्रीकृष्णलाई राधाको गोठबाट जान लाग्दा राधिकाकी सखीहरूले देखे । तब राधिकालाई जिस्काउन लागे । यो देखेर राधिका आफूलाई सर्पले टोकेको बहाना गरेर बेहोस भइन् । राधिकाका सखीहरूले उनलाई कृती भएको ठाउँमा लगे । यसरी राधिका बेहोस भएकी देखेर कृतीले आतिदै राधाका सखीहरूसँग राधा कसरी बेहोस भईन् भनेर सोधिन् ।

सखीहरूले राधा बेहोस हुँदा सर्पले टोकेको कुरा गर्थिन् भने तब कृतीले गाउँका सबै वैद्यहरूलाई बोलाईन् सबैले झारफुक इत्यादी गरे तर राधाको होस आएन । त्यसपछि एक राधिकाकी एक सखीले अन्दाज लगाएर श्रीकृष्णले सर्पको टोकाई निको पार्छन् भनिन् यो सुनेर कृती आफै कृष्ण भए ठाउँ गएर कृष्णलाई बोलाएर ल्याइन् । कृष्णले अलिकती पानी हातमा लगेर मन्त्र पढे झैँ गरी राधाको मुखमा छिँटा मारेर आफू मुरली बजाउन लागे । मुरलीको धुन सुन्दै राधालाई होस् आयो । मिलको लागि आमाहरूलाई ठगेर यस्तै खाले लिलाहरू राधा र कृष्ण गरिरहन्थे।
एक दिन ब्रजका सबै गोपीहरूले भगवान श्रीकृष्णको व्रत गरेर व्रतको समाप्ती स्नान गर्न यमुनाको किनारामा रहेको तलाउमा गए । भगवान श्रीकृष्ण पनि गोपीहरूको आफु प्रतीको प्रेम भक्ति बुझ्नको लागि पछाडी पछाडी लुकेर गए । तलाउमा पुगेर गोपीहरूले कपडा खोलेर किनारामा राखेर सर्वांग नाङगा भएर तलाउमा स्नान गर्न लागे । श्रीकृष्ण सबै गोपीहरूका कपडाहरू लिएर नजीकैको कदमको रुखमा चढेर बसे। गोपीहरू स्नान गरेर तलाउको किनारामा आएर कपडाहरू नभेटाएकाले हैरान भए । उनीहरू आपसमा कपडाहरू कसरी हराए भन्दै छलफल गर्न थाले हावाले उडायो होला भने पनि यहाँ हुरी आएको देखिएन, कसैले चोरे लग्यो भने पनि यहाँ हामी बाहेक अरु कोही पनि आएको छैन भनेर धेरै किसमका तर्क बितर्क गर्न थाले । यो देखेर रुखमाथी बसेका कृष्ण मुरली बजाउन लागे । मुरलीको आवाज सुनेर गोपीहरू झस्किएर फेरी तलाउ भित्र पसे । गोपीहरू भित्री मनमा कृष्ण प्रति प्रेम भए पनि बाहिर मुखले कृष्णलाई गाली दिन थाले । कपडा न दिएमा राजा कंशसँग निसाब माग्ने धम्की दिए । यो सुनेर कृष्णले पनि रिसाएर म कपडा दिन्न तिमीहरू जे गर्न सक्छौ गर भने । गोपीहरूले कृष्ण रिसाए भन्ने थाहा पाएर गल्ती गरेकोमा माफी माग्दै कपडाहरू दिने विन्ती गर्न थाले । तै पनि श्रीकृष्णले गोपीहरूलाई सताइ सताइ कपडा फिर्ता गरे।

नेकपा माओवादी केन्द्रलेको भागमा ६ मन्त्रालय

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले सरकारमा ६ वटा मन्त्रालयमात्रै पाउने भएको छ ।

एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या घटेको हो । संख्या घट्दा माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ ।

‘माधवजीहरु पनि सरकारमा सामेल हुने भएपछि स्वतः माओवादी केन्द्रले पाउने मन्त्रालय घटेको छ । तर आकांक्षी भने सबै सांसदहरु देखिएका छन्,’ स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘सांसद मात्रै होइनन्, सांसदभन्दा बाहिरका साथीहरु पनि आकांक्षी देखिएपछि आलोपालो गरी मन्त्री बनाउने कि भन्ने छलफल हिजो पनि भएको थियो ।’ उनका अनुसार भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल ९वाइसिएल०को नेतृत्व चयनदेखि सरकारमा मन्त्री पठाउने विषयमा सोमवारको स्थायी कमिटीमा छलफल भएको थियो ।

‘गठबन्धनको बैठकबाट फर्किनु भएको अध्यक्षले माओवादी केन्द्रले ६ वटा मन्त्रालय पाउने जानकारी गराउनु भयो । तर अझैसम्म कुन कुन मन्त्रालय पाउने भने नटुंगिएको बुझियो,’ गजुरेलले भने, ‘मन्त्रालय कम हुने भएकाले कसरी र कुन कुन नेतालाई मन्त्री बनाउने भन्नेमा प्रारम्भिक छलफल चाँही भयो । तर निष्कर्षमा भने पुगिएको छैन ।’ उनका अनुसार सांसदभन्दा बाहिरकाले पनि मन्त्रीका लागि इच्छा राखेपछि पार्टीमा थप समस्या देखा परेको छ ।

संविधानतः प्रधानमन्त्री देउवाले २५ भन्दा बढी सदस्यीय मन्त्रिमण्डल बनाउन पाउँदैनन् । तर देउवाले सो संख्याभित्र कांग्रेससहित माओवादी केन्द्र, जसपा, नेकपा ९एस० मात्रै होइन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि मन्त्रिमण्डलमा समावेश गराउनुपर्ने बाध्यता छ ।

जसकारण डेढ महिना वितिसक्दा पनि देउवाले आफनो मन्त्रिमण्डल विस्तार गर्न अझै सकेका छैनन् । तर सत्तारुढ गठबन्धनका नेताहरु मन्त्रिमण्डललाई पूर्णता दिन नियमित छलफलमा छन् । नेपाली राजनीतिक इतिहासमा सम्भवतः यति लामो समयसम्म मन्त्रिमण्डलले पूर्णता नपाएको यो पहिलोपटक हो । ज्योतिन्यूजबाट

 

नवलपरासीको हुप्सेकोटमा बाढीले पाइप बगाउँदा पानीको हाहाकार

नवलपुर । अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । पहिराका कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले खानेपानीको समस्या भएको हो ।

देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामीले बाढी तथा पहिराले खानेपानीको मुख्य मूल गिरुबारी खोला, बेतही खोला, सोती खोला र पत्थर खोलाको मुहानमा २० भन्दा धेरै ठाउँमा पहिराले असर पु¥याउँदा खानेपानीको समस्या भएको बताए ।

“पहिराले खानेपानीको मुहानमा असर पु¥याएको छ”, पुलामीले भने, “बाढीले खानेपानीको मुहान बितही खोला, पत्थर खोला र झ्यालबासमा गरी करिब दुई किलोमिटर पाइप नै बगाएको छ ।” अहिले खानेपानी वितरण पूर्णरूपमा बन्द भएको भन्दै अध्यक्ष पुलामीले विकल्पमा तीन वटा ट्याङ्करबाट पानी ल्याएर वितरण गरिएको भए पनि पर्याप्त हुन नसकेको बताए ।

पानीको आपूर्ति पूर्णरुपमा बन्द भएपछि गाउँपालिकाको विभिन्न वडामा तीन हजार घरधूरीका १५ हजार जनसङ्ख्या प्रत्यक्ष प्रभावित भएको पुलामीले बताए । मौसममा सुधार नआएसम्म खानेपानी वितरण सहज बनाउन नसकिने उहाँको भनाइ छ । विगतमा खानेपानीको पाइपलाइन विस्तार नहुँदा स्थानीयले खोला तथा चुवाडी ९मूल निस्किएको ठाउँ० को पानी प्रयोग गर्ने गरेका भए पनि बिहीबार आएको बाढीपहिराले चुवाडीको पानी प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेको स्थानीयको भनाइ छ ।

हुनेखाने र बजार नजिक घर हुनेले बजारमा गएर बोतल तथा जारको पानी किनेर प्रयोग गर्ने गरेका उल्लेख गर्दै स्थानीय ओमबहादुर फाल मगरले आर्थिक अवस्था कमजोर हुने आकाशको पानी जम्मा गरेर खान बाध्य भएको बताए । असारमा आएको बाढीले पानी वितरण गरिएको पाइमा क्षति पु¥याउँदा नियमित हुन नसकेको खानेपानी आपूर्ति भदौ १० गते आएको बाढीपहिराका कारण पूर्णरूपमा अवरुद्ध भएको मगरको भनाइ छ ।

 

वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकी र दमलपट्टि जोड्नका लागि वनहरा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल नदीको बाढीको उच्च जोखिममा परेको छ ।

पुल जोगाउनका लागि निर्माण गरिएको तटबन्ध छाडेर नदीभित्र पसेर बग्न थालेपछि पुल जोखिममा परेको हो । नदीमा आएको बाढीको पानीले पुल क्षेत्र नजिकको जग्गा कटानको कार्य तीव्र बनाएको स्थानीय मङ्गलप्रसाद चौधरीले बताए ।

“जग्गा कटान पुलसम्म पुग्न ३० मिटर पनि छैन्”, उनले भने, “पुलसम्म नै नदीले जग्गा कटान गरे पुल ढल्ने सम्भावना बढेर गएको छ ।”

सम्बन्धित निकायमा यसबारे जानकारी गराई सकिएको भए पनि पुल जोगाउनका लागि कुनै पनि प्रयत्न हालसम्म नगरिदा निकै चिन्तित भएको उनले बताए ।

“पुल बगेमा यस क्षेत्रको आवागमन नै रोकिन्छ”, स्थानीय बालसुग्रिव रानाले भने, “चुरे क्षेत्र र तराई क्षेत्रमा लगातार पानी पर्ने क्रम जारी रहेकाले जग्गा कटानको कार्य रोकिएको छैन ।” पुल क्षेत्रसँगै जोडिएको स्थानीय बासिन्दाको झण्डै १० कठ्ठा बढी धान रोपेको उब्जाउ जग्गा यस वर्षको बाढीले बगाई बगरमा परिणत गरीसकेको छ ।

वनहरा र दोदा नदीको संगमस्थलमा पुल निर्माण गरिएको छ । सो क्षेत्रको जग्गा नदीको पानी घट्ने क्रममा बढी कटान गर्दै आएको छ ।

बलौटे दोमट जग्गा भएकाले थोरै नदीको बाढीले पनि कटानी गरी बगाउदै आएको छ । वडाध्यक्ष बाले रानाले पुलसँगै स्थानीय बासिन्दाको बाढीको पानीले जग्गा कटानी गर्दै आएको क्षेत्र जोगाउनका नगरपालिका कार्यालयमा जानकारी गराएको भए पनि सुनवाइ हुन नसकेको बताए ।

“नदीको बाढीले गर्दै आएको जग्गा कटानी रोक्नका लागि वडासँग बजेट नै छैन” उनले भने, “नगरपालिकाले चासो दिँदैन । प्रदेश सरकार संग बलियो तटबन्ध निर्माणका लागि अनुरोध गरेका छौँ तर सुनवाइ छैन ।”

दुई तिरबाट नदीले घेरिएको बस्तीका बासिन्दालाई आवतजावतमा सहजता प्रदान गर्नका लागि दुई वर्ष अघि झोलुङ्गे पुल निर्माण गरिएको थियो । तीन सय मिटर लम्बाइको पुल दुई करोड बढीको लागतमा निर्माण गरिएको थियो ।

लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

लमजुङ । लमजुङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा राइनास नगरपालिका–९ का २२ वर्षीय सुधिन आले रहेका छन् । सुरज थापाले खुकुरी प्रहार गर्दा आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार आलेलाई थापाले लुकेर खुकुरी प्रहार गरेको प्रहरी श्रोतको जनाएको छ । खुकुरी प्रहारपछि भरतपुर हस्पिटल लैजादै गर्दा आलेको मृत्यु भएको हो । मृतक आलेको टाउको र हातमा गम्भीर चोट लागेको थियो । आलेलाई खुकुरी प्रहार गर्ने सुरज फरार छन् । फरार थापा ट्याक्टर चालक भएको प्रहरीले जनाएको छ ।