१५ भाद्र २०७८, मंगलवार १०:५२ – Page 3 – Nagarikabhiyan : National News

अफगानिस्तनाबाट ८२८ नेपाली स्वदेश फर्किए

काठमाडौं । अफगानिस्तनाबाट हालसम्म ८२८ नेपाली स्वदेश फिर्ता भएका छन् । सोमबार टर्किस एयरको नियमित उडानबाट ४५ जना फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउने क्रम जारी रहेको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएसन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

सत्तारूढ गठबन्धन दलले मन्त्री बन्नेहरूको नाम आजै टुंगो लगाउने तयारी

काठमाडौं । सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक आज पनि बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भर्खरै बैठक सुरु भएको हो ।

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता, मन्त्रालय भागबन्डालगायत विषयमा छलफल हुँदै छ । आज मन्त्रालयको भागबन्डा टुंग्याउने सत्तारूढ दलहरूको तयारी छ ।

सोमबार बिहान बालुवाटारमै बसेको सत्तारूढ दलका शीर्ष नेताको बैठकमा मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति भएको बताइएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ४० दिनसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको भन्दै आलोचना भइरहेको छ ।

शीर्ष नेताहरुको आज बसेको बैठकले सहमति जुटाएर मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने र भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी भइरहेको बताइएको छ ।

मर्स्याङ्दीमा आगलागी हुँदा दुई जनाको मृत्यु

लमजुङ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ ।

आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए ।

उनले भने, “आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०ः१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए ।”

ढुङ्गामाटाका गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ । घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ । त्यहाँका घरहरू पनि टाढाटाढा छन् ।

प्रहरीले ढिलो खबर भएकाले समयमै पुग्न नसकेको बताएको छ । के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ । धर्मराज पूर्वगोरखा सैनिक रहेका स्थानीयको भनाइ छ ।

आज २०७८ भदौ १५ गते मगंलबारकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त विच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ, सचेत रहनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । नोकरी पाउँने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । खाद्यान्न लगाएत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला विवाद हुनसक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेको छ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । तरलपदार्थ पानि,दुध र खाद्यान्न जस्ता व्यावसाय फस्टाएर जानेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

बन्द विद्यालय खोल्नुपर्नेमा जोड

लौकही । सुनसरीको कोशी र भोक्राहा नरसिंह गाउँपालिकाका सरोकारबालाहरुले बन्द रहेका विद्यालयहरु स्वास्थ्य माप दण्ड पुरा गरि खोल्नुपर्नेमा जोड दिएका छन् । लामो समयदेखी कोरोना महामारीका कारणले बन्द रहेका विद्यालयहरु स्वास्थ्य मापदण्ड पुरा गरि खोल्नुपर्नेमा सरोकारबालाहरुले जोड दिएका छन् । विद्यालयहरु बन्द हुदाँ बालबालिकाहरुको भविश्य अन्यौलमा परेको र बालबालिकाहरु घरमै बसेर कुलतमा फस्ने सम्भावना उच्च रहेकाले अव कोरोना कम भएको क्षेत्रमा स्वास्थ्य मापदण्ड पुरा गरि खोल्नुपर्नेमा जोड दिएका हुन् । भोक्राहामा सत्या संसार साप्ताहिकले जनप्रतिनिधिको कार्यशैली प्रतिको सन्तुष्टी मापन सर्वे गर्ने क्रममा अधिकाशंले बन्द रहेका विद्यालयहरु स्वास्थ्य मापदण्ड पुरा गरि खोल्नुपर्नेमा जोड दिएका छन् । पत्रिकाले कोरोना महामारीले लामो समयदेखि बन्द रहेका विद्यालय खुलाउनेबारे विषयगत विज्ञ र सरोकारवालाहरूसँग राय लिएर खोल्न पहल गर्नुपर्नेमा वकालत गर्दै आएको छ । शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा अध्ययन अध्यापन गराउन कसरी सकिन्छ भन्ने विषयमा जिल्लाका सरोकारबालाहरुले परामर्श सुरुगर्नुपर्नेमा पनि जोड दिएका छन ।
कार्यक्रममा सहभागी गाउँका विद्यालय प्रधानाध्यापक, शिक्षक, निजी विद्यालयका सन्चालक, अभिभावक संघका प्रतिनिधिहरूले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्नुपर्नेमा जोड दिएका थिए । कोरोना महामारीले शैक्षिक क्षेत्रमा परेको समस्या र वैकल्पिक शिक्षाको रूपमा सञ्चालन भइरहेका अनलाइन कक्षाहरूले बालबालिकामा साकारात्मक भन्दा नकारत्मक असर परेको गुनासो गरेका थिए ।
लामो समय मोबाइल, ल्यापटपको स्क्रिनमा हेर्दा बालबालिकाको आँखा र मस्तिष्कमा समेत दीर्घकालीन असर पर्नेतर्फ पनि ध्यान दिनुपर्ने अभिभावकहरूको सुझाव थियो । विद्यार्थीहरूको भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्नेबारे जिल्ला प्रशासन कार्यालय र पालिकाहरुलाई निर्णय लिन समेत गाउँका सहभागी सरोकारबालाहरुको जोड थियो ।

काली थान मन्दिरमा व्यवस्थापन समिति

नरसिंह । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ७ का काली थान मन्दिरमा व्यवस्थापन गर्नका लागि समिति सकृय भएको छ । सयौ वर्ष पुरानो एतिहासिक मन्दिर श्री काली मन्दिरमा रेखदेख, विकास र व्यवस्थापन गर्नका लागि एक समिति गठन भएर सकृय भएको छ । श्यामदेव यादवको अध्यक्षतामा १३ सदस्य काली मन्दिर व्यवस्थापन कार्य समिति गठन भई विधिवत रुपमा दर्ता गरेर सकृय भएको हो । यादवको अध्यक्षतामा गठन भएको काली मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा धनिकलाल मेहता, सचिवदोयमा दयानन्द मण्डल, बस्नेत मण्डल र कोषाध्यक्षमा रेखादेवी खत्वे रहेका छन् । सदस्यहरुमा धिरेन्द्र प्रसाद यादव, विमल यादव, नितु कुमारी यादव, जसोधादेवी कामैत, रजियादेवी मण्डल,भगतलाल यादव, सोनित कुमार यादव र रामेश्वर यादव लगायतका रहेका छन् । समितिले मन्दिरको चौतर्फी विकासका साथै सास्कृतिक कार्यक्रम, धर्मशाला निर्माण, वार्षिक वलीभोग, मेलापात र कुस्ती समेतको आयोजना गर्दै आएको छ । अध्यक्ष यादवका अनुसार २०७७ माघ २७ गतेबाट विधिवत दर्ता भई सकृय भएको हो । यसअघि सयौ वर्षदेखी सामूहिकतामा आधारित काम हुदै आएको थियो ।

विषाधीको प्रयोगले मानव स्वास्थ्यमा असर

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सरोकारकारबालाहरुले खाध्यान तथा तरकारी बालीमा विषाधीको प्रयोगले मानव स्वास्थ्यमा असर परेको गुनासो गरेका छन् । उत्पादन बढाउन र रोग किरा धपाउनका लागि खाध्यान बाली तथा तरकारी बालीमा विषाधीको प्रयोग गर्ने भएकाले मानव स्वास्थ्यमा असर परेको गुनासो सरोकारबालाहरुले गरेका छन् ।२०७८ भदौ १४ गते सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्जमा मानव अधिकार समूहद्धारा आयोजित शिक्षा, स्वास्थ्य, खाधय र आबास अधिकार विषयक समस्या तथा सरोकारबाला पहिचान कार्यक्रममा सरोकारवालाहरुले सो गुनासो गरेका हुन् ।
स्थानीय विपिन यादवले खाध्यानबाली, फलफूल तथा तरकारीमा प्रयोग गरिने विषादीले मानव स्वास्थ्यमा समस्या ल्याउँने भन्दै वीषाधी कम प्रयोग गर्न‘ुपर्ने बताएको छ । यादवले सरकारले तरकारी तथा फलपूmलको बिषादी परीक्षण गर्ने कार्यान्वयन गर्ने मात्रै नभई यसको प्रयोग न्युनिकरण गर्नुपर्ने उल्लेख गरे ।
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३९ मा उपभोग्य वस्तुको गुणस्तरका लागि उत्पादन, भण्डारण तथा विक्रि वितरणलाई गुणस्तर र स्वस्थ बनाइने उल्लेख गरिएकाले यसको पनि कार्यान्वयन गर्न आवश्यक रहेको यादवले बताए ।
कार्यक्रममा प्रध्यापक विनायक प्रसाद यादवले खेतमा बिषादी फलफूल तथा तरकारीको सेवनले मानव शरीरमा अल्पकालिन र दीर्घकालिन समस्याहरु देखा पर्न सक्ने भएकाले विषाधी न्युनिकरण गर्न‘ुपर्नेमा जोड दिए ।
तरकारी तथा फलफूलमा प्रयोग गरेको विषादीले मानसिक असन्तुलन, स्वासप्रश्वासमा समस्या, झाडापखाला, पिसाबमा समस्या तथा छालामा संक्रमण देखिने जस्ता समस्याहरु तत्काल देखा पर्ने र दीर्घकालिन रुपमा मुटु, कलेजो, मृगौलामा गम्भिर असर पार्नुका साथै क्यान्सर जस्ता प्राणघातक रोग लाग्न सक्ने भएकाले विषाधी न्युनिकरणमा यादवले जोड दिए ।
यस्तै बंशाणुगत असर जस्तै बाँझोपन लगायतका प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरु समेत देखा पर्न सक्ने यादवले बताए । ताजा तरकारी छिटो बिक्रीयोग्य बनाउन भन्दै भिटामिनजन्य औषधि एवं रोगकिरा नियन्त्रण विषादीको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा असर पार्न थालेको अर्का सहभागी नुनुलाल साहले बताए ।
जिल्लामा तरकारी उत्पदन बढेसँगै किसानको आम्दानी आशा लाग्दो बन्दै गए पनि उत्पादन बढाउन र छिट्टै बजार लैजान प्रयोग गरिने भिटामिनजन्य औषधि र रोग कीरा नियन्त्रण गर्ने विषादी प्रयोग अत्याधिक प्रयोगले नगदेबाली उत्पादन गर्ने क्षेत्रका महिलामा क्यान्सर, गर्भखेर जाने, श्वासप्रश्वासमा समस्या, छालाको रोग, झाडापखला, टाउको एवं आँखा सम्बन्धी समस्याजस्ता रोगीको संख्या बढ्न थालेको साहले जनाएको छ ।
कृषि प्राविधिकले सिफारिस गरेको भन्दा एग्रोभेटबाट आफूखुशी किसानले लैजाने विषदीले मानव स्वास्थ्यमा असर पारे पनि त्यस्ता एग्रोभेटरको अनुगमन नहुँदा समस्या बढ्दै गएको भोक्राहा नरसिंह गाउँपालिका ३ का वडा सदस्य विन्देश्वर साहले बताए ।
जिल्लामा आठ हजार हेक्टर क्षेत्रफलमा विभिन्न प्रकारका फलफूल एवं तरकारी खेती हुदै आएमोमा एक लाख ५० हजार मेट्रिक टन बढी कृषि उपज उत्पादन हुने गरेकोमा अधिकांस किसानले विषाधी अत्याधिक प्रयोग भएको साहले दावी गरे । उत्पादित वस्तुमध्ये कृषि उत्पादन वृद्धिसँगै प्रविधिकको सल्लाहबिना किसानले प्रतिबन्धित विषादी समेतको प्रयोग बढाएपनि विषदी प्रयोग गर्दा सुरक्षाका लागि अपनाउनुपर्ने सतचेततातर्फ भने ध्यान नदिएको कृषि प्राविधिकको भनाइ थियो । किसानमा विषादीको प्रयोग सम्बन्धी प्राविधिक ज्ञान अभावले स्वास्थ्य समस्या आएको हुनसक्ने भोक्राहा नरसिंह गाउँपालिका– ३ का दिपेन्द्र यादवको भनाइ थियो ।
भोक्राहा नरसिंह गाउँपालिका– ३ का वडा सचिव सोभानन्द साहले कृषि उत्पादन बढाउन सिचाई , कुलोपैनी, कृषि मल, जैविक मल, स्थानीय जातको विउँ प्रयोग गर्नुपर्नेमा जोड दिए ।
कृषिलाई व्यवसायीकरण र आधुनिकरीकरण गरि विषधी न्युनिकरण गर्न आवश्यक रहेको स्थानीय सुभाष यादवको भनाइ थियो । कार्यक्रममा सहभागी अभिनाष यादवले कृषि उत्पादन बढाउनका लागि जैविक मल, मुत्रबाट विषधी उत्पादन गरी प्रयोग गर्न आवश्यक रहेको बताए ।
त्यसैगरी रामसिता आधारभुत विद्यालयका प्रधानाध्यापक बलराम कुमार यादवले शैक्षिक गुणस्तर सहित स्वास्थ्य सेवा नागरिकको पहुचमा हुन आवश्यक रहेको बताए । यादवले सरकारी निकायले विषाधी न्युनिकरणका लागि जनचेतना सहित रोकथामको उपाय खोल्न आवश्यक रहेको बताए ।
स्थानीय किसान जनगनाराय यादवले किसानलाई अनुदान दिई विषाधी प्रयोग कम गर्ने नीति ल्याउनुपर्नेमा जोड दिए । अर्का किसान कपिलेश्वर यादवले कृषि, शिक्षा, स्वास्थ्य , आबासको अधिकारको बारेमा टोलटोलमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।
त्यसैगरी नेपाली काग्रेंसका स्थानीय नेता रामेश्वर खत्वेले विपन्न समुदायको शिक्षा र स्वास्थ्यमा पहुच नभएको गुनासो गरे । खत्वेले शिक्षामा रहेको दुई धारलाई एक रुपता कायम गरी गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । त्यसैगरी संदिप यादवले नागरिकको चेतनास्तर वृद्धि गर्नका लागि जनचेतना आवश्यक रहेको बताए । सहभागी दिनेश यादवले शिक्षाको विकास र पहुच विना देश विकास असम्भव रहेको बताए ।
कार्यक्रम मानव अधिकार समूहकी अध्यक्ष ममता उराँवको अध्यक्षता र भोक्राहा नरसिंह गाउँपालिका– ३ का वडा अध्यक्ष सुकदेव यादवको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

अफगान सीमा नजिक आक्रमणमा दुई पाकिस्तानी सेनाको मृत्यु

काठमाडौं । अफगानिस्तान भूभागबाट गरिएको गोली प्रहारको घटनामा दुई जना पाकिस्तानी सेनाको मृत्यु भएको छ । तालिबानले १५ दिन अघि काबुल नियन्त्रणमा लिएपछि अफगान भूमिबाट गोलि फायरिङमा पाकिस्तानी सेनाको मृत्यु भएको यो पहिलो घटना हो ।
पाकिस्तान सेनाले आक्रमणको जवाबमा चलाइएको कारबाहीमा दुई वा तीन आक्रमणकारीको मृत्यु भएको जनाएको छ । घटना भएको क्षेत्रमा सञ्चारकर्मी वा मानव अधिकारकर्मीको पहुँचमा रोक लगाइएको छ । आक्रमणको घटना आइतबार पाकिस्तानको बजौर जिल्लामा भएको बताइएको छ ।
बजौर जिल्ला ऐन कानुन कार्यान्वयन नहुने जिल्लाको रुपमा चिनिन्छ । समाचार संस्था अलजजिराले उक्त जिल्ला पाकिस्तान तालिबानको गढको रुपमा गनिदै आएको उल्लेख गरेको छ । सेनाले कारबाही चलाउँदा तालिबान अफगान भूभागतर्फ गएको बताइएको छ । काबुलमा सत्ता ढलेपछि पाकिस्तान तालिबानले पाकिस्तान सेना बिरुद्ध आक्रमणको घटना रोकेको थियो । सेनाले आक्रमणमा संलग्नतालाई लिएर कुनै खुलासा गरेको छैन् ।
सेनाले जारी गरेको वक्तब्यमा दुई देखि तीन जना आतङ्ककारीको मृत्यु भएको र तीन जना घाइते भएको उल्लेख गरिएको छ ।

विश्वभरि ४५ लाख सङ्क्रमितको मृत्यु, २१ करोड ६३ लाख सङ्क्रमित

काठमाडौं । विश्वभरि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४५ लाख नाघेको छ । अमेरिकाको जोन हप्कीन्स विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट हालसम्म विश्वभरि ४५ लाख ब्यक्तिको मृत्यु भएको छ ।
सोमबार अपरान्हसम्मको तथ्याङ्क बमोजिम हालसम्म २१ करोड ६३ लाख ५६ हजार ४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । गत् मार्च २०२० मा कोभिड १९ विश्वभरि महामारीको रुप लिएको थियो । हालसम्म अमेरिकामा मात्रै तीन करोड ८७ लाख सङ्क्रमित भएका छन् । अमेरिकामा मात्रै छ लाख ३७ हजार ५०० जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
अमेरिकामा हालसम्म ४८ प्रतिशत जनसंख्याले अझै पूर्ण खोप लगाएका छैनन् । अमेरिकामा हाल दैनिक थपिने सङ्क्रमितको संख्या समेत बढेको छ । औसतमा दैनिक एक लाख ५१ हजार सङ्क्रमित थपिदै आएका छन् ।

नेपालविरूद्ध खेल्न भारतीय टिम काठमाडौंमा

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम काठमाडौं आइपुगेको छ। भारतीय प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय टिम नेपाल आइपुगेको हो।काठमाडौं आइपुगेपछि भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपाललाई कठिन प्रतिद्वन्द्वी भन्दै खेलले साफ च्याम्पियनसिपका लागि फाइदा पुग्ने बताए।

नेपाल र  भारतबीच यहि  भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ।खेलमा दर्शकलाई प्रवेश दिने विषयमा मंगलबारसम्ममा निर्णय हुने अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको भनाइ छ। एन्फाले खेलमा भ्याक्सिन लगाएका र पिसिआर टेस्टमा नेगेटिभ आएकालाई रंगशालामा प्रवेश दिने प्रस्ताव गरेको छ।साफ च्याम्पियनसिपअघि नेपाल र भारतबीच खेल हुन लागेको हो। नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएको छ। ती १९ मध्ये भारतले १३ खेलमा  जित हात पारेको छ। नेपाल केवल २ खेलमा मात्र विजयी भएको छ। ४ खेल भने बराबरीमा सकिएका छन्।भारतले नेपालको  पोस्टमा ३३ गोल गरेको छ।

नेपालले भने ९ गोल मात्र गर्न सकेको छ।पछिल्लो पटक नेपाल र भारतबीच जुन ६, २०१७ मा प्रतिस्पर्धा भएको थियो। मुम्बईमा भएको सो खेलमा भारत २-० गोलले विजयी भएको छ। दुई टिमबीच नेपाली मैदानमा २०१५ मा प्रतिर्स्पर्धा भएको थियो। विश्वकप छनोटको दोस्रो लेगको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपाल  र भारतबीच प्रतस्पर्धा भएको थियो। सो खेलमा नेपालले २-१ को रोमाञ्चम जित हात पारेको थियो। उक्त खेलमा नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए।

दुई देशको प्रतिस्पर्धामा सुनील क्षेत्री बढी गोल गर्ने खेलाडी हुन्। उनले नेपालविरुद्ध आठ खेल खेल्दै पाँच गोल गरेका छन्।

नेपाली टिम 

गोलकिपर : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर : सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द

मिडफिल्डर : सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान

फरवार्ड  : मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा

भारतीय टिम
गोलकिपर : अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु

डिफेन्डर : प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस

मिडफिल्डर : ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर

फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी

स्वदेश फर्किए झलनाथ खनाल

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ  खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किएका छन्। भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका खनाल सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू विमानस्थलमा पुगेका थिए। खनालले नयाँ पार्टी दर्ताका लागि नयाँदिल्लीबाटै निर्वाचन आयोगमा सनाखत गरेका थिए। खनाल असार २ गते उपचारका लागि नयाँदिल्ली गएका थिए।

काठमाडौं उपत्यकामा थपिए ९०६ जना कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा ९०६ जनालाई संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन्।

थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार ८९२ जनाको पिसिआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, १ हजार ८०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यसको संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ। हाल सक्रिय संक्रमित ३५ हजार ८७४ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.९ प्रतिशत रहेको छ।

देशभर थप २२९५ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९५ कोभिड संक्रमित थपिएका छन् । १६ हजार २३३ वटा नमूनाको परीक्षण गर्दा २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो चौबीस घण्टामा १६ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ८०८ जना संक्रमण मुक्त भएका छन् ।  नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अमेरिकाको लुसियानामा आँधी : ७ लाख भन्दा बढी घरमा घरमा बिजुलीको आपूर्ति ठप्प

अमेरिकाको लुइसियाना प्रान्त आँधीले नराम्रोसँग प्रभावित बनेको छ। आइडा नामक आँधीका कारण न्यू आलिस शहरमा बिजुली आपुर्ति समेत ठप्प भएको छ ।

आँधीका कारण लुजियानामा भीषण वर्षा भएको छ। भारी वर्षापछि सर्वसाधारणको घरभित्रै पानी पस्न सुरु भएको समाचार एजेन्सीहरुले जनाएका छन्।

हाल सम्म १५ हजार मानिस आश्रय स्थलमा शरण लिएका छन्। आइतबार साँझ अत्यन्त तीव्र गतिमा प्रवेश गरेको आँधी अहिले केही मत्थर भए पनि ठूलो क्षति पुर्याउने सम्भावना रहेको बताइएको छ।

१६ बर्ष अगाडि उक्त क्षेत्रमा क्याटरिना नामक आँधीबेरीले तहस नहस बनाएको थियो।क्याटरिनाले १ हजार ८ सय मानिसहरुको ज्यान गएको थियो भने एक सय अर्ब डलरको नोक्सान पुर्याएको थियो। १६ बर्षमा पुनः समुन्द्री आँधिबेरी आइडा आएको हो।

अहिले सम्म लुजियानाको शेल समुन्द्रीतटमा छाल ८ फिट माथि पुगिसकेको राष्ट्रिय आँधीबेरी केन्द्रले जनाएको छ। लुजियानाको न्यूओर्लियन्स शहरमा बाढी आउने चेतावनी दिईएको छ। लुजियानाकै ब्रेथवेटमा पनि बाढी आउने भएकोले आकस्मिक सूचना जारी गरिएको छ।

दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत गराएका छन्।

अमेरिकाको ड्रोन आक्रमण गैर-कानुनी : तालिबान

काठमाडौं । अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको तालिबानले आइतबार अमेरिकाले काबुलमा गरेको ड्रोन आक्रमण गैर–कानुनी भएको बताएको छ । चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनसँगको कुराकानीमा तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले तालिबानलाई कुनै सूचना नै नदिई अमेरिकी सेनाले उक्त ड्रोन आक्रमण गरेको बताएका छन् । अर्को मुलुकमा सूचना नै नदिई आक्रमण गर्नु गैर-कानुनी भएको उनको भनाइ छ ।

अमेरिकाले आइतबार गरेको ड्रोन आक्रमणमा काबुल एयरपोर्टमा आत्मघाती आक्रमण गर्न आइरहेका आक्रमणकारीको मृत्यु भएको बताएको छ । स्थानीय सञ्चारमाध्यमले भने अमेरिकाको उक्त आक्रमणमा नौ जनाको आम नागरिकको मृत्यु भएको बताएका छन् । अफगानिस्तानको टोलो न्युजका अनुसार उक्त आक्रमणमा एक अफगानी सेनाका सैनिक, दुई अनुवादक र एक व्यापारीका साथै चार बालबालिकाको पनि मृत्यु भएको छ ।

विराटनगर डिपोमा पार्किङ गरिएको ट्यांकर चोरी

विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो ।

चोरीको आरोपमा प्रहरीले ट्यांकरसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो ।

राति ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकरसहित यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कायालय मोरङले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

आइतबार राति करिब साढे १ बजे विराटनगर–४ स्थित नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी भएको थियो । चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौकामा यादवले चाबी खुला नै रहेको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ ।

राति करिब १ बजे चोरी भएको ट्यांकर अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर राति १२ः३० बजेतिर विराटनगर आइपुगेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चोरीमा यादवसहित चार/पाँच जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । अन्यको खोजी जारी छ ।

यादव निगमका पूर्व चालक हुन् । उनले केही महिना अघि जागिर छाडेका थिए ।