१५ मंसिर २०७७, सोमबार २०:२४ – Nagarikabhiyan : National News

 प्रदेश २ मा गत आर्थिक वर्षमा १६ वर्ष भन्दा कम उमेरका ४३ प्रतिशत बालिकाहरु बलात्कृत

जनकपुरधाम । प्रदेश नम्बर २ मा गत आर्थिक वर्षमा १६ वर्ष भन्दा कम उमेरका ४३ प्रतिशत बालिकाहरु बलात्कृत भएको तथ्याङ्कले देखाएको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुुसार गत आर्थिक वर्ष २०७६-०७७ मा महिला तथा बालबालिका सम्बन्धी अपराधका ४ सय ७७ वटा घटनाहरु घटेका छन् ।

प्रदेश २ को आठवटै जिल्लामा गत आर्थिक वर्षमा १० वर्ष भन्दा मुनिका २३ जना बालिका बलात्कृत भएको तथ्याङ्क छ । त्यस्तै, १० देखि १६ वर्ष उमेर समुहका १ सय १२ जना बालिकाहरु बलात्कृत भएकी छन् । १६ वर्ष भन्दा माथि उमेर समुहको १ सय ५५ जना महिला तथा बालबालिका बलात्कृत भएकी छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाईले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस प्रदेशमा गत आर्थिक वर्षमा जबरजस्ती करणीका २ सय ९० वटा मुद्दाहरु दर्ता भएका छन् । जसमा संलग्न २ सय २३ जना व्यक्ति पक्राउ समेत परिसकेको अवस्था छ । जिल्लागत हिसाबले सप्तरीमा ३१, सिरहामा ४७, धनुषामा ५३, महोत्तरीमा १६, सर्लाहीमा ३०, रौतहटमा २९, बारामा ४५ र पर्सामा ३९ वटा जबरजस्ती करणीका घटनाहरु घटेका छन् । यस्ता घटनाहरुमा संलग्न मध्ये सप्तरीमा १८, सिरहामा ३९, धनुषामा ४७, महोत्तरीमा १५, सर्लाहीमा १७, रौतहटमा २२, बारामा ३३ र पर्सामा ३२ जना गरि २ सय २३ जना पक्राउ परिसकेका छन् ।

गत आर्थिक वर्षमा १० वर्ष भन्दा मुनिका बालिकाहरु धनुषामा ६, रौतहटमा ६, बारामा ५ र पर्सामा ६ गरि कुला २३ जना बलात्कृत भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै, १० देखि १६ वर्ष उमेर समुहका सप्तरीमा १२, सिरहामा १, धनुषामा १८, महोत्तरीमा ७, सर्लाहीमा १२, रौतहटमा १३, बारामा ३१ र पर्सामा १८ गरि १ सय १२ जना बालिकाहरु जबरजस्ती करणीका शिकार भएका छन् । १६ वर्ष भन्दा माथि उमेर समुहका सप्तरीमा १९, सिरहामा ४३, धनुषामा ३१, महोत्तरीमा १०, सर्लाहीमा १९, रौतहटमा ९, बारामा ९ र पर्सामा १५ गरि कुल १ सय ५५ महिला तथा बालिकाहरु बलात्कृत भएको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै, जबरजस्ती करणी उद्योग तर्फ सप्तरीमा १०, सिरहामा २२, धनुषामा १४, महोत्तरीमा ७, सर्लाहीमा १४, रौतहटमा १२, बारामा २२ र पर्सामा ४ गरि कुल १ सय ५ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जबरजस्ती करणी उद्योगका मुद्दाहरुमा पक्राउ परेकाहरु मध्ये सप्तरीमा ११, सिरहामा १३, धनुषामा १५, महोत्तरीमा ११, सर्लाहीमा १०, रौतहटमा ८, बारामा २१ र पर्सामा २ गरि ९१ जना पक्राउ परेका छन् ।

तथ्याङ्क अनुसार जबरजस्ती करणी उद्योग तर्फ गत आर्थिक वर्षमा १० वर्ष भन्दा मुनिका ६ जना बालिकाहरु पीडित भएकी छन् । जिल्लागत हिसाबले महोत्तरीमा १, सर्लाहीमा १, रौतहटमा १ र बारामा ३ जना पीडित भएका छन् । त्यस्तै, १० देखि १६ वर्ष उमेर समुहका सप्तरीमा ७, सिरहामा ५, धनुषामा २, महोत्तरीमा ५,सर्लाहीमा ३, रौतहटमा ७ र बारामा ९ गरि कुल ३८ जना पीडित भएकाहरु छन् । १६ वर्ष भन्दा माथि उमेर समुह तर्फ सप्तरीमा ३, सिरहामा १७, धनुषामा १२, महोत्तरीमा १, सर्लाहीमा १०, रौतहटमा ४, बारामा १० र पर्सामा ४ गरि जम्मा ६१ जना पीडित भएको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रसाईले यस प्रदेशमा विभिन्न हिंसात्मक घटनामा ९० जनाको हत्या भएको जानकारी दिएका छन् । यस्ता घटनामा संलग्न १ सय १५ जना पक्राउ समेत परिसकेको उनले बताए ।

प्रहरीले जनाए अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जबरजस्तीकरणी, हत्या र अन्य घटना सहित २ सय २६ वटा महिला तथा बालबालिका सम्बन्धी अपराधिक घटनाको मुद्दा दर्ता भएको हो जसमध्ये बलात्कारतर्फ १ सय ४६ र बलात्कारको प्रयासतर्फ ४४ वटा गरी १ सय ९० वटा रहेका छन् ।

कारवाही तिव्र
बलात्कारको घटनामा ह्वातै वृद्धि भएपछि कारवाही प्रक्रिया पनि प्रहरीले तिव्रगतिमा जारी राखेको प्रवक्ता प्रसाईको दाबी छ । प्रहरीले पक्राउ गरेर अदालत समक्ष बुझाएकाहरु मध्ये अधिकांश जेल सजाय भोगिरहेको उनले बताए ।

गत आर्थिक वर्षमा ३ सय ९५ बलात्कारको घटना मध्ये ३ सय १४ जनालाई पक्राउ गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा १ सय ९० बलात्कार घटनामा १ सय ४१ जना पक्राउ गरी कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रिमियर लिग : लेष्टर र फुलहम भिड्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लेष्टर सिटी र फुलहमबीच प्रतिस्पर्धा हुने भएको छ। लेष्टर सिटी र फुलहमबीच दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ११:१५ बजे सुरु हुनेछ ।

लेष्टर १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने फुलहम ४ अंक जोडेर १९ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत आजै हुने अर्को खेलमा वेस्ट ह्याम युनाईटेडले एस्टन भिल्लासँग खेल्नेछ ।

नेकपा फुटे संघियता समाप्त हुने : नेता सुमन

जनकपुरधाम ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का सचिव सुमनराज प्याकुरेलले नेकपा फुटे संघियता नै धरापमा पर्ने बताएका छन् ।

जनकपुरधाममा आज ९सोमबार० सञ्चारकमीस्हरुसंग कुराकानी गर्दै नेकपाका प्रदेश सचिव प्याकुरेलले पार्टी भित्र जुन रुपमा द्वन्द्व बढेको हो त्यो चिन्ताको विषय रहेको भन्दै पार्टी फुट्नु देशकै लागि अनिष्ट हुने बताए । ‘कयौ आन्दोलन तथा बलिदानीबाट ल्याइएको व्यवस्था पार्टी भित्रको विवाद र पार्टी फूटको संघारमा पुग्दा व्यवस्था नै फेरिने खतरा रहेको तर्फ इंगित गरे । प्याकुरेलले भने,‘सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा भित्रको द्वन्द्वका कारण विभिन्न शक्तिहरु चलखेल गर्ने मौका पाईरहेका छन् ।’

उनले पार्टी भित्रको द्वन्द्व समाप्त भएसंगै देशमा उब्जिरहेको समस्या आफै समाप्त भएर जाने दावी गरे । दुई अध्यक्ष विचको वैचारिक द्वन्द्वलाई विवादको संज्ञा नदिन उनले आग्रह समेत गरे ।

यसअघि प्याकुरेलेको उपस्थितिमै सोमबार जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा २ सयभन्दा बढी युवाहरु प्रवेश गरेका थिए । जनकपुर युवा विकास समितीका संयोजक रोशन मण्डलको नेतृत्वमा सयौं युवाहरु पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य संजिव झा सुरज, बाल संगठनका उपाध्यक्ष आनन्द झा, अनेरास्ववियूका जिल्ला अध्यक्ष आरपी अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

मुख्यमन्त्री राईद्धारा १५ शैय्या अस्पताल भवनको शिलान्यास

इटहरी ।  इटहरीमा १५ शैय्या अस्पताल भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रम गरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इटहरी  स्थित इटहरी अस्पतालको प्राङ्गणमा नव निमार्ण अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राईले नयाँ सहरको रूपमा उदाएको इटहरीका विकासको हिसाबले अगाडि बढी सकेको बताए । नेपालको इतिहासमा यस्तो कार्यको थालनी पहिलो पटक भएको बताउँदै मुख्यमन्त्री राईले जनताले सङ्घीयता आएको महसुस गर्न पाएको बताए ।

उनले प्रदेश १ भरि ६ महिना सम्ममा करिब १८ वटा सडकको उद्घाटन समेत गर्ने जानकारी दिए ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्‍याउने उद्देश्यले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत १८ करोड ६८ लाख २ हजार मा निर्माण सम्पन्न गरिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।

पछिल्लो समय इटहरीमा ठुलो अस्पताल नभएको अवस्थामा यो अस्पतालले इटहरीको विकास तथा बिस्तारमा थप सघाउ पुर्‍याउने मेयर चौधरीको भनाई छ । उनले इटहरीमा स्वास्थ्य क्षेत्रले तीव्र गति लिएको बताए । इटहरीमा हाल सम्म १० वटा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिसकिएको बताउँदै अबको ६ महिना भित्र ५ वटाको पनि शिलान्यास गरिने बताए ।

दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने भनिएका ३९६ वटा आधारभूत अस्पतालहरूमध्ये प्रदेश नं १ मा ८६ वटा बन्दै छ ।
देशभर एकै पटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन सरकारले स्वास्थ्य संस्था नभएका ६४९ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ५, १० र १५ शैय्याका ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्न गरेको हो ।

बैंक लुटमा संलग्न खम्ब घले पक्राउ

काठमाडौं ।  कृषि विकास बैंकको लगईन युजरमा प्रवेश गरेर करिब पाँच करोड रुपैयाँ अपचलन गर्ने समूहका खम्ब घलेलाई प्रहरीले पक्रेको छ । ०७६ असोजमा घले सहितको समूहले कृषि विकास बैंकको लाहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गराए । मुख्य कार्यालय न्यूरोडबाट समेत व्यक्तिको खातामा अनधिकृत रुपमा ट्रान्सफर गरिएको थियो ।

धादिङ रुबिभ्याली गाउँपालिका घर भएका ५४ वर्षीय खम्ब घलेलाई आईतबार साँझ स्वयम्भुबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) ईश्वर कार्कीले रातोपाटीलाई बताए । लुटमा संलग्न मुख्य योजनाकार भनिएका पिटर उर्फ कालेको एजेन्टको रुपमा खम्बले काम गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पिटर भारतमा बस्छन् ।

लाहान शाखाका कर्मचारीको मिलेमतोमा सो लुट भएको थियो । लुटमा संलग्न १५ जनाभन्दा बढीलाई प्रहरीले यसअघि नै पक्रेको थियो । उनीहरुमाथि संगठित रुपमा बैंक लुटेको मुद्धा चलिरहेको छ । उच्च अदालत पाटनको आदेशले खम्बलाई पुर्पक्षका लागी केन्द्रीय कारागार पठाईएको एसपी कार्कीले बताए । यो समाचार रातोपाटीमा छ ।

पिटरको गिरोहले नेपाली एजेन्टलाई प्रयोग गरेर पाँच अर्व लुट्ने योजना बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पानस रेमिटबाट लगातार पैसा निकाल्ने व्यक्तिमाथी अनुसन्धान गर्दै जाँदा महाशाखाले कृषि विकास बैंकको लुटमा संलग्न समूहको चेन ब्रेक गर्न सफल भएको थियो ।

भक्तजनका लागि खुल्दै पशुपतिनाथ मन्दिर

काठमाडौं । कोरोना महामारी नेपालमा पनि फैलिएपछि चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा। प्रदीप ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने छ ।

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका थिएनन् ।

सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला हुँदा पनि पशुपतिनाथ मन्दिर खुला नभएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घसंस्थाले पशुपति क्षेत्रमा विभिन्न विरोधका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका थिए ।

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो । यस वर्ष साउनको सोमबारसमेत पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गर्ने गरेका थिए । साउनको सोमबार भक्तजनले पशुपति क्षेत्र परिक्रमा गरेर आस्था प्रकट गरेका थिए ।

इतिहासमै यति लामो अवधि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको वंशावलीलगायत कतै पनि उल्लेख नगरिएको कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डन बताए । चैतपछि पशुपतिनाथको नित्यपूजा आरती चलिरहे पनि भक्तजनले विशेष पूजा र दर्शन गर्न भने पाएका थिएनन् । रासस

राजावादीको प्रदर्शनमा कांग्रेस नेता कोइराला सहभागी

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपीन कोइराला राजावादी संगठनले गरेको कार्यक्रममा सहभागी भएका छन्।

राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा निकालिएको र्‍यालीमा नेता कोइराला सहभागी भएका हुन्। राजावादी संगठन राष्ट्रिय शक्ति नेपालले आयोजना गरेको प्रदर्शनमा कोइरालाको सक्रिय सहभागीता रहेको हो।

पार्टीले लिएको नीतिप्रति असन्तुष्टि व्यक्त गरेका कोइरालाले गणतन्त्रको खारेजीको मागसहित निकालिएको र्‍यालीमा आगामी दिनमा पनि सहभागी हुने बताए। पूर्वराजावादीको कार्यक्रममा सहभागी भएकोबारे सोधिएको प्रश्नमा कोइरालाले भने, ‘कार्यक्रम राजावादीको पनि हो, संविधानवादीको पनि हो। संघीयता खारेज गर्ने पक्षधरको हो।’

नेपालको गणतन्त्र आयातित गणतन्त्र भएको उनको बुझाइ छ। ‘नेपालले धान्न नसक्ने गणतन्त्र विदेशीको इशारामा ल्याइएको हो। गणतन्त्र खारेज हुनुपर्छ भन्ने मेरो भनाइ हो।’ कांग्रेसको कार्यकर्ताकै रुपमा आफ्नो बोली रहेको बताउँदै भने, ‘२०४७ सालकै संविधान पुनर्वहाली हुनुपर्छ।’

संघीयता र गणतन्त्रको पक्षमा कांग्रेस रहिरहे पार्टीलाई थप क्षति हुने उनको बुझाइ छ। ‘गिरीजाप्रसादले प्रचण्डलाई बोके। शेरबहादुरले ओली बोकेका छन्‚’ उनले पार्टी नेतृत्वलाई प्रश्न गरे, ‘कांग्रेस कहाँ छरु संघीयता र गणतन्त्र दुवै गलत हुन्।’

विवेकको कुरा राख्ने स्वतन्त्रता भएकैले कांग्रेसमा रहेको उनले बताए। गणतन्त्र र संघीयता खारेजीको माग महासमिति बैठकमा पनि राखेको उनले सुनाए।

राजसंस्था पुनर्वहालीको मागसहित मंसिर २० मा गर्ने राजावादी संगठनको अर्को कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाइएको उनले जानकारी दिए ।

 

करागारमा दरबन्दी आयो , स्वास्थयकर्मी आएनन्

इनरुवा । प्रदेश १ कै सबै भन्दा ठुलो क्षेत्रिय कारागार झुम्कामा स्वास्यकर्मी नहुँदा स्मस्या भएको छ ।

गृह मन्त्रालय , कारागार व्यवस्था विभागले एक वर्ष अघि नै दुइ जना हेल्थ अस्ष्टिेन्ट (एच ए ० दरबन्दी पठाएपनि दरबन्दी अनुसार स्वास्थकर्मी आपुर्ती नहुँदा कैदीबन्दीको स्वास्थय उपचार र परिक्षणमा समस्या भएको छ ।

कारागारमा १ हजार ७ सय २० कैदी बन्दी रहेकोमा दैनिक २ देखी ८ जना सम्म विरामी हुने गरेकोमा उपचार र परिक्षणका लागि स्वास्थयकर्मी नहुँदा जिल्ला अस्पताल इनरुवा र विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान पठाउनु पर्ने बाध्यता रहेको कारागारका निमित्त जेलर राजेन्द्र कुमार कार्की जानकारी दिए ।

कारागारमा हाल २ जना एच आइ भी पिडित, १ जना मृगौला पिडित, ६ जना क्षयरोगी, ४ जना मुटु रोगी , १ सय ६२ जना रुघाखोकी ७ जना ब्रोन काइटिस, २५ जना युटिआई सहित २ सय बढी बिभिन्न रोगबाट पिडितहरु रहेका छन् ।

कारागारमा दरबन्दी आएको एक वर्ष बढी बित्दा समेत स्वास्थयकर्मी नआउदाँ समस्या भएको जेलर कार्कीको भनाई रहेको छ ।

जेलर कार्कीले समान्य रुघाखोकी ,पेट दुखेको लगायतका बिरामीलाई करागार भित्रै सहज , सरल सेवा दिनका लागि स्वास्थयकर्मी अति आवश्यक भएकोमा दरबन्दीको स्वास्थयकर्मी नहुँदा ठुलो स्वास्थय समस्या रहेको बताए ।

यता करागारमा एक वर्ष भित्र ४ जना कैदीबन्दीको मृत्यू भएको छ ।

चिरौलीको मुहार फेर्दै , गापा अध्यक्ष यादवले कालोपत्रेको गरे शिलान्यास

इनरुवा ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको नरसिंहमा पहिलो पटक आज सोमबार शिलान्यास गरेको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले आफ्नो गाउँबासीहरुलाई धुलो मुक्त बनाउने र बाटोको मुहार फेर्ने स्थानीय तहको चुनावको बेला दिएको वचन पुरा गर्दै आएको बताए ।

नरसिंहबासीका लागि पहिलो पटक सडक कालो पत्रेको शिलान्यास गाउँपालिका अध्यक्ष यादवले गरेपछि त्यहाँका स्थानीयहरु खुसी भएका छन् ।

आर्थिक बर्ष ०७७÷०७८ को गाउँ स्तरीय योजना अन्तर्गत चिरौली चौक देखी दक्षिण पिपल चौक हुँदै भागवत यादवको घर सम्मको बाटो कालोपत्रे र जनता चौक देखी दक्षिण वार्ड नं. ५ र ७ को सिमा वाटो कालोपत्रेको गर्नको लागि ४ करोड ७७ लाख ८१ हजार १ सय ४८ रुपैयाँ ४ पैसाको लागतमा बाटो निर्माण सुरु भएको छ ।

सो बाटो निर्माणको लागि सपना आरके जेभी सुनसरीलाई टेन्डर परेको याेजना शाखाका  सहायक रामचन्द्र यादवले जानकारी दिए ।

गाउँपालिका भित्र अहिले सम्मकै लामो बाटो कालो पत्रे हुन लागेको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।

गाउँपालिको गाउँ स्तरीय योजना अन्तर्गत वडा नं. ५,६ र ७ मा ४ किलो मिटर बाटो कालो पत्रे हुने भए पछि गाउँपालिका बासी बिक्की पौद्धार खुसी भएका छन । निर्माण हुन लागेको सो सडक खण्डमा विभिन्न गाउँका नागरिकले सुविधा पाउने हुदाँ स्थानियले गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत मेहताको प्रशंसा समेत गरेका छन ।

कञ्चनरुपमा १५ शैय्याको अस्पतालको शिलान्यास

राजविराज  । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कंचनपुरमा १५ शैय्याको सरकारी अस्पतालको आज शिलान्यास गरिएको छ ।

वडा नम्बर ८ मा निर्माण हुने गरि संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको सरकारी अस्पताल निमार्ण गर्ने नीति अनुसार प्राथमिक अस्पतालको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख मिश्रले गुणस्तरीय अस्पताल निर्माणका लागि नगरपालिकाबाट हुने सहयोग गर्ने बताउनुभयो ।

उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको भन्दै आज आफुले सरकारी अस्पतालको शिलान्यास गर्न पाएकोमा खुशी अनुभुति भइरहेको बताउनुभयो ।

२०५३ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तररोन्नती गरी प्राथमिक अस्पताल बन्न लागिएको हो ।

सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले संविधानमा प्रत्येक स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

१५ शैय्याको अस्पताल आधारभूत अस्पताल मात्र नभएको र अबको दिनमा अर्थ मन्त्रालयले एकैचोटी आइसियु , भेन्टिलेटरसहितको उपकरणहरु खरिद गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट समेत निकासा गरिसकेको स्वास्थ्य कार्यालयका प्रमुख यादवको भनाई छ ।

संघीय सरकारले अस्पताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ३ करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममामा उपप्रमुख निरु पोखरेलले १५ शैय्याको प्राथमिक अस्पतालबाट यस नगरपालिकाले मात्र नभई छिमेकी गाउँपालिका र नगरपालिकाले समेत लाभ लिन सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, राजनितिक दलका प्रतिनिधि , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, वडा अध्यक्षहरु , बहुक्षेत्रीय पोषण कार्यक्रमकी स्वयमसेवीका सुशीला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सरकारी अस्पतालको शिलान्यास भएपछि नगरबासीहरु हर्षित भएका छन् ।

सुकुम्वासी दलित परिवारका लागि सुरक्षित भवन निर्माण हुदै

सप्तरी । सप्तरीको एउटा स्थानियतहमा सुकुम्वासी दलित परिवारका लागि सुरक्षित भवन निर्माण भइरहेको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. २ कनकपट्टीमा ३४ सुकुम्वासी दलित परिवारका लागि सुरक्षित भवन निर्माण कार्य भइरहेको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिनुभयो ।

जमिनमा ढुंगा तथा सिमेन्टबाट घरको सतह उच्च बनाई बाढीको जोखिमबाट समेत सुरक्षा दिनेगरि निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो ।

महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक चौधरीका अनुसार निर्माण भइरहेको दुई कोठे घरमा भान्सासहित तथा छुट्टै शौचालयको व्यवस्था पनि गर्न लालिएको छ ।

घरको चारैतिरको भित्तामा बाँसको भाटा कलात्मक ढंगबाट जडान गरि टिनको छाना भएको कोठाहरु निर्माण भइरहेको जनाइएको छ ।

विपद्का बेला जोखिमबाट जोगिन अहिले बन्दै गरेको भवन सुरक्षित हुने दाबी गरिएको छ ।

यसैगरि आफ्नै आगनमा बन्दै गरेको सुरक्षित भवन देखेर सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपट्टीकी ५० वर्षिया लक्ष्मीदेवी सदाय भनिन्, “अब वर्षा, हावाहुरी तथा अन्य विपद्बाट जोगिन संस्थाले बनाइदिएको नयाँ घरबाट निकै खुशी र हर्षित छु ।”

त्यस्तै सोही ठाउँका धर्मदेव सदायले वर्षेणी बाढीका कारण घरबार छाडेर सुरक्षित स्थानमा भाग्नु पर्ने बाध्यता अब हट्ने सोचेर उनी पनि दंग छन् ।

ह्याविटेट फर हयुमिनिटी तथा शम्भुनाथ नगरपालिकाले आर्थिक रुपमा सहयोगमा सुकुम्वासी दलित परिवारका लागि सुरक्षित भवन निर्माण गरिरहेको उहाँले जानकबारी दिनुभयो ।

कार्यक्रमका मुख्य सहयोगि एवं साझेदार संस्था ह्याविटेट फर हयुमिनिटी नेपालका इन्जिनियर राजिव बर्माले प्रति घर झण्डै रु ३ लाख २५ हजार लागत पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

मुख्य साझेदार संस्था ह्याविटेट फर हयुमिनिटि नेपालका प्रतिनिधि रामप्रसाद सिंह दनुवारले सुरक्षित आवासमा सबैको पहुँच पु¥याउने उद्देश्यले यस कार्यक्रमलाई भावी दिनमा सिरहा र धनुषातर्फ पनि बिस्तार गर्ने योजनाका साथ गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

विगत १२ वर्षदेखी आवास क्षेत्रमा काम गर्दै आएको केन्द्रले हालसम्म अतिविपन्न तथा दैवी प्रकोपमा परेका पीडित परिवारका लागि जिल्लाको बिभिन्न नगरपालिका तथा गाउँपालिकामा कुल ४ हजार ३ सय ३५ घर निर्माण गरिसकेको जनाइएको छ ।

बीपी प्रतिष्ठानका इन्टर्न डाक्टरहरुको आन्दोलन फिर्ता, ५० प्रतिशत भत्ता पाउनुपर्ने मागमा सहमति

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत प्रशिक्षार्थी डाक्टरले सोमबार आन्दोलन फिर्ता लिएका छन् ।

व्यवस्थापन र आन्दोलनकारीहरुबीच सोमबार ११ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिँदै उनीहरू ड्युटीमा फर्किएका हुन् ।

इन्टर्न संघर्ष समितिका संयोजक अमृत जैसीका अनुसार प्रशिक्षार्थीहरूले सरकारको आठौं तहसरह ५० प्रतिशत भत्ता पाउनुपर्ने मागमा सहमति जुटेकाले आन्दोलन रोकिएको हो ।

प्रशिक्षार्थीहरूलाई प्रतिष्ठानले जीवन निर्वाह भत्ताका रूपमा मासिक १५ हजार रुपैयाँ मात्र उपलब्ध गराउँदै आएको थियो । वार्तापछि १८ हजार ५ सय रुपैयाँ दिने सहमति भएको जैसीले बताए ।

‘प्रतिष्ठानका पदाधिकारीसहित व्यवस्थापन पक्षसँग भएको यो सहमति इन्टर्नसिप सुरु भएकै मितिदेखि लागु हुने र आगामी दिनमा शिक्षक–कर्मचारीको तलब वृद्धि हुँदा इन्टर्नहरूको जीवन निर्वाह भत्ता पनि कार्यकारिणी समितिले उचित मूल्यांकन गरेर वृद्धि गर्ने सहमति भएको छ,’ उनले भने ।

प्रतिष्ठानमा २ सय जना प्रशिक्षार्थी प्रशिक्षक छन् । नेपाल टाईम्स

बेपत्ता किशोर मृत फेला, हत्याको आरोपमा एक जना पक्राउ

सुनसरी । मंसिर १० गतेदेखि हराइरहेका सुनसरीको दुहवीका एक किशोर मृत फेला परेका छन् । दुहवी नगरपालिका-२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

यही मंसिर १० गते देखि हराईरहेका किशोरको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका-२ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला परेको हो ।

किशोर हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ खोजतलास तथा घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका-२ का २० बर्षीय सुमन झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले कर्तव्य गरी मारेको र शवलाई घारीमा फालेको भन्ने बयान दिए संगै घटनास्थलमा पुगेको प्रहरी टोलीले चौधरीलाई मृत फेला पारेको हो ।

किशोरको शव फेला परे संगै थप अनुसन्धान भईरहेको र घटनामा संग्लग्न रहेको आशंकामा अन्य २ जनालाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक चौधरीको शव परिक्षणको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरी कार्यालयले जनाएको छ । नेपाल टाईम्स

नेपाली अब कतार प्रहरीमा पनि भर्ती, यसरी हुनेछ छनोट

उनीहरुको चार महिने प्रहरी तालिम सकिएको छ । उनीहरु अब तत्काल कार्यस्थलमा खटिनेछन् । यसअघि कतारले पाकिस्तान नागरिकलाई मात्रै प्रहरी सेवामा लैजाने गरेको थियो ।

नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो । कतारमा झन्डै चार लाख नेपाली कामदार छन् ।

प्रहरी सेवामा नेपालीको उपस्थितिले नेपाली कामदारलाई सुरक्षा सेवा दिन थप प्रभावकारी हुने कतारले विश्वास लिएको छ । उसले केही महिनाको अन्तरालमा भर्ती खुलाई राख्नेछ । कतार प्रहरीको वबसाइटमा हेर्न सक्नुहुनेछ ।अनलाईनबाट

रौतहटमा मिनी बससहित अवैध काठ बरामद

रौतहट । डिभिजन वन कार्यालय रौतहटले अवैध काठ सहितको एउटा मिनी बस बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला डिभिजन वन कार्यालयबाट गएको गस्ती टोलीले उक्त अवैध काठसहितको मिनिवस बरामद गरेको हो । जिल्लाको बाग्मती सवडिभिजन वन कार्यलय अन्तर्गतको क्षेत्रबाट ६० क्युफिट चिरान काठसहित बा १ ख ६४४२ नम्बरको मिनी बस बरामद गरिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिएका छन् ।

डिभिजन वन कार्यालय का अधिकृत रामप्रसाद साह ,मधुकान्त सिंह र बाग्मती डिभिजन वनका कर्मचारीको सक्रियतामा ४९ थान चिरान गोलिया बराद गरिएको प्रमुख सिंहले जानकारी दिए । बागमती खोलामा ट्युवमा बगाएर ल्याएर नुनथर क्षेत्रमा रातीको समयमा बसमा लोड गरेर लान लागेको अवस्थामा गस्ती टोलीले काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । बरामद काठ र मिनी बस आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा लगिएको छ । रातोपाटी

पोखरामा भेन्टिलेटर बैंक स्थापना अभियान

कास्की । पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको सो संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए ।

पालिखेले गम्भीर प्रकृतिका कुनै पनि बिरामी मर्न नपरोस् भनेर आफूहरु भेन्टिलेटर जुटाउने अभियानमा लागेको बताए । “हामीले अहिले १० वटा भेन्टिलेटर तथा क्यानुला उपलब्ध गराउने लक्ष्य छ, हामीले २० वटा भेन्टिलेटर तथा क्यानुला उपलब्ध गराउन सक्ने छौ”, पालिखेले भने ।

उनका अनुसार पोखरामा ती साधन ‘स्टक’ राख्ने र जुन अस्पतालका बिरामीलाई आवश्यक पर्छ न्यूनतम शुल्कमा उपलब्ध गराइनेछ । सोको लागि सरकारीमा दैनिक भेन्टिलेटर प्रयोग गरेवापत एक हजार, सामुदायिकमा दुई हजार र निजी अस्पतालमा प्रयोग गरेवापत तीन हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसैगरी सरकारी अस्पातालमा दैनिक क्यानुला प्रयोग गरेवापत तीन सय, सामुदायिकमा पाँच सय र निजीमा सात सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसका लागि तालीम प्राप्त स्वास्थ्यकर्मी आवश्यक हुनेभएकाले आगामी शनिबार पोखरामा तालीम गर्न लागिएको सर्भिसका सदस्य रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

संस्थाको उक्त अभियानको लागि पोखराका विभिन्न सङ्घ संस्था तथा व्यक्तिले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उक्त अभियानमा पोखराका युवा व्यवसायी सुिनल गोशलीले एक लाख, नेपाल युवा उद्यमी मञ्चले दुई लाख, संस्थाका अध्यक्ष विश्वशङ्कर पालिखेले एक लाख, होटल बाराहीका सञ्चालक विप्लव पौडेलले एक लाख र रोटरी इन्टरनेशनल क्लब ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले क्लबबाट एक लाख दिने घोषणा गरेका छन् ।

डा सरोज पोख्रेलले हाईफ्लो नोजल क्यानुलाको प्रयोगले भेन्टिलेटरमा लैजान नपर्ने अवस्थामा यसको प्रयोग निकै प्रभावकारी हुने भएकोले भेन्टिलेटर भन्दा पहिला यसको प्रयोग गर्दा कोरोनाका गम्भीर प्रकारका बिरामीलाई लाभ हुने बताए । रोटरीका गभर्नर किरणलाल श्रेष्ठले क्लबको पहलमा भेन्टिलेटरसहितको अन्य सामान खरिदमा ५० प्रतिशत छुट गराउने प्रतिबद्धता व्यक्त गरे । ‘प्रोटेवल भेन्टिलेटर’ ६ लाखमा भित्र्याउन सकिने र मा गरेको दुई महिनासम्ममा भेन्टिलेटर पोखरामा ल्याउन सकिने उनको भनाइ थियो । द नेपालटप