१५ मंसिर २०७७, सोमबार १३:५८ – Page 2 – Nagarikabhiyan : National News

कमला नदीमा भूतमेला

सिरहा । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुइँचो लागेको छ । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लागेको हो ।

स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै भिडभाड नगर्न निषेधाज्ञा जारी गरे पनि सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिइरहेका छन् ।  कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन  छ ।

कतिपय कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेको र आज बिहानै स्नान गरेको श्रद्धालुले बताएका छन् । कमला नदीमा स्नान गरेमा कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी स्नान गर्नेको सङ्ख्या अत्यधिक रहने गरेको छ ।

भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धिका लागि यस दिन पूर्णाहुति दिने चलन छ ।

कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । भारतसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायत ठाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीड लाग्ने गर्दछ ।रासस

जंगीदै ओली र प्रचण्डलाई मन्त्री पुनले दिए खुला चुनौति,‘पदबाट राजीनामा दिनुस् र युवालाई अभिभारा सुम्पनुस्, हामी बनाउँछौं सम्बृद्ध नेपाल’

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेको बताएका छन् । रोल्पाको लाँकुरीमा बनेका सबस्टेशन उद्घाटन कार्यक्रममा मन्त्री पुनले वर्तमान राजनीतिक अवस्थालाई आँकलन गर्दै अबको देशको अभिभारा सम्हाल्नकोलागी युवा पुस्ता तयार रहेको बताएका छन् ।

मन्त्री पुनले घुमाउरो पारामा दुवै अध्यक्षले सहमतिका साथ पार्टी र सरकारको नेतृत्व अब युवाको हातमा सुम्पनु पर्ने बताएका थिए । उले यदि सम्बृद्ध नेपाल चाहेकै हो भने यो कुरामा विचार गर्दै दुवै अध्यक्षले पदबाट राजीनामा दिएर युवालाई देशको अभिभारा सुम्पिए भने आफुहरुले त्यो अभिभारालाई स्वीकार्दै देशको नेतृत्व लिन तयार र सक्षम रहेको बताएका थिए । उनले भनेका थिए,‘दुवै अध्यक्षले सहमतिका साथ हामीलाई आह्वान गर्नुपर्यो र विधि र पद्धतिमा आधारित रहेर नेतृत्वको अवसर आएमा जिम्मेवारी पूरा गर्न हामी तयार छौँ ।’

उनले नेकपाभित्रको अहिलेको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि पार्टीभित्र छलफल र बहस हुँदा यसले पार्टीलाई नै फाइदा हुने मन्त्री पुनको भनाइ छ । बहस हुँदैमा पार्टी फुट्ने या सरकार विघटन हुने चिन्ता लिनु नपर्ने भन्दै मन्त्री पुनले अहिले उठेका बहसलाई निष्कर्षमा पुर्याएर पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए । ताजा खबर

सांसद बनेर जुत्ता लगाएको छु तर मेरो चिन्ता खुट्टामा चप्पल लगाउन नसक्नेहरुप्रति छ : पूर्व मन्त्रि विष्ट

गुल्मी । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा सांसद गोकर्ण विष्टले विगतमा आफूले डोकोमा नुन बोकेर खाएको सम्झनु भएकाे छ ।

इस्मा गाउँपालिका वडा नम्बर ४ दोहलीस्थित १५ शैयाको अस्पतालको शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आफ्नाे विगत सम्झनु भएकाे हाे । ‘त्यहीँ देउरालीको डाडो हो मैले सानोमा गाई चराउने, यहाँ मेरा दौँतरी पनि हुनुहुन्छ,’ नेकपा नेता विष्टले भन्नुभयाे, ‘ म सांसद बनेँ, मन्त्री पनि बनेँ तर म तपाइँको भाइ छोरा हुँ ।’

 

पूर्वमन्त्रि विष्टले आफूले जुत्ता लगाए पनि आफ्नो चिन्ता भने खुट्टामा चप्पल लगाउन नसक्नेहरुप्रती भएको बताउनुभयो । ‘मैले बिर्सेको छैन म आफैले गौडाकोट बाट डोकोमा नुनु बोकेर खाएको, मैले बिर्सेको छैन तपाईंहरुसँग दाउरा-घाँस गरेको,’ भावुक हुँदै विष्टले भन्नुभयाे, ‘अहिले म सांसद बनेर जुत्ता लगाएको छु तर मेरो चिन्ता खुट्टामा चप्पल लगाउन नसक्नेहरु प्रती छ ।’

उहाँले २०५६ सालको चुनावी घोषणा पत्रको स्मरण गर्दै भन्नुभयाे-‘मैले निस्तेखोला फर्काएर इस्मावासीलाई पानी खुवाउने छु भन्दा विपक्षीले मेरो खिल्ली उडाउथे, आखिर हेर्नुस त त्यहीँ खाेलाको पानी खुवाइएन त ?’  इस्मा खानेपानी योजना ७२ किलो मिटर रहेको उहाँले बताउनुभयाे ।

उहाँले गुल्मी क्षेत्र नम्बर २ को विकासले गति लिइसकेको र यसै कार्यकालभित्रै जनताले अपेक्षा गरेभन्दा अझ राम्रो विकास गर्ने पनि बताउनुभयाे । कार्यक्रममा प्रदेश सांसद तथा नेकपाका केन्द्रीय सदस्य दिनेश पन्थीले पनि मन्तव्य राख्नुभएकाे थियाे । न्युज २४ बाट

अरुभन्दा किन महत्वपूर्ण बन्नेछ अक्सफोर्डको कोरोना खोप ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि खोपको प्रतीक्षा विश्वभर छ ।

खोप आएपछि महामारी विस्तारै नियन्त्रण हुँदै जाने अपेक्षा छ । खोप विकास गरेका केही कम्पनीले खोप प्रभावकारी रहेको र अबको केही समयमा नै विश्व बजारमा आउने दाबी गरेका छन् ।

अहिलेसम्म फाइजर, मोडेर्ना र अक्सफोर्ड युनिभर्सिटीले आफ्नो खोपको अन्तिम चरणको मानव परीक्षणको नतिजा सार्वजनिक गरेका छन् । फाइजर र मोडेर्नाले विकास गरेको खोपले ९५ प्रतिशत संक्रमण रोक्ने दाबी गरिएको छ । तर, अक्सफोर्डले एक्स्ट्राजेनेका कम्पनीसँग मिलेर विकास गरेको खोप भने ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

यद्यपि अक्सफोर्ड युनिभर्सिटीका अनुसार परीक्षणका क्रममा खोपको डोजमा देखिएको समस्याका कारण प्रभावकारिता घटेको हो । डोज मिलाएपछि खोपको प्रभावकारिता ९० प्रतिशत छ । अरु खोपभन्दा कम प्रभावकारी देखिए पनि महामारी नियन्त्रणमा अक्सफोर्ड युनिभर्सिटीको खोप नै महत्वपूर्ण बन्न सक्ने अनुमान छ ।

यो खोपलाई कम्तीमा ६ महिनासम्म दुई देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ । यसको मूल्य पनि अरुको तुलनामा सस्तो छ, एक डोजको मूल्य तीनदेखि चार डलरको बीचमा पर्नेछ ।

किन महत्वपूर्ण बन्न सक्छ ?

१. प्रविधि

यो खोपको आवश्यक प्रविधि विश्वभरको महामारी नियन्त्रणमा सहयोग पुग्ने किसिमको छ । यो खोपलाई कम्तीमा ६ महिनासम्म दुई देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ ।

तर मोडेर्नाको खोपलाई माइनस २९ डिग्रीको तापक्रम आवश्यक हुन्छ र केवल एक महिनासम्म मात्र राख्न सकिन्छ । बायोएनटेक कम्पनीसँग मिलेर फाइजरले बनाएको खोपको लागि भने माइनस ७५ डिग्री सेल्सियस तापक्रम आवश्यक हुन्छ । उक्त तापक्रमबाट बाहिर निकालेको पाँच दिनभित्र यो खोपको प्रयोग गर्नु जरुरी हुन्छ ।

फाइजर र मोडेर्नाको खोप भण्डारणको लागि निकै चिसो तापक्रम आवश्यक हुन्छ, जुन धेरै स्थानमा सम्भव हुँदैन । यद्यपि एक्स्ट्राजेनेकाको खोप भने पुरानै संरचनामा भण्डारण गर्न सकिन्छ ।

त्यस्तै एक्स्ट्राजनेका, जोन्सन एण्ड जोन्सन र रुसी कम्पनीले निर्माण गरेको स्पुतनिक भी खोप एउटै प्रविधिमा आधारित खोप हुन्, जसले मानिसको शरीरले चिन्ने भाइरसमा कोरोना भाइरस राखेर शरीरभित्र पुर्‍याउँछन् र शरीरले त्यसैको आधारमा कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता बनाउँछ ।

फाइजर र मोडेर्नाको खोपमा भने म्यासेन्जर आरएनए (एमआरएनए)को प्रयोग गरिएको छ, जसले शरीरभित्र गएर शरीरलाई नै कृत्रिम कोरोना भाइरस निर्माण गर्न सहयोग गर्छ र त्यसलाई परास्त गर्दै शरीरले कोरोना भाइरसविरुद्धको प्रतिरोधी क्षमता विकास गर्छ । यो नौलो प्रविधि हो र यसरी निर्माण गरिएको प्रतिरोधी क्षमता कति लामो समयसम्म रहन्छ भन्ने विषयमा थाहा पाउन अझै पर्याप्त विवरणहरु उपलब्ध छैन ।

२. क्षमता

क्षमताको आधारमा पनि एक्स्ट्राजेनेकाको खोप महत्वपूर्ण बन्नसक्छ । यो कम्पनीले आगामी वर्ष विश्वभर तीन अर्ब डोज खोप वितरणको लक्ष्य लिएको छ । मोडेर्नाले ५० करोडदेखि एक अर्ब डोजसम्म लक्ष्य लिएको छ भने फाइजरले एक अर्ब ३० करोड डोजको लक्ष्य लिएको छ ।

विश्वभर कोरोना खोपको माग हुनुले विश्वभरका खोप निर्मातालाई अवसर भने प्रशस्त रहेको देखिन्छ । तर, एक्स्ट्राजेनेकाका प्रतिस्पर्धीले आफ्नो क्षमता बढाउन सकेनन् भने एक्स्ट्राजेनेका सबैभन्दा ठूलो कम्पनी बन्ने देखिन्छ ।

३. सहयोगको वाचा

एक्स्ट्राजेनेकाले अहिलेसम्म ३० करोड डोज खोप कोभ्याक्स कार्यक्रमलाई दिने वाचा गरेको छ । यो कार्यक्रममा भारतको सेरम इन्स्टिच्युट र किल एण्ड मेलिण्डा फाउण्डेसनले २० करोड डोज एक्स्ट्राजेनेका वा नोभाभ्याक्सको खोप प्रदान गर्ने अधिकारीहरुले बताएका छन् ।

मोडर्ना र फाइजरले भने यो कार्यक्रमका लागि कुनै वाचा गरेका छैनन् । त्यसैले पनि यो खोप कोभ्याक्स कार्यक्रमबाट धेरैभन्दा धेरै मुलुकमा पुग्नेछ, जसले विश्वभर महामारी अन्त्यको लागि महत्वपूर्ण सहयोग पुग्नेछ ।

४. खोपको मूल्य

एक्स्ट्राजेनेकाले कम्तीमा सन् २०२१ को जुलाइसम्म यो खोपमा कुनै नाफा नलिने घोषणा गरिसकेको छ । विशेषगरी कमजोर आय भएका मुलुकले पनि खरिद गर्न सकून् भनेर यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ ।

एक्स्ट्राजेनेकाको खोप एक डोजको मूल्य तीनदेखि चार डलरको बीचमा पर्नेछ । तर, फाइजरको एक खोपको मूल्य करिब २० डलर पर्नेछ भने मोडेर्नाको खोपको मूल्य ३२ देखि ३७ डलरको बीचमा रहनेछ ।

अक्सफोर्ड युनिभर्सिटीका प्रवक्ता अहिलेको महामारी अन्त्य गर्न खोपले अनुमति पाउनासाथ अहिलेको संरचनाअनुसार विश्वभर नै खोपको आपूर्ति गरिने बताएको छ ।

५. विश्वव्यापी योजना

अहिले देखिएको खोप खरिदको सम्झौताहरुले धनी र गरीब मुलुकबीच खोप वितरणमा असमानता देखिने स्पष्ट भएको छ । केहीले धनी मुलुकहरुले पनि गरीब मुलुकहरुलाई पनि खोप सुनिश्चित हुने गरी सहकार्य गर्नुपर्ने बताएका छन् भने केहीले धनी मुलुकहरुले आफ्ना नागरिकहरुका लागि खोप सुनिश्चित गर्नु स्वाभाविक भएको बताएका छन् ।

विश्वव्यापी रुपमा कोरोना नियन्त्रणका लागि सबै देशमा कोरोना खोप पुर्‍याउन कोभ्यास कार्यक्रम ल्याइएको छ । यो कार्यक्रमको लक्ष्य सन् २०२१ को अन्तिमसम्ममा दुई अर्ब डोज खोप वितरण गर्नु हो । यो संख्या कोभ्याक्स कार्यक्रममा सहभागी मुलुकहरुको कुल जनसंख्याको २० प्रतिशत हो ।

तर तेस्रो चरणको परीक्षण सफल भएका फाइजर, मोडेर्ना र फाइजरले भने खोपले सहयोगको वाचा गरेका छैनन् । यसरी हेर्दा कोभ्याक्स हालसम्म एक्स्ट्राजेनेकाको खोपकै भरमा छ । सीएनएनबाट

 

ट्रकले ठक्कर दिँदा प्रहरी हबल्दारको घटनास्थलमै मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजीक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार प्रहरी हबल्दार करीब ३६ वर्षीय रामबहादुर बिष्टको आज घटनास्थलमै मृत्यु भएको छ ।महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से१क १४०६ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु१२प ५१५ नंको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हबल्दार बिष्टको मृत्यु भएको हो । प्रहरी हबल्दार बिष्ट भीमदत्त नगरपालिकाको झोलुङ्गे अस्थायी प्रहरी चौकीमा कार्यरत रहेको बताइएको छ ।  ठक्कर दिने ट्रकका चालक गोदावरी नगरपालिका–१ का २८ वर्षीय यज्ञराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । मृतक बिष्ट शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दा रहेको बताइएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोल

सरकारले एक्लै केही गर्न सक्दैनः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकारले अग्रभागमा रहेर भूमिका खेल्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकार अग्रभागमा रहेर भूमिका निर्वाह गर्न तयार रहेको तर निजी क्षेत्रले साथ दिनुपर्ने बताएका हुन् ।

सरकार अग्रभागमा रहने भएपनि एक्लै केही गर्न नसक्ने भन्दै निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने बताए । सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्र बीचको सहकार्यमा कोभिडले सिर्जना गरेका चुनौतीहरुलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रीत गर्नुपर्ने बेला आएको स्पष्ट पारे । अर्थतन्त्रलाई अहिलेको स्थितिबाट माथि उकास्न र चलायमान बनाउन अहिले उत्पन्न भएका समस्याहरुको सामना गर्दै लगानी, उत्पादन र रोजगारी वृद्धिमा केन्द्रीत भएर सरकार अगाडि बढिरहेको पनि अर्थमन्त्री पौडेलले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्न विशेष कार्यक्रम आवस्यक रहेको बताए । प्रत्यक्ष अनुदान, राजस्व छुट, साँवाब्याज भुक्तानीको अवस्था, श्रमिक व्यवस्थापनको विषयमा सरकारले तत्काल सम्बोधन गरे मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने गोल्छाको भनाई छ ।

त्यस्तै कृषि उत्पादनलाई प्रभावकारी बनाउन विशेष कार्यक्रम ल्याउन, साना र मझौला उद्यमलाई कोभिड १९ को प्रभावबाट बाहिर ल्याउन महासंघले सरकारसँग सहकार्य गर्न चाहेको बताए । दोहोरो आर्थिक वृद्धि, वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने र देशको व्यापार घाटा कम गर्न निजी क्षेत्र आतुर रहेको पनि अध्यक्ष गोल्छाले स्पष्ट पारे । लगानी वृद्धि, रोजगारी विस्तार र व्यवसायीक वातावरण निर्माणको लागि अहिले रहेका एक दर्जन बढी नीति एवं कानूनहरुमा सुधार गर्नुपर्ने आवश्यकता रहको र निर्यात बढाउन केही अन्तर्राष्ट्रिय लगानी सम्झौताको पुनरावलोकन एवं विस्तार गर्नुपर्ने देखिएको बताए ।

कार्यक्रम नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरले कोभिडको प्रतिकूल अवस्थामापनि केही सूचकहरु राम्रै देखिएकाले आर्थिक गतिविधि चलायमान बनाउन सरकारले विशेष पहल गर्नुपर्ने बताए। उच्च मनोबल बनाएर लगानी वृद्धि गर्न निजी क्षेत्रलाई सरकारले प्रोत्साहित गर्नुपर्ने अध्यक्ष मोरले बताए । यस्तै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालको डुइङ बिजनेस कष्ट बढी रहेकाले त्यसको न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

सेजनको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रदान गरिदै आएको सेजन अवार्डबाट यस वर्ष छापातर्फ बालकृष्ण ज्ञवाली र विद्युतीय माध्यम तर्फबाट सोभित थपलियालाई प्रदान गरेको छ । यस्तै फेलोसिप तर्फ हाइड्रो फेलोसिप जीवन बस्नेत र स्वर्गीय सञ्जय न्यौपाने फेलोसिप लक्ष्मी सापकोटालाई प्रदान गरेको छ । सेजन सम्मानबाट पत्रकार लक्ष्मण हुमागाईं, एकराज पाठक, लोकबहादुर चापागाईं र प्रशन्न चित्रकार सम्मानित भएका छन् । रातोपाटी

सामाजिक सञ्जालमार्फत धम्की दिई रकम असुल गर्ने दुई जना पक्राउ

इटहरी । सामाजिक सञ्जालमार्फत धम्की दिई रकम असुल गर्ने एक महिलासहित २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी सितापुर ३ घर भई हाल इटहरी ६ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी इटहरी ४ बस्ने वर्ष २३ की मनिषा गिरी छन् ।

उनीहरुले बारा बस्ने महिलाको फेसबुक ह्याक गरी निजको फोटोहरु संकलन गरी सोही फोटोहरुलाई आधार बनाई रकम माग गर्ने र रकम नदिएमा फोटोहरु सार्वजनिक गर्ने धम्की दिने गरेको पाइएको सूचना अधिकृत एवं प्रहरी निरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

दुवै जनालाई इलाका प्रहरी कार्यालयबाट खटिए गएका प्रहरीको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि तालुक जिल्ला प्रहरी कार्यालय बारा पठाइएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । द नेपालटप

नेकपाका दुई अध्यक्षको जुँगाको लडाइँ

सङ्घीय चुनावअघि नेपालका दुई ठूला कम्युनिस्ट पार्टी मिलाएर एउटै पार्टी बनाई फरक चुनाव चिन्ह भए पनि संयुक्त रूपले घोषणापत्र जारी गरी चुनावमा गई करिब दुई तिहाइ बहुमत बटुलेर सरकारसमेत गठन गर्न सफल भएको नेकपा विगतमा झैँ यतिबेला पुनः फुटको सङ्घारमा छ भन्दा फरक नपर्ला । सरकार गठनकै बेला भएका अनेक विवादका बीच इतिहासमै एउटै पार्टीका दुई अध्यक्ष भएको यो नौलो पार्टीको अभ्यास नेपाली माटोमा प्रायः असफल भइसकेको छ ।

जनताले नेकपा नेताका विकासप्रेमी नाराका आधारमा भोट दिएर दुई तिहाइ बहुमत पु¥याइदिएर परीक्षणका लागि वैधानिक तरिकाले सत्तामा पु¥याएकै हुन् । तर जनचाहना अनुसारका कुनै पनि काम गर्न नसकेको यो सरकार बाहिरीभन्दा पनि आन्तरिक विवादमा रुमल्लिएरै अढाइ वर्ष व्यतित गरिसकेको छ । अहिले नेपालका कम्युनिस्टहरुको बोलीचाली एकातर्फ र व्यवहार अर्कोतर्फ देखिएको महसुस् जनतालाई भएको छ । सर्वहारा वर्गको नेतृत्व गर्ने, राष्ट्रभक्त र जनताका सच्चा सिद्धान्त बोकेको पार्टी भनेर वर्षौंदेखि भन्दै आएको, क्रान्तिका नाममा रगतको खोलो बगाएर र भौतिक संरचना ध्वस्त पारेको घटनासमेत बिर्सिएर विकास र समृद्धिको आशामा जनताले सत्तामा पनि पु¥याएकै हुन् । तर पूर्वमाओवादी र पूर्वएमाले दुवै एकीकरण भई नेकपा बनेको यो पार्टीले दुई तिहाइकै बहुमत ल्याएर पनि आफ्नो इज्जत जोगाउन सकेन । यो स्थायी सरकार हो र ५ वर्ष आरामले काम गर्ला भन्ने जनताको कल्पना पनि पूरा हुन नसक्ने अवस्थामा अहिले पार्टी पुगेको छ । दुई ठूला कम्युनिस्ट पार्टी मिलेर देशलाई जुरुक्कै उचालेर विकास र समृद्धिको पाटोमा लैजालान् भनेको त देशलाई झनै डुबाउने परिस्थिति सिर्जना भएको सुन्न, देख्न र लेख्न पर्दा आफैँलाई समेत लाज लागिरहेको छ ।

यस अवस्थाले गर्दा जतिसुकै दुई तिहाइ मत ल्याए पनि सरकार बनाउने र चलाउने भनेको जम्मा आधा कार्यकाल नै रहेछ भन्ने कुरा देखिएको छ । किनकि नेपालको संविधानमा कुनै पनि प्रधानमन्त्रीले एक पटक विश्वासको मत लिएपछि कम्तीमा दुई वर्षसम्म उसका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन भन्ने व्यवस्थाले अब बन्ने सबै प्रधानमन्त्री र सरकारको आयु दुई वर्ष मात्रै हुने हो कि भन्ने आशङ्का बढेको छ । यस्तो अवस्थामा दुई तिहाइ भए पनि, १० वटा पार्टी मिलेर सरकार बनाए पनि आखिर दुई वर्ष नै आयु हो भने किन एउटै पार्टीलाई बहुमत दिनुप¥यो र ? चाहना भए जति पार्टी सबै सरकारमा गए पनि त आखिर दुई वर्ष मात्रै हो । अब यो नाम मात्रैको नेकपाको दुई तिहाई बहुमतले पनि आखिर पूरा समयअवधि सरकार चलाउन पाएन, सकेन वा चलाउन दिइएन त्यो आफ्नै ठाउँमा छ तर अवस्था त्यस्तै देखिएको छ । दुई ठूला नेताबीच भएको भनिएको गोप्य भद्र सहमति नै यो अवस्था ल्याउने आधार बनेको छ । यसैगरी दुई ठूला महत्त्वाकाङ्क्षी नेता र आफूलाई सर्वेसर्वा ठान्ने, अलिकति पनि गल्न नचाहने, जहिले पनि जुँगाको लडाइँ लड्ने बानी भएका नेताहरुको बानी सुधार हुन नसक्दा र एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा पनि यो अवस्था आएको हो भन्न सकिन्छ । पार्टी पद्धतिबाट सामूहिक निर्णयबाट बनेको नेकपा भए पो सबै नेता कार्यकर्ता जिम्मेवार हुनेथिए । यो पार्टी त केवल दुई जना हालका अध्यक्षको एक्ला एक्लै निर्णयले बनेको हुनाले अहिले आएर यी दुवै नेताको जुँगाको लडाइँको शक्तिले पार्टी फुटाउने कि जुटाउने भन्ने अवस्था आएको छ । व्यक्तिवादी चरित्र हावी हुँदा देखापर्ने यस्ता प्रतिअसरको हेक्का अब अन्य पार्टीले पनि राख्नुपर्ने बेला भएको छ ।

यसै पनि विश्वमा कम्युनिस्ट शासन र पद्धति लोप हुँदै गइरहेको अवस्था देखिएको छ । पुराना मार्क्सवाद, लेनिनवाद, माओवाद जस्ता सिद्धान्त तत्कालीन अवस्थाका लागि राम्रो सिद्धान्त भए पनि अहिलेसम्म उही पुरानो सिद्धान्त बोकेर हिँड्नाले र ती सिद्धान्त समय सापेक्ष रूपमा परिमार्जन गर्नु त कता कता त्यसमा भएका कमा र ह्रस्वदीर्घसमेत परिवर्तन गर्नुहुँदैन भन्ने चिन्तन भएका कम्युनिस्टहरुका कारण विश्वमै कम्युनिस्ट पतन हुँदै गइरहेको यथार्थ हो । यसैबीच नेपालमा मदन भण्डारी जस्ता दूरदर्शी नेताको जन्म भयो, जसले कम्युनिस्ट पार्टीमा नयाँ सिद्धान्त जनताको बहुदलीय जनवाद प्रकाशमा ल्याए । पुराना विचार र सिद्धान्त मान्ने कम्युनिस्टहरुलाई पनि यो सिद्धान्त समय सापेक्ष ठीकै लाग्दै गयो र अहिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपालका प्रायः कम्युनिस्टहरुले यही सिद्धान्त अनुसरण गरिरहेको पाइन्छ । कम्युनिस्ट पार्टी भन्ने बित्तिकै बन्दुकको शक्तिको आडमा परम्परावादी राज्यसत्ताको हस्तक्षेप गरी नयाँ जनताको जनवादी सिद्धान्त अनुरूप शासन सत्ता सञ्चालन गर्ने पार्टी हो भन्ने बुझिन्छ ।

यसैका प्रयोगहरु नेपालमा पटक पटक भइसकेका छन् । झापा विद्रोहदेखि माओवादीको जनयुद्ध र मधेसका भूमिगत सशस्त्र समूहसम्म आइपुग्दा नेपालमा हरेक खालका प्रयोग भए । ती सबै प्रयोगले कुनै समयमा काम लाग्ने खालका परिणाम देखाए भने कुनै समयमा असाध्यै अफाप पनि भए । जे होस् जनताको बहुदलीय जनवादको सिद्धान्तमा टेकेर हिँडिरहेको तत्कालीन एमालेले पुराना कम्युनिस्ट सिद्धान्तलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्ने मान्यतालाई अघि सार्नु र पुँजीवादी कम्युनिस्टतर्फ अघि बढ्नु नै नेपाली माटोमा कम्युनिस्टप्रति जनताको आकर्षण हो । यही कारणले नै कम्युनिस्टहरु संसारबाट लोप भइरहँदा नेपालमा भने झन् उर्वर बन्दै गए । परिणाम तत्कालीन माओवादीको सशस्त्र सङ्घर्षबाट सत्ता कब्जा गर्ने रणनीति पनि फेल भयो र बाध्य भएर माओवादी पनि नेपालको शान्ति प्रक्रियाको मूलधारमा समाहित भए । फलस्वरूप अन्य दलहरुलाई परास्त गरी वैधानिक बाटो वा चुनावबाटै कम्युनिस्टको सत्ता चलाउनुपर्ने कुरामा दुई ठूला कम्युनिस्ट पार्टीहरु चुनावको मुखमा एकबद्ध भएका हुन् । यसरी नेपालको कम्युनिस्ट आन्दोलनमा यो नयाँ प्रयोग थियो र जनताले पनि भारी मत दिएर नेकपालाई सत्तामा पु¥याएका हुन् ।

नेकपा यसरी सत्तामा पुगेपछि संसारभर वैधानिक तरिकाले कम्युनिस्ट सरकार नेपालमा बनेको उदाहरण हेर्ने लहर जाग्यो । नेपालको कम्युनिस्ट आन्दोलनका उतारचढाव, विभिन्न कालखण्ड हुँदै परिमार्जित कम्युनिस्ट सिद्धान्तको प्रयोग र वैधानिक कम्युनिस्ट सरकार साँच्चै अध्ययन गर्न लायक विषयवस्तु बनेका थिए । पुँजीवादी व्यवस्थाको होड चलिरहेको अहिलेको अवस्थामा नेपालमा कम्युनिस्ट स्थापित भएको विषयवस्तु सबैका लागि पाच्य हुने कुरै भएन । फलस्वरूप यो सरकार टिकाउन हुँदैन भन्ने पक्षमा विश्वका शक्तिशाली पुँजीवादी राष्ट्रहरु नै हाम फालेर नेपालको यो स्थितिको अनुसन्धान गर्ने, छिद्रहरु खोज्ने, कुनै कमी कमजोरी पत्ता लगाई असफल बनाउने, भए नभएका कृत्रिम परिवेश सिर्जना गरी आतङ्क फैलाउने, कुनै नेतागणलाई फकाउने, लोभ देखाउने र भए नभएका षड्यन्त्र गर्न कम्मर कसेर लाग्न थाले । यिनै कारणले गर्दा देशभित्र र बाहिरका दृश्य अदृश्य तत्वहरुको चुङ्गुलमा ओली सरकार पर्न गयो । सरसर्ती हेर्दा बाहिरतिरको, अन्य दलहरुको सरकारलाई अवरोध नदेखिए पनि भित्री पाटो भनेको आफ्नै दलको अवरोध बाहिर देखापरेको अवस्था यद्यपि छ ।
यतिबेला प्रचण्ड र ओली नै यो पार्टी फुटाउने वा जुटाउने निर्णयकर्ता बनेका छन् यद्यपि अब दुई अध्यक्षको कुरा मिलेर मात्रै हुन्न भन्ने उद्घोष माधव नेपालले पनि गरेका छन् । लिखित रूपमै पार्टीका बैठकमा औपचारिक ढङ्गले एक अध्यक्षले अर्को अध्यक्षलाई आरोप प्रत्यारोप गरेर जग हँसाउने खालको केटाकेटी खेल खेलिरहेका छन् । यी नेताहरुको दादागिरी र स्वेच्छाचारिताले पार्टीलाई त डुबायो नै, यसका कारण अप्रत्यक्ष रूपमा देशलाई नै अघि बढ्नबाट अवरोध खडा भइरहेको छ । देशमा विकास निर्माणका कार्य अवरुद्ध बनेका छन्, कोरोनाको महामारीको व्यथा, बाढी पहिरोको व्यथा थन्किएर बसेको छ । अन्तर्राष्ट्रिय सीमा मिलाउने काम अवरुद्ध छ । राज्यलाई आर्थिक, भौतिक, सांस्कृतिक तवरले अघि बढाउने काम रोकिएका छन् । सबैको ध्यान प्रधानमन्त्रीको बन्ने र सरकार कसले चलाउने भन्नेमा मात्रै केन्द्रित रहेको छ र वास्तवमा देश नै बन्धक बनिरहेको छ ।

अन्त्यमा जिम्मेवार पार्टी र देश हाँकिसकेका शीर्ष नेताहरुको हविगतका कारण जनतामा नैराश्यता बढेको र बढ्दो भ्रष्टाचारबाट सबै वाक्कदिक्क भइसकेका छन् । फलस्वरूप सरकार कमजोर भएको मौकामा हिन्दू राज्य बनाउने, सङ्घीय राज्य खारेज गर्ने, धर्म निरपेक्षता हटाउने, गणतन्त्र खारेज गर्ने र राजसंस्था स्थापना गर्ने माग राखेर हाल मरिसकेको राजतन्त्र पुनः व्युँताउने कसरतमा केही दल तथा समूह मिलेर सक्रिय भई लागिरहेका छन् । जुन गणतन्त्रवादी भन्नेहरुका लागि, जनताको संविधान बनाएको दाबी गर्नेहरुका लागि, नेपालमा समाजवाद आउनै लागेको दाबी गर्नेहरुका लागि, सुखी र समृद्ध नेपाल बनाउने नारा ल्याउनेहरुका लागि, विकासले फड्को मारी नेपाललाई स्विजरल्यान्ड बनाउने चुनावी मसला बाँड्नेहरुका लागि गतिलो झापड पनि हो । यसले जनताको चाहनामा कुठाराघात मात्रै गर्दैन कि भाइभाइको लडाइँले जग हँसाई समेत गराएको छ । यसका साथैसाँच्चै कम्युनिस्ट पार्टीप्रति आस्था राख्ने तमाम कार्यकर्ता र शुभेच्छुकप्रति त यो लाजको विषयसमेत भएको छ ।

त्यसकारण अब यी दुई पार्टी मिलेर बनेको नेकपा एउटै पार्टी हुनु जरुरी छैन । दुई वा सो भन्दा बढी पार्टी बनाई आआफ्नै पसल थापेर अरू नाम मात्रका कम्युनिस्ट पार्टी जस्तै बनेर बसे हुन्छ । जनताप्रति र राष्ट्रप्रति जिम्मेवार हुन नसक्ने नाम मात्रैको एउटा पार्टी अब जनतालाई आवश्यक छैन । त्यसकारण अलग अलग भएर आआफ्ना एजेन्डा ल्याई पुनः जनतालाई आश्वस्त पार्दै गए देशको, पार्टीको र जनताको भलो हुनेछ । अतः अब नाम मात्रैको एउटा पार्टी नेकपाको अस्तित्व समाप्त भइसकेको हुनाले वारपार गरी देशलाई बन्धनबाट मुक्ति दिलाउन सबैको प्रयास होस्, सद्बुद्धि पलाओस् र नयाँ बन्ने पार्टीहरु नयाँ उमङ्गका साथ आउन्, शुभकामना छ । रातोपाटी

श्रम स्वीकृति लिएर मात्र गन्तव्य देशको टिकट काट्न वैदेशिक रोजगार कार्यालयको आग्रह

काठमाडौं । श्रम स्वीकृति लिएर मात्र गन्तव्य देशको टिकट काट्न श्रमिकहरुलाई वैदेशिक रोजगार कार्यालय ताहाचलले आग्रह गरेको छ ।

आफूले टिकट काटिसकेको र आजै फ्लाइट छ भनेर टोकन अगाडि सार्ने गर्दा अरु कामहरु पछि धेकिलिने भएकाले कार्यालयको कार्यसम्पादनमा प्रश्न उठ्ने भन्दै यसो नगर्न कार्यालयले आग्रह गरेको हो ।

यही कुरालाई मध्यनजर गर्दै कार्यालयले हिजो आइतबारबाट दैनिक तीन सय टोकन जारी गर्ने व्यवस्था गेरेको छ । अब ‘आज मेरो फ्लाइट छ’ भन्दै श्रम स्वीकृति लिन आउनेलाई कुनै पनि बहानामा टोकन अगाडि सार्ने काम बन्द गरिएको कार्यालयले जनाएको छ ।

श्रम स्वीकृति नलिई टिकट आदि व्यवस्था नगर्न र त्यसरी टिकट लिई श्रम स्वीकृति हुन नसकेमा आफू जवाफदेही नहुने पनि वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ । नेपाल टाईम्स

विभिन्न माग राख्दै जनमोर्चाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी, कोरोना संक्रमितको निशुल्क उपचार, भारतद्वारा नेपालको अतिक्रमित भूमि फिर्ता र एमसीसी खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गरेको छ ।
सोमबार भएको उक्त प्रदर्शनप्रति विश्वमा रहेका नेपाली एकता समाजहरुले पनि ऐक्यबद्धता व्यक्त गरेको जनमोर्चाले दावी गरेको छ ।

जनमोर्चाले डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, दाङ, रोल्पा, प्यूठान, गुल्मी, बाँके, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, रुपन्देही, पाल्पा, परासी, नवलपुर, चितवन, पोखरा, बाग्लुङ, काठमाडौंमा विरोध कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमहरुमा मोटरसाइकल -याली, जुलुस प्रशर्दन तथा सभाहरु सम्पन्न भएका थिए ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागी पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवा, महिला, वकिल, किसान, मजदुर, कलाकार, पत्रकार, बुद्धिजीवी, दलित, जनजाति, तराइ मधेस संगठन र आम जनतालाई धन्यवाद व्यक्त गरेकी छन् । त्यस्तै उनले राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र जनजीविकाको पक्षमा सचेत रहन र सबै कार्यक्रममा ऐक्यबद्ध हुन आम जनतामा अपील पनि गरेकी छन् ।रातोपाटी

होन्डाले भारतीय बजारमा ल्यायो नयाँ स्कुटर

एजेन्सी । होन्डाले बजारमा नयाँ स्कुटर ल्याएको छ। आफ्नो चर्चित स्कुटर एक्टिभा बजारमा ल्याएको २० वर्ष पुरा भएको अवसरमा होन्डाले भारतीय बजारमा नयाँ स्कुटर ल्याएको हो।

कम्पनीले  ‘होन्डा एक्टिभा एनेभर्सरी एडिसन’ स्कुटर सार्वजनिक गरेको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।

कम्पनीको अनुसार यसमा बिएस६ १०९ सिसीको फ्यूल इन्जेक्टेड सिङ्गल सिलिन्डर इन्जिन जडान गरिएको छ। जसले ७.७९ पिएस पावर र ८.७९ एनएम टर्क उत्सर्जन गर्छ।

यसमा १२ इन्चको फ्रन्ट ह्विल, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, एलइडी हेडलाइनट लगाएतको फिचर्स दिइएको छ।

यो स्कुटर रेगुलर एक्टिभा भन्दा धेरै आकर्षक रहेको कम्पनीको भनाइ छ। यो ‘मेट म्याच्योर ब्राउन’ रङ्गमा मात्र उपलब्ध छ। स्कुटरको साइडमा सुन रङ्गको ब्याज लगाइएको छ भने पांग्रा स्टिल र कभर कालो रङ्गको छ।

तोलामा ७०० ले घट्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार ९० हजार रुपैयाँ कायम भएको हो । सोमबार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमरको कारोबारका लागि छापावाल सुनको भाउ ९० हजार र तेजाबी सुनको भाउ ८९ हजार ५५० रुपैयाँ तोकिएको छ । तेजावी सुनको भाउ अघिल्लो दिनको तुलनामा ६५० रुपैयाँले सस्तो भएको हो । यस्तै चाँदीको प्रतितोला भाउ सोमबारको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको पनि महासंघले जनाएको छ ।

कोरोनाका कारण जेलमा दङ्गा, ६ जनाको मृत्यु, ५२ जना घाइते

एजेन्सी । श्रीङ्काको एउटा कारागारमा दङ्गा हुँदा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

माहारा कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए ।

बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भिडन्त हुँदा त्यति सङ्ख्यामा मृत्यु र ५२ जना घाइते भएको बताइएको छ ।

श्रीलङ्काका जेलहरूमा अहिलेसम्म झन्डै १,००० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

प्रहरी प्रवक्ता अजित रोहनाका अनुसार जेलमा सुरक्षाकर्मीहरूले ‘उच्छृङ्खल अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरेको’ बताए । सञ्चारमाध्यमहरूका अनुसार दङ्गा फैलिएपछि सुरक्षाकर्मीहरूले गोली हानेका थिए ।

कारागार परिसरमा ‘ठूलो आगलागी’ भएको देखिएको स्थानीयवासीलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बीबीसीलाई बताए । उनका अनुसार कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको छ ।

प्रहरीका पाँचवटा टोलीलाई पनि परिचालन गरिएको छ । श्रीलङ्काका जेलमा कोभिड–१९ फैलिरहेका बेला यो घटना भएको हो ।

राजधानी कोलम्बोस्थित बन्दीहरूले वेलिकाडा जेलको छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका छन् ।

बन्दीहरूले आगुनाकोलापालास्सा जेलमा आठ दिनदेखि प्रदर्शन गरिरहेका छन् । आफूलाई राखिएको उक्त कारागार नराम्रो अवस्थामा भएको उनीहरूको दाबी छ ।

मानवाधिकारवादी समूहहरूका अनुसार श्रीलङ्कामा १०,००० बन्दी राख्ने क्षमता भएका जेलहरूमा २६,००० जनालाई राखिएको छ ।

गत महिना श्रीलङ्कामा एउटा गार्मेन्ट उद्योग र एउटा माछा बजारबाट कोरोनाभाइरस सङ्क्रमण फैलिएको पुष्टि भएको थियो ।

जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले श्रीलङ्कामा २३,४८४ जनामा कोभिड(१९ देखिएको र ११६ जनाको मृत्यु भएको देखाउँछ।

कमला बचाउ अभियानको दोस्रो बार्षिकोत्सव सफलता पुर्वक सम्पन्न

सिरहा । सिरहामा कमला बचाउ अभियानको दोस्रो बार्षिकोत्सव सफलता पुर्वक सम्पन्न गरेको छ । सिरहा नगरपालिका द्वारा आयोजित कमला बचाउ अभियान कार्यक्रममा बोल्दै मेयर एवम कमला अभियानी उदय कुमार बरबरियाले कमला बचाउ अभियान दोश्रो बार्षकोत्सव सफलता पुर्वक पार गरेकोमा हार्दिक बधाई दिदै उनले भने कमला बचाउ अभियानको डिपिआर गरिने बताएका छन ।

अव एउटा ठोस योजना बनाएर आगाडी बढनु जरुरी रहेको बताए ।सम्पुर्ण कमला अभियानीले एउटा एउटा बोटबिरुवा रोप्नु र यसलाई संरक्षण गर्नु पर्ने मेयर बरबरियाले बताए । कमला अभियानी नामको लागी मात्र नभई आफ्नो तवर बाट अभियानलाई सघाउन एउटा बिरुवा लाग्न आग्रह समेत गरे । आउने दिनहरुमा एउटा मास्टर प्यान तहद यो अभियानलाई आगाडी बढाउन जरुरी रहेको उनले जिकिर गरे ।हरेक पालिका प्रमुखले कमला बचाउ अभियानलाई नगरको योजनामा राखे मात्र राष्ट्रिय अभियानको रुपमा चिनाउन सफल हुने बताए ।यस अभियानलाई चुरे देखि कमला छेउमा रहको छिमेकी देश भारतको जयनगर सम्म अभियानको थालनी हुने उद्घोष गरे । सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवको अध्यक्षता एवम आन्तरिक मामला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकरी प्रदिप कणेल, शहिदनगर नगरपालिकाका कान्छो मेयर उदय कुमार बरबरिया,कमला नगरपालिकाका मेयर रामउदघार गोईत, प्रहरी निरीक्षक उमा पजियार,कमला बचाउ अभियानका संयोजक बिक्रम यादव,मानव विकास केन्द्रका अध्यक्ष कुन्दन झा,क्लोथ बैंक धनुषाका अध्यक्ष राजिब झा कार्यक्रममा बोल्दै मन्त्री ज्ञानेद्र यादव कमला बचाउ अभियान एउटा राम्रो अभियानको रुपमा परिचित छ यो अभियानलाई सबैले आ-आफ्नो तवरले आगाडी बढ्न आग्रह गर्नुभएको छ ।

कमला भन्दा पनि चुरिया बचाउ अभियानमा हामी सबैले लागे कमला बाट स्वम बच्ने उनले थपे ।कमला भेगमा रहेको कमला बाधलाई कालोपत्र गराउने पहल आगाडी बढ्को उनले बताए ।कमला बचाउ अभियान राष्ट्रिय अभियान मात्र नरहेर अन्तर्राष्ट्रिय अभियानको रुपमा चिनिएको उनले थपे ।यस्तै कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले भने हामीले कमला बचाउ अभियान शुरूवात भएको आज दोश्रो बर्षमा प्रवेश गरेकोमा निकै गौरवान्वित महसुस भएको छ । कमला बचाउ अभियान शुरूवातको क्रममा ३/४ जना मात्र लागेर शुरु गरेको अभियान अहिले सयौं जना भन्दा बढी अभियानीहरु अभियानमा सहभागी भएका छन ।उक्त कार्यक्रममा सम्पुर्ण अभियानीहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरेको थियो ।कार्यक्रममा सामुदायिक विकास तथा पैरवी मञ्चका संयोजक नागदेव यादव,कमला बचाउ अभियानका सचिब बिनोद महरा, सहकारीका अध्यक्ष ध्रुव नारायण यादव, कमला अभियानी सुरेन्द्र यादव,कमला अभियानी राजकिशोर सल्हैता,पत्रकार नरेशचन्द्र बरबरिया,रुनुकेश कामती लगायत हजारौं संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको उद्घोष सुरेश चोरवारले गरेका थिए ।

देशमा अस्थिरता चाहने शक्तिहरू सल्बलाएः परराष्ट्रमन्त्री

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा अस्थिरता चाहने केही शक्तिहरू सल्बलाएको बताएका छन्।

गृह जिल्ला गुल्मीमा रहेका मन्त्री ज्ञवालीले सत्यवती गाउँपालिकाका विभिन्न कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

देशमा धेरै समयपछि राजनीतिक स्थायित्व र विकास देख्‍न नसक्ने शक्तिहरूले सरकार परिवर्तनको हल्ला मच्चाएको भन्दै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताए। वर्तमान सरकारले जनमुखी कामहरू गर्दै आएको दाबी गर्दै उनले केका लागि सरकार परिवर्तन भन्दै प्रश्नसमेत गरे।

राष्ट्रियताको पक्षमा दरिलो गरी उभिँदा, भ्रष्टाचार नियन्त्रण गर्दा, जनताको घरघरमा खानेपानीका धारा आउँदा, जनताका खरका छाना हटाई जस्तापाता लगाउँदा र जनमुखी कामहरू गर्दा सरकार परिवर्तन गर्नुपर्ने भन्दै हल्ला मच्चाउनेहरुको पछाडि नलाग्न उनले आग्रह गरे।

पछिल्लो समय पार्टीमा देखिएको विवाद छलफल र बैठकको माध्यमबाट समाधान हुने उनले बताए। ठूलो परिवारमा कहिलेकाहीँ विवादहरू सृजना हुने भन्दै ती समस्या छलफल र बैठकका माध्यमबाट समाधान हुने बताए।

निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धताहरूलाई पूरा गर्ने भन्दै जनताको मतलाई कदर गर्ने उनले बताए।

निर्वाचनको समयमा जनताहरूसँग हामीहरूलाई मत दिनुहोस्, हामी राजनीतिक स्थायित्व र विकास गर्छौं भनेर गरेका प्रतिबद्धताहरूलाई पूरा नगरे जनताको मतको अपमान हुने उनले बताए।

त्यसैले नेकपाको नेतृत्वमै स्थिर सरकार रहने र देशमा सुखी नेपाली र समृद्ध नेपाल पनि नेकपाकै नेतृत्वमा आउने उनले दाबी गरे। यस्तै, गुल्मीका जनताहरुले दिएको मतलाई कदर गर्दै जिल्ला र देशको शिर कहिल्यै झुक्न नदिने गरी काम गर्ने उनले बताए। नेपाल टाईम्स

पूर्वी नेपालबाट ‘कृष्ण–लीला’ सुरु

काठमाडौं । फिल्म ‘कृष्ण–लीला’को सुटिङ सुरु भएको छ । दशै अगाडि एक कार्यक्रमका बीच निर्माण घोषणा भएको फिल्मको सुटिङ शुक्रबारदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको हो ।

फिल्मको सोमबार भने इलाममा सुटिङ भईरहेको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको यतिबेला ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीत छायाँकन भइरहेको कार्यकारी निर्माता रत्न श्रेष्ठले जानकारी दिए ।

गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा श्रेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानले गरेका हुन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण–लीला’मा पुष्प  र श्रद्धाको अलवा बुद्धि तामाङ, रबिन्द्र झा, नविन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको मुख्य भुमिका रहनेछ । फिल्मको सम्पूर्ण छायांकन पूर्वी नेपालमै सकाइने निर्माण जुनिटले जनाएको छ ।