१६ माघ २०७८, आईतवार १३:११ – Nagarikabhiyan : National News

इमान्दार स्वास्थ्यकर्मी माथी हस्तक्षेप गर्ने इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेको हालीमुहाली

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा अस्पतालका निमित्त मेसु डाक्टर देवराज घिमिरे माथी अभद्रव्यवहार गरेको आरोप बाहिर आएको छ ।
डाक्टर घिमिरेले आफ्नो जिम्मेवारी निर्वाह गर्ने भन्दा अस्पतालमै कार्यरक्त जुनियर स्वास्थ्यकर्मीहरुलाई अभद्रव्यवहार गर्ने गरेको आरोप बाहिर आएको हो ।
अस्पताल भित्र सुशासन कायम गर्ने नाममा नियमित काम गर्ने इमान्दार स्वास्थ्यकर्मी माथी हस्तक्षेप गर्ने र मानशिक तनाव सहित अभद्रव्यवहार गरेको भन्दै महिला स्वास्थ्यकर्मीहरु रुष्ट बनेका छन् ।
फोनकल र प्रत्यक्ष भेटघाटमा समेत महिला स्वास्थ्यकर्मीहरुमार्थी अनावश्यक तनाव दिने, झर्केर बोल्ने र काम गरी रह्नेलाई एउटा फाँटबाट अर्को फाँटमा सारीदिने धम्की सहीत अभद्र व्यवहार गर्ने गरेको एक स्वास्थ्यकर्मीले बताएको छ ।
ती स्वास्थ्यकर्मीका अनुसार अनुभवी र जुन फाँटमा काम गरीरहेका छन् सोही फाँटमा स्वतन्त्रतापुर्वक काम गर्न नदिई तनाव दिने गरेको डाक्टरको बानीको कारण अस्पताल सुधार भन्दा तनाशाह तर्फ उन्मुख भएको छ ।
एक स्वास्थ्यकर्मीका अनुसार आफ्नो शाखामा नियमित काम गरीरहदाँ करारका डाक्टर घिमिरेले पटक पटक फोनमा अनावश्यक दवाव दिदैँ आएको र आफुले भनेको नमाने राजीनामा दिन दवाव सहित मानशिक तनाव दिएको गुनासो बाहिर आएको छ ।
स्वास्थ्यकर्मीहरु बिरामीको सेवा र उपचारमा नियमित रुपमा लागी परेपनि डाक्टर घिमिरेको अभद्र व्यवहारले काम गर्ने मनोवल गिराएको गुनासो समेत वाहिर आएको छ ।
यता डाक्टर घिमिरेले आफु त्यस्तो अभद्र व्यवहार नगरेको जिकिर गर्दै केही भए बसेर कुराकानी गर्न सकिने प्रतिकृया दिए ।

माघ १५ गते परीक्षण गरिएकामध्ये ३३ प्रतिशतमा कोभिड पुष्टि

माघ १५ गते ३ हजार ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ १५ गते परीक्षण गरिएकामध्ये ३३ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार १ सय १ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ४८ हजार ३ सय ६० जना निको भएका छन् । माघ १५ गते ५ हजार ९ सय २४ जना निको भएका छन् भने निको हुनेको दर ८९.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १५ गतेसम्म ११ हजार ७ सय ३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ १५ गते ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ हजार ३ सय २९ रहेको छ ।

मन्त्रालयका अनुसार माघ १५ गते ४ हजार ४ सय ६१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ हजार ५ सय ८६ जनालाई कोभिड पुष्टि भएको छ । माघ १५ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख २६ हजार ४ सय ४४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ १५ गतेसम्म १ करोड ४० लाख १५ हजार ३ सय २४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि कार्यालयले अत्यावश्यकबाहेकका सेवा माघ २१ गतेसम्मका लागि बन्द गरेको छ । कार्यालयले माघ १४ गते सूचना जारी गर्दै माघ १६ गतेदेखि माघ २१ गतेसम्म अत्यावश्यबाहेकका सेवा बन्द गरिएको जारी सूचनामा उल्लेख छ ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्ला न्यायाधीश सहित अदालतमा कार्यरत कर्मचारीहरुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला अदालत बागलुङले माघ १६ गतेदेखि माघ २५ गते सम्मको अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा स्थगन गरेको छ ।

म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार प्रमुख जिल्ला अधिकारी म्याग्दी चिरञ्जीवि रानाले माघ १५ गते सूचना जारी गर्दै माघ १५ गते रातको १२ बजेदेखि माघ २९ गतेसम्म जिल्लाभर निषेध आदेश जारी गरेका छन् ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ १६ गते देखि अर्को आदेश जारी नभएसम्म निषेध आदेश जारी गरेको छ ।

सुनसरीको बर्जुमा मैत्रीपूर्ण फुटबल

सुनसरीको बर्जु गाउँपालिकामा दुई गाउँपालिकाका कर्मचारी बीचमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । माघ ४ गते बर्जु महोत्सवको बेला भएको आगजनी र तोडफाटको घटना सेलाएर सामान्य अवस्थामा फर्किएको सन्देश दिनका लागि बर्जु र गढी गाउँपालिकाका कर्मचारी बीचमा मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको हो । सम्पन्न भएको बर्जु गढी कर्मचारी मैत्रीपूर्ण फुटबलमा गढीलाई शून्यको विरुद्ध ५ गोल अन्तरले पराजित गरेर बर्जुले उपाधी जितेको छ । उपविजेतमा चित बुझाएको गढीलाई दोस्रो सिल्ड, मेडल र पहिलो हुने बर्जुलाई आयोजक बर्जु गाउँपालिकाले प्रथम सिल्ड र मेडल प्रादन गरेको छ । दुई गाउँपालिकाका कर्मचारी बीचमा भएको मैत्रीपूर्ण फुटबल खेलको विजेता र उपविजेतालाई बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरी र उपाध्यक्ष संगीता रायले पुरस्कार प्रदान गर्नुभएको थियो । दुई गाउँपालिकाका कर्मचारीले पहिलो पटक आपसी सद्भाव, भाईचारा र बर्जु तालको घटना विसाउनका लागि मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको जनाएका छन् । आयोजक बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद चौधरीले माघ ४ गते भएको अप्रिय घटनामा करौडोको क्षेती भएको र आन्तरिक पर्यटकमा नराम्रो सन्देश भएकाले त्यो अवस्था नरहेको र शान्तीपूर्ण अवस्था रहेको सन्देश प्रवाह गर्न दुई गाउँपालिकाका कर्मचारी बीचमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको बताउनुभएको छ । सम्पन्न भएको खेलले दुई पालिका बीचमा भगीनी सम्बन्ध र पर्यटकिय क्षेत्र बर्जु तालमा अव कुनै अप्रिय घटना नहुने सन्देश पनि प्रवाह गरेको गढी गाउँपालिकाका लेखा अधिकृत दिलबहादुर खड्काले जानकारी दिनुभयो ।

 

१, सुनसरीको बर्जु तालमा बर्जु र गढी गाउँपालिकाका कर्मचारी बीचमा मैत्रीपूर्ण फुटबल खेल खेल्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

भ्रष्टाचार विरुद्ध युवा सडकमा

इनरुवा, माघ ११ गते । सुनसरीको कोशी गाउँपालिकामा एकपछि अर्को भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती बढेको भन्दै युवाहरु सडक आन्दोलनमा उत्रेका छन् । केही दिन अघि गरिब विपन्नका लागि आएको आबाश कार्यक्रममा पक्षलाई ५० हजार रुपियाँ दिनुपर्नेमा ११ हजारदेखी १५ हजार रुपियाँसम्म कट्टा गरेर मात्रै दिएपछि चरम भ्रष्टाचार भएको बाहिर आएको, प्रत्येक वडामा अनियमितता र ढिलासुस्ती बढेको भन्दै पश्चिम कुशाहाका युवाहरु सडक आन्दोलनमा उत्रेका हुन् । युवा ब्रहमदेव यादवको नेतृत्वमा सयौको संख्यामा युवाहरुले कोशी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा तालाबन्दी सहित गाउँपालिकामा घण्टौ धर्ना दिएर नाराबाजी गरेका छन् । कोशी गाउँपालिका २ का कार्य वाहक वडा अध्यक्ष द्रोपती साहलाई कार्वाही, जनताको सम्पती लुटन पाईदैन , वडा अध्यक्षलाई जेलमा हाल, भ्रष्टाचारीलाई कार्वाही गर, अनियमितता र ढिलासुस्ती बन्द गर , अत्याचार बन्द गर भन्दै युवाहरु सडक आन्दोलनमा उत्रेका छन् ।
कोशी गाउँपालिका २ का पीडितहरुलाई रकममा झुक्याएकाले त्यसमा युवाहरुले आबाज उठाएका छन् । मन्जुदेवी यादवले आफूहरुलाई ३० हजार रुपियाँ पउनुपर्नेमा १९ हजार रुपियाँ मात्रै दिएको बताउनुभयो । शिवराम महतोले पनि आफूहरुलाई ३० हजार रुपियाँ पउनुपर्नेमा १९ हजार रुपियाँ मात्रै दिएर वडा अध्यक्षको छोराले ११ हजार रुपियाँ लिएको गुनासो गर्नुभयो ।
अधिकारकर्मीका अनुसार भ्रष्टाचारको प्रवृत्तिले सार्वजनिक पद धारण गरेका व्यक्तिदेखि गैरसरकारी एवम् निजी क्षेत्रसम्मका व्यक्ति तथा संस्थाहरूलाई प्रभाव पारेको छ । अर्थात् यो सरकारी निकायहरूमा मात्र सीमित नरही अर्धसरकारी, सामुदायिक, सहकारी, साझेदारी, निजी उद्यम व्यवसायसम्म फैलिएको छ । सरकारको नेतृत्व गर्ने राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व गर्ने उच्चपदस्थ कर्मचारी, सामाजिक एवम् आर्थिक सुधारमा संलग्न गैरसरकारी निकायका प्रमुखहरू, न्यायालय, सहकारी एवम् सामुदायिक संस्थाका व्यवस्थापकहरू, विकास निर्माणमा संलग्न ठेकेदार तथा उपभोक्ता समूहसमेत भ्रष्टाचारको विवादवाट मुक्त हुन सकेका छैनन् । यसरी मुलुकका हरेक क्षेत्र एवम् पदाधिकारीहरूसम्म व्याप्त भएको भ्रष्टाचारको नियन्त्रणमा सरकारको प्रयासमा देशको सबल, सक्षम, सक्रिय शक्तिको सहयोग अपरिहार्य भएको छ । भ्रष्टाचारजस्तो जटिल र चुनौतीपूर्ण कार्यमा देशका युवाहरू तथा युवा समूहको सहभागिता र सक्रियता प्रभावकारी हुन सकेको छैन । यस सन्दर्भमा भ्रष्टाचारजस्तो जटिल र सङ्गठित अपराधलाई नियन्त्रण गर्न युवा, युवाहरू संलग्न भएका संस्थाहरूको प्रत्यक्ष र सक्रिय योगदान अत्यन्त जरुरी भएको छ ।
युवा तथा युवा संस्थाहरूको नेटवर्किङ विस्तार गरी, राजनीतिक, शैक्षिक, सामाजिक क्षेत्रलगायत गैरसरकारी क्षेत्रमा कार्यरत युवा संस्थाहरूको समेतको आपसी समन्वयबाट भ्रष्टाचारको विरुद्धमा आवाज तथा कार्यक्रमहरूलाई प्रभावकारी गराउनु आवश्यक भएको छ । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत यस कार्यमा संलग्न सरकारी केन्द्रीय तथा स्थानीयस्तरका निकायहरूले भ्रष्टाचार नियन्त्रणका आफ्ना कार्यक्रमहरूलाई युवा संस्थाहरूसँग सहकार्य हुने गरी सञ्चालन गर्नुपर्ने साथै युवा संस्थाहरूसँग नियमित रूपमा समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउने भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । साथै भ्रष्टाचार नियन्त्रणको कार्यमा उल्लेखनीय कार्य गर्ने युवा वा युवा संस्थाहरूलाई सम्मानित र पुरस्कृत गरी निरन्तर रूपमा ऊर्जा पद्रान गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ ।

 

 

आजदेखि त्रिवि अन्तर्गतका कलेजमा अनलाइन कक्षा, परीक्षा पनि अनलाइनबाटै

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले आफू सम्बद्ध सम्पूर्ण शैक्षिक संस्थालाई अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक तयारी पुरा गर्न निर्देशन दिएको छ ।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार एक सूचना जारी गर्दै मंगलबारदेखि सैद्धान्तिक कक्षा अनलाइनमार्फत सञ्चालन गर्ने गरी व्यवस्था गर्न निर्देशन दिएको हो ।

त्रिवि कार्यकारी परिषद्को निर्णय अनुसार विश्वविद्यालयले सबै क्याम्पसलाई सहायक क्याम्पस प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवास्थपन समिति गठन गरी र सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा बढीमा पाँच सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गरी अनलाइन कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

त्यसैगरी सबै क्याम्पस तथा विभागलाई सोमबार अर्थात भोलिसम्म अनलाइन कक्षाको रुटिन बनाई सम्बन्धित डिन कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ ।

परीक्षाको सन्दर्भमा भने चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतका परीक्षा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी सोही अध्ययन संस्थाबाट निर्णय गरी सञ्चालन गर्न विश्वविद्यालयले निर्देशन दिएको छ ।

त्यस्तै विद्यार्थीको आन्तरिक मूल्यांकन पनि अनलाइन माध्यमबाट नै गर्न र सबै अध्ययन संस्थानले अनलाइनको माध्यमबाट परीक्षा लिने ढाँचा र कार्यविधि पनि तयार पार्न निर्देशन दिइएको छ ।

युक्रेनमा रुसी अतिक्रमणः प्रतिकार गर्न ८ हजार अमेरिकी सैैैैैनिक तैनाथ

न्युयोर्क । अमेरिकी रक्ष मन्त्रालय पेन्टागनले ८ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ । युक्रेनले रुसमाथि हमला गर्नसक्ने आशंकाबीच अमेरिकाले आफ्ना सेनालाई उच्च सर्तकतामा राखेको हो । रुसले युक्रेनको सीमा नजिकै विगत एक महिनादेखि एक लाख सेना परिचालन गरेको छ ।

युक्रेनलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपेका साझेदार देशहरसँग भिडियो कलमार्फत छलफल गरेका थिए । भिडियो कलमा रुसविरुद्ध सामूहिक रणनीति अप्नाउने विषयमा छलफल भएको थियो ।

पेन्टानगनका प्रवक्ता जोन कर्बीले रुसी सेना उपस्थिति रहेको क्षेत्रमा तनाव सृजना भएमा आफ्ना सेना त्यस क्षेत्रमा पठाइने बताएका छन् । रुसले युक्रेनमा हमला गरेमा अमेरिकी सेनाले जुनसुकै बेला प्रतिकार लिने अमेरिकी रणनीति रहेको विज्ञहरुले बताएका छन् ।

यसअघि रुसले अतिक्रमण गरेर युक्रेनी भूमि क्रिमिया आफ्नो क्षेत्रमा विलय गराउन सफल भएको थियो । रुसी अतिक्रमणमणको अन्तराष्ट्रिय समुदायले विरोध गर्दै आएको छ ।

क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्या

ओउन्डेल । क्यमरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्ज भन्दाबढी घाईते भएका छन् । सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ ।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ । अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

भोलि हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

काठमाण्डौं । निर्वाचन आयोगले भोलि माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त १९ स्थानका लागि बुधबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ । मतदानका लागि जिल्ला-जिल्लाबाट मतदाताहरू सम्बन्धित मतदान केन्द्रमा आउने क्रम सुरु भएको छ ।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले सातवटै प्रदेशमा तयारी पूरा भएको जानकारी दिए । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित अधिकतम १० जना कर्मचारी परिचालन गरिएको छ । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको सहायक प्रवक्ता धमलाले जानकारी दिए ।

सातवटा प्रदेशमा कुल दुई हजार २५ जना मतदाता छन् । यस निर्वाचनमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । आयोगका अनुसार प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको छ ।

प्रदेश १ का मुख्य निर्वाचन अधिकृत भरत लम्सालले मतदानको तयारी पूरा भए पनि बुथ निर्माणको कार्य मङ्गलबार मात्रै हुने जानकारी दिए । प्रदेश १ को दुई मतदान स्थलमा दुईवटा मतदान केन्द्र छन् । अधिकृत लम्सालले मङ्गलबार बिहान नै निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारहरूसँग छलफल गर्ने जानकारी दिए ।

विराटनगर महानगरपालिका-१३ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालय र बाली संरक्षण प्रयोगशालाको कार्यालयलाई मतदान केन्द्र तोकेको छ । त्यसमध्ये बाली संरक्षण केन्द्रको कार्यालयको मतदान केन्द्रमा प्रदेश सभाका सांसदहरूले मतदान गर्नेछन् भने प्रदेश निर्वाचन आयोगको कार्यालयमा स्थानीय निकायका पदाधिकारीहरूले मतदान गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी मधेस प्रदेशमा समेत मतदानको तयारी पूरा भएको निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाले जानकारी दिए ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा मतदान हुनेछ । आयोगले जारी गरेको स्वास्थ्य निर्देशिका बमोजिम मतदानको व्यवस्था मिलाउने र निर्वाचन कार्यालयले व्यवस्थापकीय पक्ष तयारी अवस्थामा राखेको उनले बताए । बागमती प्रदेशका निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतदानको तयारी पूरा भएको र बुथ निर्माण मङ्गलबार साँझसम्म सकिने जानकारी दिए ।

बागमतीमा राष्ट्रिय सभा सदस्यको मतदान हेटौँडामा हुनेछ । उनले दुईवटा मतदान केन्द्रमा आठ-आठ जना गरी १६ कर्मचारी खटाइने जानकारी दिए । कर्णालीका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदानका लागि सामग्री आइसकेको र तयारीसमेत अन्तिम चरणमा रहेको बताए ।-गोरखापत्र अनलाइन

केशर महलमा पनि व्यापारिक दाउ, रेष्टुरेन्ट र डान्सबारको प्रस्ताव

काठमाण्डौं । वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएका छन् ।
त्यसै क्रममा केशर पुस्तकालयलाई एउटा कुनामा सीमित बनाएर केशर महल र त्यसले चर्चिएको समग्र जग्गालाई व्यापारिक प्रयोजनमा लगाउने योजनाको प्रारूप तयार गरिएको छ । केशर महलको पुनर्निर्माणपछि त्यहाँको संरचना के कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदनको प्रारूपबारे गत साता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च पदाधिकारीहरूसँग स्वप्न बगैँचामा ‘ब्रिफिङ’ भएको थियो ।

‘ब्रिफिङमा केशर महलको दक्षिणतर्फको स्वप्न बगैँचा विकास समितिलाई अब केशर महल विकास समिति बनाउने र सोमार्फत व्यापारिक कार्यमा भौतिक पूर्वाधार प्रयोग गर्ने प्रतिवेदनको मस्यौदामा समावेश गरिएको छ । स्वप्न बगैँचाले आठ रोपनी क्षेत्रफल चर्चिएको छ भने केशर महल ३४ रोपनी दुई आना एक पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ ।

स्वप्न बगैँचा विकास समितिले डाकेको बैठकमा उपस्थित शिक्षा मन्त्रालयका एक सहसचिवले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने- “नारायणहिटी दरबारको कुरा विवादमा आइरहेको छ, त्यसैले यो विषय थन्क्याउनूस् भनेर हामीहरूले भन्यौँ तर विकास समितिका पदाधिकारीहरूले नारायणहिटी र केशर महलको प्रसङ्ग फरक हो भनेर कुतर्क गरेरै जित्न खोजे ।”

पुस्तकालयलाई सानो बाटो
सो विकास समितिले तयार गरेको मस्यौदामा केशर महलको पश्चिम (पछाडि)तर्फ एउटा सानो बाटो राखेर पुस्तकालय प्रवेश गर्न दिने उल्लेख छ । केशर महलको दक्षिण–पूर्वतर्फको पहिलो तलाका केही कोठामा केशर पुस्तकालय राख्ने योजना बनाइएको छ । भवनको बाँकी कोठा र बीचको चोकमा चित्रकलासम्बन्धी पसल, रेस्टुरेन्ट, डान्सबार, सांस्कृतिक कार्यक्रम गर्ने थलो आदिका रूपमा विकास गर्ने योजना प्रस्ताव गरिएको ‘ब्रिफिङ’ सुनेका मन्त्रालयका सहसचिवहरूले बताए।

मन्त्रालयका पदाधिकारीहरूले केशर महलको उत्तरतर्फ साततारे होटल खुल्ने भएपछि केशर महल र त्यसको जग्गामा माफियाको आँखा परेको दाबी गरेका छन् । सो होटलमा आएका पाहुना र ठमेल घुम्न आउने विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा केशर महललाई प्रयोग गर्न सकिए मनग्गे आर्थोेपार्जन गर्ने दाउमा उनीहरू रहेको भनाइ मन्त्रालयका पदाधिकारीहरूको छ ।

स्वप्न बगैँचा विकास समिति गठन आदेशमा शिक्षा मन्त्रालयका सचिव सो समितिको अध्यक्ष रहने र सदस्यसचिवका रूपमा शिक्षा मन्त्रालयकै एक उपसचिव रहने स्पष्ट व्यवस्था छ । तर लामो समयदेखि विकास समितिका अधिकृत सानु महर्जनलाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिइएको छ । मन्त्रालयका पदाधिकारीले त्यसरी निमित्तको जिम्मेवारी दिनु गठन आदेशविपरीत भएको तर विकास समितिका सदस्यहरूको राजनीतिक पहुँचका कारण आफूहरू टुलुटुलु हेरेर बसिरहनु परेको गुनासो गर्छन् ।

अध्ययन प्रतिवेदनको मस्यौदामा सदस्यसचिव पद हटाएर कार्यकारी निर्देशक राख्ने र उनको नियुक्ति शिक्षामन्त्रीले गर्ने प्रस्ताव छ । समितिको ‘ब्रिफिङ’मा सहभागी भएका अर्का एक सहसचिवले केशरमहलको पुनर्निर्माणपछि चिकित्सा शिक्षा आयोग र नेपाल विश्वविद्यालयलाई राख्न सकिने भएकाले स्वप्न बगैँचा विस्तार गर्ने कुनै पनि योजना नल्याउन सुझाव दिएको बताए । स्वप्न बगैँचा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरको निजी बगैँचा थियो । त्यस्तै भव्य बगैँचालाई केशर महलको अगाडिको खाली जग्गामा विस्तार गरी त्यसबाट आर्थिक लाभ गर्ने योजना बुनिँदै गरिएको हो ।

शिक्षाका शाखा हटाउन दबाब
केशर महलको पूर्वीतर्फको टहरामा हाल वैदेशिक अध्ययन अनुमति शाखा, छात्रवृत्ति शाखा र शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा रहँदै आएका छन् । ती तीनवटै निकायलाई त्यहाँबाट हटाउन पनि निकै प्रयत्न भइरहेको छ । त्यहाँका उपसचिवहरूले आफूहरूलाई बारम्बार टहरा खाली गरिदिन दबाब आउने गरेको बताउँदै भने, “यहाँबाट हटाएर भक्तपुरको सानोठिमी लिएर जानू भनेर दबाब आइरहेको छ । एक वर्षअघि पत्र पनि आएको थियो । यो ठाउँ कुनै पनि हालतमा छोड्दैनौँ भनेर मन्त्रालयका उच्च पदाधिकारीलाई भनेका छौँ, तर मन्त्रालयको निर्णयका सामु हामीहरूको जोरबल चल्दैन । ”

गत मङ्सिर २८ गते केशर महलको पुनर्निर्माण सम्पन्न गरिसक्नुपर्नेमा अहिलेसम्म ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुनर्निर्माण कार्य भइरहेकाले हाल केशर पुस्तकालयलाई नजिकै अस्थायी टहरो बनाएर राखिएको छ । यस सम्बन्धमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मासँग जिज्ञासा राख्दा उनले भनेे- “नयाँ निर्णय भइसकेको छैन । ”

‘प्रतिवेदन प्राप्त हुनै बाँकी’
स्वप्न बगैँचा विकास समितिका सल्लाहकार ध्रुवराज रेग्मीले अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन बाँकी रहेको बताउँदै अझै छलफल बाँकी रहेकाले आफूहरू कुनै निचोडमा नपुगेको बताए । समितिका अध्यक्षसमेत रहेका शिक्षासचिव यादवप्रसाद कोइरालाले आफू आउनुअघि नै अध्ययन गर्न लगाइएको रहेछ भन्दै थपे- “अध्ययन प्रतिवेदन प्राप्त हुनै बाँकी छ । प्रतिवेदनले सिफारिस गरेका कुरा हुबहु लागू गरिन्छन् भन्ने हुँदैन । ”
केशरशमशेरले सन् १९०९ मा स्थापना गरेेेको निजी पुस्तक सङ्ग्रहलाई २०२६ सालमा उनकी पत्नी कृष्णचन्द्रदेवीले नेपाल सरकारलाई हस्तान्तरण गरेेेका थिए। सो पुस्तकालय हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत छ ।- प्रकृति अधिकारी /गोरखापत्र अनलाइन

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ ।

१२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र  प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवासायीसँग छलफल गरिसकेका छन् । यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ गर्नेछन् ।

साउथ फिल्म सफल हुनुको कारण भारतीय संस्कृतिसँग जोडिनु : कंगना रनावत

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतले भारतीय संस्कृतिसँग जोडिएकाले नै साउथ चलचित्र सफल भएको बताएकी छन् । पारिवारिक नाता र परम्परालाई पर्दामा उतारेकै कारण साउथ चलचित्रलाई पूरै भारतले रुचाउन थालेको उनको भनाइ छ ।

एक ट्वीट गर्दै कंगनाले साउथ चलचित्रबाट बलिउडले पनि केही सिक्नुपर्ने उल्लेख गरेकी छन् । पाश्चात्य प्रभावबाट टाढा रहेर पनि चलचित्र निर्माण गर्न सकिन्छ भन्ने विषय साउथबाट सिक्न सकिने उनले बताएकी छन् ।

बलिउडकी स्टार अभिनेत्री कंगनाका केही चलचित्र दर्शकमाझ आउँदैछन् । जसमा ‘धाकड’, ‘तेजस’ लगायत छन् । यी दुवै चलचित्र चाँडै सिनेमा हलहरुमा रिलिज हुने जनाइएको छ ।

हाल कंगना आफ्नै प्रोडक्सन हाउसको पहिलो चलचित्र ‘टिकु वेड्स शेरु’को छायांकनम व्यस्त छिन् । यो चलचित्रमा नवाजुद्दिन सिद्दिकी र अवनित कौरको मुख्य भूमिका रहेको छ ।

सन् २०२२ मा यी फिल्मले मच्चाउन सक्नेछन् बलिउडमा धमाका

काठमाडौं । बलिउडका लागि सन् २०२० र २०२१ सुखद् रहेन । बलिउड फिल्म उद्योगमा वर्सेनि एक सय भन्दा बढी चलचित्र निर्माण हुने भएपनि कोरोना महामारीका कारण बितेका दुई वर्ष धेरै चलचित्र रिलिज हुन पाएनन् ।

सन् २०२१ को तिहारमा रिलिज भएको चलचित्र ‘सूर्यवंशी’ले सिनेमा हलमा दर्शक फर्काउन थालेको भएपनि फेरि कोरोना महामारीको तेस्रो लहर फैलिएपछि धमाधम हल बन्द हुन थाले । जसका कारण रिलिजको तयारीमा रहेका अधिकांश चलचित्रले प्रदर्शन मिति पछि सार्न बाध्य भएका छन् ।

सन् २०२२ मा केही यस्ता चलचित्र रिलिज हुँदैछन् जसले सिनेमा हलमा फेरि दर्शकलाई फर्काउने क्षमता राख्ने अपेक्षा गरिएको छ । यस वर्ष प्रदर्शन हुने ठूला ब्यानरका चलचित्रहरुमा ब्रम्हास्त्र, पठान, टाइगर ३, आदिपुरुष र पृथ्वीराज रहेका छन् । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार यी चलचित्रहरुले बक्स अफिसमा धमाका मच्चाउने ठूलो अपेक्षा छ । तर कोरोना महामारीको प्रभाव कस्तो रहन्छ त्यसमा पनि भर पर्ने उनी बताउँछन् ।

चलचित्र ‘ब्रम्हास्त्र’ निर्माण भएको लामो समय भइसकेको छ । भीएफएक्सको उच्चतम प्रयोग गरिएको यो चलचित्रले साउथ चलचित्रको बढ्दो चुनौतीलाई टक्कर दिने अनुमान गरिएको छ । रणवीर कपूर र आलिया भट्टको प्रमुख भूमिका रहेको यो चलचित्रलाई करण जौहर प्रोडक्सनले निर्माण गरेको हो ।

सुपरस्टार शाहरुख खानको ‘पठान’ले पनि यो वर्ष बक्स अफिसमा धमाका मच्चाउने अपेक्षा गरिएको छ । यो चलचित्रबाट शाहरुख लामो समयपछि पर्दामा देखिँदैछन् । दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ । तर यो चलचित्रको छायांकन भने अझै बाँकी छ ।

साउथ सुपरस्टार प्रभास अभिनित ‘आदिपुरुष’ पनि यसै वर्ष रिलिज हुँदैछ । यो एक पौराणिक चलचित्र हो । ठूलो बजेटमा निर्माण गरिएको ‘आदिपुरुष’मा भीएफएक्सको पनि उच्चतम प्रयोग गरिएको छ । यो चलचित्रमा प्रभासका साथै सैफअली खानको पनि मुख्य भूमिका छ । चलचित्रलाई ओम राउतले निर्देशन गरेका हुन् ।

बलिउड स्टार सलमान खानको ‘टाइगर–३’ र अक्षय कुमारको ‘पृथ्वीराज’ पनि यस वर्ष आशा गरिएका चलचित्र हुन् । यी दुवै चलचित्र यशराज फिल्म्सको ब्यानरमा निर्माण भएका हुन् । ‘टाइगर–३’मा सलमान र कट्रिना कैफको मुख्य भूमिका छ ।

विक्की र साराको ‘लुकाछुपी २’मा बिहे

काठमाडौं । बलिउड अभिनेता विक्की कौशलले अभिनेत्री कट्रिना कैफसँग केही समयअघि विवाह गरे । कट्रिनासँग ‘रियल’मा विवाह गरेका विक्कीले अभिनेत्री साराअली खानसँग ‘रिल’मा बिहे गरेका छन् ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भिडियो र तस्वीरमा सारा र विक्की विवाहमा खुशी देखिएका छन् । यो चलचित्र ‘लुकाछुपी २’मा समावेश दृश्य हो । विवाहको दृश्य प्रगत औद्योगिक केन्द्रमा रहेको पुष्प वाटिकामा आयोजना गरिएको थियो । विवाहका लागि भव्य मण्डप समेत तयार गरिएको थियो ।

वास्तविक विवाह जस्तै रिलको बिहेमा पनि पाहुनाहरुको उपस्थिति रहेको थियो । चलचित्रको छायांकनका लागि आरआर कैट रोडमा रहेको पुष्प वाटिकालाई सजाइएको थियो ।

यो चलचित्रको छायांकन केही दिनदेखि विभिन्न स्थानमा चलिरहेको छ । क्रिश्चियन कलेज, कुटुम्ब न्यायालयमा पनि चलचित्रको छायांकन भएको थियो ।

दीपिकाको ‘गहराइयाँ’को ‘डुबे’ गीत रिलिज

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको चलचित्र ‘गहराइयाँ’को पहिलो गीत रिलिज गरिएको छ । सोनी म्युजिक इण्डियाले यो चलचित्रको ‘डुबे’ गीत सार्वजनिक गरेको हो ।

केही समय पहिले नै टिजर सार्वजनिक भइसकेको यो गीतमा दीपिका र अभिनेता सिद्धान्त चतुर्वेदी रोमान्टिक मुद्रामा देखिएका छन् । गीतमा उनीहरु प्रेममा डुबेको भाव देखाइएको छ ।

‘डुबे’ गीतका संगीतकार कबिर कथपालियले ‘गहराइयाँ’मा काम गर्नु एक अविश्वसनीय अनुभव रहेको बताएका छन् । यसअघि टिजर रिलिज हुँदा पनि स्रोता–दर्शकबाट धेरै माया पाएको र अब गीतबाट पनि यस्तै अपेक्षा गरेको उनले उल्लेख गरेका छन् ।

‘गहराइयाँ’मा दीपिका र सिद्धान्तसँगै अनन्या पाण्डे, धैर्य करवा, नसिरुद्दिन शाह र रजत कपुरले पनि अभिनय गरेका छन् । यो चलचित्रलाई शकुन बत्राले निर्देशन गरेका हुन् ।

चलचित्र अमेजन प्राइम भिडियोमा फेब्रअरी ११ मा रिलिज हुनेछ ।

विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा

जोहेनस्वर्ग । दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ ।

जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ । तसर्थ, पांग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान गरिएको छ ।
पक्राउपछि उनलाई अस्पताल लगिएको थियो ।

विमानमा जोहेनस्वर्गबाट एम्स्टर्ड्याम पुग्न ११ घन्टा लाग्छ । त्यति लामो समय यात्रा गर्दा पनि उनी जीवितै फेला पर्नुलाई दुर्लभ घटना मानिएको छ । अत्यधिक हावा र अक्सिजनको अभावमा पांग्रामा झुन्डिएर यात्रा गर्ने मानिसको मृत्यु हुनेगर्छ ।-एजेन्सी

‘कमब्याक’को आशामा जगजित श्रेष्ठ

काठमाडौं। पछिल्ला वर्ष जगजित श्रेष्ठले अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका छन् । २८ वर्षीय यी खेलाडी परिवारसँगै साउथ अष्ट्रेलिया बस्दै आएका छन् । जहाँ उनी स्थानीय क्लबबाट विभिन्न प्रतियोगिता खेलिरहेका हुन्छन् ।

नेपालमा शीर्ष डिभिजन लिगको मिति तय भएसँगै जगजित नेपाल आउँछन् । अघिल्लो समय मनाङ मर्स्याङ्दीबाट खेलेका जगजितले यस पटक आफ्नो गन्तव्य त्रिभुवन आर्मी फुटबल क्लबलाई माने । आर्मीबाट सुरुवातमै ‘प्लेईङ सेट’मा खेलेका जगजितले आफ्नो पुरानो लयलाई कायम रहेको जनाए । लिगमा सुरूवाती खेलमा आर्मीले सोचेको प्रदर्शन दिन सकेन । लिग सुरु नहुँदै उसका महत्वपूर्ण दुई खेलाडीले चोट बोकेका थिए । यस्तोमा आर्मीलाई जगजित पनि बरदान नै सावित भए । जगजितले टोलीको लागि शत प्रतिशत थिए ।

सहिद स्मारक ए डिभिजन लिगमा आर्मी जगजितको लागि नयाँ टोली थियो । त्यसका बाबजुद जगजितको प्रदर्शन भने उम्दा रह्यो । लिगको नवौं चरणको खेल सकिँदा जगजितले आर्मीका लागि सबै खेल खेले । नौ खेलमा ६७१ मिनेट (इन्जुरी समयलाई छाडेर) खेलेका जगजितले दुई गोल गरेका छन् भने दुई असिष्ट गरेका छन् । यही प्रदर्शनले जगजितलाई राष्ट्रिय टोलीमा तानेको छ । मतलब उनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् । यदि बन्द प्रशिक्षणमा आफूलाई पुनः प्रमाणित गरेको खण्डमा जगजितले राष्ट्रिय टोलीमा ‘कमब्याक’ गर्नेछन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले सातौँ चरणसँगै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी बाेलाउँदा जगजित अटेनन् । लिगको प्रदर्शनको आधारमा जगजितलाई नबोलाउँदा धेरैले आश्चार्य जनाए । नवौंं चरणपछि पुनः कुवेती नागरिक अब्दुल्लाहले केही खेलाडीलाई मौका थिए । जसमा जगजित सामेल दिए । पहिलो पटक टोलीमा जगजितलाई स्थान नदिँदा अब्दुल्लाहले सोही दिन आफ्नो सामाजिक सञ्जालको स्टोरीमा ‘वि क्यान नट बि टु ह्यान्डसम इन द टिम’ राखेका थिए । यस क्रममा उनले जगजितसँग सेल्फी पनि लिएका थिए ।

नेपालले यही  १५ र १८ माघमा पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । दशरथ रंगशालामा हुने खेलअघि जगजितले प्रशिक्षणमा अब्दुल्लाहलाई खुसी पार्न सके टोलीमा फर्कनेछन् ।

यदि सफल भएमा जगजित सन् २०१७ पछि पहिलो पटक राष्ट्रिय टोलीमा ‘कमब्याक’ हुनेछन् । ‘धेरै वर्षपछि मलाई अवसर आएको छ । जहाँसम्म लाग्छ मलाई यो अन्तिम अवसर हो । मेरो करियरलाई सार्थकता दिने यही हो अवसर  । यसलाई सकारात्मक रुपमा लिएको छु,’ करिब पाँच वर्षपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका जगजितले भने ।

जगजित २०६७ सालको सहिद स्मारक ए डिभिजन लिग खेल्न पनि नेपाल आएका थिए । त्यतिबेला मनाङ मर्स्याङ्दी क्लब रोजे । तर, विवादित बन्न पुगे । २२ पुसमा मनाङ र तत्कालीन च्याम्पियन मछिन्द्रबीचको खेल २-२ को बराबरीमा टुंगिएसँगै खेलाडी एकआपसमा हातपात गर्न थाले । मैदानमा हानाहानको अवस्था शृजना भएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले मनाङका एक किट म्यानेजरसहित तीन खेलाडी र मछिन्द्रका तीन खेलाडीलाई कारबाही गर्‍याे । जसमा जगजित पनि मुछिए ।

जगजितलाई पाँच खेलको प्रतिबन्धसहित १० हजार जरिवाना गरियो । विवादिन बनेलगत्तै बाँकी खेल गुमाउने भएपछि जगजित पुनः अष्ट्रेलिया लागे । यस पटक आर्मीमा भने जगजितले आफ्नो शंकालु प्रवृत्तिलाई हटाउँदै सुधारिएको प्रर्दशन दिन सफल भए । यद्यपि जगजितलाई आर्मी टोलीसँग घुलमिल हुन निकै समय लाग्यो ।

‘आर्मीको टिममा मलाई तालमेल मिलाउन गाह्रो भयो । नेपाल आउँदा नै म बिरामी थिएँ ।  आर्मीको खेल्ने फरक शैली थियो । त्यहाँ मलाई मिल्न अलि समय लाग्यो । हुन त अझै राम्रोसँग तालमेल मिलेको छैन । अब, लिगमा पनि राम्रो हुन्छ,’ जगजित भन्छन् ।  जगजितले मार्च सन् २०११ र २०१९ मा  राष्ट्रिय टोलीबाट डेब्यु गरे । भुटानमा घरेलु टोलीविरुद्ध प्रशिक्षक ग्राहम रोबर्टसले जगजितलाई दोस्रो हाफमा डेब्यु मौका दिएका थिए । तत्कालीन समय अनिल गुरुङको स्थानमा मैदान प्रवेश गरेका जगजित उही अनिलले राष्ट्रिय टोलीबाट सन्यास लिएयता टोली बाहिर छन् ।

सन् २०१७ मा एसियन कप छनोट खेलमा फिलिपिन्सविरुद्ध टोलीमा रहेका जगजितलाई प्रशिक्षक ग्योतोकु कोजीलेले बेन्चमै सिमित गराए । त्यसयता भने जगजित टोली बाहिरै छन् । जगजित नेपाली टोलीले १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा र ढाकामा भएको बंगबन्धु गोल्डकप जित्दाका मुख्य खेलाडी हुन् । अब, एक पटक पुनः जगजितलाई आफूलाई प्रमाणित गर्दै राष्ट्रिय टोलीबाट बिदाइ लिने अवसरसमेत छ । नेपालमा कमै खेलाडीले यसरी आफूलाई बिदाइ लिने अवसर पाउँछन् ।

जगजितले यदि राष्ट्रिय टोलीको अन्तिम २३ मा आफूलाई स्थान दिन सके पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग राष्ट्रिय टोलीको यात्राबाट बिश्राम लिन पाउनेछन् । ‘धेरै खुसी लागेको छ । धेरैपछि मौका पाएँ । यहाँ (अभ्यास) को वातावरण पनि राम्रो छ । मेरो शैली र टोलीको शैली पनि यही हो । फाइनलमा चरणमा स्थान बनाए भने धेरै योगदान गर्न सक्छु,’  जगजितले भने ।