भ्रष्टाचार विरुद्ध युवा सडकमा – Nagarikabhiyan : National News

भ्रष्टाचार विरुद्ध युवा सडकमा

इनरुवा, माघ ११ गते । सुनसरीको कोशी गाउँपालिकामा एकपछि अर्को भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती बढेको भन्दै युवाहरु सडक आन्दोलनमा उत्रेका छन् । केही दिन अघि गरिब विपन्नका लागि आएको आबाश कार्यक्रममा पक्षलाई ५० हजार रुपियाँ दिनुपर्नेमा ११ हजारदेखी १५ हजार रुपियाँसम्म कट्टा गरेर मात्रै दिएपछि चरम भ्रष्टाचार भएको बाहिर आएको, प्रत्येक वडामा अनियमितता र ढिलासुस्ती बढेको भन्दै पश्चिम कुशाहाका युवाहरु सडक आन्दोलनमा उत्रेका हुन् । युवा ब्रहमदेव यादवको नेतृत्वमा सयौको संख्यामा युवाहरुले कोशी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा तालाबन्दी सहित गाउँपालिकामा घण्टौ धर्ना दिएर नाराबाजी गरेका छन् । कोशी गाउँपालिका २ का कार्य वाहक वडा अध्यक्ष द्रोपती साहलाई कार्वाही, जनताको सम्पती लुटन पाईदैन , वडा अध्यक्षलाई जेलमा हाल, भ्रष्टाचारीलाई कार्वाही गर, अनियमितता र ढिलासुस्ती बन्द गर , अत्याचार बन्द गर भन्दै युवाहरु सडक आन्दोलनमा उत्रेका छन् ।
कोशी गाउँपालिका २ का पीडितहरुलाई रकममा झुक्याएकाले त्यसमा युवाहरुले आबाज उठाएका छन् । मन्जुदेवी यादवले आफूहरुलाई ३० हजार रुपियाँ पउनुपर्नेमा १९ हजार रुपियाँ मात्रै दिएको बताउनुभयो । शिवराम महतोले पनि आफूहरुलाई ३० हजार रुपियाँ पउनुपर्नेमा १९ हजार रुपियाँ मात्रै दिएर वडा अध्यक्षको छोराले ११ हजार रुपियाँ लिएको गुनासो गर्नुभयो ।
अधिकारकर्मीका अनुसार भ्रष्टाचारको प्रवृत्तिले सार्वजनिक पद धारण गरेका व्यक्तिदेखि गैरसरकारी एवम् निजी क्षेत्रसम्मका व्यक्ति तथा संस्थाहरूलाई प्रभाव पारेको छ । अर्थात् यो सरकारी निकायहरूमा मात्र सीमित नरही अर्धसरकारी, सामुदायिक, सहकारी, साझेदारी, निजी उद्यम व्यवसायसम्म फैलिएको छ । सरकारको नेतृत्व गर्ने राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व गर्ने उच्चपदस्थ कर्मचारी, सामाजिक एवम् आर्थिक सुधारमा संलग्न गैरसरकारी निकायका प्रमुखहरू, न्यायालय, सहकारी एवम् सामुदायिक संस्थाका व्यवस्थापकहरू, विकास निर्माणमा संलग्न ठेकेदार तथा उपभोक्ता समूहसमेत भ्रष्टाचारको विवादवाट मुक्त हुन सकेका छैनन् । यसरी मुलुकका हरेक क्षेत्र एवम् पदाधिकारीहरूसम्म व्याप्त भएको भ्रष्टाचारको नियन्त्रणमा सरकारको प्रयासमा देशको सबल, सक्षम, सक्रिय शक्तिको सहयोग अपरिहार्य भएको छ । भ्रष्टाचारजस्तो जटिल र चुनौतीपूर्ण कार्यमा देशका युवाहरू तथा युवा समूहको सहभागिता र सक्रियता प्रभावकारी हुन सकेको छैन । यस सन्दर्भमा भ्रष्टाचारजस्तो जटिल र सङ्गठित अपराधलाई नियन्त्रण गर्न युवा, युवाहरू संलग्न भएका संस्थाहरूको प्रत्यक्ष र सक्रिय योगदान अत्यन्त जरुरी भएको छ ।
युवा तथा युवा संस्थाहरूको नेटवर्किङ विस्तार गरी, राजनीतिक, शैक्षिक, सामाजिक क्षेत्रलगायत गैरसरकारी क्षेत्रमा कार्यरत युवा संस्थाहरूको समेतको आपसी समन्वयबाट भ्रष्टाचारको विरुद्धमा आवाज तथा कार्यक्रमहरूलाई प्रभावकारी गराउनु आवश्यक भएको छ । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत यस कार्यमा संलग्न सरकारी केन्द्रीय तथा स्थानीयस्तरका निकायहरूले भ्रष्टाचार नियन्त्रणका आफ्ना कार्यक्रमहरूलाई युवा संस्थाहरूसँग सहकार्य हुने गरी सञ्चालन गर्नुपर्ने साथै युवा संस्थाहरूसँग नियमित रूपमा समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराउने भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । साथै भ्रष्टाचार नियन्त्रणको कार्यमा उल्लेखनीय कार्य गर्ने युवा वा युवा संस्थाहरूलाई सम्मानित र पुरस्कृत गरी निरन्तर रूपमा ऊर्जा पद्रान गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ ।