रामारोशन हिँडेका विदेशी पर्यटक चौखुट्टेमा अलपत्र
२ आश्विन २०८०, मंगलवार ०५:४८

अछाम-सुदूरपश्चिमकै प्रमुख पर्यटकीय क्षेत्र रामारोशन घुम्न आइरहेका विभिन्न मुलुकका पर्यटकलाई स्थानीय प्रशासनले बाटोमै रोकेको छ । रामारोशन घुमफिःरको अनुमति छुट्टै लिनुपर्ने भन्दै रोकेको हो । यात्रीको समूह अनुमति नपाउँदा अलपत्र परेका छन् । ३९ जना रामारोशन क्षेत्रमा पुगेर रोकिएका छन् भने २२ जना पाँच दिनदेखि अछाम प्रवेश गर्ने विभिन्न ठाउँमा रोकिएका हुन् ।
अछाम प्रवेशद्वार चौखुट्टेमा टेन्ट राखेर बसेका विदेशी पर्यटक । तस्बिर स् कान्तिपुर
अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकका अनुसार रामारोशन क्षेत्रमा ३९, बेलखेत, चौखुट्टे र जयगढमा २२ जना विदेशी पर्यटक टेन्ट राखेर बसेका छन् ।
सामाजिक सञ्जालको माध्यमबाट जोडिएका विभिन्न देशका २ हजार जनाभन्दा बढी पर्यटक रामारोशन घुम्न आउन लागेको उनीहरुले प्रहरीलाई बताएका छन् । रामारोशन जाने छुट्टै अनुमति नलिएको थाहा पाएपछि उनीहरुलाई यथास्थितिमा रोकिएको डीएसपी पाठकले बताए । ‘विदेशीहरु अछाम आउने क्रम जारी छ । उनीहरुले नै विश्वका धेरै देशबाट थप पर्यटक पनि आउँदै गरेको बताएका छन् । इजाजत नहुँदासम्म हामीले रोकेका हौं,’ उनले भने, ‘उनीहरु भएको क्षेत्रमा अहिले सुरक्षा कडा पारेका छौं ।’
रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदका अनुसार भारत, अमेरिका, क्यानडा, पोल्याण्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्याण्ड, जापानसहित २५ देशका पर्यटक यहाँ पुगेका छन् । उनी भने एकैपटक धेरै देशका पर्यटक रामारोशन आउनु पर्यटन प्रवर्द्धनका लागि सकारात्मक रहेको बताउँछन् ।
यसअघि रामारोशन क्षेत्रमा विदेशी पर्यटकको रुपमा कोही नआएकाले स्थानीय तहका लागि पनि नयाँ अभ्यास गर्ने मौका भएको उनले बताए । ‘उनीहरुलाई रामारोशन प्रवेश अनुमति दिने विषयमा सहजीकरण भइरहेको छ,’ उनले भने,‘यसका लागि प्रदेश र संघ सरकारसँग कुरा भइरहेको छ ।’ गाउँकार्यपालिकाले आइतबार निर्णय गरेर गृह मन्त्रालय, पर्यटन मन्त्रालय र सूदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयलाई विदेशी पर्यटकलाई रामारोशन जाने अनुमति उपलब्ध गराइदिन पत्राचार गरिएको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया