२७ बैशाख २०८१, बिहीबार १०:२० – Nagarikabhiyan : National News

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु,आठजना घाइते

ताप्लेजुङ ।  ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। आठजना घाइते भएका छन् ।

जिल्लाको पाथीभरा याङ्बरक गाउँपालिका– ४ डुम्रिसेमा बुधबार विद्यार्थी समेत सवार रहको प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। स्थानीय किरण तामाङका छोरा ९ वर्षीय मानस तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले जानकारी दिए।

घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ। दुर्घटनापछि ट्र्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कोरोना खोप लगाउनेमा समस्या‚ ८१ को मृत्यु

लण्डन । कोरोनाकालमा एस्ट्राजेनेकाले बनाएका खोप लगाउने सुरक्षित छन् त? बेलायती कम्पनी एस्ट्राजेनेकाले सबै देशबाट खोप फिर्ता लिने निर्णय गरेपछि मान्छेहरू निकै चिन्तित देखिएका छन्।

कोरोनाबाट बच्न प्रयोग गरिएको यो खोपले मानिसमा रगत जम्ने‚ प्लेटलेट्स घट्ने र यसबाट थ्रोम्बोसिस नामक रोग लाग्ने भन्दै कम्पनीले सन् २०२४ को फेब्रुअरीमा बेलायतको अदालतमा स्वीकार गरेको थियो। यी कारण देखाउँदै कम्पनीले बजारबाट खोप फिर्ता लिन लागेको हो। थ्रोम्बोसिस लाग्दा नसामा चोक्टाचोक्टा परेर रगत जम्छ। यसबाट रक्तसञ्चार प्रणाली नै ठप्प हुन्छ। साथै कलेजो‚ मिर्गौला‚ हात‚ गोडा‚ मस्तिष्क, पाचन प्रणाली नै प्रभावित हुन्छ।

बेलायतमा एस्ट्राजेनेका खोप लगाएका ८१ जनाको थ्रोम्बोसिटोपेनिया सिन्ड्रमबाट मृत्यु भएको छ। सयौँ मानिस गम्भीर छन्। ५१ जना पीडित र उनीहरूका आफन्तले १० करोड पाउन्ड (१६ अर्ब ७० करोड नेपाली रुपैयाँ) क्षतिपूर्तिका लागि अदालतमा मुद्दा हालेका छन्।

बेलायती सञ्चारमाध्यम दि टेलिग्राफका अनुसार एस्ट्राजेनेकाले आफूले उत्पादन गरेको कोरोना खोप फिर्ता लिन गत फागुन २२ गते (५ मार्च)मा आवेदन दिएको थियो र वैशाख २५ गते (७ मे) देखि लागू भएको छ। वर्तमानमा कोरोना भाइरसका लागि उन्नत कैयौँ खोप उपलब्ध भएको जनाउँदै अब खोप नबनाउने जनाएको छ।

युरोपेली युनियनबाट भ्याक्सजेवरिया खोप फिर्ता लिन शुरु गरेको कम्पनीले जनाएको छ। योसँगै अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर बनाइएको यो खोपलाई लिएर प्रश्न उठ्न थालेका छन्।

एस्ट्राजेनेकाको खोप १८ वर्ष उमेर पुगेकालाई लगाउने अनुमति दिइएको थियो। यो दुईपटक लगाउनुपर्ने र ३ महिनाको अन्तरमा लगाउनुपर्छ। यो खोप न्यूनतम ७० देशमा वितरण गरिएको छ। एस्ट्राजेनेकाले पहिलो वर्ष ६५ लाख मानिसको ज्यान जोगाएको र विश्वभरमा ३ अर्बभन्दा बढी खोप लगाइएको बताएको थियो।

बेलायतले पनि यो खोप प्रयोग गरेको थियो। यद्यपि, सेप्टेम्बर २०२१ पछि ठूलो मात्रामा यो खोप लगाउन बन्द गरिएको थियो। त्यतिखेरसम्म बेलायतमा ५ करोड खोप लगाइसकिएको थियो। त्यसपछि बेलायत सरकारले फाइजर र मोडर्नाको खोप लगाउन शुरु गरेको थियो।

यो खोपलाई लिएर सन् २०२१ मै प्रश्न उठेका थिए। यो खोप लगाएपछि रगत जमेको उजुरी परेका थिए। एस्ट्राजेनेकाको तुलनामा फाइजर र मोडर्ना खोप बढी प्रभावकारी देखिएका थिए। सन् २०२१ को मार्चमा क्यानडाली चिकित्सकको टोलीको सुझावअनुसार ५५ वर्षभन्दा बढी उमेरका मानिसलाई एस्ट्राजेनेका खोप दिन बन्द गरिएको थियो। त्यसै वर्षको अप्रिलमा एस्ट्राजेनेकामाथि प्रतिबन्ध लगाउने डेनमार्क  पहिलो युरोपीय देश बन्यो। लगत्तै नर्वेले पनि यही कदम अँगाल्यो।

नेपाल र भारतमा एस्ट्राजेनेकाको खोप कोभिशिल्डको नाममा लगाइएको थियो। यो खोप बेलायतको सहयोगमा सीरम इन्स्टिच्यूट अफ इन्डियाले बनाएको थियो।

कोरोनाकालमा १ अर्ब ७५ करोड मात्रा कोभिशिल्ड लगाइएको थियो। डिसेम्बर २०२१ मा सीरम इन्स्टिच्यूट अफ इन्डियाले पनि यो खोप उत्पादन गर्न बन्द गरेको थियो।

मक्का–मदिनामा साउदी अरबले लगायो कडा नियम

इस्लाम धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक केन्द्र मक्का–मदिनालाई लिएर साउदी अरबले कडा नियम बनाएको छ। साउदी अरबको गृह मन्त्रालयले हज यात्राका क्रममा विदेशीबाट हुनसक्ने अवैध कार्य नियन्त्रणका लागि भन्दै नयाँ नियम बनाएको हो।

हज यात्रा आगामी २ जुनमा सुरु हुनेछ। अनुमतिबिना हजका लागि पुग्ने विदेशीहरुमाथि कडाई गर्न लागिएको त्यहाँको गृह मन्त्रलयले एक्स मार्फत् जानकारी दिएको छ। नियम मिच्नेहरुलाई १० हजार साउदी रियाल अर्थात् तीन लाख ५६ हजारभन्दा बढी नेपाली रुपैयाँ र त्यसको दोब्बरसम्म जरिवाना तिराउने मन्त्रालयको सूचनामा उल्लेख छ।

यस्तै अनुमति बिना हजका लागि पुग्नेलाई सिधै डिपोर्ट गरिने पनि सूचनामा जनाइएको छ। इस्लाम धर्मावलम्बीको मुख्य उत्सवका रूपमा रहेको हज यात्रामा नेपालसहित विभिन्न देशका लाखौँ व्यक्ति पुग्ने गरेका छन्।

कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा आजै नयाँ सरकार बन्ने

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ। नेकपा माओवादी केन्द्रसहित आजै प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिए।

एमालेका ४० र माओवादी केन्द्रका १३ सांसदको हस्ताक्षरसहित एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बिहान ११ बजे दाबी पेश गरिने उनले जानकारी दिए। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन भए पुग्छ। उपेनता रानाका अनुसार मुख्यमन्त्री कार्कीको नियुक्ति र शपथ पनि बिहीबार नै गर्ने तयारी गरिएको छ।

आज मुख्यमन्त्री बाहेक एमाले र माओवादीका एक(एक जना मन्त्रीले पनि शपथ ग्रहण गर्ने रानाले बताए। केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी भने अझै केदार कार्की नेतृत्वको सरकारमै सहभागी छ। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गरी गएराति संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै शुक्रबारसम्म अर्को सरकार गठनका लागि आह्वान गरेका हुन्।

केदार कार्की नेतृत्वको सरकारले बहुमत गुमाएको तर विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको भन्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्। यसविरुद्ध नेपाली कांग्रेसले भने अदालत जाने तयारी गरेको छ।