कोरोना खोप लगाउनेमा समस्या‚ ८१ को मृत्यु – Nagarikabhiyan : National News

कोरोना खोप लगाउनेमा समस्या‚ ८१ को मृत्यु

लण्डन । कोरोनाकालमा एस्ट्राजेनेकाले बनाएका खोप लगाउने सुरक्षित छन् त? बेलायती कम्पनी एस्ट्राजेनेकाले सबै देशबाट खोप फिर्ता लिने निर्णय गरेपछि मान्छेहरू निकै चिन्तित देखिएका छन्।

कोरोनाबाट बच्न प्रयोग गरिएको यो खोपले मानिसमा रगत जम्ने‚ प्लेटलेट्स घट्ने र यसबाट थ्रोम्बोसिस नामक रोग लाग्ने भन्दै कम्पनीले सन् २०२४ को फेब्रुअरीमा बेलायतको अदालतमा स्वीकार गरेको थियो। यी कारण देखाउँदै कम्पनीले बजारबाट खोप फिर्ता लिन लागेको हो। थ्रोम्बोसिस लाग्दा नसामा चोक्टाचोक्टा परेर रगत जम्छ। यसबाट रक्तसञ्चार प्रणाली नै ठप्प हुन्छ। साथै कलेजो‚ मिर्गौला‚ हात‚ गोडा‚ मस्तिष्क, पाचन प्रणाली नै प्रभावित हुन्छ।

बेलायतमा एस्ट्राजेनेका खोप लगाएका ८१ जनाको थ्रोम्बोसिटोपेनिया सिन्ड्रमबाट मृत्यु भएको छ। सयौँ मानिस गम्भीर छन्। ५१ जना पीडित र उनीहरूका आफन्तले १० करोड पाउन्ड (१६ अर्ब ७० करोड नेपाली रुपैयाँ) क्षतिपूर्तिका लागि अदालतमा मुद्दा हालेका छन्।

बेलायती सञ्चारमाध्यम दि टेलिग्राफका अनुसार एस्ट्राजेनेकाले आफूले उत्पादन गरेको कोरोना खोप फिर्ता लिन गत फागुन २२ गते (५ मार्च)मा आवेदन दिएको थियो र वैशाख २५ गते (७ मे) देखि लागू भएको छ। वर्तमानमा कोरोना भाइरसका लागि उन्नत कैयौँ खोप उपलब्ध भएको जनाउँदै अब खोप नबनाउने जनाएको छ।

युरोपेली युनियनबाट भ्याक्सजेवरिया खोप फिर्ता लिन शुरु गरेको कम्पनीले जनाएको छ। योसँगै अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर बनाइएको यो खोपलाई लिएर प्रश्न उठ्न थालेका छन्।

एस्ट्राजेनेकाको खोप १८ वर्ष उमेर पुगेकालाई लगाउने अनुमति दिइएको थियो। यो दुईपटक लगाउनुपर्ने र ३ महिनाको अन्तरमा लगाउनुपर्छ। यो खोप न्यूनतम ७० देशमा वितरण गरिएको छ। एस्ट्राजेनेकाले पहिलो वर्ष ६५ लाख मानिसको ज्यान जोगाएको र विश्वभरमा ३ अर्बभन्दा बढी खोप लगाइएको बताएको थियो।

बेलायतले पनि यो खोप प्रयोग गरेको थियो। यद्यपि, सेप्टेम्बर २०२१ पछि ठूलो मात्रामा यो खोप लगाउन बन्द गरिएको थियो। त्यतिखेरसम्म बेलायतमा ५ करोड खोप लगाइसकिएको थियो। त्यसपछि बेलायत सरकारले फाइजर र मोडर्नाको खोप लगाउन शुरु गरेको थियो।

यो खोपलाई लिएर सन् २०२१ मै प्रश्न उठेका थिए। यो खोप लगाएपछि रगत जमेको उजुरी परेका थिए। एस्ट्राजेनेकाको तुलनामा फाइजर र मोडर्ना खोप बढी प्रभावकारी देखिएका थिए। सन् २०२१ को मार्चमा क्यानडाली चिकित्सकको टोलीको सुझावअनुसार ५५ वर्षभन्दा बढी उमेरका मानिसलाई एस्ट्राजेनेका खोप दिन बन्द गरिएको थियो। त्यसै वर्षको अप्रिलमा एस्ट्राजेनेकामाथि प्रतिबन्ध लगाउने डेनमार्क  पहिलो युरोपीय देश बन्यो। लगत्तै नर्वेले पनि यही कदम अँगाल्यो।

नेपाल र भारतमा एस्ट्राजेनेकाको खोप कोभिशिल्डको नाममा लगाइएको थियो। यो खोप बेलायतको सहयोगमा सीरम इन्स्टिच्यूट अफ इन्डियाले बनाएको थियो।

कोरोनाकालमा १ अर्ब ७५ करोड मात्रा कोभिशिल्ड लगाइएको थियो। डिसेम्बर २०२१ मा सीरम इन्स्टिच्यूट अफ इन्डियाले पनि यो खोप उत्पादन गर्न बन्द गरेको थियो।