१६ असार २०७८, बुधबार २०:४१ – Nagarikabhiyan : National News

ओलीले आफ्नाे पक्षमा निर्णय गराउन अदालतलाई धम्की दिइरहेका छन् : सभापति देउवा

काठमाडौँ । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई धम्की दिइरहेको दाबी गरेका छन्।

संसद् भवन नयाँ बानेश्वरमा बुधबार आयोजित नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तरक्रियामा नेता देउवाले कर्यकारी शक्ति भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुने भएपनि न्यायलय सधै संविधान अनुसार चल्ने भएकाले न्यायाधीशहरु प्रधानमन्त्रीको धम्कीबाट डराउने छैनन् भन्ने विश्वास आफूले लिएको बताएका हुन्।

उहाँले भन्नुभयो, उहाँ (प्रधानमन्त्री) ले अदालतमा धम्की दिइरहनुभएको छ । न्यायाधीशहरूले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश ? कहाँबाट न्यायालय टिक्ला त ? कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी पावर भनेको जहिले पनि तानाशाही प्रवृत्तिको हुन्छ । संसद् पनि कहिलेकाहीँ ठप्प गरिदिन सक्छ बहुमतको आधारमा । तर एउटा मात्रै संस्था छ जो न्याय गर्छ । त्यो हो न्यायालय । त्यसकारण स्वतन्त्र न्यायालय भनेको त्यो हो । त्यो मात्रै स्वतन्त्र न्यायालय हो । प्रधानमन्त्रीको केही लाग्दैन यहाँ । कति वटा प्रधानमन्त्रीको केही लागेन नि यहाँ । हामीलाई विश्वास छ ओलीको धम्कीबाट कुनै पनि न्यायाधीशहरू डराउनु हुने छैन । सम्पूर्ण देश, राष्ट्र संविधान बचाउने पछाडि छ । संविधानले दिएको कुरा गरेको हो हामीले । न्यायाधीशलाई डराउने, तर्साउने काम छैन । विवेकपूर्ण न्यायका लागि हामीले अनुरोध गर्ने हो ।

विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै देश र देशवासीका लागि सबैभन्दा ठूलो घातक रहेको भन्दै त्यसविरुद्ध एकजुट हुन आह्वान गरेको छ । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग बुधवार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको भन्दै त्यस कार्यमा एक ठाउँमा उभिन सबैलाई आग्रह गरेका हुन् ।

सरकार राम्रो काम गरेर जनतामाझ झन लोकप्रिय बन्दै गएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै गएको तर त्यसको प्रचार प्रसार हुन नसकेको दाबी गर्नुभएको छ ।

आज (बुधबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दशौं महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपूर्वक ढंगले विकास निर्माणको गति अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको दाबी गरेका हुन् ।
उनले भने, ‘योजनाबद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र तदनुसारको क्रियाकलापहरूले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।’

बिमस्टेक, लगानी सम्मेलनलगायत अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उनले गरे । उनले भने, ‘राष्ट्रिय हित, सार्वभौमसत्तालाई संवद्र्धन गरिरहेको र हाम्रा छिमेकी मित्रराष्ट्रहरूको सम्बन्धमा कतै असमझदारी पैदा भइहाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौँ । विकास गर्दै लगेका थियौं । इतिहासमा पहिले कहिल्यै नभएका ठूला–ठूला सकारात्मक लक्ष्यहरू प्रकट भएका थिए ।’

सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदामा पार्टीभित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरू व्यवहारमा भद्दा ढंगले प्रकट हुँदै आएको ओलीको जिकिर छ । उनले भने, ‘खासगरी सञ्चारमाध्यममा पार्टीका नीतिहरू अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइज्जती र अपमान गर्ने र सरकारले गरेका राम्रा उपलब्धिहरूको चर्चा नगर्नेलगायतका थुप्रै प्रयास चलिरहे प्रचारात्मक ढंगले । यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ । जनता दुःखी छन् र निराश छन् ।’

ओलीले सरकार गठनको दुई वर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी पनि गरे । पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्ति जालझेल, षड्यन्त्र, तिकडमका साथ गुटबन्दीमा क्रियाशील भएको जिकिर ओलीको छ । अहिले त्यो खेल विरोधीहरूसँगको साँठगाँठमा प्रवेश गरेको पनि ओलीले टिप्पणी गरे । पार्टीभित्र पार्टी सञ्चालनका लागि अवैध सम्झौता गर्नुपर्ने अवस्था सिर्जना गरिएको पनि उनले बताए ।

उनले थपे, ‘सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्र असाधारण अस्वस्थता सुरु भयो । पदीय आकांक्षाका लागि । अस्वस्थ पदीय आकांक्षाका लागि । जालझेल, षड्यन्त्र, तिकडमबाट, पार्टीभित्रको अस्वस्थ गुटबन्दीबाट अस्थिरता पार्टीमा पैदा गर्न केही तत्वहरू पार्टीभित्र क्रियाशील भए । त्यसले पार्टीभित्र असहज वातावरणतर्फ लग्यो । दुई वर्ष पूरा भइसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो । अरूको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबन्डर मच्चाउन खोजियो । अस्थिरता ल्याउने खेल सुरु भयो । त्यो खेल अब विरोधीहरूसँगको साँठगाँठमा गयो । जे भेटिन्छ त्यसको प्रयोग गर्ने । जे प्रयोग गरेर झटारो हान्न सकिन्छ, पार्टीलाई कमजोर पार्न सकिन्छ त्यो गर्ने । यस खालका प्रयास हुँदै आए ।’

उनले गुटबन्दीमा संलग्न केही व्यक्तिका क्रियाकलापका कारण पार्टी असहज, असामान्य स्थिति र दुर्घटनातर्फ जाँदै छ भन्ने स्थितिसम्म सिर्जना भएको बताए । उनले पार्टीभित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफूलाई साधारण सदस्यता पनि नरहने गरी निष्कासन गरेको पनि स्मरण गरे ।

पार्टीभित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरू बन्न नदिएर अल्झाउने काम भएपछि आफूले संसद् विघटन गरेको उल्लेख गर्दै ओलीले प्रतिनिसिभा पुनर्स्थापनापछिको पहिलो दिनको संसद् बैठकमा भएका क्रियाकलापको पनि चर्चा गरे ।

जनकपुरधाममा प्रधानमन्त्री ओलीको पुतला दहन

जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेको भन्दै जनकपुरधाममा संयुक्त विद्यार्थी संगठनले पुतला दहन गरेको छ।

प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसदलाई पुनः विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका विद्यार्थी संगठनले संयुक्तरुपमा जनकपुरधाम नगरमा प्रदर्शन गर्दै प्रधानमन्त्री पुतला दहन गरेका हुन्।

विद्यार्थीहरुको प्रदर्शन जनकपुरधामको रेल्वे स्टेशन हुँदै भानु चोक, शिव चोक र जनक चोक हुँदै कोणसभामा परिणत भएको थियो।

अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधर अनेरास्ववियु धनुषा, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायतले जनकपुरधाम नगरमा संयुक्त प्रदर्शन गरेका थिए।

प्रदेश १ मा आज ३६८ जना नयाँ संक्रमित थपिए, ७१७ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा बुधबार ७१७ जना कोरोना संक्रमितहरु संक्रमणमुक्त भएका छन् भने ३६८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ ।

त्यस्तै आज मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १-१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, रंगेली, कानेपोखरी र जहदामा १-१ जनामा कोरोना देखिएको छ ।

त्यस्तै, सुनसरीको इटहरीमा ६४, धरानमा ४०, दुहवी र रामधुनीमा ३-३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १ र स्थानीय तह नखुलेको ४, झापाको दमकमा ६६, भद्रपुरमा १३, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, विर्तामोड, बाह्रदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २-२, अर्जुनधारा, कनकाई, हल्दिबारी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, साँघुरीगढी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २, पाँचथरमा १, संखुवासभाको चैनपुरमा १ र भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ६६९ पुगेको छ । सक्रिय संक्रमित ७ हजार २५६ रहेको छ । प्रदेश १ मा आज १ हजार १०२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १९९ महिला र १६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ का विभिन्न अस्पतालमा उपचार गराइरहेका ९ जना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मुलुकभर २८९२ जना नयाँ संक्रमित थपिए, ४१ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५६८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार १८७ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १८ सय ८९ जना र ४ हजार ३८१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ७३ हजार ७४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना कोरोनामुक्त भए, ४१ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५९७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ५६८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ३२ हजार ९४४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ । न्यूज २४ बाट

अभियन्ता भनेर चिनाउने ज्वाला संग्रौला दम्पतीका कीर्ते कागजात फेला

काठमाडौं । अभियन्ताका रुपमा चिनाउने ज्वाला संग्रौला दम्पतीको सरकारी कागजपत्र कीर्ते भेटिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार हिरासतमा राखेर अनुसन्धानका क्रममा संग्रौला दम्पतीको सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको हो ।

हिरासतमा राखेर खनतलासी गर्दै जाँदा संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएको थियो । त्यसपछि ती कागजपत्रलाई प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फर्जी भेटिएको पाइएको जनाइएको छ ।

प्रहरी परिसर काठमाडौंका अनुसार हाल संग्रौलासँग पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र रहेको छ । जुन ४ असार २०७४ मा जारी भएको जन्मदर्तामा गाउँ विकास समिति उल्लेख छ । गाविस खारेज भएर गाउँपालिका भइसकेको अवस्थामा शंका लागेर गाउँपालिकालाई पत्र पठाउँदा संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको अनुसन्धानमा खुलेको जनाइएको छ ।

संग्रौलाका पति उपाध्यायले चाहिँ नाता प्रमाणीकरणको पत्र कीर्ते गरिएको भेटिएको जनाइएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार अछामको मंगलसेन नगरपालिकाबाट उपाध्यायको नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको देखिएको छ ।

साथै, यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साथी खुश्बु (नविता) घिमिरेमाथि हातपात गरेपछि जाहेरीका आधारमा हिरासतमा चलान भएका उनीमाथि जातीय भेदभावको पनि जाहेरी परेको छ ।

जापानमा बसेर सामाजिक सञ्जालमार्फत उग्र स्टाटस लेख्दै चर्चामा आएकी संग्रौला नेपाल आएर आफूलाई अभियन्ताका नाममा चिनाउँदै आएकी थिइन् ।

उनलाई प्रहरीले ६ असारमा कुटपिटको अभियोगमा पक्राउ गरेको थियो । प्रहरीले दुवै पक्षलाई छलफल गराएर प्रहरीले मिलापत्र गराएर घटना सामसुम गराएको थियो । तर महाराजगञ्जमा कार्यरत एक प्रहरीविरुद्ध रंगभेदी अभिव्यक्ति दिएपछि उनी पुनः पुरानो घटनासँगै नयाँ घटनामा मुछिइन् । र, पक्राउ परिन् ।

आफूमाथि रंगभेदी अभिव्यक्ति दिएपछि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका असई मणिकान्त झाले पनि उनीविरुद्ध जाहेरी दिए। र, अहिले उनीमाथि अनुसन्धानका क्रममा कीर्ते गरेका कागजातहरु फेला परेको जनाइएको छ ।

साथै, अभद्र व्यवहारको कसूरमा कानुनमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ भने जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान रहेको छ। न्यूज २४ बाट

एमालेको १० औं महाधिवेशन आयोजक कमिटी खारेज

काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज भएको छ । यससँगै समितिले माधवकुमार नेपालसहितका ११ नेतामाथि गरेको कारबाही निष्प्रभावी भएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । कमिटी बैठकले महाधिवेशनको मिती तोकी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो ।

तर सर्वोच्चले २७ जेठ २०७८ मा महाधिवेशन कमिटीलाई वैधता नदिने गरी फैसला गरेपछि एमालेले फेरि केन्द्रीय कमिटीलाई व्युँताएको छ ।

यससँगै वैशाख १२ गते र जेठ १० गते पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई गरेको कारबाही निष्प्रभावी भएको छ । ‘महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरित गर्ने फैसलासँगै त्यो कारबाही निष्प्रभावी भएको छ’ प्रवक्ता ज्ञवालीले भने, ‘अब त्यो कारबाहीको कुनै सन्दर्भ रहेन ।’

बैठकले पार्टी एकतामा रचनात्मक र सिर्जनात्मक योगदान गर्न नेता कार्यकर्तालाई आव्हान गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । पार्टीलाई एकताबद्ध गर्ने एउटा नयाँ आधार सिर्जना भएको भन्दै उनले भने, ‘त्यो आधारलाई सम्मान गर्दै, कदर गर्दै, पार्टी एकतामा रचनात्मक, सिर्जनात्मक योगदान गर्न नेता, कार्यकर्ताहरुलाई पार्टीले आजको बैठकबाट आह्वान गरेको छ ।’

प्रवक्ता ज्ञवालीका अनुसार केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको छ । साथै स्थायी कमिटीमा ८ नेता मनोनित भएका छन् ।

साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । अनलाइन खबर बाट

‘एउटैको दुवैतर्फ समर्थन भएपछि कसरी प्रधानमन्त्री नियुक्त गर्ने ?’

काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधि सभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उनले राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गरेका हुन् ।

“प्राकृतिक न्यायको सिद्धान्तले पनि राष्ट्रपतिविरुद्ध मुद्दा हाल्न मिल्दैन”, बहसका क्रममा वरिष्ठ अधिवक्ता पन्तले प्रश्न गरे , “उहाँको कदम गलत हो भने विपक्षी किन नबनाएको हो ?” उनले विघटनको सिफारिसलाई राष्ट्रपतिले कार्यान्वयन मात्र गरेका तर्क गरे । वरिष्ठ अधिवक्ता पन्तले एउटाले दल लिएर आयो र त्यही सांसद अर्को दलले लिएर आउँदा प्रधानमन्त्री नियुक्ति हुन नसक्ने तर्क गरेका थिए ।

“प्रधानमन्त्री नियुक्ति गर्न धारा ७६(५) मा दल जरुरी छ, होईन भने ७५ (२) नलेखेको भए हुन्थ्यो, ह्वीप लाग्दैन”, वरिष्ठ अधिवक्ता पन्तले भने, “ह्वीपको प्रश्न कहाँबाट आयो, कारवाही गरेर अगाडि बढ्ने भनेर दलको पत्र आएपछि देउवा नियुक्त गर, संसद् बोलाउ भन्न मिल्छ ? रिट निवेदनमा ५ जनाभन्दा बढी रिट निवेदक भनेर नचिन्ने र १४६ जनाको हस्ताक्षरसहित रिट निवेदक बनाउन नमिल्ने उनको तर्क थियो । त्यसअघि, सहन्यायाधिवक्ता लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धवप्रसाद पुडासैनी र दशरथ पङ्गेनीले बहस गरेका थिए । उनीहरूले संवैधानिक अधिकारअनुसार नै राष्ट्रपतिले काम गरेको तर्क गरेका थिए । द नेपालटप बाट

कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको मूल्य यस्तो छ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यस वर्ष पनि कायम गरेको छ। पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मको मूल्य सार्वजनिक गरेको हो।

यसअघि वैशाख २० गते प्रकाशित सूच्नामा कक्षा २ र ३ को मूल्य प्राविधिक कारणले फरक पर्न गएकाले सच्चाएको पनि जनाइएको छ। केन्द्रले सोहीअनुरुप पाठ्यपुस्तक छपाइ, बिक्री वितरण र खरिद गर्न सम्बन्धित सरोकारवालालाई भनेको छ।

यस्तो छ विषयगत पृष्ठसंख्या र मूल्य विवरण:

लोकसेवा सहितका संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, के हुन्छ मुद्दा

काठमाडौं । लोकसेवा सहितका संवैधानिक आयोगका पदाधिकारी नियुक्ती विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगका अध्यक्ष, आयुक्त एवं सदस्यहरूमा गरिएको नियुक्ती गैरसंवैधानिक भएको भन्दै पुरक रिट दर्ता गराएका हुन्।

रिटको अन्तिम टुंगो नलागेसम्म उनीहरुलाई आयोगहरूको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै पनि कार्य नगराउनु भनी अन्तरिम आदेशको माग गरिएको निवेदक त्रिपाठीले बताए।

असार १० गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २० जनालाई विभिन्न संवैधानिक आयोगको अध्यक्ष एवं सदस्यमा नियुक्त गरेकी थिइन् ।

त्रिपाठीले संविधानको धारा २ सय ९२ को संसदीय सुनुवाइको बाध्यात्मक व्यवस्थालाई छलेर गरिएको नियुक्ती स्वतः बदरभागी हुने रिटमा जिकिर गरेका छन्। रिटको पेशी अहिले तोकिएको छैन ।

उनले यसअघि पनि संवैधानिक आयोगका पदाधिकारीको नियुक्ती विरुद्ध रिट दर्ता गराइसकेकाले बुधबार पुरक रिट दर्ता गराएका हुन्। माग बमोजिम अदालतले आदेश दिएमा लोकसेवा सहितका संवैधानिक आयोग खाली हुन्छन।  खबर सेन्टर बाट

भोली देखि राष्ट्रियसभाको ८औं अधिवेशन शुरु हुँदै

काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१)बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

उहाँले भन्नुभयो, “स्वास्थ्य मापदण्डअनुसार भौतिक दूरी कायम गरी बस्न सकियोस् भनी सभाहलको मर्मत सुधार गर्नेलगायत सम्पूर्ण काम पूरा भएको छ, उपकरणलाई पनि चुस्त तुल्याइएको छ, छुटेका सदस्यलाई खोप लगाउने र एन्टिजेन परीक्षण गर्ने काम भने आज भइरहेको छ ।”

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ ।

यद्यपि, बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ । अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ ।

बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ । प्रतिनिधिसभाविहीन अवस्थामा शुरु हुन लागेको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न । प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजीवीसँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई गम्भीर बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ ।

सरकारले पनि लागेका लाञ्छना र प्राप्त उपलब्धिबारे सदनमार्फत जनतालाई स्पष्ट पार्न मौका मिलेको छ ।
राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदै आएको थियो । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको हो ।

एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । पछिल्लो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रियसभाको अधिवेशन बेग्लै आह्वान हुने अवस्था आएको हो ।

राष्ट्रियसभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा शशिकला दाहाल हुनुहुन्छ । हाल राष्ट्रियसभामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबाट निर्वाचित तथा तीनजना मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीत हुनुहुन्छ ।

पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा खिमलाल देवकोटा (वाग्मती, स्वतन्त्र) र दृगनारायण पाण्डे (लुम्बिनी, कांग्रेस) अधिवेशनम नयाँ प्रवेशी हुनुहुनेछ । न्यूज २४ बाट

झलनाथ खनालको उपचार खर्च एमालेले व्योहोर्ने

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने भएको छ ।

राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने जानकारी गराएका हुन् ।

मृगौलासम्बन्धी समस्या देखिएपछि वरिष्ठ नेता खनाल हाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका छन् । ज्योतिन्यूज बाट

नाला निर्माणमा गुणस्तरहीन काम : कमसल इँटा, कमजोर ढलान

राजविराज ।  सप्तरीको तिलाठी कोइलाडी–८ मा निर्माणाधीन नालामा गुणस्तहीन काम भएको पाइएको छ । स्टिमेटमा तीन इन्च पीसीसी ढलान गर्नुपर्ने उल्लेख भए पनि अहिले एक इन्च ढलान मात्रै गरिएको छ ।  सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजको ५० लाख रुपैयाँ लागतको नालामा इँटासमेत कमसल प्रयोग गरिएको छ । यस्तो बेथितिबारे उपभोक्ता समिति अध्यक्ष, स्थानीय जनप्रतिनिधि र सम्बन्धित योजनाका प्राविधिकसम्म जानकार छन् । तर काम निरन्तर चलिरहेकै छ ।

भवन निर्माण आयोजनाको एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत वडा नम्बर ८ तोपास्थित सडकदेखि उत्तर दुवैतर्फ २ सय ५७ मिटर नाला निर्माण भइरहेको हो । नाला बनाउन खनिएको खाल्डोमा वर्षाका कारण जमेको पानी र हिलोसम्म नहटाई इँटाको सोलिङ लगाएर ढलान गरिँदै छ । प्रयोग गरिएको इँटा पनि एक नम्बर गुणस्तरको हुनुपर्नेमा दुई र तीन नम्बरको पाइएको छ ।

मंगलबार निर्माणस्थल पुगेका योजनाका इन्जिनियर रोशन झाले पीसीसी ढलान स्टिमेटमा तीन इन्च रहे पनि एकदेखि डेढ इन्च मात्र गरिएको र कमसल खालको इँटा प्रयोग भइरहेको स्विकारे । ‘स्टिमेटअनुसार तीन इन्च पीसीसी ढलान हुनुपर्ने हो तर मंगलबार केही ठाउँमा खनेर जाँच गर्दा एक इन्च मात्र देखियो,’ झाले भने, ‘इँटा पनि कमसल खालको आएको छ ।’ कमसल खालको इँटा हटाएर स्टिमेटअनुसार काम गर्न उपभोक्ता समितिलाई भनिसकिएको उनले बताए ।

तिलाठी कोइलाडी गाउँपालिका–८ का वडा सदस्य शिवनारायण मण्डलले पनि नाला निर्माणमा कमसल इँटा प्रयोग भइरहेको बताए । ‘हामीले पनि त्यस्ता इँटा प्रयोग नगर्न भनेका छौं,’ उनले भने ।

उक्त नाला निर्माण गर्न गठित उपभोक्ता समितिमा सोही वडाका शंकर खंग अध्यक्ष छन् । उनले ठेकेदारले नै कमसल काम गरेको आरोप लगाए । ‘म नाम मात्रको उपभोक्ता समिति हुँ,’ उनले भने, ‘खराब इँटा प्रयोग भइरहेको छ, तर ठेकेदार सुन्दैनन् ।’

स्थानीयका अनुसार उपभोक्ता समिति बनाइए पनि कार्यालयले आफ्नै अनुकूलको ठेकेदारलाई उक्त योजना जिम्मा दिएको हो । भवन निर्माण आयोजनाका प्राविधिकको समेत मिलेमतोमा गुणस्तरहीन काम भइरहेको उनीहरूको दाबी छ ।

आयोजनाका निमित्त प्रमुख सुरेन्द्रकुमार साहले भने नाला निर्माणमा गुणस्तरहीन काम भइरहेको पाइए त्यसलाई रोकेर गुणस्तरीय बनाउने बताए । कान्तिपूर बाट

बाढीले पूर्व-पश्चिम राजमार्गको डाइभर्सन बगायो

परासी । अविरल वर्षापछि आएको बाढीले पश्चिम नवलपरासीको सुनवलमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बुटवल–नारायणगढ सडक विस्तारका क्रममा सुनवल नगरपालिकका–५, वनकट्टी र वडा नम्बर १३ बडेरामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । डाइभर्सन बगाएपछि सवारी साधन बिहान ४ बजेदेखि रोकिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी राजु लामाले बताए । डाइभर्सनमा राखिएको ह्युम पाइपसमेत बगाएको छ । अहिले डाइभर्सन मर्मतको काम भइरहे पनि लगातार पानी परिरहेकाले समस्या भएको डीएसपी लामाले बताए । सवारीसाधनको चाप बढी भएपछि प्रहरीले वैकल्पिक बाटो हँुदै सवारी साधनलाई गन्तव्यमा पठाउने तयारी गरेको छ ।  कान्तिपूर बाट

शेयरमा लगानीकर्ताको आकर्षण

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागे पनि लघुवित्त उपसमूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा आज तीव्र उतारचढावका भई अधिकांश उपसमूहको शेयर मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार  लघुवित्त उपसमूहको शेयर २६।४ बिन्दुले उकालो लागेको छ । नेप्से भने ४७.४९ बिन्दुले घटेर दुई हजार ८२८मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.८७ बिन्दुले घटेर ५२३.७० मा सिमित भयो । कूल २२३ कम्पनीको एक करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर रु छ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको मात्रै शेयर उकालो लागेको हो । बैंकिङ २६.४४, व्यापार ४७.५३, होटल तथा पर्यटन १.३२, विकास बैंक १६७.१३, जलविद्युत् ७६.०३, वित्त ८७.६१, निर्जीवन बीमा २५१.५३, उत्पादन ३४.९८, अन्य ५१.३३, जीवन बीमा १६५.९८, सामूहिक लगानी कोष ०.०७ र लगानी ३.८४ ले घट्दा लघुवित्त उपसमूह भने २६.४ बिन्दुले उकालो लाग्यो ।

कारोवारका आधारमा राधी विद्युत् कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता रु ७९० मा रु ४९ करोड ८३ लाख २५ हजार ९५० बराबरको कारोवार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु ३६ करोड ७८ लाख ५० हजार ५०, एचआइडिसिएल रु २९ करोड ६७ लाख ५२ हजार ७४४, नेपाल इन्स्योरेन्स कम्पनी रु २३ करोड ९९ लाख ६८ हजार ३६० र नेपाल पुनरबीमा कम्पनी रु १६ करोड ५३ लाख ९९ हजार ६०७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

ओरियण्टल होटल ५.७६, गुराँस लघुवित्त ४.२५, सामुदायिक लघुवित्त ३.६६, तारागाँउ रिजेन्सी होटल २.८४ र सिभिल लघुवित्तका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । त्यस्तै, प्रोगेसिभ फाइनान्स ८.५५, एचआइडिसिएल ८.०७, वेष्ट फाइनान्स कम्पनी ८.०१, श्री इन्भेष्टमेन्ट फाइनान्स ७.१८ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ६.९० प्रतिशतले गुमाए ।

चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङ सुरु

चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङ सुरु भएको छ । रेड स्टूडियोमा चलचित्रको डबिङ सुरु गरिएको निर्माणपक्षले बताएको छ । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।

चलचित्रका लागि मुख्य कलाकारहरु नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले डबिङ गरेका छन् । यो चलचित्रमा शिव ढकालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । यो चलचित्रलाई नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा प्रदर्शन गरिने निर्माणपक्षले जानकारी दिएको छ । नेपालमा भने दशैं र तिहारको विचमा रिलिज गरिनेछ । बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा पुष्प र साम्राज्ञीको साथमा सरोज खनाल, सन्दिप क्षेत्री, खगेश्वर पुन मगरको अभिनय छ ।