४ आश्विन २०८३, आईतवार १८:०३ – Nagarikabhiyan : National News

देवानगञ्ज कोवाखोज मुख्य सडकका खाल्डाखुल्डी मर्मत सुरु, आवतजावत सहज हुने

देवानगञ्ज । देवानगञ्ज गाउँपालिकाको विशेष सहयोगमा देवानगञ्ज-कोवाखोज मुख्य बाटोअन्तर्गत देवानगञ्ज बजारदेखि यादव टोलसम्मको सडक खण्डमा रहेका मुख्य खाल्डाखुल्डी मर्मत सम्भार कार्य आजदेखि सुरु गरिएको छ।
​
सडकको जीर्ण अवस्थाका कारण सर्वसाधारण तथा सवारी साधन सञ्चालनमा सास्ती हुँदै आएकोमा गाउँपालिकाले मर्मत कार्यलाई अघि बढाएको हो। मर्मतका लागि गाउँपालिकाको तर्फबाट आवश्यक ग्राभेल तथा गिट्टीको व्यवस्थापन गरिएको छ।

​त्यस्तै सङ्घीय सांसद लालविक्रम थापाको विशेष पहल तथा हुलाकी राजमार्गसँगको सहकार्यमा ग्रेडर (Grader) उपलब्ध गराई मर्मत कार्यलाई थप तीव्रता दिइएको छ।
​
सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न भएसँगै स्थानीय बासिन्दा, पैदलयात्री तथा सर्वसाधारणलाई आवतजावतमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले सार्वजनिक पूर्वाधारको सुधार र सहज आवागमनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

देवानगञ्जमा संविधान दिवसका अवसरमा कप्तानगञ्ज घटनाका शहीद परिवार तथा घाइतेहरू सम्मानित

देवानगञ्ज । संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८३ को शुभ अवसरमा सुनसरीको देवानगञ्ज गाउँपालिकामा साउन १० गते देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका शहीदका परिवार तथा घाइतेहरूलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ।
​गाउँ कार्यपालिकाको कार्यालय देवानगञ्ज सुनसरीको आयोजनामा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको हो।
​कार्यक्रममा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव र प्रमुख प्रशासकीय अधिकृत बाबुराम घिमिरेले संयुक्त रूपमा साउन १० गतेको कप्तानगञ्ज घटनाका शहीद परिवारजन तथा घाइतेहरूलाई सम्मान पत्र कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो।

​समारोहलाई सम्बोधन गर्दै देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन
​साउन १० गते कप्तानगञ्जमा घटेको दुःखद घटनामा ज्यान गुमाउनुभएका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँहरूले दिएको योगदानको उच्च कदर गर्दै गाउँपालिकाले शहीद परिवार र घाइतेहरूलाई सधैं सम्मान र सहयोग गर्नेछ। स्थानीय सरकार शहीद परिवारको सुख-दुःखमा सधैं साथमा रहनेछ।

भोटेकोशी बाढी प्रभावितलाई देवानगञ्ज गाउँपालिकाद्वारा साढे १७ लाख बढी सहयोग

देवानगञ्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्थापनाका लागि सुनसरीको देवानगञ्ज गाउँपालिकाले रु. १७ लाख ५२ हजार २ १३ सहयोग प्रदान गरेको छ।
​
गत भाद्र १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। विपद्को यस कठिन घडीमा मानवीय दायित्व बोध गर्दै गाउँ कार्यपालिकाको मिति २०८३/०५/१६ गतेको निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
​गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरूको स्वेच्छिक योगदानबाट सो रकम सङ्कलन गरिएको छ ।
​जनप्रतिनिधिहरू (१ महिनाको सेवा सुविधा): रु. ४,५८,०००/-
​गाउँपालिका कर्मचारीहरू (१ देखि ५ दिनको तलब): रु. ४,३९,४९९/-
​विद्यालय शिक्षक तथा कर्मचारीहरू (१ देखि ५ दिनको तलब): रु. ८,५४,७१४/-
​
देवानगञ्ज गाउँपालिका परिवारले प्राकृतिक विपद्‌मा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। विपद्का वेला एकापसमा सहयोग र ऐक्यबद्धता जनाउनु नै सच्चा मानवीय धर्म भएको गाउँपालिकाले जनाएको छ।