८ कार्तिक २०८३, शनिबार २०:५८ – Nagarikabhiyan : National News

देवानगञ्जमा जनता समाजवादी पार्टीको शुभकामना आदानप्रदान तथा अगुवा कार्यकर्ता भेला सम्पन्न

देवानगञ्ज । नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, छठ तथा नेपाल संवत्को अवसर पारेर सुनसरीको देवानगञ्जमा जनता समाजवादी पार्टी (जसपा) नेपालको आयोजनामा शुभकामना आदानप्रदान तथा अगुवा कार्यकर्ता भेला भव्य रूपमा सम्पन्न भएको छ।
​कार्यक्रममा पार्टीका केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहका नेता एवम् कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पार्टीका नेताहरूले शुभकामना व्यक्त गर्दै आपसी भाइचारा, सामाजिक सद्भाव र एकता कायम राख्न सबैमा आग्रह गरे।
​
​भेलामा स्थानीय तहका सयौँ अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो भने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका नवप्रवेशीहरूलाई स्वागत समेत गरिएको थियो।

काेशि प्रदेशकाे मन्त्रीले उद्घाटन गरेको सांस्कृतिक कार्यक्रममै अश्लील नृत्य प्रदर्शन

देवानगञ्ज । धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको थलो मानिने मन्दिर प्राङ्गणमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा अश्लील गीत र अशोभनीय नृत्य प्रदर्शन भएपछि स्थानीय स्तरमा तीव्र आक्रोश र चौतर्फी आलोचना सुरु भएको छ।
​
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर १(साविक मध्यहर्षाही-५) मा रहेको दुर्गा भवानी मन्दिर प्राङ्गणमा लागिरहेको दुर्गा पूजा मेलाका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सार्वजनिक मर्यादा र धर्म-संस्कृतिको खिल्ली उडाउने गरी अश्लील गतिविधि प्रदर्शन गरिएको हो।
​
गम्भीर विषय त के छ भने, समाजमा उच्च नैतिक र शासकीय जिम्मेवारीमा रहेका कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद मेहताले सो कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। प्रदेश सरकारको बहालवाला जिम्मेवार मन्त्री स्वयम्‌ले उद्घाटन गरेको र जनप्रतिनिधिहरुकै उपस्थिति रहेको मञ्चमा यसरी अश्लील नृत्य र भद्दा गीतहरू बजाइनुले समाजमा ठूलो प्रश्नचिह्न खडा गरेको छ।
​
स्थानीय प्रत्यक्षदर्शी र सर्वसाधारणका अनुसार धार्मिक मेलाको नाममा आयोजना गरिएको कार्यक्रममा भित्त्याइएको यस प्रकारको विकृतिले बालबालिका, युवायुवती र समाजको समग्र नैतिक धरातलमा नकारात्मक असर पुर्‍याएको छ।
“धार्मिक तथा सांस्कृतिक संरक्षणको साटो मन्दिर परिसरजस्तो पवित्र ठाउँमै सार्वजनिक मर्यादाविपरीत अश्लीलता पस्किनु र त्यसमा सरकारका मन्त्री मूकदर्शक बन्नु वा संरक्षण हुनु दुखद हो,” स्थानीय अगुवाहरूले आक्रोश व्यक्त गरे।
​
राज्यको उच्च पदमा आसीन व्यक्ति सहभागी हुने कार्यक्रमको गरिमा, विषयवस्तु र उद्देश्यबारे पूर्वतयारी तथा अनुगमन हुनुपर्नेमा उल्टै विकृतिलाई बढावा दिने गरी अश्लील गतिविधि सञ्चालन हुनुले प्रदेश सरकार र जनप्रतिनिधिको भूमिकामाथि नै गम्भीर नैतिक प्रश्न उब्जाएको छ।
​
नागरिक समाज तथा स्थानीयवासीहरूले धार्मिक तथा सांस्कृतिक मेलाहरूका नाममा हुने यस्ता अश्लील र सामाजिक मर्यादाविपरीतका कार्यहरू तत्काल रोक्न, यस्ता गतिविधिमा संलग्न आयोजकमाथि कारबाही गर्न र भविष्यमा धार्मिक स्थलहरूको पवित्रता जोगाउन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

यस विषयमा बुझन आयाेजक समिति संग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।

देवानगञ्जमा लामो समय सेवा गरेका २८ पूर्वशिक्षक तथा कर्मचारी सम्मानित

​देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिकाले शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्‍याएर अवकाश भएका २८ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार आयोजित एक कार्यक्रमका बिच उहाँहरूलाई सम्मान गरिएको हो।
​
गाउँपालिकाको सभाहलमा आयोजित ‘सम्मान तथा शुभकामना कार्यक्रम’ मा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहता र विशिष्ट अतिथि उपाध्यक्ष कुमारी विभा देवीले सम्मानित व्यक्तित्वहरूलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।
​
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मेहताले शैक्षिक विकास र जनशक्ति निर्माणमा निवृत्त शिक्षक तथा कर्मचारीहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। गाउँपालिकाकी उपाध्यक्ष विभा देवीले सम्मानित व्यक्तिहरूको लगनशीलता र समर्पण नयाँ पुस्ताका लागि अनुकरणीय रहेको बताउनुभयो।
​
सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम घिमिरे, वडा नं. ७ का वडाध्यक्ष सूर्यनारायण यादव, प्रशासन प्रमुख डिल्लीप्रसाद पोखरेल, शिक्षा शाखा प्रमुख खनाल तथा लेखा अधिकृत बिन्देश्वर यादव लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।