१६ पुष २०७७, बिहीबार २०:११ – Nagarikabhiyan : National News

वामदेव गौतमलाई उपप्रधानसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिँदै ओली, बादल पनि कन्भिन्स!

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानसहित गृहमन्त्री बनाउने भएका छन् ।

वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सरकारबाट फिर्ता बोलाएर ओलीले वामदेवलाई उपप्रधानमन्त्री बनाउने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

ओलीले वामदेवलाई गृह मन्त्रालयको जिम्मेवारी दिने र रामबहादुर थापा बादललाई रक्षा मन्त्रालयमा सार्ने तयारी गरेका छन् । आफ्नो समूहलाई बलियो बनाउन ओलीले बादलाई पनि कन्भिन्स गरिसकेका छन् । वामदेवलाई पनि उपप्रमसहित गृह मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरिएको छ । वामदेवले ग्रीन सिग्नल दिएको बालुवाटार स्रोतको दावी छ । यसले ओली अझै बलियो हुनेछन् ।

ओलीविरुद्ध प्रचण्डसामु मोहनविक्रमले लगे खतरनाक योजना, बालुवाटारमा हलचल !

काठमाडौं । बिहीबार प्रचण्ड निवास खुमलटारमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा महामन्त्री सिंहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबै राजनीतिक दल एक हुनुपर्ने योजना अघि सारेका छन् ।

ओलीको असंवैधानिक कदमविरुद्ध एकजुट भएर आन्दोलन गर्नुपर्ने उनले बताएका हुन् । महामन्त्री सिंह प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न बिहबिार दिउँसो मेडिसिटी अस्पताल पुगेको थिए।

सीताको डिस्चार्ज भइसकेपछि उनकै निवासमा पुगेर भेट गरी स्वास्थ्य लाभको कामनासँगै प्रचण्डसँग समसामयिक विषयमा राजनीतिक छलफल गरेको बताइएको छ ।

पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब बचत

नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो ।

उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा रु १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो । इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ ।

पाँच वर्षदेखि नाफामा

लामो समयदेखि घाटामा रहेको निगम आर्थिक वर्ष २०७२÷०७३ देखि (पाँच वर्ष यता) नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२÷०७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३÷०७४ मा रु नौ अर्ब ४५ करोड, २०७४÷०७५ मा रु तीन अर्ब ५८ करोड, २०७५÷०७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६÷०७७ मा रु १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

निगमले आर्थिक वर्ष २०७५÷७६ मा रु २९ करोड रहेको चुक्ता पूँजीलाई रु दश अर्ब पूँजी वृद्धि गरेर रु एघार अर्ब पु¥याएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६÷७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाइएको छ ।

कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही होइन : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले लोडसेडिङको अन्त्य घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको दाबी गरेका हुन्।उनले दुई सय ५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्य गरेको बताए। कुलमान घिसिङले विद्युत चुहावट मात्र नियन्त्रण गरेको उनको भनाई छ। मुख्यमन्त्री पोखरेलले लोड्सेडिङ अन्त्यको आधार प्रधानमन्त्री ओलीले तय गरेको दाबी गरे।

पर्वतमा बाल यौन दुराचारका घटनामा उल्लेखनीय वृद्धि

कोभिड–१९ बाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । अमानवीय र पाशविक घटना छताछुल्ल भएका छन् । बालबालिका एवं महिलामाथिको हिंसालाई मानवअधिकारको मुद्दाका रूपमा सम्बोधन गर्न नसकिएका कारण पर्वतमा अघिल्लो वर्षको तुलनामा यो वर्ष बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा वृद्धि भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाल यौन दुराचारका घटनामा उल्लेखनीय वृद्धि भएका छन् ।

सन् २०२० को जनबरीदेखि डिसेम्बरसम्म प्रलेखिकरण गरेको तथ्याङ्कअनुसार पर्वतमा बालयौन दुराचारका घटना मात्रै ११ वटा रहेका छन् । तीमध्ये पाँच बालिका यौन दुर्व्यवहारबाट पीडित भएका छन् भने ६ बालिका बलात्कार घटनाबाट पीडित भएका हुन् । अघिल्लो अङ्ग्रेजी वर्ष २०१९ को सङ्कलित तथ्याङ्कअनुसार बालयौन दुर्व्यवहारका घटना सात, महिला बलात्कारका घटना चार, हत्याका दुई, बम विष्फोट १, घरेलु हिंसाका १० र भौतिक सम्पत्ति क्षतिको एक गरी २९ ओटा घटना अभिलेख गरिएको थियो ।

यो अङ्ग्रेजी वर्षमा बालयौन दुव्र्यवहारका पाँच, बालिका बलात्कारका ६, महिला बलात्कारका एक, घरेलु हिंसाका १६, परिवारका सदस्यबाट हत्या एक, गैर न्यायिक गिरफ्तार चार र आत्महत्या दुरुत्सहानको एउटा घटना सार्वजनिक गरेको छ ।

पर्वतको विहादी गाउँपालिकाका विभिन्न वडामा आफ्नै बाबुबाट तीन बालिका पीडित बनेका छन् । २०७६ पुसदेखि २०७७ पुस सम्मको इन्सेकको तथ्याङ्कअनुसार तीन वर्षीया बालिकादेखि १९ वर्षीया बालिकासम्म जन्मदिने बाबुबाट पीडित बनेका हुन् ।

निर्वाचन आयोगले माघ १५ देखि मतदाता नामावली अद्यावधिक गर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १५ गतेदेखि देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहमा रहेका केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका हुन् । आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

उक्त अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गएर मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन आयोगले आग्रह समेत गरेको छ । मृत्यु भएका वा बसाइँसराइ गएका वा दोहोरो नाम रहेका मतदाताके नाम हटाउन सूचना दिन तथा झुठ्ठा विवरण दिइ कोही कसैले मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्धमा उजुर दिन पनि आयोगले सबैमा आग्रह गरेको छ ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको मध्यावधि चुनाव गर्ने घोषणा गरेको भन्दै आयोगले पुस ६ गतेबाटै मतदाता नामावली दर्ता कार्य स्थगित समेत गरिसकेको छ ।

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

 काठमाडौं । उखु किसानको बक्यौता भुक्तानी नदिएको अभियोगमा पश्चिम नवलपरासीस्थित लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पश्चिम नवलपरासी प्रहरीले आवश्यक अनुसन्धानका लागि उपस्थित गराइदिन पत्रचार गरेपछि पर्सा प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो ।

अग्रवाललाई नियन्त्रणमा लिएर नवलपरासी पठाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी मनोजित कुँवरले जानकारी दिनुभयो । रेडियो कान्तिपुरमा लेखएिको छ । यसअघि सरकारले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार वटा सुगर मिल सञ्चालकलाई पक्राउ गरी ठगीमा कारबाही अघि बढाउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिएको थियो । गृह मन्त्रालयले सलार्हीको अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि, इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि, लुम्बिनी सुगर मिल पश्चिम नवलपरासी तथा रौतहटको श्रीराम सुगर मिलका सञ्चालकलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

लुम्बिनी सुगर मिलले उखु किसानलाई दिन बाँकी रहेको ९ करोड मध्ये १ करोड ३६ लाख रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ ।

लोक सेवा आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

काठमाडौं । लोक सेवा आयोगले बिहीबार आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

नयाँ वर्षसँगै दक्षिण कोरियामा कामदारको तलब बढ्यो

सोल ।  नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्यूनतम तलब वृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन पाउने भएका छन् । योवर्ष कोरोना महामारीका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ।

दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने कामदारको न्यूनतम ज्याला महिनामा १८ लाख २२ हजार ४ सय ८० कोरियन वन अर्थात् झन्डै १ लाख ८२ हजार रुपैयाँ हुनेछ । साथै ८ घन्टा भन्दा बढि काम गरे बापत ‘ओभरटाइम’ र सार्वजानिक बिदाहरुमा काम गरे प्रतिघन्टा १३ हजार वन भन्दा बढि ज्याला पाउनेछन् । त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको काम गर्ने कम्पनीमा रात्रि भत्ता हुनेछ ।

गत जुलाईमा तलब निर्धारण समितिले आठौं पटक छलफल गर्दा पनि तलब कति बढाउने भन्ने सहमति नभएपछि नवौं बैठकले बहुमतका आधारमा यो तलब निर्धारण गरेको हो । सो बैठक कामदार पक्षले बहिस्कार गरेको थियो । समितिमा कामदार, व्यवसायी र सरकारी पक्षको ९/९ जना सदस्य रहने व्यवस्था छ ।

व्यवसायीहरुले गत वर्षको तलबमा २.१ प्रतिशत कटौती गरेर ८ हजार ४ सय १० वन बनाउने माग राखेको थिए भने कामदार पक्षले १६.४ प्रतिशत वृद्धि गरेर १० हजार वन बनाउन माग राखेका थिए ।

वृद्धि भएको तलबबाट दक्षिण कोरियामा रहेका ४० लाख कामदारसँगै ३५ हजार भन्दा बढी नेपाली कामदार पनि प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले निर्वाचनका ताका सन् २०२०/२१ सम्म कामदारको तलब प्रतिघन्टा १० हजार कोरियन वन बनाउने जनाएका थिए । तर कोरोना भाइरसको महामारीका कारण यस पटक उल्लेखनीय रुपमा तलब वृद्धि नभएको बताइन्छ ।

सन् २०१८ मा १६.४ र सन् २०१९ मा ११ प्रतिशत तलब बढाएको थियो । साना तथा मझौला व्यवसायीले व्यापक विरोध गरेपछि गत वर्ष २.९ प्रतिशत तलब बढेको थियो ।

स्वास्थ्य विज्ञकाे चेतावनी : जाडोमा रक्सी नपिउनुस्, ज्यान जाला !

भारतको मौसम विभागले दिल्लीसहित उत्तर भारतका धेरै क्षेत्रमा बुधबारदेखि केही दिन शीत लहर चल्ने र तापक्रम निकै कम हुने सूचना जारी गरेको छ।

दिल्ली एनसिआर, हरियाण, पन्जाब र चन्डीगढमा केही दिनयता तापक्रम शून्य डिग्री आसपास रहेको छ।

मौसम विभागको चेतावनी  

भारतको मौसम विभागले निर्देशिका जारी गर्दै त्यहाँका नागरिकलाई रक्सी नपिउन सुझाव दिएको छ। किनकि रक्सी पिउँदा शरीरको तापक्रम झन् घट्छ।

यस विषयमा बिबिसीले भारतीय मौसम विभागका क्षेत्रीय पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवसँग जिज्ञासा राखेको छ।

जवाफमा उनले भनेका छन्, ‘दिल्ली एनसिआर क्षेत्रमा अहिले पनि शीतलहर जारी छ। तापक्रम ४ डिग्री वा योभन्दा कम देखिएको छ। यस्तो स्थितिमा सकेसम्म घरबाट बाहिर निस्कन हुँदैन। बिहानै यात्रामा निस्कियौं भने पारदर्शिता (भिजिबिलिटी) पनि कम हुन्छ। यस्तो बेला गाडी बत्ती बालेर विस्तारै चलाउनुपर्छ। साथै यस्तो मौसममा रक्सी पनि पिउन हुँदैन, किनकि यसले शरीरको तापक्रम झन् घटाउँछ।’

रक्सी नपिउन चेतावनी किन?  

भारतीय मौसम विभागले गत २५ तारिखमा जारी गरेको निर्देशिकामा पनि रक्सी नपिउन चेतावनी दिइसकेको छ। यसमा प्रश्न उठ्छ– आखिर मौसम विभागले यस्तो चेतावनी किन दिइरहेको छ?

बिबिसीले गरेको यो प्रश्नमा मौसमविद् श्रीवास्तवले अगाडि भने, ‘यस विषयमा स्वास्थ्य विज्ञले अनुसन्धान गरेका छन्। त्यही आधारमा यस्तो चेतावनी जारी गरेका हौं।’

आम धारणा के छ भने रक्सी पिउँदा शरीर झन् तात्तिन्छ।

यस्तो अवस्थामा मौसम विभागले रक्सी नपिउन जारी गरेको चेतावनी कतिको वैज्ञानिक छ त भन्ने विषयमा बिबिसीले स्वास्थ्य क्षेत्रका केही विशेषज्ञसँग कुराकानी गरेको छ।

के भन्छ विज्ञान?  

मानिसको शरीरको मूल तापक्रम ३७ डिग्री हुन्छ। तर जब तपाईंको आसपासको तापक्रम घट्न थाल्छ, तब शरीरले आफ्नो मूल तापक्रम कायम राख्न ऊर्जाको व्यवस्था गर्न थाल्छ। तर जब शरीरको तापक्रम सीमाभन्दा तल झर्न थाल्छ तब तपाईं हाइपोथर्मियाको सिकार बन्नुहुन्छ।

मौसम विभागको चेतावनीअनुसार दिल्ली एनसिआर, पन्जाब, हरियाणामा अहिले जुन तापक्रम छ, त्यस्तो वातावरणमा धेरै बेर बस्ने मानिसलाई हाइपोथर्मिया हुने जोखिम हुन्छ।

सरल शब्दमा जब शरीरको मूल तापक्रम सीमाभन्दा धेरै कम हुन थाल्छ तब हाइपोथर्मिया हुन थाल्छ।

अब प्रश्न उठ्छ– कम तापक्रम भएको स्थानमा रक्सी पिउँदा शरीरलाई के असर हुन्छ त?

दिल्लीस्थित एलएनजेपी अस्पतालका सीएमओ डा. ऋतु सक्सेना रक्सी र जाडोबीचको सम्बन्धबारे यसरी बताउँछिन्। उनी भन्छिन्, ‘जब तपाईं रक्सी पिउनुहुन्छ तब तपाईंको शरीरमा ‘भेजो डायलेसन’ हुन्छ। जसका कारण तपाईंका हात, खुट्टाका रक्तनलीको विस्तार हुन्छ र पहिलेभन्दा बढी मात्रामा रक्त प्रवाह हुन थाल्छ। जसले गर्दा तपाईंलाई गर्मीको महसुस हुन्छ। यसकारण हामीलाई लाग्छ, पश्चिमी मुलुकका मानिस रक्सी बढी पिउँछन्, जहाँ ज्यादै चिसो हुन्छ।’

तर वास्तवमा रक्सीका कारण हात, खुट्टामा रगतको मात्रा बढ्छ र गर्मीको महसुस हुन्छ र  मानिस आफ्नो शरीरका ज्याकेट, स्वेटरजस्ता न्याना कपडा उतार्न थाल्छन्। तर उनीहरूले कपडा फुकाल्छन् तब शरीरको मूल तापक्रम घट्न थाल्छ। तर हामीलाई थाहा हुँदैन कि यो हाम्रो शरीरका लागि निकै खतरनाक हुन सक्छ।’

रक्सीले तापक्रम बढाउँदैन भने गर्मी किन हुन्छ त भन्ने प्रश्नमा म्याक्स हेल्थकेयरको औषधि विभागका सहनिर्देशक डा. रोमेल टिक्कु भन्छन्, ‘अक्सर तपाईंले रक्सी ज्यादै पिउने मानिसको अनुहार रातो रातो भएको देख्नुभएको होला। किनकि रक्सीका कारण उसका बाहिरी अंग जस्तै ः अनुहार, हात, खुट्टाका रक्त नलीमा रगतको प्रवाह बढ्छ। यसले गर्मीको महसुस गराउँछ किनकि शरीरको भित्री रगतको मात्रा बाहिरी अंगमा सर्छ र शरीरको मूल तापक्रम घट्न जान्छ।’

यसकारण चिसो मौसममा रक्सी पिउनुहुन्छ र धेरै पिउनु हुन्छ भने तपाईंको शरीरको तापक्रम कम हुन्छ। रगतको प्रवाह बढ्ने कारण तपाईंलाई पसिना पनि आउँछ, जसले शरीरको तापक्रमचाहिँ झन् कम गराउँछ। तसर्थ तपाईं चिसो मौसममा रक्सी पिउनुहुन्छ भने समस्या हुन सक्छ।’

अब प्रश्न उठ्छ– जाडोमा रक्सी पिउँदा ज्यानै पनि जान सक्छ?

डा. ऋतु सक्सेनाका अनुसार जाडोमा ज्यादै रक्सी पिइयो भने ज्यानै जाने खतरा पनि हुन्छ।

उनी भन्छिन्, ‘यदि तपाईं चिसो मौसममा धेरै रक्सी पिउनुहुन्छ भने तपाईंले कपडा ठीकसँग लगाउनुहुन्न। रक्सीका कारण तपाईंको दिमागमा असर पर्छ। जसले गर्दा तपाईंलाई थाहा हुँदैन कि म कहाँ कुन अवस्थामा छु? यस्तो अवस्थामा जब तपाईंको शरीरको तापक्रम ३७ डिग्रीभन्दा तल झर्छ र बिस्तारै बिस्तारै तपाईंमा ‘हाइपोथर्मियाको असर देखिन थाल्छ। हाइपोथर्मियाले मानिसलाई कोमामा पुर्याउन सक्छ र ज्यानै पनि जान सक्छ।’ बिबिसी हिन्दीबाट भावानुवाद

विद्युत प्राधिकरणले निकाल्यो लोडसेडिङको सूचना !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चार वर्षपछि लोडसेडिङलाई निरन्तरता दिने गरी बिजुली कटौती गर्न थालेको छ।

प्राधिकरणको वर्तमान नेतृत्वले ‘लोड व्यवस्थापन’ भन्दै ललितपुरका विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचना नै प्रकाशित गरेको छ । काठमाडौ बानेश्वरको लोड व्यवस्थापन गर्न ललितपुरका चापागाउँ, हरिसिद्धि, र खुमलटारस्थित रेडियो नेपाल फिडर १ देखि ३ घण्टा सम्म बन्द गर्न सूचना निकालिएको छ। चापागाउँमा बिहान ९ बजेदेखि १० बजे सम्म, हरिसिद्धिमा १२ बजे देखि २ बजेसम्म र खुमलटारस्थित रेडियो नेपालमा १२ बजे देखि ३ बजे सम्म विद्युत आपूर्ति रोकिने छ ।

लोडसेडिङ गराउनकालागि अहिले लोड व्यवस्थापनलाई बाहना बनाइएको छ ।

पछिल्ला दिनमा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या बढेको अनुभव सबैले गरेका छन् । गतको चार वर्षको तुलनामा यो साल धेरै बत्ती गएको भन्दै प्राधिकरणप्रति असन्तुष्टि पोखिरहेका छन् ।दैनिक अनलाइनबाट

विद्युतका आम उपभोक्ता प्राविधिक कारण मात्रै लाइट काटिने समस्या बढेको हैन कि भनेर शंका गरिरहेका छन् ।

मंगलबार प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक शाक्यले त्यसलाई बल पुग्ने गरी मागले नधाने ‘फोर्स लोडसेडिङ’ गर्नुपर्ने अवस्था रहेको स्वीकार गरेका छन् ।

शाक्यले भनेका छन्, ‘कहिलेकाहीँ मागअनुसार आपूर्तिले धान्न नसक्दा एकातर्फको फिडरमा १०–२० मिनेट लाइन काटेर अर्कोतर्फ दिने काम पहिला पनि हुन्थ्यो । यो पटक प्राविधिकहरु आलोचना हुन्छ भनेर लाइन काट्न डराउँदा समस्या भयो ।’  दैनिक अनलाइनबाट

प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राईले गरे १५ सांसदलाई कारबाही गरेका छन् । राईले कारबाही स्वरुप १५ सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गरेका हुन् ।

आफूविरुद्धको अविश्वास प्रस्तावमा थाहै नदिई हस्ताक्षर गरेको भन्दै राईले १५ जना सांसदलाई तीन महिनासम्मका लागि निलम्बन गरेका हुन् ।

निलम्बनमा पर्ने प्रदेश सांसदहरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।

बिहीबार नै मुख्मन्त्री राईलाई नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट हटाई भीम आचार्यलाई चयन गरेको थियो ।

यसअघि प्रचण्ड–नेपाल समूहले नै राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो, जसमा आचार्यलाई मुख्यमन्त्रीमा प्रस्तावित गरिएको थियो ।

सोयाबिनको तेलमा तिलको तेल भनेर लेबल टाँस्ने पक्राउ

काठमाडौं । सोयाबिनको तेलमा ‘तिलको तेल’ लेखिएको लेबल टाँसेर बेच्ने एकजनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर घर भएका दिपक कुमार बर्णवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्तले रातोपाटीलाई बताइन् ।

भाइको नाममा रहेको शिव शक्ति रिप्याकिङ फर्ममा ३८ वर्षीय दिपकले सोयाबिनको तेल ल्याएर प्लाष्टिकको बोत्तलमा रिप्याकिङ गर्थे । रि–प्याकिङ गर्दा उनले सोयाबिनको तेललाई ‘तिलको तेल’लेखिएको लेबल टाँसेर महँगोमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीले उनलाई कालोबजार तथा सामाजिक अपराध गरेको कसुरमा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । स्रोत : रातोपाटी उनको गोदामबाट प्रहरीले स्टिकरमा छाप लगाउने मेशिन, तयारी स्टिकर र ठूलो परिमाणमा सोयाबिनको तेल बरामद गरेको छ ।

अमेरिकामा माथिल्लो सदनले रोक्यो कोरोना राहत बढाउने प्रस्ताव

अमेरिकाको संसद्को माथिल्लो सदन सिनेटले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित बनेका मानिसहरुलाई राहत बढाउने प्रस्ताव रोकेको छ । यसअघि तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले मानिसहरुलाई दिन लागिएको कोरोना राहत ६ सय डलरबाट बढाएर दुई हजार डलर पुर्‍याउने प्रस्ताव सिनेटमा लगेको थियो । राष्ट्रपति ट्रम्पले पनि मानिसहरुलाई कोरोना राहत पर्याप्त नहुने भन्दै दुई हजार डलर पुर्‍याउन निर्देशन दिएका थिए । तर, सिनेटका नेता मिच म्याकोनेलले कोरोना राहत बढाउने विषयमा सिनेटमा मतदानको लागि अस्वीकार गरेका हुन् । उनले यो प्रस्ताव तत्कालै सिनेटबाट पास हुन नसक्ने बताए । उनले अहिले ल्याइएको योजनाले डेमोक्रेट्सका सहयोग आवश्यक नभएका साथीहरुको हातमा धेरै रकम जाने उनको भनाइ थियो ।

यसअघि अमेरिकाको कंग्रेसले मानिसहरुलाई कोरोना राहतस्वरुप ६ सय डलर राहत उपलब्ध गराउने प्रस्तावमा सहमति दिएको थियो । डेमोक्रेट्सहरुले कोरोनाको कारण उत्पन्न स्वास्थ्य संकट समाधानको लागि राहत बढाउनुपर्ने तर्क गर्दै आएका छन् ।

रिपब्लिकन पार्टीका पनि केही सिनेटरहरुले कोरोना राहत बढाउनुपर्ने पक्षमा वकालत गर्दै आएका छन् । यस्तोमा मतदान भए यो प्रस्ताव पारित हुने सम्भावना छ । तर, म्याकोनेलले मतदानको प्रस्ताव अस्वीकार गरेका हुन् ।

भारतका मुकेश अम्बानीलाई प’छि पार्दै चीनका जोङ बने एसियाकै धनी

भारतीय अर्बपति मुकेश अम्बानीलाई पछि पार्दै चिनियााँ उद्यमी जोङ सानसन एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमवर्ग बिलिनियर्स इन्डेक्सका अनुसार सन् २०२० मा सानसनको सम्पत्ति सात अर्ब डलरले बढेको छ । सानसनले आफ्नै मुलुकका अर्बपति ज्याक मालाई पनि पछि पारेका छन् ।

सानसनको सम्पत्ति ७७ अर्ब ८० करोड डलर पुगेको छ । उनी विश्वका सबैभन्दा धेरै सम्पत्ति भएका अर्बपतिको सूचीमा ११ औं स्थानमा आइपुगेका हुन् । सानसनको खोप कम्पनी तथा बोतलको पानी बेच्ने कम्पनीको कारण उनको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हो । गत अप्रिल महिनामा सानसनको बेइजिङ वान्ताई बायोलोजिकल कम्पनी चिनियाँ शेयर बजारमा सूचीकृत भएको थियो । त्यसको तीन महिनापछि उनको बोलतको पानीमा बेच्ने कम्पनी पनि हङकङको शेयर बजारमा सूचीकृत भएको हो । यो कम्पनीको बजार मूल्य शेयर बजारमा आएपछि १५५ प्रतिशत बढिसकेको छ ।

बेइजिङ वान्ताई बायोलोजिकल्सको शेयरको भाउ पनि २० गुणा बढिसकेको छ । यो कम्पनी कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्मातामध्येको एक हो । ब्लूमवर्गका अनुसार यस वर्ष अधिकांश धनीहरुको सम्पत्ति बढेको छ । भारतीय अर्बपछि मुकेश अम्बानीको सम्पत्ति १८ अर्ब ३० करोड डलरबाट बढेर ७६ अर्ब ९० करोड पुगेको छ । यद्यपि चिनियाँ अर्बपति ज्याक माको सम्पत्ति भने ६१ अर्ब ७० करोड डलरबाट झरेर ५१ अर्ब २० करोड डलरमा आइपुगेको छ ।

चार दलका महिला नेतालाई सभामुख सापकोटाले भने ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन’

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताएका छन । बिहीवार चारवटा राजनीतिक दल आबद्ध महिला संगठन र सांसदहरुले सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझ्दै सो कुरा बताएका हुन् ।

ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले संविधानले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट गर्दै यसअघि पुस ८ गते वक्तव्यमार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको जानकारी गराए ।

उनले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफू सधैँ समर्पित रहने प्रतिवद्धता व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।

उनले आफूले यस सन्दर्भमा राष्टका समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिदै परामर्श गरिरहेको जानकारी गराए ।

स्रोत : रातोपाटी