१६ पुष २०७७, बिहीबार १४:१५ – Page 2 – Nagarikabhiyan : National News

चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

बेइजिङ । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

बुधबार मात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो ।  पश्चिमा मुलुकका फर्मास्यूटिकल कम्पनीहरु फाइजर र मोडर्नाले विकास गरेका खोपहरु क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो ।

चिनियाँ स्वास्थ्य प्रशासनका उप आयुक्त चेन सिफीले संवाददाताहरुसँग कुरा गर्दै सिनोफार्मको खोपलाई “सःशर्त” अनुमति दिइएको जानकारी दिए । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।  चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरु वृद्धवृद्धा र अरु जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिए ।

चीनका करिब १ अर्ब ३० करोड नागरिक सबैलाई खोप प्रदान गर्न अभूतपूर्व चुनौती छ । उपमन्त्री झेङले भने, “कोभिड–१९ बाट सुरक्षित रहन कूल जनसंख्याको ६० देखि ७० प्रतिशत व्यक्तिलाई खोप दिनुपर्ने हुन्छ, र हामी त्यसैको तयारीमा छौं ।” बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौं व्यक्तिलाई खोप दिइसक्ने योजना बनाएको छ । चीनमा आफ्ना नागरिकलाई जरुरी हुने खोप चीनमा उत्पादन हुने चीन सरकारको भनाई छ । एएफपी

चितवनमा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरु

चितवन । रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम शुरु गर्ने निर्णय गरेको हो ।

बैठकले सुकुम्वासीको बसोबास रहेको र नगरभित्रको सार्वजनिक जग्गाको लगत सङ्कलन गर्नका लागि सूचना प्रकाशन तथा सुकुम्वासी समुदायबाट निवेदन माग गर्ने निर्णय भएको नगरप्रमुख नारायण वनले जानकारी दिए । एक हस्ताभित्र सुकुम्वासीबाट लालपूर्जाको लागि फारम भर्ने काम शुरु गर्ने गरी तयारी गरिएको उनले बताए ।

फारम भर्ने काम एक महिनाभित्र सकेर अन्य कामलाई अगाडि बढाउने योजना रहेको प्रमुख वनको भनाइ छ ।  यही बीचमा जग्गा वितरण गर्ने आधार निर्माण गर्ने तथा नापी कार्यालय भरतपुरसँग प्राविधिक तथा अन्य आवश्यक सामग्री माग गर्ने बैठकले निर्णय गरेको छ । तत्कालै तथ्याङ्क सङ्कलकलाई अभिमुखीकण कार्यक्रमको आयोजना गरी कार्यक्षेत्रमा पठाउने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।

बैठकमा उपप्रमुख बिमला दुवाडी, नेकपाका नगरअध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, कार्यपालिका सदस्य सरस्वती लामा, रीता विक, गीता दाहाल, लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक सिंह लामाको सहभागिता रहेको थियो । रत्ननगरमा एक हजार ५०० बढी सुकुम्वासीको घरधुरी रहेको तथ्याङ्क छ ।

चिसाप साहित्य पुरस्कारका लागि स्रष्टा छनोट 

चितवन साहित्य परिषदले स्थापना गरेका विभन्न तीनवटा साहित्यिक पुरस्कारको लागि स्रष्टा चयन गरिएको छ  । परिषद्ले यसवर्षको चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार  आख्यानकार प्राज्ञ माया ठकुरी, चिसाप कृष्णकुमारी गुरुङ साहित्य पुरस्कार आख्यानकार मीनराज वसन्त र चिसाप कृष्ण कृष्णा साहित्य पुरस्कार आख्यानकार नानी बिभुलाई अर्पण गर्ने जनाएको छ ।

परिषद्का अध्यक्ष  सुरेन्द्र अस्तफलको अध्यक्षतामा बसेको बैठकले वसन्तको ‘पिपिरी’ र विभुको ‘अनुक्रोश’ उपन्यासका लागि उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको १३७औँ जन्मजयन्तीको अवसर पारेर आगामी शनिबार  विशेष साहित्यिक कार्यक्रम गरी पुरस्कार समर्पण गरिने परिषद्ले जनाएको छ । ती पुरस्कारको राशि जनही रु १५ हजार पैंतालीस र सम्मानपत्र रहेको परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिए ।

वृद्धाश्रमका लागि अक्षयकोष अभियान

देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको समाज कल्याण केन्द्र वृद्धाश्रम सञ्चालनका लागि आजीवन सदस्य अक्षयकोष निर्माण अभियान सञ्चालन गरिएको छ । एक व्यक्तिबाट रु १५ हजार ५०० लिएर आजीवन सदस्य बनाउने गरी अभियान शुरु गरिएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक एवं वृद्धाश्रमका अध्यक्ष धीरणबाबु घिमिरेका अनुसार एक हजार जना सदस्य बनाएर रु एक करोड ५५ लाखको अक्षयकोष बनाउन लागिएको हो । अभियान सञ्चालन गरेसँगै ८१ जना सदस्य भइसकेका छन् । उनले भने, “एक हजार आजीवन सदस्य बनेसँगै वृद्धाश्रमका लागि सरकारको भरपर्नुपर्दैन ।” वृद्धाश्रममा हाल ३८ जना वृद्धवृद्धा रहेका छन् । वृद्धाश्रमको क्षमता ५० जनाको रहेको छ ।

उनका अनुसार ६ जना कर्मचारीले वृद्धाश्रम हेर्दै आएका छन् । जायजन्म र जायजेथा नभएका ६० वर्ष नाघेका वृद्ववृद्वालाई स्थानीय तहको सिफारीसमा वृद्धाश्रममा राख्ने गरिन्छ । हाल रहेका वृद्ववृद्वा देशभरका १२ जिल्लाका रहेका छन् । अभियानमा साथ र सहयोगका लागि उनले सबैसँग आग्रह गरे ।

हाल सो वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई आवश्यक खाद्यन्न र लत्ताकपडा दाताले पु¥याउँदै आएका छन् । उनका अनुसार पछिल्लो समय वृद्धाश्रममा भौतिक संरचना थप निर्माण गरी सुविधा सम्पन्न बनाइएको छ । वृद्धवृद्धालाई बस्ने ठाउँदेखि नुहाउनका लागि तातो पानी, वातावरण अनुकूलित आवास क्षेत्र टेलिभिजन जडान लगायतका काम गरिएको छ ।

विसं २०५२ बाट वृद्धाश्रम सञ्चालनमा ल्याइएको हो । धेरैको चाहना जीवनको अन्तिम क्षण धार्मिकस्थलमा बिताउने इच्छा हुने गर्दछ । परिवारबाट पालनपोषण नपाएका वृद्धाश्रममा बस्छन् भने आर्थिक अवस्था राम्रो भएकाले देवघाटमानै कुटी निर्माण गरेर बस्ने गरेका छन् ।

पाकिस्तानमा हिन्दु आस्थामाथि बर्बर आक्रमण, मुसलमानहरुले हिन्दु सन्तको समाधीस्थल पनि छोडेनन्, ध्वस्तै पारे!

इस्लामावाद । इस्लाम राष्ट्र पाकिस्तानमा हिन्दु धर्ममा आस्था राख्नेमाथि पहिलेदेखि नै हमला हुँदै आएको छ ।

हालैमात्र एक हिन्दु सन्तको समाधीस्थल पाकिस्तानका मुसलमानहरुले आक्रमण गरेका छन् । मानवीय संवेदनालाई समेत ख्याल नगरी धर्मका नाममा असहिष्णुता देखाएका हुन् । स्थानीय मुसलमानहरुले पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा अवस्थित हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थल ध्वस्त पारिदिएका हुन् ।

स्थानीय प्रहरीका अनुसार काराक जिल्लाको टेरी गाउँमा एक हिन्दु नेताले बनाउन लागेको घरको विषय त्यसमा जोडिएको थियो । उनले बनाउन लागेको घर उक्त समाधिस्थलमा जोडिएको भन्दै स्थानीय भीड आक्रोसित भएको थियो । काराक जिल्लाका प्रहरी प्रमुख इरफानउल्लाह मारवाटले बीबीसीका प्रतिनिधि सिराजुद्धिनलाई बताएअनुसार त्यहाँ हिन्दुहरुको जनसंख्या अत्यन्तै कम छ ।
स्थानीयवासीले उक्त घर निर्माण भैरहेको स्थान समाधीस्थलको हिस्सा भएको दाबी गरिरहेका छन् ।

प्रहरी प्रमुखका अनुसार एकजना धर्मगुरुले उत्तेजनात्मक भाषण गरेर स्थितिलाई बिगारेका थिए । त्यसपछि भीड यति विशाल हुँदै गयो कि परिस्थितिलाई नियन्त्रणमा लिन निकै गाह्रो भएको थियो । यद्यपि, घटनामा कसैलाई पनि चोट नलागेको प्रहरीको दाबी छ । हिन्दु सन्त श्री परम हंसजी महाराजको समाधिस्थलका सम्बन्ध यसअघि पनि विवाद भएको थियो । त्यस क्षेत्रका कट्टरपन्थी मानिहरुले शुरुदेखि नै यस समाधिस्थलको विषयमा विरोध गरिरहेका थिए ।

यसअघि सन् १९९७ सालमा सोही समाधिस्थलको विषयलाई लिएर स्थानीयवासीले पहिलोपटक आक्रमण गरेका थिए । त्यसपछि पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि खैबर पख्तुनख्वाको प्रान्तीय सरकारले यसको पुनर्निर्माण गरेको थियो । यो समाधिस्थल सरकारी ट्रस्टको सम्पति हो ।

हिन्दु सन्त श्री परम हंस जी महाराजको मृत्यु भएको ठाउँमा निर्माण गरिएको थियो । सन् १९१९ मा सोही ठाउँमा सन्तको अन्त्येष्टि गरिएको थियो । त्यसपछि उनका अनुयायीहरुले यहाँ वर्षौदेखि पुजापाठ गर्दै आएका थिए ।

 

पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

पोर्चुगल । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ ।

कोभिडको कारण ज्यान गुमाउने उनी छैठांै व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । पोर्चुगलमा कोभिडका कारण नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ । राना मृत्युले नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले बताएका छन् । स्रोत :  पुर्वेली न्युज

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय पर्साले अग्रवाललाई पक्राउ गरेको हो ।

प्रदेश नं. २ प्रहरी प्रख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेको अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

रातो मच्छिन्द्रनाथ उपभोक्ता समिति महँगो काठ किन्न बाध्य

ललितपुर । बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा जुटेको उपभोक्ता समितिले महँगो मूल्यमा काठ खरिद गरी काम गर्न बाध्य भइरहेका छन् । बजारमा काठ अभाव भएपछि समितिले महँगो मूल्यमा काठ खरिद गर्नुपरेको हो ।  कोभिड महामारीपछि मन्दिर पुनःनिर्माणका लागि विभिन्न आकारका काठ बजारमा नपाइएको समितिले जनाएको छ  । काठ नपाइएपछि केही समय मन्दिर बनाउने काम समेत रोकियो । काठ मिलमा उपलब्ध भएजति काठ ल्याएर काम भइरहेकोे समितिका अध्यक्ष अमिर शाक्यले जानकारी दिए ।

उनले भने, “मन्दिर पुनःनिर्माणका लागि आवश्यक काठ एकै पटक पाउन नसक्दा कहिले एक टिप त कहिले दुईदेखि तीन वटासम्म उतिनै गाडी भाडा तिरेर पटकपटक ल्याउन बाध्य भइरहेका छाँै ।” सरकारी इञ्जिनीयरले मन्दिर पुनःनिर्माणमा खपत हुने काठको एकीन अनुमान नगरिदिँदा महँगोमा काठ खरिद गर्नुपरेको  उनको भनाइ छ ।

मन्दिरको उचाइ गजुरसम्म ७० फिट ४ इन्च रहने र यसमा ६४ फिट ४ इन्चसम्म काठको काम गर्नुपर्ने बताइएको छ । हालसम्म मात्र २२ फिट काठको काम भइरहेको अध्यक्ष शाक्यले जानकारी दिए । “मन्दिर पुनःनिर्माणमा आवश्यक कार्नेश र बाटु इँटा बनाउन अर्डर दिइरहेका छौं”, उनले भने, “विगतमा मन्दिर निर्माणमा ३३ थरिका इँटा प्रयोग भएका पाइएको थियो । यी दुई प्रकारका इँटा जोहो गर्न नसकिएकाले बनाउनुनै पर्ने भयो ।”

मन्दिर पुनःनिर्माण एक तला सम्पन्न हुनुका साथै गारो लगाउने काम ७० प्रतिशत सम्पन्न भइसकेको समितिले जनाएको छ । विसं २०७२ को गोर्खा भूकम्पमा क्षति भएको रातो मच्छिन्द्रनाथ मन्दिर श्रीलङ्का सरकारको रु पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माण गर्ने भनिएको थियो । सो मन्दिर पुनःनिर्माणमा कतैबाट चासो नदिएपछि २०७७ साल असार २० गते क्षमापूजा गरेर असार २२ गतेबाट उपभोक्ता समिति र पुरातत्व विभागबीच रु तीन करोड २१ लाख रकममा सम्झौता भएर काम अघि बढेको छ ।

लगभग एक हजार ५०० वर्ष अघि शिखरशैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम २०७८ असार मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको छ । काठमाडाँै उपत्यकाको सबैभन्दा लामो र पाटनको ठूलो उत्सवका रुपमा मच्छिन्द्रनाथ जात्रा मनाउने गरिन्छ । सो पर्व हिन्दूलगायत बौद्धधमावलम्बी दुबैले मनाउने गर्छन् ।

जनश्रुतिअनुसार गुरु गोरक्षनाथले नवनागलाई आशन बनाएर समाधिमा बसेपछि १२ वर्ष पानी परेन । भोकमरी र सुख्खा परी मानिसको जीवन सङ्कटमा पर्दै गएपछि सो समयका राजा, तान्त्रिक बन्द्युदत्त आचार्य र ललित ज्यापूले कठिन परिस्थित सहेर मच्छिन्द्रनाथलाई बुङ्मती ल्याएर राखेपछि गोरक्षनाथ आफ्ना गुरुको दर्शन गर्न उठेको र नवनाग फुक्का भएर भागेपछि अतिवृष्टि पानी परेको बुझाइ रहेको छ ।

रातो मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर,  बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिन्छ ।  रातो मच्छिन्द्रनाथलाई छ महिना पाटन त छ महिना बुङ्मती राख्ने चलनानुसार गत मङ्सिर महिना लागेसँगै तःबहाल ल्याइएर राखी सकिएको छ । वर्षा र सहकालका’ देवता मच्छिन्द्रनाथ दर्शनका लागि भक्तजन पाटन आउने गरेका सुन्धारा निवासी सूर्यमान डङ्गोलले बताए ।

भोलीदेखि श्रम स्वीकृति खुल्ने, कसरी लिने श्रम स्वीकृति ?

काठमाडौं। भोलिदेखि अनलाईन पुन: श्रम स्वीकृति खुल्ने भएको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै अनलाईन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य भोलि (शुक्रबार) बाट खुला गर्ने जानकारी दिएको हो।

‘श्रम स्वीकृति लिन चाहने बैदैशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाईन माध्यमबाट नै श्रम स्वीकृतिको आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिने गरी अनलाईन प्रणालीबाट पुन : श्रम स्वीकृतिको कार्य १७ गतेबाट सूचारु हुने छ।’ सूचनामा भनिएको छ। लोकपाटी न्यूज

Re-entry-Online-Notice_9QZoE8M8P8

 

संविधानमै छैन संसद पुनर्स्थापना हुने व्यवस्था, जिल्ल परे प्रचण्ड-नेपाल, यसरी बाजी मारे ओलीले !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद पुनर्स्थापनाको माग गर्दै प्रचण्ड नेपाल समूह सडकमा आन्दोलनमा छ । दलहरु पुनर्स्थापना र निर्वाचनमा जाने भनेर विभाजित छन् । यस्तो बेला संविधानमै संसद पुनर्गठन हुने नसक्ने व्यवस्था रहेको खुलासा भएको छ ।

प्रधानमन्त्री ओलीले नै संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको धारा र उपधारासहित खुलासा गरेका छन् ।

कार्यकर्ताको भेलालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रतिनिधिसभा पुनर्स्थापना हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे । चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गरे । उनले यस स्थितिमा अर्को सरकार बन्ने स्थिति पनि नभएको र संसद् पुनःस्थापना हुन नसक्ने भएकाले सडकमा आन्दोलन गर्नाको आवश्यकता नरहेको पनि जिकिर गरे ।

‘संविधानले संसद् पुनर्स्थापना गर्न दिँदैन। संसद्को ६४ प्रतिशत बहुमतको सर्वसम्मत नेता हुँ। बहुमत नेताले गरेको निर्णय फिर्ता हुँदैन। विघटनपछि अहिले जो जहाँ भए पनि त्यतिखेर बहुमतको नेताले यो कदम चालेको हो। पुनर्स्थापनाको सम्भावना छैन। प्रधानमन्त्रीले विघटन गर्न मिल्दैन। संविधानको धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले भंग गर्ने भनेको के होरु अनि धारा ८४ मा विघटन भएको अवस्थामा बाहेक संसद् कायम रहने भनिएकै छ। त्यसकारण राजनीतिक आग्रह देखाएर हुन्छरु’ उनले भने।

संविधानमै पुनर्स्थापनाको व्यवस्था नभएपछि आन्दोलनमा रहेका प्रचण्ड नेपाल समूह झस्किएको छ । संसद विघटनमा यिनै व्यवस्थाबाट ओलीले बाजी मार्ने पक्का छ ।

प्रचण्ड र माधव नेपाल समूहलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले सडकमा आन्दोलन नगरी बरु जित्ने गरी चुनावमा आउन आग्रह पनि गरे ।

नेकपाभित्रको विवादका प्रसङ्गमा अध्यक्ष ओलीले एकता गर्दा एकता बलियो बनाउन, संविधानको कार्यान्वयन र मुलुकको स्थिरतालाई ध्यानमा दिएर अर्को पक्षलाई बहुमत केन्द्रीय सदस्य दिइएको जनाउँदै नेकपाभित्रको प्रतिस्पर्धाले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नसक्ने भएकाले एक जुट भई अगाडि बढ्न अनुरोध गरे ।

संसद विघटनविरुद्ध नेकपाले वडा तहसम्म संघर्ष समिति गठन गर्ने

काठमाडौं । संसद विघटनविरुद्ध गठित नेकपाको संघर्ष समितिले वडा तहसम्म नै संघर्ष समिति गठन गर्ने भएको छ ।  नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समिति सचिवालयको बुधबार बसेको बैठकले प्रतिनिधिसभाको असंवैधानिक बिघटनका विरुद्ध शुरु गरिएको पहिलो चरणको कार्यक्रम अन्तर्गत २०७७ साल पौष १४ गते आयोजना गरिएको विरोध प्रदर्शन भव्यरुपमा सम्पन्न भएको निश्कर्ष पनि निकालेको छ । स्रोत: रातोपाटी साथै बैठकले विरोध प्रदर्शनका क्रमका कहिँ कतै उच्छृंखल र अमर्यादित नाराहरु पनि लगाइएको जनगुनासो सुनिएकाले अबका कार्यक्रमहरुमा कडाइका साथ निगरानी गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश, जिल्ला, गाउँ/नगर पालिका र वडातहसम्म एक हप्ताभित्रमा संघर्ष समिति गठन गर्ने, विभिन्न जनवर्गीय संगठनहरूले आ–आफ्नो तहबाट रचनात्मक ढंगले संघर्षका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईको संयोजकत्वमा डा.विजयकुमार पौडेल, विष्णु रिजाल र महेश्वर दाहाल रहेको केन्द्रीय संघर्ष प्रचार–प्रसार समिति गठन समेत गरेको छ ।

त्यसैगरी सबै तहका पार्टी कमिटी र जनवर्गीय संगठनहरुले आ–आफ्नो कार्यक्षेत्रमा प्रतिगमन विरोधी संघर्ष सञ्चालन बारे अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने छन् । विभिन्न क्षेत्रमा स्थापित महानुभावहरु, नागरिक समाजका अगुवाहरु, अधिवक्ताहरु, साहित्यकार, कलाकार, बुद्धिजीवी, शिक्षक–प्राध्यापक, मानवअधिकारकर्मी, उद्योगी–ब्यवसायी, यातायात ब्यवसायी, सञ्चारकर्मी, सञ्चारउद्यमी, चिकित्सक तथा स्वास्थ्यकर्मी, मजदूर तथा किसानका संगठनहरु, विभिन्न क्षेत्रका पेशाकर्मीहरु, विभिन्न सामाजिक संघ–संस्थाकाअगुवा महानुभावहरु, महिला संगठनहरु, विद्यार्थी तथा युवा संगठनहरु सबैलाई प्रतिगमन विरोधी संघर्षमा दृढताका साथ सामेल हुन अनुरोध गरिएको छ ।

संक्रमण फैलन सक्ने डरले दिल्लीमा नयाँ वर्षमा रात्रिकालीन कर्फ्यु

नयाँदिल्ली ।  भारतको दिल्ली सरकारले कोरोना संक्रमणको अत्याधिक जोखिम रहने भन्दै बिहीबार र शुक्रबार राति कर्फ्यु लगाउने निर्णय गरेको छ । नयाँ वर्ष मनाउन मानिसहरुले विशेषगरी रातिको समयमा जमघट र भीडभाड गर्ने र त्यसले संक्रमणको फैलाउने जोखिम रहेको भन्दै उक्त निर्णय लिइएको बताइएको छ ।

दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले बुधबार राजधानी दिल्लीमा बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म र शुक्रबार राति पनि सोही समयमा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन र नयाँ वर्ष मनाउने कुनै पनि कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो ।

‘डिसेम्बर ३१ राति ११ बजेदेखि जनवरी १ को बिहान ६ बजेसम्म र जनवरी १ को राति ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सार्वजनिक स्थलमा पाँच जनाभन्दा बढी भेला हुन र नयाँ वर्षको कुनै पनि उत्सव, कार्यक्रम र समारोह रात्रीकालीन कफ्र्यू रहनेछ,’ दिल्ली सरकारका मुख्य सचिवद्वारा जारी आदेशमा भनिएको छ । यद्यपि पूर्वअनुमति प्राप्त स्थानहरुलाई भने त्यो छुट रहने समेत आदेशमा भनिएको छ ।

दिल्लीका आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नयाँ वर्षको भीडभाडले संक्रमण बढाउने जोखिम रहेको भन्दै उक्त निर्णय लिइएको आदेशमा भनिएको छ । पछिल्ला दिनमा दिल्लीमा कोभिड–१९ संक्रमणको नियन्त्रण हुँदै गएको देखिन्छ ।

बुधबार दिल्लीमा ७०३ जना मात्र नयाँ संक्रमित थपिएका थिए । नियन्त्रणउन्मुख भइरहेका बेला नयाँ भाइरसबाट संक्रमणको जोखिम बढाउने भन्दै पछिल्लो आदेश जारी गरिएको दिल्ली सरकारले जनाएको छ । ‘बेलायतबाट भित्रिएको नयाँ प्रकारको भाइरस पुष्टि भइसकेको र उक्त भाइरसका कारण बढने जोखिमसँगै नयाँ वर्षका कार्यक्रमहरुले कोरोना संक्रमणको नियन्त्रणमा हालसम्म हासिल भएको सफलतालाई धक्का लाग्नसक्ने देखेर निर्णय लिइएको हो,’ आदेशमा भनिएको छ ।

नयाँ प्रकारको भाइरसबाट संक्रमित हुने संख्यामा वृद्धि भएसँगै भारतले बेलायतसँगको हवाईसम्पर्कलाई ७ जनवरीसम्म प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । हालसम्म भारतमा बीस जनामा बेलायतमा देखिएको जस्तो नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये आठजना दिल्लीकै रहेका छन् । नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ ।

आज राष्ट्रिय मेलमिलाप दिवस : कांग्रेसले ४५ औँ मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (वीपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ का रूपमा मनाउँदै आएको छ।

यसै सन्दर्भमा कांग्रेसले बिहीबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायतका कार्यक्रम गरि ४५ औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिका मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता वीपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए।

तत्कालीन अवस्थामा नेपालको सार्वभौम सत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका नेता वीपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो।

यसअघि तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए।

त्यसपछि कांग्रेस नेतालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि विसं २०२५ मा भारत प्रवासमा जानुभएका कांग्रेस नेता राष्ट्रियतामाथि खतरा देखिएपछि ८ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका जननायक वीपी कोइरालाले राजनीति मात्र होइन, नेपाली साहित्यमा पनि छुट्टै पहिचान बताए । वीपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग गरेको छ।

नेपालमा वीपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि सान्दर्भिक र अपरिहार्य छ।

राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ बाट मात्रै सुनिश्चित हुने भन्दै कांग्रेसले ४४ वर्षअघि अबलम्वन गरेको नीति मुलुकको पछिल्लो राजनीतिक घटनाक्रममा झन सान्दर्भिक बनेको छ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी ९पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित० लेखेका थिए। बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो।

दाहाल–नेपाल समुहमा पाण्डेलाई महासचिवको जिम्मेवारी दिने तयारी

काठमाडौं ।  नेकपाको दाहाल नेपाल समूहले सुरेन्द्र पाण्डेलाई पार्टीमा महासचिवको जिम्मेवारी दिने तयारी गरेको छ ।

पार्टीभित्र शक्ति सन्तुलन कायम गर्न वरिष्ठ नेता झलनाथ खनालका तर्फबाट पाण्डेलाई महासचिव बनाउन लागिएको हो । पुष्पकमल दाहाल र माधव नेपाल अध्यक्ष भएपछि महासचिव खनाल पक्षलाई बनाउने तयारी भएको हो ।

यसकालागि दाहाल नेपाल समूहमा शीर्ष तहको बैठक आज बस्दैछ । पार्टीको नयाँ संगठनात्मक संरचना बनाउने विषयमा आजको बैठकमा छलफल हुने बरिष्ठ नेता खनालले बताउनुभयो । उहाँले भन्नुभयो, आन्दोलनको समिक्षा, आगामी रणनीति र केन्द्रदेखि तल्ला कमिटीसम्मै संगठनात्मक संरचना मिलाउने विषयमा शीर्ष तहमा आज छलफल हुने भनिएपनि समय निश्चित भइसकेको छैन ।

महासचिवमा जनार्दन शर्मा, बर्षमान पुनको पनि दावी छ । नेकपामा पार्टी फुटको दुवै पक्षले औपचारिक घोषणा नगरेपनि भ्रातृ संगठनहरुलाई आफु केन्द्रीत गर्ने प्रयास जारी छ । पार्टी एकताले मूर्त रुप नपाउँदै फुटेपछि नेता कार्यकर्ताहरु तानातानमा परेका छन् । स्रोत स्  रेडियो कान्तिपुर

राष्ट्रियसभाको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

त्यसको अघिल्लो दिन बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पहिलो बैठकमा संसदीय दलका नतोहरुले सम्बोधन गर्ने सहमति जुटाएको हो । अधिवेशन आह्वान र मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पनि पेस हुनेछ । स्रोत : अनलाइनखबर

यो अधिवेशनमा केही अध्यादेश, समिति गठनसम्बन्धी आदेश, संवैधानिक आयोगहरुको प्रतिवेदन र राष्ट्रियसभाका विषयगत समितिका प्रतिवेदन पेश हुने बताइएको छ ।

प्रचण्ड-माधव समूहले संसदीय दलको नेताबाट राईलाई हटायो, आचार्य चयन

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए ।

छ कक्षामा स्कुल छाडेका जोङ कुल्लीबाट पत्रकार हुँदै बने एशियाकै धनाढ्य व्यक्ति

एजेन्सी । चीनको सांस्कृतिक क्रान्तिको दौरान भएको अस्थिरताले जोङ सानसानको जीवनलाई संकटमा पुर्यायो । छ कक्षामा पढ्दै गर्दा विद्यालय छाड्नुपर्यो । त्यसपछि उनी निर्माण क्षेत्रमा कुल्लीको काम गर्न थाले । कुल्ली बनेर धेरै ठाउँमा काम गरे ।

सानसान विस्तारै उनी पत्रकारितामा लागे । रिपोर्टर बने । उनले पेय पद्धार्थ पनि बेच्दै हिंडे । पछि च्याऊ खेती हुँदै स्वास्थ्य क्षेत्रमा लागे । जीवनको लामो अनुभवले सानसानले आफ्नै कम्पनि खोले । सन् १९९६ मा उनले नोन्ग्फु स्प्रिङ चलाए । जसले पानीको बोतल उत्पादन गर्दछ ।

पढेर भन्दा परेर जानेका ६६ वर्षीय जोङ सानसान अहिले एशियाकै सबैभन्दा धनी भएका छन् । ब्लुमवर्ग बिलियनरी इन्डेक्समा सानसानको सम्पत्ति ७७ अर्ब ८० करोड डलर भएको उल्लेख गरेको छ । कोरोना भाइरसको महामारीले उनको सम्पत्ति आकाशियो । यस वर्ष ७ अर्ब डलर सम्पत्ति वृद्धि भएसँगै सानसानले भारतका मुकेश अम्बानी र चीनका ज्याक मालाई उछिनेका छन् ।

सानसान विश्वको ११ औं धनी भएका छन् । उनको भ्याक्सिन उत्पादन गर्ने बेइजिङ वानटे बायोलोजिकल पब्लिकले यसवर्ष निकै उपलब्धि हासिल गरेको छ । बोतलमा पानी विक्री गर्ने कम्पनिले पनि ठुलो प्रगति हासिल गरेको छ । नोन्ग्फु स्प्रिङ नामको पानीको बोतल बेच्ने कम्पनि चीनकै सबैभन्दा ठुलो पेय पद्धार्थ उत्पादक कम्पनि हो । उनको वान्टे कम्पनि औषधी र भ्याक्सिन उत्पादन गर्छ ।

स्वास्थ्यमन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन्। बिहीबार रामशाहपथस्थित मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई भेटेका हुन् ।

भेटमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा हेरफेर गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।
राजदूत क्वात्रा र मन्त्री त्रिपाठीबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्री त्रिपाठीको सचिवालयले जनाएको छ ।