१५ पुष २०८०, आईतवार १७:३५ – Nagarikabhiyan : National News

विराटनगरमा आँखा उपचार गराउन आउने भारतीय नागरिकको संख्या घटे

विराटनगरका आँखा अस्पतालमा उपचारका लागि आउने भारतीय नागरिकको संख्या घटेको छ । विराटनगरका आँखा अस्पतालमा सेवा लिन आउने नेपाली तथा भारतीय नागरिकको संख्या घट्दै गएको हो ।

विराटनगरका आँखा अस्पतालमा भारतका विरामी कम आउन थालेका छन् । अस्पलको स्थापना कालदेखिनै नेपालका नागरिक भन्दा भारतीय नागरिक बढी संख्यामा आउने गरेका कारण धेरै अस्पताल समेत खुलेका छन् । वडा नम्बर १७ मा अवस्थित विराटनगर आँखा अस्पताललाई नेपालकै सबैभन्दा अब्बल अस्पतालको रुपमा लिइन्छ । भारतीय बिरामी सस्तो र गुणस्तरीय उपचार हुनेभएकोले विराटनगर आँखा अस्पतालनै रोज्ने गरेका थिए । भारतबाट मात्र नभई बंगलादेशका नागरिक समेत उपचारका लागि आउने गरेका थिए ।

अस्पतालका प्रबन्धक कुमार पृथुका अनुसार शुक्रबार सार्वजनिक गरिएको सन् २०२३ सालको तथ्याङ्कमा ५ लाख ३७ हजार ६६७ जनाले सेवा लिएका छन् । जसमा ५६ प्रतिसत नेपाली र ४४ प्रतिसत भारत लगायत अन्य देशका नागरीकले उपचार सेवा लिएका छन् ।

अघिल्ला वर्षसम्म ४० प्रतिशत नेपाली र बाँकी भारत तथा अन्य मुलुकका थिए । दैनिक पन्ध्र सय जनाले अहिले पनि ओपीडी सेवा लिदै आएका छन् ।
भारतमा आँखासँग सम्बन्धित धेरै किसिमका समस्या देखिएपछि सरकारले शिविरमार्फत सेवा विस्तार गरेपछि नेपाल आउनेको संख्या कम भएको हुनसक्ने प्रवन्धक पृथुको भनाइ छ । भारतबाट आँखाको समस्या लिएर उपचार गराउन आउनेको संख्या उल्लेख्य भएपछि सीमा नजिकका शहरमा अस्पताल खोल्नेको संख्या समेत उतिकै रहेको छ ।

विराटनगर आँखा अस्पताल, रामलाल गोल्छा, बिराट आँखा, दिपज्योती र हाजी आँखा अस्पताल बढी चलेकामा पर्दछन् ।
यस बाहेक हस्पिटल चौकमा भास्कर आई पनि विराटनगरमा चिनिएकोमा पर्दछ । धेरै अस्पताल सञ्चालनमा आएपछि सेवाग्राही समेत बाँडिएका कारण समेत यस्तो हुनसक्ने अनुमान सरोकार वाला पक्षको छ ।

सुदूरपश्चिमका गृहमन्त्री शिवराज भट्टका स्वकीय सचिवको काण्ड सामाजिक सञ्जालमा भाइरल

धनगढी- सुदूरपश्चिमका एक मन्त्रीका प्रमुख स्वकीय सचिवको अश्लील भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टका स्वकीय सचिव चक्रप्रसाद शर्माको अश्लील भिडियो भाइरल भएको हो। सो भाइरल भिडिओ एक मिनेट ५० सेकेन्डको रहेको छ। उक्त भिडिओमा शर्मा भिडिओ कल गरेर अश्लील गतिविधि गरेको देखिन्छ।

तर उक्त भिडिओ हेर्दा शर्मालाई स्क्यामरले फसाएको जस्तो देखिन्छ। पछिल्लो समय स्क्यामरले भिडिओ कलले गर्दा थुप्रैको जीवन उजाडिएको छ स्क्यामरले विभिन्न प्रलोभनमा पारेर कल गर्दा अश्‍लील गतिविधि गर्न लगाइ भिडिओ रेकर्ड गरेर ब्ल्याकमेल गरी पैसा नदिए भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिँदै आइरहेका छन्।

यसबारे बुझ्न शर्मालाई फोन गर्दा उनको फोन अफ रहेको छ। उनको विषयमा मन्त्री भट्टसँग बुझ्दा उनले आफू बैतडी सदरमुकाममा रहेको र स्वकीय शर्मा घर गएको जानकारी दिए।

 

समीक्षा अधिकारी भन्छिन – आफ्नै पारामा चल्दै छु

गायिका समीक्षा अधिकारीको दैनिकी हिजोआज फेरिएको छ ।
उनी दिनहुँजसो स्टेज कार्यक्रममा पुगेर दर्शकका अगाडि सांगीतिक प्रस्तुति दिइरहेकी छिन् ।

सानो उमेरमै लोभलाग्दो ख्याती कमाएकी यी गायिका केही वर्ष निकै तनावमा थिइन् । उक्त समय रेकर्डिङ र स्टेज कार्यक्रमबाट अलपजस्तै देखिएकी उनले सामाजिक सञ्जालमा पनि निराशाजनक र भावुक खालका पोष्टहरु गर्ने गरेकी थिइन् ।

केही समययता भने उनको सांगीतिक करिअर लयमा फर्किएको छ भने उनले सामाजिक सञ्जालमा पनि आत्मविश्वास र उत्साहका स्टाटस लेखिरहेकी हुन्छिन् ।

पछिल्लो समय उनले लेखेकी छन्

न कसैको अभावमा बाँच्छु
न कसैको प्रभावमा बाँच्छु
यो जिन्दगी आफ्नो हो
म आफ्नै स्वभावमा बाँच्छु

पछिल्लो समय समीक्षाको फेसबुक वालमा मेला महोत्सवमा प्रस्तुति दिँदै गर्दामा तस्वीर र भिडियोहरु धेरै देख्न सकिन्छ ।
उनले रेखा थापाको फिल्म ‘उपहार’का लागि गाएको गीत पनि केही दिनअघि मात्रै युट्युबमा सार्वजनिक भएको छ ।

केदार कार्कीको शुभकामना वक्तव्यमा प्रदेशको नाम हराएपछि

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु ल्होसारको शुभकामना वक्तव्यमा कोशी नाम उल्लेख नगरेको भन्दै आलोचना वहोर्नु परेको छ ।
आइतबार गुरुङ समुदायले तमु ल्होसार मनाउँदैछन् सोही अवसरमा मुख्यमन्त्री कार्कीको शुभकामना वक्तव्यमा कोशी नाम उल्लेख नभएको सन्दर्भमा आलेचना र प्रशंसा भईरहेको छ । सन्देशको दायाँ भागमा विराटनगर नेपाल मात्रै लेखिएको शुभकामना सन्देश सञ्चार माध्यमको मेलमा पठाइएको थियो । त्यसो त मुख्यमन्त्री कार्कीको आफ्नै सामाजिक सञ्जालमा समेत पोष्ट भएको थियो । तर सार्वजनिक शुभकामना वक्तव्यको लेटरप्याडमा प्रदेशको नाम नभएपछि आलोचना सुरु भएको हो ।

यता, नामको सन्दर्भमा असन्तुष्ट जनाउने पहिचन पक्षधरहरुले भने मुख्यमन्त्री कार्कीलाई प्रशंसा गरेका छन् । फोजिनका ।संघीय उपाध्यक्ष कमन देवान सामाजिक सञ्जालमा मुख्यमन्त्री कार्कीको शुभकामना वक्तव्य पोष्ट गर्दै लेख्छन्प्र देश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले नेतृत्व गरेको आन्दोलनको प्रभाव होला सायद । मुख्यमन्त्री केदार कार्कीबाट आएको तमु ल्होसारको शुभकामनामा प्रदेश १ का जनताले नचाहेको र बदरको माग गरेको कोशी उल्लेख भएन ।’ धेरैले मुख्यमन्त्री कार्की कुन प्रदेशका रहेछन् भनेर प्रश्न समेत गरेका छन् ।

सामाजिक सञ्जालमा आलोचना सुरुभएसँगै केही समयपछि सच्याइएको अर्थात कोशी प्रदेश लेखिएको शुभकामना वक्तव्य सार्वजनिक गरिएको थियो । मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरेले प्राविधि त्रुटि भएको बताए ।

प्रमाणसहित बिल दिए महसुल तिर्न तयार छौँ उद्योगी–व्यवसायी

उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले प्रमाणसहित डेडिकेटेड र ट्रङ्कलाइन बापतको बिल दिएमा महसुल तिर्न तयार रहेको बताएका छन् ।
आज आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर उद्योगी व्यवसायीले प्राधिकरणले अहिले विना प्रमाण हचुँवाका भरमा बिल थमाएर महसुल तिराउन खोजेको भन्दै आपत्ति पनि जनाएका छन् ।उनीहरूले लोडशेडिङको समयमा तालिकाअनुसार मात्रै बिजुली प्रयोग गरेको दाबी गरेका छन् ।

लोडशेडिङको समयमा डेडिकेटेड र ट्रङ्कलाइनबाट बिजुली लिएका ग्राहकबाट अतिरिक्त शुल्क लिने निर्णयमा आफूहरूको आपत्ति नरहेको तर हचुँवाका भरमा भएको बिलिङ मान्य नहुने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताउनुभयो । उहाँले लोडशेडिङको समयमा कुन समयमा कति बिजुली उद्योगले उपभोग गरे भनेर प्रमाण माग्नु गलत हो भनेर प्राधिकरणलाई प्रश्न पनि सोध्नुभएको छ ।

यस्तै उद्योगीले विद्युत् नियमन आयोगले दैनिक छ घण्टा लोडशेडिङ भएको अवस्थामा मात्रै प्रिमियम दरमा महसुल लिन स्वीकृति दिएकोमा २०७५ वैशाख ३१ गतेदेखि लोडशेडिङ अन्त्य भएपछि पनि कुन आधारमा प्रिमियम दरमा बिल जारी भयो भनेर जवाफ मागेका छन् । डेडिकेटेडको हकमा २४ घण्टा निर्बाध र निरन्तर तथा ट्रङ्कको हकमा दैनिक छ घण्टा लोडशेडिङ भएको समयमा २० घण्टा निरन्तर बिजुली आपूर्ति गरेको प्रमाण दिएमा कानुनअनुसार प्रिमियम दरको छुट महसुल तिर्न तयार रहेको उनीहरूले जनाएका छन् ।

ट्रङ्क र डेडिकेटेड लाइनबाट बिजुली लिएका ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता नतिरेको भन्दै प्राधिकरणले अहिलेसम्म २३ वटा उद्योगको बिजुली काटिसकेको छ ।

जाल्पेश्वरी माद्यामिक बिद्यालय पञ्चदेवल बिनायकको अध्यक्षमा -सागर देवबकोटा चयन

जाल्पेश्वरी माध्यमिक बिधालय पञ्चदेवल बिनायक नगरपालिका वडा नं १ कुईकाको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा सागर देवबकोटा चयन हुनभएको छ । बिद्यालयको १४ औ अभिभावक भेलाबाट देबकोटालाइ बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा सर्बसहमत चयन गरिको हो ।

समितिको सदस्यमा कृष्ण जैसी नन्दकला देबकोटा, सुनसरा तिमिल्सैना, धिर्जा देबकोटा, बेदराज जैशी, दुर्गा प्रसाद तिमिल्सैना, प्रेम बोगटी र नवराज न्यौपाने रहनुभएको छ ।
अध्यक्ष देबकोटाले बिद्यालयको बिकासका लागि आफु निरन्तर लागिरहने र यसको लागि शिक्षक अभिभावकको साथ महत्वपुर्ण हुने बताउनुभएको छ । साथै उहाले बिद्ययालको भौतिक संरचना संगै शैक्षिक गुणस्तर बृद्धिका लागि आफु निरन्तर लाग्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

कास्कीको मर्दी ट्रेकिङ गएका स्वीडेनका नागरिक सम्पर्कविहीन

कास्की – कास्कीकाे माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी ट्रेकमा गएका स्वीडेनका नागरिक सम्पर्कविहीन भएका छन् ।
मर्दी हाइ क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएका माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिनुभयाे ।

शनिवार हिजाे बिहान झोला होटलमा नै छाडेर पानीको बोतल र टर्चलाइट लिएर होटलबाट हिँडेका उनी सम्पर्कविहीन भएका हुन् । दिउँसोसम्म नफर्किएपछि उनको खोजी शुरु गरिएकाे अधिकारीले बताउनु भयाे।

उनकाे खोजीका लागि गाउँपालिकाबाट मान्छे खटाइएको र वडा प्रहरी कार्यालय बगरको प्रहरी टोली बिहानै मर्दी बेसक्याम्पतर्फ गएकाे उहाँले बताउनु भयाे ।
स्वीडेनी नागरिक सम्पर्कविहीन भएकाे खबर सम्बन्धित दूतावासलाई जानकारी गराइएकाे उहाँले बताउनु भयाे ।

ललितपुरको बालकुमारीबाट शुक्रवार पक्राउ परेका ७३ जनालाई छाडियो

ललितपुरको बालकुमारीमा अस्ति शुक्रवर भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ ।

रोजगार अनुमति प्रणाली ईपीएस मार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राखेर भएको प्रदर्शनमा पक्राउ परेकाहरुलाई छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ गरी छाडिएकाहरुलाई मुद्दा नचलाउने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी र भौतिक सम्पत्तिमा तोडफोड गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

प्रदर्शनका क्रममा दैलेखको महाबु–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी–१ का वीरेन्द्र शाहको ज्यान गएको थियो । सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

दाङको कोइलाखानीमा शव भेटिएका पुरुषको हत्या भएको खुल्यो ३ जना पक्राउ

दाङको कोइलाखानीको सुरुङमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ। हत्यामा संलग्न रहेको आशंकामा दाङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
दाङको घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा शुक्रबार मृत भेटिएका थिए।

बंगलाचुली गाउँपालिका(४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा पुरुषको शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा केसीको हत्या भएको संकेत मिलेपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको हो।

प्रहरीले पक्राउ पर्ने व्यक्तिको पहिचान सार्वजनिक गरेको छैन। प्रहरी स्रोतका अनुसार उनीहरुलाई भारतमा पक्राउ गरेर नेपाल ल्याइएको हो।
केसीको हत्या गरेर कोइलाखानीको सुरुमा शव लुकाएपछि उनीहरु भारत भागेका थिए। भारतीय प्रहरीसँगको सहकार्यमा उनीहरुलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेकाहरुले लेनदेनको विषयलाई लिएर केसीको हत्या गरेको भेटिएको छ। यद्यपि थप अनुसन्धान भइरहेको र सम्भवतस् आज आइतबार नै पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिनुका साथै घटनाबारे विस्तत् विवरण सार्वजनिक गरिने प्रहरी स्रोतले जानकारी दिएको छ।

गायक सरगम राईको चाहना बढ्दै गो..गीत सार्वजनिक

गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो।।।’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा सङ्गीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ ।

प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा व्यक्त गरेका छन ।
सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायाङ्कन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ ।

भाटभटेनी अगाडिबाटै मोटरसाइकल चोरी

अव्यवस्थित पार्किङ रहेको बिर्तामोडस्थित भाटभटेनी सुपर मार्केटबाट सवारी साधन चोरी भएको छ । सडकमै पार्किङ गर्ने गरिएको ठाउँबाट मोटरसाइकल चोरी भएको हो । बिर्तामोड नगर अस्पतालका कर्मचारी पवन रिजाल शनिबार साँझ ६ः३० बजे भाटभटेनीको बायाँपट्टिको पार्किङमा रहेको प्र १(०(१२ प ५९६ नम्बरको कालो र निलो रङ्गको पल्सर मोटरसाइकल चोरी भएको हो ।

अत्यधिक भीडभाड हुने गरेको भाटभटेनीका ग्राहकहरूले सडकमै सवारी साधन पार्किङ गर्ने गरेका छन् । आवतजावत गर्ने राजमार्गमा भीडभाड हुने गरी भाटभटेनी अगाडि गर्ने गरिएको पार्किङप्रति बिर्तामोड नगरपालिका र ट्राफिक प्रहरीले आपत्ति जनाउँदै आएका छन् ।

ट्याक्टरको ठक्करबाट कञ्चनपुरमाएक बालिकाको मृत्यु

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेव ढक्का स्थित बेलौरी(कलुवापुर सडक खण्डमा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको हो ।

सु।प।प्र। ०१००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने भूपेन्द्र सिंहको छोरी ११ वर्षीया अमृताको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना हुँदा २० जना घाइते

दाङमा आज बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत सितलपुर–अमेलिया सडक खण्डको भञ्जाङमा भे १ ख २०४१ नम्बरको बस दुर्घटना भएको हो ।
बस दुर्घटना हुँदा बर्दियाबाट दाङको चखौरा वनभोजका लागि गएकाहरु घाइते भएका हुन् । उनीहरु दंगीशरण–३ को थारु सङ्ग्रहालय रहेको चखौरामा वनभोजका लागि जान लागेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रशाद पोखरेलका अनुसारका घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुर र बाँकेको नेपालगञ्ज पठाइएको छ ।

पुलिस क्लबले जित्यो प्रो क्लब च्याम्पियनसिपको उपाधि​

पर्सा क्रिकेट संघको आयोजनामा वीरगंजमा भएको नेपाल प्रो क्लब च्याम्पियनसिप टी(२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
वीरगंजस्थित नारायणी रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सा(११ लाई १०० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि हात पारेको हो। उपाधिसँगै पुलिसले ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। पुलिसका लागि करण केसीले अवजित ४० रनको योगदान गरे। उनले केवल १७ बलमा ५ छक्का प्रहार गरेका थिए। यसैगरी अर्जुन साउदले २६ रन शंकर राणाले १९ रन ओपनर दिलीप नाथले १७ रन कप्तान आरिफ शेखले १६ रन अमित श्रेष्ठले ७ रन, रशिद खानले ७ रन, सुनिल धमलाले २ रन, शेर मल्लले १ रन र सागर ढकालले १ रनको योगदान दिएका थिए।

आज तमु ल्होसार मनाइँदै देशैभर सार्वजनिक बिदा

गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।
ल्हो को अर्थ वर्ष र सार को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ गोरखा तनहुँ स्याङ्जा मनाङ कास्की पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

जावलाखेलमा आज च्याउ मेला तथा परिकार महोत्सव हुँदै

ललितपुरको जावलाखेल खेलमैदानमा आज एक दिने च्याउ मेला तथा परिकार महोत्सव’ हुँदैछ । च्याउ उत्पादक किसान संघ नेपालले च्याउ प्रवर्द्धनको कार्यक्रम आयोजना गर्न लागेको हो ।
च्याउ किसानहरूको जागरुकता व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिने मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टल रहने आयोजकले जनाएको छ । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने सङ्घका अध्यक्ष सन्तोष कार्कीले बताए ।

मेलामा कन्य गोभ्रे, किङ वयस्टर, सिताकेलगायतका च्याउका विभिन्न जात तथा परिकारहरू प्रदर्शनीमा राखिनेछ । अध्यक्ष कार्कीका अनुसार विभिन्न स्टलहरूमा भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको समेत प्रदर्शनी गरिने छ ।

यस्तै आज चौथो राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । २०७७ सालदेखि हरेक वर्ष पुस १५ गते विभिन्न कार्यक्रम गरी च्याउ दिवस मनाउन थालिएको हो ।