१२ फाल्गुन २०७८, बिहीबार १३:२३ – Nagarikabhiyan : National News

तेस्रो स्थानको लागि नेपाल ओमानसँग खेल्दै

काठमाडौं । सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित हुँदै दोस्रो पटक आईसीसी टी-२० विश्वकपमा स्थान बनाउन चुकेको नेपालले तेस्रो स्थानको लागि आज (बिहीबार) आयोजक ओमानसँग खेल्दैछ ।

विश्वकपको ग्लोबल छनोटको तेस्रो स्थानका लागि घरेलु टोली ओमानविरुद्ध मैदान उत्रदा नेपाल जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ ।

यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो । दुबै टोली छनोटको सेमिफाइलनमा पुगे पनि पराजित  हुँदै अस्ट्रेलियामा अक्टोबरदेखि सुरू हुने विश्वकपमा स्थान बनाउन असफल भए ।

नेपाल समूह ‘बी’ को विजेताको रुपमा र ओमान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए । तर, सेमिफाइलनमा नेपाल युएईसँग ६८ रन र  ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।

सेमिफाइनलमा जित निकाल्दै फाइलन पुगेका युएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् ।

पूर्वी युक्रेनमा तीव्र गोलाबारी, विमानस्थलमा मिसाइल हमला

किभ । युक्रेनी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले देशको पूर्वी भागमा आफ्ना एकाइहरूमा तीव्र गोलाबारी सुरु गरेको जनाएको छ ।

रुसले  राजधानी किभ नजिकैको बोरिस्पिल र अन्य क्षेत्रका विमानस्थलहरुमा मिसाइल आक्रमण गरेको युक्रेनी सशस्त्र बलले जनाएको छ । युक्रेनी वायुसेनाले रुसले गरेको हवाई आक्रमणविरुद्ध लडिरहेको जनाएको छ । दक्षिणी बन्दरगाह सहर ओडेसामा रुसी प्याराट्रुप्स परिचालन भएका रिपोर्टहरुलाई भने युक्रेनी सशस्त्र बलले अस्वीकार गरेको छ ।

प्याराट्रुप्सलाई युद्धको समयमा विमानबाट प्यारासुटमार्फत हाम फाल्न लगाएर आक्रमणमा परिचालन गरिन्छ ।-एजेन्सी

गाईघाटमा अमेरिकी राष्ट्रपतिको पुत्ला दहन

उदयपुर । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका विद्यार्थीहरूले बिहानैदेखि एमसीसीको विरोधमा उदयपुर सदरमुकाम गाईघाटमा प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपतिको पुतला दहन गरेका छन् ।

प्रदर्शनकारीहरुले मुख्य सडक अवरुद्ध पार्दै एमसीसी खारेजीको माग राखेका छन् । विद्यार्थी पोशाकमै सडकमा ओर्लिएका प्रदर्शनकारीहरु सयौंका संख्यामा छन् । उनीहरुले गाईघाटको मुख्य सडकमा प्रदर्शन जारी राखेका छन  ।

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट प्रर्दशन गर्दै गाईघाट बजार परिक्रमापछि मेन चोकमा कोण सभापछि अमेरिकी राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् ।  पुत्ला दहनपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध ६ राजनीतिक दलहरूले गरेको नेपाल बन्दको असर गाईघाट बजार पूर्ण रुपमा परेको छ ।

एमसीसी संसदमा : एमालेले संसदीय प्रक्रियामा भाग नलिने, अवरोध जारी राख्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा कार्यसूची रहेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग नलिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज बस्ने प्रतिनिधिसभा बैठकको संसदीय प्रक्रियामा भाग नलिने बताएका हुन् ।

‘हामी आज पनि संसद बैठकमा जान्छौं, तर संसदीय प्रक्रियामा सहभागी हुँदैनौं,’ भट्टराईले भने । संसदमा आफूहरुको माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग नलिने उनको भनाइ छ । आफूले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा उपस्थित भएको भन्दै एमालेले लामो समयदेखि बैठक अवरोध गर्दै आएको छ । आज पनि यसैलाई निरन्तरता दिने प्रमुख सचेतक भट्टराईले बताए ।

आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । गत आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको हो । एमाले एमसीसीको वबषयमा मौन भए पनि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही दिनयता भेटघाट बाक्लिएको छ । भेटवार्तामा भएका छलफलहरू सार्वजनिक गरिएका छैनन् । देउवा र ओलीबीच एमसीसी अनुमोदन गर्ने सहमति भएको हुन सक्ने अनुमान पनि गरिएको छ ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले एमालेको समर्थनमा संसदबाट एमसीसी अनुमोदन गर्ने र त्यसपछि प्रधानमन्त्रीले एमालेको माग सम्बोधन गर्न सक्ने बताए । ‘एमसीसी पारित गर्न सत्ता साझेदार दलहरूले सहयोग गरेनन् भने एमालेको समर्थनमा भए पनि पारित हुन्छ । एमसीसी पारित भएपछि प्रधानमन्त्री देउवाले एमालेको माग सम्वोधन गर्नुहुनेछ,’ नेता विश्वकर्माले भने ।

एमालेले भने संसदीय प्रक्रियामा सहभागी नहुने रणनीति पहिले नै तय गरिसकेकाले आज संसद बैठक बस्नुअघि पार्टीमा कुनै पनि छलफल नभएको प्रमुख सचेतक भट्टराईले बताए ।

आजदेखि कोरोना सङ्क्रमितले छुट्टै बस्नु नपर्ने

लण्डन । बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबार (फेब्रुअरी) देखि लागु हुने गरी हटाइएको प्रधानमन्त्री बोरिस जोन्सनले  बताएका छन् । बेलायतले जनवरी देखि नै अनिवार्य मास्क लगाउने र सङ्क्रमण नियन्त्रणका लागि अपनाइएका कडा खालका प्रतिबन्धात्मक उपायहरूलाई अन्त्य गरिसकेको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सनले गरेको नयाँ घोषणापछि बिहीबार देखि नै विद्यालय, कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुईपटक कोरोना परीक्षण गराउनु पर्ने यस पहिलेको प्रावधान हट्ने छ भने कसैलाई कोभिड पुष्टि भएको भएपनि छुट्टै (एकान्त) मा बस्नु पर्ने छैन । उनले भने, “सेल्फ–आइसोलेसन हटाउनु र कोभिड विरुद्धका नियमहरू उल्टाउनु कोरोनाभाइरससँग सामान्य रूपमा अघि बढ्ने अन्तिम चरणहरूमध्ये एक हो । धेरै मानिसहरू जस्तै मलाई पनि लाग्छ कि यो कदम चाल्न धेरै जरुरी थियो ।”

प्रधानमन्त्री जोनसनले अप्रिल १ देखि देशमा निःशुल्क कोरोना परीक्षण पनि बन्द हुने बताएका छन् । यद्यपि उनले प्रतिबन्ध हटाउनुको अर्थ कोरोनामाथि विजयको घोषणा गर्नु भने नभएको भन्दै आफ्नो ख्याल गर्न सबै नागरिकलाई आग्रह गरेका छन् । सरकारको निर्णय सार्वजनिक भएसँगै विज्ञहरूले भने उक्त घोषणाले गर्दा सङ्क्रमणको जोखिम बढाउन सक्ने बताएका बीबीसीले उल्लेख गरेको छ । मानिसहरु मास्क बिना हिड्ने थालेमा कोरोना द्रुत गतिमा बढ्ने र यो घातक हुने उनीहरूले बताए ।-एएफपी

पुटिनले विनाशको बाटो रोजे, गठबन्धनले निर्णायक जबाफ दिन्छः जोनसन

मस्को । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसले गरेको हमलाको निन्दा गर्दै बेलायत र उसको गठबन्धनले निर्णायक जबाफ दिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री जोनसनले युक्रेनमा भएको भयावह घटनाहरूबाट आफू स्तब्ध भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विनाशको बाटो रोजेको आरोप लगाएका छन् । उनले अगाडि भने, ‘ युक्रेनमा बिना कारण आक्रमण गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्तपात र विनाशको बाटो रोजे ।’

रुसलाई कसरी जबाफ दिने भन्ने बारेमा युक्रेनका राष्ट्रपतिसँग छलफल गरेको उनले बताए । बेलायत र उसको गठबन्धनले उचित कदम चाल्ने उनले चेतावनी दिए ।-एजेन्सी

युक्रेनमा नागरिक उडानमा प्रतिबन्ध, राजधानी किभमै बिस्फोटका आवाज

काठमाडौँ । किभ–युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ । ‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको नोटिस टु एयरमेन (नोटम) ले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । युक्रेनी अधिकारीहरुले यसबारे कुनै टिप्पणी गरेका छैनन् ।

तर, प्रमुख युक्रेनी विमानस्थलहरुमा आगमन र प्रस्थान निर्धारित समयअनुसार चलिरहेको बताइएको छ । यसैबीच, युक्रेनको राजधानी किभ नजिक पाँचदेखि ६ ओटा बिस्फोटका आवाज सुनिएको बताइएको छ ।

युक्रेनमा आपतकाल घोषणा

किभ । युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो ।
एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्र्यू लागू गर्न सक्नेछ । पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो । बिखन्डनकारी क्षेत्रका नेताहरुले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ ।

रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिनले मस्कोको भनाई छ । तर, युक्रेनलगायत पश्चिमेली देशहरुले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् ।

रुसी कदमलाई लिएर पश्चिमेली मुलुकहरुले उमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसी कदमको राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।

ए डिभिजन लिगः अन्तिम चरणका खेल भोलिबाट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरू भोलि (बिहीबार)बाट सुरु हुँदैछ । जारी लिगमा १२औँ चरणका खेल मंगलबारबाट समाप्त भएसँगै एन्फाले यसै हप्ताको अन्तिमसम्म शीर्ष डिभिजन लिग सक्काउने गरी तालिका सार्वजनिक गरेको हो ।

बिहीबारबाट तीनदिनसम्म चल्ने अनि्तम चरण शनिबार समापन हुनेछ । एन्फाले यस चरणका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्दैछ । समापनको खेलबाहेक अन्य ६ खेल दिउँसो १ बजे हुनेछन् । पहिलो दिन दुई खेल हुनेछ । एन्फामा ‘ए’ डिभिजन लिगको हैसियत गुमाइसकेको च्यासल युथ क्लब र सातदोबाटो युथ क्लब भिड्दा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा आमुनेसामुने हुनेछन् ।

शुक्रबार पनि दुई खेल हुनेछ । दुबै खेल १ बजे हुने छन् । जावलाखेल र संकटा क्लब दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दा दोस्रो डिभिजनमा घटुवा भइसकेको ब्रिगेड ब्वाइज क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ । अन्तिम दिन तीन खेल हुने छन् । एन्फामा एनआरटी फुटबल क्लब र नेपाल पुलिस १ बजे खेल्दा सोही समय त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबले दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने छन् ।

यता, लगातार शीर्ष डिभिजन लिग च्याम्पियन भइसकेको मछिन्द्र फुटबल क्लबले एपीएफ फुटबल क्लबको चुनौती सामना गर्दै अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ । खेल साढे ४ बजे दशरथ रंगशालामा हुनेछ ।

कांग्रेस पदाधिकारी बैठक सानेपामा: भ्रातृसंघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए  ।

उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ । केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने सहमहामन्त्री पाण्डेले बताए ।

केही दिनदेखि जारी छलफलमा दलित संघ, महिला संघलगायत ६ वटा भ्रातृसंघको विधानमाथि छलफल गरेर सुझाव दिने नेता साउदले बताए । ‘मेरो नेतृत्वको समितिले तयार पारेको विधानको ड्राफ्टमथि छलफल गरेर विधानको रूपमा पारित भइसकेको छ, सोही विधानलाई पार्टी पदाधिकारीले अध्ययन गरेर सुझाव दिने काम भइरहेको छ,’ नेता साउदले भने ।

पार्टीको केन्द्रीय समिति बैठकमा उठेका सुझावलाई समावेश गरेर विधान पारित भइसकेको हो । नेपाली कांग्रेसले म्याद सकिएका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन गर्न विधान तयार पारेर पदाधिकारी बैठकमा छलफल भइरहको छ ।

कांग्रेसले भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको अधिवेशन विधानअनुसार गर्न नसक्दा आलोचना हुँदै आएको छ भने भ्रातृसंघले गति लिन नसक्दा ऊर्जाहीन भएका छन् । पार्टीको १४औ महाधिवेशनमार्फत शेरबहादुर देउवा सभापतिमा दोहोरिएपछि म्याद गुज्रिएका सबै भ्रातृ तथा शुभेच्छुक संघको अधिवेशन गर्ने कांग्रेसले तयारी गरेको छ ।

लाउडस्पिकर छाप माग गर्दै निर्वाचन आयोगलाई ज्ञापनपत्र

सप्तरी । जनमत पार्टीले जिल्ला निर्वाचन कार्यालय सप्तरीमार्फत निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ। जनमत पार्टीका नेता तथा कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय राजविराजस्थित रहेको निर्वाचन कार्यालय पुगेर लाउडस्पिकर छाप माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

आफ्नो पार्टीले निर्वाचन आयोगमा दर्ता गरेको बेला पाएको चुनाव हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको जनमतकी नेतृ सुशीला  यादवले जानकारी दिइन् । पूर्वमन्त्री समेत रहेका जनमत पार्टीका नेता अनिष अन्सारीले आफ्नो माग पूरा नभए  प्रत्येक जिल्लाको निर्वाचन कार्यालयमा तालाबन्दी  गर्ने बताए।

उनले भने,´आयोगमा दल दर्ता भएको छ। पार्टीले पाएको चुनाव चिह्न लाउडस्पिकर अहिले निर्वाचन आयोगले दिन नमानेकोले पार्टीलाई दिएकै चिह्न का लागि ज्ञापनपत्र बुझाएका हौं ।’

ओलीले गृहमन्त्री खाँणलाई भने– एमसीसीका विषयमा हामी स्पष्ट छौं, पहिला एमालेलाई न्याय दिनोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् । एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधबार विहान बालकोट पुगेका खाँणलाई ओलीले सो सन्देश दिएका हुन् ।

‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाँईले भेटवार्ताबारे भने, ‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ । सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।

एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन् । मंगलबार ओली आफै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

‘संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ । कानून सबै दललाई समानरुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन । हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौं,’ एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाँणलाई भने ।

नेपाल टी-२० वरीयतामा दुई स्थान खस्कियो

काठमाडौँ । नेपाल आईसीसी टी २० वरीयतामा दुई स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल दुई स्थान खस्किएर १५औँ स्थानमा छ । यसअघि नेपाल १३औँ स्थानमा थियो ।

ओमानमा जारी आईसीसी टी २० विश्वकप ग्लोबल छनोट खेलको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै नेपालको वरीयता खस्किएको हो । वरीयतामा नेपाल पछिल्ले दुई साता भित्र तीन स्थान खस्किएको छ । ओमान जानुअघि १२औँ स्थानमा रहेको नेपाल ओमानमा चार देश सम्मिलित टी(२० सिरिजमा एक जित र दुई हार खेपेपछि वरीयतामा एक स्थान खस्किएको थियो । नेपालले सिरिजमा ओमानलाई हराएको थियो । यूएई र आयरल्यान्डसँग पराजित भएको थियो ।

अहिले वरीयतामा नेपालअघि आयरल्यान्ड १४औँ, स्कटल्यान्ड १३औँ, यूएई १२औँ, जिम्बावे ११औँ, बंगलादेश १०औँ, श्रीलंका नवौँ, अफगानिस्तान आठौँ र वेस्टइन्डिज सातौँ स्थानमा छ । वरीयतामा नेपालपछि नामिबिया १६औँ नेदरल्यान्ड्स १७औँ, ओमान १८औँ, पपुवा न्युगिनी १९औँ र सिंगापुर २०औँ स्थानमा छ ।

भारत शीर्षस्थानमा छ । इङ्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौँ र अष्ट्रेलिया छैटौँ स्थान छ । विश्वकप छनोटको सेमिफाइनलमा यूएईसँग पराजित भएको नेपालले तेस्रो स्थानका लागि बिहीबार आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछ । ओमान पनि सेमिफाइनलमा आयरल्यान्डसँग पराजित भएको थियो । सेमिफाइनल जितेको युएई र आयरल्यान्ड विश्वकपमा छनोट भएका छन् । नेपाल एकदीवसीय वरीयतामा भने १६औँ स्थानमा छ ।

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा देशकै ठूलो सांगितिक झरना

भैरहवा । भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण भएर सम्पन्न भएको छ । मुलुककै दोश्रो अन्तराष्ट्रिय स्तरको बिमानस्थल भएको कारण यसले भैरहवा र रुपन्देहीको मात्र नभई देशकै अर्थतन्त्रमा अग्रणी भुमिका खेल्ने बताउदै स्थानीयहरु उत्साहित भएका छन् ।

बिमानस्थल प्रति नेपालीहरुको रुझानलाई हेर्दै यसलाई आकर्षक बनाउने प्रयास गरिएको छ । अन्तराष्ट्रिय स्तरको भएको कारण बिमानस्थललाई पर्यटकीय बनाउन बनाउन पनि आयोजनाले प्रयाप्त ध्यान दिएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा देशकै ठूलो सांगितिक झरना (म्युजिकल फाउण्टेन) निर्माण भएको छ । रातीमा बिभिन्न धुनमा देखिने रंगीबिरंगी पानीले बिमानस्थल भएर जाने जो कोहीको ध्यान तान्ने गरेको छ । यात्रुहरु केही बेर अडिएर झरनाको फोटो र सेल्फी नलिई अगाडी बढ्नै सक्दैनन् ।

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल परियोजनाका प्रमुख प्रवेश अधिकारीका अनुसार ३० परिधिमा निर्माण भएको म्युजिकल फाउण्टेन सम्भवतः देशकै ठूलो रहेको बताए। उनले अहिले नेपालमा म्युजिकल फाउण्टेनको अवधारण नरहेको अवश्थामा यो आकर्षणको केन्द्र रहने बताए। बुद्ध भूमि भएको कारण राष्ट्रगानसहित बिभिन्न बुद्ध धुनहरुमा आकर्षक रुपमा पानीका फोहोरा निस्किने उनले बताए ।

करिब २ करोडको लागतमा तैयार भएको यो म्युजिकल फाउण्टेनमा संगीतकै तालमा पानीका फोहोराहरु निस्किने गरेका छन् । संगीतलाई नै पछ्याउदै पानीका फोहोराहरुले गरेको नृत्यले अधिकांशलाई मोहित बनाउने गरेको छ । आयोजना अहिले हस्तान्तरण नभएको कारण यसलाई दैनिक भन्दा पनि आवश्यकता अनुसार चलाउने गरिएको छ । बिमानस्थल सुचारु भए पछि यो नियमित रुपमा सञ्चालन हुने आयोजनाको भनाई छ ।

यस्तै बिमानस्थलको अर्को आकर्षणको रुपमा लुम्बिनी गार्डेन फाउण्डेशनले स्थापना गरेको बुद्ध मूर्ति रहेको छ । अढाई अर्व भन्दा बढी लागत दावी गरिएको सो मूर्तिलाई हेर्न र तस्विर लिन बिमानस्थल आउने अवलोकनकर्ताहरु आतुर हुने गरेका छन् । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल परियोजनाका प्रमुख प्रवेश अधिकारीले बुद्धभूमिमा बिमानस्थल बनेको कारण यहा बुद्ध भुमि संग झल्किने गरि पर्यटकिय क्षेत्र देखाउने केही संरचनाहरु निर्माण गरेको जनाए । उनले जेड धातुको मूर्ति सँगै बिमानस्थल परिसरमै स्तूपा र सानो पोखरी समेत निर्माण गरिएको बताए ।

यस्तै टर्मिनल भवनको आगमन कक्ष निर्माण गर्दा त्यसको छतमा बुद्धको आँखा आकृतिमा डिजाइन गरिएको छ । बिमानस्थलको प्रवेशद्वारलाइ अशोक स्तम्भको आकृतिमा डिजाईन गरि निर्माण गरिएको छ ।

आजदेखि नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक, यी हुन् एजेण्डा

काठमाण्डाैं । नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) काे नवाैं बैठक आज बुधबार काठमाडाैंमा बस्दैछ । निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन् ।

समितिकाे बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि काेराेना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । बैठकको पहिलो दिन आज नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह (जेडब्लुजी)को बैठक बस्नेछ, याे । बैठकले टुंगो लगाएका विषय दोस्रो दिन हुने सचिवस्तरीय बैठकमा पेस हुनेछन् ।

नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव राखिनेछ भने नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तर्देशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएकाे छ ।

बाल विवाह र दाईजो प्रथा विरुद्ध कार्यक्रम सम्पन्न

सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका ६ घुस्कीमा बाल विवाह र दाईजो प्रथा विरुद्धको दुई दिने अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सोमबार सुरु भएको बाल विवाह र दाईजो प्रथा विरुद्ध कार्यक्रमको सचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको नेपाल वेलफेयर सोसाईटी भुटाहाले जनाएको छ । बाल विवाह र दाईजो प्रथा विरुद्ध कार्यक्रम हरिनगर गाउँपालिका ६ नम्बर वडा कार्यालय घुस्कीको सहयोगमा नेपाल वेलफेयर सोसाईटी भुटाहाको आयोजनामा सम्पन्न भएको वडा अध्यक्ष इसराईल अंसारीले जानकारी दिनुभएको छ । सम्पन्न कार्यक्रममा पत्रकार तथा इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले जिल्लामा व्याप्त बाल विवाह र दाइजो प्रथालाई लक्षित गर्दै समुदायमा यसप्रकार विविध कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
कार्यक्रम सोसाईटीका मोजोमिल अहमदको अध्यक्षता र हरिनगर ६ का वडा अध्यक्ष इसराईल अंसारीको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा घुस्की स्थित विभिन्न राजनितिक दलका प्रतिनिधि, सरकारी तथा गैर–सरकारी संस्थाका प्रमुखहरु, संचारकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, गाउँमा गठन भएका विभिन्न समितिका संयोजक तथा पदाधिकारीहरु लगायत सर्वसाधरण गरी करिव ३५ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पत्रकार यादवले प्रशिक्षण दिदै बाल विवाह तथा दाइजो प्रथा विरुद्ध बृहत सचेतनामूलक कार्यक्रमको औचित्यका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रम मार्फत बाल विवाह गर्नु, गराउनु गैर कानुनी कार्य भएको र बाल विवाह गर्दा उत्पन्न हुने असरहरुका बारेमा र काननी कार्वाहीको बारेमा जानकारी गराउनुभएको थियो । सानो उमेर छोरीको विवाह गर्ने प्रचलनले निमत्याउने परिस्थिति झल्काउने विभिन्न उदाहरणहरु समेत प्रस्तुत गर्नुभएको थियो । यादवले कार्यक्रमको अवधारणा र बाल विवाह विरुद्धको कार्यक्रम गर्नुको उद्देश्यवारे प्रष्टयाउनु भएको थियो । बाल विवाह तथा दाइजो प्रथा न्यूनीकरण गर्न अभिभावक, शिक्षक, जनप्रतिनिधि वा प्रहरी एक्लैले मात्र नसक्ने हुँदा सर्वपक्षीय प्रयास हुनु पर्नेमा जोड दिएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै सोसाईटीका सेराज फलाहीले यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने, थोरै भएपनि बाल विवाह न्यूनीकरण हुने अपेक्षा राखेको बताएका थिए । फलाहीले ग्रामीण क्षेत्रमा हुने बाल विवाह नियन्त्रण, त्यसका विरुद्ध सचेतना वृद्धि गर्ने, अविभावकलाई जागरण गराउने र बालविवाहको उजुरी प्रहरी समक्ष गर्ने पद्धती विकास गर्ने मुल उद्देश्यका साथ आयोजित कार्यक्रम आगामी दिनमा समेत निरन्तर संचालन गरिने जनकारी गराउनुभएको छ ।