१६ पुष २०७७, बिहीबार ११:५३ – Page 3 – Nagarikabhiyan : National News

अपराध नियन्त्रणका लागि चितवनमा प्रहरीको घरदैलो अभियान

चितवन । अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले घरदैलो अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) ले घरदैलो (डोर टु डोर) सचेतना अभियान सञ्चालन गरेको हो ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुनसक्ने अपराध, हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले अभियान गरिएको हो । ‘स्पेशल टास्क डोर टु डोर अवार्नेस’ कार्यक्रम प्रभावकारी बनेको सेलका प्रमुख प्रहरी निरीक्षक प्रवीना गिरीले बताइन् । अभियानले गर्दा उजुरी दिन प्रहरी कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको उनको भनाई छ ।

उनले भनिन्, ‘हिंसा वा आपराधिक गतिविधिको गोप्य सूचना प्रहरीका स्थानीय एकाइमै दिन सकिनेबारे जानकारी गराइएको छ, जसले गर्दा जिल्लामा भीड कम भएको छ ।’ अपराध तथा घटनाको प्रवृत्तिअनुसार उजुरी दिन सकिने ठाउँबारे अभियानमार्फत जानकारी दिने गरिएको छ ।

चितवन महिला सेलमा आएका उजुरी घरेलु हिंसा, जबर्जस्ती करणी, करणी उद्योग, बाल यौन दुरुपयोग र लागुऔषध दुर्व्यसनीलाई मूल्याङ्कन गरी बढी आपराधिक घटना भएको स्थानलाई मुख्य प्राथमिकतामा राखिएको छ । कानून र सजाय व्यवस्थाबारे स्थानीय जानकार बनेपछि घरेलु हिंसा, कुटपिटलगायतका घटनामा उल्लेख्य कमी आएको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले महिला प्रहरी मोटरसाइकलमा घरघरमा पुगेर अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

दुईवटा मोटरसाइकलमा चा जना महिला प्रहरी यस अभियानमा खटिएका छन् । यसको प्रभाव राम्रो रहेको उनले बताए । गुरुङले भने, ‘स्थानीय समुदाय र पीडितले खुलेर आफ्ना समस्या राख्न सकेमा अपराध नियन्त्रणमा सहयोग पुग्छ ।

विद्युत् चोरीमा संलग्न ४२ लाई कारवाही

राजविराज । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले विद्युत चोरीमा संलग्न ४२ जनालाई कार्वाही गरेको छ ।

विद्युत चोरी नियन्त्रण अभियानलाई तिब्रता दिदै हुकिङ गरि विद्युत चोरी गरिरहेको अवस्थामा विद्युतीय सामाग्रि पनि ठूलो संख्यामा जफत गरेको छ ।

प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँ गाउँमा पुगेर टिभि, फ्रिज, फ्यान, पानी तान्ने मोटर, तार, कटरलगायतका १ सय ४० थान विद्युतीय उपकरण समेत नियन्त्रणमा लिएको विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले जनाएको छ ।

कोरोनाको महामारीमा नेपाल सरकारले गरेको लकडाउनदेखी हालसम्मको अवधीमा विद्युत चोरीमा संलग्न ४२ जनालाई पक्रउ गरि कारवाही गरिएको बितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिनुभयो । साथै उनीहरुबाट रु ३ लाख २ हजार ५ सय ४९ रुँपैया राजश्व असुली समेत गरिएको छ ।

यस्तै प्राधिकरणका इन्जिनियर बिमल प्रसाद साहका अनुसार विद्युत चोरीमा संलग्नलाई न्यूनतम ३ हजारदेखी विद्युत खपत गरेको युनिटको आधारमा थप जरिवाना गरिएको बताउनुभयो ।

यस अवधीमा ५० लाख भन्दा बढी वक्यौता पनि उठाइएको छ । यता समयमै महसुल नबुझाउने १ सय ४० जना ग्राहकको लाइन यसअवधीमा काटिएकोमा १ सय २७ जनाबाट ५७ लाख २४ हजार ८ सय ५३ रुँपैया असुली भइसकेको र अन्य बाँकीबाट पनि प्राप्त हुने क्रम जारि रहेको इन्जिनियर साहको भनाई छ ।

नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराज अन्तरगत कुल ५१ हजार ९ सय ८७ ग्राहक छन् ।

विद्युत चोरीमा संलग्नहरुलाई धमाधम कारवाही गर्न थालिएपछि विगतको तुलनामा विद्युत हुकिङ गरेर चोरी गर्नेको संख्या अहिले घट्दै गएको तर, पूर्ण नियन्त्रणमा भने हुननसकेको केन्द्रका प्रमुख यादवको भनाई छ । यसैबिच बिद्युत चौरीको घटना नियन्त्रण गर्ने प्रयास समेत भइरहेको जनाइएको छ ।

ओलीराजको उदय र अबको बाटो

मौजुदा संविधानभन्दा धेरै प्रगतिशील अन्तरिम संविधान धर्मनिरपेक्षयता, संघीयता र समावेशिताको बाटोमा गएपछि तिल्मिलाएको खसआर्य समुदायले नयाँ ‘नायक’ खोज्न थाल्यो जसले कम नोक्सानीमा यथास्थितिलाई बचाओस् । हिंसात्मक विगत माओवादीको कमजोर पक्ष रहेकै थियो, खुला राजनीतिमा आएपछि उनीहरूमा पनि अपि्रय परिवर्तन आयो । सबै सार्वजनिक संस्थालाई सकेसम्म भर्तिकेन्द्र बनाउने र राज्यसत्ता कब्जा गर्ने लालशा र छिट्टै धेरै अर्थोपार्जन गर्ने खेलमा लागेकाले माओवादीको नयाँ रूप र क्रान्तिकारिता सँगै जान सकेन ।

फलस्वरुपः दोस्रो संविधानसभामा आइपुग्दा प्रचण्ड र माओवादी आन्दोलनको पतन भयो । यता खड्गप्रसाद ओली जो गणतन्त्र, समावेशिता र संघीयताका घोर विरोधी थिए, उनले भने परम्परागत शक्तिशाली समुदायले खोजेको त्यो नायकको स्थान ग्रहण गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो स्थान बनाए । यी प्रगतिशील मुद्दाहरू थोकमै खारेज गर्न नसकेपनि संविधान जारी गरिसक्दा धेरै हिसाबले भुत्ते बनाउने काम भयो ।

स्थान ग्रहणपछि आफ्नो शासनकाल भरी ओलीले त्यो ‘नायक’को अपेक्षाकृत काम गरिरहे । प्रदेशहरू संघका इकाइ हुन भन्नु उनले प्रतिनिधित्व गरेको विचारको सिधा अभिव्यक्ति हो । भलै सूर्यबहादुर तामाङ र मलार सदालाई भोकै मर्नबाट बचाउन नसक्ने शासन होस्, तर आफ्नो अपाङ्ग बालकलाई अवतारको रूपमा प्रचार गर्ने हिन्दु परिवारलाई ओलीले राज्यकोषबाटै अमेरिका सयर मात्रै गराएनन्, तिनकै नाममा स्थापित संस्थालाई करोडमा दान पनि दिलाए । अझ भगवान् राम ठोरीमा जन्मेको भन्ने अभिव्यक्तिले त झन पुरै भारत वर्षभरि तरङ ल्याए । यी सबै उनले अन्धविश्वासमा परेर भनेका र गरेका हैनन् । बरू यसो गरेर उनले परम्परागत हिन्दू समुदायले खोजेको हिन्दूत्वको वैध नायक मै हुँ भन्ने सन्देश दिएका हुन । गैँडालाई गैँडा नै भन्नुपर्छ ‘राइनो’ भन्न मिल्दैन भन्ने उनको ठट्टेउली पनि महेन्द्रीय नेपालीत्वको प्रबर्धन थियो ।

समृद्धिको हवाइ सपना

समावेशी राज्यप्रणाली र सुदृढ राजनीतिक र आर्थिक संस्थाहरू समृद्धिका अनिवार्य सर्त हुन । ओलीले सार्वजनिक संस्थाहरूलाई सुदृढ बनाउने केही पनि काम गरेनन । बरू सत्तामा पुगेदेखि नै ती संस्थाभन्दा आफ्नो व्यक्तित्वलाई ज्यादा महत्त्व दिँदै समृद्धिको हवाइ सपना देखाए ।

चुच्चे रेल, पानीजहाज र भ्यू टावर समृद्धिका सूचक मानिए । रेल र पानीजहाजको टिकट खुल्छ भन्दा पर्रर ताली पड्काउने जमात छँदै थियो, मलार सदा र सूर्यबहादुर जस्ताले टिकट कसरी काट्छन् भन्ने प्रश्न गायब भयो ।

नदी थुनेर जहाज चलाउने बहस त भयो तर यसो गर्दा कति ग्रामीण जनसंख्या विस्थापित हुन्छन्, वातावरणीय प्रभाव के हुन्छ कतै कुरै भएन । जहाज आउँछ भने फर्केर पनि जाँदो हो । फर्केर जाने जहाजमा के पठाउने हो बहसै भएन ।

नेपाली समाज र अर्थतन्त्रको आजको चुनौती के हो ? भोलि केके चुनौती आउलान् ? मानव अस्तित्वमाथि नै धावा बोलिरहेको भनिएको वातावरणीय परिवर्तनलाई कसरी सामना गर्ने हो ? तीव्र गतिमा भइरहेको प्रविधिको विकासले भविष्यमा रोजगारीका लागि मेसिनसँग प्रतिस्पर्धा गर्नुपर्ने र ब्यापक बेरोजगारी बढ्नाले बिदेशी श्रम बजारमा आधारित हाम्रो जस्तो अर्थतन्त्रलाई के हुन्छ ? यसले समृद्धिको सपनालाई के असर पर्छ ? त्यति परको चिन्तन ओलीलाई आवश्यक नै परेन ।

त्यसैले “नेपालीले चान्स पाए गर्छ” भन्दै हसाउँने ओलीको समृद्धिको हवाइ सपनामा श्रम बजारमा भोलि नेपालीले चान्स नै नपाउँदा के गर्ने भन्ने प्रश्नहरू सान्दर्भिक हुने कुरै भएन । जेले लोक तत्काल खुशी हुन्छ त्यही भन्ने लोकप्रियतावादी ओलीले उर्जा र प्राकृतिक स्रोतको सघन प्रयोगमा आधारित, दिगो नहुने मानिएको पश्चिमा बिकासको मोडललाई नै उछालिरहे ।

अधिनायकवादतर्फको यात्रा

२०१८ मा प्रकाशित पुस्तक ‘हाउ डेमोक्रेसी गाइज’मा लोकतन्त्रको अन्त्य र तानाशाहीको उदय कसरी हुन्छ भन्ने चाखलाग्दो विश्लेषण छ । लेखकद्वय स्टिभन लेवित्स्की र डानिएल जिब्लाटको विश्लेषणमा एकाइसौं शताब्दीमा तानाशाही पहिलेजस्तो सैनिकले सडकमा बुट बजार्दै आउँदैन । त्यो त निर्वाचित तर लोकपि्रयतावादी शासकले एकएक गर्दै सार्वजनिक संस्थहरूलाई क्षय गर्दै, थाहै नपाई ल्याउँछन् ।

रोचक के छ भने, यो यात्रा विस्तारै, महत्त्वहीनजस्तो लाग्ने क्रमिक चरणहरूबाट गुजि्रने हुनाले राजनीतिक हिसाबले जागरुक र बुद्धिजिबीवर्गले समेत थाहा पाउँदैनन् । बरू कैयन चरणमा पि्रयतावादी निर्णयहरू लिइने हुनाले, समर्थन पो जनाउँछन् ।

ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्नेबित्तिकै शक्ति आफूमा केन्द्रित गर्न थालेदेखि, बेलामौकामा संसद छलेर ल्याएका अध्यादेश हुँदै, जस्केलाबाट संवैधानिक पदहरूमा नियुक्ती गरी, अन्तिममा संसद विगठन गरेर आफ्नो अधिनायकवादको यात्रालाई फत्ते गरी देखाएका छन् ।

यति गरिसक्दा धेरैले थाहै पाएनन्, केही थाहा पाउनेहरूले आवाज उठाइरहे तर त्यो झिनो आवाज ‘हनुमान’हरूको चर्को कीर्तनमुनि दबियो । अधिनायकवादका आउँदा मोडहरूमा ओली विरूद्धको मुद्दा हेर्न पहिले उनकै नियुक्ती खाएका र उनकै लागि काम गरेकाहरू न्यायाधीश बनेर पुग्नेछन् । भोलि ‘यती र ओम्नी’ काण्डको छानबिन गर्नैपर्ने अवस्था आए आफैंले जस्केलाबाट नियुक्त गरेकाहरूले नै गर्नेछन् ।

अबको बाटो

हिन्दु खस-आर्य समुदायको एकल-जातिवाद ओलीको शक्तिको मूल आधारस्तम्भ भएको हुनाले र समृद्धिको हवाइ सपना अघि बढाउँदा देखिएको बौद्धिक रिक्तताले उनमा समावेशी र समतामुलक समाज निर्माणको यात्रा तय गर्न चाहिने लोकतान्त्रिक नेतृत्व प्रदान गर्न सक्ने सिर्जनात्मक क्षमता छैन भन्ने पुष्टि भइसक्यो ।

तर कुरा यतिमै सकिन्न । ओलीमा बितण्डा गर्ने, ‘निहुँ खोजे देखाइदिने’ शक्ति अझै छ । यसलाई सायद अंग्रेजीमा प्रयोग हुने ‘न्युसेन्स भ्यालु’ भन्न सकिन्छ । निहुँ खोजे प्रदेशसभाको पनि संघीय संसदकै हालत बनाइदिने धम्की दिनु यसकै उदाहरण हो ।

२०६२-६३ सालको आन्दोलनपछि प्राप्त भएका ४ मूल उपलब्धीहरू संघियता, समाबेशी राज्यप्रणाली, गणतन्त्र र धर्मनिरपेक्ष्यता अझैसम्म राम्रोसँग संस्थागत भै सकेका छैनन तसर्थ यिनीहरूमाथि नदेखिएका धेरै खतराहरू हुन सक्छन् । तर तीमध्ये हालका प्रधानमन्त्री र राष्ट्रपति निःसन्देह प्रस्ट देखिएका प्रधान खतरा हुन् ।

तसर्थ आजको आवश्यक्ता ओलीलाइ सत्ताको डोलीबाट झार्नु र राष्ट्रपति जस्तो संस्थालाई प्रधानमन्त्रिको कार्यालय-सहयोगीको स्तरमा झार्ने बर्तमान राष्ट्रपतिलाई बिदा दिनु हो । नत्र हामीले मात्रै हैन हाम्रा सन्तानले पनि लोकतन्त्रका लागि लड्नु पर्दैन भन्न सकिन्न ।

नेकपा फुटेकाले चुनावमा बसी बसी तालुमा आलु फल्ने भो भन्ठान्ने संकेत देखाएको काङ्रेसले यो आन्दोलनको नेतृत्व गर्ने छाँट छैन । तसर्थ नेकपा कार्यकर्ता र समर्थकले ‘दाहाल-नेपाल समूहले ओलीलाई नटेरेर हाम्रो प्यारो पार्टी फुट्यो’ भन्ने भावनाले घायल भै ओली-भण्डारीको अधिनायकत्वकै निरन्तरतालाई ज्यादा महत्त्व दिन्छन् कि लोकतन्त्रको संरक्षणलाई, त्यो नै सर्वाधिक महत्त्वपूर्ण हुनेवाला छ । अनलाईनखबरबाट

संसद् विघटन मेरो विशेषाधिकार हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संविधानसम्मत ढंगले संसद् विघटन भएकाले पुनर्स्थापनाको सम्भावना नै नभएको जिकिर गरेका छन् । संसद् विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ जारी रहेकै वेला उनले प्रधानमन्त्रीको विशेषाधिकारका रूपमा आफूले कदम चालेको बताएका छन् ।

‘संसद् पुनर्स्थापना संविधानले मिल्दैन । ६४ प्रतिशत बहुमत भएको नेताको हैसियतमा मैले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको छु । अब बाँकी ३६ प्रतिशतमा विकल्प बन्छ ? एकाउन्न प्रतिशत विकल्प बन्दैन भने संसद् पुनस्र्थापना केका लागि हुन्छ ? अस्थिरताका लागि, तमासाका लागि हुन्छ ? संसद् पुनस्र्थापनाको सम्भावना नै छैन,’ नेकपा (ओली समूह)को सुदूरपश्चिम प्रदेशद्वारा कार्की बैंक्वेटमा आयोजित भेलालाई बुधबार सम्बोधन गर्दै ओलीले भने ।

संसद् विघटन गैरसंवैधानिक भएको तर्क गर्नेलाई प्रधानमन्त्री ओलीको जवाफ थियो, ‘संविधानले होइन, हाम्रा केही वकिलसापहरू राजनीतिक आग्रहवश भन्छन्– संविधानमा विघटन लेखिएकै छैन । धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटनको सिफारिस गर्नेछ र नयाँ निर्वाचनका लागि मिति तोक्नेछ । पाँच वर्षअघि विघटन हुनै सक्दैन भन्नुहुन्छ उहाँहरू । तर, धारा ८५ ले भन्छ, अगावै विघटनबाहेक संसद्को अवधि पाँच वर्षको हुनेछ । अनि राजनीतिक आग्रह देखाएर हुन्छ ? संविधानमा देखाएर हुन्छ ? संसारको अभ्यास के छ हेर्नुपर्‍यो । बेलायतमा संविधान छैन, तर अस्ति भर्खर संसद् विघटन भयो । संसदीय प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार मानिन्छ ।’

माधव नेपाल प्रचण्डको कार्यकर्ता, बिचरा दुःखी मनमा हुनुहुन्छ 
पार्टी विभाजन गरेर अध्यक्ष बनेका माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता बनेको ओलीको आरोप छ । ‘माधव नेपालजीको बारेमा त मलाई टिप्पणी नै गर्नुछैन, किनभने उहाँ प्रचण्डको एउटा मामुली कार्यकर्ता हो । उहाँ कार्यकर्ता हुन जानुभएको छ । उहाँ मलाई पदको लोभ छैन पनि भन्नहुन्छ, तर उधारो होइन, नगद हाताहाती चाहिन्छ पनि भन्नुहुन्छ । नगद के रहेछ भनेको त द्वितीय अध्यक्ष,’ ओलीले भने, ‘एउटा खास परिस्थितिमा हामीले दुईवटा अध्यक्ष बनाएका थियौँ । एमाले र माओवादीको अध्यक्ष मिलाएर बनाएका थियौँ, आन्दोलन एकीकृत गर्नका लागि । तर, आन्दोलन फुटाउन पनि दुई–तीनवटा अध्यक्ष चाहिन्छ ? जुटाउन पो हामीले बनाएको त । तर, मन भनेको अचम्मकै हुँदो रहेछ, न सभापति हुन पाउने, सभापति पनि प्रचण्डले चलाउने । छेउमा बस्न पाएकै थियो, फेरि अध्यक्ष नभई नहुने किन हो ? मैले बुझेको छैन ।’

पार्टी विभाजनपछि नेपाल सन्तुष्ट नरहेको जिकिर गर्दै उनले केही समयपछि मूल धारमै फर्किने जिकिरसमेत गरे । ‘उहाँको बारेमा म कुनै कमेन्ट गर्दिनँ, बिचरा दुःखी मनमा हुनुहुन्छ । अलि पछि… समय कति लाग्छ भन्न सक्दिनँ, उहाँहरू….’ उनले भने ।

अमिल्दो मृत्युको भविष्यवाणी गरेर सेन्टिमेन्ट भड्काउन खोजियो 
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले आफ्नो मृत्युको भविष्यवाणी गरेकोसमेत आरोप लगाए । ‘उहाँहरूले वैशाखबाट ओली सिद्धियो भन्नुभएको छ । उहाँहरू भविष्यवाणी कस्तो नमिल्दो गर्नुहुन्छ भने, पोहोर बिमारी परेँ, मरिहाल्छ भन्नुभो । परारै बिरामी पर्दा उपचार गराउन बैंकक गएँ, काठको बाकसमा फर्किन्छ भन्नुभो, तर म त प्लेनको सिटमै बसेर आएँ । अस्ति मलाई इन्फेक्सन भएर अप्रेसन गर्नुपर्‍यो, अप्रेसन कहिलेकाहीँ जटिल हुन्छ, गयो भनेर खुसी हुनुभो । उहाँहरू भविष्यवाणी हुनेखालको गर्दै गर्नुहुन्न । म मर्न त एक दिन मरिनै हाल्छु । उहाँहरूको आकांक्षा पूरा हुन्छ । अगाडि–पछाडि प्रकृतिको टुंगो हुँदैन,’ ओलीले भने, ‘तर मचाहिँ एक दिन मर्छु । तपाईंहरूलाई सुन्दा राम्रो लाग्दैन, तर सत्य हो । मान्छे मरोस् भन्ने कल्पना विरोधी शत्रुलाई पनि गर्ने कुरा सभ्यता होइन । विरोधीलाई पनि स्वास्थ्यलाभको कामना गरिन्छ । लड्नु छ भने रोगीसँग होइन, मजबुद पाखुरा भएको मसलदार खेल्न जानेकैसँग खेल्न मजा आउँछ । त्यसैले सुस्वास्थ्यको कामना गरिन्छ ।’

केही सिट ल्याउन चुनावी तयारी गर्नुस्, सडकमा अलकत्रमाथि नबस्नुस्
ओलीले माइतीघर मण्डला र भृकुटीमण्डपमा आन्दोलन गर्नुको सट्टा केही सिट जित्नकै लागि भए पनि अहिल्यैदेखि चुनावी तयारी गर्न प्रचण्ड–नेपाल पक्षलाई सुझाब दिए । ‘उहाँहरू चुनाव हुँदै हुँदैन भन्नुहुन्छ । वैशाखको चुनावमा केपी ओली पत्तासाफ हुन्छ पनि भन्नुहुन्छ । म उहाँहरूलाई भन्न चाहन्छु, तपाईंहरूले पनि केही सिटचाहिँ ल्याउनुस् भन्ने शुभकामना छ, केही सिट ल्याउनुस्, त्यसका लागि अहिलेदेखि सडकमा गएर बेकारसँग अलकत्रमाथि बसेर कपडा बिगारेर केही काम छ ? अचम्म के भने लोकतन्त्र आइसक्यो, उहाँहरूले नै भनेको होइन, अब सडकमा जानुपर्दैन, सदनबाटै सबै काम गर्न सकिन्छ । वेलावेलामा आवधिक जनादेश लिने त्यो हो लोकतन्त्र’ ओलीले भने, ‘तर, उहाँहरू सिँगौरी खेलेर वरपर भित्तो हान्नुहुन्छ । भुइँ खोस्रिनुहुन्छ, नजिकै आएर भेट्न डराउनुहुन्छ । कहिले माइतीघर मण्डला, कहिले भृकुटीमण्डप । एक्लै सिँगौरी खेल्दा राम्रो छ, चुनावमा भिडेका वेला, जनताले मतदान गरेका वेला उहाँहरूलाई थाहा हुनेछ, मेरो सुझाब केही सिट जित्नुछ भने अहिलेदेखि तयारीमा लाग्नुस् ।’

प्रचण्डलाई जति कोसिस गर्दा पनि बुझाउन सकिएन 
ओलीले प्रचण्डलाई जति कोसिस गर्दा पनि सहमति र समझदारीको बाटोमा हिँडाउन नसकेको बताए । ‘तीन वर्षमा मेरो डोब साबुनका धेरै डल्ला र सेम्पुहरू खर्च भयो । ड्रमका ड्रम पानी खत्तम भयो, उहाँलाई धुँदाधुँदा, साबुन लगायो पखाल्यो, जस्ताको तस्तै,’ ओलीले भने, ‘अन्तिममा तपाईंहरूले देख्नुभो, उहाँहरू बहुमत छ भन्दै हुनुहुन्छ, केको बहुमत ? मैले एकताका लागि पार्टीभित्र माधव गुट छँदै थियो, फेरि प्रचण्ड गुट उसलाई उत्तिकै सिट दिँदा दुवै मिल्दा उतै बहुमत पुग्छ भन्ने थाहा थिएन ? ५६ वर्षदेखि राजनीति गरेको, ५० वर्षदेखि नयाँ आन्दोलन गरेर आएको मान्छेलाई यत्तिका तिकडम उनीहरूले औँलामा थुक लगाएर यसो अर्कोतिर पर्तिर सार्ने कुरालाई मैले त नबुझेजसो गरेर चुप लागेर बसेँ । यस्तो जादु उहाँहरूले धेरै देखाउनुभो, तर ए हो भन्दै बसेँ । तर, मैले औंला सट्टसट्ट सारेको देखेको छु । उहाँहरूलाई मैले त्यो संख्या एकताका लागि दिएको थिएँ, यो देश बनाउन, संविधान कार्यान्वयन, स्थिरताका लागि, देश अगाडि बढाउनका लागि दिएको थिएँ । तर, उहाँहरूले त्यो बहुमत आफ्नो स्वार्थका लागि प्रयोग गर्नुभो । अपमान……भयो । मान …..पाइनँ मैले । त्यसैका लागि प्रयोग भो ।’ उनले प्रचण्डसँग पटकपटकको सम्झौताले एउटा ब्रिफकेसै भरिए पनि कामयावी नबनेको पनि बताए ।

राष्ट्रपतिमाथि महाअभियोग लगाउन खोजेको आरोप 
उनले प्रचण्ड–नेपाल पक्षले राष्ट्रपतिमाथि महाअभियोग लगाउन खोजेकाले पनि अहिलेको परिस्थिति उत्पन्न भएको आरोप लगाए । ‘उहाँहरू ममाथि अविश्वासको प्रस्ताव, राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव, अरू विभिन्न संस्थामाथि महाअभियोगको प्रस्ताव, यो त लोकतान्त्रिक मूल्य–मान्यता, संस्थाहरूको मर्यादा केही नराख्ने, सबैलाई यो गणतन्त्र लोकतन्त्र व्यवस्था कामै रहेनछ भन्ने पार्ने । उहाँ अहिले पनि भन्नुहुन्छ, खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने ठाउँ । खासमा त्यसो भन्नुहुन्छ, तर अरू कसैले सुन्लान् कि भनेर वरिपरि पनि हेर्नुहुन्छ । उहाँलाई बजारमा अर्कै कुरा बेच्नुपरेको छ,’ ओलीले भने, ‘उहाँ अहिले महान् शान्तिकारी, परिवर्तनकारी देखिनुभएको छ । जनताको पक्षधर देखिनुभएको छ । उहाँले युवाहरूलाई सेन्टिमेन्टमा ल्याएर आन्दोलनमा होमेर कतिका हात छैन, कतिका खुट्टा छैन, कति शरीरमा गोली बोकेर, कसैको कम्मरको हड्डी खुस्किएको छ, बिस्तारामा परेका छन् । त्यस्तो जीवन बिताउन कति कठिन हुन्छ उहाँलाई के थाहा ? उहाँ त आफ्नो पदका लागि मरिमेट्नुभएको छ, आफ्ना परिवारका लागि मरिमेट्नुभएको छ ।’

प्रचण्डको आत्मकेन्द्रित चिन्तनकै कारण जनयुद्धमा हजारौँ अलपत्र र बेसहारा बनेको पनि ओलीले आरोप लगाए । त्यस्तै, उनले वामपन्थीसँग चुनाव तालमेल गरेर प्रचण्डले कांग्रेससँग सरकार बनाउने कुरा गर्दै बार्गेनिङ गरेको र सहमति तथा समझदारीप्रति इमानदार नबनेको आरोप पनि लगाए ।

राष्ट्रपतिमाथिको अपमान भएकोमा आक्रोश 
प्रधानमन्त्री ओलीले मंगलबार प्रदर्शनका क्रममा राष्ट्रपति संस्थाको मानमर्यादाकै अपमान हुने गरी नाराजुलुस भएको आरोप लगाउँदै आक्रोशसमेत व्यक्त गरे । ‘उहाँहरूले जुलुसमा कस्ता नारा लगाउनुभयो, महिलाहरूप्रतिको उहाँहरूको दृष्टिकोण के रहेछ, गणतन्त्रप्रतिको दृष्टिकोण के रहेछ, गणतान्त्रिक प्रणालीको सर्वोच्च संस्थाप्रति उहाँहरूको मान–सम्मान के रहेछ, त्यो कुरा उहाँहरूले सडकभरि छताछुल्ल छरेको कतै लुकेको छैन । मैले दोहोर्‍याइरहनुपर्दैन । जसको ध्यान आफूमा, आफ्नो पदमा मात्रै छ । बोलेको भाषण के छ, मलाई मान गरेनन्, अपमान गरे । जसको ध्यानै त्यतिमा छ, अनि देशको ध्यान कसरी हुन्छ ?’ ओलीले भने ।

लेखराज भट्टले भने– महाकालीमा ओलीको राष्ट्रघात, अहिले राष्ट्रवादी नेता

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री ओलीले टनकपुर सन्धि गरेर राष्ट्रघात गरेकाले आफूले पहिला राष्ट्रवादी नेता नमाने पनि अहिले भने नक्सा प्रकाशनको अगुवाइ गरेकाले राष्ट्रवादी नेताका रूपमा समर्थन गरेको प्रस्ट्याए । ‘केपी ओलीले पहिला टनकपुर सन्धि गरेर राष्ट्रघाती काम गर्नुभो, त्यसैले उहाँलाई राष्ट्रवादी मान्दैनथेँ, तर आज उहाँले लिम्पियाधुरासम्म नेपालको नक्सा ल्याउने कसैले नगरेको आँट गर्नुभो,’ भट्टले भने, ‘यस्तो आँट एकपटक प्रधानमन्त्री हुँदा झलनाथ खनाल र माधवकुमार नेपाल र दुईपटक प्रधानमन्त्री हुँदा प्रचण्डले किन गर्नुभएन ?’

भट्टले प्रचण्डका कारण अहिले देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको आरोप लगाए । ‘प्रचण्डले क्रमभंग, धक्का, महाविपत्ति, छलाङ भन्ने गर्नुहुन्थ्यो, अलिकति सोझ्याएर उहाँले अहिले सडकमा विपत्ति ल्याउनुभएको छ, देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको छ,’ भट्टले भने । उनले लामो समयदेखि घाइते, बेपत्ता र सहिद परिवार नसम्झने प्रचण्डले अहिले सम्झिएर पूर्वमाओवादी एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेकाले त्यसले पूर्वएमाले पनि एक ठाउँमा आउने अवस्था बन्न सक्ने बताए । ‘उहाँले पूर्वमाओवादी एक ठाउँमा हुनुपर्छ भनेको हो भने पूर्वएमालेलाई पनि एक होस् भनिरहनुभएको छ, त्यसैले माधव नेपाललाई यतातिर (केपी समूह)मा पठाउनुपर्‍यो,’ भट्टले भने । नयाँ पत्रिका दैनिकबाट ।

आज २०७७ पुस १६ गते बिहिवारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद हुनसक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला । आफन्त तथा साथिभाईबाट सुनिने दुखित समाचारले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै समय खर्चनु पर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

शुभ मांगलिक सभा समारोह जस्ता कार्यक्रममा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिने हुनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिईने हुनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेकोछ । सुझबुझ तथा लगनशिलताले समय फलदायि बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरि नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । शुभ तथा मांगलिक कार्यमा समय व्यातित हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आत्मविश्वास र पराक्रममा वृद्धि हुनाले राम्र काम गर्न सकिनेछ । कलकारखाना र बन्दव्यापारबाट मनग्गे फाइदा लिन सकिनेछ । शत्रुलाई परास्त गर्न सकिनेछ भने प्रतिस्पर्धीहरुले साथ दिनेछन् । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सरकारि कामकाजमा ढिला सुस्ति हुने योग रहेकोछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । कामहरु समयमा सम्पन्न नुहुँदा दैनिकि प्रभावित हुनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्तहरु टाडिने तथा पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुनाले मन खुसि हुनेछ । व्यावसायमा लगानि बढाएर भनेजस्तो नाफा कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुनाले काम गर्न जागर बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा दिदि बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । तरपनि साझपख प्रयत्न गर्दा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यावसायमा मनमुटाब सिर्जना भई साझेदारहरु बीच फाटो हुन सक्छ ध्यान दिनुहोला । व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगिनै बिभिन्न कारणले यात्रा स्थगित गर्नुपर्ने हुन सक्छ । आफन्त तथा परिवारमा कामको तालमेल नमिल्दा मनमुटाव हुनेछ भने कस्ले के गर्ने भन्ने बिवाद सिर्जना हुनेछ । खानपान तथा बाताबरणको ध्यान नदिय स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ । भौतिक साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईको बिपक्षमा आउने हुनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुनु होला । स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाइ लेखाइ गति तिब्र अगाडि बढ्नेछ भने बौद्धिक कार्यमा सहभागि भई उत्कृष्ट प्रश्तुति दिई भनेजस्तो पारिश्रमिक हात लगाउन सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । समुदायको हितमा काम गरि नाम कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले गरे प्रचण्डलाई फोन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् । उनले बुधबार साँझ प्रचण्डलाई फोन गर्दै उपचाररत प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् । त्यस्तै अर्थमन्त्री समेत रहेका नेकपा ओली पक्षका महासचि विष्णु पौडेल र नेता सुवास नेम्वाग बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘दुवै नेता पुगेर मेडिसिटी पुगेर स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्रीले पठाएको स्वास्थ्यलाभको कामना सुनाउनुभयो । प्रधानमन्त्री स्वयंले पनि प्रचण्डलाई फोन गरेर स्वास्थ्यलाभको कामना गर्नुभयो’, महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले रातोपाटीलाई बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष का अध्यक्ष समेत रहेका ‘प्रचण्ड’ की पत्नी सीता अस्वस्थ बनेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ । सीता दाहाल केही बर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी० भनिन्छ । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो । रातोपाटी

संसद पुनःस्थापना हुन विषयमा ओलीले गरे यस्ताे घोषणा !

काठमाडौं । नेकपाका प्रचण्ड-नेपाल समुहले विघटित संसद पुनःस्थापना माग गरिरहेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना गर्न नमिल्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओली संसद पुनःस्थापना सम्भावना नरहेको बताएका हुन्।

‘संविधानअनुसार विघटन भएको संसद पुनःस्थापना हुँदैन। संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको हो। ३४ प्रतिशतमा विकल्प छैन त्यसैले संसद पुनःस्थापना हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘संविधानको धारा ८५ मा यसअघि विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको म्याद ५ वर्षको हुनेछ भनिएको छ। त्यसैले विघटन भएको संसद पुनस्स्थापना हुन सक्दैन।’

उनले संसदीय प्रणालीमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहेको जिकिर गरे। यस्तै प्रधानमन्त्रीओलीले राजसंस्था नरहेका कारण अब लोकतन्त्र कसैले खोस्न नसक्ने समेत बताएका छन्।

नेकपा नयाँ माेडमा, प्रचण्ड-नेपाललाई विष्णु पौडेलले फिर्ता बोलाए

वीरगञ्ज। नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले विभाजित प्रचण्ड र माधव नेपाललाई नेकपामै फिर्ता आउन आग्रह गरेका छन् ।

वीरगञ्जमा ओलीपक्षले आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपाललाई पार्टीमा अझै ठाउँ रहेको भन्दै फिर्ता बोलएका हुन् ।

‘अहिलेपनि हामीले ठाउँ राखेका छौं, पार्टी एकता जोगाउन कोशिस गरेका छौं । उहाँहरुले गैर वैधानिक बैठक आयोजना गरेर प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाएको कुरा गर्नुभएको छ । प्रचण्डजीलाई हामीले अध्यक्षको कार्यकारी भूमिकाबाट मात्रै हटाएका छौं, अध्यक्षबाट हटाएका छैनौं, माधव नेपाल वरिष्ठ नेता नै हुनुहुन्छ’ उनले भने ।

नेकपाका नेता समेत रहेका पौडेलले विगतमा गरेको गल्ती सच्याउनुपर्ने र प्रचण्डले प्रधानमन्त्री ओली विरुद्ध पेश गरेको आरोपपत्र फिर्ता लिनुपर्ने बताएका छन् ।

‘प्रधानमन्त्रीले त्यसलाई प्रतिवाद गर्ने निश्चय गर्नुभयो र संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नुभयो । ताजा जनादेशमा जाने निर्णय राष्ट्रिय राजनीतिलाई नयाँ दिशा प्रदान गरेको छ । त्यसो गरेका थिएनौं, आत्मसर्मपण गरेका थियौं भने मुलुक अनैतिकता, अराजकता र उछृङ्खलता तर्फ जाने खतरा थियो’ उनले भने ।

किसानहरुले तरुलको राम्रो मूल्य पाए, सुनसरीको तरुल काठमाण्डौसम्म

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित विभिन्न स्थानमा किसानले यसपाली तरुल खेतीबाट राम्रो आम्दानी गरेको बताएका छन् । सुनसरीमा यसपटक किसानहरुले तरुलको राम्रो उत्पादन र मुल्य समेत पाएको बताएका छन् । राम्रो मुल्य पाएपछि तरुल किसान पनि दंग परेका छन् । बिगत बर्षको भन्दा तरुलले दुई गुणा बढी मूल्य पाएपछि यस पटक आम्दानी पनि मनग्य हुनेमा यस क्षेत्रका तरुल किसानहरु उत्साहित बनेका हुन् ।

सुनसरीको इनरुवा नगरपालिका २ का किसान रामेश्वर यादवले तरुलको मूल्य राम्रो पाएको बताउनुभयो । यस पटक माघे संक्रान्ति नजिकिँदै गर्दा यहाँको तरुल किसानहरु तरुल खन्ने काममा ब्यस्त बनेका छन् ।

यस पटक किसानले तरुलको प्रतिकिलो मूल्य ४० देखि ८० सम्म पाएको र खेतबारीबाटै व्यपारीले उठाउन थालेकाले किसान उत्साहित देखिएको अर्का तरुल किसान कन्हैयालाल मेहताले बताउनुभयो । मेहताका अनुसार विगतको सालमा ३०÷३५ रुपियाँ प्रतिकिलोमा विक्रि भएको तरुत दुई वर्षयता राम्रो मूल्य पाएकाले किसानको आक्रर्षण समेत तरुल खेती तर्फ बढेको छ । मेहताले भन्नुभयो, ‘यस पटक राम्रो भाउ पाएका छौ । रामै्र फाइदा हुन्छ होला ।’ माघे संक्रातिको लागि भन्दै तरुल खरिद गर्न व्यपारीहरु किसानहरुका बारी बारीमै पुग्ने गरेका छन् ।
बराहक्षेत्र नगरपालिका ९ का किसान मान बहादुर राईले समत बराहक्षेत्र प्रकाशपुरमा प्रत्येक किसानले दुई धुर देखी एक विघा क्षेत्रफलसम्ममा तरुल लगाएको बताउनुभयो । राईले यहाँ उत्पादन भएको तरुल व्यपारीहरुले किसानसँग खरिद गरेर देशको संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी बिराटनगरसम्म पु¥याउने गरेको बताउनुभयो । व्यपारीहरुले खेतमै खनेर लैजाने गरी ठेक्का बराहक्षेत्र नगरपालिका स्थित प्रकाशपुरका तरुल किसान राजेश राईले बताउनुभयो । किसान आफैले स्थानीय बजारमा समेत तरुल बिक्रीको लागि लैजाने गरेको उहाँको भनाइ छ ।

विगतको तुलनामा तरुल यसबर्ष ६०÷८० रुपियाँसम्ममा बिक्री गर्नपाएको बराहक्षेत्र नगरपालिका–९ का अर्का तरुल किसान श्यामकुमार राईले बताउनुभयो । राईले यस वर्ष दश कठ्ठा क्षेत्रफलमा तरुल लगाएको बताउनुभयो । लामो समयदेखि तरुल खेती गर्दै आएका राईले यस वर्ष प्रति कठ्ठा १० देखि २० हजारसम्म खर्च कटाएर आम्दानी हुने गरेको बताउनुभयो ।
‘लगानी थोरै र स्याहार पनि थोरै गर्नुपर्ने भएकोले तरुलको यसपटकको मूल्यले किसानलाई फाइदा भएको छ’ । राईले भन्नुभयो, ‘अन्य बालीलाई जस्तो स्याहार मल गर्नुपर्दैन । मकै वा बेसार भित्र लगाउदा पनि हुने’ । एउटै बारिमा दुई थरी खेती गर्न पाइने भएकोले पनि किसानहरु तरुलतर्फ आकर्षित हुँदै आएको स्थानीयको भनाई छ । तरुल बिक्री बितरणमा अहिलेसम्म किसानले दुख पाउनु नपरेकोमा समेत किसानहरु खुशी भएका छन् ।

माघे संक्रातीमा विशेष फलारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमा समेत बिक्री हुने गर्दछ ।
तरुलखेती गर्दा जमीन हेरेर बिउँ, खन, जोत, खाद मल र गोडमेल समेत गरेर दुई देखि १० हजारप्रति कठ्ठा लगानी हुने किसानहरुको भनाई छ । तरुल प्रति कठ्ठा ७ देखि १० क्वीन्टलसम्म उत्पाादन हुने गरेको छ । सुनसरीमा कति क्षेत्रफलमा तरुल खेती भईहरेको छ भन्ने बारेमा कृषि ज्ञान केन्द्र र पालिकाको कृषि शाखासंग अझैसम्म तथ्यांक भने नरहेको अवस्था छ ।

प्रचण्डलाई धुँदाधुँदा डोब साबुनका डल्ला र ड्रमका ड्रम पानी खतम भयो- ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा साबुनका डल्ला र ड्रमका ड्रम पानी खर्च भएको बताएका छन् ।

बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको समेत ओलीले लगाएका छन् ।

‘षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’

ओलीले अघि भने,  ‘साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।

गुगलको यो शानदार ट्रिक्स, तपाईंलाई पनि थाहा नहोला

हिले धेरैजसो मानिसहरु कुनै कुराबारे थाहा पाउनका लागि गुगलको प्रयोग गर्छन् । तपाईं पनि यस्तै गर्नुहुन्छ होला । यदि तपाईंलाई गुगलको कति ट्रिक्सबारे थाहा छ भनेर सोध्दा तपाईं सायदै यसको जवाफ दिन सक्नुहोला । आज हामी तपाईंलाई गुगलका केही ट्रिक्सबारे जानकारी दिँदै छौं जसबारे धेरै थोरैलाई जानकारी छ ।

Barrel Roll

तपाईंले गुगलमा Barrel Roll लेखेर सर्च गर्नुभयो भने तपाईंको अगाडि धेरै लिंक आउनेछन् । यीमध्ये पहिलो लिङ्कलाई ओपन गर्नुहोस् । यसो गर्दा तपाईंको स्क्रिन ३६० डिग्री घुम्नेछ । यदि तपाईं … को अगाडि १० लेख्नुहुन्छ भने तपाईंको स्क्रिन १० पटक घुम्नेछ ।

Askew Tilt

गुगलमा Askew Tilt लेखेर सर्च गर्नुहुन्छ भने तपाईंको अगाडि सबै लिङ्क आउनेछ । यीमध्ये पहिलो लिंकलाई ओपन गर्नुहोस् । यहाँ तपाईंको स्क्रिन टेढो हुन्छ ।

Festivus

गुगलमा Festivus लेखेर सर्च गदौ तपाईंको स्क्रिनको बायाँ पट्टी एल्युमिनियम पोल देखिनेछ जुन साधारणतया देखिँदैन ।

Zerg Rush

तपाईंले गुगलमा Zerg Rush लेखेर सर्च गर्दा तपाईंको अगाडि थुप्रै लिङ्क आउनेछन् । यीमध्ये पहिलो लिंकलाई ओपन गर्नुहोस् । यहाँ तपाईंको स्क्रिनमा थुप्रै रङ्गका रिङ्ग माथिबाट तलतर्फ खस्नेछ र बिस्तारै बिस्तारै तपाईंको स्क्रिनमा जे लेखिएको छ, त्यो डिलिट हुनेछ ।

गुगलको नयाँ फिचरः

गुगलले हालै एउटा नयाँ फिचर ल्याएको छ जसको मद्दतले प्रयोगकर्ताले आफ्नो टुडी फोटोलाई थ्रीडीमा कन्भर्ट गर्न सक्छन् । गुगलले सिनेमेटिक फोटोका लागि मेसिन लर्निङ टुलको प्रयोग गरिने बताएको छ जसले फोटोको डेप्थको मापन गरेर कुनै पनि फोटोलाई थ्रीडी बनाउन सक्नेछ ।

नेपाल टेलिकमले आईपी टिभी सञ्चालन गर्दै

काठमाडौ । नेपाल टेलिकमले शुक्रवारदेखि आईपी टिभी सञ्चालन गर्ने भएको छ ।

२ वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटिटिएच) मार्फत् आईपी टिभी सञ्चालन गर्ने भएको हो ।

हाल टेलिकमले एफटिटिएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आईपी टिभी सेवा थप गर्न लागेको छ । कम्पनीको एनटी टिभी सेवाका लागि एफटिटिएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ ।

तत्कालका लागि उक्त सेवा काठमाडौं उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोङ्गबुमा उपलब्ध हुनेछ । यसैगरी पाटन, हात्तीगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यकाबाहिर बनेपामा समेत टेलिकमको एफटिटिएच नेटवर्क पुगिसकेको र प्राविधिक रुपमा एफटिटिएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने जनाइएको छ ।

हाल एफटिटिएच सेवामार्फत् भ्वाइस तथा डाटा सेवा वा दुवै सेवा लिइरहेका ग्राहकहरुले एनटी टिभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नुपर्ने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

उनका अनुसार उक्त टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट सेटअप बक्स खरीद गर्नुपर्दछ भने हाल प्रयोगमा रहेको पुरानो तथा आधुनिक (नयाँ) टिभी सेटमा एनटी टिभी हेर्न सकिनेछ । विभिन्न राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा विभिन्न प्याकेजमा वितरण हुने भन्दै आवश्यकता र उपयुक्तताअनुसार छनोट गर्न सकिने टेलिकमले जनाएको छ ।

संक्रमितको सही रेकर्ड नराख्ने अस्पताल प्रयोगशालाहरुलाई मन्त्रालयले कारबाही गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस कोभिड—१९ परीक्षण गर्ने व्यक्तिहरुको सही ठेगाना संकलन गर्न अस्पताल तथा प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

सम्बन्धित निकायले आ—आफ्नो तरिकाले परीक्षण गर्ने व्यक्तिको ठेगाना उल्लेख गरेको पाइएको छ । संक्रमित व्यक्तिको ठेगाना सहि नहुँदा पहिचान र संक्रमण पुष्टि भएकाको सम्पर्कमा आएकाहरुको खोजी अनुसन्धान तथा जाँचपडताल, स्थान विशेष पहिचान गर्न कठिनाइ भएको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले जनाएको छ । कोरोना पुष्टि भएका व्यक्तिहरु हाल बसोबास गर्ने ठेगानालाई आधार मानेर रेकर्ड राख्न मन्त्रालयका सह—प्रवाक्ता समीरकुमार अधिकारीद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोरोना लागि नमूना सकलन गर्दा बसोबास गर्ने ठेगाना उल्लेख नगरेको मन्त्रालयमा उजुरी दर्ता भएमा परीक्षण गर्ने अस्पताल तथा प्रयोगशालालाई कारबाही गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

रसुवामा आगलागीबाट दुई घर जलेर नष्ट

 

रसुवा । उत्तरी रसुवाको गत्लाङ्मा आज भएको आगलागीबाट दुई घर नष्ट भएका छन् ।

प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गत्लाङ गाउँका बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आगलागी भएको हो । सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । करीब ६०० घरधुरी रहेको गाउँबीचमा रहेका ती दुई घर नष्ट भएको र अन्य घर जोगाउन स्थानीयवासीले आगो नियन्त्रण गरेका थिए ।

क्षतिको विवरण लिने काम भइरहेको र घटनास्थलमा नेपाल प्रहरी पुगिसकेको स्थानीयवासी पेम्बा तामाङले बताए । आगलागीको कारण भने अझै पत्ता लागेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरखादेखि काठमाडौँसम्म सेनाको पदयात्रा

गोरखा । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडाँैसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा गर्न लागेको नेपाली सेनाको रणसिंह दल गण गोरखाका गणपति प्रमुख सेनानी उज्ज्वल केसीले जानकारी दिए ।

“गोरखा नगरपालिकाको हनुमान चौताबाट तत्कालीन राजा पृथ्वीनारायण शाह जन्मनुभएको गोरखा दरबार हँुदै पदयात्रा शुरु हुन्छ”, उनले भने, “गोरखा दरबारबाट निस्किएर सेनाको टुकडी बोर्लाङघाटमा पुगेर धादिङस्थित सेनाको देवीदत्त गणलाई झण्डा र टर्च हस्तान्तरण गर्छांै ।” तत्कालीन राजा पृथ्वीनारायण शाहकालीन पोसाकमा सेनाको टोली पदयात्रामा निस्कने उनको भनाइ छ ।

नेपाल एकीकरण तत्कालीन अभियानलाई दृष्टिगत गरी शुरु गर्न लागिएको पदयात्रा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको दिन काठमाडौँ पुग्ने कार्यक्रम तय भएको गणपति केसीले जानकारी दिए । भीमसेन थापा गाउँपालिका–८ स्थित बोर्लाङघाटमा स्थानीयवासीले सेनाको स्वागतका लागि झाँकी कार्यक्रम गर्ने तयारी भइरहेको छ ।

पदयात्रामा तत्कालीन राजा पृथ्वीनारायण शाहका पालामा स्थापना भएका नेपाली सेनाको श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गणको झण्डा र टर्च लाइट लिएर हिँड्ने गणपति केसीले जानकारी दिए । गोरखाबाट पदयात्रामा निस्किएको टोलीले धादिङको सिमानासम्म पुगेपछि धादिङस्थित सेनाको गणलाई झण्डा र टर्च गर्नेछ भने धादिङबाट नुवाकोटको सिमानासम्म धादिङस्थित सेनाको गणले झण्डा र टर्च पु¥याउनेछ । पुुर्बेली न्युजमा लेखिएको छ ।

त्यस्तै नुवाकोटमा रहेको सेनाको गणले झण्डा र टर्च काठमाडाँैस्थित सेनालाई बुझाउनेछ । पदयात्रा २७ गते पृथ्वी जयन्तीका अवसरमा काठमाडाँै पुग्ने उहाँले बताउनुभयो । गोरखा दरबारबाट ४० जनाको टोलीले पदयात्रा गर्ने गणपति केसीले जानकारी दिए । यसअघि गएको वर्ष पनि नेपाली सेनाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसर पारेर नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले यात्रा गरेको पदमार्ग समेटेर पदयात्रा गरेको थियो ।

वन फँडानीविरुद्ध कारवाही गर्न मुख्यमन्त्रीको निर्देशन

महोत्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फँडानी गर्नेविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाएका छन् । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले वन फँडानी गर्ने भू–माफिया र मतियारविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाएका हुन् ।

त्यसअघि बर्दिवासवासीले यस भेगका सामुदायिक वन राजनीतिक संरक्षणमा मासिंदै गएकाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्रीले भने, “वन फँडानी गर्ने तस्कर र तिनका मतियारविरुद्ध कडा कारवाही गर्नोस् ।” वन फँडानीका घटनामा विगतमा राजनीतिक संरक्षण हुने गरेको स्वीकार्दै मुख्यमन्त्री राउतले अब दोषीलाई कारवाही गरेर छाड्ने बताए ।

महोत्तरीको बर्दिबास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वन क्षेत्रमा करीब चार बिघा क्षेत्रफलका ४०० भन्दा बढी रुख फाँडिएपछि जारी पुस महिनाको पहिलो सातादेखि नै यहाँ दिनहुँ सोविरुद्ध प्रदर्शन र कारवाहीको माग हुँदै आएको छ । बर्दिबास–१ का लीलामणि आचार्य र कृष्णप्रसाद गौतमले आफ्नो निजी जग्गाको रुख भन्दै सो कटानका लागि बर्दिवास–१ वडा कार्यालय, बर्दिवासस्थित मालपोत र नापी कार्यालय एवं रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिकै सहमति पाएपछि पुसको पहिलो सातामा रातारात वन फँडानी भएको थियो ।

आचार्य र गौतमले साविक २५ नम्बर बहादुरगञ्ज–३ ‘क’ (हाल बर्दिबास नगरपालिका–१) को कित्ता नम्बर–२ को ०१–०२–११ (एक बिघा दुई कठ्ठा ११ धुर) जग्गामा आफैँले रोपी हुर्काएको रुख कटानका लागि डिभिजन वन कार्यालय महोत्तरीमा स्वीकृतिका लागि गत असोजमै निवेदन दिएका थिए । सो निवेदनको प्रक्रियामा बर्दिबास–१ वडा कार्यालय, बर्दिवासस्थित मालपोत र नापी कार्यालय एवं रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिले रुख काट्न मिल्ने सहमति दिएपछि डिभिजन वन कार्यालयले कटान आदेश दिएको थियो ।

यसैगरी डिभिजन वन कार्यालयले गलत सूचना र टिप्पणी लेख्ने आफ्नै सातजना कर्मचारीविरुद्ध कारवाही थालेको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए । बर्दिबासमा वर्सेनी वन क्षेत्र अतिक्रमण हुने क्रम भने बढ्दै नै गएको छ । गत वर्ष बर्दिवास–१, ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वन क्षेत्रको प्लट नम्बर पाँचभित्र करीब पाँच हेक्टर वन क्षेत्र अतिक्रमण भएको सीमाङ्कन गरिएको थियो ।

प्रदेश–२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सचिव प्रेमनारायण कँडेलकै उपस्थितिमा भएको सीमाङ्कनअनुसार अतिक्रमण हटाउन डिभिजन वन कार्यालय र सम्बद्ध सामुदायिक वन उपभोक्ता समितिले कुनै तदारुखता नदेखाएको बर्दिवासबासीको गुनासो छ ।

जिल्लामा जम्मा २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको अभिलेख र स्रेस्ता रहेपनि वर्सेनी हुने वन अतिक्रमण र त्यसको रोकथाममा देखिएको उदासीनताले अब वन क्षेत्र करीब १६ हजार हेक्टरमा खुम्चिएको छ । प्रदेश सरकारका मुख्यमन्त्रीले वन अतिक्रमणविरुद्ध कडा कारवाही गर्ने प्रतिबद्धता जनाएपछि केही हुने आश भने पलाएको बर्दिबासबासी बताउँछन् ।