लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ – Nagarikabhiyan : National News

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

 काठमाडौं । उखु किसानको बक्यौता भुक्तानी नदिएको अभियोगमा पश्चिम नवलपरासीस्थित लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पश्चिम नवलपरासी प्रहरीले आवश्यक अनुसन्धानका लागि उपस्थित गराइदिन पत्रचार गरेपछि पर्सा प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो ।

अग्रवाललाई नियन्त्रणमा लिएर नवलपरासी पठाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी मनोजित कुँवरले जानकारी दिनुभयो । रेडियो कान्तिपुरमा लेखएिको छ । यसअघि सरकारले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार वटा सुगर मिल सञ्चालकलाई पक्राउ गरी ठगीमा कारबाही अघि बढाउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिएको थियो । गृह मन्त्रालयले सलार्हीको अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि, इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि, लुम्बिनी सुगर मिल पश्चिम नवलपरासी तथा रौतहटको श्रीराम सुगर मिलका सञ्चालकलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

लुम्बिनी सुगर मिलले उखु किसानलाई दिन बाँकी रहेको ९ करोड मध्ये १ करोड ३६ लाख रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ ।